एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – कल्पना जोशी ।
प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले कल्पना जोशी सँग गरेको कुराकानी :
१. तपाईं अंग्रेजी साहित्यको विद्यार्थी पनि हुनुहुन्छ, नेपाली र अंग्रेजी कविताका समानता र भिन्नताहरू के– के हुन् ?
खासमा यो प्रश्नमाथि एउटा विश्वविद्यालयका सबै विद्यार्थीहरूले शोधपत्र तयार पार्दा पनि आंशिक अनुत्तरित नै रहने खालको प्रश्न हो । त्यसैमाथि तुलनात्मक रूपमा जवाफ दिने काम आफैमा चुनौतीपूर्ण हो । तैपनि म आफूलाई लागेका एकदुई कुराहरू यहाँ राख्ने प्रयास गर्छु ।
आजको अंग्रेजी भाषामा कविता लेखन चसर (१३४३ – १४००) देखि सुरु भएको हुनाले आधुनिक अंग्रेजी काव्यको सुरुवात चसरसँगै भएको हो भन्ने धेरैको भनाइ रहे पनि अंग्रेजी साहित्यका इतिहासकारहरूले एंग्लो– स्याक्सन समयको साहित्यलाई पनि अंग्रेजी साहित्यको इतिहास भनेर लेखेका छन् । यस क्रममा छैटौँ शताब्दीतिर पद्यात्मक शैलीमा लेखिएको ‘विउल्फ’ काव्य ग्रन्थको विशेष चर्चा हुने गर्दछ । जसले योद्धा र रणकौशलको वीरगाथालाई मुख्य भाव बनाएको छ । त्यस्तै कवि सुवानन्द दासद्वारा लेखिएको ‘पृथ्वीनारायण शाह (राजैभक्तिकृत)’ शीर्षकको कवितालाई नेपाली भाषाको पहिलो कविता भनेर चिनिन्छ । जसको भाव पनि युद्ध र योद्धाको कुशलता केन्द्रित रहेको पाइन्छ ।नेपाली र अंग्रेजी दुवै भाषाका कविताको लिखित इतिहास पूर्व भजन, श्लोक, लोकगीत र लोकगाथालाई कविता मान्ने गरेको इतिहासकारहरूको भनाइ रहेको छ ।
विभिन्न आयामहरू खेप्दै अंग्रेजी र नेपाली भाषाका कविताको विकासक्रम उत्तर–आधुनिक युगमा पुगेको दाबी गरिनु अर्को समानता हो । युरोपेली श्वेत पुरुषहरूको उच्च प्रभुत्व रहेको अंग्रेजी साहित्य जसरी अहिले समावेशी र विविधतायुक्त बनेको छ त्यसरी नै नेपाली साहित्यमा पनि विभिन्न भूगोल, वर्ग, लिङ्ग,जातजाति र समुदायको प्रतिनिधित्व बढ्दै गइरहेको छ । दरबार ÷सत्ता नजिक र आमजनता नजिक धारको विभाजन दुवै भाषाका कविताको इतिहासमा देखिन्छ ।
भिन्नताको कुरा गर्ने हो भने अंग्रेजी कविताको इतिहास तुलनात्मक रूपमा लामो छ र व्यापक क्षेत्र ओगटेको छ नेपाली भाषाको पहुँच सीमित छ । नेपाली भाषाका कविताहरूले अझै पनि जातीय विभेद र छाउपडीका मुद्दा विरुद्ध लडाईं लडिरहेका छन् भने अंग्रेजी भाषाका कविताहरूले त्यो तौल खेपिराख्नु जरूरी छैन । अंग्रेजी भाषाका कविहरूले कविता लेखनलाई गुजारामुखी र व्यावसायिक रूपमा स्थापित गर्न सफल भइसक्दा पनि नेपाली कविता लेखन शोख, फुर्सदको समयको सदुपयोग र रहरको रूपमै कतिपयले बुझ्ने गरेको पाइन्छ ।
२. के नेपाली कविता अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्छन् ?
समय र प्रविधिको गतिशीलता सँगै नेपाली कविताको आकाश पनि फराकिलो हुँदै गइरहेको छ । मलाई लाग्छ, नेपाली कविताहरू पनि अन्तर्राष्ट्रिय स्तरको लेखिएको छन् । देवकोटा, भूपी शेरचन, पारिजात, हरिभक्त कटुवालद्वारा लिखित कविताहरू तत्कालीन अन्तर्राष्ट्रिय स्तरको कविता भन्दा कम छैनन् । त्यो परम्परालाई निरन्तरता दिने जिम्मेवारी अबको पुस्ताको काँधमा आएको छ ।
३. नेपाली कविता लेख्दै गर्दा आफूलाई कहाँनेर पाउनुहुन्छ ?
छोटकरीमा भन्नुपर्दा, नेपाली कविता लेख्दै गर्दा आफूलाई धेरै सम्भावना, चुनौती र जिम्मेवारीको नजिक पाउँछु ।
४. कुनै पनि कविता सृजना गर्दा वादहरूको याद कत्तिको आउँछ ?
कुनै कविता सिर्जना गर्नुअघि नै मस्तिष्कमा सिद्धान्तहरू खेलाएर म फलानो सिद्धान्तको भूगोल अन्तर्गत पर्ने कविता लेख्छु भनेर त सोचिँदैन, आफ्नो कविताको प्रथम पाठक आफै हुने भएकाले भाव र प्रभाव मनन गर्ने क्रममा आफूले पढेको विभिन्न सिद्धान्तहरूको कोणबाट मनन गरेर भाषा, शैली र बिम्बमा पुनर्विचार चाहिँ नगरिने होइन ।
५. नारी पक्षका कविता पनि लेख्नुहुन्छ, के नारीका कविता नारीले मात्रै लेख्नुपर्ने हो या के हो ?
कलम र विचारको लैङ्गिकता हुँदैन । नारीका समस्या र मुद्दा नारीका मात्रै निजी होइनन् । भनिन्छ नि ‘कुनै एउटा व्यक्तिमाथि अन्याय हुनु सम्पूर्ण मानव समुदायमाथि अन्यायको खतरा हो ।’ र, मानवता र समानताको प्रयास सम्पूर्ण मानव जातीको कर्तव्य हो । त्यसमाथि झन् हामी त यहाँ धर्ती र आकाशको आधाभन्दा बढी क्षेत्रफल ओगटेको समुदायको कुरा गर्दैछौँ ।
महिलाको शारीरिक र जैविक पक्षसँग जोडिएका विषयवस्तुमा भने महिलाले अलिक बढी प्रभावकारी, भरपर्दो र संवेदनशील तरिकाले लेख्न सक्ने कुर। नकार्न सकिंदैन ।
६. तपाईंले लेख्दै आउनुभएका कविताको सामाजिक हैसियत के हो र यसले समाजमा कस्तो प्रभाव पारेका छन् ?
मैले लेख्दै आएका कविताको हैसियत निर्धारण गर्ने जिम्मेवारी त पाठक समुदायको हो । मैले आफ्ना कविताको कुनै पनि प्रकारको हैसियत दाबी गर्न मिल्दैन ।
कविता भन्ने बित्तिकै अझै पनि धारणा छ कि कविको भाषा हो कविहरूले मात्रै बुझ्छन् । तर, जब हामी सामाजिक मुद्दा उठान गरिएका कविता लेख्छौँ तब हाम्रो यो जिम्मेवारी हुन्छ कि कविताको आधारभूत सुन्दरतालाई जोगाएर कथा, उपन्यास र समाचार बुझ्न सक्ने पाठकहरूले पनि कविताको भाषा बुझ्न सकून् । आफै अक्षर चिन्न नजान्ने व्यक्तिले पनि कविता वाचन गरेको सुन्दा भाव बुझोस् ।
कवितालाई विषयवस्तुको आधारमा समाजसँग जोडिसकेपछि कविताको भाषा शैलीले पनि समाजलाई जोड्न सक्नुपर्दछ । विषयवस्तु र समाजबिच कविताको पुल निर्माण गर्ने काम कविको हो । म यो प्रभाव साकार पार्न सकूँ भन्नेबारे सदैव चिन्तन गरिरहन्छु । हेरौँ प्रयास कहाँसम्म पुग्छ ।
७. एपेक नेपालले तपाईंको प्रदेशबाट प्रतिनिधि कविको रूपमा यहाँलाई सम्झेको छ, कस्तो लाग्दैछ ?
सात प्रदेशका चौध कवि साथमा अभिभावक कवि रहनुहुने एपेक राष्ट्रिय कविता उत्सवमा एपेक नेपालले मेरो प्रदेशबाट प्रतिनिधि कविको रूपमा मलाई सम्झेकोमा खुशी त लागेको छ नै साथै जिम्मेवारी पनि थपिएको महसुस भएको छ । दूर र सुदूरको आवाज बोकेर कर्णाली तर्दै आफ्नो प्रदेशको प्रतिनिधित्व राजधानीसम्म देखाउने सुअवसर प्रदान गरेकोमा एपेक नेपालप्रति आभारी छु ।
सात प्रदेशका चौध कविको प्रतिनिधित्व रहने काव्य उत्सवमा म प्रदेश नम्बर सात यानकी सुदूरपश्चिम प्रदेशको प्रतिनिधिलाई सात ओटा प्रश्नको उत्तर स्वरूप आफ्नो विचार राख्ने मौका दिनुभयो हजुर प्रश्नकर्तालाई पनि धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










