सिन्धुलीको भिमानमा जन्मिएकी अनिता कोइरालाका विभिन्न राष्ट्रिय पत्रपत्रिकामा फुटकर निबन्ध, कथा, संस्मरण, नियात्रा, कविता तथा आलेख प्रकाशित भइरहन्छन् । साहित्यिक फाँटमा `डिग्रीवाली गृहिणी´को उपनामले परिचित अनिता कोइरालाको पहिलो कृति उपन्यास `उज्यालो औंसी´ गएको हप्ता मात्रै प्रकाशित भएको छ ।
प्रस्तुत छ, कथाकार तथा लेखक अनिता कोइरालासँग उहाँको पहिलो उपन्यास `उज्यालो औंसी´ र विभिन्न विषयमा आबद्ध भई जनक कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।
कसैले ‘उज्यालो औँसी’ भित्र के छ भनेर सोध्यो भने यहाँको सटिक उत्तर के हुनेछ ?
– मानव जीवन चाहिँ सदैव गर्भमै लपेटिएको हुने रहेछ । जसरी आमाको गर्भमा एउटा भ्रूण लपेटिएको हुन्छ । ‘उज्यालो औँसी’मा आमाको गर्भबाट नै भ्रूणले विराट चेतनाद्वारा बाहिरी जगतको दृश्यावलोकन गर्न सकेको छ । चेतनशील भ्रूणले आमाको गर्भबाटै पिताको हत्या भएको भयानक दृश्य देख्छ र त्यो भ्रूणको जीवन दर्शन, जीवन सङ्घर्ष, चुनौती, दुःख, पीडा, अवसादका साथै उज्यालोका कथा र व्यथा भोग्दै जान्छ ।
औँसीलाई अँध्यारोको बिम्बमा लिइन्छ यद्यपि यहाँले उज्यालोको चित्रण गर्नुभएको छ । उज्यालो औँसीमा प्रकाशको स्रोत के हो ?
– अवश्य सामान्य आँखाले हेर्दा औँसीलाई अँध्यारोको बिम्बका रूपमा नै हेरिन्छ । तर मैले उज्यालो औँसीलाई मनको आँखाले हेरेकी छु । उज्यालो पोख्ने कि अँध्यारो, त्यो त हाम्रो हातमा छ नि । उज्यालो औँसीको प्रकाशको स्रोत विराट चेतना नै हो ।
उपन्यासको रचना गर्भ भन्न मिल्छ ?
– मज्जाले भन्न मिल्छ, मैले पुस्तकमा रचना गर्भ भनेर छुट्टै भाग नै राखेकी छु । यो उपन्यास कसरी लेखियो, किन लेखियो भन्ने कुरालाई विस्तृत रूपमा त्यहाँ लेखेकी छु ।
उपन्यास पूरा गर्न कति समय लगाउनुभयो ?
– करिब दुई वर्ष लाग्यो ।
उपन्यास लेख्दै गर्दा उपन्यासका पात्रमा डुबेर त्यसको ह्याङ ओभरमा कतिको पर्नुभयो ? पर्नुभएको भए अनुभव साझा गर्दिनोस् न ?
– अहो ! अविस्मरणीय छन् यस कृतिका पात्रहरू । मेरा जीवनमा यथार्थ रूपमा आएका कतिपय पात्रहरू पनि छन् यहाँ । उपन्यास लेख्नुभन्दा अगाडिबाट नै मेरो मस्तिष्कमा आएर मलाई उपन्यास लेख्न घचघच्याए । उज्यालो औँसीका पात्रहरूलाई निकै नजिकबाट नियालेकी छु । यी पात्रहरू मेरो हृदयमा बसेका छन् । मलाई जीवनभर मार्गदर्शन गरिरहन्छन् । भुलेर पनि यी पात्रहरूलाई भुल्न सक्दिनँ । ह्याङ ओभर त सदैव रहने छ ।
पछिल्लो क्रममा यहाँ विभिन्न फुटकर लेखनमा सक्रिय हुनुहुन्छ । कथा, निबन्ध, आलेख, पुस्तक अनुभूति आदिमा यहाँलाई पढिरहेको हो । अचानक उपन्यासलाई पहिलो कृति बनाउने सोच कसरी आयो ?
– उपन्यास नै लेख्छु भन्ने योजना त थिएन तर सेतोपाटीमा मैले ‘म हारेँ आमा’ भन्ने कथा लेखेकी थिएँ, त्यो कथामा वरिष्ठ कथाकार डाक्टर राजेन्द्र विमलका आँखा परेछन् । उहाँ मेरो गुरु पनि हुनुहुन्छ । उहाँका आँखाले देख्यो ‘उज्यालो औसीँ’ को सिङ्गो औपन्यासिक रूप । अनि गुरुको विश्वासले म ऊर्जाशील भएर निकै छोटो समयमा २८००० शब्दमा ‘उज्यालो औँसी’को पहिलो खाका तयार गरेँ ।
एउटा मान्छेलाई किताब अध्ययन अनि लेखनले के दिन्छ जस्तो लाग्छ ?
– सम्भावनाको मार्ग देखाउँछ अध्ययन र लेखनले । हामीसँग समय निकै छोटो छ । आफ्नो निजी अनुभवहरूले मात्र समग्रताको अध्ययन गर्न सक्दैनौँ । मानव हृदय, समाज, सम्बन्ध, विज्ञान, अध्यात्म, दर्शन र विश्व चेतनालाई बुझ्न अरूले लेखेका पुस्तक पढ्नै पर्छ । त्यसैले पुस्तक पढ्दा अरूको आँखाबाट सजिलै संसार हेर्न सकिन्छ । अरूले भोगेको जीवन, दर्शनलाई छोटो समयमा बुझ्न सकिन्छ । पुस्तक पढ्दा आफ्नो ज्ञानको दायरा थाहा हुन्छ । हामीले पढ्नु पर्नै विषय कति रहेछन् भन्ने दृष्टि स्पष्ट हुन्छ । आफूले आफूलाई सजिलै अभिव्यक्त गर्न लेख्नु पर्ने रहेछ । लेखन र पठन नै वास्तवमा साधनाको माध्यम रहेछ ।
लेखन एउटा पक्रिया हो भनिन्छ । एउटा लेखकले आफ्नो दैनिक जीवनशैलीमा गरिने क्रियाकलापमा पनि मस्तिष्कमा केही न केही लेखिरहेको हुन्छ । लेखनमा लागिसकेपछि यहाँले हरेक दृश्यलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
– पक्कै पनि मेरो दृष्टिकोण पृथक् भएको छ । हजुरले भनेको कुरा शाश्वत हो । लेखनमा आएपछि लेख्ने विषयवस्तुको कमी नहुने रहेछ । आफूले अनुभव गेरका, भोगेका, देखेका घटनाहरूलाई टपक्क टिपेर अक्षरको अक्षय भण्डारमा सुरक्षित गर्न मन लाग्दो रहेछ । चारैतिर लेख्ने विषय देखिंदो रहेछ । लेख्नुभन्दा अगाडि जे जति अनुभूतिहरू मस्तिष्कमा आउँथे ती सबै उडेर जान्थे तर अहिले कुनै पनि घटनालाई म अक्षरमा बाँधेर राख्न कोशिस गर्छु ।
लेखनले समाजलाई परिवर्तन गर्ला नगर्ला त्यताको कुरा छौडौं; यहाँलाई लेखन-पठनले आफ्नो जीवनमा के परिवर्तन गरायो भन्ने लाग्छ ?
– कति राम्रो प्रश्न । समाज परिवर्तन गर्नुभन्दा अगाडि हामीले आफूलाई नै परिवर्तन गर्नुपर्छ । साँच्चै लेखनले म र मेरो दैनिकीमा निकै परिवर्तन ल्याएको छ । पठन-लेखनले हिजोआज मलाई गुनासोरहित बनाएको छ । मलाई समय नै छैन अनावश्यक कुराहरूमा भुल्न । पढ्नुपर्ने पुस्तकहरू कति छन् कति । जान्नुपर्ने विषय यति धेरै छन् मस्तिष्कमा फाल्टुका विषय खेलाएर दुःखी हुने समय नै छैन । मैले यति पढ्नु छ यति लेख्नु छ भन्ने भएपछि समय त मिलिक्कै बित्छ । मस्तिष्कमा शान्ति भएपछि आनन्द नै आनन्द अनुभव गरिने रहेछ । सबैतिर सम्भावना नै सम्भावना देखिने रहेछ ।
महिलालाई लेखक बन्नका लागि के कस्तो चुनौती देख्नुहुन्छ ?
– चुनौती त सबैलाई छ तर पनि महिलाहरूलाई धेरै नै छ । पठन र लेखनलाई पर्याप्त समय नमिल्न सक्छ । घरपरिवारको काम र जिम्मेवारी महिलाहरूको मात्र हो भन्ने संस्कार अझ पनि हटेको छैन । स्वतन्त्र भएर लेख्ने अवस्था नहुन सक्छ । घरमा लेख्ने वातावरण नहुन सक्छ । परिवारको साथ र सहयोग नमिल्न सक्छ । महिलाहरूले लेख्ने विषयलाई साहित्य जगतले नै शङ्काको दृष्टिले हेर्न सक्छ ।
तपाईं ‘डिग्रीवाली गृहिणी’ बाट ‘डिग्रीवाली लेखक’ बन्दा सम्मको यात्रालाई कसरी हेर्नुहुन्छ ?
– सकारात्मक सोच र कर्मको निरन्तर अभ्यासले मान्छेको दशा र दिशा बदल्दो रहेछ । मेरो दशा र दिशा दुवै बदलिएको छ । म त सदैव आफूलाई ‘डिग्रीवाली गृहणी’ नै भन्न मन पराउँछु । डिग्रीवाली लेखक भन्दा मलाई अहङ्कारले छोप्ने हो कि, भन्ने डर पो लाग्छ । गृहिणी र लेखकलाई एकै ठाउँमा राख्दा मैले मेरो धरातल बिर्सिन्न कि ? आफ्नो धरातलमा बस्न सक्यो भने सुख र शान्ति मिल्छ जस्तो लाग्छ । डिग्रीवाली गृहिणीले जसरी स्वतन्त्र भएर आलेखहरू लेख्छे त्यो स्वतन्त्रता डिग्रीवाली लेखकले नखोसोस् जस्तो लाग्छ । पठन र लेखन कार्यमा विश्वास गर्दै अध्ययनलाई निरन्तर अगाडि बढाउँदै लेखनको अभ्यास गर्न सकौँ जस्तो लाग्छ ।
लेख्नुभन्दा प्रकाशन गर्नु अझ गाह्रो कुरा हो भन्छन् । यहाँको अनुभव किताब प्रकाशन प्रक्रियामा कस्तो रह्यो ?
– रमाइलो छ मेरो अनुभव । मलाई त यस्तो लाग्यो पुस्तक प्रकाशन पनि लेखहरू जस्तै छोटो समयमा नै तुरुन्तै प्रकाशित हुन्छ । अनभिज्ञ थिएँ प्रकाशनको लामो प्रक्रियाबाट । म सोच्थेँ जसरी मेरा लेखहरू पत्रपत्रिकामा पन्ध्रदेखि एक महिनामै छापिन्छ त्यसरी नै किताब पनि एकै महिनामा आउला जस्तो लागेको थियो । अहिले आफैदेखि हाँस उठ्छ ।
यहाँलाई मनपर्ने तीन वटा पुस्तकको नाम भन्नुपरेमा ?
– भागवत गीता, रामायण र माधवी ।
यहाँलाई मन पर्ने तीन जना लेखकको नाम लिनुपरेमा ?
– सजिलो जस्तो लागेको प्रश्नको उत्तर निकै गाह्रो रहेछ । प्रायः सबैको पुस्तक पढ्छु तर कुनै कुनै पुस्तकले निकै लामो समयसम्म तरङ्गित पार्छ । तीन जनाको नामै लिनुपर्दा चाहिँ शङ्कर लामिछाने, बिपी कोइराला र पारिजात ।
यहाँको सपना के छ ?
– लेखन पठनमा सदैव मन लागिरहोस् । हरेक दिन शान्तिले बाँच्न पाऊँ । जीवनको एक एक पललाई ऊर्जाशील बनाउँदै आनन्दमा रमाउन सकूँ । राति ओछ्यानमा जाने बित्तिकै दुई मिनेटमा भुसुक्क निदाउन सकूँ ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न मन लागेको उत्तर दिन सक्नुहुन्छ ?
– सकारात्मक उत्प्रेरणा कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने उदाहरण हो ‘उज्यालो औँसी’ । मेरा कमजोरीहरू औँल्याउँदै मलाई साहित्य पढ्न-लेख्न जुन उत्साह भरी दिनुभयो ती सम्पूर्ण आत्मीयजनहरू प्रति कृतज्ञ छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१८ माघ २०८२, आईतवार 









