(नेपाली साहित्यमा बहुविधाका सक्रिय, निरन्तर र निष्ठावान् साहित्यकार हुन् गोविन्द गिरी प्रेरणा । विसं २०१५ वैशाख ५ गते जन्मेका उनको पहिलो रचना कथा विसं २०३४ सालमा प्रकाशित भएको थियो भने उनको पहिलो पुस्तक कथा सङ्ग्रह “सुतेको समुद्र” विसं २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । कथा, कविता, निबन्ध, उपन्यास, नियात्रा, समालोचना, हास्यव्यङ्ग्य, जीवनी लगायत विविध विधामा उनका २७ पुस्तक प्रकाशित छन् । हालै प्रकाशित पारिजातको जीवनी “सुश्री पारिजात” सर्वाधिक चर्चामा रहेको छ । उनले वरिष्ठ कथाकार परशु प्रधानसँग संयुक्त रूपमा उपन्यास “विसर्ग” पनि लेखेका छन् । नारायणी वाङ्मय पुरस्कार, मैनाली कथा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, वासु शशी स्मृति पुरस्कार लगायतका पुरस्कार प्राप्त प्रेरणा झन्डै २ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।)

 

तपाईंले अमेरिका जस्तो व्यस्त ठाउँमा बसेर पनि अध्ययन,लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनु भएको छ ?

– लेखन अध्ययन भन्ने कुरा निष्ठा रहेछ । प्रतिबद्धता रहेछ । नशा रहेछ । लत रहेछ । मैले तीसको दशकको सुरुवातदेखि नै जब लेखन कर्ममा आफूलाई प्रवेश गराएँ, त्यति बेलादेखि नै लेखन र पठनलाई निरन्तरता दिइरहेँ । त्यो क्रम कहिल्यै टुटेन । मैले २०४५ सालदेखि करिब ५ वर्ष किराना दोकान पनि चलाएँ, काठमाडौँको कुलेश्वर चोकमा, त्रिभुवन विश्वविद्यालयको जागिरलाई निरन्तरता दिँदै । त्यति बेला पनि मैले मेरो लेखन र पठनलाई निरन्तरता दिइनै रहेँ। त्यही कारणले मलाई लाग्छ, समयको व्यवस्थापन एक कुरा हो, अर्को कुरा चाहिँ निष्ठा र प्रतिबद्धता नै हो, यसरी निरन्तरता दिनका लागि ।

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?

– साहित्य, जीवनकै एक पक्ष हो । जीवनका दर्शन हुन्छन् । मान्छे भनेको आत्माको खोल हो । प्रकृति मनुष्यको बासस्थान हो । यी सब हाम्रा जीवनसँग, बाँच्नुसँग, कर्मसँग, गतिविधिसँग अविभाज्य रूपमा गाँसिएका कुरा हुन्छन् । कुनै न कुनै रूपले यी आपसमा अन्तर सम्बन्धित छन् । जोडिएका छन् । गाँसिएका छन् । सम्बन्धको सरोकारमा अन्तर घुलित छन् ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– मजाले हुन्छ नि । जाँगर नभएको भए यसरी नित्य निरन्तर कसरी लेख्न सकिन्थ्यो । जाँगर आपसे आफ पनि पैदा हुन्छ, कहिले कुनै विषयले पनि जाँगर उमार्छ । वास्तवमा लेखकहरू जाँगरिला नै हुन्छन् । यसो मन लागेको बेलामा लेख्ने तर कुनै निष्ठा र प्रतिबद्धता नभएकाहरूलाई हिसाब नगर्ने हो भने लेखक भनेकै जाँगरकै अर्को रूप हो नि ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उँचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– साहित्य लेखनसँग त्यो लेखनलाई निरन्तर उँचाइमा लैजाने सोच हुन्छ, प्रतिबध्द लेखकको । अध्ययन बिना त राम्रो साहित्यको कल्पनै गर्नै सकिन्न । अध्ययन, मनन, चिन्तन, भ्रमण त लेखकका खुराक नै हुन् । खुराक बिना उँचाइमा लाने कसरी कल्पना गर्नु । हो, लेखनका लागि जन्मजात गुणको पनि हात हुन्छ । एक प्रकारको दैवी शक्ति । अलौकिक शक्ति । अलौकिक गुण । तर त्यतिले पुग्दैन ।

तपाईंले कथा,कविता र आख्यानमा निकै कलम चलाउनु भएको छ त्यसैले तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्छन्, कस्तो लाग्छ ?

– हो, मैले प्रायः साहित्यका मूल मूल विधाहरूमा कलम चलाएको छु । विविध विधामा मेरा पुस्तकहरू प्रकाशित भएका छन् । त्यसैले मलाई त्यसो भनेका होलान् । यो त राम्रो कुरा हो नि । खुसीको कुरा हो । तर कसले के भन्लान् भन्नेतिर म लाग्दिन । मेरो मूल कर्म, मूल धर्म, मेरो गन्तव्य, मेरो निष्ठा साहित्यमा छ । हुन त गोविन्द गिरी प्रेरणालाई साहित्यकार मान्नु पर्यो भने कान काटेर पातमा राख्छु भन्नेहरू पनि थिए । कसले के भन्छन्, वा भन्यो भन्नेतिर नलागी लेखिरहेँ, लेखिरहेको छु र लेखिनै रहनेछु । त्यसो भन्ने मित्रहरूलाई अझै भेट्छु । उनीहरूले कान काटेर पातमा राखेका छैनन् । किन होला थाहा छैन । म साहित्यकार हुन अझै बाँकी भएर हो कि, उनीहरूले बोलेका कुरा बिर्सेका हुन् थाहा छैन ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?

– मलाई समय, परिस्थिति र वातावरणले लेखायो । म विसं २०३१ सालको एसएलसी सकेर २०३२ सालमा काठमाडौँ उच्च अध्ययनका लागि आएँ, अनि सम्पन्न काठमाडौँ मेरो विपन्नतामा ठेस लाग्यो र त्यसैले लेख्ने प्रेरणा दियो । वास्तवमा प्रकृति, मानिसका सुखदुख, चोट, पीडा, असमानता, विसङ्गति, यी सब नै मेरा लागि सधैँ लेखनका प्रेरणा श्रोत हुन् । जीवन र जगत नै प्रेरणाको श्रोत हो ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– समय खाली नै कहाँ हुन्छ र ! कि केही काम गरिरहेको हुन्छु । कि लेखिरहेको हुन्छु । कि पढिरहेको हुन्छु । नभए घुमिरहेको हुन्छु । चिन्तन गरिरहेको हुन्छु । मनन गरिरहेको हुन्छु । यौटा मानिस साहित्यकार भइसकेपछि हुन बाँकी केही रहँदैन भन्ने लाग्छ । अनि यौटा साहित्यकार भरसकेपछि फुर्सत भन्ने कुरा त निकाल्दा मात्रै निक्लन्छ, नत्र भने बेफुर्सतीको अर्को नाम साहित्यकार हो । फुर्सत निकाल्ने भनेको केही गर्नको लागि हो, त्यसलाई फुर्सत भन्नै कहाँ पाइयो र !

तपाईंलाई गीत,कविता,कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

– मलाई जीवन र जगतलाई स्पर्श गर्ने जुनसुकै विधाका रचना मन पर्छन् । त्यत्ति हो, लेखनले तान्नु पर्यो, पठनीय हुनुपर्यो । लेखाइमा दम हुनु पर्यो । कहिलेकाहीँ निकै कष्ट खपेर पनि पढ्नुपर्ने हुन्छ, अपवादको रूपमा । त्यो बेग्लै कुरा हो । जहाँसम्म राम्रो लेख्न के गर्नुपर्छ भन्ने प्रश्न छ, आफूले जुन विधाको लेखन गर्न लागेको हो, कम्तीमा त्यो विधाको न्यूनतम ज्ञान त हुनै पर्यो । त्यो विधामा लेखिएका समकालीन र पूर्ववर्ती रचनाहरूको सामान्य जानकारी त हुनै पर्यो । त्यति भएमा आफ्नो लेखन समकालीन लेखनमा कहाँनेर छ, आफैँले पत्तो पाउन सम्भव हुन्छ । नत्र भने राजमार्गको छेउको जङ्गलमा गोरेटो खनेर मैले बहादुरी गरें भन्नेको जस्तो हालत हुन्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– मेरो विचारमा साहित्यिक पत्रकारिताले साहित्यिक रचना लेखनलाई उत्प्रेरित गर्दछ । फुटकर रचना प्रकाशन, त्यसबाट पाइने प्रतिक्रिया र पाठकीय समालोचनाले लेखनलाई तिखार्न मद्दत पुर्याउँछ । साहित्यिक रचना पत्रपत्रिकाले प्रकाशन स्वीकार गर्ने वा नगर्ने भन्ने पनि हुन्छ । छाप्न योग्य भए नभएको सम्पादकले निर्क्यौल गर्ने हुन्छ । त्यसले लेखकलाई सजग पनि तुल्याउँछ ।

साहित्यिक पत्रकारिताले गर्दै आएको र गर्ने काम यही नै हो । तर अहिले नेपाली साहित्यिक पत्रिकाहरूको सङ्ख्या न्यून हुँदै गएको छ । जति छन् तिनले धान्न सकिने अवस्था एकातिर छैन भने अर्कोतिर सामाजिक सञ्जालमा जे पनि, जस्तो पनि सार्वजनिक गर्न सहज भएकोले रचनाकारिताको स्तरमा डरलाग्दो खाडल देखिएको छ । नेपालमा वा नेपाली भाषामा संस्था धेरै छन्, पुरस्कार पनि लगभग सवैजस्तो संस्थाले राखेका छन्, तर त्यो भन्दा पनि स्तरीय साहित्यिक पत्रिकाको खाँचो छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

– मैले अघि पनि भनेँ, म धेरै विधामा लेख्न मन पराउँछु र लेखिरहेको छु । प्रकाशित पनि भइरहेका छन् । म पढ्न पनि सबैजसो विधाका पुस्तक मन पराउँछु । मन पराउने मात्र होइन, नियमित रूपमा पढी नै रहेको हुन्छु । तर पनि पछिल्लो समयमा उपन्यास र जीवनी एवम् आत्मकथाहरू बढी पढ्न थालेको छु ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– हेर्नोस्, लेखेर बाँच्ने भनेको व्यावसायिक लेखनले हो । लेखकले दाल रोटी पुग्ने गरी लेखक स्व पाउने सङ्ख्यामा साहित्यिक किताब किन्न नेपाली पाठकहरू तयार देखिँदैनन् । एकाध अपवाद मात्रै हो । फेरि संसारमै लेखेर बाँच्ने साहित्यकार कति नै छन् र ।  यहाँ अर्को प्रश्न पनि छ, टिक्ने, लेख्ने कि बिक्ने ?

साहित्यको मापदण्ड के हो ?

– साहित्यको मापदण्ड साहित्य नै हो । साहित्यिक मूल्य र मान्यताभित्र हुनुपर्यो लेखन । विरोध वा प्रतिकारको नाममा नारा हुनु भएन । गुणको बखानको नाममा चाकरी, स्तुति हुनु भएन ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– अब म कहिल्यै पनि कुनै पनि राजनैतिक आस्थालाई बोकेर हिँड्ने मान्छे परिन । तर पनि राजनीति र राजनैतिक गतिविधिबाट पूरै अलग हुन पनि सकिँदैन । चासो नलिऊँ भन्दा पनि विविध परिवेशले देख्नुपर्ने, सुन्नु पर्ने हुन्छ । अब झन्डै २ दशकदेखि अमेरिकालाई कर्मभूमि बनाएको हुनाले जन्मभूमि नेपालको राजनीतिमा प्रत्यक्ष चासो राख्नुको पनि खासै अर्थ छैन । तथापि नेपाली राजनीति भ्रष्टिकरणको भासमा परेको देखिन्छ । दलहरू इमानदार देखिँदैनन् । सत्ताको फोहोरी खेल खेल्ने, लुछाचुँडी गर्ने र भ्रष्ट र अनैतिकको बुईमा चढेर रमाउनेहरूको बोलावाला भएको देखिन्छ । यो निकै गम्भीर र दुःखलाग्दो कुरा हो ।

अहिलेको साहित्यमा विचार युग चेतना विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु  हुन्छ ?

– प्रविधिको विकासले साँघुरिँदै गएको वर्तमान विश्वको परिप्रेक्षमा आजका प्रायः सबैजसो मानिस समयको पछिल्लो अवस्थाको जानकार छन् । विश्वमा देखा पर्ने विसङ्गति, युद्ध, गृह युद्ध, शीत युद्ध सबैले साहित्यकारलाई प्रभाव नपार्ने कुरै भएन । अतः विशेष गरी कविता विधामा यस्ता भावनाले आत्मसात् गरेको पाइन्छ । दृष्टान्तको लागि एक वर्ष अघिदेखि चलिरहेको रुस युक्रेन युद्धले पनि नेपाली साहित्य लेखनमा प्रवेश पाएको छ । यो विचार, युग चेतना, विश्व परिवेशको प्रकटीकरण नै त हो ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– नेपालको राष्ट्रिय राजनीति, विसङ्गतियुक्त नेपाली समाज, विकृतिको भासमा परेका राजनीतिकर्मीहरू झैँ नै छ साहित्यको क्षेत्रका पुरस्कार, सम्मान र समालोचनाको क्षेत्र पनि । सबै थोक विसङ्गतिले ग्रस्त भएको समाज किंवा देशमा साहित्यको क्षेत्र र साहित्यकारहरू मात्र चोखो सुकिलो हुने कुरा कसरी कल्पना गर्न सकिन्छ र ! खास मापदण्डको निर्माण बिना स्थापना गरिएका छन् पुरस्कार सम्मान । पुरस्कार पाउने साहित्यकारभन्दा पुरस्कार दाताको अस्वाभाविक चुरीफुरी देखिन्छ । राम्रालाई होइन आफ्नालाई काखी च्यापेर लेखिने समालोचनालाई के उपमा दिनु र खै !

पारिजातको बारे भरखरै पुस्तक निकाल्नु भएको छ !  यो पुस्तकका बारेमा सङ्क्षेपमा भन्नु हुन्छ कि ? यो पुस्तक निकाल्नाको खास कारण के हो ?

– नेपाली साहित्यकी चर्चित, धेरै पाठकले रुचाएका, प्रथम मदन पुरस्कार पाउने नारी स्रष्टा पारिजातको जीवनीका पूर्व प्रकाशित पुस्तकहरू पढ्दा तिनमा कैयन् कुराहरू छुटेजस्तो लाग्यो । अपूर्ण जस्तो लाग्यो । कतिसम्म भने उनको आधिकारिक जन्म मिति समेत तिनमा थिएन । अतः मैले पारिजातको जीवनको सबै पक्ष र घटनाहरूलाई सक्दो अध्ययन अनुसन्धान गरेर जीवनी लेख्ने मन बनाएँ र काम गर्दै जाँदा पुस्तक तयार भएर छापिँदा २० वर्ष समय बितेको पत्तै भएन । त्यसो त मैले सुरुमा भूपी शेरचन, शङ्कर लामिछाने र पारिजातको जीवनी लेख्ने अठोट गरेको थिएँ । तर पारिजातको जीवनी लेखनले नै २० वर्ष खाइदियो ।

अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– मेरा विविध विधामा प्रकाशित २७ किताबहरूको बारेमा त तपाईंलाई थाहा छँदै छ । साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार, बीएन पुस्तक, फाइन प्रिन्ट लगायतबाट मेरा पुस्तक प्रकाशन भएका छन् । जहाँसम्म अप्रकाशित पुस्तकहरूको कुरा छ, मेरा कम्तीमा आधा दर्जन पाण्डुलिपिले प्रेसको बाटो हेरिरहेका छन् । म नियमित लेख्छु नि त ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– नेपालीहरू विश्वका विभिन्न मुलुकहरूमा विस्तारित हुन थालेपछि नेपाली साहित्य पनि ती स्थानहरूमा विस्तारित भएका छन् । विदेशमा बसेर नेपाल प्रतिको आफ्नो आशक्ति र कर्मभूमिको सुखदुखले नेपाली सर्जकहरू निथ्रुक्क भिजेका छन् । त्यही रुझाइलाई साहित्यमा अभिव्यक्त गरिरहेका छन् । यसरी परदेशमा घरदेशको भाषा साहित्य मौलाइरहेछ, फैलिइरहेछ, विस्तारित भइरहेछ ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?

– भैरव अर्यालको हास्यव्यङ्ग्य लेखनको बेला नेपाली हास्यव्यङ्ग्य लेखन उर्वर थियो र उत्कर्षमा थियो । म साहित्यमा वामे सर्नुअघि नै उनीहरूले हास्यव्यङ्ग्य लेखन, प्रकाशनलाई हराभरा बनाएका थिए । शायद राष्ट्रिय सभा गृहमा निकै ठुलो कार्यक्रम भएको समाचार पढेँ जस्तो लाग्छ । ‘छ्याकन’ जस्ता सङ्कलन निस्कन्थे । त्यस्तै कार्यक्रमको उपज । यसमा भूतको भिनाजु अर्थात् वासुदेव लुइँटेलको पनि ठुलो योगदान छ, यो क्षेत्रलाई हराभरा तुल्याउने । त्यसैको निरन्तरतामा रामकुमार पाण्डे छन्, अग्रज पङ्तिमा । तर विधाको रूपमा हास्य व्यङ्ग्य क्षेत्र अहिले उर्वर छैन । लेख्न त लेखिएका देखिन्छन्, तर त्यो उर्वर कालको काँटको रचना आउन नसकेको मेरो ठहर छ । शायद साहित्यका अरू विधामा हास्यव्यङ्ग्य अन्तरघुलन हुँदै गएर हो कि ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? यहाँ अनेसासको वर्तमान सल्लाहकार पनि हुनु हुन्छ !

– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नाम मैले नेपालमा सुनेको हुँ । त्यति बेला त्यो संस्थाको अमेरिका बाहेक नेपालमा मात्रै च्याप्टर थियो र त्यो च्याप्टरको लव गाउँलेले स्थापना गरेका थिए नेपालमा । अमेरिकामा मूल संस्था स्थापना गर्ने होमनाथ सुवेदी भैहाले । त्यति वेला अमेरिकामा होमनाथ सुवेदीले चलाउँथे भने नेपालमा लव गाउँलेले । लव गाउँले अस्ट्रेलिया जानुअघि अनेसासको मुखपत्र अन्तर्दृष्टि” को नेपाल विशेषाङ्क प्रकाशित भएको थियो, त्यसमा मेरो रचना पनि प्रकाशित भएको थियो । अनेसाससँग मेरो नाता त्यसरी जोडिएको हो । त्यसपछि अमेरिकामा आजीवन सदस्य भएँ । डिसी मेट्रो च्याप्टरको संस्थापक महासचिव र पछि अध्यक्ष भएँ । अहिलेको केन्द्रीय कार्य समितिका साथीहरूले सल्लाहकार बनाएका छन् । अनेसासको संसारभरि च्याप्टर खुलेका छन् । कति सक्रिय छन्, कति निष्क्रिय । साहित्यिक गतिविधि भइरहेको छ ।

तपाईं आख्यानकार हुनु हुन्छ ! तपाईंको लेखनमा अन्य आख्यानकार भन्दा के फरक पाउनु हुन्छ ?

– हो, म आख्यानकार पनि हुँ । पहिलो प्रकाशित रचना नै कथा थियो । पछि उपन्यासहरू लेखेँ । म आफूलाई अन्य रचनाकारभन्दा कुन अर्थमा फरक पाउँछु भने, मेरो शैली मौलिक छ, जुन अरूसँग मिल्दैन । मेरो रचना पढ्दा गोविन्द गिरी प्रेरणाको रचना हो भन्ने छनक, महक, झल्को पाठकले पाउँछन् भन्छन् । यो सही पनि हो ।

तपाईंले पुराना र नयाँ पुस्ताका कुन साहित्यकारलाई मन पराउनु हुन्छ र किन ?

– म साहित्यकारलाई होइन तिनका रचनालाई ध्यान दिन्छु र मन पराउने कोटीमा राख्छु । यौटै रचनाकारको सबै रचना उही काँटको हुन्न र उस्तै हिसाबले मन पनि पराइन्न । फेरि अर्को रचनाकारको अर्को रचना भेटिन्छ, त्यो मन पर्न सक्छ । मन पर्नेमा त्यसको गणना हुने भयो । त्यसैले मन पराउने भन्ने कुरा कुन सन्दर्भमा र कुन परिवेशमा कुरा उठेको हो, त्यसमा भर पर्छ । मेरा मलाई मन पर्ने रचनाहरू बदलिइरहन्छन् । थपिइरहन्छन् । कुनै विषयको कारणले, कुनै शैलीको कारणले, कुनै विशेष सन्दर्भका कारणले ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– पाठकलाई भन्ने मेरो यौटै मात्र कुरा छ । मेरा रचना पढिदिनोस् ।