‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक –  अलका आत्रेय चूडालको ‘निनाद वल्लरी’, लघुकथासंग्रह ‘छचल्का’, पुरुषोत्तम उपाध्याय दाहालको ‘पातको फिरफिरे’, राजन प्रसाद पोखरेलको ‘समयको अटोग्राफ’, विनयराज गौतमको ‘मृत्युको छहारीमा’, किशन पौडेलको ‘अंतर्दृष्टि’ ।

० ० ० ०

१. निनाद वल्लरी – अलका आत्रेय चूडाल

कथा, कविता, समालोचना आदि विविध विधामा कलम चलाउनु भएको अलका आत्रेय चूडालकृत दोस्रो काव्यात्मक पुस्तक हो – “निनाद वल्लरी” ।

शोक खण्डकाव्य ‘निनाद वल्लरी’मा ‘शब्द यी अर्चनाका’, ‘बुवा ! अनाथ यो सुता’, ‘हेरी रहेँ आँसु बगाउने पिता’, ‘नाम हो विष्णुराज’, ‘म शिष्य एक बाबाकी’, ‘ल रोक रोग अर्बुद’, ‘हाँसेर लौ गर बिदा’, ‘तिमी भेटिएनौ’, ‘बाबा बिना के गरूँ !’, ‘तँ होस् गोत्रै अर्कै’, ‘बाबु मेरा समान’, ११ वटा सर्गहरू छन् । यसको परिशिष्ट खण्डमा भने छन्दको सानो चिनारी र यसमा प्रयोग भएका ९ वटा छन्दको चर्चा गरिएको छ । यसमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरुचिपूर्ण संयोजना पाइन्छ ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “‘निनाद वल्लरी’ मुख्यतया करुण रसमा लेखिएको काव्य हो । यसले वियोगको भाव बोकेको छ । यसका नायक एक पिता छन् । सहनायिका उनै पिताकी छोरी छिन् भने केही सहायक पात्रहरू पनि छन् । देश विदेशेको परिवेशमा यस काव्यको रचना गरिएको छ । नायकको जन्मदेखि मृत्युसम्मको सङ्क्षिप्त घटनाक्रम यस काव्यमा छ । कथानकको परिवेश अनुरूपको प्राकृतिक चित्रण र विविध बिम्बहरूको समायोजन पनि यस काव्यमा गरिएको छ । विशेष कथानक विनाका काव्यहरू पनि नेपाली साहित्यमा पाइन्छन् । उदाहरणका लागि लेखनाथ पौड्यालको ‘ऋतुविचार’लाई लिन सकिन्छ ।”

अलका आत्रेय चूडाल उल्लेख गर्छिन्, “अकस्मात् वियोगलाई कवितामा बिसाउन थालेँ । लेखनका क्रममा सँगै गुनगुनाउन पनि थालेँ । त्यससँग जानी नजानी चित्र पनि कोर्न थालेँ । छन्दमा काहिलेकाँहि केही रचना गर्थे तर गायन र चित्रकारिता मेरा लागि नितान्त फरक कुरा थिए । केही महिनासम्म यस्तो अभ्यास गर्दा मलाई धेरै हलुका र आराम भयो । यस साधनाका क्रममा मलाई आफ्नो शरीरका अङ्ग अङ्गबाट व्यथाको आगोमा उम्लेको अवसाद बाफ बनेर उडेको जस्तो अनुभव हुन्थ्यो । बलिन्द्र धारा आँसु बगाउँदै गरेको शोक काव्यको लेखन, गायन र चित्रकलात्मक साधना मेरा लागि विरेचन भयो । मैले जीवनमा पहिलो पटक कलाले मानसिक शान्ति पाउन हामीलाई कसरी सहयोग गर्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न पाएँ । कला हाम्रो दुःखमा प्रलेप रहेछ भन्ने कुरा पनि मैले बुझ्न पाएँ ।”

५० पृष्ठमा आबद्ध यस पुस्तकलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो ।

० ० ० ०

२. छचल्का

“छचल्का” लघुकथासंग्रह हो । यसका सम्पादक विमल भौकाजी हुनुहुन्छ ।

प्रस्तुत लघुकथासंग्रहमा ९९ जना लघुकथाकारका ९९ थान लघुकथा समेटिएका छन् । आकारका हिसाबमा संग्रहभित्रका लघुकथाहरू कुनै छोटा र कुनै अलिक लामा पनि छन् । तर प्रायः लघुकथाहरूको विषयवस्तु प्रभावकारी छन् । शृङ्खलाबद्ध कथानकमा भाव तथा उद्देश्य स्पष्ट रहेको भेटिन्छ । साथै जीवन्त सन्देशको प्रवाहले लघुकथाहरू जीवन्त छन् । कतिपय लघुकथाहरू भने पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गरिरहने खालका छन् ।

सम्पादकीयमा विमल भौकाजी लेख्छन्, “लेखन-कर्म जीवनको अभिन्न अङ्ग हो । तर, लेख्दा कसरी कुन परिस्थितिमा लेख्यो भन्नुभन्दा पनि किन लेख्यो भनिनु महत्त्वपूर्ण कुरो हो । अझ त्योभन्दा पनि ‘के लेख्यो ?’ भनिनुचाहिँ सर्वथा महत्त्वको विषय हो । आज नेपाली साहित्य लेखनको दृष्टिकोणले निकै फस्टाएको देखिन्छ । मूलतः साहित्यिक क्षेत्रमा कलमहरू अत्यधिक मात्रामा चलेका पाइन्छन् ।” सम्पादकीयमा विमल भौकाजी लेख्छन्, “कुन -कस्ता खालका साहित्यलाई पाठकले मन पराउँछन् ? यो, पाठककै व्यक्तिगत रुचिमा भर पर्छ । र, त्यस्तो रुचिलाई ध्यानमा राखेर, तर खास गरेर समयको व्यस्तताको हिसाबले पनि लेखकहरू स्वयम् छोटा लेखनको बाटोमा लागिपरेको तथ्य सार्वजनिक हुने गरेको छ । यसक्रममा ‘लघुकथा-लेखनको गतिले तीव्रता पाएको देखिन्छ । सामान्यतया: प्रश्न उठ्ने गरेको छ- लघुकथा के हो ? लघुकथाको तात्विक अर्थ के हो ? लघुकथा भनिनुलाई वा हुनुलाई त्यसभित्र कुन-तत्त्व अन्तरनिहित हुनुपर्दछ ? यी प्रश्नको जवाफमा विद्वान् समालोचक, साहित्यकार र स्वयम् लघुकथाकारहरूले विभिन्न प्रकारका मत दिएका छन् । हामी भने समष्टिगत रूपमा यत्ति भन्छौं- हामी उभिएको यही धरातलको परिवेशभित्र रहेर मान्छेको जीवनसँग सम्बन्धित जुनसुकै कोणमा केही लेखिन्छ भने, तर सशर्त त्यो लेखनीमा कथानक हुनै पर्छ र संरचनाको दृष्टिकोले त्यो पट्ट्यारलाग्दो हुनु हुँदैन- त्यो लघुकथा हो ।”

२ सय ४ पृष्ठमा बुनिएको यस संग्रहलाई भुँडी पुराणले बजारमा ल्याएको हो र यसको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

० ० ० ०

३. पातको फिरफिरे – पुरुषोत्तम उपाध्याय दाहाल

असाममा जन्मनुभएको कवि पुरुषोत्तम उपाध्याय दाहालको नवीनतम कवितासंग्रह हो – “पातको फिरफिरे” ।

१ सय २४ पृष्ठमा मौलाएको यस संग्रहमा ‘बुढी’, ‘औंठी नभएका बच्चा औंलाहरू’, ‘बाबु र घर’, ‘ढोका खोलिदिनुस् हजुर’, ‘डकार’, ‘उनी नछुने भएकी कि नहेर्ने भएकी’, ‘कवि र कविता अव्यक्त कथा’, ‘धिक्कार मेरो कविता’, ‘भुइँचालो’ लगायत ५२ थान कविता र ‘मीनाक्षी’, ‘कवि’, ‘हाई’, ‘कुकुर’ र ‘आँखा’ ५ वटा रम्बास कविता समावेश छन् ।

“पुरुषोत्तम दाहालका कविताहरूले हामीलाई यति आशक्त पार्दछन् कि उपभोक्तावादको चपेटमा सम्पूर्ण पृथ्वी डुबिसकेपछि कतिपय यस्ता चीजहरू बाँचेका छन् जसले हाम्रो सम्बन्ध, सम्पर्क र आत्मीयतालाई मर्न दिएको छैन । यी सम्पर्कहरू, आफूले भोगेका परिवेशहरू र जीवनको उज्यालो पाटोलाई आफ्नै शैलीमा कविताभित्र चित्रायन गरेका छन्, जुन हृदयस्पर्शी छन् –

प्रत्येक परम्पराको एउटा वास्तव प्रभाव

देख्न छोडे नयाँ पीढीहरूले

रूखो हुन थाल्यो माघ र मङ्सिरको रात

गुन्जिन छोड्यो सारङ्गीको धुन…” भूमिकामा मोहन सुवेदी लेख्छन्, “सङ्कलनभित्रका कतिपय कवितामा कविको नोष्टाल्जिक भावना प्रखर रूपमा टल्किएको छ। पुर्खाले रोपेको ‘आँपको बोट’ लाई केन्द्र गरेर पारिवारिक ऐक्य र संस्कृतिको बारेमा उल्लेख गर्दै अहिले त त्यसको फोटो मात्रै रहेको प्रसङ्गले हाम्रो जीवनबाट हराउँदै गएको आफ्नोपन, सम्बन्धको आनन्द र न्यानो माया सकिँदै गएको विषादपूर्ण अभिव्यक्तिलाई छर्लङ्ग पारेको छ। त्यसैले कविले भन्न सकेका छन् –

म सँग अब एउटा

फोटो मात्र रहन्छ स्मृतिको पोको

आयो याद बोकेर फेरि

भाइटीका

अनि आँपको बोट…”

कवि दाहाल उल्लेख गर्छन्, “मेरो बाल्यकाल प्रायः गोठैमा बित्यो । आसाम आन्दोलनमा विद्यालयहरू बन्द भएकोले गोठको जिम्मा मेरै थियो । पछि गोठैबाट विद्यालय सारै कष्टले आउने जाने पनि गरियो । झरी, बाढी झेलेर गोठमा काम गर्नु पर्ने । गोठमा गोठालाहरू ‘प्रेम लहरी’, ‘मदन लहरी’ साथै ‘गुणरत्नमाला’ लयबद्ध तरिकाले गाउने गर्थे । म पनि लयमा लय मिलाएर आफैँ कथेर केही गाउने गर्थे । गोठालाहरू मलाई उचाल्ने गर्थे ।…यसरी म पनि गोठमा ठूलो काव्यकार हुन पुगेँ ।”

पुस्तकलाई पूर्वायण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य १ सय ८० रुपियाँ रहेको छ ।

० ० ० ०

४. समयको अटोग्राफ – राजन प्रसाद पोखरेल

प्राध्यापक तथा उपन्यासकार राजन प्रसाद पोखरेलकृत उपन्यास हो – “समयको अटोग्राफ” ।

१ सय ६५ मा पृष्ठमा बुनिएको ‘समयको अटोग्राफ’ उपन्यास ४५ भागमा विभाजित छ ।

भूमिकामा डा.माधवप्रसाद पोखरेल लेख्छन्, “राजन पोखरेलको यो भौगोलिक र ऐतिहासिक कीर्तिमान पढेको धेरै भएको थिएन, मलाई राजनले ‘अटोग्राफ’ शीर्षकको यो उपन्यासको भूमिका लेखी मागे । पाण्डुलिपि पढ्दै गए पछि मसँग उनले अटोग्राफ लेख्न उहिल्यै लगाएको तत्त्व पनि बुझे जस्तो लाग्यो । तर समरसेट मामले भने झैँ साधारण व्यक्ति र सर्जकमा फरक पर्छ, किनभने साधारण व्यक्तिको चाहिँ एउटै मात्र व्यक्तित्व हुन्छ, तर सर्जकको त व्यक्तित्वकै केस्रा केस्रा हुन्छन् । जुन मान्छे नाटक लेख्छ, त्यसले नाटकको नायकलाई जति माया गर्छ, खलनायकलाई पनि त्यत्ति नै माया गर्छ। वास्तवमा आफ्नो कथाका नायक र खलनायक आफ्नै बेग्ला बेग्लै व्यक्तित्व हुन् । यसैले एरिस्टोटलको क्याथार्सिस र रिचर्डसको व्याख्याका लागि सर्जकको अन्तर्द्वन्द्व नै बेग्ला बेग्लै पात्र भएर आउनु आवश्यक हुन्छ । राजनको ‘अटोग्राफ’ उपन्यासकी नम्रता राजनकै वास्तविक अथवा काल्पनिक मनमनै खेलाएकी नायिका हो ।”

डा. धनप्रसाद सुवेदी लेख्छन्, “यस आत्मजीवनीलाई उपन्यासमा ढाल्ने काम नेपाली साहित्यमा पनि धेरथोर भएको छ । ध्रुवचन्द्र गौतमले ‘अनुभवन्यास’ नाम दिएको बाढी यस्तै उपन्यास हो । त्यसो त हरेक कृतिमा लेखकका भोगाइ, अनुभव, विचार, चाहनाको प्रतिबिम्बन हुन्छ नै । बहुचर्चित उपन्यास शिरीषको फूल पारिजातको तत्कालीन भोगाइ र चिन्तनको प्रतिबिम्बन हो भन्न सकिन्छ । तर कविता, निबन्धमा जस्तो निजी जीवन, निजी भोगाइहरू उपन्यासमा सजिलै प्रतिबिम्बन गर्न सकिँदैन । उपन्यासमा सामान्यतः अरूको जीवन कथा नै भन्ने चलन छ, आफ्नो जीवन कथामा उपन्यासहरू कमै लेखिएका छन् । प्रस्तुत उपन्यास त्यही थोरै लेखिएका उपन्यासमध्येको एक हो । आत्मजीवनी र त्यसमा पनि विशेष गरेर आफ्नै प्रेमकथालाई औपन्यासिकीकरण गर्ने काममा भने मैले थाहा पाएअनुसार यही नै पहिलो उपन्यास हो । यस मानेमा यस उपन्यासको अद्वितीय भूमिका रहेको छ ।”

ओरिएन्टल डेस्कबाट प्रकाशित यसको मूल्य ३ सय रुपियाँ रहेको छ ।

० ० ० ०

५. मृत्युको छहारीमा – विनयराज गौतम

कथाकार विनयराज गौतमको आख्यानात्मक कृति हो – “मृत्युको छहारीमा” ।

१ सय १५ पृष्ठमा फैलिएको यस संग्रहमा ‘ज्यान जोगियो’, ‘गाउँको घडेरी’, ‘पञ्च भलादमी’, ‘सोमरिया’, ‘मृत्युबोध’, ‘विवशताको महल’, ‘अन्तिम उपाय’, ‘सुनरपतिया’, ‘मरछिया’, ‘मृत्युको छहारीमा’ र ‘विदेशिएको छोरो’ ११ थान कथा समावेश छन् ।

गोपाल अश्क लेख्छन्, “यी कथाहरूमा बारा र पर्सा जिल्लाका सामाजिक तथा राजनीति परिवेशको जीवन्त चित्रण भएको पाइन्छ । साथै यी कथाहरूमा आञ्चलिकताको समेत बडो सुन्दर चित्रण पाइन्छ ।”

भूमिकामा डा. हेमचन्द्र नेपाल लेख्छन्, “‘मरछिया’ गढीमाईको कृपापात्र वा डाक्टरी उपचारपछि जन्मिएकी निर्दोष बालिका बालविवाहका कारण अकस्मात् विधवा हुन्छे । कथाकार उसको बालसुलभ चरित्रको यसरी उद्घाटन गर्दछन् :

हर समय चरी जस्तो उडिरहने मरछियाको प्वाँख हठात् काटियो, उसका स्वतन्त्र पाइलामा बेडी लगाइयो (गौतम, २०८० : ७९) । विधवा बन्न विवश मरछियालाई उसकै मामाको छोरा शिक्षक प्रतापले पुनर्विवाह गराइदिन सफल भए । यहाँ प्रताप लेखकीय मुखपात्र बनेको पाइन्छ । प्रस्तुत कथामा लामा लामा भोजपुरी भाषाका संवाद राखिएका छन् ती संवादको नेपाली रूपान्तरणबिना कथा बोधगम्य हुन नसक्ने देखिन्छ । यसो त सबै खालका कथामा भेटिने आञ्चलिक भाषिक सीपको पनि रूपान्तरण आवश्यक देखिन्छ । ‘मृत्युको छहारी’ सङ्ग्रहको नाम राखिएको कथा हो । माओवादी द्वन्द्वकालमा वीरगञ्ज कलैया पनि विद्रोही माओवादीको निगरानीमा रहेको जानकारी यस कथाले गराएको छ । रमानाथ शर्मा जस्तो स्रोत व्यक्तिले शिक्षा अधिकारीको कडा निर्देशन पालन गर्नुपर्ने अनि माओवादीका नजरमा लिस्टेड भइसकेका शर्माले विद्यालय निरीक्षणको काम छोडी बघवन बजारबाट मृत्युका छायाँले लखेटिएर घर फर्किनु परेको एक पीडादायी घटना हो । यसो त गौतमका अधिकांश कथामा कथा समाप्ति अवशिष्ट कारुणिकताको स्पष्ट आभास पाइन्छ ।”

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “…तपाईं यता किन ? के ज्यानको डर लाग्दैन ? को के जवाफ दिने वा कसरी दिने, त्यो सोच्न सकेका थिएनन् । तर अलिक साहस गरेर सकी नसकी सोधे, ‘बाबु, तिमीजस्ता शुभचिन्तक मेरा जताततै छन्, तिमीजस्तै छोरा भतिजाहरू पनि छन् । अब तिमीहरूजस्ता शुभचिन्तक र छोरा भतिजा छँदाछँदै मलाई केको डर ?…”

ओरिएन्टल पब्लिकेशन हाउसबाट प्रकाशन गरिएको यस कथासंग्रहको मूल्य ३ सय रुपियाँ रहेको छ ।

० ० ० ०

६. अंतर्दृष्टि – किशन पौडेल

हेटौंडाका लघुकथाकार किशन पौडेलको लघुकथासङ्ग्रह हो – “अन्तर्दृष्टि” ।

हिन्दीमा अनुदित उक्त लघुकथासङ्ग्रह कथाकार पौडेलले आफ्ना नेपाली लघुकथाहरूबाट छानेर ४० लघुकथाको अनुवाद गरेका हुन् ।

लघुकथाको मापदण्डमा रहेर गहन चिन्तनका साथ लेखिएको अन्तर्दृष्टिका लघुकथाहरू दर्शन र विचारका दृष्टिकोणले पनि उम्दा रहेका छन् । कथाकार पौडेलले नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउने सानो प्रयास स्वरूप नेपाली लघुकथाहरूको हिन्दीमा अनुवाद गरेको बताएका छन् ।

उक्त सङ्ग्रहमा भारतका वरिष्ठ लघुकथाकार समालोचक डा. बलराम अग्रवालको भूमिका रहेको छ, ‘किशन पौडेल की लघुकथा ‘लालच’ का कंजूस धन दास इस कथन का जीता-जागता उदाहरण है । लालच का ही एक अन्य रूप उनकी लघुकथा ‘सन्तुष्टि’ में भी उभरकर आया है । ‘प्यार का बँधन’ भी इस आशय की कथा है कि हज़ार परेशानियों के बावजूद व्यक्ति माया-मोह से विलग नहीं हो पाता है । ‘जैसे उड़ि जहाज को पंछी पुनि जहाज पे आवे’ की स्थिति केवल भक्त और भगवान के बीच नहीं सम्पन्न होती, वह माया और जीव के बीच भी सम्पन्न होती है । जीव जीवन-भर वैसे ही माया के आकर्षण बँधा उसका अनुसरण करता है जैसे बीवी के व्यवहार से तंग आकर आत्महत्या के लिए निकला व्यक्ति उसके एक ही बुलावे पर नदी के किनारे से घर लौट आता है । कहा जा सकता है कि किशन पौडेल घटनाओं पर केन्द्रित न होकर विचार और मानवीय संवेदना को केन्द्र में रखकर लघुकथा लिखते हैं और मूल्यों का ध्यान रखते हैं । यही उनके लेखन का सकारात्मक पक्ष है ।’

७० पृष्ठमा आधारित पंख प्रकाशनबाट बजारमा ल्याइएको यस पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।