यो विमानको खिड्कीको ऐनाचाँहि साह्रै सानो हुँदो रहेछ । अलिक ठुलो बनाउनु नि जस्तो पनि लाग्दैछ किनकि ऐनापट्टि एउटा सानो केटो छ ।

बाघडोग्राबाट एयर इन्डियाको पेटभित्र पसिसकेपछि मनको एक कुनामा एक किसिमको डर लागिरहेको थियो। बिस्तारै बिस्तारै रनवेमा हवाइजहाज कुद्न थाल्दा एक किसिमको आवाजले मनमा एक प्रकार डर र खुसी मिसिएको थियो ‌। हातमा टिकट लिएर हामी (आमा ,बुवा,अनु र म ) जहाजको पछिको द्वारबाट पस्न लाग्दा विमान परिचारिकाले मुसुक्क मुस्कुराएर हाम्रो स्वागत गरिन् । आफैँलाई खुसी लाग्यो ।

रामलाल अधिकारीज्यूले भनेझैँ आफैँलाई यस्ती सुन्दरीले यसरी नमस्ते गर्दा कम खुसी नलागेको होइन । हामी हवाइजहाजको पेटभित्र पसेर आ-आफ्नो सिट खोज्न लाग्यौँ ‌। बुवा र आमाको सिट केही पछि म र अनुको सिट केही अघि रहेछ ।

अनुले भनिन्, “बुवा र आमासितै बस्नुपर्छ । डराउँछाैँ होला ।”

म आफूलाई डर नलागेझैँ भन्छु , ” केको डर हौ ?”

र पनि अनुले विमान परिचारिकालाई भन् न भनेपछि केही परतिर उभिएकी सुन्दरी विमान परिचारिकालाई म हाम्रो समस्या बताउँछु ।

मुसुक्क हाँसेर सुन्दरीले सुमधुर स्वरमा भनिन्, “म छेउको सिटको यात्रीसित बिन्ती गरिहेर्छु” भनिन् ।

आह ! कति मीठो स्वर, कति सुन्दर । ८ फरवरीको दिन आज हो अनि यो हाम्रो पहिलो पटकको विमान यात्रा हो । केही क्षणपछि विमान परिचारिकाले बुवा आमाकै नजिकको सिट मिलाइदिइन् । कृतज्ञता स्वरुप उनलाई धन्यवाद भनेर आउने क्रममा हाम्रो लागि भनेर आफ्नो सिट छोडिदिने नव दम्पति (सम्भवतः)लाई पनि मुसुक्क हाँसेर “थ्याङ्क यु” भन्यौँ हामी दुवैले । आमा र बुवाको पनि पहिलो विमान यात्रा हाे यो । त्यसैले वृद्धावस्थामा डराउने हो कि ? केही असुविस्ता पो हुने हो कि भन्ने पीर मनमा थियो ।

र नै घरिघरि सोध्छौँ हामी, “ठीकै छ बुवा । ठीकै छ आमा ?” ।

दुवैले” एकदम ठीक छ” भन्दा हामीलाई ढुक्क लाग्छ ।

हाम्रो सिटको ठीकमाथि भएको बक्सबाट मीठो स्वरमा हवाइजहाज हिँड्न लागेको घोषणा भयो । घोषणाकै क्रममा सुरक्षा सम्बन्धी जानकारी पनि प्रदान गरियो । रन वेमा घरररर गरेर हवाइजहाज गुड्न थाल्यो । बिस्तारै केही ठाडो परेर जहाजले भुइँ छोड्दा भने कता कता अलिकता डर लाग्यो । आफ्नो सानो डर लुकाएर म सोध्छु, “डर लाग्यो ?” बुवा आमा र अनुले “अँह” भन्दा म केही ढुक्क हुन्छु । के थाहा मजस्तै भित्रभित्रै डरले कुच्रुक्क पो पर्दैछन् कि ? विमान अब आकाशमार्गमा चराझैँ सररर उड्न थाल्यो । विमानको सानो खिड्कीबाट आकाश, बादलमात्र देखिन थाल्यो ।

यो विमानको खिड्कीको ऐनाचाँहि साह्रै सानो हुँदो रहेछ । अलिक ठुलो बनाउनु नि जस्तो पनि लाग्दैछ किनकि ऐनापट्टि एउटा सानो केटो छ । बीचमा म र छेउमा अनु छिन् । हाम्रो सिट परतिर आमा ,बुवा र ऐनापट्टि एउटी बहिनी छिन् । विमान आकाशमा पुगेको केही समयपछि भने विमान परिचारिकाले खानाको लागि सोध्दै आइन् । सिटको अघिल्तिर रहेको ताक फर्लयाक्क खोलेपछि उनले खानाको थाली त्यहीँ राखिदिइन् । सानो थालीमा दहीको सानो कचौरा, मिठाइ ,खानाको बाटी, सानो पानीको बोटल थियो । म यसो वरपर हेर्छु, सबै यात्रीहरु प्रसन्न मुद्रामा खाना खान सुरु गरिरहेका छन् । बिस्तारै म पनि स्वादिष्ट खानाको स्वाद लिन थाल्छु । हन, एउटा मान्छेलाई ठीक्क पुग्ने खानाको मात्रा जोख्न यिनीहरुलाई कसरी जानेका हुन् । म खाना खाँदै सोच्दैछु ।

म आज आकाशमा छु । आकाशमा भोज खाइरहेको छु । मेरो खुट्टा भुइँमा छैन । सानो काठको चम्मच र काठकै सानो काँटाले स्वादिष्ट खाना खाइरहँदा एकतमासको आनन्द पनि लागिरहेछ । न्याप्किन पेपेरभित्र बेह्रेर राखेको चिनीको पोको र सानो काठको फफ्ल्याटो देखेर सोच्छु -“किन यो चिनी र काठको फफ्ल्याटो दिएको होला ? कि दहीमा पो मिसाएर खानलाई हो कि ?” म यसो मेरो छेउको यात्रीलाई हेर्छु उसले चिनीको पोको र काठको फफ्ल्याटो छेउमा राखेर पकापक खाना खाइरहेको छ ।

म पनि छेउमा राखेर फेरि खाना खान थाले । पुलाउ, छेउमा अलिकति सब्जी, पनिर, चिकन मिसाएर स्वाद लिइरहेको छु । आज म आकाशमा दिउँसोको खाना खाइरहेको छु । खाना खाइसकेको एकक्षणपछि तिनै विमान परिचारिकाद्वयले एउटा तान्नेमा (गोर्खे जिप जस्तै) हामीले जुठो बनाएको प्लेट ,बोतल लगाएर गइन् ।फेरि अर्को छेउबाट अर्कीले त्यस्तै (ट्राेलि कार्ट) तान्नेमा चिया बोकेर आइन् । अब भने मेरै छेउमा आएर उनले मसँगै बसेका यात्री र मलाई रातो चिया दिइन् साथमा सानो केटा केटीले खेल्ने भाँडाकुटी जस्तो बट्टा पनि दिइन् । मैले यसो टिपेर के रहेछ भनेर हेरे दूधको बट्टा रहेछ । रातो चियामा अघिको चिनीको पोको खोलेर हालेँ त्यसपछि दूध पनि खोलेर हालेँ र काठको फफ्ल्याटोले चलाएर चिनी बिलाउन थाले । आरामसित आकाशमा नै चियाको चुस्की लिन थालेँ ।

मनको एक कुनामा भने मलाई लागि रहेको थियो – “हन, आकाशमा बिहेको भोज ख्वाइ पो हुँदैछ कि कसो ?”