चिसो निकै चिसो छ हिउँ । हिमाल, हिमनदी र हिमताल पनि चिसा छन् । चिसो हिउँ नभएको पहाड हिमाल हुन्न ।  हिउँलाई प्रकृतिले उच्च पहाडी थाप्लाहरूमा फुलाएको पानीको कपास भने हुन्छ । हिउँ पग्लिएर बनेको नदी अनि स्थिरीकृत बनेको कुण्ड रूपका जलभण्डार क्रमश: हिमनदी र हिमताल हुन् ।

हिउँले पक्कै मान्छेमा जादु र टुनामुना गरेको हुनुपर्छ । नभए किन मान्छे यसलाई देखे पश्चात् एकोहोरो बन्छ त ? किन आफ्नी प्रियतम वा प्रियतमाका गाला र कपाल मुसारेझैँ यसका गाला अनि कपाल पटक पटक मुसार्न लालायित भइरहन्छ त ? किन मान्छे यसैसँग पटक पटक साक्षात्कार गरिरहन मन पराउँछ त ? यो पृथ्वीमा हिउँले जस्तै मोहनी समुद्रले पनि लगाउँछ रे । यसैले भन्नेहरू भन्छन् – हिमाल अनि समुद्र कहिल्यै नमेटिने तिर्खा हुन् ।

हिमाल, हिउँ र हिमनदी – कहाँ पो देखेनौँ र यसलाई । मर्दीको थाप्लामा हिउँमाथि नै बसेर हिमाल हेरिएकै हो । पहिलोपल्ट हिउँ माथि नै बसेर हिमाल हेर्न पाउँदा हाम्रो मन कति उत्ताउलिएको थियो । अनि हिमोपत्यका मानिने ए.वि.सी. (अन्नपूर्ण बेस क्याम्प) मा ३६० डिग्रीको कचौराका बिच हिमालको प्रभाती सुवर्णमय थाप्लो चियाउँदा हामी भित्रका खुसीका ज्वारभाटाहरू उठेर कति आप्लावित बनाएको थियो ? सम्झँदा पनि भावातिरेकहरू उत्पन्न हुन्छन् मनमा । कहाँ पो देखिएनन् र हिमनदी पनि ?

यसैले गत वर्ष नै हामीले भनेका थियौ – यस वर्ष त हिमताल । तर गत वर्ष पनि हिमताल जुरेन हामीलाई । हिउँकै दर्शनार्थी बन्यौँ गए साल पनि । लाङटाङबाट हेर्‍यौँ हामीले गत वर्ष – हिमाल, हिउँ अनि हिमनदीलाई । अब हिमताल छोडेर २०८० को यो यात्रा अगाडि बढ्दैन – यसपल्ट हाम्रा मनले भने ।

यात्रामा छौँ यसपालि पनि – अम्बिका दाइ, रामेश्वर र म । हौसिएका छन् हाम्रा मनहरू – हिमताल दर्शनका लागि । कुन हिमताल जाने ? गत साल नै यो प्रश्नको उत्तर छानिसकेका हौँ । यसैले उत्तरका लागि यसपाला खासै टाउको दुखाउनु परेन । हो, तिलिचो नै थियो पोहोर हामी सबैले बनाएको साझा साध्य । तिलिचो अर्थात् उही विश्व कीर्तिमानी हिमताल । यसको कीर्तिमान भनेको – विश्वको सबैभन्दा अग्लो स्थानमा हुनु हो ।

थोरै होइन यसको उचाइ – ४९१९ मिटर माथि अवस्थित छ तिलिचो । हुन त मनाङमा पचासभन्दा बढी तालहरू छन् रे । तिलिचोभन्दा माथि डेढ किलोमिटर लम्बाइको कजिन सारा लेक (Kajin Sara Lake) पनि फेला परेको छ भनिन्छ । त्यसको उचाइ ५००२ मिटर छ रे । तर त्यसले प्रामाणिकता भने पाएको छैन रे । यदि त्यसले प्रामाणिकता पायो भने तिलिचोको कीर्तिमानता तोडिनेछ । यसको कीर्तिमानता तोडिए पनि सर्वोच्च उचाइमा रहेको तालको कीर्तिमान नेपाल भूमिबाट चुँडिएर अन्त भने जाने छैन ।

जेठ १६, २०८०, क्याम्पसमा गर्मी बिदा सुरु हुने भयो । जेठ १५ अर्थात् गणतन्त्र दिवसकै दिन हिँड्छौँ । पहिलो दिनमै  छुन्छौँ तनहुँ भनी लमजुङलाई । चितवनबाट मुग्लिन, मुग्लिनबाट डुम्रे, डुम्रेबाट पाउँदी बजार । पाउँदीबाटै सुरु हुँदो रहेछ लमजुङ । पाउँदी बजार सुरु हुनु अघि सानो पाउँदी खोला छ । त्यही खोला हो – तनहुँ अनि लमजुङको सिमाना ।

तल सुसाइरहेछ मर्स्याङ्दी । मर्स्याङ्दी नछाडी हिँडिरहेछौँ हामी । माथिसम्म नै मर्स्याङ्दीसँगको सहयात्रा टुट्ने छैन । मर्स्याङ्दीको उद्गम दामोदर हिमशृङ्खला हो । चुलुपूर्व (६५८४ मि), भृकुटी (६३६४ मि), चुलुपश्चिम (६४१९ मि.) र पिसाङ (६०९१) दामोदर हिमशृङ्खलामा आबद्ध हिमालहरू हुन् । तिनै हिमाल चुहिएर बग्छ मर्स्याङ्दी ।

लमजुङको भोटेओडार – प्रसिद्ध छ त्यो ठाउँ । ओडार नै छ रे त्यहाँ । उत्सुकता चाहिँ छ ओडार हेर्ने तर ओडार दर्शन गर्न भने संयोग जुर्दैन । बाटाहरू सजिला छैनन् । कतै धुले सडक त कतै पिच, कतै साँगुरा बाटा त कतै छङ्गाछुर भीर । यस्तै यस्तै बाटाहरू छिचोल्दै बेसी सहर नै पहिलो दिनको विश्राम बन्यो । बेसी सहर नै हो लमजुङको सदरमुकाम पनि । ओर्लिनासाथ समाते  कमल बोहोराले हामीलाई । सोधे, खोजे, जाँचे अनि निश्चित गरे भोलिको यात्रालाई, उनको सानो पुन्टे बोलेरोमा ।

१६ वैशाख २०८० को बिहान । पहाडी उडान मानिने बोलेराहरू थुप्रै छन् बेसीसहरका रोडहरूमा । ट्रेकिङ सिजन लगभग अन्ततिर छ । यसैले ट्रेकरहरू निकै कम हुँदै छन् । ट्रेकरभन्दा निकै बढी छन् बोलेराहरू । बिहानको ९ बज्यो बल्ल आए कमल बोलेराको पछि सिमेन्ट लादेर । माथि खाङसारसम्म पुर्‍याउँदा एक बोरा सिमेन्टको ७५० जति लाग्दो रहेछ – सिमेन्टको मूल्य र  ढुवानी खर्च लगभग बराबर । त्यहाँ ज्यादै महँगो छ जीविकोपार्जन ।

“बाटो बन्द छ रे पहिरो खसेर “  एउटाले भन्यो ।

“ढुङ्गाको पहरो नै खसेको हो रे ।“  अर्कोले थप्यो ।

अस्तिको पहिरो पन्छाउन १५ दिन लाग्छ भनेको ३ घण्टामै पन्छायो ।“  तेस्रोले भन्यो ।

“आ, जाँदा जाँदै खुल्छ अब हिड्ने हो ।“  कमल ढुक्क भए ।

हामी गुड्यौँ विस्तार विस्तार ।  हिलेधुले छन् बाटाहरू । सुनियो – ९०/९५ किलोमिटर नै यस्तै बाटामा हिँड्नु पर्छ । ८/९ घण्टा लाग्छ रे जिपमा । अलिकति सर्‍यो यात्रा । बाटामा ट्राफिकले रोके दुवैतिरबाट आएका बोलेराहरूलाई । लाइसेन्स मागेनन्, गल्ती के हो बोलेनन् – ट्राफिकजी चुपचाप गजधम्म उभिए २ बोलेराका बिचमा । हाम्रा गुरुजीले नै मुख खोले – “नाफा घाटा बराबर ।“ खिन्न र मायालाग्दो अनुहार बनाए ट्राफिकले । तलवभत्ता भन्दा बढी खोज्नुहुन्न – खोजे भ्रष्टाचार हुन्छ । यही नै भन्छ सिद्धान्त । सुगम-दुर्गम सबै ठाउँहरूमा सिद्धान्तले हावा खाएको छ । खोजी हिँडे भ्रष्टाचार र भ्रष्टाचारी जताततै भेटिन्छन् असरल्ल ।

कालो बिरालाले बाटो काट्यो । गाडी रोकियो । गुरुजीले भने – “केही नभए नि भइहाल्ला जस्तो कस्तो कालो डरलाग्दो बिरालो ।” उताबाट गाडीहरूले क्रस गरेपछि मात्र हाम्रा गुरु अघि बढे । खबर सुनियो – बाटो खुल्यो रे । अम्बिका दाइले भने, “कालो बिरालाले बाटो काटेकाले शुभ सुनियो ।“ हो, हेर्ने कसरी त्यसले यस्ता सन्दर्भहरू अर्थिन्छ । कोही डरपोक हुन्छन् र परम्परा र अन्धविश्वासको सहारा लिएर अर्थ्याउँछन् यस्ता सन्दर्भहरूलाई । कोही यस्ता सन्दर्भहरूलाई सामान्य रूपमा लिन्छन् । हाम्रोमा मात्र होइन विकसित मुलुकमा पनि छन् यस्ता विरोधाभाषी सोचाइहरू ।

जिपमा खासै गफ गर्ने मुडमा कोही छैनन् – कारण सोचेभन्दा निकै खतरनाक र विकट छ बाटो । जिउ अधपिल्टो हुने निश्चित छ आज । अधपिल्टो शब्दको खास अर्थ मैले आजसम्म बुझेकै रहेनछु । यो बुझ्न पुन्टे जिप चढेर मनाङतिर उक्लिनु पर्दो रहेछ ।

दुई घण्टा लाग्यो चेम्चे पुग्न । बिहानी खाना त्यहीँ खायौँ । पारिपट्टिको मनमोहक झरनाले तान्यो । डेम्से फल भनिँदो रहेछ । डेम्से फल जसलाई मैले मेरो नाम टक्र्याएँ  – दुधे झरना । सायद अम्बिका दाइ अनि रामेश्वरले पनि त्यसलाई आआफ्ना नाम दिए । कसैले माथिबाट दूधले भरिएमा हजारौं क्यानहरू एकैपल्ट घोप्ट्याएर बनेजस्तो निख्खरा सेतो । हामी कहाँ यस्ता डेम्सेहरू थुप्रा छन् जसलाई हेर्न हामी मात्र होइन हजारौँ हजार माइल पार गरेर पनि आइरहन्छन् प्रकृतिप्रेमीहरू । हामीले ठान्यौँ – हाम्रा नगदे बाली हुन् डेम्सेहरू ।

चेम्चेबाट उकालो लागेपछि विकटता पनि सँगसँगै उकालो चढ्छ । बेसीसहरबाट मनाङको सदरमुकाम चामेसम्मको दूरी ६५ किलोमिटर हो । ६५ किलोमिटरमा ३५ किलोमिटर त लमजुङ नै पर्छ ।  बेसीसहरबाट ३५ किलोमिटरको यात्रा पछि भेटिने म्यार्दी खोलाले छुट्याउँदो रहेछ लमजुङ र मनाङलाई । अहिले पक्की पुल छ म्यार्दीमा । पहाडी खोलाको कुनै भर छैन । बर्खामा उर्लिएर आए पक्की-कच्ची सबै पुल र बाटाहरू सलल लैजान्छन् ।

यस्तै भए थ्यो त्यो खोलामा केही वर्षअघि । पुल बगेर सम्बन्ध विच्छेद गरेथ्यो लमजुङ र मनाङको । म्यार्दीबाट ३० किलोमिटर छ चामे पुग्न । सदरमुकामको पगरी पाएको चामे अनकन्टार खोचमा छ । चामेमा केही वर्ष अगाडि आएको भनिएको भयावह बाढीले बनाएका दागहरू जताततै देख्न पाइन्छ । सदरमुकाम बस्न लायक ठाउँ कत्ति पनि होइन चामे । तर जिल्लालाई बिचबिचमा पारेर राख्दा चामेको भाग्य खुलेको हो । सदरमुकाम बनेर पनि चामे विकट, अविकसित र पिछडिएको गाउँभन्दा बढी केही होइन ।

पाँच बज्यो मनाङ पुग्दा । मनाङको अर्थ केही छ कि यो अर्थबिनाको कुनै स्थान सङ्केत मात्र होला भने जिज्ञासा भने आएको छ मनमा । हाम्रा यात्री सदस्य रामेश्वर भन्छन्, “म भनेको घर र नाङ भनेको निगालो हो । निगालाको घर हुने भएकाले मनाङ नाम रहन गएको हो रे ।“ तर कतै त्यहाँ निगालाको घरको अवशेष पनि देखिएन । बरु त्यहाँको सबैभन्दा ठुलो गाउँ मनाङबाट नै मनाङ जिल्लाको नामकरण भएको हो भन्ने पो सुनियो ।

अझ मनाङ शब्द तिब्बती भाषाको म्हनाङ शब्दबाट अपभ्रंश भएर आएको रहेछ । तिब्बती भाषामा ’म्ह’ को अर्थ सहायता र ’नाङ’ को अर्थ देऊ भन्ने हुन्छ रे । विकट भूगोलमा रहेको र बाहिरी सहायताबिनाको जनजीवन अझ कष्टकर हुने भएकाले पनि मनाङको यो पछिल्लो अर्थ अझ बढी सार्थक हो कि भन्ने लागेको छ ।

आलु, करु, फापर मनाङका अर्ग्यानिक कृषि उत्पादन हुन् । घोरल, पाटेबाघ, हिउँचितुवा, भालु, नाउर त्यहाँ पाइने जङ्गली जनावर रहेछन् भने याक, चौँरी, भेडा, च्याङ्ग्रा आदि घरपालुवा जनावर रहेछन् । जडीबुटीमा यार्सागुम्बा, पाँचऔले, टिम्मुर, जिम्बु, जटामसी, कुटुकी, गछेच्याउ, कुरिलो पाइँदा रहेछन् त्यहाँ । हामी पुग्दा स्थानीयहरू आलु गोडमेल गर्दै छन् । आलु खन्ने सिजन त भदौतिर मात्र हुन्छ रे । चिसाले गर्दा आलु तयार हुन पनि आधा वर्ष भन्दा बढी लाग्छ त्यहाँ ।

मोटर बाटाले त्यहाँको जनजीवनलाई अलिकति सुगम त बनाएको छ नै तर सँगसँगै यसको निजत्व भने गुम्दै गएको छ । मनाङ सादा छ, स्वच्छ छ, त्यहाँबाट हिमाल देखिन्छ – यो हिजोको मनाङको तस्बिर हो, चिनारी हो यो हिजोको मनाङको । यो परिचय सँगसँगै मनाङसँग आज अर्को परिचयको गलगाँड पनि थपिएको छ – धुले मनाङ । ससाना पुन्टे जिपहरूले धुवाँको मुस्लो छाड्ने कुरा त छँदै छ धुलाको मुस्लाले मनाङको कुरूप तस्बिर पनि खिच्दो छ ।

मनाङमा पहिला पानी पर्दैन थ्यो रे । पानीको सट्टा त्यहाँ हिउँ नै वैरिन्थ्यो रे तर हिजोआज मनाङले आकाशे पानी पनि पाउन थालेछ । यो आधुनिकताका नाममा मनाङले विस्तार विस्तार चुकाउँदै गरेको मूल्यको तस्बिर हो । मनाङमा पहिला पानी नपर्ने हुँदा घरको छाना पनि माटाको नै बनाइन्थ्यो । त्यसको अवशेष त्यहाँका पुराना घरहरूमा आज पनि देखिन्छन् – तर नयाँ घरहरूले पारम्परिक स्वरूप गुमाएका छन् । मनाङमा पनि धमाधम कङ्क्रिटको जङ्गल बिच्छ्याइँदै छ ।

मनाङबाट हिँडिने २ वटा ट्रेकिङ रुट छन् – थोरोङ्ला पास र तिलिचो । स्थानीयले आफ्नै नियम बनाएका छन् त्यहाँ । थोरोङ्ला मार्गतिर मनाङेले र तिलिचो मार्गतिर खाङसारेले मात्र होटेल व्यवसाय गर्न पाउँदा रहेछन् । थोरोङ्लातिर जानेहरूमध्ये कतिपयको कीरा (यार्सागुम्बा) टिप्ने उद्देश्य पनि हुँदो रहेछ । बाटाहरू अलकत्रा बिछ्याएर पिच गर्ने सिस्टम त्यहाँ देखिँदैन । सायद यसरी पिच गर्न त्यहाँको स्थानीय वातावरण र विकटता पनि बाधक भएर होला कताकति ढलान गरिएका बाटाहरू मात्र छन् । अँ, बाटामा हामीले पिच गरिएको धावनमार्ग भने देखका छौँ ।

अब खाङसारसम्म छ मोटरबाटो । मनाङबाट खाङसारसम्म पुग्नलाई हाम्रो पुन्टे जिपलाई एक घण्टा हाराहारी लाग्छ । आजको बास खाङसारमै हो । भोलि बिहानैबाट हाम्रो हिँडाइ सुरु हुन्छ । हिमालका सेता दन्तलहर देखिएका छन् । उत्सुकता बढिरहेछ, साथै चिसो पनि । हावा चल्दै छ । अचाक्ली नै चल्दो रहेछ त्यहाँ हावा – मान्छे नै उडाउला जस्तो । हिँडालाहरू खासै छैनन् । यसैले होटेलहरू सुनसान नै छन् । कतिपय होटेलवालाहरू त आआफ्ना होटेलहरूमा ताला लाएर झरिसके ।

१७ जेठ २०८० । आजबाट हाम्रो हिँडाइ सुरु हुन्छ । खाङसारबाट तिलिचो बेस क्याम्प पुग्न ५ घण्टा लाग्छ रे । कतिपय भेटिनेहरू भन्दै छन् – आ, ३ घण्टामै पुगिन्छ बेसक्याम्प । यो त स्थानीय हावापानीमा खाइखेली गर्नेहरूको कुरा हो । हामीजस्ता ताता सहरबाट गएकाहरूलाई सायद ५ घण्टा भन्दा पनि बढी समय लाग्ला तर ५ घण्टाको नेटोभित्रै हामी बेसक्याम्प छुन्छौँ ।

सामाजिक सञ्जालहरूमा त्यहाँका बाटाका विकरालताहरू छ्यासछ्यास्ती भएका छन् । साँच्चै यस्तै विकट होलान्  त बाटाहरू ? यस्तै भए पार लाउन सकिन्छ त यो यात्रालाई ? हाम्रा मन घम्साघम्सीमा छन् । खाङसारबाट हिँड्ने बेलामा माथिबाट झरेकी युवती र अधबैंसेले एकै स्वरमा सुझाव दिएका छन् – बिस्तारै जानुस्, सजिलै पुग्न सकिन्छ । बाटामा चियानास्ताका लागि भट्टीहरू छन् ।“ हाम्रा घम्साघम्सीमा रहेका मनहरू एकै छिन भए पनि थरक मार्छन् तर तिनीहरूका ’भट्टी’ शब्दले भने मनमा हुँडलो ल्याएको छ । पूर्वतिरका हुन् तिनीहरू । हुनसक्छ, त्यतातिर तिनीहरूको भाषिक लवज होटेललाई भट्टी भन्दो होला । हुन त भट्टीमा हुने सोमरसका बोतलहरू नभएका कुनै होटेल भेटिन्नन् त्यहाँ ।

श्रीखर्क पुग्नुअघि नै भेटिन्छ एउटा गुम्बा । आज गुम्बा जानेहरूको लर्को छ बाटामा । स्थानीय बुढाबुढीहरू र युवायुवतीहरू बाटामा भेटिन्छन् । आजै रहेछ गुम्बा उद्घाटनको शुभ दिन । “मनाङतिर विकासका नाममा त गुम्बाहरू मात्र फल्छन् – कतैबाट यस्ता मसिना आवाजहरू पनि सुनिन्छन् । हामी मनमनै भन्छौ – “हैन, यहाँ विकासका नाममा धुले बाटाहरू पनि बनेका छन्, डोजरहरू चलेका छन्, कङ्क्रिटका घरहरू पनि बनेका छन्, आधुनिक विकासले हिउँका सट्टा पानी पार्न थालेको छ । विकासकै कारण हो – भेडीगोठमा भेडाहरू वालछ्याल भेटिन्नन् । चौँरी पाल्नेहरू पनि विस्तार विस्तार दुब्लाइसके । अर्ग्यानिक बाली प्रवर्द्धनका सट्टा बोराका बोरा भित्रिन्छन् सेता चामलहरू ।“

श्रीखर्कमा एकाध होटेलहरू मात्र खुलेका छन् । बाटामा फाट्टफुट्ट भेटिने होटेलहरू बन्द छन् । बरु माथि माथि उक्लिँदै जाँदा भेटिन्छ गिट्टी र बालुवाका फुसफुसे नाङ्गा पहाडहरू । भीर भेटिन्छ त्यहाँ – ३ घण्टा जति लाग्छ भीर छिचोल्न । भीर मात्र छैन बाटामा पहिरो पनि छ । बारम्बार झरिरहन्छन् पहिराहरू । त्यहाँ त हावा अनि नाउरहरूले पनि झारिरहँदा रहेछन् पहिराहरू । तल खसूँ कि खसूँ कि भनेझैँ गरी भीरमा जमेर अड्किएका गिटीका थुप्राहरू जुनसुकै वेला वैरिन सक्छन् यात्रुमाथि । जोखिम छ तर जोखिम छ भनी हिउँझैँ जमेर बस्नेहरूले कहाँ भेट्छन् र प्रकृतिको मनोरमतालाई, कहाँ भेट्छन् र तिलिचोलाई अनि ती स्निग्ध पर्वतमालाका सुरम्य थाप्लाहरूलाई नजिकैबाट सुमसुम्याउन ।

गिटीका भीरहरूले अचाक्ली नै थकाएको छ हामीलाई । थाकेर बेसक्याम्प पुग्दा वरिपरिका हिमालहरू आएर आँखामा जडीबुटीहरू दलिदिँदै छन् । हिमाल–वैद्यका बुटीहरू पाएर हामीले बिर्सिएका छौँ आआफ्ना भागका दुखाइ र थकाइहरूलाई । होटेलकै आड लिएर बगेको हिमखोलाको कल्लोल गानले कर्णपटमा निर्माण गरिरहेछन् उन्मुक्त हिमनिनादलाई । बस्, ती निनादहरूका अन्तर्य सुन्न सक्नेहरूले नै भेट्टाउँछन् सुखका असीम वर्षातलाई र हिउँका नवपुस्ताका सुन्दर तरङ्गहरूलाई ।

१८ जेठ २०८० । आज चौथो दिन हो । अब आजै पुग्नेछौँ हामी हाम्रो गन्तव्यमा । गन्तव्य भनेको उही तिलिचो नै हो । ३ बजे नै उठेर हिँडेछन् हिजो भेटिएकाहरू । पाँच बजे पछि मात्र हामी उकालियौँ । उकालो तर्साउने खालको छ । रुख-बिरुवाबिनाका रुखो पहाड चुनौती थपिरहेछ यात्रामा । कागहरू उडेका छन् बत्तिएर । अचाक्ली नै काला छन् यी हिमाली कागहरू ।

यति माथि यस्ता नाङ्गा पहाडतिर यिनले के खाएर ज्यान पाल्दा हुन् ? हिउँ पर्दा यी कहाँ बस्दा हुन् ? न गुँड लगाउने रुख छन् न त खोपाखोपी जस्ता कुन्तुराहरू नै देखिन्छन् । भीर त आज पनि छ तर हिजो जस्तो ज्यानमारा होइन । तल लामो किरिङमिरिङ धर्का बनेर बगिरहेछ हिमखोला । वरिपरि थाप्लाहरूमा हिउँ फूलहरू सजाएर गम्किरहेछन्  हिमालहरू । भन्छन्, अहिल्यै नथाक, तिमीलाई हामी हाम्रो जादूनगरी पुर्‍याउनेछौँ । निश्चय नै हाम्रा गतिहरू कम हुँदै छन् तर लय र यति चाहिँ बिग्रिएको छैन । लय र यतिले निरन्तर अगाडि बढाइरहेछ हामीलाई । लय र यति समात्दा समात्दै  हामीलाई हाम्रो निरन्तरताले पुर्‍याउँछ थाप्लोमा ।

अकल्पनीय र अद्भुत जादूनगरी छ माथि । हिमालका भित्ताहरू चड्केर बेलाबेलामा सलामी दिइरहेछन् यात्रीलाई । आजसम्म हिमाल र हिउँलाई प्रतिविघ्न निकट र यति सारो अचाक्ली कहिल्यै देखिएको थिएन । दिवाकरले हिउँका माथ चुमिरहेछन् र चुमिरहेछन् हामीलाई पनि । चिसो बतास हिउँबाट उम्रिएर बगिरहेछन् हामीलाई नै स्पर्श गरी । चिसो स्पर्शले शरीरमा एकतमासको स्फूर्ति भने भरेको छ । फुसफुसे हिउँमा गोडाहरू गाडिएका छन् तर मनहरू भने पाउडरी हिउँझैँ फुर्फुरिएका छन् । जुत्ताहरू भिजेका छन् तर हृदय भने ओभानिएका छन् हिउँका न्याना स्पर्शमा ।

भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैँलाई बिर्सन्छन् एक फेरा । यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई । हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौँ एक फेरा आफैँलाई । हो, हामीले फोटामा देखिने नीलो दह भने देखेका छैनौँ तर हिउँ नै हिउँले भरिएको दह भने देखेका छौँ ।

नीलो दहको कल्पना मात्र भरेर जानेहरूले भेट्दैनन् हिमाली आकाशका नीलो निलिमालाई । एक सन्तुष्टि मात्र दिँदैन तिलिचो यात्रीहरूलाई । सन्तुष्टिका चरमहरू अनेक भेटिन्छन् त्यहाँ । अरुका लहैलहैमा मात्र लागेर जानेहरूले कहाँ भेट्दा हुन् र गुरुगम्भीर बनाउने  त्यहाँका गहिरा अनुभूतिलाई । तिनीहरूले त मात्र देख्दा हुन् – विकटता, विकरालता र भयावहलाई । तर हामी भन्छौँ – स्वर्गकी जादुगर्नी हो तिलिचो जसले मान्छेलाई आफ्ना काखमा आमन्त्रण गरी जादुमय अवतार देखाउँछे ।

अन्तमा, अबका दुई-तीन दिन फर्कन लाग्छन् । जानु मात्र उद्देश्य होइन फर्कनु पनि छ । अब फेरी चार दिनदेखि हिँडिएका बाटाहरू नबिराई दोहोर्‍याउनु पनि छ । हामी अब मनाङसम्म हिँडेरै पुग्नेछौँ । किनकि ट्रेकिङको तलतल अझ मेटिइसकेको छैन भन्दै छन् अम्बिका दाइ अनि रामेश्वर पनि । हिमालले मोहनी लगाएर एकोहोरो बनाएका छन् ।  छाड्न मन मानिरहेको छैन हिउँ अनि हिमाललाई । यो तिलिचोको त कुरै छाडौँ, यो त हाम्रा आँखामा चुम्बकझैँ टाँसिएको टाँसियै छ । मन नमाने पनि फर्किन्छौँ ।

फर्कँदा फर्कंदै हामी एक मुखले भन्छौँ पनि – हे अदृश्य शक्ति, यदि तिम्रो अस्तित्व यो दुनियाँमा छ भने यो स्वर्गीय भूमिलाई, यो पावन हिमनगरीलाई, यो युगीन नासोलाई युगौँयुगसम्म बचाइराख मान्छे जातिका भावी पुस्ताहरूका लागि ।