डेनिस लेखक हान्स क्रिश्चियन एन्डरशन १८६२ मा फ्रान्स हुँदै बार्सिलोना पुगेका थिए । बार्सिलोना पुगेपछि त्यहाँको चर्चित साँढे जुधाइ खेल हेरेका थिए । एन्डरशनलाई त्यहाँका लेखकहरूले ‘कस्तो लाग्यो त बार्सिलोना ?’ भनी प्रश्न गर्दा उनको जवाफ थियो, ‘स्पेनको पेरिस भन्छु म बार्सिलोनालाई ।’
बार्सिलोना फूटबल क्लबमा मेसी आएपछि रेडियो, टेलिभिजन, अखबार जताततै यो शहरको नाम सुनिएको सुनियै छ । उसो त १९९२ को ओलम्पिक खेल पनि एंटेना मिलाई श्याम श्वेत टेलिभिजनमा हेरिएकै हो । पाब्लो पिकासो, मार्खेज जस्ता स्रष्टाको बसेको थलो ।
भारत पत्ता लगाउने लहडमा अमेरिकी द्वीप पुगेको कोलम्बसको नाविक यात्रा शुरू भएको ऐतिहासिक थलो ।
हो म, बार्सिलोना जाने निधो गरें ।
०० ०० ०० ००
भूमध्य सागरको समुद्री छेउ । बार्सिलोनाको व्यस्त तट । म तातो बालुवामा उत्तानो परेर ढाड सेकाइरहेको छु । कालो चश्माबाट छातामुनि टाउको मात्र अड्याएर छालहरू हेरिरहेको छु । हातमा राणाजीको दरबारमा हुने यौनलीलाको पृष्ठ आइपुगेको छ, पुरुषोत्तम शमशेरको पुस्तक जङ्गबहादुर र राणाकालीन दर्पणको यो पेजमा । लेखक श्रीभक्त खनालले पाहुर दिएका हुन् यो पुस्तक ।
गर्मी छ उत्पात । म तापक्रम हेरेर मनमा तातोको मापन गर्न जान्दिनँ । जेठको मकै खन्दा जति तातो हुन्छ नि हो त्यस्तै तातो छ । उल्कापात गर्मी । घरीघरी छालहरूले शीतलता ल्याउन खोज्छन् तर बीचमै तातो हावाले निलिदिन्छ ।
मान्छेहरू आफ्नै लयमा समुद्री किनारको आनन्द लिइरहेका छन् । छेउमा खुला घाममा नितम्ब सेकाउँदै एउटी नवयौवना नेरुदाका प्रेमिल कविता पढिराखेकी छे ‘ट्वंटी लभ पोयम्स’ । अलि पल्तिर उत्तानो परेका निर्वस्त्र जोडी पढिराखेका पुस्तक फ्याँकेर समुद्रमा हेलिए । हेर्दाहेर्दै छालहरूसँग तरंगिंदै निकै पर पुगे । कालो चश्मालाई साक्षी राखेर हेरें, केटीले मार्खेजको अंटील अगस्त पढेकी रहिछ । केटोको पुस्तक रुमालले छोपिएको थियो ।
यत्तिकैमा दुई वटी युवती मेरो छेउमा आए ! अरबी भाषामा गफ गरिरहेका थिए । कालो र खरानी रङको लामो कपडा । छोपिएको कपाल ! दुवै जनाले मेरै अगाडि भित्री वस्त्र खोले र कपडा नखोली जलक्रीडा गरे ! सेता दाँत देखाएर हाँसे ! ऊनीहरूको खुशी त्यो लामो वस्त्रमा छोपिएन !
नीलो आकाश, समुद्रसँग जिस्किंदै वेग हानिरहेका चराहरू, केटाकेटीहरूको चिरबिर, स्वच्छन्द प्रेमालाप र आलिंगन, स्वतन्त्र पहिरन, बीच बीचमा बजेको आवाज आइरहने स्पेनिश गीत र गुनगुनाई रहेका मानिसहरू । एकछिन त यस्तो लाग्यो – यहाँ आएका मानिसहरू कसैसँग कुनै दुःख छैन । सबै खुशी र सुखी छन् ।
त्यस्तो किन हुन्थ्यो र ?
०० ०० ०० ००
यात्रा रोमाञ्चक हुन उज्यालो चाहिन्छ । मनभित्र उज्यालो, बाहिर पनि उज्यालो । हुन त मनै अँध्यारो भए कता उज्यालो भेट्नु ?
रेनु र मैले जेनेभादेखि सोझै बार्सिलोना जाने बसको अघिल्लो सीट रिजर्भ गरेर यात्रा गर्ने निर्णय गर्यौं । चिल्लो र चौडा बाटा, राम्रा सीट, इन्टरनेटको राम्रो सुविधा, सफा शौचालय, बीच बीचमा आराम गराउँदै लैजाने भएको हुनाले युरोपमा बसको यात्रा रमाइलै हुने हाम्रो अनुभव थियो ।
निर्धारित समयमा प्रागबाट छुटेको बस आइपुग्यो । हामीले पैसा तिरेर काटेको सिटमा एउटी गोरी केटी दुइटै कानमा ठेटी लगाएर फ्रेन्च गीत गुनगुनाउँदै थिई । मैले सीट नम्बर देखाएको यो बसमा जता बसे पनि हुन्छ भनेर चिच्यायो अरबी ड्राइभरले ।
उसो भए किन सिटको पैसा लिएको त ? मलाई सीट चाहिन्छ । मैले अनुरोध गरेपछि अर्को शहर पुगेपछि सीट मिलाउने सहमति भयो । केटी उठिन । दुई जना दुईतिर बस्यौं ।
बस कम्पनीमा अनुरोध गरे सिटको पैसा पाइन्छ भनेर ड्राइभरको रूखो जवाफ पाइयो । तर, सिमा नजिकैको आनेसि शहरबाट सँगै यात्रा गर्ने व्यवस्था गुरुजीले मिलाए ।
आल्पस पहाडहरूको श्रृंखला, बेंसीमा बसेका झुरुप्प झुरुप्प बस्तीहरू, हर्लक्क बढेको मकै खेती, हिमालबाट बगेका खोला, पानीका मूलबाट निस्किएको ससाना कुलेसाहरू, जताततै हरियालीले मन रोमाञ्चक बनायो । फ्रान्स र स्पेन दुवैले प्रकृति दोहन हुन दिएका रहेनछन् ।
‘हाम्रातिर भए अहिलेसम्म यी पहाडका ढुङ्गा निकालेर बेचिसक्थे होलान्,’ पाल्पाका पहाडहरूको हरिवैराग हेरेकी रेनुले भनिन् ।
फ्रान्स छिचोल्न दिनभर जसो लाग्ने नै थियो । किसानहरूले हारी मिलाएर लगाएको अंगूर, आरु, आरूबखडा, सूर्यमुखीले जमीन बडो सुन्दर थियो ।
जति दख्खिन लाग्दै गयो, सल्लाघारी र जैतूनका बगान देखिन थाले । ढुंग्यान डाँडाहरूमा एक्लै उभिएका बुटाहरूले सिङ्गो मान्छेको जीवन दर्पण देखाए जस्तो लाग्थ्यो । ग्रीष्मकालीन ओलम्पिकको पेरिसमा उद्घाटन हुने भएर हो कि बाटोमा अस्वाभाविक भीडले यात्रा अलिक लामो भयो ।
हामी नेपालीले झैँ धरती माताको दोहन गर्ने, भएका पुराना वर पीपलहरू मास्ने, खेतीयोग्य जमीनमा विना अध्ययन घर बनाउने र आफूलाई सम्पन्न ठान्ने प्रवृत्ति फ्रेन्च र स्पेनिशहरूको देखिएन । खोलामा घडेरी बेच्ने दलाल त तिनलाई समर्थन गरेर पैसा कमाउने सरकारका मान्छे नभएरै होला, यूरोपको प्रकृति जोगिएको ।
यता गलत काम गरे दण्डित हुनुपर्छ, हाम्रोमा बदमासी देखिन्छ तर बदमाश भेटिंदैन ।
०० ०० ०० ००
नौ बर्षका नेपाली पथ प्रदर्शक स्पन्दन शर्माले घुमाइदिए बार्सिलोना । बार्सीलोनामा जन्मिएका स्पन्दन ईश्वरी शर्मा र शर्मिलाका छोरा । गजब चेस खेलाडी पनि रहेछन् । झोलामा बार्सीलोनाका घुम्ने ठाउँका पुस्तिका, रेल, बस र मेट्रोको समय तालिकाको पुस्तिका रहेछ ।
२७ तारीखको बिहान स्पन्दनको नेतृत्वमा हामी लाग्यौं टिबिडाबो पहाडतिर । हरियाली पहाडको टापुमा १९६० मा शुरू गरेर ६० वर्ष लगाएर बनाएको गिर्जाघर छ । सरकारले टापुको हरियाली जोगाएको छ । जथाभावी भवनहरू बनाउन दिएको छैन । मनोरञ्जनको लागि रमाइलो पार्क बनाएको छ । खेल्नको लागि बच्चादेखि बुढासम्म बन्दोबस्त छ । बार्सिलोनाको रमणीय वस्ति र भूमध्य सागरको तट देखाउँदै भान्जाले चिच्याए, मामा उ त्यै हो बार्सीलोनाको स्टेडियम ।
शहरको मेट्रो, रेल र मोनोरेल हुँदै साना बस चढेर टीबीडाबोको टाकुरामा पुग्दा सफा जंगलहरू देखिए । सरसफाई पनि उत्तिकै । पार्क व्यवस्थापन समितिले ससाना रेस्टुरेन्ट, उपहार पसलहरू चलाएको रहेछ । मनपरी बेपारीहरू निषेधित । पर्यटकलाई अप्ठेरोमा पारेर, दुःख दिएर होइन खुशी बनाएर पैसा कमाउने बार्सीलोनाको चलाखी गजब लाग्यो ।
त्यसपछि हामी झर्यौं, प्रचण्ड गर्मीमा बार्सीलोनाको मुटुमा रहेको पैदल मार्ग ला राम्ब्लातिर । दुवै किनारमा रोपिएका अग्ला बुटाहरू, दुई किनारमा टेबुल कुर्ची सजाएर बसेका रेस्टुरेन्ट व्यवसायीहरू, चित्र कोरिरहेका चित्रकारहरू, विभिन्न आकृतिमा ढालिएका मानव कलाकृति, संगीतको माध्यमबाट माग्न बसेकाहरूले गरेको रमाइलो । ३६ डिग्रीको तातोमा लाम लागेर हिंडेका पर्यटकहरूको घुइँचोले शहर रनक्कै तातेको छ ।
ला राम्ब्लाको बीचमा बोकेईराको पुरानो हाटबजार छ । बर्षौंदेखि चलेको यो बजारमा माछा, मासु, तरकारी, स्थानीय रक्सी, फलफूल सबै पाइने रहेछ । खानपिनका लागि ससाना भट्टीहरू पनि रहेछन् ।
राम्ब्ला टुङ्गिन्छ कोलम्बसको ६० मीटर अग्लो स्मारकमा । स्मारकको शिरमा छ कोलम्बसको मूर्ति । १४५१ मा जन्मिएका कोलम्बस इस्लाम धर्मको प्रचारसँगै अरबीहरूले एशिया जोड्ने व्यापारिक मार्गमा लूटपाट र अवरोध गर्न थालेपछि सामुद्रिक बाटोको खोजीमा थिए । त्यतिञ्जेल सम्म सामुद्रिक बाटो पत्ता नलागेको हुनाले मान्छेहरू पृथ्वी चेप्टो छ र पल्लो छेउमा पुगेपछि खसेर मरिन्छ भन्ने विश्वास गर्थे ।
पोर्चुगलको राजासँग समुद्री बाटो हुँदै भारत पुग्ने उनको यो योजना बताउँदा उनले सहयोग पाएनन् । पछि स्पेनका राजाले उनको अनुरोधलाई स्वीकार गरे । भारत हिंडेका कोलम्बस अमेरिकी द्वीप बहामास पुगे । त्यहाँका आदिवासीहरूको नरसंहार गरे । अमूल्य सुन, हीराहरू लुटेर ल्याए । दक्षिण अमेरिकी मुलुकहरूमा साम्राज्य चलाउने, मानिसहरूलाई क्रिश्चियन बनाउने र दासदासी बनाउने कामको थालनी त्यहीँबाट भयो ।
०० ०० ०० ००
दोस्रो दिन, समुद्री तट । १९९२सम्म यी किनारहरू भनेजस्तो व्यवस्थित थिएनन् । ओलम्पिक खेलको समयमा बाहिरबाट बालुवा, कलात्मक ढुङ्गा ओसारेर राम्रो बनाइएको थियो । किनारहरूमा रोपिएका सल्लाहरूको झाडी पुग्दा पाल्पा तानसेनको श्रीनगरमा अवस्थित सल्लाघारीको तिर्सना नै मेटिन्छ ।
सामुद्रिक रोमाञ्चकता पछि स्पन्दनले हामीलाई लगे जुइक पहाडमा । रोमन कालमा दुश्मनहरूसँग लड्न बनाइएको बलियो किल्ला रहेछ टाकुरामा । रोमनहरूले बनाएका तोपहरू, त्यति बेलाको प्रविधिहरू जोगाएर राखिएको रहेछ । हाम्रोतिर जस्तै केतुकी हुँदो रहेछ त्यहाँ । केतुकीमा अमर मायाको लागि जोडीको नाम लेख्ने चलन रहेछ । स्कूल पढ्ने बेला आफूले माया गर्ने केटीको नाम जोडेर लेख्थे केटाहरूले केतुकीको पातमा । केतुकीको पातमा नाम लेखेर माया त किन बढ्थ्यो र ? तथापि मैले पनि रेनुको नाम लेखिदिएँ ।
बार्सिलोना क्लबको रंगशाला, क्यातालुनियाको संसद् भवन, गोथिक क्षेत्रको अवलोकन पछि पुगियो सागरादा फामिलियमा । १४२ वर्षदेखि बनिरहेको यो गिर्जाघर १७२ मीटर अग्लो छ । शहरको बीच भागमा अवस्थित यो गिर्जाघर कहिले बनेर सकिने हो ? कसैलाई थाहा छैन । यसका परिकल्पनाकार इन्जिनियर अंटोनी गाऊदीको शव यही गिर्जाघर भित्र गाडिएको छ ।
बेलुकी दाजु बुद्ध बहादुर थापालाई भेट्न गयौं जो पाल्पामा एकै मूलको पानी खाएर हुर्केका । नेपाल मगर संघ स्पेनका अध्यक्षको रूपमा भर अभरमा नेपाली कामदारलाई सहयोग गर्ने बुद्ध थापा सबैका आदरणीय हुनुहुन्छ बार्सिलोनामा ।
दुःखसुखका कुरा भए । भाउजूले बनाएको मिठो परिकार खाइयो । सानो कुकुर रहेछ भोला नाउँको । पाहुनालाई नमस्ते गर्ने, हात मिलाउने, नाच्ने विचित्रै जानेको रहेछ भोलाले ।
स्पेनको इतिहासमा कयतालुनियाको आफ्नै पहिचान छ । ठूला ठूला संघर्षहरू भएका छन् विगतमा । केही समय इस्लामहारूले समेत कब्जा जमाएको यो शहर अवस्थितिको हिसाबले पनि सभ्यताको विकाससँगै निकै महत्वपूर्ण हुँदै आयो । ठूला ठूला लडाईं लडेका छन् यहाँका वासान्दाले । राजधानी म्याड्रिड भए पनि खेल, उद्योग, शिक्षा र पर्यटन, सूचना प्रविधिको केन्द्रका कारण आर्थिक हिसाबले राजधानी नै भएको छ । शहर योजनाबद्ध तरिकाले बनाए सुन्दर बन्छ । फागत ठाउँमा बार्सीलोनाले योजना बनाएरै निजी क्षेत्रसँग मिलेर व्यवस्थित आवास गृहहरु बनाइरहेको छ । पूर्वाधार अनुसार बनाउँदै गएको बार्सिलोनामा रोमनकालीन सम्पदाहरुले रमणीय बनाइदिएको छ ।
रमाइलो त के छ भने, पेरिसको आइफल टावर बार्सिलोनामा बनाउने प्रस्ताव लिएर गुस्ताभ आइफल यहाँ आएका थिए । तर, शहरको सुन्दरता बिग्रिन्छ भनेर बार्सीलोनाले उनलाई अनुमति दिएन । पछि पेरिसमा बन्यो आइफल टावर । रोमन साम्राज्यको समयमा बार्सिलोना शहरलाई पूरै पर्खालले घेरिएको थियो । त्यहीबाटै थाहा हुन्छ भूमध्यसागर तटको यो शहरको महत्वको कुरा ।
दिउँसोमा जति व्यस्त थियो, रातको बार्सिलोना उज्यालो र गृष्मको रात्रिकालीन मादकतामा झन् मादक भएर जगमगाइरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।