म ज्यालखानिया हूँ, कैदी हुँ भनेर मलाई हेलाँ र घृणा गर्ने मानिसहरू अझै सकेका छैनन्, फेरि म राजबन्दी हुँ भनेर कृष्णा र गान्धीलाई सम्झि मलाई पूजा गर्ने मानिसहरू पनि म यथेष्ट पाउँदछु । “तँ कैदी होस्” भनेर घिनाउने मानिसहरू देखेर मलाई अफसोस लाग्दछ । त्यस्ता मानिसले नै प्रगतिलाई तगारो हाल्दछन्, किनभने म चोर या कुनै सामाजिक अपराधी भएर ज्यालखाना गएको होइन । “तँ देशभक्त होस्” भनेर ज्यालखानको सर्टिफिकेटमा पूजा-श्रद्धा गर्ने मानिसहरू देखेर पनि मलाई हर्ष छैन । त्यस्ता मानिसहरूले ढोंगी सृष्टि गरी देशलाई खोक्रो पार्दछन्, किनभने म राजबन्दी कहलाउना निम्ति ज्यालखाना गएको होइन ।

म ज्यालखानिया हुनुभन्दा अगाडि, म नेली हुनुभन्दा अगि जेल र नेलदेखि म कति पनि डराएको थिइनँ । त्यसैले बडो बहादुरीसाथ राजनीतिक क्षेत्रमा मैले पाइलो सारेको थिएँ । तर जसै मेरा हात-खुट्टा र गति राजपाशद्वारा बाँधिए, पहिलेको बहादुरीले पनि पुच्छर लुकाउन थाल्यो । नेल-जेलबाट उम्कन पाए हुन्छ भन्ने धारणाले मलाई खूब घचघच्याउन थाल्यो ।

म गिरफ्तार हुँदा त्यस वेला नेपालको स्थिति सारै भयावह थियो । कातरले छुलीछुली मुत्ने त मामुली कुरा हो, बहादुरका अनुहारबाट समेत बराबर मुटु खसिरहन्थे । पक्राउमा परेका मानिसको त नामै लिन डराउँथे । घरमा पुग्नु त नाता-कुटुम्बहरू पनि मददगारको अभियोगमा अपराधी सम्झिन्थे ।

मलाई सिंहदरबार लगेको वेला उहाँको दृश्य ज्यादै भयानक थियो । देख्दैमा शरीरमा कम्प आउँथ्यो । कसैलाई दुई जना आठपहरियाले दुवै विडौंलामा दनादन कोरो हानिराखेको, कसैलाई पिट्न उजाइरहेको, कसैलाई मुटु बिझ्ने शब्दमा गाली गरिरहेको, यस्तै र निर्दयताको मात्र त्यहाँ साम्राज्य थियो । कोर्राको चोट सहन नसकेर मानिस बेतोडसित चिच्च्याउँथ्यो । उसको चीत्कारले दाह्रा किटेर बस्दा पनि मुटु कमाउँथ्यो । पानीमा भिजाई-भिजाईकन कोर्रा हान्थे, हनाइको जोड चर्को भएकोले कोर्रा टुक्रा-टुक्रा हुन्थ्यो, तर त्यहाँका अधिकारीहरूलाई कत्ति दया आउँदैनथ्यो । उनीहरूको दृष्टिमा अपराधीलाई जे पनि गर्नु मनासिबै छ, तर कति व्यक्तिलाई त “यसलाई पहिले २०-३० कोर्राको श्रीगणेशाय नमः नै गर्नु” भन्ने पनि आज्ञा फर्माउँदा रहेछन् । कतिलाई सुरुसुरु बयान दिइरहँदारहँदै पनि अनेक निहुँमा कोर्राको फर्माइस हुन्थ्यो । कतिलाई बयान सकिएपछि एक-दुई कोर्राले विसर्जन गर्थे । कोर्रा हान्न पाएको दिन आठपहरियाहरू बडो सफल मानेर खुशी हुन्थे, कुनै दिन कोर्रा लगाउन नपाए “आज एउटालाई पनि पिट्न पाइएन, मेरो पालो त बडो बेमोजैमा गयो” भनेर अफसोस मनाउँथे ।

छयाङ्ग्राङ्-छ्याङ्ग्राङ नेलको आवाज सुन्दा पनि बराबर सातो बिदा हुन्थ्यो । तर नेल र जेलभन्दा पनि पहिले चुटाइ-पिटाइको डरले हृदय काँप्थ्यो । आफ्नो शरीर पनि त्यस वेला दमको व्यथाले जर्जर थियो, ज्यादा कमजोरीको कारण दुनमुनाउँदै-ढुनमुनाउँदै बल्ल सिंहदरबार पुगेको थिएँ । पिटाइ खानपरेको भए मेरो शरीर खाली पिंजरा हुन पनि बेर थिएन, त्यस्तरी म रोगले त्यस वेला जीर्ण भइरहेको थिएँ । त्यसैले मैले बडो चलाकीले कुरा गर्नुपरेको थियो । बयान दिँदा कविता-कहानीहरू लेख्दाखेरिभन्दा पनि कलाको होशियारी गरेको थिएँ । आश्चर्यको कुरा छ, तर्क र बहसमा जित्न नसकेको झोकमा पनि मलाई हाकिमहरूले कान समातेर उचाल्ने र कोर्रा हान्ने अर्डर दिइसकेका थिए । “तिमी कवि लेखक भए तिमी नै भयौ, तिमीहरूभन्दा हामी अदालती केही कम छैनौँ, तिम्रो कविता-छुटाइले केही नाप्दैन, तिमीलाई हामी नगिराइछाड्‌दैनौँ भनेर राँक्न थाले । पिटाउनलाई चश्मासमेत झिक्न लगाइसकेका थिए । तर मेरो पालिको आठपहरिया झन्डै साधुजस्ता सहृदय रहेछन् । हावाप्रमाणले उनले मेरो कान छोए मात्र । त्यसमा पनि मैले निकै हाजिरी चलाकीको कुरा गर्नुपर्यो । अनि त झन् सङ्कष्ट र अप्ठ्यारो परिस्थितिमा आफूलाई पाएँ । जित्न पनि नहुने, हार्न पनि नहुने, जिते कोर्राको पूजा पाउने डर, हारे नेल र जेलको त्रास । – कत्रो आपत्ति । अनि हार र जीतको ‘नर्मल पलिसी’ मा बल्ल मैले काम लिएँ । करीब ७ बजिसकेको थियो, शायद हाकिमहरूलाई भोकले छामेर ल्यायो होला । एकाएक उनीहरूले “आज भइगो, भोलि फेरि बयान लिनुपर्ला” भनेर बस्ता बाँध्न थाले । मलाई चाहिँ गट्ठाघरमा बुझाउन पठाए । गठ्ठाघरमा जानुभन्दा अगाडि मैले खल्ती तलाशीको निम्ति दुवै हात फ्याँकेर उभिनुपरेको थियो । मेरो बगलीमा भएका सारा कागजात र कलम, रुपियाँ, चक्कु इत्यादि माल गारतले तलाशीका रूपमा लिइराखे अनि खान भनी मलाई भान्छामा पठाए । त्यस वेला ९ बजिसकेको थियो ।

एकाएक अड्डाबाटै गिरफ्तार गरेको हुनाले घरमा केही थाहा हुन सकेन । त्यसैले गुन्टाको सौभाग्य त्यस दिन मैले पाउन सकिनँ । तर संसारलाई शैतानको घर मात्र सम्झिराखेको थिएँ, देवताको मन्दिर पनि हो रहेछ । मानिसको इज्जत राख्ने मानिसको नमूना पनि मैले यो संसारमा देखेँ । त्यस वेला पालो पर्ने आठपहरियालाई मेरो स्थिति देखेर निकै दया आएछ । लौ दुइटा ओर्नुहोस्, दुइटा बिछ्याउनोस् भनेर ढुकुटीबाट ४ वटा ओभरकोट झिकेर मलाई दिए । अहिलेसम्म पनि मैले उनको कृतज्ञता प्रकट गरिरहेको छु । उनीबाट त्यति दया पाउन नसकेको भए जाडोले मर्थे हुँला । कार्तिक मध्यमास भए तापनि त्यसताका जाडो निकै थियो । अर्को – कुरा चिसो र ड्वाङड्वाङती भएर निकै हावा आउने ठाउँ थियो, त्यसैले पनि जाडो बढेको थियो । ज्यूँत्यूँ त्यो रात काटेँ । अनि भोलिपल्ट पनि मलाई बयानघरमा लगे । पहिले अरूलाई पिटिरहेको दृश्य देखाउने आदेश दिए । “साँचो-साँचो बोलेनौ र भएभरका कुरा बताएनौ, पोलेनौ भने तिमीले पनि त्यही स्वाद पाउनेछौ” भन्ने चेतावनी पनि दिए । भोलिपल्ट दुई पटक गरेर बयान लिए । सबै हाकिमहरूको बीचमा राखी आठपहरियाहरूलाई कोर्राको साथ ओहोरदोहोर गराई मलाई अनेक कूट प्रश्नहरूले बाँध्न थाले ।

कारकेर गर्ने ठाउँमा सासना र पिटाइको अनेक दृश्यभन्दा पनि हाम्रो अगाडि बसी हामीलाई पुलुपुलु हेराई जरसाहेब र सरदारसाहेब भनाउँदाहरूले अनेक मीठामीठा रोटी, फलफूल आदि खाइरहने झन् मलाई हेरिनसक्नु हुन्थ्यो । ८४ व्यञ्जनजस्तो खाने सर्जाम खर्पनका खर्पन चाँदीका प्राँडाहरूमा राखी त्यहाँ ल्याइन्थे । दिनदिनै खाइनसक्नु भात खाएर अतृप्त भइरहेका, भित्र भोकले आन्द्रालुछी गरिरहे तापनि खान नसक्ने खाद्यमा बिताउन परिरहेका थुनुवाहरूको अगाडि त्यस्तात्यस्ता चीज स्वाद लिईलिईकन, गफ गरीगरीकन खाइरहँदा मुखमा थुक घुटुघुटु नहुने मानिस कमै थिए होलान् । त्यो कष्ट सहन पनि बिघ्न गाह्रो थियो । हामीहरूमाथि गरेका यस्ता अमानुषिक व्यवहार त लेखी भनी साध्य छैन ।

भोलिपल्ट पनि मैले कुटाइ पनि खान नपर्ने, नेल-जेलको यातना पनि भोग्न नपर्ने चलाकीसाथ बयान दिएँ । कुटाइ त खान परेन । नेल-जेलको कष्ट पनि उठाउन परोइन भन्ने धोकोमा थिएँ । त्यस दिन नेल पनि लाएनन् । मैले सम्झेको थिएँ, मामला ठीकै भयो । त्यो दिन पनि बेलुकी ७ बजे गारतमा पठाए । गठ्ठाघरमा ३ दिन राखी उद्योग परिषद्‌को सूर्य-किरणसम्म पनि नपस्ने सिमन्टीको बैठकमा सारे । त्यहाँ पनि ३ दिन चिसो खुवाएर ‘गाईगोठ’ भन्ने ठाउँमा सारे ।

गाईगोठ करीब ४० जना मानिस अटाउने ठाउँ थियो । राजबन्दी १८ जना र पाले-पहरा गरी करीब ४० जनाजति थिए पनि । गोठ गोमूत्रले भिजिएको थियो । जनहीपिच्छे १-१ कल्लीका दरले ओछ्याउनलाई पराल बाँडिएका थिए । अरू झ्यालढोका भई-भईकन पनि त्यति लामो ठाउँमा एउटै मात्र ढोका खोलिराखेको थियो । अरू ढोका र ज्याल नखोलेको भाग्लान् भन्ने डरले रहेछ । भूइँ गोमूत्रले तर भइराखेको, गारोहरू जम्मै सिमन्टीका, त्यसमाथि घामको किरणसम्म पनि आउन नपाउँदा जाडो र चिसोको त बयानै छैन । कालकोठरीमा नै बस्न परेको जस्तो थियो । दिउँसो १२, १ बजेसम्म बिजुली बलिरहँदा पनि बाहिरबाट भित्र पस्दा त अन्धकारमा नै पस्नु जस्तो थियो । त्यति लामो कोठामा १५ वाटको बिजुली एउटा थियो । एउटै कोठामा राखिएका राजबन्दीहरूलाई परस्परमा मामुली कुरा गर्नसम्मको पनि स्वतन्त्रता थिएन । कदाचित् आठपहरियाहरूका आँखा छली कुरा गरेमा सुन्यो कि अझ चिसो र जाडो ठाउँमा अर्थात् कुनातिर सुताइदिन्थे । घाममा पनि बस्न दिँदैनथे, न ओछ्यान सुकाउन दिन्थे । यहाँसम्म कि नुहाउन र लुगा धुनसम्म पनि दिँदैनथे । घामको किरण एकछिन ताप्नलाई झाडापिसाबको निहुँ थापेर बाहिर जान पर्थ्यो । सिलोक-सालोक पनि केही आउँदैनथ्यो, नत्र मुख धुने वेला आस्तिकको स्वांग गरी सूर्यनारायणतिर हेरेर उभिरहन्थेँ । आखिरमा मगज फोडेर विचार गर्दा सूर्यतिर हेरी १, २, ३ देखि शय-दुई सयसम्म मनमनले गनेर मुख चलाउने मुझाउले मलाई टेकायो । अनि त्यसै गर्न थालेँ । साथमा आउने सिपाहीले पनि यो बडो भक्त रहेछ भन्ने सम्झन लागे । त्यसो गरेर २५, ३० मिनेटसम्म घामको भागी हुन्थेँ । मुख चलाउन छोड्यो कि सिपाहीले “लौ हिँड् भित्र” भनिहाल्थ्यो । पछि-पछि त मौखिक कविता रच्न थालेँ, विशेष लक्ष्य त घाम ताप्नु थियो । कोशिशको बलले १०, १५ कवितालाई त मैले साकारको रूप पनि दिन सकेँ । बल्लतल्ल जेल पठाउने १०, १२ दिनअगाडि नुहाउन, लुगा धुन र २ दिनअगाडि घाम ताप्न स्वतन्त्रता पाएँ । राणासरकारमा बाध्यको रूपमा भए पनि मानवताले चियाएको देख्दा केही सन्तोष भएको थियो ।

सिंहदरबारमा जम्मा ४४ दिन राखिएको थियो । त्यतिन्जेल त्यहाँ सुखको सास एक फेरसम्म पनि फेर्न पाएको थिइनँ । कुनै कुराको सुविधा थिएन । घरबाट ल्याएको केही खान दिँदैनथ्यो । खानाको पनि बडो दुःख थियो । गठ्ठाघर र उद्योग परिष‌द्मा राख्दा छ दिन त एक किसिमको भोकै बस्नुपरेको थियो । सबभन्दा सस्तो तौली चामलको भात भए पनि तरकारीको स्वादले ठेल्ने आँट गरेको थिएँ, तर तरकारीको मात्रा यति कम हुन्थ्यो कि भातको दुर्गन्धीले तरकारीको अस्तित्व नै खान्थ्यो । मागे दाल पनि थपिदिइन्थ्यो, तर तरकारीको नामै लिन हुँदैनथ्यो । म गरीब छु, मेरो खाना पनि गरीब हुन्थ्यो, त्यसैले तरकारीले मात्र पर्याप्त रूपले घरमा पनि खाने नसीब थिएन र अहिले पनि छैन । आफ्नो अवस्थाअनुसार घरमा खाइने तरकारीको गरीब मात्रामुताबिक दुई गाँसलाई पनि नपुग्ला जस्तो सिंहदरबारमा राजबन्दीलाई दिइने तरकारीले माना-तीन चौथाइ चामलको भात बोक्न पर्थ्यो । अर्को फसादको कुरा छ, एक-दुई जनाले एकाध पटक एक-दुई गाँस भात फ्याँके भन्ने कुरालाई लिएर पण्डित शब्दलाई दुब्लाइदिने भान्छेबाजेले आदेश दिएका थिए कि अबदेखि भात एक गेडा फ्याँक्न पनि पाइन्न, थप पनि आउँदैन, पस्कने वेला पेटको अन्दाज बताउँदै जानू । भान्छेबाजेको यो आदेश सुन्दा त मलाई राक्षसदेखि दया उब्जेर आउँथ्यो । लाग्यो यसमा आवाज उठाइएको खण्डमा पनि हाकिम वा अधिकारी वर्ग अफ अपराध थपेको प्रमाण सम्झेर कोर्रा हान्ने आफूलाई थाहा थियो । त्यसैले निकै कम मात्रामा म भात पस्कने अनुरोध गर्थेँ । बरु दिउँसो भटमासले भोकको प्वाल टाल्थेँ । भटमास, बदाम, चिउरा आदि सुक्खा कुरासिवाय अरू कुनै खानेकुरा किन्न दिइँदैनथ्यो ।

गाईगोठमा सरेदेखि भान्छासम्बन्धी असुविधा र कटुता त्यहाँसम्मको असह्य भएन । तरकारीको महँगी त त्यहाँ पनि त्यस्तै थियो, तर दालभात त जति खान सके पनि दिइन्थ्यो । हामीलाई ख्वाइने दालभात तरकारी सधैं सस्तो : चामल तौली, दाल मासको र तरकारी कति पनि नफ्याँकिएको पातसमेतको मूला, अलिकति आलु र रायोको साग हुन्थ्यो । तरकारीमा कमीको साथसाथै प्रायः अधपक्का भएकोले बढ्ता दुःख हुन्थ्यो । सबभन्दा दुःखको कुरा छ, ५७, ५८ जना मानिसलाई आधा-तीन चौथाइ माना मास हालेको दालले नुहाउँदथ्यो । हाम्रो भान्छामा ५२ जना राजबन्दीको परिवार थियो, २ जना भान्छे बाहुन र ३, ४ जना पिपाहरू थिए । मासभन्दा दालमा पनि चामल नै बढ्ता मिसिएको हुन्थ्यो । मासभन्दा चामल सस्तो भएकोले होला भन्ने हामीले अनुमान गरेका थियौँ ।

सिंहदरबारमा ४४ दिन काट्न बिघ्नै मुश्किल पर्यो । मलाई राखेको गाईगोठमा परेका साथीहरू सबैजसो भरिया र सिपाही मात्र थिए, साक्षरको नाउँमा कोही थिएन भने पनि हुन्छ । पहरा बसेका सिपाहीहरू र थुनुवाहरू एकै किसिमका घोर अशिक्षित भएको हुनाले यति अश्लील तथा गन्दा ख्याल-ठट्टा र कुराकानी हुन्थ्यो कि कान थुनेर बस्दा पनि सुख हुँदैनथ्यो । रात-दिन बान्ता आउँदो कुरा चलिरहने हुँदा मलाई त एक-एक पल काँढा भइरहेको थियो । शिक्षितमा एउटा काशीनाथ गौतम हुनुहुन्थ्यो । उहाँ संस्कृतमा शास्त्री र अङ्ग्रेजीका पनि केही ज्ञाता हुनुहुन्थ्यो । तर उहाँ अलि माथिल्ला श्रेणीका थुनुवा भएको हुनाले उहाँप्रति निकै कडाइ हुन्थ्यो । उहाँलाई त एक शब्द पनि बोल्न दिइँदैनथ्यो । त्यसैले उहाँजस्ता शिक्षित भएर पनि दिन काट्न सजिलो भएन । तैपनि छली-छलीकन उहाँसित पनि कुराकानी अलि-अलि गर्थेँ । तर उहाँसित मीठो कुराकानीभन्दा बढ्ता तीतो वाद-विवाद र तर्कयुद्ध मात्र शुरू हुन्थ्यो । तर सिपाही ठट्टाभन्दा बौद्धिक वाद-विवाद फेरि पनि मीठो नै ।

हाम्रो पहरा बस्ने सिपाहीहरू अश्लील ठट्टा गर्ने गन्दा मानिसहरू भएको हुनाले विशेष कुराको मैले फाइदा पनि पाएको थिएँ । हामीलाई राखेको ठाउँमा च्यामिनीहरू बढार्न आउँथे । एउटी च्यामिनी अलि तरुनी भएकी र माउली टोलकी भएकीले उसलाई मैले चिनेको पनि । उही च्यामिनीसित अश्लील ठट्टा गरी सिपाहीहरू आवेशमा पुगिरहेका वेलामा च्यामिनीसित बिस्तारै घरको र देशको हालखबर तथा स्थिति बुझिरहन्थेँ । म पनि एउटा युवकै थिएँ । सिपाहीहरूमा भन्दा ममा उसले बढता महक देखेर हो कि कुन्नि सिपाहीहरूसित पनि ख्याल गर्दै उनीहरूलाई आवेशमा डुबाई नखरासाथ आँखा घुमाई चाल मारेर मसित उसले कुरा गर्ने मौका छोप्थी । जवानीको ज्योति र मिठास पनि साँच्चिकै आकर्षक र प्रभावशाली तत्त्व रहेछ । उसको अलौकिकतामा आशाको किरण फुट्दछ, निराशामा पनि आशा जगमगाउँदो रहेछ । एउटा राजबन्दीसित पनि उसले आशाको छहारी पाउनु अवश्य जवानीको एउटा तासीरसिवाय केही होइन होला । बस त्यसको त्यस स्थितिको आधारमा मैले घर र देशको स्थिति पाइरहन्थेँ । कहिलेकाहीँ कुरा गरिरहेको सिपाहीहरूले सुने पनि एउटी तरुनीद्वारा भएको हुनाले नसुने जस्तो गर्थे । त्यस च्यामिनीमा पनि निकै व्यक्तित्व भएकोले उसले जे भने पनि, अलि-अलि गाली गरे पनि सिपाहीहरूलाई मीठै लाग्थ्यो ।

३७ दिनपछि नेल ठोक्यो, ४४ दिनमा जेल चलान गर्यो । जुन नेल र जेलदेखि म अत्यन्त त्राहिमाम थिएँ, जसको डरले सत्यताको पनि गला रेटेको थिएँ, त्यही नेल र जेलको मलाई पछि गौरव बढ्न गयो । आफूलाई मैले एउटा इज्जतदार मानिस सम्झन पाएँ । हुन त ५, ६ दिन मलाई नेलले हिँड्नै नहुने गरी दुखाएको थियो, असजिलो त जहिले पनि छँदै थियो, तर नेलको तालमा छ्यार्ल्याङ छ्यार्ल्याङ गरेर हिँड्दा बडो रमाइलो लाग्थ्यो, हिँड्दा खूब जोश पैदा हुन्थ्यो । हुँदा हुँदा नेल मेरो आँखामा गहना प्रतीत भयो र मलाई जेलको सौभाग्य दिलाउने श्री गणेशमानजीलाई मैले धन्यबाद दिन थालेँ ।

बन्दी अवस्थामा मैले सबभन्दा तीतो अनुभव गर्नुपरेको थियो, दम आइदिँदा । दमले मलाई उहाँ पनि लखेट्न छोडेन । नियमित समयमा दम आइहाल्यो । भयङ्कर रूपमा दम आउँदा पनि न त डाक्टर-वैद्य खटाएर पठायो, न घरको औषधि गर्न दियो । कति कराएँ, कति बिन्तीभाव गरेँ, केही लागेन । अनि त मन नलाएर पनि मैले सोच्न परिहाल्यो, बिरामी भएर मरेको भन्ने भान पार्ने सरकारको आशय रहेछ । श्री गणेशमानजीका भाइ श्री शङ्करमानजी पनि ५ दिनसम्म ठूलै बिरामी हुनुभएको थियो ।

उहाँलाई पनि त्यस्तै उपेक्षा भएको थियो । जीतबहादुर भन्ने राजदलका एउटा सिपाही पनि भयङ्कर बिरामी भएका थिए, हप्तौं हप्तौँ कराउँदा, चिच्च्याउँदा बल्ल डाक्टर पठाउन शुरू गर्यो ।

जेल पुगेदेखि त हामीलाई एउटा स्वतन्त्रता प्राप्त भएजस्तो भयो । जेलको सीमाभित्र जहाँ गए पनि हुन्थ्यो, त्यहाँ राजबन्दी परिवारमा जोसँग भेटे पनि रोकटोक केही थिएन । एउटा सारै सानो संसारमा बसिरहेको जस्तो अनुभव भएको थियो । हँसी-ठट्टा, खेलबाड, गफसफ धेरै कुराको स्वाधीनता थियो । बाहिरको लेखा त केही नभएर पनि सिंहदरबारको कटु – अनुभवले धेरै पाएजस्तो प्रतीत भयो । जेलमा घरको बनावट पनि राम्रै थियो । एउटा सानो मैदान पनि थियो । पुराना थरीका राजबन्दीहरूसित बोल्ला र चिट्ठीपत्रको व्यवहार गर्ला भन्ने डरले झ्यालमा ज्यादै मसिनो जाली लाइराखेको थियो । झ्यालबाट हेर्नेलाई तलका मानिसले बिलकु‌लै चिन्न सक्तैनथ्यो । जेलमा मैले त सबभन्दा नखुजेल नै बलियो जेल देखेँ ।

पर्खालै तीन-तीनवटा छन् । पर्खालबाट भाग्न त ज्यादै मुश्किलको कुरा छ । जेलमा ३ पर्खाल लाएर बाहिरी मानिसको छायासम्म पनि देख्न-हेर्न नदिईकन सख्त कडाइ गरिराखेको छ तापनि बाहिर भइरहेको हालखबर र स्थितिबाट पनि हामी त्यस्तरी अपरिचित थिएनौँ । चिट्ठीपत्रद्वारा बराबर खबरको आदान-प्रदान भइरहन्थ्यो । घरबाट मालसामान, खानेकुरा आउँदा पूरा जाँच हुन्थ्यो । भित्री र बाहिरी भएका कुनै कपडालत्ता ल्याउन दिँदैनथ्यो । घिउ-तेलमा समेत हात डोबेर जाँच्दथ्यो । तर थर्मसभित्रको काँचको भाँडो फिकेर त्यसभित्र तमाखु आदि राखेर ल्याउने बट्टा आदिको पींधमा अर्को एक खण्ड कलात्मक ढङ्गमा बनाएर त्यसभित्र चिट्ठी हाली ओहोरदोहोर गयौँ । यस्तै अनेक काइदा अकलले हामी स्थिति थाहा पाइरन्थ्यौँ ।

जेलमा पुग्दा म ५७ जनाको परिवारमध्येको एउटा हुन आएँ । हामी ५७ जनामा विभिन्न जाति, नाना प्रकृति र प्रकारका मानिस थियौँ, तर हाम्रो विभिन्नता एकतामा क्रमशः सुन्दरतर रूपमा उनिंदै गइरहेको थियो । कसैको केही कुराको कमी टार्न सक्नेले हेरिरहँदैनथ्यो । भेदभाव त्यहाँ केही हुँदैनथ्यो । साम्प्रदायिकताले त त्यहाँ चियाउनु पनि सक्दैनथ्यो ।

त्यहाँ आफैं-आफैंले भात पकाउन पर्थ्यो । खानाको निम्ति ३ चौथाइ अरुबा चामल, सानो एक कल्ली दाउरा, दाल, तरकारी अनि तेल-मसाला इत्यादि सबको निम्ति दुई पैसा, अलिकति नून र कहिले एउटा, कहिले दिनको दुइटा खोर्सानी दरले बाँडिन्थ्यो। ज्यू त्यूँ चामल पुग्थ्यो, तर अरू सबै कुराले ज्यादै तकलीफ हुन्थ्यो । घर टाढा भएको र गरीबको निम्ति त यसको कटुता असह्यै थियो । मङ्गल र शुक्रवार घरबाट खानेकुरा र लत्ताकपडा ल्याउन पाउने दिन थिए । पुगीसरी आएकाले घरबाट ल्याएको म चामल खानलाई राखेर सिधाको चामल बेच्ने गर्थेँ । अनौठोको कुरा छ, त्यहाँ झ्यालखानाको पसलमा किन्न पर्यो भने चामलको भाउ ७/८ आना, बेच्दा ४ आना बल्ल पाइने । राणासरकारको प्रबन्धको गरीबी त जहाँ गए पनि दृष्टिगोचर हुन्थ्यो । कैदीहरूसमेत गरेर अझै हामी सयमा छुन पुगेका थियौँ । त्यत्तिका मानिसको निम्ति एउटा धारा छ, त्यो पनि एउटा गाग्री भर्नलाई घण्टाभरजस्तो लाग्ने । अर्को कुरा भात पकाउने र खाने वेलामा पनि बराबर पानी बन्द भइरहन्थ्यो ।

जेलमा मलाई सबभन्दा प्रशंसनीय कुरा के लाग्यो भने आफू बिरामी भएर पकाउन अशक्त भएको बेला पनि भोकै मर्न नपर्ने बुद्धिमानी कार्य गर्न त्यसले जान्दथ्यो । हरेक मानिस त्यहाँ बराबर बाहुन भइरहन्थे, अनि प्रत्येक व्यक्ति एक रगत, एक मासु, एक प्राण, एक आत्माको अभिमानी भएर गान्धीलाई हेरिरहन्थे । अध्यवसाय, स्वावलम्बन, मितव्ययिता, एकता, आत्मबल र गुजारा गर्ने शक्तिको अनुभव र अध्ययन जति जेलबाट हुन्छ, त्यति ठूलाठूला कलेज, विश्वविद्यालय र छात्रालयबाट पनि हुन गाह्नो हुन्छ । त्यहाँ पुगेपछि मानिसहरूले आफूमा भएको कमी देख्दा रहेछन् र त्यसको पूर्तिको निम्ति प्रतिज्ञाले उसको हृदय समात्छ, अनि उसको जीवन निर्माण र सृजनको सुन्दरता मात्र छाउन जाँदो रहेछ । त्यसैले जेललाई सबभन्दा ठूलो तीर्थ भनिराखेका होलान् ।

जेलमा मैले ३१ दिनसिवाय बस्ने सौभाग्य पाइनँ । बन्दी भएको ७५ दिनको दिनमा श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रमलगायत सारा नेपाली वीरहरूले राणाशाहीसित घोर युद्ध गरेर, नेपाली जीवनमा आत्म र उज्यालो भनेर हामी जेलवासीहरूलाई मुक्त गरिदिए । जेलबाट बाहिर आउनासाथै देशभक्त वीर नेपालीहरूले “तपाईंहरूले गर्नुभएको कामना पूर्ण भयो” भन्ने शुभ सुखद सन्देश हाम्रो कानमा भरेर फुलाइदिए । जेलबाहिर फूलको माला लिई स्वागत गरिरहनेहरूको बेठेकान हूल थियो । अबीरले लुगा सबै छोपिदियो । मोटरमा बसाउन हामीलाई मानिसहरूले तानातान गरिरहेका थिए । कहिल्यै त्यसरी मुफ्तमा मोटरमा बसाउन कसैले नतानेको हुनाले मोटरमा बस्न जान मलाई साहस भएन । किनभने त्यस वेला कमरमा एक पैसा पनि थिएन । टुंडिखेल पुगेपछि पैसा असुल गर्न लागेपछि आफ्नो बेइज्जत होला भन्ने डरले “भइगो म हिँडेरै जान्छु” भनेँ । “मोटर छँदाछँदै हिँडेर जाने किन, झट्टै हिँड्नोस् अवेला भयो” भन्दै एक जनाले त मलाई घिसारेरै मोटरमा राखे । त्रिपुरेश्वर पुग्दा मोटरबाट ओरालेर सबै राजबन्दी जम्मा गर्न थाले । मोटरको महसुल त लाग्दैनलागेको रहेछ, हाम्रै स्वागतमा आएका रहेछन् मोटरहरू पनि सित्तैं । त्रिपुरेश्वरदेखि केही महिलाहरूको नेतृत्वमा मङ्गल र स्वागतगानका साथ अपार नेपाली जनताले पूजा गर्दै जुलूस बाँधेर शहरभित्र लग्यो ।

यति चाँडै मुक्ति दिलाउने क्रान्तिकारी देशभक्तहरूको साथै श्री राजदास बादेश्रेष्ठ बनेपा, श्री हंसराज श्रेष्ठ बनेपा र श्री भवानीराज मास्केको पनि म हृदयैदेखि कृतज्ञता प्रकट गर्दछु । श्री राजदासजीले कोर्रा र अफ कडा सजायको बाजी थापेर सुनको मोलमा खर्च गरी अत्यन्त कोशिशसाथ प्राप्त गरिराख्नुभएको एक टुक्रा शीशाकलम दिने उदारता प्रकट गर्नुनभएको भए मैले एउटा पनि कविता लेख्ने सौभाग्य पाउने थिइनँ । मुख हेर्नसम्म पनि मनाही भइराखेकोमा इशारामा कुरा गरी उहाँले चर्पीमा शीशाकलम छाडिराख्नुभएको थियो । बन्दी-जीवनबाट अनुभव प्राप्त भयो कि जिन्दगीमा सधैं असल मात्र बनिरहेका सोझो भलादमीले यो बाङ्गो दुनियाँमा कहिल्यै सुख-सुविधा पाउन सक्दैन । त्यसैले मलाई आफन्त सम्झने मानिसहरूलाई म सल्लाह दिन चाहन्छु कि आफू कमलको फूल बनेर लपनछपन स्वाङवाङ, इशारा नखरा आदिको हिलो-रछ्यान भरेको दुनियाँको पनि अनुभव हासिल गरिराख्नुपर्छ । मानव संसारका यी दोषहरू बखतमा गुण भएर जिन्दगी फुलाउँदछन् । आफ्नो पनि बाल्य-जीवन यस्तै हिलो-रछ्यानमा गुज्रिसकेको हुनाले स्वाँग र इशारामा पोख्तिएको सुर्काउनी अभीष्ट कुरा बल्झाउनमा विफल हुन सकेन । राजदासजीबाट शीशाकलम प्राप्त हुनासाथै कहिल्यै पनि नखाएको चुरोट खानमा म अमलचीको स्वाङ्गी हुन हतारिएँ, र बट्टा चुरोट धुवाँएर सिद्ध्याउन चनाखो भएँ । किनभने चुरोटको बट्टालाई कागजको व्यवहारमा ल्याउन मलाई निकै आवश्यक परेको थियो । खल्ती तलाशीमा गारतमा लिइराखेको आफ्नो पैसा, चुरोट, चिउरा, बदाम, भटमास किन्नसम्मलाई दिनको एक मोहरसम्मको हिसाबले दिने गरेको थियो । तलासीमा परेका मेरा रुपियाँ ७५ थिए । त्यसबाट चुरोट र तमाखु किन्न थालेँ । आफ्नो र अरूले फ्याँकिराखेका समेत चुरोटको बट्टा बटुली २०,२५ कविता लेखेँ । सिपाही र आठपहरियाहरूको आँखा छली कविता लेख्नुपर्ने, निकै गाह्रो, तर आफ्नो तन-मन-धन त्यसैमा भइरहेकोले बराबर मौका पाइ पनि रहन्थेँ । घोप्टेर सधैं बसिरहने हुनाले सिपाहीहरू गफ गरिरहेको मौकामा लेख्न लागेको आफ्नै आडले छोपिँदो रहेछ, त्यसैले उनीहरूले देख्दैनथे । यसरी कविता लेखी-लेखीकन लाइराखेको मोजाभित्र पाइतालामुनि कविता लुकाइराखेको थिएँ ।

यी सबैको प्रथम श्रेय म राजदासजीलाई नै दिन्छु, किनभने उहाँबाट शीशाकलम नपाएको भए लेख्ने सम्भव थिएन । केही दिनपछि एक सिपाहीवाट नै मैले शीशाकलम, एउटा सिसाकलम तास्ने र केही कागज पाएँ । ती सिपाहीमा पनि मौन विद्रोह भइसकेको थियो । तिनको नाम हो बलबहादुर । उनलाई पनि म हार्दिक धन्यवाद दिन्छु । जेल गएपछि त चुरोटको कागज पनि पाइएन । तर कपिङ्ग शीशाकलम एउटा मुश्किलले भेट्टाएर तकिया र डसनाका खोलहरू फिँजाई मजासित त्यहाँ पनि केही कविता लेख्न थालेँ । तर अफसोस शीशाकलमले लेखेको हुनाले कतिपय मेटेर बिलकुलै नबुझाउने भएर गए । नेलले मलाई अत्यन्त दुखाएको देखेर हंसराजजीले कपडा नपाएर आफ्नो सतरन्जासमेत च्याती मेरो निम्ति नेलपोस् बनाई मलाई सुबिस्ता दिनुभएको थियो । भवानीराजजीले त एक महीनासम्मै भात पकाउने कठिन टन्टा आफ्नो टाउकोमा बोकेर मलाई खेलाई खेलाईकन ख्वाइराख्नुभएको थियो । म भात पकाउने काममा सारै अज्ञ र गाह्रो मान्ने थिएँ, तैपनि उहाँलाई मात्र पकाउन लाएर खाइरहन लाजै लागेको थियो । जे कुराको पनि अभाव र असुविधा भएको हुनाले त्यहाँ भात पकाउने काम ज्यादै गाह्रो थियो । केही पनि काम नगरीकन खानलाई मात्र टुप्लुक्क बस्न जान मलाई बिघ्नै लाज लाग्यो । भात पस्काउने काम भए पनि बोकेर उहाँलाई अलि हलुका गरिदिनपर्यो भन्ने विचारले मैले पनि भात पस्काउने र दाल-तरकारीको भाग लाइदिने काम अगि सरेरै गर्न थालेँ । यी सबै कुरा मैले स्वास्नीलाई बताउँदा त “अर्काले पकाएकोमा पस्किदिने काम गर्नु त हाम्रो समाजमा लाजको कुरा छ” पो भनी । यो कुरा सुनेदेखि भवानीराजजी देखेर मलाई झन् लाज भयो र आजसम्म लजाउँदै छु ।

(हृदयचन्द्रसिंह प्रधानको निबन्धसङ्ग्रह ‘कुरा साँचो हो’बाट । पूरा निबन्धसङ्ग्रह साहित्यपोस्ट एपमा पढ्न सक्नुहुनेछ ।)