एक

छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- “मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनिदिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।”

अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।

“चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।” जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।

“अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।” अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- “जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !”

“मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइरहेको छु । ‘सास रहेसम्म आस’ भन्ने एउटा कुरा मात्र बाँकी छ ।” यति भनी अष्टनारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइसकेका थिए, फेरि अष्टनारानले बोल्न सुरु गरे-

“कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।”

“बा !” नानीथकुंले बोल्न खोजेर पनि यतिसिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।

“किन बा, के बोल्न खोजेको ?” बडो मायालु भावमा अष्टनारानले भने ।

“धेरै नबोल्नुहोस् भनेको बा ! परिश्रम होला ।”

“मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनुपर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइरहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागिरहेको छ ।”

“बा !” अष्टनारानको मुखैनिर शिर निहुराएकी नानीथकुंले भनिन् ।

यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुंको आँखाबाट आँसु टप्किहाल्यो । अष्टनारानका माहिला छोरा पुननारान र कान्छा छोरा हर्षनारान दुवैले एकै चोटि बोले- “बा ! चुप लाग्नोस् भन्या ।”

“लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनिहाल्छु- बाबूहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केहीकेही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडिराखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरिदिनू त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।”

बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।

० ० ० ० 

दुई

अष्टनारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइसक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइसके । तुयु गुभाजु नेपालका नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस लिन्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।

तर, एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्टनारानको व्यथा बिसबाट उन्नाइससम्म पनि गरेन ।

अष्टनारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार गरेर तुयु गुभाजुलाई बोलाउन छाडे । जे गरेर पनि बाबुलाई निको पार्नुपर्छ भन्ने भावनाले अष्टनारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि बाबुलाई औषधी गराइरहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा पच्चिस रुपियाँ पनि सिद्धियो ।

अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रियाका निम्ति खाइनखाइ ‘मेरो अन्त्येष्टि क्रियासिवाय यस रुपियाँले अरू केही नगर्नू’ भनेर गाडिराखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि डाक्टरलाई देखाउने इच्छा गरिन् ।

लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन, बरु पाप हो ।

यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो तर त्यसले सबैलाई अफसोस पनि गरायो । विशेष गरेर जेठा छोरा शिवनारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदासमेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएकाले आमाको सल्लाह साह्रै बुद्धिमानी पनि लाग्यो शिवनारानलाई । साथै शिवनारानको दृढ विश्वास थियो- डाक्टरी औषधी पाएपछि बाबु अवश्य निको हुन्छन् ।

डाक्टर गोदत्तप्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिवनारानले भने- “डाक्टरसाहेब ! दुई महिनादेखि बाबु बिरामी हुनुहुन्छ । डाक्टरसाहेबले एक चोटि हेरिदिनुभयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टरसाहेब !”

तर डाक्टर गोदत्तप्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिवनारानको आफैँ घाउ भइरहेको मनमा अझ बढ्ता चोट पयो, तैपनि ठुला मानिस भएका हुनाले शिवनारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले- “डाक्टरसाहेब !”

टेबिलमा राखिछाडेको एउटा पुस्तक पल्टाएर शिवनारानप्रति ‘पख, नकराऊ’ भन्ने इसारामा डाक्टर गोदत्तप्रसादले केवल देब्रे हात हल्लाए । आशा लाग्दो अनुहारमा शिवनारान त्यसै उभिरहे । डाक्टर किताब हेदहिर्दै ‘कोही आयो कि, कोही आयो कि’ भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बितिसक्यो । शिवनारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिवनारानले फेरि बोल्ने साहस गरिहाले- “डाक्टरसाहेब बाबु सिकिस्त हुनुहुन्छ, ढिलो गर्न भएन डाक्टरसाहेब !”

शिवनारानतिर पुलुक्क दृष्टिपात गरेर डाक्टरले केवल यति बोले- “अँ ।”

डाक्टरको यो निठुरी व्यवहार देखेर शिवनारानलाई एकछिन त ‘डाक्टरलाई मारिहालूँ’ भन्ने झोंक चलिसकेको थियो तर डाक्टरसित रिसाउन सक्ने अवस्था पनि त शिवनारानको थिएन । बाबु सिकिस्त छन्, आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडिरहन्थ्यो । त्यसैले रिसलाई दबाएर शिवनारानले डाक्टर गोदत्तप्रसादसित फेरि अनुरोध गरे- “डाक्टरसाहेब ! आधा घण्टा भैसक्यो म आएको… ”

“एकछिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के समय पर्खिरहन सक्छ ?” डाक्टर गोदत्तप्रसादले तिरस्कारको भावमा भने ।

“बाबु साह्रै सिकिस्त हुनुहुन्छ डाक्टरसाहेब !”

“ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।”

“के गर्ने त डाक्टरसाहेब ! साह्रै चिन्तामा छु, सिकिस्त बिरामी मानिसलाई छोडेर आएको !”

“पख, कचकच नगर, किताब हेरिरहेको छु, ध्यान खलबल नगर ।” डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिवनारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन लागे ।

० ० ० ०

तीन

अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।

किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुननारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।

ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो ।

तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।

पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साहुले उनलाई समात्न आइरहेका थिए । साहुले अनेक भनाइको सिलसिलामा भनिरहेका थिए- “यस्तो बेइमानी गर्नु मनासिब छैन ।”

“बेइमानी गरेको होइन साहुजी ! के गरुँ परिस्थिति नै यस्तो हुन आयो । म बेइमानी कहिल्यै गर्दिनँ ।” पुननारानले बडो नम्रतासाथ भने ।

“खुब इमानदार काम गर्यौ, यही हो तिम्रो इमानदारी ? पेस्की लिइसकेपछि बेपत्ता ?”

“अब एक हप्ता पर्खिदिनोस् साहुजी ! बाबुलाई बिसेक भएपछि म काम गर्न सुरु गरिहाल्छु । आजदेखि डाक्टरको औषधी परेपछि त निको भैहाल्छ ।”

“तिम्रा बाबुलाई ठीक नहुँदासम्म बर्सादले पर्खिरहे त केही छैन ।”

“एक महिनाजति अझै बेला छ, जेठै लागेको छैन । एक-दुई हप्तापछि त झन् दिन लामो हुन्छ । घर बनाउने मुख्य बेला नै त्यही हो, साहुजी !”

“तिमीलाई त्यस्तो छ भने पेस्की फर्काइदेऊ । म अर्कैलाई काम लाउँला !”

“पेस्की ल्याएको रुपियाँ सकिएरै त तपाईंका सबै कुरा सहिरहनुपरेको । बाको यस्तो अवस्था छ, खर्चले मुस्किल परिरहेको थियो, तपाईंले दिनुभएको पेस्कीले मलाई ठुलो काम दियो । यसको पनि मैले गुन सम्झेको छु, साहुजी !”

पुननारानको अति नम्र कुरा सुनेर साहुजीले प्रतिवाद गर्न सकेनन् । लतमायाले पुननारानलाई डाक्टर गोदत्तप्रसादलाई झट्टै ल्याउने ताकिता गर्न पठाइन् । पुननारान र साहुजी दुवै सँगै बाहिर निस्के ।

पुननारान जाँदा पनि डाक्टर गोदत्तप्रसाद किताब नै हेरिरहेका थिए । शिवनारान अघिदेखि उभिएकोउभियै थिए । पुननारान पुग्नासाथ उनले आफ्ना दाजु शिवनारानलाई भने- “बालाई बढ्दै आएको छ, किन ढिलो गरिरहनुभको ?”

पुननारानबाट बाबुको झन् खराब स्थिति सुनेर शिवनारानले हडबडाउँदै डाक्टरलाई भने- “डाक्टरसाहेब ! बालाई झन् बढिरहेको छ रे । झट्टै हिँडिदिनोस् न ।”

“गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।” डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।

“डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनुभयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।” शिवनारानले आशाजनक भावमा भने ।

“त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।”

“यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।” शिवनारानले भने ।

“हो ?”

“हो, डाक्टरसाहेब !”

“त्यसो भए लौ हिँडौं त ।”

० ० ० ०

चार

राम्ररी जाँचबुझ गरिसकेपछि डाक्टर गोदत्तप्रसादले प्रेस्क्रिप्सन लेखिदिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधिरहेकी नानीथकुंप्रति हेरेर डाक्टरले भने- “झट्ट लुगा लगाई खास्टोले छाती छोपिहाल । हावा लाग्न दिनुहुन्न, अलिअलि निमोनियाले पनि छोइसकेको छ ।”

प्रेस्क्रिप्सन लेखिसकेपछि डाक्टरले भने- “दिनको दुई मात्रा मिक्स्चर ख्वाउनू, पुरिया औषधी पनि लेखिदिएको छु, त्यो दिनको दुई मात्रा खाना खानुभन्दा अगाडि ख्वाउनू अनि दुई दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनू, इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनू ।”

बिरामीको कोठाबाहिर आएर जान लाग्दालाग्दै डाक्टरले भने- “राम्ररी हेरविचार गर्नू, व्यथा अलि कडै छ, म भरे पनि एक चोटि आएर हेर्ने छु । बिरामीलाई एक्लै नछाड्नू ।”

बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथै नानीथकुं पनि सँगसँगैजसो गएकी थिइन् । डाक्टरको कुरा सुनेर नानीथकुंले मुख अँध्यारो पारिन् ।

नानीथकुंले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने- “किन यस्तरी मुख बिगारेकी नानी ? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु ।”

नानीथकुंसित यति बोली डाक्टर गोदत्तप्रसादले लतमायातिर फर्केर भने- “यिनी को हुन् आमै ? तिम्री छोरी हुन् कि ?”

लतमायाले भनिन्- “हो ।”

“ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भैसक्यो ?”

“भएको छैन ।”

“ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।” शिवनारानतिर हेरेर डाक्टरले भने- “भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?”

डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच रुपियाँ फिस हातमा राखिदिए ।

नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो । नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।

नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्तप्रसादको कल्पना दौडिसकेको थियो ।

डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको अनुहार सम्झिरहेका थिए ।

अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्तप्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्टनारानका घरतिरको बाटो तताए ।

पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।

डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्तप्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।

डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- “धेरै गोडा मिच्नु पनि ठीक छैन नानी !”

डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- “व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।”

डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- “निको नै गरूँ ।”

डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्- “यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।”

डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- “मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।” शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- “भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।”

यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- “अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।”

लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।

० ० ० ०

पाँच

डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- “होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।

कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- “के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?”

शिवनारानले भने- “डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।”

अष्टनारानले सम्झाएको भावमा भने- “हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।”

“हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !” शिवनारानले भने ।

“त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।” सशङ्कित भावमा अष्टनारानले भने ।

वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू अष्टनारानलाई सम्झाएर भने- “डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।”

“ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।” अष्टनारानले भने ।

“त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।” अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।

० ० ० ०

बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्टनारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।

अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइसकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।

भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परिरहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो ।

सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- “शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरिरहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।”

मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- “किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।”

“धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।” शिवनारानले भने ।

“डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !” अष्टनारानले अलि हाँस्न खोजेर भने ।

जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए ।

शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- “तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।”

“हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम त लाख आउँछन् ।” पुननारानले भने ।

अलि हाँसेर अष्टनारानले भने- “लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।”

बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे ।

अष्टनारान फेरि बोले- “भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नुपरेको छ ?”

यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन् ।

० ० ० ०

सात

डाक्टर गोदत्तप्रसाद ठीक आठ बजे आइपुगे । उनलाई देख्नासाथ अष्टनारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । बिरामीको हेराइ देखेर डाक्टर गोदत्तप्रसाद एकछिन टोलाए । एकछिन जिल्लिएर बिरामीतिर हेरिसकेपछि डाक्टर गोदत्तप्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरिसकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे- “आज तपाईंलाई कस्तो छ ?”

“अलि अप्ठ्यारो भएको छ ।” बिरामीले डाक्टरको अनुहार हेरेर भने ।

“धन्दा नमान्नोस्, केही हुन्न ।” अलि आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।

अष्टनारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । “केही खान मन लाग्छ ?” डाक्टरले सोधे ।

नकारात्मक भावमा अष्टनारानले टाउको हल्लाए ।

एकछिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरिरहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरिरहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्टनारान बोले- “डाक्टरसाहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औंसी परेको छ, कडा दिन छ !”

“यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भनेजस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नुहुन्छ ।” डाक्टरले हाँस्तै भने ।

“तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।” शिथिल भावमा अष्टनारानले भने ।

“तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।” यति भनेर डाक्टर गोदत्तप्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछिपछि गइन् ।

अष्टनारानको कोठाबाहिर शिवनारान, पुननारान, हर्षनारान र नानीथकुं ढोकाबाट चियाएर डाक्टर गोदत्तप्रसादले भनेका कुरा सुनिरहेका थिए । डाक्टर गोदत्तप्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने- “व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गाह्रै छ ।”

डाक्टर गोदत्तप्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।

अनि डाक्टर गोदत्तप्रसादले भने- “तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानुहोस् बिरामी कुरुवा बस्न गैहाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।”

डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्- “डाक्टरसाहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?”

“मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइसकेको छ । अब तपाईंहरूले एकछिन पनि नछाड्नुहोला ।” गम्भीरतापूर्वक डाक्टर गोदत्तप्रसादले भने ।

लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुंको आँखाबाट पनि आँसु टप्किहाल्यो । डाक्टर गोदत्तप्रसादले सम्झाएर बिरामीकहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एकएक गरेर बिरामी अष्टनारानको सेवाशुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाइबुझाइ गरी डाक्टर गोदत्तप्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए- “भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनुहोला ।”

डाक्टर गोदत्तप्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।

‘आफ्नो अर्ती सुनेर काममा गइसकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्टनारानको चिरकाल रोगग्रस्त हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- “किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?”

अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे ।

अनि फेरि अष्टनारान बोले- “लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) लत्त्याइरहेछौ ।”

अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्- “अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।”

“डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।” अष्टनारानले भने ।

अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको वेदना थाहा पाएर अष्टनारानले भने- “लतमाया ! जन्मेपछि मर्नुपर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भवजस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !”

बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- “मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।”

तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर धैर्यधारण गराए । तत्क्षणात् प्रकृति बदली अष्टनारानले छिटोछिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक-दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्टनारानले सधैंका निम्ति आँखा चिम्ले ।

क्रमशः