संसार दुःखले भरिपूर्ण छ तर फाट्टफुट्ट सुखका छहारी पनि छन् ।

बघुङग्राड अस्पतालमा दोस्रो चक्र म्याड कीमो उपचार सकेर म र हिमाल एक रात मैनाली बन्धुहरूसँग बस्यौं । भोलिपल्ट बैंकक छाड्‌यौँ । जहाज काठमाडौं पुग्न लागेपछि झ्यालतिर सरेँ र नेपालको धरातल हेर्न लागेँ ।

बितेका अढाई महिनामा बारम्बार अब नेपाल देख्न पाइने हो कि होइन जस्तो लागेको थियो, पाइयो । लेखेको रहेछ, देखियो । असार भए पनि दिन खुला थियो । जहाज जति ओर्लदै आयो, उति राम्रो लाग्दै गयो । हरिया वन, हरिया मैदान र हरिया डाँडामाथि उड्‌दै काठमाडौं उपत्यका देखेपछि लाग्यो- स्वर्ग यही हो ।

पन्ध्र दिनका लागि घर छाडेको, पचहत्तर दिनमा फर्केको थिएँ, अनेक अप्रत्याशित आपत् र यातनाहरू भोगेर । बिहान बैंकक हवाई अड्डामा ह्वील चेयरमा गुड्दागुड्दै रनाहा लागेर बाटैमा वमन गरेको थिएँ । जहाजमा दिएको भोजन पनि रूचेको थिएन । कीमोले डढेर मुख रातो-कालो भएको थियो । काठमाडौं विमानस्थलमा मलाई मेरा मायालुहरूले घेरे र नियालेर हेरे । कीमोले डढाएर मुख रातो भएको थियो । म बदलिएको देखेँ । म बाँचेर आएको देखेर खुशीले रोएँ । रुवाएँ । मैले भनेँ, चिन्ता नगर, मेरो जहाज घोप्टेभीरमा ठोकिइसकेको होइन । वार्निङ मात्रै आएको हो । म अझै दुई-चार वर्ष तिमीहरूमाझ हुन्छु ।

चक्रपथ हुँदै घरतिर लाग्यौँ । यो बाटोमा अफिस समयमा सधैँ ट्राफिक जाम हुन्थ्यो । तर आज दिउँसो बाटो खुलै थियो वा म संसारको नामी ट्राफिक जाम हुने शहर बैंककबाट भर्खरै आएकाले यत्तिको यातायात खुकुलै जस्तो लाग्यो । बैंककको ट्राफिक जाम र सडकछेउ खाँदाखाँद गरेर बनेका अग्ला  घरहरूको घुइँचो सम्झाँदा यहाँ कुनै पार्कको बीचबाट हिँडेको जस्तो लागिरहेको थियो । सोचे- चक्रपथ त यति खुकुलो र सजिलो हुँदैनथ्यो, आज किन यस्तो लागिरहेको छ ?

घरमा सबभन्दा पहिले थला परेकी आमाको दर्शन गरेर उहाँसँग भलाकुसारी गरेँ । अनि आँगनमा डुल्दै चारैतिरको दृश्य हेरेँ । मैले २०४४ सालमा यो जग्गा किन्दा र त्यसको छ वर्षपछिदेखि बसोबास गर्न लाग्दा पनि यहाँबाट वर्षको चार-पाँच महिना हिमाल खुला देखिन्थ्यो । त्यही हिमाली दृश्य र वरिपरिका वन-वनस्पतिको मोहले मैले यो जग्गा किनेको थिएँ । अचेल काठमाडौँमा विकार यति बढिसकेको छ कि यहाँबाट वर्षमा दुई-चार हप्ता मात्र हिमाल खुला देखिन्छ । राति पानी परेर बिहानदेखि मात्रै उघेकाले आज हिमाल छ्याङ्ग देखिन्थ्यो ।

आफ्नै हातासँग जोडिएको पूर्वपट्टिको आदिनाथको सल्लेनी बनलाई अभिवादन गरेँ । बितेका पन्ध्र वर्षदेखि यो वनको प्रत्येक रूखसँग मेरो नाताजस्तै छ । हरेक बिहान यिनको छायामुनिबाट हिँड्दा म यिनीहरूसँग भलाकुसारी गर्थेँ । आज परैबाट गरेँ । उनीहरूले आफ्ना सुइरे पात हल्लाएर मलाई “स्वागत भने र शीतल हावा पठाइदिए ।

यही वनबाट थालेर मेलैसँग पूर्वतिरबाट हेर्न थालेँ । क्षितिजमा छ, सात, हजार मिटर अग्ला गौरीशङ्कर शृङ्खला र त्यहींबाट क्रमशः पश्चितिर चोबा भामरे, फुर्वी छ्याचु, दोर्जे लाक्पा, सिसा पामा, लाङटाङ, गणेश हिमाल हुँदै अन्तमा मनास्लुसम्मका सेता-नीला चुचुराहरूले बादलको घुम्टोबाट चियाउँदै, लुक्तै, चियाउँदै गरिरहे । एक सय बीस डिग्रीको क्षितिज र दुई सय किलोमिटरको दूरीपछि हिमशृङ्खलाको दृश्य टुङ्गियो । त्यसमुनि क्रमशः पहाडका तरेलीहरू । पश्चिमोत्तरको यौटा टाकुरामा स्वयम्भूनाथको मन्दिर, जुन हरेक साँझ बत्तीले जगमगाएको हुन्छ । त्यो जगमग मेरो आँगनबाट मात्र होइन, सुत्ने कोठा र बैठकबाट पनि छ्‌याङ्ग देखिन्छ । अनि पूर्वोत्तरमै रिमरिम देखिने चाँगुनारायण डाँडाको नाक । मैले ती सबैलाई अभिवादन गरेँ ।

अनि काठमाडौँको ठूलो भागमा देखिने संस्कृति-असङ्गत, समय-असङ्गत, एनाक्रोनिस्टिक र बत्तीसवटा दाँत अटाउने गिजामा छत्तीसवटा दाँतजस्तो खप्टेर बनाइएका जस्ता खाँदाखाँद, क्लस्ट्रोफोबिक घरहरू । टीयू र बागवानी बीचमा वाग्मती नदीमाथि एक सय वर्षभन्दा पुरानो झोलुङ्गे पुलले मन्थली घाटमा तामाकोशी माथिको झोलुङ्‌गे पुलको झझल्को दियो, रमाइलो लाग्यो । मेरो घरबाट सोझै मुन्तिर कीर्तिपुरको केन्द्रीय बागवानी र पारिपट्टि विश्वविद्यालय हाताको ट्या‌ला फाँटको दक्खिनी पाखो । आफ्नै घरमुनिका खेतमा रोपाइँको तरखर । पश्चिममा भाजेंगालको पाखामा बाँसघारी र उत्तिसका रूखहरू । बगैँचामा फुलेका रङ्गीचङ्गी फूलहरू र हरियो बारी । जताततै हरियो । यी दृश्यसँग म सधैँ वार्तालाप गर्थेँ । आज पनि गरेँ ।

एक्काईस वर्षअघि बेलायतबाट फर्कनेबित्तिकै म पछिसम्म काम लाग्ने घडेरीको खोजीमा लागेँ । मैले त्यस बेला यो ठाउँ र यी दृश्यहरू अति नै मन पराएर यो घडेरी जोडेको थिएँ । बेलायतको घर बेचेको नाफाबाट यो घडेरी किनेर यहाँ घर बनाउन थालेको थिएँ । यो बनाउन कुमारीगालको छ रोपनी र बत्तीसपुतलीको एक रोपनीको घर-घडेरी पनि बेचिसकेको छु, तैपनि पूरा भइसकेको छैन ।

बन्दाबन्दैको घरमा २०५१ साल वैशाख ३ गते साइत गर्न मात्रै भनेर एक जना साथी लिएर तीन रातका लागि सुत्न आएँ र त्यसपछि दुर्गालाई भने, “अब त्यो साँघुरो बत्तीसपुतली फर्कन्नँ । तिमीहरू जे मन लाग्छ, गर ।”

अनि उनीहरू पनि यहाँ सरे । यो ठाउँ राम्रो लाग्थ्यो, त्यत्ति हो । विदेश-परदेशका लामालामा यात्राहरूबाट फर्केर आउँदा पनि आजभन्दा पहिले कहिल्यै मलाई यो ठाउँ यति राम्रो लागेको थिएन । सम्भवतः यति गम्भीरतापूर्वक दृश्यावलोकन गरेको थिइनँ । अथवा मेरो जीवनमा त्यस्तो गम्भीर परिस्थिति नै आएको थिएन ।

अहिले मेरो विशेष मनःशारीरिक अवस्था थियो । जीवनमा पहिलोपटक लामो समय अस्पतालको पिंजडामा ओछ्‌यानबाट उठ्न नसक्ने अवस्थामा गुजारेको थिएँ । घर पुगिन्छ कि पुगिंदैन भन्ने मानसिकतामा घर आइपुगेको थिएँ । परिवार र स्वजनले घेरिएको थिएँ । पिठ्यूँमा ब्रेस. बाँधेर भए पनि बगैँचामा हिंडडुल गर्दै मनमोहक दृश्यावली हेरिरहेको थिएँ । वर्षौँ बसेको यस घरको आँगनबाट लगभग सधैँ देखिरहेको दृश्य भए पनि, यसै ठाउँमा यसै अवसरमा पहिलोपटक मैले स्वर्गको पुनराविष्कार गरेँ ।

मुगल राजा शाहजहाँले भारतको राजधानीलाई आगराबाट दिल्ली सारेपछि जमुना किनारको रोज्जा ठाउँमा दश वर्ष लगाएर सन् १६४८ मा लालकिला नामक भव्य दरबार बनाएको थियो । त्यो दरबार कुरानमा वर्णित स्वर्गीय दरबारको अनुकरणमा सेतो सङ्गमरमरमा सुन, चाँदी, जवाहरात जडेर बनाइएको थियो । दरबारको भित्री बैठकको मध्यभागमा त्यस बेला एक करोड भारतीय रुपियाँको लागतमा नवरत्नजडित सुनको मयूर सिंहासन राखिएको थियो, जुन पछि नादिर शाहले लुटेर लग्यो । बैठकको उत्तर-दक्खिन पर्खाललाई जोड्ने गुम्बजमुनि धनुषाकारमा ठूलठूला सुनका अक्षरले महाकवि अमीर खुसरोको यो कविता जडिएको थियो ।

अगर फिरदौस बर रू-ए-जमिन अस्त हमी अस्तो हमी अस्तो हमी अस्त । (धरतीमा यदि कतै स्वर्ग छ भने त्यो यहीँ छ, यहीँ छ, यहीँ छ ।)

तर पुत्र औरङ्गजेबले शाहजहाँको राजपाठ खोसेर र उसलाई बन्दी बनायो र उसको त्यो स्वर्गको भोग गर्ने तिर्सना पूरा गर्न दिएन । जगत्‌को यथार्थ यै हो ।

त्यो थियो महँगा ढु‌ङ्गामा सुन, चाँदी, जवाहरात जडेर बनाएको शाहजहाँको दरबारको स्वर्ग र यो थियो प्रकृतिले नेपालमा सादा इँटाले बनाएको मेरो स्वर्ग । मेरा लागि यस धरतीमा स्वर्ग कतै छ भने त्यो नेपाल हो, त्यो नेपाल हो, त्यो नेपाल हो, मेरै आँगनबाट देखिने र नेपालैभरि पाइने दृश्यावली हुन् ।

म कुनै पनि विदेशी महानगरमा बसेर दीर्घायु हुनुभन्दा यिनै दृश्यावलीमाझ आफ्नै घर-स्वर्गमा बसेर अल्पायु हुन खुशी छु, सुखी छु ।

त्यस दिव्य अनुभूतिलगत्तै मेरा आँखा वाग्मती किनारको नवनिर्मित डम्पिङ साइटमा पुगेँ, जहाँ अनेकौँ प्लास्टिकका थैला उडिरहेका थिए । ती प्लास्टिकका थैलाहरूसँग चील र गिद्धहरू लुकामारी खेल्दै थिए । पूजनीय वाग्मतीको सारा शरीरलाई काठमाडौंवासीहरूले सामूहिक बलात्कार गरिसकेपछि चोभारमा उनको फुकेको झाँक्रो, सप्को र पोल्टोलाई डम्पिङ साइट बनाएका छन् । मान्छे र चराहरूको समेत जिउनीको थलो र मेलो भएको यस महारछ्‌यानमा अहिले मान्छे, चील र गिद्धहरू केक्के न पाइएला भनेर झुत्ती खेल्दै छन् । यो नयाँ नेपालको नयाँ काठमाडौंको नयाँ यथार्थ हो । यो मेरो मात्र होइन, मेरो देश, जनता, राजनीति, पशुपक्षी, यस भूखण्डका पञ्चमहाभूत लगायत समस्त पर्यावरणको वर्तमान चिनारी हो ।

काठमाडौं उपत्यकाका धेरै जना अति कर्मठ नगरपिता, नेपालका विभिन्न अति कर्मठ सरकार, अति न्यायप्रिय कानूनकर्मी, न्यायालय, सुत्केरीसमेत हुन सक्ने अति सक्रिय पुरुष सांसद र डलरप्रेमी वातावरणवादी तथा अधिकारवादी संस्थाहरूको सक्रियतामाथि काठमाडौंका मजस्ता नववासी र पुराना वासी, आदिवासी, जनजाति र ठूलाबलियाहरूको सक्रिय एवम् मौन समर्थनको परिणाम हो यो ।

हामी सबैको मिलेमतोमा वाग्मतीको सिरानदेखि नै फोहोर फाल्न थालियो, जुन काठमाडौं उपत्यकाको पुछार चोभारसम्म पुगेको छ । माता वाग्मती गुहुमती भएकी छन् । उनको समस्त शरीर दुर्गन्धमय भएको छ । उनी उपत्यकाका तीस लाख मान्छेको मलमूत्र र कारखाना, होटेल, अस्पतालहरूबाट निस्कने फोहोर, प्लास्टिक र विषादी रसायन थुपार्ने थलो भएकी छन् । यसरी हामी काठमाडौं खाल्डोका बासिन्दाले काठमाडौं उपत्यकाकी आदिमाता मूल नदीलाई दिनदिनै मल, मूत्र र विषादीको धूप, दीप, नैवेद्य, अर्घले पूजाअर्चना गरेका छौं । हामी सबैलाई धिक्कार छ ।

छिमेकको सिन्धु उपत्यकामा साढे चार हजार वर्षअघि योजनाबद्ध निर्माण गरिएका शहरहरू थिए, जहाँका घरघरमा स्नानागारको व्यवस्था थियो । खनेर पत्ता लागेका शहरहरू मोएन जो दडो र हरप्पामा सामुदायिक सरसफाइ र दलहरूको व्यवस्था थियो । ती शहर व्यक्तिको योजनाले होइन, सरकार समकक्ष निकायको योजनाले बनेका हुन् ।

हाम्रो नजिकैको छिमेकी पटना नगरको व्यवस्थापन पनि २३०० वर्षभन्दा अघि नै उदाहरणीय थियो । जवाहरलाल नेहरूले कौटिल्यको अर्थशास्त्रको सन्दर्भ दिएर “विश्व इतिहास की झलकमा लेखेका छन्-

ग‌ङ्गाको किनारमा नौ मिल फैलिएको मौर्य साम्राज्यको राजधानी पाटलीपुत्र त्यस बेला “शानदार” शहर थियो । “चारदिवारीमा चौसठ्‌ठीवटा मुख्य “फाटक र सयकडौं साना ढोका थिए । अधिकतर घरहरू काठका थिए र आगलागीको डर हुन्थ्यो । अतः आगो निभाउनका लागि पूरा सावधानीपूर्वक इन्तिजाम गरिएको हुन्थ्यो । मुख्य सडकहरूमा सदैव पानी भरेका हजारौँ घडालगायत अन्य आवश्यक सामग्री तयार राखिएका हुन्थे । नागरिकहरूले आगलागी भएको खण्डमा चाहिँने सामग्री-पानी भरेका घडा, भर्याङ, फलामे अकुसे आदि तयार राख्नुपर्थ्यो । नगर प्रशासनका अनेक जटिल प्रबन्धका अतिरिक्त सरसफाइ, पानी, बगैचा र सार्वजनिक भवन आदिको व्यवस्थापनका लागि नागरिकहरूले चुनेको तीस सदस्यीय नगर परिषद् थियो । सडक फोहोर पार्ने दण्डित हुन्थे ।

कस्तो थियो होला त्यस बेलाको पटना ? म विद्यार्थी भएर बस्दा पटना ठूलो स्लम थियो । उँधो लागेपछि पाताल पुग्न कत्ति पनि बेर लाग्दैन । पटनामा शताब्दियौँ लागे ।

काठमाडौं उपत्यकामा पनि हजारौ वर्षमा कति राजा भए । कति मन्त्री भए । कति काजी भए । कति श्री ५ भए । कति श्री ३  भए । तिनका समकक्ष कति विभिन्न जाति, जनजाति र आदिवासी नेता भए । कसले गरे यसलाई व्यवस्थित र सफा राख्ने चेष्टा ?

ती सबैले यो देश, यो उपत्यका र माता वाग्मतीलाई बलात्कार गरे । कसैले पनि यस उपत्यकाको यौटा टोलको पनि योजनाबद्ध निर्माण गरेन । नल-ढलजति सबै वाग्मतीमा खन्याएर आफैँ मात्र श्रीसम्पन्न भए । आखिर आज निर्धा, निमुखा नेपाली जनजीवनलाई शक्तिशाली राजनीतिज्ञ र ठूलाबलियाहरूले के बनाइदिएका छन् ? त्यही, जे सफा वाग्मतीलाई बनाइदिएका छन्- फोहोर २ विषाक्त ढल । यो स्वर्गतुल्य भूमि र यसका देवदूततुल्य जनताको पनि तानाशाह राजनीतिज्ञहरूले अमृतमय वाग्मती मातामाथिकै तहको बलात्कार गरेर त्यस्तै बिजोक पारिदिएका छन् ।

* * *

घरबाहिरको त्यो यथार्थपछि घरभित्र पसेर आफ्नो ओछ्‌यानमा पल्टिएँ । सबभन्दा पहिले दराजमा राखेको, मैले निकै अघि अति नै रहर गरेर किनेको प्वाइन्ट दुन्दु बन्दुक सम्झेँ र हिमाललाई भनेँ, यो बन्दुक र गोलीहरू मैले नदेख्ने र नभेट्ने ठाउँमा लुकाइदे ।

अनि आँखा चिम्लेर आफ्ना जीर्ण, बिरामी र मृत्युशय्यामा कहर काटिरहेका स्वजनहरूलाई मेलैसँग सम्झन लागेँ ।

स्मृतिपटलमा सबभन्दा पहिले आमाको अनुहार आयो । आमा यही असारमा सन्तानब्बे वर्ष पुग्नुभएको थियो । गत दशैँसम्म तरोताजा हुनुहुन्थ्यो । तर यसपालि निकै गल्नुभएको छ । हिमालकी दुलहीको मुख हेर्ने घिडघिडो छ । हामी सबैलाई त्यो पुग्ला कि नपुग्ला भन्ने चिन्ता थियो ।

टुङ्गोअनुसार हिमालको बिहा असार १५ गते प्रोफेसर खगेन्द्र भट्टराई र श्रीमती गायत्रीकी छोरी पूजासँग भयो । बिहामा सीमित रमाइलो गर्न सकेँ । मेरो रगतमा सेतो कोष निकै घटेकाले म आफ्नै कोठामा बसिरहेँ । धेरै कार्यक्रममा भाग लिन सकिनँ । आमाले नातिनी बुहारीको मुख मात्रै हेर्नुभएन, दङ्ग पनि पर्नुभयो । ख्यालठट्टा पनि गर्नुभयो ।

अनि पचासीवर्षे रामचन्द्र भिनाजुको अनुहार आयो । उनी निकै गलिसकेका थिए र थला परेका थिए ।

अनि छयहत्तर वर्षका रमेश भिनाजुको अनुहार देखेँ, जो पाँच महिनादेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित थिए । उनी पनि निकै गलिसकेका थिए ।

त्यसपछि सतस‌ठ्ठी वर्ष मित्र र छिमेकी वैद्यको अनुहार देखेँ, जो तीन वर्षदेखि थला परेका थिए ।

अनि सम्झे क्यान्सरपीडित अरू आफन्त र मित्रहरूलाई । वैद्यका दाजु नन्दबहादुरलाई बीसी वर्षअघि जिब्रोको क्यान्सर भएर पटक-पटक अपरेशन भइसकेको थियो । पूर्व प्रहरी महानिरीक्षक अच्युत खरेलकी श्रीमती मीना केही वर्षदेखि पाठेघरको क्यान्सरले ग्रस्त थिइन् । ओम सिटौलाकी श्रीमती माया पनि केही वर्षदेखि मजस्तै मल्टिपल मायलोमाले पीडित थिइन् ।

आफू यसरी रोगग्रस्त भएपछि यी अनुहारहरू, यिनीहरूसँग भएका मेरा बसउठहरू र मैले जानेको उनीहरूका जीवनलीला मेरा एकान्तका साथी भए । म ऐनामा आफ्नो अनुहार हेर्दा उनीहरूको अनुहार देख्न थाले । मैले उनीहरूको स्वास्थ्यको बढी चासो राख्न थालेँ । मेरा लागि त्यो कुरा प्राथमिक भयो । सक्दा भेटेर र नसक्दा फोनबाट उनीहरूको हालखबर बुझ्नु मेरो चलन भयो । त्यो मेरो स्वानुभूति थियो । यस परिस्थितिमा मात्र मैले स्वानुभूति के हो भन्ने बुझेँ । छापामा छापेर, कार्ड पठाएर वा वक्तव्य दिएर गरेको सहानुभूतिमा स्वानुभूति हुँदैन ।

होसमा भएकाहरूको मप्रति उत्तिकै स्वानुभूति भयो । अझ बढी पनि भयो ।

रमेश भिनाजुले गह भिजाउँदै भने, “म त छयहत्तर वर्ष लागेँ । बरू तिम्रो जस्तो क्यान्सर मलाई भएको भए पनि त्यति पीर लाग्ने थिएन, जति तिमीलाई हुँदा लागेको छ । मेरो त यो संसारमा काम सकिइसक्यो । सबै छोराछोरी आफ्नो मेलोमा लागेका छन् । तिमीले समाजका लागि धेरै काम गरेका छौँ, अझ धेरै गर्ने उमेर छ । साठी वर्षमा त मान्छे जवान  हुन्छ । तिमी जवान मान्छेसरह काम गर्दै  थियौँ । के भयो यो ?”

बिचरा उनलाई के थाहा, त्यसो भन्दा उनी मेरोभन्दा कडा प्या‌ङ्क्रियाजको क्यान्सरबाट पीडित थिए, जुन कुरा थाहै नपाईकन केही महिनापछि बिते ।

(जगदीश घिमिरेको प्रतिसंस्मरण ‘अन्तर्मनको यात्रा’बाट प्रस्तुत । यो मदन पुरस्कार र उत्तमशान्ति पुरस्कार (२०६४) विजेता पुस्तक हो । पूरा पुस्तक वार्षिक ग्राहक बनी साहित्यपोस्टको एपमा पढ्न सक्नुहुन्छ ।)