गोरखपुरबाट भदौ १२ गते (अगस्त २८) बिहान साढे नौ बजे छुटेको रोडवेजको बस अपरान्ह साढे तीन बज्दा बनारसको कैन्ट स्टेसनमा पुगेर रोकियो । बाहिर हप्प गर्मी थियो । अलिक पर घस्रिरहेका रेलगाडीहरू, वल्तिर ठाउँ ठाउँबाट यहाँ आएका र ठाउँ ठाउँमा जान हिँडेका बसको ठेलमठेल भिड थियो । फुटपाथे व्यापारीहरूको चिच्याहट, बसहरूको प्वाँभुँ, अटो रिक्साहरूको टाँटाँटीँटीँ र केही रिक्साहरूको टिर्लिङटिर्लिङ आवाजको मिश्रित ध्वनिले शहर गुञ्जायमान थियो । अटोहरू ‘आइए आइए’ भन्दै मलाई तान्दै थिए ।

“म बिएचयु हिन्दी विभागमा पुर्‍याइदिन्छु, दुई सय दिए हुन्छ ।” एउटाले भन्यो ।

“म डेढ सयमा पुर्‍याइदिन्छु ।” अर्कोले भन्यो ।

“आउनु, सय दिनु ।” तेस्रोले भन्यो ।

म भने अटो चढेर तीस रुपियाँमा बिएचयु गेट पुगेँ । बजारमा हजार भनेको यही हो । आवश्यकता, छनोट र विवेक हाम्रो आफ्नो हुन्छ नै ।

मैले गेटमा पुगेपछि आफू आइपुगेको जानकारी गराएँ । मेरो आवाज सुन्नेबित्तिकै प्राध्यापक मित्र वशिष्ठ अनूपले भन्नुभयो, ‘तपाईं त्यहीँ गेटमै रहनुहोस् । तपाईंलाई स्वागत गर्न विवेक यादव आउँदै हुनुहुन्छ ।’

म विश्वविद्यालयको मूल प्रवेशद्वारभित्र पसेर छेउ लागेँ । थरी थरीका विद्यार्थी, अभिभावक, सर्वसाधारण र व्यवसायीहरू भित्र र बाहिर गरिरहेका थिए । विश्वविद्यालय पूरै चलायमान  थियो ।

मैले सन् १९७२ देखि १९७९ सम्म बिताएको र स्नातक तहसम्म अध्ययन गरेको भूमि हो, वाराणसी । मेरो बालिक उमेर र किशोरवय यहीँ बितेको हो । यहाँका पुराना टोल टोल र साँघुरा गल्लीमा म रमाउँथेँ । घाटका सिँढी, मठका सन्यासी, गल्लीका साँढे र हरेक पान पसलेले पनि मलाई चिन्दथे, मेरो बनारस बसाइमा । मैले पौडी खेल्न सिकेकै यहीँ गङ्गामा हो । हिउँदका दिनमा कडु तेल (तोरीको तेल) घसेर कैयौँपटक गङ्गा वारपार गरेको अहिल्यै हो जस्तो लाग्छ । टीकाराम भण्डारी, पीताम्बर तिवारी, केदारनाथ त्रिपाठी, धर्मराज भण्डारी, रविमोहन भण्डारी, थमेन्द्र गौतम, हरिहर ज्ञवाली, खुमलाल पौडेल, विष्णुप्रसाद पौडेल, पञ्चप्रसाद शर्मा, रामप्रसाद उदास (इम्फाल), दामोदर ढकाल, गिरिधरशरण शर्मा, जनक नेपाल, नुमकान्त चापागाईं, छविराम पन्थी, कृष्णप्रसाद लामिछाने, कृष्णप्रसाद सापकोटा, विष्णुप्रसाद सापकोटा त्यस बेला त्यहीँ विद्यार्थी थिए । अरू को को थिए ? सम्झनुपर्छ । छात्राहरू कोही थिएनन् । हरिहर ज्ञवाली र गिरिधरशरण शर्माले त मलाई हाईस्कुलको परीक्षाको तयारीमा सघाउनुभएको हो । तिनताका संस्कृतका विद्यार्थीले अङ्ग्रेजी लुकी लुकी पढ्नुपर्थ्यो । शोक न सुर्ताको जिन्दगी थियो त्यो । कहिले त दिनमा तीन सोसम्म सिनेमा हेरेको याद छ । रोटी कपडा और मकान, दुल्हन, दिवार, शोले, द बर्निङ ट्रेन आदि आदि । दाजु कृष्णप्रसाद लामिछानेका साथमा मैले जिन्दगीमा पहिलोपटक चलचित्र हेरेको थिएँ । उहाँले लगेर देखाउनुभएको । मनोरञ्जनको अर्को साधन थिएन । बनारसको आबादी र बजार यति सघन थिएन । सवारी साधन पातला थिए । साइकल भाडामा पाइन्थ्यो । आठ आनामा दिनभरका लागि साइकल लिएर शहर छान मारेको सम्झन्छु । परिश्रम गर्थेँ । लगन थियो । पढ्नकै लागि बनारस बसेको भए पनि परीक्षामा धेरै अङ्क ल्याउनुपर्छ भन्ने हुटहुटी भने थिएन । गीता पढ्न थालेको थिएँ । कर्मयोगबाट आकर्षित भएँ ।

विश्वेश्वरप्रसाद कोइरालालाई उपचार गर्न आउँदा यहीँ भण्डारी गली चैतन्य मठको छेउमा भेटेको थिएँ । उहाँ यत्तिको महान् साहित्यकार र राजनेता भएको ज्ञान थिएन । पुष्पलाल, मोदनाथ प्रश्रित बनारसमै भएको सुनेको थिएँ । भेट भएको थिएन । भेट्ने उत्कण्ठा पनि थिएन । भाडाको साइकलमा दुईचारपटक बनारस हिन्दु विश्वविद्यालयका कुना कुना घुमेको सम्झन्छु । अहिले देख्छु, मूल संरचना त्यही बेलाको छ ।

महामना पण्डित मदनमोहन मालवीयको प्रतिमाले मलाई भावुक बनायो । मलाई लाग्छ, उहाँको दूरदर्शिता र परिकल्पनाको साकार रूप हो, बनारस हिन्दु विश्वविद्यालय ।

“मैं नेपाल से हुँ । इस विश्वविद्यालय के बारे में कुछ बतायेंगे ?” मेरो अगाडिबाट हिँडिरहेका एक विद्यार्थीलाई मैले भनेँ । उनले एउटा पथप्रदर्शकले झैँ फटाफट भने ।

उनका अनुसार, यो भारतको एक प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय हो । यो भागीरथी गङ्गाको तटमा अवस्थित छ । सन् १९०४ देखि प्रयास थालिएको भए पनि यसको स्थापना सन् १९१६ जनवरी १४ वसन्त पञ्चमीमा भएको हो । यहाँ विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्बन्धित अतिथि सबैलाई आवास सुविधा उपलब्ध छ । यो एसियाकै ठूला आवासीय विश्वविद्यालयमा पर्छ । यसअन्तर्गत चिकित्साविज्ञान, कृषिविज्ञान, पर्यावरण एवं संपोष्य विकास, भारतीय प्रौद्योगिकी, प्रबन्धशास्त्र, विज्ञान आदि अध्ययन संस्थान छन्; आयुर्वेद, संस्कृतविद्या धर्मविज्ञान, सङ्गीत तथा मञ्चकला, दृश्यकला, कला, वाणिज्य, शिक्षा, विधि, सामाजिक विज्ञान आदि सङ्काय र १३५ भन्दा बढी विभाग छन् । नेपाल चेयरसमेत छ । कला सङ्ग्रहालय छ । कृषि फारम छ । अस्पताल छ । अलिक पर जानुभयो भने त्यहाँ बिडलाले बनाएको विश्वनाथ मन्दिर छ । यहाँ हरेक प्रकारका खेलकूदको सुविधा छ । … तपाईंलाई म के सेवा गरूँ ?

मैले उनलाई धन्यवाद भनेँ । उनको नाम भने सोधेनछु । आफूले पढेको पढिरहेको विश्वविद्यालयका बारेमा यत्तिको ज्ञान सबैमा हुनुपर्छ भन्ने मलाई लाग्छ । उनी हतारमा छु भनेर हिँडिहाले ।

मेरा अगाडि एउटा स्कुटर आएर उभियो । स्कुटर खडा गरेर एउटा शालीन व्यक्तिले मेरो पाउ छुँदै प्रणाम भन्यो । उहाँ नै विवेक यादव हुनुहुँदो रहेछ । विद्यावारिधिको शोधछात्र । ऋतुकालीन हिन्दी कवितामा विद्यावारिधिको अन्तिम चरणमा । म उहाँका साथमा फेकल्टी गेस्ट हाउसमा पुगेँ । मेरो बास कोठा नं. ११० मा हुनु रहेछ । मभन्दा पहिले पुग्नुभएको रहेछ, राजीव रञ्जन ।

राजीव रञ्जनले यहीँबाट एमए गर्नुभएको हो । बिहार प्रान्तको नालन्दा जिल्ला, मोहनपुरमा जन्मेका राजीव बहुप्रतिभाशाली हुनुहुन्छ । घर नालन्दा भन्नेबित्तिकै प्राचीन नालन्दा विश्वविद्यालयको सम्झना भयो । अहिले उहाँ चीनको चचियांग प्रान्तमा रहेको चचियांग विदेशी भाषा विश्वविद्यालयमा विदेशी भाषा विशेषज्ञका रूपमा प्राध्यापनरत हुनुहुन्छ । यहाँ उहाँ वैश्विक परिप्रेक्ष्यमा हिन्दी गजल विषयमा व्याख्यान दिन आउनुभएको रहेछ । मैले पनि एकपटक चीनको यात्रा गरेकाले म उहाँप्रति आकर्षित भएँ । १०३ नम्बरको कोठामा बसेका उहाँका साथी डा. विवेकमणि त्रिपाठीसँग पनि परिचय भयो, जो सोही विश्वविद्यालयमा सँगै प्राध्यापन गर्नुहुन्छ ।

अगस्त २९ तारिखको बिहान विश्वविद्यालय परिसरको भ्रमण गरेँ । यहाँ कलात्मक बडा बडा भवनहरू देखिन्छन् । चारैतिर बडा बडा रुख, ठाउँ ठाउँमा बगैँचा, खेल मैदान, खेल्दै गरेका खेलाडी, बिहानी भ्रमणमा निक्लेका घुमुवा, चराहरूको चिरबिरले वातावरण रमाइलो बनेको छ । यिनै रुखले गर्दा बाहिरको तापक्रमभन्दा विश्वविद्यालय परिसरको तापक्रम २ डिग्री सेल्सियस कम हुन्छ रे, गर्मीमा ।

समय पर्याप्त थियो । घुम्दै नरिया गेटबाहिर पुगेँ । चिया पसलमा पसेँ । चियाको पहिलो सुर्को तान्नेबित्तिकै छेउमै रहेका एक बुजुर्गले सोधे, “लगता है, आप नेपाल से हैं ?” मैले आफू नेपालबाट गजल सङ्गोष्ठीमा भाग लिन आएको बताएँ । मेरो शिरमा ढाका टोपी थियो । उनले आफ्नो लामो सेतो दारी मुसार्दै एक सेर सुनाए, जसमा गजलको महिमा झल्कन्थ्यो । मैले पूरै स्मरणमा राख्न सकिनँ । हो, बनारसका गल्ली गल्ली र चिया पसलमा समेत सेर र सायरी भन्ने गरिन्छ । सुन्ने गरिन्छ । मुस्लिम समुदाय त झन् गजल भनेपछि हुरुक्क हुन्छ । यहाँ गजलकारका मार्मिक सेरलाई ‘चुने हुए सेर’ भनेर छुट्टै सेरसङ्ग्रहका रूपमा प्रकाशन गर्ने प्रचलन पनि रहेको छ ।

दिवा खानापश्चात् दिनको ३ बजे सङ्गोष्ठीको समुद्घाटन सत्रको आरम्भ भयो । समुद्घाटन सत्र शुरु गर्दा झमझम वर्षा भयो । आयोजक खुशी भए । डा. सत्यप्रकाश पालले सत्र सञ्चालन गर्दै इन्द्र भगवान् प्रसन्न भएको बताउनुभयो । काशी हिन्दु विश्वविद्यालयका कुलपति प्रा. अजितकुमार चतुर्वेदीको अध्यक्षता, पूर्व केन्द्रीय मन्त्री महेन्द्रनाथ पाण्डेयको प्रमुख आतिथ्य, हिन्दी विभागका प्रमुख वशिष्ठ द्विवेदी अनूपको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा आजमगढ़ विश्वविद्यालयका कुलपति प्रा. सञ्जीव कुमार, दुष्यन्त कुमारका सुपुत्र आलोक कुमार त्यागी, रामअवध यादव आदिले गजलका विभिन्न पहलुउपर प्रकाश पार्दै मन्तव्य राख्नुभयो । जसले जे मन्तव्य राखे पनि केन्द्रमा गजल, दुष्यन्त कुमार, हिन्दी गजल र यसको उपादेयता रहेको थियो । नेपाली गजलको दुनियाँमा पनि दुष्यन्त कुमारको नाम बडो सम्मानका साथ लिइन्छ । यो कुरा त्यहाँ मैले सुनाएँ ।

मैले यहाँ के थाहा पाएँ भने हिन्दीमा अहिलेसम्ममा करीब तीन हजार गजलसङ्ग्रह प्रकाशित भएका छन् भने दुई सय जति शोधअनुसन्धान भएका छन् । मैले मनमनै तुलना गरेँ । धेरैपछि आरम्भ भएको नेपाली गजलका एक हजार जति गजलसङ्ग्रह छापिइसकेका छन् । प्रकाशनको अनुपातमा समीक्षा, समालोचना र शोधअनुसन्धान भने कम भएको छ । गायन गरेर व्यापक प्रचारप्रसार हुन भनेपछि परेको अनुभव गरेँ मैले ।

यहाँ पनि गजल बहरमै लेखिनुपर्छ र यसको विषय प्रेमप्रणय नै हुनुपर्छ भन्ने एउटा मत अझै पनि रहेछ । दुष्यन्त कुमार प्रेमको बन्धन चुँडालेर भएकाले गजलको मूल धार भने दुष्यन्त कुमारतिरै प्रवाहित रहेछ । बहर र प्रेम भनेर बुरुक्क उफ्रिनुको कुनै तुक देख्दिनँ म । गजल गेय, उत्कृष्ट र मन छुने भए पुग्यो ।

यहाँ आएपछि बोध भयो, गजल र हिन्दी गजल फरक रहेछ । भाषाको फरकमात्र होइन । मैले गुनेँ, हिन्दी गजलभन्दा नेपाली गजल फरक छ । केकति र कसरी फरक छ ? त्यो अब अध्ययनको विषय हुनुपर्दछ भन्ने मलाई लागेको छ ।

समुद्घाटन कार्यक्रमपश्चात् साँझमा गजल गायन कार्यक्रमको आयोजना गरियो । डा. आदित्यविक्रम सिंहद्वारा सञ्चालित सो कार्यक्रममा दिग्गज गजल गायक विशाल राव, डा. भूपेन्द्र कुमार, राघवेन्द्र र डा. दुर्गेशकुमार उपाध्यायले विभिन्न स्रष्टाद्वारा रचित हिन्दी र केही भोजपुरी गजल गायन गर्नुभयो । वाद्यवादनमा विभिन्न कलाकारको भूमिका रहेको थियो । राति अबेला (८:४५) सम्म चलेको गजल गायन सुन्न गजलकार, लेखक, समीक्षक, शोधार्थीहरू सभागारमा खचाखच भरिएका थिए । रात छिप्पिएको कसैले चालै पाएनन् । यति तन्मयका साथ गजल कार्यक्रममा यत्रो समूह गजधम्म बसेको मैले पहिलोचोटि अनुभव गरेँ ।

दोस्रो दिन (अगस्त ३०) डा. प्रभातकुमार मिश्रको सञ्चालन तथा प्रा. कृष्णमोहनको अध्यक्षतामा सम्पन्न पहिलो प्राज्ञिक सत्रमा गजलको स्वरूप, संरचना, परम्परा र विकास विषयमा प्रा. नसीम अहमद, डा. भावना, डा. जसप्रीत कौर ‘फलक’ (पन्जाब), डा. लक्ष्मणप्रसाद गुप्त, डा. कासिम अन्सारीले प्रकाश पार्नुभयो । अन्तमा डा. विवेक सिंहले धन्यवाद ज्ञापन गर्नुभयो ।

डा. प्रीति त्रिपाठीको सञ्चालन तथा प्रा. सतीश पाडेयको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा हिन्दी गजलको सामाजिक परिप्रेक्ष्य, प्रेम र परिवार विषयमा डा. श्वेता दीप्ति (नेपाल), डा. टीकामणि पटवारी, प्रा. जगदम्बाप्रसाद दुबे, धर्मेन्द्र गुप्त ‘साहिल’, डा. आदित्यविक्रम सिंह (कलकत्ता), डा. मुन्ना तिवारीले प्रकाश पार्नुभयो भने अन्तमा डा. मानसी रस्तोगीले धन्यवाद ज्ञापन गर्नुभयो ।

महेन्द्रप्रसाद कुशवाहाको सञ्चालन तथा सुनीलकुमार शर्माको अध्यक्षतामा सम्पन्न तेस्रो सत्रमा वैश्विक चुनौतीहरू र हिन्दी गजल विषयमा  डा. रामसुधार सिंह, डा. रेखा राजवंशी (अस्ट्रेलिया), डा. ऋतु शर्मा ननन्न पाण्डेय (निदरल्यान्ड), डा. राजीव रञ्जन (चीन) ले प्रकाश पार्नुभयो भने अन्तमा डा. लहरीराम मीणाले धन्यवाद ज्ञापन गर्नुभयो ।

डा. रविशङ्कर सोनकरको सञ्चालन तथा प्रा. राजेश्वर आचार्यको अध्यक्षतामा सम्पन्न चौथो सत्र हिन्दी गजल : धर्म, दर्शन, इतिहास र सङ्गीत विषयमा केन्द्रित थियो । यस सत्रमा डा. ज्ञानेश पाण्डेय, डा. विवेकमणि त्रिपाठी (चीन), डा. अम्बरीश चञ्चल, डा. भूपेन्द्र कुमार, डा. सुशान्त शर्माले प्रकाश पार्नुभयो भने अन्तमा डा. शशिकलाले धन्यवाद ज्ञापन गर्नुभयो ।

यी चार प्राज्ञिक सत्र सकिँदा सहभागी थकित र गलित भइसकेका थिए । तर अभिनव अरुणको आबाज मञ्चबाट सुनिएपछि सबै थकाइ सुइँकुच्चा ठोकेर कता भाग्यो थाहै भएन । आज अब गजल गायन होइन, गजलका स्रष्टाबाट गजल वाचन शुरु भयो । अल इन्डिया रेडियोमा धेरै सुनिएको स्वर हो, अभिनव अरुण । प्रख्यात कार्यक्रम सञ्चालक । झन्डै दुई घन्टा चलेको सो कार्यक्रममा सुनीलकुमार शर्मा, हीरालाल मिलन, हरेराम समीप, कमलेश भट्ट ‘कमल’, अनिरुद्ध शर्मा, डा. भावना, प्रा. वशिष्ठ अनूप, जसप्रीत कौर, सुशान्त शर्मा आदिले गजल वाचन गर्नुभयो । हरेक मार्मिक सेरको प्रस्तुतिमा सभाले वाह वाह गरिरह्यो ।

तेस्रो दिन (अगस्त ३१) दुई प्रज्ञिक सत्र भए । डा. किसनसिंह पटेलले सञ्चालन गर्नुभएको पाँचौँ सत्रको विषय गजलको विस्तार र प्रवृत्तिहरू रहेको थियो । वरिष्ठ गजलकार हरेराम समीपको अध्यक्षतामा सम्पन्न यस सत्रमा अनिरुद्ध सिन्हा, प्रा. वन्दना मिश्र, प्रा. कपिल लामिछाने (नेपाल), डा. अखिल मिश्र, डा. अभिषेक शुक्ल, सुश्री शाम्यता संकर (मरिसस) ले गजलको विस्तार र प्रवृत्तिउपर प्रकाश पार्नुभयो भने अन्तमा डा. प्रियङ्का सोनकरले धन्यवाद ज्ञापन गर्नुभयो ।

डा. सत्यप्रकाश पालको सञ्चालन तथा कमलेश भट्ट ‘कमल’को अध्यक्षतामा सम्पन्न छैठौँ सत्रको विषय समकालीन हिन्दी गजल : परम्परा, मौलिकता तथा चुनौती र प्रवृत्तिहरू रहेको थियो । यस सत्रमा प्रा. अनिलकुमार राय, प्रा. श्रीप्रकाश शुक्ल,  प्रा. शरदिन्दु त्रिपाठी, अभिनव अरुण, प्रा. परितोष त्रिपाठी, डा. सुनील कुमार ‘मानस’ले निर्धारित विषयमा व्याख्यान दिनुभयो भने अन्तमा डा. विन्ध्याचल यादवले धन्यवाद ज्ञापन गर्नुभयो ।

मैले पाँचौँ सत्रमा ‘नेपाली गजल का गुञ्जन’ शीर्षकमा नेपाली गजलको आरम्भदेखि हालसम्मको तेरिज प्रस्तुत गर्दै यसका समस्या र चुनौतीउपर प्रकाश पारेँ । सो क्रममा मोतीराम भट्टदेखि रुद्र ज्ञवालीसम्मका मलाई लागेका नेपाली केही गजलका नमूना वाचन गरी सुनाएँ । केही समस्या उजागर गरेँ । नेपाली गजलको आदिभूमि बनारस हो भनेँ । मोतीराम भट्टले यहीँ नेपाली गजल लेखनको आरम्भ गरेका हुन् भनेँ । बनारसबासी कमलेश भट्ट ‘कमल’ जो आफैँ हिन्दीका एक उम्दा गजलकार हुनुहुन्छ, उहाँका अनुहारमा खुशी झन् खुशी भेटेँ ।

मैले आफ्नो व्याख्यान मोतीराम भट्टका सेरबाट शुरु गरेँ, दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो | तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो | पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा |घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो । अनि आरम्भिक अवस्थाको नेपाली गजलको नमूना उनकै यी सानै उमेरदेखि मन् हर्न लागे गजल सुनाएँ । यसको अर्थ र मर्म बुझ्न सभालाई कठिन भएन । मैले भनेँ पनि, हामी केही हिन्दी बुझ्छौँ भने तपाईंहरूले अलि अलि नेपाली नबुझ्ने कुरै भएन । यस्तै अरू केही गजलकारका गजलका एक एक सेर पनि सुनाएँ । जस्तै:

ज्ञानुवाकर पौडेलको मिल्दैन विचार आफ्नो त घरमा/पुरानै छ संस्कार आफ्नो त घरमा, घनश्याम न्यौपाने परिश्रमीको जब माथि चढ्न थाल्छन् जान्नेहरू/तल हाजिर हुन्छन् खुट्टा तान्नेहरू, बूँद रानाको प्यूँदै नप्यूँने मान्छे पिएँ अलिकति/उनको वचन राख्न लिएँ अलिकति, श्रेष्ठ प्रिया पत्थरको त्यो रूप त्यो यौवन, उफ् कायल भएँ म/एकै नजर के हेरिथ्यौ, घायल भएँ म, सरुभक्तको फेरि यौटा महाभारत चले जस्तो लाग्छ/समयले आफैँलाई छले जस्तो लाग्छ, रवि प्राञ्जलको यो के गीत गायौ सबेरै सबेरै ?/घरैसम्म धायौ ? सबेरै सबेरै, घनेन्द्र ओझाको थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ/दिई ताप छाती जलाएर भाग्यौ, कृष्णहरि बरालको मान्छेहरूको आफ्नै चाहना खराब छ/भन्न त भन्दछन् सब जमाना खराब छ, रुद्र ज्ञवालीको सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ/छुटेपछि यो साथ अन्तिम बन्न सक्छ र मधु पोखरेलको म झस्केर जागेँ, तिमी आइनौ/नयन सल्बलाए तिमी आइनौ

निरन्तर साधना र समर्पणका दृष्टिले यताका ललिजन रावल, ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, धर्मोगत शर्मा तुफान, रवि प्राञ्जल, बूँद राना, घनश्याम परिश्रमी, श्रेष्ठ प्रिया ‘पत्थर’, विजय सुब्बा, गोपाल अश्क, टीकाराम उदासी, नारायणप्रसाद शर्मा गैरे ‘सुमित्र’, देवी पन्थी, गोविन्दराज विनोदी, प्रकट पंगेनी ‘शिव’, कृष्णहरि बराल, सरुभक्त, प्रभाती किरण, घनेन्द्र ओझा, अमर त्यागी, कृष्णजङ्ग राणा आदि स्रष्टाहरूलाई नेपाली गजलका अगुवाका रूपमा लिन सकिन्छ भनेर पनि बताएँ । पुगेन भन्ने मलाई लागिरहेको छ । नपुगेको समय हो । नछुट्नुपर्ने छुटेको समयले हो ।

१४१ वर्षको नेपाली गजलको अवस्थालाई १५/२० मिनेटमा कसरी पो भन्न सकिन्छ र ? हो मैले यसको झलकसम्म प्रस्तुत गरेँ । नेपाली गजल बनारसबाट शुरु भएको हो भन्दै यसको विकास र विस्तारलाई सङ्क्षेपमा बताएँ । बनारसबाट शुरु भएको नेपाली गजलको इतिवृत्त बनारसमै आयोजित अन्तर्राष्ट्रिय मञ्चमा सुनाएँ । धेरैलाई नेपालीमा पनि गजल छ र यो उचाइमा छ भन्ने अनुमानै रहेनछ । मैले केही अनुभूति र बोध गराएँ । हामी जति हिन्दी साहित्य पढ्छौँ, उनीहरू त्यति नेपाली साहित्य पढ्दा रहेनछन् । यो बोध भयो मलाई पनि ।

धेरै भन्न खोज्दा खोज्दै पनि अझ धेरै छुटेको महसुस गरेको छु । वशिष्ठ अनूपको सेर सुनेपछि भने चित्त बुझ्यो ।–

अगर कहना बहुत हो तो बहुत-सा छूट जाता है,

मैं थोड़ा बोलता हूँ और ज्यादा छूट जाता है ।

मेरो व्याख्यानबाट वरिष्ठ गजलकार हरेराम समीप, वशिष्ठ अनूप, कमलेश भट्ट ‘कमल’, डा. भूपेन्द्र कुमार, अनिरुद्ध सिन्हा, आलोक कुमार त्यागी आदि महानुभावले बडो प्रसन्नता प्रकट गर्नुभयो । समापन सत्रमा वशिष्ठ अनूपलगायतले मन्तव्यका क्रममा नेपाली गजल हिन्दी गजलको समानान्तर विकसित भएको बोध भएको सुनाउनुभयो । हाम्रा लागि यो कम उपलब्धि होइन भन्ठान्छु ।

मलाई लाग्छ, सर्वविद्याको राजधानी बनारस एउटा गजलधानी नै हो ।

म र डा. श्वेता दीप्ति एउटै विश्वविद्यालय (त्रिवि) का शिक्षक भएर पनि प्रत्यक्ष भेट यहीँ आएर भयो । आचार्य टीकाराम शर्मासँग सामाजिक सञ्जाल र फोनबाट परिचय र वार्तालाप भए पनि हामी यहीँ साक्षात्कार भयौँ । हामीलाई बनारसले नै प्रत्यक्ष जोडिदियो । हाल नेपाल चेयरमा कार्यरत डा. मुकुन्द शर्मासँग लोकवार्ताका विषयमा यहीँ घन्टौँ विचारविमर्श भयो ।

सभागारमा खचाखच गजलप्रेमी मेरो मनमुटुमा बसेका छन्, तर म सबैका नाम पनि यहाँ लिन सक्दिनँ । वशिष्ठ अनूपको एक सेरबाट अहिले यत्ति भन्छु:

मैं अक्सर नाम, मोबाइल, पता सब भूल जाता हूँ

खयालों में मगर लोगों को चेहरा याद आता है ।