विषयप्रवेश
प्युठान जिल्लाको ऐरावती गापा १, दाङवाङमा २०३३ माघ ९ गते आमा मनकला तथा बुवा पीताम्बर आचार्यका ठाइँला सुपुत्र तथा सातौँ सन्तानका रूपमा जन्मेका विजयराज आचार्यको बसाइ हाल काठमाडौँ जिल्लाको कीर्तिपुर नपा ६, टौदहमा रहेको छ । पत्रकारिता विषयमा स्नातकोत्तर गरेका आचार्य लामो समयदेखि बालसाहित्यको लेखन र प्रशिक्षणमा संलग्न देखिन्छन् ।
विशेषतः बालसाहित्यमा लागेका आचार्यले लघुकथाको सिर्जनामा पनि रुचि देखाएका छन् । उनका लघुकथाहरू राँगालाई जुत्ता शीर्षकमा २०७६ मा प्रकाशित भएका छन् । यो उनको पहिलो लघुकथासङ्ग्रह पनि हो । यसमा ३३ लघुकथा रहेका छन् । उनका लघुकथामा सामाजिक, राजनीतिक, प्रशासनिक तथा सामाजिक सञ्जालमा देखिने विकृति र विसङ्गतिको कुरूप यथार्थको अभिव्यक्ति पाइन्छ । राजनीतिक विकृति र विसङ्गतिको त्यस्तै कुरूप यथार्थको चित्रण गरिएको एउटा लघुकथा हो, ‘इन्काउन्टर’ ।
आयाम
विजयराज आचार्यद्वारा रचना गरिएको ‘इन्काउन्टर’ शीर्षकको लघुकथा छोटो आयामको लघुतम आख्यान हो । यो दस अनुच्छेद र करिब २५० शब्दमा रचना गरिएको छ । शब्दसङ्ख्या ढाईतीन सयलाई चल्तीको आधार मान्दा यो औसत र उपयुक्त आयामको देखिन्छ । शब्द आयाम मापनको एक बाह्य आधार मात्र हो भने खास आधार चाहिँ जीवनजगत्को कुनै एक क्षणविशेषको प्रस्तुति हो । यस दृष्टिले प्रस्तुत लघुकथामा जनयुद्ध र त्यसपछिको गरी दुई क्षण वा दुई प्रमुख घटनालाई कथ्यवस्तु बनाइएको छ । यहाँ जीवनका दस वर्ष अघि र पछिका दुई क्षण छन् । त्यसैले घटनाका दृष्टिले यहाँ दुई लघुकथाको बीज रहेको प्रस्ट हुन्छ ।
कथानक
प्रस्तुत ‘इन्काउन्टर’ शीर्षकको लघुकथाको कथानकको स्रोत द्वन्द्वकाल र त्यसपछिको राजनीति हो । यहाँ जनयुद्धमा सँगसँगै काम काम गरेका दुई सहयात्री पनि सत्तास्वार्थले गर्दा कसरी एकर्काका ज्यानीदुस्मन बन्न पुग्छन् भनेर देखाइएको छ । यस कथ्यलाई यहाँ श्यामबहादुर र नवीनका माध्यमबाट देखाइएको छ । जनयुद्धका समयमा सरकारी सेनाले स्थायी समिति सदस्य श्यामबहादुरको सेल्टर थाहा पाई गिरफ्तार गरी इन्काउन्टर गर्ने योजना बनाएको चाल पाएर जिल्ला इन्चार्ज नवीनले आफू मरे पनि आफ्नो नेतृत्व श्यामबहादुरलाई बचाउनुपर्छ भन्दै त्यही समयमा पल्लो गाउँमा बम विस्फोट गराएर सेनाको ध्यान भड्काएको छ । यसले गर्दा श्यामबहादुरको ज्यान बचेको छ । यो थाहा पाएर श्यामबहादुर अनुगृहीत पनि भएको छ । यो एउटा घटना हो ।
यहाँ दस वर्षपछिको अर्को घटना पनि छ । श्यामबहादुर जनयुद्ध बिसाएर सत्तामा पुग्यो भने नवीनले जनयुद्धलाई निरन्तरता दियो । दुवैमा वैचारिक मतभेद भयो । नवीनका कार्य श्यामबहादुरको सत्ताका लागि असहज भयो । एक दिन श्यामबहादुरले जनयुद्धलाई निरन्तरता दिने नवीनलाई प्रहरीसँगको इन्काउन्टरमा बीभत्स तरिकाले मार्न लगाई आफू हेलिकप्टर चढेर हेर्न गयो । यो दोस्रो मुख्य घटना हो । यिनै घटनाबाट प्रस्तुत लघुकथाको कथानकको निर्माण भएको छ । घटनाहरू एकपछि अर्को गर्दै क्रमिक रूपमा शृङ्खलित भएर आएका छन् । पहिलेको सहयात्री नवीनको हत्यासँगै कथानकको समापन भएको छ । यसरी हेर्दा यो कथानक सरल र रैखिक देखिन्छ ।
पात्र र चरित्र
प्रस्तुत लघुकथामा श्यामबहादुर र नवीन गरी मुख्य दुई पात्र रहेका छन् । सेना सामूहिक नाम हो । यहाँ सेनालाई मञ्चमा उपस्थित गराइएको पनि छैन । सेनाको आभास र त्रास मात्र देखाइएको छ । पहिले श्यामबहादुर र नवीन दुवै जनयुद्धमा सँगसँगै काम गर्थे । एकर्काका सहयोगी र रक्षक थिए । नवीन जिल्ला इन्चार्ज हो । उसले श्यामबहादुरको ज्यान जोगाएको छ । यसले जनयुद्धका योद्धाहरू कसरी दुस्मनसित लड्छन् र बच्छन् भन्ने देखाउँछ । यसबाट नवीनको कर्तव्यपरायण चरित्र उद्घाटित भएको छ । ऊ परिस्थितिलाई बुझ्ने एक कर्मठ व्यक्ति हो भन्ने बुझिन्छ । ऊ नेतृत्वको सुरक्षाप्रति सचेत छ । ऊ जनयुद्धप्रति इमानदार छ र दुस्मनबाट त्यत्तिकै चनाखो पनि देखिन्छ । यति भईकन पनि जसलाई उसले बचायो उसैबाट उसको निर्मम हत्या भएको छ ।
अर्को पात्र श्यामबहादुर हो । ऊ पार्टीमा स्थायी समिति सदस्य हो । ऊ सेनाले उसको सेल्टर थाहा पाई गिरफ्तार गरी इन्काउन्टर गर्ने योजना बनाएको चाल पाउन सक्दैन । उसलाई नवीनले बचाएको छ । जनयुद्ध बिसाएर सत्तामा पुगेकाले उसले जनयुद्धलाई धोका दिएको छ । ऊ स्वार्थी देखिन्छ । हिजो आफ्नो ज्यान जोगाइदिने जनयुद्धको इमानदार सहयात्री नवीनलाई उसले प्रहरीसँगको इन्काउन्टर गराएर बीभत्स तरिकाले मार्न लगाएको छ । यो उसको क्रूरताको पराकाष्ठा हो । कतिसम्म भने आफू हेलिकप्टर चढेर हेर्न गएको छ र लास देखेर मुस्कुराएको छ । यसले ऊ एक खलपात्र हो भन्ने सिद्ध गर्दछ ।
उद्देश्य
प्रस्तुत लघुकथाको उद्देश्य जनयुद्धमा सँगसँगै काम गरेका दुई सहयात्री पनि सत्तास्वार्थले गर्दा कसरी एकर्काका ज्यानीदुस्मन बन्न पुग्छन् भनेर देखाउनु रहेको छ । खासगरी सत्तामा हुनेले सत्तास्वार्थले गर्दा आफ्नो ज्यान जोगाइदिने हिजोको सहयात्रीको पनि बीभत्स हत्या गराएको छ । यस लघुकथामा द्वन्द्वकाल र त्यसपछिको राजनीतिक यथार्थलाई छर्लङ्ग पारिएको छ । सत्तामा पुग्ने र जनयुद्धमा डटिरहनेका बीचमा द्वन्द्व चल्दै आएको छ । सत्तामा हुने र जनयुद्धमा हुनेका बीचमा सङ्घर्ष हुनु सामान्य नै हो । इन्काउन्टर गराई हत्या गर्ने कुरा भने सत्ताधारीको क्रूरताको पराकाष्ठाको परिचायक हो ।
परिवेश
प्रस्तुत लघुकथा जनयुद्ध र त्यसपछिको परिवेशमा उभिएको छ । यस दृष्टिले यहाँ दुई भिन्न परिवेश खडा गरिएको छ । श्यामबहादुर र नवीन जनयुद्धमा छँदा उनीहरूको ज्यान खतरामा रहेको, कुनै पनि समय सेनाबाट इन्काउन्टर हुनसक्ने अवस्था रहेको देखिन्छ । सेल्टर खोजेर बस्नुपर्ने र त्यो पनि सेनाले पत्ता लगाउने त्रास रहिरहने अवस्था देखिन्छ । अर्कातिर जनयुद्धलाई त्यत्तिकै छाडेर सत्तामा पुगेपछि श्यामबहादुर त सुरक्षित भएको छ भने सत्ताबाट नवीन झन् असुरक्षित भएको छ । लघुकथाको कथ्य वा उद्देश्यलाई प्रकटीकरण गर्ने आधारभूमि प्रदान गर्नमा प्रस्तुत परिवेश अनुकूल देखिन्छ । यहाँ दस वर्ष अघि र दस वर्ष पछिको घटनालाई जोडिएको छ । यसबाहेक यहाँ स्थान र समयसम्बन्धी परिवेशको चित्रण पाइँदैन पनि ।
भाषाशैली
बाह्य दृष्टिविन्दुमा भएको प्रस्तुत लघुकथा सरल, सहजबोध्य मानक नेपाली भाषामा रचिएको छ । यहाँ छोटाछोटा अनुच्छेद तथा छोटाछोटा सरल वाक्यहरू एकपछि अर्को गरी आएका छन् । एक ठाउँमा बाहेक संवादको प्रयोग गरिएको छैन । यहाँ जनयुद्ध र राजनीतिमा बढी प्रचलित जनयुद्ध, इन्काउन्टर, सेल्टर, बम, विस्फोट, सत्ता, मर्ने, मार्ने, बचाउने, इन्चार्ज, स्थायी समिति, क्रान्ति, सिद्धान्त, मोर्चा, शासक, विद्रोही जस्ता शब्दको प्रयोग भएको छ । यहाँ श्यामबहादुर र नवीन जस्ता पात्रका क्रियाकलाप र चरित्रलाई वर्णन गरिएकाले यस लघुकथाको मुख्य शैली वर्णनात्मक छ ।
निष्कर्ष
विजयराज आचार्य लघुकथाको सिर्जनामा एक्कासि देखा परेका स्रष्टा हुन् । एक्कासि यस अर्थमा कि पत्रपत्रिका तथा सामाजिक सञ्जालमा नदेखिई एकै चोटि राँगालाई जुत्ता शीर्षकमा लघुकथाहरू प्रकाशित भएका छन् । उनका यी लघुकथा सामाजिक, राजनीतिक, प्रशासनिक तथा सामाजिक सञ्जालमा देखिएका विकृति र विसङ्गतिको चित्रण गर्नमा केन्द्रित छन् ।
‘इन्काउन्टर’ राजनीतिक विसङ्गतिको चित्रण गरिएको त्यस्तै एउटा लघुकथा हो । यसमा हिजोको आफ्नै सहयात्रीलाई पनि इन्काउन्टरको निहुँ बनाएर हत्या गर्ने सत्ताधारी राजनीतिक चरित्रको भन्डाफोर गरिएको छ । त्यसैले यो लघुकथा राजनीतिक जीवनको कुरूप यथार्थलाई प्रकट गर्नमा सफल देखिन्छ । यसले माओवादी या कुनै राजनीतिक दलको नाम नलिई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दस वर्ष जनयुद्ध गरेको तथा जनयुद्ध र जनआन्दोलनका बलमा गणतन्त्र स्थापना भएपछि त्यसको एउटा धार सत्तामा गएको र अर्को धार जनयुद्धमै रहिरहेको राजनीतिक यथार्थतर्फ सङ्केत गरेको छ । यस्तो मार्मिक जीवन्त यथार्थलाई प्रस्तुत गर्ने यसको भाषाशैली पनि त्यत्तिकै सरल र सहज छ ।
सरल कथानक र थोरै पात्रको प्रयोग गरी राजनीतिक जीवनको झलक उतार्न सक्नु यस लघुकथाको उल्लेख्य उपलब्धि हो । दस वर्षअघि या पछिको कुनै एउटा मात्र घटनालाई लिएर लेखिएको भए यो बेजोडको लघुकथा बन्ने थियो । यहाँ चुक भएको छ । जे होस्, सत्ताधारी राजनीतिक चरित्र अत्यन्त क्रूर र निर्दयी हुन्छ भनेर कुरूप यथार्थलाई प्रस्ट पार्न यो लघुकथा सफल भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।