तरङ्ग साहित्य सङ्गमकाे आयाेजनामा आज पाल्पामा भव्य समारोहका बिच साहित्यकार रामप्रसाद अर्यालकाे ‘घुस्सा’ हास्यव्यङ्ग निबन्धसङ्ग्रह र प्रा. डा. कपिल लामिछानेको ‘राराकाे डिलमा’ नियात्रासङ्ग्रहकाे विमाेचन भयो ।
कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । राष्ट्रगानसँगै कार्यक्रमकाे आरम्भ गरिएको हाे । यसपछि प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे समुद्घाटन गरियाे । प्रमुख अतिथि तथा अन्य अतिथिद्वारा क्रमशः ‘घुस्सा’ र ‘राराकाे डिलमा’ कृतिको लाेकार्पण गर्ने काम भयो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फाेटाेग्राफी र साहित्यमा फरक रहेको सन्दर्भ उल्लेख गर्नुभयो । स्रष्टाले समाजको चित्रण मात्र नगरीकन पुनर्सिजना पनि गर्छ भन्ने मान्यता उहाँको छ । असतबाट सत्यतिरकाे अनवरत यात्रा नै मानव सभ्यता हाे । यस क्रममा स्रष्टाहरूले सकारात्मक हस्तक्षेप गर्दै आएको सकारात्मक सन्दर्भ पनि उहाँकोले उल्लेख गर्नुभयो । उद्देश्यमूलक ढंगले सिर्जनामा लाग्ने स्रष्टाहरू कपिल लामिछाने र रामप्रसाद अर्याल रहेको यथार्थलाई पनि उल्लेख गर्नुभयो ।
”कपिल लामिछानेले नियात्राका माध्यमबाट पाठकलाई सँगै हिँडाउने काम गर्नुभएको छ । हामी घुमिरहेका हुन्छाैँ तर लेख्ने सामर्थ्य सबैमा हुँदाेरहेनछ” उहाँले भन्नुभयो ।
व्यङ्ग्यकार रामप्रसाद अर्यालका सम्बन्धमा उहाँको टिप्पणी थियो- ”रामप्रसाद अर्याल व्यङ्ग्य लेखनमा निर्मम नै हुनुहुन्छ । उहाँका निबन्धमा सिस्नाेपानी लगाउनुपर्ने प्रवृत्तिमाथि सटीक व्यङ्ग्य गरिएको छ ।” सामाजिक मूल्य स्थापनाका लागि स्रष्टाहरूले यस्तै किसिमले खबरदारी गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । इतिहासकाे सन्दर्भ उल्लेख गरी साहित्यकारले सधैँ सत्तालाई खबरदारी गर्दै आएको कुरा उहाँले व्यक्त गर्नुभयो । वर्तमानको समयका सिर्जनामा सन्तुलन खस्किएको हाे कि भन्ने आशंका पनि उहाँको थियोे । धेरै निराशा मात्रै नदेखाऔँ भन्दै सकारात्मक सन्देश दिने सिर्जना आजको आवश्यकता रहेको कुरामा उहाँले जाेड दिनुभयो ।
”साहित्यकारले सियोले जस्तै सिउने काम गर्नुपर्छ कैँचीले झैँ काट्ने हाेइन” उहाँको निष्कर्ष थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा ‘राराकाे डिलमा’ कृतिका कृतिकार प्रा.डा. कपिल लामिछानेले नियात्राकाे प्रवृत्तिलाई झल्काउनुका साथै राराकाे डिलमा कृतिको रचनागर्भका बारेमा उल्लेख गर्नुभयो । ”जीवन नै यात्रामय छ, हाम्रा सबै गतिविधि यात्रामय छन्, तिनै कुरालाई निबन्धकाे ढाँचामा प्रस्तुत गरिएको हाे” उहाँको कथन थियो ।
कृतिकार रामप्रसाद अर्यालले कृति लेखनकाे सन्दर्भ उल्लेख गरी सम्पूर्ण व्यक्ति र संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । ”यस सङ्ग्रहभित्र समाजमा भित्रिएका विकृतिको सुधारका लागि लेखिएका रचनाहरू रहेका छन् । व्यङ्ग्य मेराे रुचिकाे क्षेत्र भएकाले यसैमा कलम चलाएको हुँ” उहाँले उल्लेख गर्नुभयो ।
डा. टंक पन्थद्वारा रामप्रसाद अर्यालकाे ‘घुस्सा’ निबन्धसङ्ग्रहमाथि टिप्पणी गर्ने काम भयो । अर्यालले निबन्धका माध्यमबाट समाजका विकृतिमाथि व्यङ्ग्यकाे झटाराे हान्नुका साथै सुधार र परिष्कारकाे आग्रह राखेको कुरा उल्लेख गरियो । सबै नीतिकाे मूलनीति राजनीति नै प्रदूषित हुनाले राज्यका सबै क्षेत्रलाई असर पारेकाे निष्कर्षसहित त्यस्ता प्रवृत्तिलाई घुस्सा हान्ने काम भएकोले निबन्धकाे शीर्षक सार्थक रहेको कुरा प्रकाश पारियो । भाषिक अनुप्रास र उखान टुक्का र लाेकाेक्तिकाे मनग्गे प्रयाेगले कृतिलाई राेचक र घाेचक बनाएको कुरा उल्लेख गरिएको थियोे ।
प्रा. डा. कपिल लामिछानेको ‘राराकाे डिलमा’ कृतिमाथि टिप्पणी गर्ने काम साहित्यकार रुद्र ज्ञवालीले गर्नुभयो । उहाँले नियात्राले समेटेको विषय र अनुभूति पक्षलाई प्रकाश पार्नुभयाे । कपिल लामिछानेले आफूले भ्रमण गरेका ठाउँहरूकाे चित्रात्मक झलक प्रस्तुत गर्नुका साथै साैन्दर्यपूर्ण कलात्मक प्रस्तुतिद्वारा अभिव्यक्तिलाई सजाउन सफल रहेको कुरा उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा ता.न. पा. ९ का वडाध्यक्ष राजेशकुमार अर्याल, वडा नं ८ का वडाध्यक्ष साेमनाथ अर्याल, धवल पुस्तकालयका अध्यक्ष युवराज पाैड्याल, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, वरिष्ठ पत्रकार मेघराज शर्मा हुनुहुन्थ्यो । उहाँहरूले कृतिकार प्रा. डा. कपिल लामिछाने र रामप्रसाद अर्याललाई बधाई ज्ञापन गरी उत्तराेत्तर साधनाका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्ने काम तरङ्ग साहित्य सङ्गमका उपाध्यक्ष नारायण अधिकारीले गर्नुभयो । कार्यक्रमकाे सञ्चालन सङ्गमका सहसचिव प्रेमराज खरालले गर्नुभएको हाे ।
सङ्गमका अध्यक्ष साहित्यकार राधाकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।