वि.सं. २०४९ साल, म गोदावरी विद्या मन्दिरमा कक्षा ९ मा भर्ना भएँ, जुन त्यसै वर्षमात्र इटहरीमा स्थापना भएको थियो । नयाँ स्कुल, नयाँ अनुहारहरू अनि नयाँ वातावरण । त्यो उमेरमा स्कुल भनेको केवल अध्ययन गर्ने थलो होइन रहेछ, हाम्रा लागि त्यो एउटा नयाँ संसार थियो । पुराना साथीहरूको चिरपरिचित संसारबाट फरक संसारमा आफूलाई धकेले जस्तो थियो । नयाँ ठाउँमा आफूलाई कसरी मिलाउने, कसरी घुलमिल हुने ? जस्ता अनेकौँ प्रश्न ममा उब्जिरहेका थिए । अझ छात्रवास पनि नयाँ थियो, स्कुलभन्दा थोरै टाढा । डरले काँध हल्लाउँथ्यो, तर उत्साहले फेरि हात समाएर अगाडि बढाउँथ्यो ।

त्यही बीच, पहिलोपटक देखें एक सरल, शालीन, अनुशासित शिक्षक । जहिले पनि उहाँको शिरमा ढाकिएको टोपी हुन्थ्यो । शान्त आँखा, दृढ स्वरमा बोल्ने व्यक्तित्व हुनुहुन्थ्यो मेरा गुरु श्री बोधराज नेपाल । उहाँले ऐच्छिक गणित र विज्ञान पढाउनुहुन्थ्यो । ऐच्छिक गणितलाई धेरैले अंग्रेजी नाम दिन्थे, अप्सलन म्याथ । यसको नामले नै धेरैको सातोपुत्लो जान्थ्यो । यसका कठिन सूत्र र विज्ञानका सूक्ष्म कुराहरू … । तर उहाँको कक्षामा पुग्दा यी सबै कुराको डर होइन, रोचक चुनौती झैँ लाग्थ्यो । उहाँको पढाउने शैलीमा खास ऊर्जा थियो – त्यो शैलीमा कुनै हतार थिएन, कुनै जबरजस्ती हुन्थेन । एउटा–एउटा सूत्रलाई जीवन्त बनाउँदै जानुहुन्थ्यो, जस्तो कि त्यो केवल संख्याको खेल नभएर जीवनको आधारभूत सत्य हो ।

शिक्षक र विद्यार्थीको सम्बन्ध केवल पढाउने–पढ्नेमा सीमित रहेन । उहाँको अनुशासन, समयपालन, र सरल जीवनशैलीले बालक उमेरमै मेरो मनमा गहिरो छाप छोड्यो । उहाँको टोपीले ढाकेको शिर, उज्यालो अनुहार, बोर्डतिर फर्केर सूत्र लेख्दा चकको आवाज, र कहिलेकाहीँ हाम्रो भूलमा हल्कासँग मुस्कुराउने हाँसो… ती क्षणहरू मेरो स्मृतिमा सजीव छन् । उहाँ छात्रावासमै बस्नुहुन्थ्यो, र उहाँको विवाहको निम्तो पनि मैले पाएको थिएँ । समयको टाढोपनले गर्दा उपस्थित हुन नसकेको दुःख आजसम्म पनि मनको कुनामा छ ।

एस.एल.सी. सकिएपछि म उच्च अध्ययनका लागि काठमाडौँ लागें । नयाँ शहर, नयाँ सपना, नयाँ चुनौती । तर विज्ञान र गणितप्रतिको लगाव रहेकै थियो । गोदावरी विद्या मन्दिरमै त्यो लगावको बीउ रोपिएको थियो । विज्ञान पढ्दा कहिलेकाहीँ सरले पढाएको कुनै सूत्र, कुनै उदाहरण सम्झिँदा आनन्द आउँथ्यो । फेरि त्यो नरिवलको रूखहरूले घेरिएको सानो स्कुलको कक्षाकोठा भित्रका बोधराज सरको शान्त स्वरहरूले चिच्याएको भान हुन्थ्यो ।

तर रहर भए पनि गणितलाई अगाडि बढाउन सकिनँ, विज्ञानतिर सीमित गर्नु पर्‍यो । म चिकित्सा अध्ययनतिर लागें । जीवनमा विज्ञानलाई जीवनपेशाकै रूपमा रोजेँ । तर बिरामीको निदान, उपचार र निर्णयमा पनि गणितको तर्कशीलताको आवश्यकता पर्दोरहेछ । त्यो सोचलाई म पछि मात्र बुझें— जसको बीउ सरले गणित पढाउँदाको वर्षमै रोपिदिनुभएको थियो ।

एम.बी.बी.एस. पछि कर्मले झापा रोज्यो । चारआलीको निजी अस्पताल माता पाथिभरा अस्पतालमा पहिलो पटक सेवा शुरु गरें । तर निजी अस्पतालमा जम्न सकिनँ । किन किन, गरिब र असाहायहरूको सेवा गर्न खोजें र त्यसका अवसरहरू खोजिरहें । २०६५ सालको वैशाख १५ देखि मेची अञ्चल अस्पतालमा सेवा गर्न पाउने अवसर पाएँ । जहाँ म स्वतन्त्र थिएँ, गरिब असाहायहरूलाई निःशुल्क उपचार त छँदै थियो, आवश्यक परे निःशुल्क औषधिको पनि सिफारिस गर्न सक्थेँ । मनमा शान्ति थियो, सेवामा आनन्द थियो ।

२०६५ सालतिर जीवनले अर्को अचम्मको मोड ल्यायो । मैले अध्ययन गरेकै विद्यालय गोदावरी विद्या मन्दिर ईटहरीको सेयरधनी बन्ने अवसर पाएँ । त्यही विद्यालय—जहाँ मैले कहिल्यै बिर्सन नसक्ने ती शिक्षकहरूलाई भेटेको थिएँ । जहाँ पहिलोपटक जहिले टोपी लगाउने बोधराज सरलाई देखेको थिएँ ।

सरसँगको भेट अब पुरानो जस्तो थिएन । म त्यो डराएको विद्यार्थी थिइनँ । र उहाँ मात्र कक्षाकोठा भित्रको शिक्षक रहनु भएन । हामी एउटै संस्थाका साझेदार थियौँ, एउटै सपनाका सहयात्री भयौँ । विद्यालयको भविष्य, शैक्षिक नीति, भौतिक विकासका योजनाहरू – यी सबै कुराहरू हामी सँगसँगै छलफल गर्थ्यौं । तर बैठकको कुनामा बस्दा, मनभित्रको बालक अझै पनि जीवित थियो । जब सरले कुनै बुँदा बुझाउँदै हुनुहुन्थ्यो, मनमा त्यो पुरानो कक्षाकोठा जीवन्त हुन्थ्यो । जहाँ म कपिमा सूत्र टिप्थें र उहाँ बोर्डमा लेख्नुहुन्थ्यो । कहिलेकाहीँ बैठक सकिएपछि हामी सँगसँगै विद्यालय परिसरमा घुम्थ्यौं । त्यो भाडाको घरलाई छाडेर हामी आफ्नै भवनमा सरेका थियौँ । तर घामलाई छेक्ने ती नरिवल र आँपका रूखहरू यहाँ थिएनन्, साना साना रूखहरू हुर्कायदै थियौँ । समयले भूमिका बदल्यो, तर सम्बन्धको गहिराइ बढ्दै गयो ।

२०७४–७५ सालतिर सर लगायत सबै संस्थापकहरूले विद्यालय छोड्नुभयो । उहाँ अब संस्थापकका रूपमा मात्र रहनुभयो, दैनिकीको यात्रामा हामी फेरि फरक दिशातिर लाग्यौं । तर शिक्षक–विद्यार्थीको सम्बन्ध दूरीले कहिल्यै घट्दैन । उहाँको पढाइ, अनुशासन र व्यक्तित्व मेरो भित्री संसारमा जीवित रहेको छ ।

अहिले पनि जब अपरेशन थिएटरमा कठिन निर्णय लिनु पर्छ, जटिल केसहरूमा गहिरिनु पर्छ — मभित्रको विश्लेषण गर्ने क्षमता, धैर्य र तर्कशीलता सरले पढाएको गणित र विज्ञानसँग जोडिन्छ । विज्ञान मेरो पेशा बन्यो, तर त्यसको पिलर सरले रोप्नुभएको थियो । सरहरूले विद्यार्थीहरूलाई बिर्सन्छन् होला, तर विद्यार्थीहरूको मन–मस्तिष्कमा कतै न कतै शिक्षकहरूको आदर्श रहिरहन्छ ।

समय अचम्मको हुन्छ । जीवनलाई अनौठो अवसर र चुनौतीहरू आइरहन्छन् । जीवनमा कहिले, कहाँ, कुन रूपमा को भेटिन्छ भनेर थाहा हुँदैन । मेरो जीवनमा फेरि अर्को अवसर आयो । चिकित्सक जीवनका नियमित कामहरूसँगै म कलमतिर आकर्षित भएँ । गर्भ, मातृत्व, नारी स्वास्थ्य, समाजका अन्धविश्वास, सोच र परिवर्तनका कुरा लेख्न थालेँ । मभित्रको वैज्ञानिक सोच र समाजप्रतिको संवेदनशील दृष्टिकोण मिसिँदै गए । यही बाटो हुँदै जन्मियो — “गर्भको गर्व” । सानो पुस्तक । मात्र ९ वटा निबन्ध र अनुभूति जस्ता कथाहरू । तर सचेत परिवार अनि सुरक्षित मातृत्व बनाउने लिखित दस्तावेज तयार भयो । साहित्यपोष्टले सिर्जनात्मक गैरआख्यान भनेर प्रकाशन गरेको सो कृति ‘बेस्ट सेलर’ भयो ।

सबैभन्दा ठूलो गर्वको क्षण थियो जब मैले आफैंले लेखेको त्यो पुस्तक सरको हातमा हस्तान्तरण गरें । पुस्तक सरको हातमा आमाको काखमा शिशु राखिएजस्तै सजियो । कक्षा ९ को त्यो छात्र, जसले बोर्डतिर हेरेर सूत्र टिप्थ्यो, आज आफूले लेखेको पुस्तक आफ्नै गुरुलाई अर्पण गर्दैथियो । समय फेरिएको थियो — तर सम्बन्ध होइन । उहाँ अझै पनि मेरा लागि गुरु नै हुनुहुन्छ । भूमिका फेरिए — म विद्यार्थीबाट चिकित्सक, साझेदार र लेखक भएँ । तर उहाँ मेरो जीवनमा ज्ञान र अनुशासनको ज्योति बनिरहनुभयो । त्यो टोपी लगाएको गुरु, त्यो बोर्डको अक्षर, त्यो अनुशासन — अहिले पनि मभित्र बाँचिरहेका छन् । शिक्षक–विद्यार्थीको सम्बन्ध केवल पाठशालामा अन्त्य हुँदोरहेनछ । त्यो समय परिवर्तन हुन्छ, भूमिका बदल्छ, र कहिलेकाहीँ साहित्य जस्तो गहिरो भावनामा परिणत हुन्छ । आज म चिकित्सक हुँ, लेखक हुँ, तर हरेक सफलतामा, हरेक उपलब्धिमा, हरेक आत्मविश्वासमा — त्यो २०४९ सालको कक्षाकोठाको सुगन्ध मिसिएको छ ।

श्री बोधराज नेपाल सर मेरो जीवनमा शिक्षक मात्र होइन, प्रेरणाका स्रोत, अनुशासनका प्रतीक र स्मृतिका गहिरा पाना हुनुहुन्छ । गणितको पाठदेखि “गर्भको गर्व”सम्म — यो केवल एउटा व्यक्तिगत अनुभूति होइन, एउटा यात्रा हो । यसमा गुरु, विज्ञान, समय र साहित्य एउटै धागोले गाँसिएका छन् ।