मानिसले सधैं जीवनका ठूला उपलब्धि मात्र सम्झिन्छ भन्ने छैन । कहिलेकाहीँ साना–साना क्षणहरू यति आत्मामा बस्छन् कि ती नै जीवनका सबभन्दा अमूल्य सम्पत्ति बन्छन् । आज म एउटा त्यस्तै साधारण तर अविस्मरणीय क्षण बाँड्दै छु — बुबासँगको पहिलो चाउमिन ।

मेरो जन्म एक कृषक परिवारमा भयो । गाउँको परिवेश, धूलो सडक, चौतारीको गफ, खेतको डिल, र बुबाको पसिना मैले सानैदेखि देख्दै आएको छु । बुबा शुद्ध शाकाहारी — आस्थामा अडिग, व्यवहारमा सरल, र जीवनशैलीमा अति अनुशासित। उहाँ गर्भमा हुँदा हजुरआमाले नौ महीना कुनै पनि माछा मासुको सेवन गर्नु भएन, त्यो धर्म उहाँको रक्तमा बसेको थियो । माछा–मासुको छेउ पनि नजाने उहाँले जीवनभर सादा, शुद्ध शाकाहारी भोजनलाई आत्मसात् गर्नुभएको छ । गाउँको घरमा हाम्रो माछा–मासु खाने थाल अलग्गै छ र यहाँ शहरको घरमा उहाँको शाकाहारी थाल–कचौरा अलग्गै ।

बुबाको स्वभाव सादा, रुचिहरू पनि सादा । कहिलेकाहीँ काम विशेषले शहर जाँदा मात्र सामोसा, पकौडा, चप, कचौडी जस्ता खानेकुरा खानु हुन्छ । यस्ता खानेकुराहरू पनि तराईका शहरहरूमा भेटिने साना साना शाकाहारी होटेलहरूमा मात्र खाने गर्नु हुन्छ । रेष्टुरेन्ट भन्ने कुरा उहाँको जीवनशैलीभन्दा बाहिरको संसार हो । दूध, दही र मिठाईमा नै रमाउनु हुन्छ ।

म बाल्यकालमा बुबासँग धेरै ठाउँ घुम्न नपाएको मान्छे । हामी गाउँमै हुर्कियौँ । बजार जानु भनेको खास अवसरमा मात्र हुन्थ्यो । ती अवसरहरूमा बुबाले मलाई साइकलको पछाडि राखेर इनरुवा बजार लानुहुन्थ्यो । मलाई सम्झना छ— इनरुवामा एउटा पण्डितजीको होटल थियो जहाँको सामोसा निकै चर्चित थियो । बुबाले त्यहीँ सामोसा खुवाउनुहुन्थ्यो। कहिलेकाहीँ बुनिया र चिउरा पनि । त्यतिबेला ती खाजाहरू निकै स्वादिला लाग्थे— शायद स्वाद मात्र होइन, बुबासँगको साथले तिनलाई खास बनाएको थियो । अनि त्यो अवसरको प्रतीक्षामा महीनौं बित्थ्यो । चामल, दाल, तरकारी, दूध र खानेतेलमा हाम्रो परिवार आत्मनिर्भर थियो । अलिअलि किनमेल शनिबार र बुधवार गाउँमा लाग्ने हटियाबाट नै हुन्थ्यो । त्यसैले इनरुवा जानैपर्ने खासै काम पर्दैनथ्यो । बुबासँग साइकल चढेर जाने अनि समोसा खाने रहर संगालेर राख्नु पर्थ्यो ।

गाउँको विद्यालयमा कक्षा पाँचसम्म मात्र थियो । कक्षा छ पछि मैले घर छोड्नु पर्‍यो । मेरो बसाइ छात्रावासमा हुन गयो । घरबाट टाढा हुँदा बुबाको माया अझ स्पष्ट महसूस हुन्थ्यो । बिदामा बुबा लिन आउनुहुन्थ्यो । बाटोमा कहिलेकाहीँ रसबरी, कहिले पकौडा, कहिले सामोसा खुवाउनुहुन्थ्यो । त्यो खाजा खुवाउने क्रममा कुनै भव्यता हुँदैनथ्यो— तर त्यो खाजामा एउटा स्पर्श हुन्थ्यो, ममता मिसिएको सादगी । धेरै दिनपछि घर आएको छोराको खाना घरमा विशेष हुन्थ्यो, तर मनले चाहिँ बाहिरकै रोज्न खोज्थ्यो ।

समय बग्दै गयो । आज म चिकित्सक छु— त्यो पनि शहरको मध्यभागमा व्यस्त जीवन बिताउने डाक्टर । मासु–माछा पनि खान्छु, होटल–रेष्टुरेन्ट पनि जान्छु । तर बुबाको जीवनशैली आज पनि उस्तै छ । गाउँको पुरानो घर । त्यो चुल्हो छ, ग्यास चुलो पनि थपियो । तर त्यो सादा खाना— सब यथावत् छन् । तर लागेको दूध, माटोको भाडो (मटकुरी) को दही, अझै प्यारो छ । उहाँ डुम्राहामा बस्नुहुन्छ, म विराटनगरमा । आउजाउ भइरहन्छ । चाडपर्वमा म गाउँ जान्छु, अन्य समयमा बुबा–आमा विराटनगर आउनुहुन्छ ।

धेरै दिनपछि बुबा विराटनगर आउनुभएको थियो । मलाई भन्दा पनि नाति–नातिनी भेट्न रहर गर्नुहुन्छ । उहाँलाई शहरको स्वाद चखाउने इच्छा जाग्यो । त्यो स्वाद सधैं जस्तो मेरो स्वादअनुसारतर उहाँको परिधिभित्र । अर्थात शुद्ध शाकाहारी । मैले शुद्ध शाकाहारी रेष्टुरेन्ट खोजेँ— जहाँ उहाँको आस्था पनि सुरक्षित रहोस् र नयाँ स्वादको झलक पनि दिन सकियोस् । त्यस क्रममा मैले ‘नाङ्गलो रेष्टुरेन्ट’ रोजेँ । यहाँ समोसा, दही–चिउरा र मिठाईहरू भन्दा फरक खाजा पाइन्छ, त्यो पनि शुद्ध शाकाहारी मात्रै ।

बुबालाई स्कुटरमा राखेर लैजाँदा मलाई अनौठो अनुभव भयो— ठ्याक्कै उहाँले मलाई साइकलमा राखेर इनरुवा लानुभएको झैँ लाग्यो । समयले सवारी बदलिएको छ, तर भावनाको रफ्तार उस्तै थियो । बुबालाई मैले गाडीमा बोकेर कतै–कतै गएको छु । तर आज स्कुटरमा छुट्टै अनुभव गरेँ । यात्रामा हामी मौन नै थियौं । मैले अहिलेसम्म बुबासँग दोहोरो कुरा गरेको थाहा छैन । मौनताभित्र पनि संवाद हुँदो रहेछ । रेष्टुरेन्ट पुग्यौँ । सादा वातावरण, शाकाहारी मेनु— बुबालाई मन पर्ला भन्ने लाग्यो । नेपालीहरूको लोकप्रिय खाजा मःम, चाउमिन, स्वीटकर्न फ्राई अर्डर गरियो ।

बुबाले जीवनमा पहिलोपटक चाउमिन चाख्नुभयो । पहिले काँटो उठाउनुअघि केही क्षण थकथकी पारेर चाउमिनलाई निहाल्नुभयो । त्यो दृष्टिमा कौतूहलता थियो । अहिले गाउँमा पनि चाउमिन पाउने भए तापनि उहाँले चाख्ने चाहना राख्नुभएको थिएन । तर आज मन खोल्नुभयो— साहसपूर्वक मुखमा राख्नुभयो । चुपचाप चपाउनुभयो, केही नबोलिकन । अनि हल्का मुस्कानसहित भन्नुभयो— “राम्रो रहेछ, चपाउनु सजिलो छ ।” स्वीटकर्न फ्राईलाई त उहाँले ‘बुनिया’ सम्झनुभयो। हाँस्दै भन्नुभयो— “यो त मकै पो रहेछ !” ती शब्दमा एउटा आत्मीय सम्झना मिसिएको थियो— इनरुवाको बुनिया, गाउँको चिउरा, ती पुराना यात्राहरू । उहाँको त्यो सरल प्रतिक्रिया मेरो मनमा चीरकालसम्म गुञ्जिने स्वर बनेर बस्यो ।

हामी धेरै कुरा गर्दैनौं । बुबासँगको सम्बन्ध मौनतामा बलियो छ । हामी बीच धेरै संवाद हुँदैन, तर समझदारीको गहिराइ छ । आज त्यो मौनताले पनि विशेष अर्थ राख्यो । उहाँसँग रेष्टुरेन्टमा बस्नु, चाउमिन चखाउनु, स्वीटकर्न फ्राई चपाउनु— यी सबै दृश्यहरूले भावनाको एउटा नदी बगाए, जुन शब्दभन्दा पर थियो । म जान्दछु, यो कुनै ठूलो उत्सव थिएन । न कुनै भव्य भोज, न त कुनै धार्मिक संस्कार । तर यस सानो खाजाले जीवनको एउटा गहिरो पाटो छोयो । बुबासँगको आजको त्यो साझेदारी केवल खाना होइन, एक सम्झना थियो— समयको, सम्बन्धको, र साथको ।

मलाई लाग्यो, हामी कहिलेकाहीँ कति बेफिक्रीले समय बिताउँछौं । तर बुबाजस्ता पात्रहरूसँग बिताएको सानो पल पनि कति अनमोल हुन सक्छ । उहाँसँगको आजको खाजा जीवनको क्यामेरामा कैद भएको सबैभन्दा मीठो चित्र बन्यो । साइकलको पछाडि बसेको त्यो सानो छोरो आज स्कुटरको पछाडि बुबालाई बसाइरहेको थियो । त्यो दृश्यमा दुई पुस्ताको यात्राभन्दा बढी— एक–अर्काप्रतिको मौन माया, आदर र अटुट सम्बन्ध झल्किएको थियो ।

अब मैले बुझेँ— जीवनका सबैभन्दा रसिला स्वादहरू जिब्रोमा होइन, आत्मा र सम्बन्धको गहिराइमा बस्छन् । बुबासँगको पहिलो चाउमिनले मलाई त्यो स्वाद चखायो— अलिकति ताजा, अलिकति पुरानो, र एकदमै आफ्नोपनले भरिएको ।