म २०३१ सालमा जन्मेको २००७, २०१७, २०२८ सालको घटनाहरू बारे पुस्तकमा मात्र पढियो । २०३१ सालमा पार्दीको बाँध फुट्यो त्यही साल जन्मेको भनेर मेरा अभिभावकहरू भनिरहन्थे । २०३३ साल विश्वेश्वरप्रसाद कोइराला काठमाडौं विमानस्थल आइपुगेका थिए । जहाजबाट विमानस्थलमा उत्रनासाथ उनलाई पक्राउ गरी बन्दीगृह सुन्दरीजल पुर्‍याइएको थियो ।

यो कुरा २ वर्ष बालकलाई थाहा हुने कुरै भएन । पञ्चायत विरोधी गतिविधि गरिरहेकै परिप्रेक्ष्यमा देशमा २०३६ को विद्यार्थी आन्दोलन भड्किएको थियो । यसको फलस्वरूप तत्कालीन राजाले पञ्चायती व्यवस्थामाथि जनमतसंग्रह गर्न तयार भएका थिए तथापि, दुर्भाग्यवश उक्त जनमत संग्रहमा बहुदलीय पक्ष पराजित हुन पुगेको थियो र पञ्चायती व्यवस्थालाई जनअनुमोदन प्राप्त भएको थियो । यस जनमत संग्रहमा व्यापक धाँधली भएको थियो भनेर पुस्तकमा पढें ।

२०४१ सालमा नेपाल टेलिभिजनको जन्म भयो । संयोगवश २०४२-४३ तिर मेरी आमाको साथी भएर म तिहारमा मेरो ठूलो मामा स्व गोविन्द ब थापाको घर महाराजगन्ज काठमाडौं जाने अवसर मिल्यो । त्यतिवेला काठमाडौंमा मात्र नेपाल टेलिभिजन प्रसारण हुने रहेछ ।

पहिलो पटक मैले नेपाल टेलिभिजन हेरेको अझ पनि सम्झना छ । अहिले ड्यामेज बाबा वा अघोरी बाबा भनेर चिनिने विजय केसीले प्रतिभाको डबली कार्यक्रममा माइकल ज्याक्सनको गीतमा गाउँदै नाचेको लगायत थुप्रै टोली श्रृंखलाहरू हेर्ने अवसर पाएको थिएँ ।

लगत्तै २०४५-४५ तिर हरेक वडाहरूमा तत्कालीन सरकार जनतालाई सुसूचित गर्ने उद्देश्यले होला शायद एक एक वटा टेलिभिजन सेट बाँडेको थियो । साँझको ५:०० बजे नेपाल टेलिभिजन प्रसारण हुने भए पनि हामी ४:३० बजे नै गुन्द्री तथा बोराहरू टिभीको अगाडि ओछ्याएर आफ्नो ठाउँ सुरक्षित राख्ने गर्दथ्यौं । यद्यपि एउटा गुन्द्री हताएर अर्को बस्ने काम पनि बेला बेला भइरहन्थ्यो । लगभग वडाका थुप्रै जनताहरू उक्त टिभी हेर्न आउँथे भने टिभीमा तत्कालीन राजा स्व वीरेन्द्रको जिल्ला भ्रमणहरूलाई बढी महत्वका साथ देखाइन्थ्यो ।

२०४५-२०४६ को जनआन्दोलन समयमा म त्यति राजनीतिका कुराहरू बुझ्दिन थिए । बहुदल, पञ्चायत, कम्युनिस्ट, कांग्रेस शब्दहरू स्कूलमा सुनिने गर्दथ्यो । श्री ताल बाराही माद्यामिक विद्यालय बैदाम म त्यतिवेला कक्षा १० मा पढ्थें ।

पृथ्वीनारायण क्याम्पसबाट केही व्यक्तिहरू आएर कक्षाभित्र पसेर भाषण गरेपछि हडताल भन्दै घर गैन्थ्यो । मेरी आफ्नै माइली दिदी नर्मला लामिछाने (कँडेल) देशमा प्रजातन्त्रको पुनर्बहाली गर्ने भनेर आन्दोलनमा लाग्नु भएको रहेछ । लुकीलुकी सिनेमा घर लगायतका मान्छेहरू जम्मा हुने ठाउँमा राजाको शासन विरुद्ध आवाज उठाउने र जनताहरू सुसूचित गर्ने उद्देश्यले पर्चा तर पम्प्लेटहर बाँड्ने काम गर्नु हुँदो रहेछ । पर्चा बढ्दा बढ्दै रङेहात पक्राउ पनि पर्ने भयो ।

त्यसैगरी हालको सहिद चोक भनेर चिनिने जसलाई पहिले जिल्ला पञ्चायतको चौतारो, पक्का लाको चौतारो, रङलाको चौतारो आदि थुप्रै नामले चिन्ने गरिन्थ्यो । जुन चौतारो मुनी मालअड्डा, सिडीयो कार्यालय, जिल्ला पञ्चायत, हुलाक तथा अदालत, प्रहरी कार्यालयहरूमा आफ्नो काम फत्ते गर्ने उद्देश्यले लिएर आएका मान्छेहरूले सुस्ताउने गर्दथे । नगर बस कुर्दथे । राम्रो व्यापार पनि हुने गर्दथ्यो । चुरोट, सुपारी, पान बेच्नेहरू, गर्मीमा पीरो हालेर काँक्रो बेच्नेहरू, बरफ बेच्नेहरू, काला जादु भन्दै हातको सफाइ देखाउनेहरू, आयुर्वेदिक औषधी बेच्नेहरू थुप्रै खुद्रा व्यापारीहरू आफ्नो जीवन गुजारा चलाएका थिए ।

त्यही चौतारोमा राजा विरोधी नारा, भाषण, आन्दोलन हुने क्रममा २ जना व्यक्तिले सहादत प्राप्त गरे । झपिन्द्र र ऋषिले आन्दोलनको क्रममा ज्यान गुमाए, त्यतिवेला देशभर नै आन्दोलनको आगो बलिरहेको थियो । सरकार त्यो आगोलाई मत्थर गर्ने प्रयास गर्थ्यो भने आगो झन् दनदनी बल्दै हुर्केला लाउँथ्यो ।

मेरो फुपूका छोरा शंकर (इन्द्र) थापा हाम्रो घरमा मसँगै बसेर पढ्थे । हरेक शुक्रवार ऊ र म उसको घरमा जाने गर्दथ्यौं । त्यही क्रममा एक दिन हामी पृथ्वीनारायण क्याम्पस भित्र छिर्यौं । गेट बाहिर दङ्गा प्रहरीको हुल तैनाथ थियो । हामी क्याम्पसको मुख्य गेटबाट प्रवेश गरेर माथिल्लो गेटबाट निस्किने भनेका थियौ । क्याम्पसको माथिल्लो गेट पुग्नु भन्दा अगाडि थुप्रै विद्यार्थीहरू भीड देख्यौं । डर पनि लाग्यो । हामी भीडमा गएनौं तर नजिकबाट कुरा के रहेछ बुझ्ने प्रयास गर्यौं ।

एक जना विद्यार्थीले ठूलो स्वरबाट एउटा पत्र पढ्दै थिए । पत्र अस्पतालको बेडबाट लेखिएको रहेछ भन्ने कुरा बुझ्न हामीलाई समय लागेन । हाम्रो जिज्ञासा बढ्दै गयो हामी रोकियौ र उक्त पत्र सुनेर नै निस्किने निर्णय गर्‍यौ । उक्त चिट्ठीमा भुज्रुन्खोलामा एक महिलाको सामूहिक बलात्कार भएको रहेछ भने बलात्कारीहरूले बलात्कार गर्दा बोलेका र गरेका सबै कुराहरू लेखिएको थियो ।

उक्त पत्रमा भएको कुरा सुन्दा हाम्रो आङ नै जिरिङ्ग भएको थियो । बलात्कार राज्यका भरौटे पञ्चेहरूले गरेका थिए भनेर पत्र पढ्ने विद्यार्थीले उक्त घटनाको घोर भर्त्सना गर्दै पीडितलाई न्याय दिलाउन अपिल गरेका थिए । पृथ्वीनारायण क्याम्पसको होस्टलमा नेपाल प्रहरीले छापा मारेको, राज्य विरुद्ध आतङ्क फैलाएको आरोपमा राज्यले मुद्दा चलाएको कुराहरू रेडियो मार्फत समाचारहरू सुनिन्थ्यो ।

२०४९ श्रावन महिनामा थाई एयरको विमान नुवाकोटको घ्याङ फेदीमा दुर्घटना ११३ को मृत्यु भएको थियो । त्यही साल पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा १६७ जनाको मृत्यु भएको थियो । जुन समाचार रेडियोमा आउँदा निकै दु ख लागेको थियो ।

२०४५ भदौमा पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलै जनधनको क्षति पुर्‍याएको थियो । रेडियोमा मृतकहरूको सनाखतको नामावली आइरहन्थ्यो ।

२०४५ सालमा भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । के कति करणले किन नाकाबन्दी गर्‍यो भन्ने त त्यतिवेला थाहा भएन तर देशभर खाद्यान्न र पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्रीको व्यापक अभाव भएको थियो । लामो लाइनमा बसेर मट्टीतेल, चिनी र रसायनी मल लिन हामी सहकारी जाने गर्दथ्यौ । अहिलेको सिडीयो कार्यलयको पछाडि सहकारी थियो । एक ठाउँमा कुप्पन लिएर अर्को ठाउँमा लाइन बसेर चिनी, युरिया मल किन्ने गरिन्थ्यो । केही समय अगाडि मात्र उक्त भवनलाई पुनर्निर्माण गरी स्वरूप नै परिवर्तन गरिएको छ । नत्र भने हरेक पटक त्यो बाटो हिंड्दा लाइनमा बसेर चिनी किनेको सम्झना आइहाल्थ्यो ।

हाम्रो समाचारको श्रोत भने सिर्फ रेडियो नेपाल थियो । रेडियोमा समाचार सुन्दा देशमा थुप्रै ठाउँहरूमा आन्दोलन भइरहेको थाहा हुन्थ्यो । राज्य विरुद्ध अभियान गरेको केसमा फलानो ठाउँमा यति जनालाई गिरफ्तार गरियो भन्ने समाचार नै रेडियोका प्रमुख समाचार हुन्थे । यद्यपि मैले घरमा रोधी चौतारी जस्ता लोकगीतका कार्यक्रम पनि सुन्ने गर्दथे । पाण्डव सुनुवार भन्ने नाम उनको स्वर आज पर्यन्त कानमा गुन्जिन्छ ।

कांग्रेस र कम्युनिस्ट मिलेर संयुक्त आन्दोलनलाई साथ दिन लाखौं जनताहरू सडकमा उर्लिएका थिए थुप्रै आन्दोलनकारीले सहादत प्राप्त गरेपछि तत्कालीन शाही शासन जनता सामु घुँडा टेक्न बाध्य भयो ।

फलस्वरूप २०४७ कात्तिकमा २३ गते शाही घोषणा मार्फत नेपाल अधिराज्यको संविधान, २०४७ जनसमक्ष ल्याएको । यसरी २०४६ सालको आन्दोलनबाट प्राप्त संसदीय बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएको थियो । प्रजातन्त्रको पुनर्बहाली भएपछि हाम्रो स्कूलबाट विद्यार्थीहरू नारा जुलुस सहित त्यही रङलाको चौतारा पुग्यौ । जुन चौतारोलाई त्यसपछि शहीद चोक भनेर भनिन थालियो ।

स्कूल पढ्दा हामीले दशैं, तिहार र नयाँ वर्षको छेको पारेर आफूले मन पराएको केटा वा केटीलाई विशेष रूपले सिङारेर कविता मुक्तकहरू खोज खन्तर गरेर पोस्टकार्डमा लेखेर आफ्नो माया प्रेमको अभिव्यक्ति गर्दथ्यौ । पोस्टकार्ड पठाएर बोलचाल सुरुवात हुन्थ्यो । पोस्टकार्ड मार्फत प्रेम प्रस्ताव राखिन्थ्यो । साथी बन्ने बनाउने काम हुन्थ्यो ।

कुनै साथी कक्षा कोठामा पोस्टकार्ड बेच्न ल्याउँथे । फिल्मको कहानी भन्ने चलन हुन्थ्यो । सिनेमा हेरेर उक्त सिनेमाको हुबहु नक्कल गर्दै कहानी भन्ने एक जना साथी थिए भुपेन्द्र गुरुङ । उनले सिनेमाको कहानी भन्न थाले भने आफ्नो कक्षा मात्र होइन २-३ वटा अरू कक्षा विद्यार्थीहरू पनि सुन्नको लागि थुप्रिन्थे । भुपेन्द्रले सिनेमाको कहानी सुनाएर पैसा पनि लिन्थे भन्ने सम्मको हल्ला थियो । हुन पनि उसले घोडा दौडेको, बन्दुकले मान्छे मारेको सबै अभिनय सँगै आवाज निकालेर कहानी भन्थ्यो ।

२०४७ सालमा एसएलसीको परीक्षा दिएपछि लामो छुट्टी मिले जस्तो भयो । प्रायजसो छुट्टीका दिनहरूमा वरपरका साथीहरूसँग फेवातालमा माछा मार्ने, कपडा रुखमा झुन्ड्याएर फेवाताल पारी रानीवनमा दिनभर माछा मार्ने तथा सिजन अनुसार पाइने फलफूलहरू खोजेर खाने गरिन्थ्यो । कुनै दिन सेदी, खपौदी, पामे सम्म माछा मार्न पुगिन्थ्यो भने कटुस (कडुज) खोज्न बन जंगलतिर जाने गर्थ्यौं ।

अर्को महत्त्वपूर्ण काम मैले पुस्तकहरू पढ्न शुरू गरेको थिएँ । आफू भन्दा सिनियर दाजुहरूसँग भएको युधिर थापाको उपन्यास, मधुपर्कका कथाहरू र खप्तड बाबाका बिचारविज्ञान, स्वास्थ्यविज्ञान आदि पुस्तकहरू पढ्थें ।

उपन्यास पढ्ने एक प्रकारको लत नै बस्न थाल्यो । निर्मलले बेद प्रकाश शर्माको हिन्दी उपन्यास पढ्थे उनीसँग भएको सबै उपन्यास पढी सकेपछि म त बेद प्रकाशको फ्यान नै बनेछु । उनका उपन्यासहरू खोजीखोजी पढ्न थालें । किन्ने प्रशस्त पैसा हुँदैनथ्यो त्यसैले भाडामा ल्याएर पढ्थें । साथी सन्तोष पहरीले रजनिश (ओशो) का पुस्तक पढेका रहेछन् । मैले पनि पढ्न थाले । पढ्दा पढ्दै ओशो टाइम्सको वार्षिक ग्राहक नै बनें । ओशोका पुस्तक पढेर ट्राटक, मुन ट्राटक, फुलमुन मेडीटेशनहरू पनि गर्न थालें । मे

एसएलसीमा दोश्रो श्रेणीमा पास भएँ । देशको ठूलो मध्यको एउटा क्याम्पस पृथ्वीनारायण बहुमुखी क्याम्पस भन्दा अरू कुनै पढ्ने विकल्प मसँग थिएन । मानविकी सङ्कायमा दिवा कार्यक्रममा भर्न भएँ । क्याम्पस जान थालेपछि कपाल लामो पाल्ने, पप गीतहरू सुन्ने, अंग्रेजी गीत सुन्ने, गितार बजाउने जस्ता गतिविधि हुन थाले । क्याम्पसका शुरूका दिनमा लामालामा कपाल पाल्ने साथीहरूको सगत हुन थाल्यो । उनीहरू क्याम्पसको डिलमा बसेर चुरोट तानिरहेका हुन्थे । कताकताबाट घर नजिकका म भन्दा अलिकति सिनियर निर्मल पौडेल नाम गरेका साथी भेटिए । उनको घर मेरो घर भन्दा १ कि मि जतिको दुरीमा थियो । सधैं उनै सँग क्याम्पस जान आउन थाले पछि मेरो बानी पनि उनको जस्तै हुन थाल्यो । उनी निकै सादगी थियो, भद्र भलाद्मी थिए । उनको संगतले मलाई गजल सुन्न उत्प्रेरित गर्‍यो । पंकज उदासका गजल सुन्थौं हामी । ओम बिक्रम बिष्ट, सजय श्रेष्ठ, भिम तुलाधर, हरिश माथेमा, नेपथ्य केही पछि धीरज राइ लगायतका पप गाएकहरुको क्यासेट किनेर वाकमेन वा टेप रेकर्डरमा सुनिन्थ्यो । रेडियोमा आइतबार सन्डे पप, साँझमा नेपाली पप गीतहरूको कार्यक्रम रङ्गिन लहर सुनिन्थ्यो । बिबीसी सेवामा नेपाली समाचार सुनिन्थ्यो । बिबीसीको समाचार सत्य र अथेन्टिक हुन्छ भने विश्वास हुन्थ्यो । त्यसैगरी अल इन्दिया रेडियो, अछाम रेडियोमा हिन्दी गीतहरू सुनिन्थ्यो ।

त्यो समयमा चाड पर्वहरूको छुट्टै महत्व हुन्थ्यो । हरितालिका तीजमा रातै रङमा रङिएर महिला दिदी बहिनीहरू विभिन्न चोकहरू गीत गाएर बसेका हुन्थे । नारेश्वरको चौतारामा महिलाहरूले गाएको तिजका गीत टेप रेकर्डमा रेकर्ड गर्न बा सँगै म पनि गएको थिएँ एक पटक ।

दशैंको नवदुर्गा बिहान ४ बजे देखी नै विभिन्न मन्दिरहरू दर्शन गर्न गइन्थ्यो । त्यही मन्दिर जाने बहानामा आफूले मन पराएको मायालुसँग भेट्ने चाहना पनि हुन्थ्यो कसैकसैको । दशैंमा चङ्गा उडाउने, चङ्गा चलान गर्ने, खोडखोडे (लङुरबुर्जा) खेल्ने खेलाउने आदी गरिन्थ्यो । त्यसैगरी तिहारमा देउसी र भैलो खेलिन्थ्यो । भैलो देउसी खेलेर जम्मा गरेको पैसाले वनभोज खाइन्थ्यो ।

शिवारात्रिमा टोलटोलमा शिवधुनी बालेका हुन्थे । शिवधुनीको चाहिने काठ मुडाहरू सङ्कलन गर्ने काम हामी जस्ता अल्लारे केटाहरूको हुन्थ्यो । बासको झ्याङभित्र पसेर बन्चरो, आसी र गलको सहयोगले बास काटेर छोडेको जराहरू निकाल्ने गर्दथ्यौ । सबै टोलटोलका युवाहरूले यही काम गर्दथे । २-३ दिन लगाएर मुडा खोज्ने काम हुन्थ्यो । कहिले काही अर्को टोलका समुहले जम्मा गरेको मुडा चोरी पनि गर्दथे । यो काम गर्न हामी लाई छुट्टै मज्जा हुन्थ्यो । छिमेकी टोलको भन्दा हाम्रो शिवधुनी ठुलो बनाउनु पर्छ भने एक प्रकारको इख हामी सबैमा हुन्थ्यो । वर्षको एक दिन मात्र शिवजीको प्रसाद भन्दै गाँजा तानेर झ्याप्प भएर कोही हाँसेका कोही रोएका भेटिन्थे । होलीमा आफ्नो साथीलाई लुकीलुकी ईंट्टाको धुलो पिनेर बनाइएको धुलो दलिन्थ्यो । पैसा हुनेले अबिर र पचका पनि किनेका हुन्थे ।

चैते दशैंमा बाग्लुङमा मेला लाग्ने गर्दछ । उक्त मेला हेर्न जाने हामी सबैको इच्छा हुने गर्दथ्यो । भर्खर पोखरा-बाग्लुङ राजमार्गको बाटोको ट्राक खुलेको थियो । चाइनिजहरूले निर्माण सामाग्री ओसारपसार गर्न प्रयोग गर्ने फरक खालका ट्रकलाई डम्फर भनिन्थ्यो । ती डम्फरहरूले पैसा लिएर बाग्लुङ लैजाने गर्दथे । एक पटक तिनै डम्फरमा चढेर साथीहरूसँग बाग्लुङ पुगेको थिएँ । त्यहाँबाट पैदल म्याग्दी हुँदै सिम्हा तातोपानीमा साथीको मामा घरमा १ हप्ता जति बसियो ।

पृथ्वीनारायण क्याम्पसको पढाइसँगै पुस्तकालय जान सिकियो । हुन त स्कूलमा पनि एउटा पुस्तकालय थियो तर पुस्तकहरू खासै थिएनन् । पहिलो पटक २०४८-४९ साल तिर मैले सहिद स्मृति पुस्तकालय, मालेपाटनबाट पुस्तकहरू लिन थालेको । त्यसपछि बिस्तारै पोखरा सार्वजनिक पुस्तकालयमा सम्पर्क बढ्न थाल्यो ।

पोखरामा मोबाइल भन्दा पहिले पेजर आएको थियो । तर पेजर धेरै समय चल्न पाएन किनकि मोबाइल आइहाल्यो । २०५६ तिर नेपालमा पोस्टपेड मोबाइल सञ्चालन आएको भएता पनि २०६१ पछि मात्र प्रेपेड मोबाइल मार्फत सर्वसाधारणको हातमा परेको थियो । शुरूमा कल रिसिभ गर्ने र एसएमएस रिसिभ गर्ने दुवैको मोबाइलबाट पैसा काट्दथ्यो । कल गर्ने र म्यासेज  गर्नेको धेरै र रिसिभ गर्नेको कम पैसा काट्दथ्यो ।

२०५२ बाट शुरू भएको माओवादीको सशस्त्र आन्दोलनको शुरूवाती चरणमा रुकुम रोल्पा लगायतका गाउँहरूमा माओवादीहरूले गरेको छिटपुट घटना बिस्तारै देशै भर बढ्न थाल्यो । राष्ट्रिय दैनिकका मुख्य समाचार नै माओमादी र सरकार बिचको द्वन्द्व रहेको हुन्थ्यो । माओवादीले यति प्रहरी आर्मी मारे, सशस्त्र प्रहरीले यति माओवादी मारे भन्ने दैनिक समाचार छापिन्थ्यो । २-२ पटक सरकार र माओवादी बीच शान्ति सम्झौताको प्रयास भएको थियो । तत्कालीन समयमा काठमाडौं जाँदा ३-४ ठाउँमा बसबाट ओर्लेर हिंड्नु पर्दथ्यो । यो आर्मी प्रहरीको नियमित चेक जाँच थियो । हेल्मेट पनि खोलेर बाइक, स्कुटर हिंडाएर (डोर्‍याएर) १ किमी जति दूरी पार गर्नु पर्थ्यो । मोटारसाइकलको पछाडि बस्नेले हेल्मेट लगाउन पाउदैनथ्यो । नयाँ मान्छे देख्यो भने समाजमा माओवादी हो कि सरकारको सिआइडी हो भन्ने भान पर्दथ्यो । नयाँ मान्छेसँग बोल्न डर लाग्थ्यो । प्रेसर कुकर किन्ने र गोल्ड स्टार जुत्ता लगाउनेहरूलाई प्रहरीले निगरानी गर्दथ्यो । माओवादीहरूले प्रेसर कुकर बम, सकेट बम आदी जस्ता हतियारको प्रयोग गर्दै थुप्रै ठाउँको रिपिटर टावरहरू ध्वस्त परेका थिए । माओवादी धेरै भएको गाउँमा प्रहरी जान सक्दैनथ्यो । जनकारबाहीको नाम दिँदै गाउँमा हुने झगडाहरू समेत मिलाइदिन थालेका थिए । माओवादीको विरोध गर्नेलाई भिजिलान्ते भन्दै भाटे कारबाही गर्ने गरिन्थ्यो । त्यसैगरी कतिपय जनताहरू माओवादी र प्रहरी दुवैको चेपुवा परेर आफ्नो वासस्थान नै छाडेर गएका थिए । संविधान सभाको निर्वाचनको माग राख्दै सुरु भएको आन्दोलन बिस्तारै उग्र रूप लिँदै ज्यान लिने दिने युद्ध भइसकेको थियो ।

२०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठ जनाको हत्या भएको थियो । रेडियोमा मात्र संवेदनाको धुन मात्र बज्दथ्यो । हत्या कसले गर्‍यो यकिन कसैले गर्न सकेनन् । त्यसपछि राज्य सत्ता ज्ञानेन्द्र शाहको हातमा गयो । माओवादी आन्दोलन झन् चर्किंदै गयो भने कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन सुरु गर्न थाले । राजाले सञ्चारमाध्यममा सेन्सरशिप लगाउन थाले । आन्दोलन दबाउने उद्देश्यले मोबाइल सेवा नै बन्द गरियो । देशभर आन्दोलन चर्किंदै जान थालेपछि देशका विभिन्न ठाउँहरूमा कर्फ्यु र निषेधाज्ञा जारी हुन थाले भने जनताहरूले उक्त कर्फ्यु तोड्ने र निषेधाज्ञा उलंगन गर्ने भन्दै आन्दोलन गर्न थाले । यसरी जनआन्दोलन- २ सुरु भयो ।

नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो । यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो । यस आन्दोलनमा विभिन्न राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो ।

आन्दोलनको क्रममा सार्वजनिक सवारीका साधनहरू चल्न दिएका थिएन तर कर्मचारीलाई जसरी पनि आफ्नो कार्यालय पुग्नुपर्ने थियो । मेरो श्रीमतीको जागीर भलाम स्वास्थ्य चौकी र मेरो मणिपाल अस्पताल, थुप्रै दिन हामी लेकसाइड देखि हिंडेर भलाम र मणिपाल आउने जाने गरियो ।

१९ दिन आन्दोलनको अन्तिम ३-४ दिन हामी मणिपाल देखि डाक्टर पढ्ने विद्यार्थीहरू र कर्मचारी मिलेर पनि नारा जुलुस सहित महेन्द्रपुल भिमसेन चोकमा आएर कोण सभा सहभागी हुन्थ्यौ । बाटोमा आर्मी, प्रहरी देखेपछि  “आर्मी पुलिस -भाइ भाइ” जस्ता नाराहरू लगाएर उनीहरूबाट जोगिने प्रयास गर्दथ्यौं । १९ दिने आन्दोलनको समयमा जनताहरूलाई दैनिक जीवन जिउन साह्रै गाह्रो भएको थियो ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा । देशभरी उर्लेको आन्दोलनको ज्वारभाटालाई थेग्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रद्वारा वैशाख ११ गते राति ११:३० मा देशवासीको नाममा सम्बोधन गरेर नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको र नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको भन्दै राजगद्दी त्यागेका थिए । तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा २०५८ जेठ ८ मा विघटित भएको प्रतिनिधि सभालाई नेपालको संविधान २०४७ बमोजिम पुनस्थापित गरिएको थियो । त्यसपछि बन्द भएको मोबाइल र एफ एम का टावरहरू पनि खोलिए । सञ्चारमाध्यममा लागेको सेन्सरशिप सबै रद्द भए ।

आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका स‌ंसद्को निर्माण भयो । माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो ।

पहिलो पटक २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो ।

त्यसपछि नेपाली कांग्रेसले ११० र नेपाल कम्युनिस्ट पार्टी एमालेले १०३ सिट प्राप्त गरेको थिए । महिनौंको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तर संसदहरू समयमा निर्वाचन गराउनै सकेनन् । थुप्रै अभियन्ता तथा नागरिक मञ्चहरूले संविधान समय मै बनाउन दबाब दिई नै रहे । ५ वर्ष सिर्फ भत्ता नै खाएर बिताए सासदहरूले संविधान निर्माण गर्न सकेनन् ।

नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यविधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो । पुनः म्याद थप गर्दा पनि संविधानको निर्माण हुन नसके पछि २०७० मंसिर ४ गते पुन: संविधान सभाको अर्को चुनाव भयो । जसमा कांग्रेसले २०६ सिट, एमालेले १८४ सिट र माओवादीले जम्मा ८३ सिट ल्याएको थियो । २०७० मङ्सिर ४ गते निर्वाचित दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते पूरा गरेको थियो । वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११:५६ मा गएको ७ ।८ रेक्टर स्केलको विनाशकारी भूकम्पले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो । त्यसपछि अनगिन्ती पराकम्पहरू आउँदै थाले । भूकम्पको चपेटा देश अलपत्र परेको बेला नेताहरूले असोज ३ गते संविधान निर्माण गरे ।

वि. सं.२०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो भने त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिएका थिए ।

२०७७ साल लागे पछि चाइनाको वुहानमा कोरोना नामको भाइरस संक्रमणले थुप्रै व्यक्तिहरू मरेको खबर आउन थाल्यो । चाइनाको अन्य प्रान्तहरूमा पनि कोरोना भाइरस कोभिडको संक्रमण फैलन तालेपछि नेपाल पनि डर र त्रास सुरु भयो । मास्कको प्रयोग अनिवार्य भइसकेको थियो । सार्वजनिक ठाउँहरूमा मास्क बिना प्रवेश निषेध भन्ने पोस्टरहरू लगाइएको थियो । चाइना बाट आउने नेपालीहरूलाई यता नआउन समेत भन्न थाले ।

बिस्तारै कोरोना भाइरस थुप्रै देशहरूमा देखिन थाल्यो । नेपालको महत्त्वपूर्ण मानिने एसएसइे परीक्षा चल्दै थियो । परीक्षा बन्द गर्नुपर्छ । कोरोना देशभित्र प्रवेश गर्दैछ भन्ने आवाजहरू पनि आइरहेको थियो तर सरकारले परीक्षाको सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । हरेक परीक्षाको केन्द्रमा हेल्थडेस्क राखेर मास्क र स्यानिटाइजर राखेर परीक्षा लिने तयारी गरेको थियो । मेरो छोराले पनि यही साल एसएसई दिँदै थियो । परीक्षा भइदियोस् भन्ने चाहना राखेको थिए तर साँझ ५:०० बजे परीक्षा नगराउने सूचना आयो । त्यति मात्र होइन स्कूल, क्याम्पस बन्द गरियो । सरकारले लकडाउन गर्‍यो । सबै घरमा कैद हुनुपर्‍यो । ट्रेसिङ चेक, लकडाउन, पिपीइे जस्ता शब्दहरू सुनियो । अस्पतालमा मान्छेहरूको लाश बढ्न लाग्यो पिपीई लगाएर आर्मीले खाल्डो खनेर गाड्न थाले । मान्छेहरू घरमा बसेर अनेक अनेक रचनात्मक कामहरू पनि गर्ने अवसर पाए ।

नजिकबाट जिन्दगीलाई देख्न भोग्न पाए भने कति अकाल मै जीवन गुमाए । अक्सिजनको हाहाकार हुन थाल्यो । बिस्तारै कोभिड सँगै जीवन अगाडि बढाउनु पर्ने बाध्यता आयो । राहतका काम सुरु गरिए । अफिसहरू खुल्न थाले । जनजीवनमा केही चहलपहल देखियो तर फेरी संक्रमण बढ्यो । सरकारले फेरी लकडाउन गर्‍यो । नेपालमा मात्र होइन विश्वभर मै लकडाउन चलेको थियो । बिस्तारै भ्याक्सिन पनि आविष्कार भयो । डब्लुएचओले नेपालका स्वास्थ्यकर्मीलाई पनि भ्याक्सिन दिने भयो । त्यसै क्रममा मैले पनि खोप लगाउने अवसर पाए । मेरो ठुलो छोरालाई कोभिड भएर अस्पताल भर्ना गरियो । उपचारको क्रममा मलाई पनि सरेछ । छोरा र म छुट्टा छुट्टै कोठामा बसेका थियौ । कोभिड भएपछि अक्सिजन कम हुँदै जान्छ रे भन्ने सुनेको हुँदा पलपलमा अक्सिमिटरले अक्सिजन नाप्थे । छोरालाई पनि नाप्न लगाउँथे । केही समय पछि श्रीमतीलाई कोभिड भयो । मलाई त २-२ पटक कोभिड भयो ।

मैले २०५४ तिर इमेल खोलेको हो । लेसाइडको साइबर क्याफेमा १ मिनट इन्टरनेट चलाएको रु २० तिरेर इमेलमा आडी खोलेको । हुन त २०५३ मै कम्प्युटर बेसिक कोर्स गरेको थिए । मैले २०६५ सामा पहिलो पटक फेसबुक खोलेको हुँ । त्यो भन्दा पहिले मैले अर्कुट र खट्टम डटकम चलाउँथे । मैले थुप्रै नेपाली च्याट साइटहरूमा गएर च्याट गर्ने गर्दथे ती साइटहरू अहिले छैनन् । नेपाल च्याट, चौतारी च्याट रुम लगायत थुप्रै थिए ।

अहिले त डिजिटल क्षेत्रमा व्यापक विकास भइसकेको छ । थ्री जी, फोर जी हुँदै फाइभ जी, २ सिम कार्ड मोबाइल हुँदै अहिले एलेक्ट्रोनिक सिम कार्ड वाला आइसकेको छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआइे) टेक्नोलोजीको विकास भइसकेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अपनाउँदै सामाजिक-आर्थिक विकासलाई अगाडि बढाउने कुरामा हरेक राष्ट्रहरू अहिले एक भएको देखिन्छ ।

यसरी त्यो २०४० देखि २०८१ सम्मको ४ दशक भित्र मैले देखेको बुझेको आत्मसाथ गरेको कुराहरूलाई उतार्ने प्रयास गरेको छु । मलाई थाहा नभएका अन्य घटनाहरू पनि भएका हुनसक्छन् ।