ठ्याक्कै अफिसको गेटमै पुगेँ दश बजे । कानै खाने गरी घण्टी बज्यो अफिसको फोनमा । बडो सार्प दस बजे नै आएको थियो फोन पनि । छ्ड्के हान्या झैँ लाग्यो काठमाडौँ अफिसले। बेलाबेलामा छ्डके हान्थ्यो पनि ‘फोन त मोबाइलमा पनि त आउन सक्थ्यो नि ! यो पक्कै छ्ड्के फोन नै होला यति सोच्न पनि भ्याएँ मैले।’ नभन्दै फोन मेरै रहेछ काठमाडौं अफिसबाट। छ्त्त दाइले(अफिस सहयोगी) बोलाए । दौडिँदै माथिल्लो तला उक्लेँ। ‘खिम जि जुम्ला जाने तयारी गर्नु ल पन्ध्र दिन पछि। डिटेल इमेलमा हेर्नू होला भनेर फोन राखिन,निला म्याडमले(एच आर प्रमुख) ।’ फोन राखेँ। झ्यालको प्वालबाट पारी रानीबन डाँडामाथि सेता दाँत देखाएर हाँसिरहेको हिमाल हेरेँ। त्यसपछि ल्यापटप खोलेँ, निला म्याडमको इमेल चेक गरेँ।

इमेल बोल्यो, ‘सुर्खेत अफिसमा बाह्र दिन पछि हाजिर हुने । दुई दिन कार्यक्रमको तयारीको लागि सुर्खेत बस्ने। त्यसपछि सुर्खेतको टिमसङ्गै जुम्ला जाने । हुम्लादेखि जुम्लासम्म जहाजमा जाने सुविधा एकतर्फी हुनेछ । फर्किँदा जुम्लादेखी हुम्लासम्म पैदल मार्ग भएर जानुपर्नेछ ।’

जुम्लामा आयोजित तीनदिने शिक्षा कार्यक्रममा कर्णालीका पाँचै जिल्लाका साथीहरू सहभागी हुँदै थिए। छिटै भेटिने गरी, पारी रानी बन डाँडामाथिको सेतो हिमाललाई बाइ भन्दै हुम्ला छोडेँ। यो पटक नतर्साएरै सुर्खेत पुर्यायो एकपंखे (सिङ्गल इन्जिन)गोमा जहाजले। तलमाथि गर्दा सिङ्गल इन्जिन जहाजले प्रायः सातो लिने गर्छ। सिङ्गल इन्जिन भएका जहाजमा यात्रा गर्न पर्यो भने चस्स मुटु भइहाल्छ। तर नचढी सुखै छैन । कर्णालीमा धेरै फ्लाइट भर्ने नै सिङ्गल इन्जिन जहाज हुन्छन् ।

डबल इन्जिनवाला जहाज त पूर्वमा पर्यटक बोक्नमै व्यस्त हुन्छन् । जब पर्यटक हुँदैनन् तब कर्णाली आउँछन् । जहाज पनि त आकाशे ट्याक्सी जस्तै गर्छन् । जता फाइदा हुन्छ उतै कुद्छ्न्। सेवा त एउटा बाहना हो। पुरै बार्गेनिङ चल्छ। सुर्खेत र नेपालगन्ज एयरपोर्टमा यात्रुलाई तानातान हुन्छ । ट्राभल एजेन्सीहरुको हालीमुहाली छ। धन्न पाइलट आफै भने बार्गेनिङ गर्न आउँदैनन् ट्याक्सी ड्राइभर झैँ। कर्णालीले यस्तै नियति भोगिरहेछ । महँगाे भाडा तिर्नु पर्ने । समयमा जहाज आउँदैन । राज्य मुकदशक भएर हेर्छ। जनताले सास्ती सधैँभरी खेपिरहेका छन् । धेरै जस्तो सिङ्गल इन्जिनवाला जहाजमा पशुपतिलाई सम्झेर यात्रा गर्छन यात्रुहरु।

सुर्खेतमा दुईदिनको बसाइँपछि जुम्लाको लागि जाने तयारी भयो। जहाजको टिकट पहिलेनै बुक गरेको रहेछ सुर्खेत अफिसले । यो पटक सीता एयरको डबल इन्जिनवला जहाज रहेछ जुम्लाको लागि । ज्यान रबर जस्तै तन्कियो खुसीले । जहाज डबल इन्जिनवाला पर्यो भन्ने सुनेपनि हर्सको सीमा दुई गुना हुन्थ्यो । डबलवाला इन्जिन जहाज पाए मनै ढुक्क भएको झैँ हुन्थ्यो । सिङ्गलवालामा केही भए भने त विकल्प नै हुँदैन । डबल इन्जिनवालामा त एउटा इन्जिनमा खराबी आए अर्को इन्जिन ब्याक अप हुन्छ भन्ने आशा रहन्छ। त्यहीँ भएर नै यात्रुहरु डबल इन्जिनवाला जहाज मन पराउँछन् । तर ‘मर्ता क्या नहि कर्ता’ भनेझैँ जुन पायो उसैमा यात्रा गर्नु पर्ने हुन्छ कर्णालीमा। रोजेर पाइँदैन। देखेर हुँदैन । लेख्या हुन्छ। लेख्न चाहिँ सधैं जसो सिङ्गल इन्जिन नै हुन्छ कर्णालीलाई।

पैंतालीस मिनेटमा जुम्लाको सदरमुकाम खलङ्गा खसाल्यो सिताले। खलङ्गाको एयरपोर्ट पनि गजबको रहेछ डबल साइड ल्यान्डेड रनवे । प्रायः साना एयरपोर्टमा एकतर्फी मात्र हुन्छ रनवे । पाइलटलाई कसरी अनुकूल लाग्छ त्यसरी ल्यान्ड गराउँदा रहेछन् ।

एयरपोर्ट पारीबाट सेता हिमाल र नजिकै रहेका स्याउका बोटहरुले स्वागत गरे जुम्लामा । सोचेको भन्दा सुन्दर रहेछ जुम्ला। समतल फाँटहरुमा धानहरु झुलेका थिए । वरिपरि स्याउका बोटहरु र चारैतिर सेताम्मे हिमालले जुम्लाको सुन्दरता थपेको थियो । सायद जिउँदैमा देखिने स्वर्ग भनेको यस्तै होला । तीन दिनको कार्यक्रम सकियो। जुम्ला बसाइँको अन्तिम दिन अबेरसम्म साथीहरू देउडा गाए र नाचे । आफूलाई देउडा न गाउन आउँथ्यो न त नाच्नै । हेर्न बडो रहर लाग्थ्यो। त्यसैले हेरेर रहर पूरा गरेँ।

बिहान भाले बासेसँगै उठ्ने निधो गरेर सबैजना सुत्यौँ । दिउँसोको कार्यक्रम र राती अबेरसम्म बसेर होला सायद आजको रात अरू रातभन्दा अलि लामो भइदिए हुन्थ्यो झैँ भयो। भोलि भाले नबासे पनि हुन्थ्यो यार ! भन्ने सिल्ली ‘परख’ दिमागले पनि सोचिभ्यायो । तर ती सबै फगत मात्रै, ब्यर्थका कुरा मात्र के ! आखिरी भोलि बिहानै गन्तव्य लाग्नु नै थियो । गन्तव्य पुग्न यात्राको साथी कर्णाली छँदैछ । बरु कर्णालीले मलाई पर्खन्छ या पर्खन्न कुन्नि ! कर्णालीको छालले ‘हिप, हिप हुर्रे !’ भन्छ कि भन्दिन कुन्नि ! यस्तै–यस्तै कुरा मनमा खेलाउँदै कतिखेर निदाएछु ।

‘सर ! उठ्नु उज्यालो भइसक्यो’, भन्दै मुगुका स्टाफ दानसिङ परियारले उठाए । अहिले उनी माननीय दानसिङ परियार भइसकेका छन् । कर्णाली प्रदेश सभा सदस्य। ओछ्यानमै होटलवाला भाइले कालो चिया पनि लिएर आए । कर्णालीको चियाको स्वाद नै फरक । म चियाको पारखी त होइनँ, अहिलेसम्म हुन पनि सकेको छैन तर कर्णाली बसुञ्जेल चिया धेरै पिएँ । कर्णाली बसाइँको स्मरण गर्दा झ्वाट्ट त्यहाँको भोट चिया नै आउँछ मानसपटलमा । कर्णालीसँगको माया पिरम बेग्लै नै छ। कर्णालीको भोटे चियासँग अझ गाढा । चिया र गफ गर्दागर्दै मिरमिरे उज्यालो भयो । सबैसँग बिदावारी भएर गन्तव्य सुरु भयो ।

हामी तीन चार जना पैदलयात्री मुगुसम्मको गन्तव्यतर्फ लाग्यौँ । केही साथीहरू कामविशेषले कोही सुर्खेत त कोही नेपालगञ्जतर्फ झरे । विस्तारै जुम्ला बजारलाई दाहिने पार्दै हाम्रो यात्रा सुरु भयो । कार्यक्रम स्थल र हामी बसेको क्षेत्रबाट जुम्ला, मुगु र हुम्लाका विभिन्न ठाउँमा पुग्न हिँडेका पैदलयात्रीको गोरेटो एउटै भयो । त्यसैले पैदलयात्री साथीहरू टन्नै जोडिए, विभिन्न ठाउँबाट । दाङबाट स्वर्गद्वारी जान लागेका तीर्थयात्रीहरूको लामजस्तै पो भयो हाम्रो यात्रा ।

जुम्ला खलङ्गालाई ओझेल पार्दै च्यारे पुग्यौँ । त्यहाँबाट डाँफेको उकालो शुरु भयो । कतै त सिधै ठाडो स्वयम्भूको भर्याङ झैँ । शरीरले डाँफेको उकालो महसुस गर्यो । डाँफेको त्यो चिसो हावापानीमा पनि पसिना निधारबाट बग्दै मुखसम्म पुग्थ्यो । सास फुल्लिएर स्वाँ ! स्वाँ !! गर्दा मुख भित्रैसम्म पनि पुग्थ्यो, पसिना । जिभ्रोले नुनिलो स्वाद पाएपछि मात्र थाहा हुन्थ्यो शरीरले पसिना छोडेको । मौसम चिसो थियो र बर्सातको समयमा पनि वर्षा नभएकाले यात्रा सहज थियो । मनमनै भगवानलाई धन्यवाद दिनसम्म भ्याएँ, मैले ।

ती गोरेटाका ठाउँ–ठाउँमा माडु (भगवानको थान) र सा–साना ढुङ्गाका गुम्बा बनाइएका छन् । हामी दुबोफूल र हरियो पात ती माडु र गुम्बामा चढाउँदै गयौँ । त्यसो गर्नुको एउटा कारण बर्सात नहोस् भन्ने थियो भने अर्को यात्रा सुखद र सहज होस् । माडु र गुम्बामा पैदलयात्रुहरूले दुबोफूल र हरियो पात चढाउने चलन नै रहेछ । डाँफे उकालोले महसुस गराउने अर्को एउटा कारण जुकाको हमला रहेछ । उकालोमा लखतरान परेका पैदल यात्रीमाथि ती जुका आतङ्ककारी शैलीमा हमला गर्दा रहेछन् । सानोतिनो मिहिनेतले ती जुकालाई परास्त गर्न निकै गाह्रो हुँदो रहेछ ।

जुम्ला हुँदै कार्यक्रमका सहभागी साथीहरूले जिस्काएका थिए, ‘कालो मान्छेलाई जुकाले टोक्दैनन् ।’ तर जुकाले मान्छेको रङ कहाँ हेर्दो रहेछ र ! मात्र मान्छेको गन्ध र शरीरभित्रको रातो रगत । साँच्चै पूर्वजानकारी बिनै आक्रमण गर्दा रहेछन् । ती आतङ्ककारी जुकाका लागि डटेर सामना गोल्डस्टारका बलिया जुत्ता र बाक्ला मोजाले गरे। केही हदसम्म भएपनि त्यो आतङ्ककारी हमलालाई कमजोर बनाएँ।

डाँफे उकालाेले थारमारे पुग्दासम्म ठूलो युद्ध लडेर थाकेको योद्धाझैँ बनाएको थियो । पूर्णरूपमा कायल नभएको घायल योद्धाझैँ भएका थियौँ, हामी । हामी घायल योद्धाहरू जङ्गली जनावरका आक्रमणको प्रवाह नगरी थारमारेको यात्रा तय गर्यौं। थारमारेलाई फत्ते पनि गर्यौं र न्याउरीगाड पुग्यौँ । न्याउरीगाडमा सा–साना दोकान र होटल थिए, त्योबेला । अहिले कस्तो भा‘छ कुन्नि ! यात्राको थकानले शरीर त्यसै पनि गलेको थियो, त्यसैमाथि भोकले आन्द्रा सुकेका थिए । साथीहरूले खाना अर्डर गरे। म एकछिनका लागि भए पनि रेस्ट गरेँ । पसिनाले निथ्रुक्क भिजेर होला जाडो महसुस भयो । झोलाबाट सुख्खा कपडा निकालेँ र पसिनाले भिजेका कपडा झोलामा कोचेँ । त्यतिञ्जलमा खाना तयार भइसकेछ । थकान र भोकले होला खानाको वास नै बडो मीठो । साँच्चिकै खाना यति मीठो भएछ कि दुई थाल हसुरिएछ । पेट नै अटसमटस हुने गरी पो खाइयो त । लोकल कुखुराको झोलसँग लोकल मार्सीको भात पाएपछि त सकिगो नि !

न्याउरीगाडबाट चौथा पार गर्दै भुलभुले पुग्यौँ । भुलभुलेपछि घुच्ची–लेक । घुच्चीलेक उकालोले पनि कम्ताको प्राण खाँदो रहेनछ । डाँफेलेक भन्दा सानो उकालो भए पनि म जस्ता नयाँ यात्रीको लागि अर्को चुनौती हो, घुच्चीलेक । घुच्ची भनेको च्याउ रहेछ । जो महँगो दाममा बिक्छ । त्यो जङ्गलमा घुच्ची च्याउ अलि बढी नै पाइने भएकाले लेकको नामै घुच्ची राखिएको रहेछ । यो लेक जुम्ला र मुगु जिल्लाको सिमाना पनि हो । घुच्चीलेक पार गरेपछि सिप्टी बजारले मुगुको स्वागत र जुम्लालाई बिदाई गर्दोरहेछ । भन्नुको मतलब सिप्टी बजार मुगु जिल्लाको प्रवेश बजार रहेछ ।

त्यो दिनको हाम्रो यात्रा जुम्लादेखि मुगु गमगढीसम्मको मात्र थियो । विभिन्न सुन्दर दृश्यलाई चुम्दै हामी मुगुको पिना पुग्यौँ । त्यहाँ स–साना होटलहरू थिए । अहिले त अझ विकसित भए होलान् । सबैजना थाकेका थियौँ । थकाइ पनि मार्ने र लागेको भोक पनि मेट्ने भनेर त्यहाँ चाउचाउ नास्ताको रूपमा खाने निधो भयो । मैले नाइँ भन्ने त कुरै भएन । त्यसै माथि अधबैँसे ठिटीहरू होटल साउनी । साथीहरू आफ्नै भाषा र पारामा जिस्किन पो थालेछन्, साहुनीहरूसँग । नौलो भएकाले स्थानीय भाषा बुझ्दिनथेँ । टुटेफुटेका केही शब्दहरू भने सिकेको थिएँ । केही बुझिहाले पनि फर्काउन सक्दैनथेँ । ती ठिटीहरूले मलाई समेत के–के सोधी भ्याएछन् :

‘कहाँका मन्ठा हुन्, यहाँ किन आया ?’

‘यतै जागिर खान भया, हाम्मो ठाउँको सेवा गर्या ह ।’ (साथीले जवाफ दिए)

मैले हाँसेर टाउको हल्लाएँ मात्र । त्यै भाषामै उत्तर दिन पाए बडो गज्जब हुन्थ्यो भन्ने पनि लाग्यो । सक्या भा मरिजाउँ । उनीहरूको कुरो सुन्दासुन्दै चाउचाउ भ्याएको पत्तै पाइनँ । त्यै भाषा सुन्दैमा समय कटेको पत्तै भएन । टोली गमगढीको लागि उठेपछि यात्राको भान भयो ।

‘निकाअरी जाउ सर ! फेरि आया यता चाउचाउ खान’ यति भनेर हाँसे ठिटीहरू।

‘झिकै मीठो बन्यायौ चाउचाउ भाउ(नानी), औ औ फेरि आउँदो भए ।’ कनी–कनी यत्तिसम्म बोलेँ ।

यत्ति भनेसी ठिटीहरू खित्कै छोडेर हाँसे । साँझ झमक्कै पर्‍यो, गमगढी पुग्यौँ ।

भोलिपल्ट बिहानै होटलवाला भाइले चिया लिएर आए । भाइको घर बर्दियाको गुलरिया रहेछ । ओ हो ! मेरो पनि दाङको गुलरिया । भाइ पनि नयाँ नै रहेछन्, भर्खरै दुई तीन महिना भएको रहेछ, त्यहाँ काम गर्न लागेको । मुगुको मेरो बसाइँ त्यही दिन मात्र थियो । दशरथ रावल ‘मुगुका स्टाफ’ले मलाई हुम्लासम्म पुर्याउने भाइको बन्दोबस्त गरिसकेका रहेछन् । बिहानै भालेको डाकोसँगै गमगढीबाट हिँड्ने कुरा गरे । साथीहरूले भनेबमोजिम बिहानै आइपुगे भाइ पनि । बिहानै नास्ता खाएर हामी गमगढी छोड्यौँ । भाइ पहिले पनि मुगुबाट हुम्ला गएका रहेछ्न् । त्यसैले पनि यात्रा सहज हुने भयो ।

भाइले सबेरै मुगुको साबिकको बाम गाविस पुर्याए। यो ठाउँ स्याउ उत्पादनको लागि धेरै प्रसिद्ध ठाउँ हो । मलाई जुम्ला हुँदा साथीहरूले बामको स्याउको निकै चर्चा गरेका थिए । त्यसैले पनि मलाई बाम गाविस विशेष थियो । भाइलाई पनि भनेको थिएँ, ‘बाममा हामी केही समय बसौँला, स्याउ खाउँला र स्याउका बोटमा चढेर फोटो पनि खिचौँला ।’ यसो भन्दा भाइ मुसुमुसु हाँस्थे । हाँस्नु स्वाभाविक थियो, पनि । मेरो लागि स्याउको बोटमा चढ्नु, स्याउका बोटमै चढेर स्याउ खानु रमाइलो र विशेष थियो । ती भाइका लागि स्याउ, मेरो लागि नासपाती र आँपजस्तै थियो । साँच्चै हो रहेछ, बामको स्याउ असाध्यै रसिला, मीठा र स्वादिला ।

एकपटक काठमाडौंमा स्याउ प्रदर्शनीमा बामको स्याउ प्रथम भएको रहेछ । धोको पूरा हुने गरी स्याउको बोटमै बसेर स्याउ खाइयो अनि फोटो पनि खिचियो । प्रतिगोटा दुई रूपैयाँमा छानीछानी स्याउ पाइन्थ्यो । जति किनियो त्यत्ति नै बोनसमा पनि पाइयो । बाटोखर्च भनेर स्याउ झोला भरेर फेरि गन्तव्यतर्फ लाग्यौँ, दुई भाइ । बाम छोडेपछि पारि चंखेली हिमाल मुस्कुरायो । जुन हिमाल नेपाल राष्ट्र बैंकको एक रूपैयाँमा अङ्कित छ । नोटमा अङ्कित हिमाल आँखैले देख्न पाउने अहोभाग्य ठानेँ । त्यसैमाथि हिमाललाई दाहिने पारेर यात्रा गर्न पाउनु आफूलाई निकै भाग्यमानी ठानेँ । चंखेलीलाई क्यामेराको ‘जुम’ले भ्याएसम्म जुम गर्दै तस्वीर कैद गरेँ । आफूलाई पनि चंखेलीसँगै उभ्याएर तस्बिर लिएँ ।

लामो हिँडाइपछि बोहराबाडा भन्ने ठाउँ पुग्यौँ । त्यहाँ एउटा होटल रहेछ । भाइले त्यहीँ विश्राम गरौँ भने ।

‘के खान्या हौ सर !’ भाइले सोधे ।

‘जे पाउँछ त्यै खाऔँ भाइ !’ मैले भनेँ ।

वाईवाई चाउचाउमा हरियो स्थानीय साग मिसाएर भकभकी उमाले होटवाला दाइले । साँझ परिसकेको थियो । झण्डै सात बज्न आँटेको थियो । ‘आजलाई यतै बसौँ सर ! भोलि सिमकोट पुग्नपर्छ’, भाइले भने । म त नयाँ मान्छे, त्यसैले सहमति जनाएँ ।

– ‘भोलि सिमकोट पुगिन्छ त भाइ ?’

– ‘पुगिन्छ सर !

– ‘सरको हिँडाइमा भर पर्छ’ होटलवाला दाइले थपे ।

– ‘सर त हिँड्नुहुन्छ, हामीजस्तै’, भाइले भने

– उसो भए मज्जाले पुग्छौ, सिमकोट बेली बाह’, दाइले जोडे ।

भाइले थकाइ मार्न होटलवाला दाइसँग लोकल सोमरस खाने योजना बनाइसकेका रहेछन् । दाइले मेरो लागि कोठा देखाउनुभयो । लिस्नो चढेर माथिल्लो तला पुगेँ । वारिपारि स्याउकाे बोट थिए । तिनै स्याउका बोटमा स्याउ चियाउँदा चियाउँदै भुसुक्कै निदाएछु ।

बिहानै पाँच बजे भाइले उठाए । होटलवाला दाइले कालो चिया तयार गरेका रहेछन् । कालो चिया बोनसमा रहेछ । पैसा राख्न मानेनन् दाइले। दाइसँग बिदा भएर ओरालो लाग्यौँ । आधा घण्टाको पैदल दूरीमा तातोपानी छ । त्यो ठाउँ अलि प्रसिद्ध ठाउँ पनि हो । चारवटा फलामका धारा छन्, त्यहाँ । सबैमा तातोपानी आउँछ । चारवटै फरक धारामा फरक–फरक तापक्रमको पानी आउँछ । पहिलोमा हल्का कम तातो हुँदै दोस्रो, तेस्रो र चौथोमा अलि बढी तातोपानी आउँछ । चौथो धाराको पानी त प्रत्यक्ष छुन नसकिने तातो महसुस गरेँ मैले, चिसो पानी मिसाउन पर्ने । त्यो ठाउँलाई सलीसल्ला हो।त्यो ठाउँमा विशेष गरेर जाडोमा सुदूरपश्चिमका जिल्ला र कर्णालीका अन्य जिल्लाबाट नुहाउनका लागि मान्छेहरू त्यहाँ आउँछ्न् रे । तातोपानीले नुहाएपछि छालासम्बन्धी कुनै रोग लाग्दैन भन्ने जनविश्वास छ । हामी पनि मस्तले नुहायौँ । बिहानै जाडोमा तातोपानीले नुहाउन पाउँदा निकै आनन्दको महसुस भयो ।

विस्तारै भाइलाई पछ्याउँदै हिडेँ । तातोपानीबाट बिहानको खाना खान सर्केगाड पुग्यौँ । सर्केगाडमा सानो बजार नै रहेछ ।मान्छेहरूको चहलपहल अन्यत्रभन्दा अलि बढी नै देखियो। सर्केगाडमा कर्णालीका माछा पनि प्रशस्त पाउँदा रहेछन् । माछा र स्थानीय चामल (मार्सी)को भात खाने निधो गर्यौं । दुवैजना एकछिनको विश्रामपछि फ्रेस भयौँ। नजिकै कर्णाली सुसेल्दैछ । कर्णाली सुसेलेको हेर्दै खाना खानुको आनन्दले स्वर्गानुभूति नै गरायो। । त्यहाँका माछा पनि कति मीठा । थकानले होला खाना पनि अलि बढी नै खाइयो । सर्केगाडलाई पनि बाइ भनेर अगाडि हिँडियो।

सर्केगाडबाट करिब दुई घण्टा हिँडेपछि रिपगाड पुगिन्छ । रिपगाडमा पूरै गाउँ खिर्लिप्पै माछा मार्दै रहेछन् । ‘रिपको माछा खाएर जाने सर !’, भाइले सोधे । ‘यो मौका कहाँ चुकाउनु त !’, मेरो जवाफ । भाइ पनि मुस्कुराए । रिपको एउटा होटलमा फेरि कर्णालीका माछा खायौँ । रिपगाडबाट पुग अगुप एकघण्टा हिँडेपछि झण्डै पैंतालीस मिनेट हिँड्नुपर्ने ठाडै छारेको उकालो रहेछ । रिपको माछा त्यही उकालोले खर्ल्यापखुर्लुप खाइदियो ।

जब डाँडामा पुगियो अनि सगरमाथा नै चढेको भान भयो । युद्ध नै जितेझैँ भयो । अर्कोतिर मुटुको धड्कन दुईगुणा तेज धड्किँदै थियो । विस्तारै धड्कनको गति पनि कम भयो । अब पालो ओरालोको थियो । उकालोमा मुटुको गति तेज भयो भने ओरालोमा कुर्कुचाको ब्रेक । ओरालो झरेपछि एकछिन पाँजुलो हिँडेपछि सुनाखाडा पुग्यौँ । सुनाखाडामा एकछिन विश्राम गर्यौं । सिमकोटबाट विभिन्न गाविस हिँडेका र केही सिमकोट जान हिँडेका मान्छे पनि भेटिए । त्यहाँबाट भाइसँगै सिमकोट जाने अरू साथीहरू पनि जोडिएँ ।

सुनाखाडाबाट तीस मिनेट जति हिँडेपछि बोक्चेगौडा भन्ने ठाउँ आउँछ । त्यहाँ चिया नास्ता खाने कुरा भयो भाइसँग । बोक्चेगौडामा चिया पिउँदा बोक्चेगौडा नाम हुनुको बडो रमाइलो किस्सा सुन्न पाइयो । कर्णाली पारि बाख्रीलाई देखेर बोक्चे (बोका)ले कर्णाली वारिबाट हाम फालेर पारि बाख्री भेट्न गएछ । बोक्चेले कर्णाली पार गरेको हुनाले त्यो ठाउँको नाम बोक्चेगौडा रहन गएको रहेछ । हामीसँगै सिमकोट हिँडेका बूढाबाले सुनाउनुभयो । अनौठो पनि लाग्यो अनि बडो गजबको पनि ।

चिया नास्ता खाएर हामी फेरि कर्णालीको छालसँगै डेउडा गाउँदै यात्रा सुरु गर्यौं । याङ्चु हुँदै खार्पुनाथसम्म पुग्यौँ । खार्पुनाथ हुम्लाको धार्मिक र सांस्कृतिक महिमा बोकेको ठाउँ हो । कर्णाली नदी छेउमा खार्पुनाथ मन्दिर अवस्थित छ । मन्दिर नजिकै नदी तटमा घाट छ । हुम्ला सदरमुकामदेखि खार्पुनाथ नजिकै पर्ने गाविसहरूबाट मन्दिरको दर्शन गर्न र मृत्युपश्चात दाह संस्कार गर्न पनि खार्पुनाथ आउने रहेछन्, त्यहाँका बासिन्दा । खार्पुनाथमा दोजामबाट बगेर आउने ठूलो खोला, दोजामखोला र कर्णाली मिल्ने दोभान पनि छ । धार्मिक र सांस्कृतिक रूपले धेरै प्रसिद्ध यो ठाउँमा माघेसंक्रान्तिमा ठूलो मेला लाग्दो रहेछ । कर्णालीको छेउमा तातोपानी छ । जाडो याममा तातोपानीमा नुहाउनेको घुइँचो नै हुन्छ रे । हामीसँगै हिडेका तिनै बूढाबाले इतिहाससँगै त्यहाँको संस्कृतिको पनि जानकारी दिँदै हिँडे ।

अबेर हुँदै थियो । झमक्क रात पर्दै थियो । खार्पुनाथको दर्शन मन्दिर बाहिरैबाट गरेर सिमकोटतर्फ लाग्यौँ । अब भने कर्णाली नदी र कर्णालीको सुसेलीलाई पनि छोड्नुपर्ने भयो । कर्णाली नदीसँगको पैठेजोरी खार्पुमा आएर सकिँदोरहेछ ।

‘अब कति लाग्छ सिमकोट पुग्न ?’ मैले सोधेँ ।

‘हिँड्ने मान्छेलाई एकघण्टा लाग्छ’, बूढाबुले उत्तर दिए ।

म पनि उनीहरूकै तालमा पछिपछि लागेँ । साँझ परेर हो कि सदरमुकाम आउँदैछ भनेर हो टोलीले हिँडाइको रफ्तार अलि बढाए । केहीछिनमै हिल्दुम खोला पुग्यौँ । हिल्दुम खोलाबाट सदरमुकामको शिव मन्दिर मात्र देखिँदोरहेछ । सदरमुकाम, सिमकोट पुग्न अब आधाघण्टाको ठाडो उकालो रहेछ । त्यो उकालोसँग पनि नभिडी सुखै थिएन । त्यो उकालोलाई स्याम्ने भन्दो रहेछ । हिल्दुममा चिसो पानी पिएर सुरु भयो स्याम्नेसँगको भिडाइ । साँच्चै स्याम्नेको उकालो अलि पृथक उकालो रहेछ, नागबेली उकालो । बसेर थकान मार्ने ठाउँ कतै पनि छैन । उक्लेको उक्ल्यै गर्नुपर्ने । मुटुको गति फेरि बढ्यो ।

‘बोक्चेको कथा सम्झनुस् सर ! उकालो काट्न सजिलो हुन्छ’, ठट्टा गरे बूढाबाले । बूढाबाका ठट्यौली कुरा सुन्दै हाँस्दाहाँस्दै उकालो कटेको पत्तै भएन । स्याम्नेको अन्तिम टुप्पोमा पुर्यायो हाँसोले। टुप्पोसँगै साँझको झिलिमिली सिमकोट टेकियो । सिमकोटको झिलिमिलीले मन पनि झिलमिली भयो । पारी रानीबनको डाँडा माथिबाट सेतो हिमाल सेता दन्त देखाउँदै मलाई स्वागत गर्यो। पसिना पुछेर मुस्कुराउँदै थ्यान्क यु भने वारिबाट।