‘विजयजी, अब हामीले दश वर्ष मज्जाले सहकार्य गर्नुपर्छ है ? त्यसपछि तपाईंहरूले फड्को मार्दै अगाडि बढ्ने । हामी बुढाखाडाले विश्राम लिने ।’ २०७९ सालको साउन ३० गते काठमाडौँबाट सिन्धुली जाँदा गोविन्द गजुरेल सरले भनेका ती शब्द मेरो कानमा निरन्तर गुञ्जिरहेको छ अहिलेसम्म पनि ।

गजुरेल सरको बारेमा खासमा उहाँको प्रशिक्षणकलाको बारेमा विनय कसजूबाट पटक पटक सुनेको थिएँ । २०६९ असोज २५ देखि २७ सम्म मकवानपुरको टिस्टुङमा बालकथा लेखकहरूको लागि प्रशिक्षक प्रशिक्षण (त्इत्) तालिम भएको थियो । प्रशिक्षकको भूमिकामा थिए, गोविन्द गजुरेल । हो त्यही बेलाबाट नै मैले उनको सामीप्यमा रहने पहिलो मौका पाएको थिएँ ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्र स्थापनादेखि नै विनय सर र मैले बालसाहित्यको क्षेत्रमा नयाँ के गर्न सकिन्छ भनेर छलफल गर्दथ्यौँ । हामी आफूले जानेको सिप अरूलाई हस्तान्तरण गर्न चाहन्थ्यौँ । बालसाहित्य लेखकको विषयवस्तुको हिसाबले हामी विज्ञ नै थियौँ । आफूसँग भएका विज्ञतालाई अरू समक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्नको लागि चाहिँ हामीले पनि प्रशिक्षण लिनुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ । हामीलाई प्रशिक्षण दिन सक्ने उपयुक्त व्यक्ति को हुन सक्छ भनेर विचार विमर्श गर्‍यौँ । सबैभन्दा उपयुक्त प्रशिक्षक गोविन्द गजुरेल हो भनेर विनय कसजूले प्रस्ताव गरे ।

‘बोलाऔँ न त, यसको जिम्मेवारी तपाईं नै लिनुस् ।’ मैले आग्रह गरेँ । ‘हुन्छ, व्यस्तता कस्तो छ ? म फोन गरेर निधो गर्छु ।’ यसरी प्रशिक्षक प्रशिक्षणको साइत जुरेको थियो ।

मेरो सङ्गत त्यस्तैसँग मात्र भएर होला, किन किन बौद्धिक ट्याग लागेका व्यक्तिहरूसँग सङ्गत अप्ठ्यारो लाग्थ्यो । आफ्नै भोगाइले त्यस्ता व्यक्ति रूढ र आडम्बरी हुन्छन् भन्ने गहिरो छाप पारेको थियो ।  मनमनै लागेको थियो यो यात्रा पनि भारी हुने भयो ।

अचम्म ! मुसुक्क मुस्कुराउँदै ठट्यौली पाराले कुरा गर्दै गाडीमा चढेदेखि तालिम अवधिसम्मको क्षणलाई बडो रङ्गिन र उमङ्गमय बनाए उनले । तत्कालै जोसुकैसँग घुलमिल भैहाल्ने । ठट्टा, हाँसो मिश्रित कुराकानी तथा रमाइलो वातावरणमा सम्पन्न भएको थियो त्यो तालिम । र त, त्यो क्षण अविस्मरणीय बनेर ताजै बसेको छ अहिलेसम्म ।

मलाई यतिसम्म थाहा थियो- गोविन्द, सिपी र हरिबोल भाइभाइका छोराहरू हुन् । जनक चालिसे पनि तिनैमध्ये कसैकी बहिनी हुन् । ठ्याक्कै कसकी बहिनी हुन् भन्ने चाहिँ थाहा थिएन । जनक चालिसेसँग मेरो पचपन्न सालदेखि नै परिचय थियो ।

‘सर, जनक चालिसेलाई चिन्नुहुन्छ ?’  मैले सोधेँ ।

‘चिन्छु,’ उनले भने ।

‘के भन्नुपर्छ नि ?’ मैले सोधेँ ।

‘के भन्नुपर्छ ? त्यो छुट्टयाउने जिम्मा तपाईंको । सत्य कुरा यही हो उनलाई जन्म दिने बाबाआमा र मलाई जन्म दिने बाबाआमा एउटै हुनुहुन्छ ।’ एकछिनको अलमलपछि सबैले कुरा बुझेपछि गाडी हाँसोले गुञ्जायमान भएको थियो । उनको ध्याउन्न नै यात्रामा वातावरणलाई कसरी रमाइलो बनाउने भन्ने हुन्थ्यो होला सायद । प्रश्नको उत्तर दिँदा पनि त्यस्तै खालका शब्द चयन गरेर दिन्थे । मुखै हास्यरसले भरिएको जस्तो ।

जिन्दगीमा औपचारिक र अनौपचारिक गरेर धेरै गुरुहरूबाट दीक्षा लिइयो । जिन्दगीमा अगाडि बढ्न सबै गुरुबाट प्राप्त दीक्षाले धेरथोर पक्कै काम गरेको छ । जिन्दगीको राजमार्गमा कुद्नका लागि भने दुई गुरुहरू विनय कसजू र गोविन्द गजुरेलको दीक्षाले ठुलो काम गरेको छ ।

म गत डेढ वर्षदेखि पाँच वर्षे लक्ष्य राखेर पूर्णकालीन कथा लेखन प्रशिक्षक भएको छु । यो मार्गमा हिँड्नका लागि सैद्धान्तिक रूपमा विनय कसजू र व्यवहारिक रूपमा गोविन्द गुजुरेलको महत्त्वपूर्ण हात छ  । म दुवै गुरुहरूप्रति कृतज्ञ छु । मैले यी दुई मध्ये एकलाई भेट्न नसकेको भए पनि म सफल प्रशिक्षक बन्न सक्ने थिइन ।

तालिमबाट फर्केपछि हाम्रो बेलाबेला भेटघाट र भलाकुसारी हुन थाल्यो । २०७३ सालको सुरुमै उनले बालवाङ्मय तथा अनुसन्धान केन्द्रमार्फत मुस्ताङको जोमसोम गएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएर वातावरण सम्बन्धी कथा लेखाउन प्रस्ताव गरे । त्यसको लागि प्रकृति संरक्षण कोषमा प्रपोजल पठाउन भने । मैले विनय सरले तयार गरेको प्रपोजल लगेर दर्ता गरेँ । किन हो त्यो प्रपोजल पास हुन सकेन । मैले छ पटकसम्म प्रकृति संरक्षण कोषको कार्यालय धाउनु पर्‍यो । दुई पटक त विनय सरलाई स्कुटीमा राखेर लिएर गएँ ।

छैटौँ पटकमा पक्का हुने भएकाले विनयजीलाई पनि लिएर आउनु भन्ने खबर पाएँ । मैले त्यसै गरेँ । त्यति बेलासम्म गोविन्द सर र म निकै हिमचिम भइसकेका थियौँ । म पनि उहाँसँग ठट्यौलो पारामा कुरा गर्ने भइसकेको थिएँ । मेरो जिल्लावासी मित्र नुमाराम खनाल गोविन्द सरको सचिवालयका अधिकृत थिए । गोविन्द सर र म घुलमिल हुनुमा नुमाराम खनाल पनि एक कारक थिए ।

प्रोजेक्ट प्राप्त गर्ने दिन विनय कसजूलाई लिएर गएको थिएँ । गोविन्द सरले पत्र विनय कसजूको हातमा थमाउँदै मुसुक्क मुस्कुराउँदै भने, ‘विनयजी, दुईजना प्रशिक्षक पठाउनु पर्ला । एकजना विजयी भई हाल्नुभयो । धेरै धाउनु पर्‍यो । सरी है विजयजी !’ उनी मतिर फर्के । उपयुक्त व्यक्ति विनयजीले हेरेर गरिहाल्नु हुन्छ । विश्वास छ राम्रो परिणाम आउने छ । ल विजयजी वेस्ट अफ लक भनेर मलाई अँगालो मार्दै बिदा गरे ।

बाल्यकालदेखि नै धेरै सुनेको, धेरै जिल्ला घुमिसक्दा पनि  पुग्न नभ्याएको, त्यति बेलासम्म एकाध पटक मात्र प्लेन चढेको । प्लेन चढ्ने रहर त बाँकी नै थियो । काठमाडौँ-पोखरा, पोखरा-जोमसोम, जोमसोम-पोखरा पोखरा-काठमाडौँ । चारपटक प्लेन चढ्न पाउने भएकाले पनि मन रोमाञ्चक थियो । मनभरि रमाइला तर्कना सजाउँदै घर पुगेँ ।

त्यसको पर्सिपल्ट बालवाङ्मय तथा अनुसन्धान केन्द्रको बैठक विनय कसजूको घरमा बोलाइयो । अनौठो उत्साह बोकेर बैठकमा गएँ । बैठकको प्रारम्भमा नै विनय कसजूले बडो कठोरका साथ भने ‘कहिलेकाहीँ अध्यक्षले पनि भिटो पावर प्रयोग गर्नुपर्छ । जोमसोम को जाने त्यो निर्णय म गर्छु । एकजना पुरुष र एकजना स्त्रीको नाम लिएर जोमसोम उहाँहरू दुईजना जानुहुने छ ।’ उनको बोलीमा अहमता थियो नै, शिर भने भुइँतिर झुकाएका थिए ।

सबैजना चुप लागे । कसलाई के मतलब र, मैले यो प्रोजेक्टको लागि गरेको परिश्रमको बारेमा । म त छाँगाबाट झरेझैँ झस्किएँ । साह्रै चित्त दुख्यो । स्वाभिमानमा गहिरो ठेस लाग्यो । किन किन ओठ थरथर कामे । मनमा घृणा उर्लिएर आयो ।

आखिर केले प्रेरित गर्‍यो विनय कसजूलाई मलाई यति साह्रै अपमान र तिरस्कार गर्न ? केको बदला लिए उनले मसँग ? त्यसपछिका दुई दिन म अफिस जान पनि सकिन । केही काम गर्न पनि सकिन । अति विश्वास गरेको मानिसबाट विश्वासघात हुँदाको पीडा भोगिरहेको थिएँ ।

तेस्रो दिनमा मित्र अनन्त वाग्लेको फोन आयो । उनले सुरुमै भने ‘तिम्रा बाले तिमीलाई धोका दिहाले । क्यार्चौ तो ! बा भनेसि हामीलाई बाल दिन्नथ्यौ । बल्ल खाऊ । ठट्टा गरेको है । अन्यथा नलिनू । साँच्चि म्याग्दी बेनीबाट एउटा तालिमको लागि प्रस्ताव आएको छ, जान्छौ त ?’ उनले सोधे । उनको यो प्रस्तावले मलाई ठुलो राहत मिलेझैँ भयो । तीन दिनदेखि आफैलाई भारी बनाएर गह्रुङ्गो भएको टाउको एक्कासि छङ्ग भयो । ‘अँ जान्छु,’ मैले एकै सासमा जवाफ दिएँ ।

बेनीको वेयस्ट प्वाइन्ट स्कुलले १०३ औँ भानुजयन्तीको उपलक्ष्यमा २०७३ असार २७, २८ र २९ गते तीन दिने कथालेखन कार्यशाला राखेको रहेछ । पीडालाई मनको कुनामा थन्क्याएर मित्रले जुराइदिएको अवसर कार्यान्वयन गर्न हिँडेँ बेनी बजारतिर ।

जिन्दगीमा त्यति धेरै सङ्ख्यामा तालिम दिएको त्यो पहिलो कार्यशाला थियो । बाउन्न जना सहभागी थिए । सबैले कथा लेखे । विद्यालयबाट कथा सम्पादन कसले गर्छ भनेर सोधिएको थियो । मैले विनय कसजूको नाम र नम्बर दिएँ । एक दिन विनय सरले फोन गरेर आफूले कथा सम्पादन गरेर पठाएको र पारिश्रमिक पनि पाएको कुरा बताए । त्यतिबेला मन प्रफुल्ल भयो, बैगुनको बदला गुनले तिर्न सकेकोमा ।

गोविन्द गजुरेल यस्ता गुरु थिए । उनको लागि मैले केही गर्नुपरेन । उनले मलाई बारम्बार अवसर दिए । उत्साह, हौसला र प्रेरणा दिइरहे । त्यसपछिका दिनमा गोविन्द सर बेलाबेलामा भेटघाट हुन्थ्यो । २०७८ साल असार लाग्दै गर्दा एकदिन म्यासेन्जरमा विजयजी तपाईंको नम्बर पाउन भन्ने सन्देश आयो । उनले सिधै भने, ‘विजयजी मलाई अलिकति सघाउनु पर्‍यो ।’

‘मैले हजुरलाई सघाउन पाउनु मेरा लागि गौरवको कुरा हो । भन्नुस् सर मैले के गर्नुपर्‍यो ?’ मैले भनेँ ।

‘हामीले सिन्धुलीमा शिक्षाको क्षेत्रमा केही गर्न खोज्दै छौँ । त्यसै सिलसिलामा बालबालिकाको सिर्जनशील क्षमता विकास गर्न कथालेखन कार्यशाला राख्ने निधो गर्‍यौँ । यहाँले कष्ट गर्नुपर्‍यो ।’
‘के को कष्ट नि, मलाई काम दिनुभएकोमा आभारी छु । त्यहीमाथि गुरुको अनुरोध । गुरुकै जन्मस्थानमा कर्म गर्न पाउनु एउटा शिष्यलाई त्योभन्दा गर्वको कुरा के नै हुन्छ र ?’ मैले सहमति मात्र जनाइन, अवसर दिएकोमा कृतज्ञता व्यक्त पनि गरेँ । तालिमबाट फर्केपछि मात्र थाहा पाएँ धेरैजनाको नाम हटाएर मलाई छानिएको रहेछ ।

सिन्धुलीको तालिम दिने कार्यक्रम भेट्टाउन गोविन्द सर, देवकुमार सुनुवार, सारा सुनुवार र म उज्यालो नहुँदै गोविन्द सरको गाडीमा कोटेश्वरबाट हुइँकिएका थियौँ सिन्धुलीतिर । धुलिखेल पुग्दा बल्ल मिर्मिरे उज्यालो भएको थियो । त्यहाँसम्म त जनजीवन सामान्य थियो ।

धुलिखेल काट्ने बित्तिकै कोभिडको कारण वातावरण आतङ्कित देखियो । जनजीवन अस्तव्यस्त थियो । वातावरण हेर्दा  कर्फ्यु लागेको आभास हुन्थ्यो । बजार जताततै बन्द थिए । राजमार्ग चकमन्न थियो । डराइडराई यात्रालाई निरन्तरता दियौँ । सिन्धुली बजार पुग्नै लाग्दा एउटा होटेल खुल्ला रहेछ । त्यहीँ खाना खायौँ । होटेल सिन्धुली इनमा झोला थन्क्याएर सिधै हानियौँ कार्यक्रम स्थलतिर । जनज्योति मा.वि. फोर्सेटारमा पुग्ने बित्तिकै जानकारी भयो- प्रशासनले कार्यक्रम गर्न रोक लगायो ।

त्यो समाचार सुनेर गोविन्द सरका सेता गाला एकाएक पाकेका खुर्सानीझैँ भए । एकछिन अलमल भयो । के गर्ने के नगर्ने भयो । एकछिनमा मेयर आए । उनी पनि गोविन्द सरका विद्यार्थी रहेछन् । कार्यक्रम गरौँ, परेको म बेहोर्छु भने । त्यस विद्यालयका प्रधानाध्यापक भिम विक्रम थापा पनि गोविन्द सरका चेला रहेछन् । उनी कड्किँदै भनिरहेका थिए, ‘हेडसरको कार्यक्रम रोक्नै हुन्न । जसरी भए पनि गरौँ । जेल जान परे म जान्छु ।’ हेडसरको कार्यक्रम भनिरहँदा उनी भने हेडसरकै कुर्सीमा थिए ।

लामो छलफलपछि निष्कर्ष निस्कियो- स्वाथ्यको सावधानी अपनाउने, दूरी कायम राख्ने र प्रशिक्षण सञ्चालन गर्ने । मेरो जिम्माको कथा लेखन कार्यशाला प्रारम्भ गरेँ । मैले प्रशिक्षण दिइरहेको समयमा बेला बेलामा कक्षामा आएर मक्ख परेर हेर्थे । बाहिर गएर झ्यालबाट चियाउँदै बुढी औँला उचालेर गुड भनेको देख्थेँ । त्यो दृश्य देख्दा मलाई गर्वको महसुस हुन्थ्यो । एक गुरुले चेलालाई दिएको एक प्रोत्साहन थियो त्यो । त्यो क्षण मलाई गुरुकै अगाडि गुरुले नै गर्व गर्न लायक कर्म गरेछु जस्तो लाग्यो । खुसीले मन प्रफुल्ल भयो ।

गोविन्द सर सिधै अगाडि त्यस्तो प्रशंसाको लोकाचार गर्दैनथे । बरु अरू समक्ष मुक्त कण्ठले प्रशंसा गर्ने र सिफारिस गर्ने काम गर्थे । एकपटक हामी बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सम्मेलन सम्पन्न गर्ने सिलसिलामा छिम्का लेक जाने क्रममा मित्र कवि प्रोल्लास सिन्धुलीयले भनेका थिए- ‘के छ यार तपाईंमा ? गोविन्द सर आफैँ विख्यात प्रशिक्षक हुन् । उनी पनि तपाईंको प्रशंसक छन् ।’ ममा त्यस्तो ज्यादा केही छैन, मात्र गुरुको माया र सद्भाव हो ।

साँझ होटेल फर्क्यौं । शारीरिक र मानसिक दुवै हिसाबले थकित थिएँ ।  थकाइ मार्न पहिला गोविन्द सरको प्रिय पेय, एक एक कप कफी पियौँ । एक एक प्याक पनि घुट्क्यायौँ । त्यही कुनामा वयटरलाई फोटो खिच्न लगायौँ । त्यो फोटो मैले फेसबुकमा पोस्ट गरेँ । अर्को दिन म कक्षामा प्रशिक्षण दिइरहेको थिएँ । कक्षाबाहिर सिटी नेपालका महासचिव देवकुमार सुनुवारले मोबाइलमा लामो कुरा गरेको, बिच बिचमा मेरा नाम उच्चारण गरेको मेरो कानमा ठोम्किरहेको थियो । उनले फोनमा भन्दै थिए, ‘यो कार्यक्रम गोविन्द गजुरेल सरको पहलमा भएको हो । गोविन्द सर र विनय सर साथी हुनुहुँदो रहेछ । अहिले यहाँ ल्याएको प्रशिक्षक विनय सरको मान्छे हुनुहुँदो रहेछ । त्यसैले उहाँलाई ल्याइएको रहेछ । उहाँलाई मैले चिनेको यही कार्यक्रम आउने क्रममा मात्र हो । यसभन्दा पहिले मेरो चिनजान थिएन ।’ यस्तै यस्तै ।

साँझ होटेल पुगेपछि मैले देवकुमारजीलाई सोधेँ, ‘हैन, आज तपाईंलाई फोनमा कसले केरकार गर्दै थियो ? बिचबिचमा मेरो नाम पनि लिनुभएको थियो ।’ सुरुमा त उहाँले मुख खोल्नुभएन । पछि लामो सास तानेर भने, ‘हैन हो, तपाईं बालसाहित्यकारहरू बिच के के छ कुन्नि ?’ भएको के रहेछ भने एकजना भाइसरहको बालसाहित्यकारले त्यो क्षेत्रमा उसलाई किन प्रवेश गराएको भनेर आपत्ति जनाएका रहेछन् ।

सुन्दै अचम्म लाग्यो मान्छेहरूको स्वार्थी चरित्र देखेर । मैले उनको कहिल्यै कुभलो चिताइन । ती भाइ केही वर्ष पहिले मेरो गृहजिल्ला प्युठानमा कुनै संस्थाको कामले केही समय बस्ने गरी गएका थिए । मैले उनलाई बारम्बार फोन गरेर हाम्रो जिल्लामा गएका छौ, केही समस्या परे भन है भनेर पटक पटक सम्झेँ । आफ्नो जिल्लामा गएको पाहुनाले दुःख नपाओस् भन्ने मेरो ध्येय थियो । आज उनले आफ्नो चरित्र देखाए । धन्यवाद दिनुका विकल्प के नै पो छ र ?

मैले गोविन्द सरसित आधा दर्जन पटक काठमाडौँदेखि सिन्धुलीसम्मको यात्रा गरेको थिएँ । यस्तो लाग्थ्यो- वि.पी राजमार्गको उनी विज्ञ हुन् । त्यस सडक वरिपरि भएका बोटविरुवा, गाउँबस्ती, नदीनालादेखि जङ्गलसम्म सबैको उनलाई गहिरो ज्ञान थियो । ती सबैको बारेमा उनी केही न केही कथा हालिहाल्थे । राम्रो कथा वाचनको शैलीमा कथा भन्थे । उनले कथा सुनाउँदा सुनाउँदै काठमाडौँबाट सिन्धुली र सिन्धुलीबाट काठमाडौँ पुगेको पत्तै हुँदैनथ्यो । हामी मन्त्रमुग्ध भएर सुनिरहेका हुन्थ्यौँ । उनले आजलाई यति, बाँकी अर्को भेटमा भनेर टुङ्ग्याउँदा हामी गन्तव्यमा पुगिसकेका हुन्थ्यौँ ।

यात्राकै क्रममा ए भाइ एकछिन मिलाएर साइड लगाउन भने भने गोविन्द सरले हामीलाई कुनै जानकारी दिँदै छन् भन्ने प्रस्ट हुन्थ्यो । एकपटक काठमाडौँबाट सिन्धुली जाँदै थियौँ । सिन्धुली गढी छिर्ने द्वारअगाडि गाडी रोक्न लगाएर तल जङ्गलतिर देखाउँदै रोचक शैलीमा भने, ‘अङ्ग्रेजहरू ऊ त्यो जङ्गलबाट अगाडि बढ्दै रहेछन् । एक्कासी बारुला र अरिङ्गालहरूले चटाचट रोक्न थालेछन् । सिस्नाले पोलेर कुइरेका छालामा राता चाला बसेछन् । अङ्ग्रेजहरू आजित भएछन् र भनेछन्- नेपाली मान्छेहरू त बहादुर छन् नै रुखबिरुवा र कीरा-फट्याङ्ग्रामा पनि करेन्ट कनेक्सन हुँदो रहेछ । उनीहरू त्रस्त बनेछन् र त्यहीँ गोला बारुद फ्याँकेर कुलेलम ठोकेछन् । नेपालको शिर उच्च राख्नमा अरिङ्गाल, बारुला र सिस्नाको पनि ठुलो हात छ । तिनको सम्मान गर्नुपर्छ ।’ उनले यो कथा सुनाउँदा मनै चङ्गा भएको थियो ।

‘कथा अहिले सुनाएँ । गढी चाहिँ फर्कंदा घुमाउँछु है विजयजी ?’ यति भनेर हामी गाडीमा चढेर सिन्धुलीतिर झर्‍यौँ । फर्कंदा गढी घुम्ने रहर बोकेर आएका थियौँ । त्यहाँ आउँदा यति ठूलो पानी पर्‍यो कि गाडीबाट बाहिर निस्कने अवस्था रहेन । एकछिन गाडीभित्रै बसेर रोकियौँ । पानी रोकिनुको सट्टा झन् बढ्दै गएकोले यसपालि गढी घुम्न जुरेको रहेनछ । अर्को पटक आउनु छ । त्यति बेला घुमौँला । गोविन्द सरको प्रस्तावलाई हामी सबैले स्विकार्नुको विकल्प थिएन । कुद्यौँ काठमाडौँतिर ।

गढी घुमाउने रहर अधुरो भएको कुरा उनले सम्झिरहेका रहेछन् । दोस्रो पटक सिन्धुली जाँदा आफू केही दिन उतै भुल्ने र व्यस्त रहने भएकाले आफ्ना शिष्य हेडसर भिम थापालाई ट्याम्पोमा लगेर घुमाइदिन आग्रह गरेका थिए । त्यो बेला पनि घनघोर पानी परेकाले सिन्धुलीगढी घुम्ने धोको अधूरै रह्यो । गजुरेल सरसँग सिन्धुलीगढी घुम्ने धोको उनको जीवनकालमा पूरा हुन पाएन । उनी दिवङ्गत भएको झण्डै एक वर्षपछि त्यो धोको देवकुमार सुनुवारले पूरा गरिदिए । २०८० साल साउन ३ गते सिन्धुलीको प्रशिक्षण सकेर फर्कने बेलामा  । आहा ! कस्तो मनोरम दृश्य । गोविन्द सर भएको भए त्यस ठाउँको कति रमाइलो कथा सुनाउँथे होलान् । गढी घुमुन्जेल गोविन्द सरको झलझली सम्झना भइरह्यो ।

सिन्धुलीबाट काठमाडौँ फर्कने क्रममा नै हो, गाडी आफ्नै गतिमा गुडिरहेको थियो । हामी गोविन्द सरको किस्सा सुन्नमा मस्त थियौँ । सडकमुनि रोशी खोला सुसाइरहेको थियो । ‘भाइ, गाडी साइड लगाउन’ गोविन्द सरले केही छुटेजसरी भने । हामी सबैलाई गाडीबाट ओर्लन आग्रह गरे । रोशी खोलामा भएको पुल देखाउँदै भने, ‘हेर्नुस्, त्यो पुल ब्रिटिसहरूले बनाएका हुन् । उनीहरूले त्यो पुलमा पनि आफ्नो कलाकृति ठ्याक्कै उतारेका छन् । अङ्ग्रेजहरू जहाँ जान्छन् आफ्नो भाषा, कला र संस्कृतिलाई सँगै लिएर जान्छन् । उनीहरूले रोशी खोलामा अरू ठाउँमा पनि यस्तै पुल बनाएका थिए । अरू भत्किए । यो चाहिँ अझै चलनचल्तीमा छ । सहभागी मध्ये केही पुलमै पुगेर स्पर्श गरे । गोविन्द सरले सडकछेउमा लटरम्म फलेको सीताफल एक झोला टिपे र सबैलाई बाँडिदिए । आहा ! क्या मस्तीको हुन्थ्यो गोविन्द सरसँगको यात्रा ।

‘अहिले हामी गाडीमा गुडिरहेका छौँ । म यो बाटो धेरैपटक पैदल कुदेको छु ।’ यात्रैपिच्छे किस्सा सुनाउँथे उनी । गाडी चल्नुभन्दा पहिला त्यही बाटो भएर काठमाडौँ आउने जाने गर्दा रहेछन् । उनका पैदल यात्रा ताकाका किस्सा पनि कम्ता रमाइला छैनन् । एकपटक सुनकोसीमाथिको डाँडामा जहाँ अहिले ऐनै ऐना राखिएको छ । ‘ए भाइ, यसो मिलाएर गाडी रोक त ।’
गाडी रोकेपछि हामीलाई थाहा भइहाल्यो अब केको बारेमा बताउँदै छन् सरले । डाँडाबाट तल देखाउँदै भने, ‘हामी पैदल हिँड्दा ऊ त्यो सुनकोसीको किनार अलि माथि भिरको बाटो हिँड्थ्यौँ । राम्रोसँग पाइला राख्ने ठाउँ पनि थिएन । चिप्लो र अप्ठेरो थियो । खुट्टा कमाइ कमाइ हिँड्थ्यौँ । अलिकति तलमाथि भयो कि छप्ल्याक्कै सुनकोसीमा, जीवन लीला समाप्त ।’ सुन्दै आङ सिरिङ हुने ।

त्यही दिन रोशी खोलामा पनि गाडी रोक्न लगाए । गाडीबाट ओर्लिएर सडकमाथिको भिरतिर देखाउँदै भने, ‘वर्षाको समय थियो । बाटो एकदम चिप्लो थियो । रोशी खोला छ्वाङछ्वाङ उर्लेको थियो । वातावरण चकमन्न थियो । होसियारीपूर्वक हिँडिरहेको थिएँ । स्वात्तै चिप्लिएर तल झरेँ । झण्डै उर्लिएको रोशीमा झ्वाम्मै भएको । बल्ल बल्ल भिर कटेर चौतारामा पुगेँ । उफ् ! ठुलो कालबाट बचेजस्तो भयो । एक छिनसम्म छिटो छिटो सास फेरेँ । अहो ! मरेको भए खान नै पाइने थिइन भनेर घरबाट ल्याएको खाजा कपाकप खाएँ ।’ उनले मुख मिठ्याउँदै भनेका थिए ।

यो मार्गमा उनीसँग सम्बन्धित धेरै रोचक प्रसङ्गहरू छन् । त्यति बेलाका उनका सहपाठी, अहिलेका वरिष्ठ राजनीतिक विश्लेषक श्याम श्रेष्ठको घरमा बास बस्दा उनका बुबाआमाले दिएका माया कृतज्ञताका साथ सम्झिरहन्थे । पैदल यात्राकै क्रममा एक दिन तिनपिप्लेको एउटा घरमा बास बसेछन् । उनी बास बसेको घरमा मध्यरातमा स्वाई स्वाई खुकुरी उद्याएको आवाज सुनेछन् । लौ सिद्ध्याउने भए भनेर डरले थरथर काम्दै बसे रे । अर्को दिन बिहान भालेको डाकभन्दा पनि पहिले कुलेलम ठोकेछन् । यस्ता धेरै किस्सा सुनाउँथे उनले यात्रामा ।

उनीसितको अर्को रमाइलो यात्रा थियो रामेछापको बाम्ती भण्डारसम्मको । बालसाहित्य महोत्सवमा भाग लिनको लागि हामी त्यहाँ गएका थियौँ । यात्राकै क्रममा हामी कफी खान रोकियौँ । चिया अर्डर दिएर भने ‘ल हिँड्नुस् मसँग । चिया पाकुञ्जेल एउटा रोचक कथा सुनाउँछु ।’ उनले हामीलाई सरासर पुलछेउमा लगे । अनि नदीपारि माथिको डाँडा देखाउँदै भने ‘ऊ त्यो डाँडाको नाम ल्याङ ल्याङ हो ।’

‘आहा ! कति रमाइलो नाम । त्यो डाँडाको नाम ल्याङ ल्याङ कसरी रह्यो होला ?’ नेत्र तामाङले उत्सुकताका साथ सोधे ।

‘यसको पनि रमाइलो कथा छ नेत्रजी । तपाईंहरूको भाषामा ल्याङ भनेको के रे ?’ उनले मुसुक्क मुस्कुराउँदै सोधे ।

‘ल्याङ भनेको मित हो सर ।’ नेत्रले जवाफ दिए ।

‘अब सुन्नुस् है, म कथा भन्छु । यो डाँडामा मेला लाग्थ्यो । मेलामा खुबै झैझगडा हुन्थ्यो रे । एक पटक दुई जना केटाहरू बिच घमासान लडाइँ भएछ । ठुलाबडाले झगडालुहरूलाई सम्झाउँदै भनेछन् ‘झगडा नगर । आजबाट तिमीहरू ल्याङ ल्याङ (मित मित) भयौ’ भनेर सम्झाएछन् । झगडा गर्नेहरू पनि दुस्मनबाट मित मित भए । त्यति बेलाबाट त्यो ठाउँको नाम पनि ल्याङ ल्याङ रहन गयो ।’ उनले रमाइलो पाराले कथा सुनाए । हामी मक्ख परेर सुनिरह्यौ । रमाइलो गर्दै बाम्ती भण्डार पुग्यौँ र कार्यक्रम पनि सम्पन्न गर्‍यौँ ।

फर्कंदा हामी उनी ३४/३५ सालतिर ६ वर्षसम्म हेडसर भएको शारदा माध्यमिक विद्यालयमा पस्यौँ । त्यहाँ दश पन्द्रजना एकै छिनमा भेला भए । उनीहरूले गोविन्द सरलाई हेडसरकै रूपमा सम्मान र सद्भाव देखाइरहेका थिए । उनले त्यहाँबाट काठमाडौँ पुग्दासम्म ठोसे बस्दाका आफ्ना रोचक प्रसङ्गहरू सुनाएर यात्रालाई रोमाञ्चित बनाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेको ससुराली पनि ठोसेमै रहेछ । त्यहाँ उनका ससुरा पनि आएका थिए । गजुरेल सरले मेरो नजिकै आएर उनलाई देखाउँदै भनेका थिए ‘तपाईंलाई मन पर्ने नेताका ससुरा ।’  मैले बिजुक्छेका ससुरासँग फोटो खिचेँ । मेरो मोबाइलमा भएको मेरो र बिजुक्छेको फोटो देखाउँदै सोधेँ, ‘उहाँलाई चिन्नुहुन्छ ?’ एक छिनसम्म घोरिएर मलाई हेरेर मुस्कुराउँदै भने ‘मेरो ज्वाइँ ।’

गोविन्द सरको जीवन कहानी सुन्दा यस्तो लाग्थ्यो- उनको किशोर अवस्था नै गायब भएछ । कलिलै उमेरमा हेडसरको जिम्मेवारी, शिक्षक सङ्गठनका जिम्मेवारी र शिक्षक आन्दोलनले उनको किशोर अवस्था गायक गरी कलिलै उमेरमा परिपक्व बनाएछ ।

एक दशकको  सङ्गतमा मैले बुझेको गोविन्द गजुरेल निष्ठाका प्रतीक हुन् । धेरै यस्ता कम्युनिस्ट नेता छन् जो उमेरमा आवश्यकताभन्दा बढी  क्रान्तिकारी भइदिने, बुढो र कमजोर भएपछि आध्यात्मिक र राजावादी भइदिने । अझ महेन्द्रवादी भइदिने । उनले कहिल्यै पनि राजा र राजतन्त्रबारे सकारात्मक टिप्पणी गरेनन् । जहानियाँ तन्त्रले कहिल्यै जनताको पक्षमा काम गर्दै भन्ने कुरामा उनी मरणोपरान्तसम्म दृढ थिए । महेन्द्रले वि.पी. राजमार्गलाई लगाएको गिद्धे दृष्टि देखेर त उनी बेला बेला आक्रोशित नै हुन्थे । उनी मार्क्सवादी विचारमा दृढ थिए । उनले एउटा प्रसङ्गमा भनेका थिए, ‘म जान्ने भएपछि जप सप गर्न छाडेँ । लाग्छ त्यति बेलाबाट म मान्छे बनेँ ।’ उनले विवाहमा दाइजो लिएनन् ।  खुट्टाको जल खुवाएनन् । बाहिर उग्र सांस्कृतिक परिवर्तनको कुरा गर्ने, आफूलाई पर्दा समाज र परिवारका बन्धनमा परेर भन्दै सांस्कृतिक विचलन हुने नेता, तथाकथित बुद्धिजीवीभन्दा उनी धेरै माथि छन् । उनी आफ्नो आस्थामा सतिसालजस्तै ठिङ्ग उभिन सक्ने निष्ठावान् व्यक्ति थिए ।

गजुरेलसँगको अन्तिम यात्रा २०७९ साल साउन २९ गते काठमाडाैँबाट सिन्धुलीसम्म गरेको थिएँ । त्यति बेला उनले अबका दिनमा काठमाडौँ र सिन्धुलीमा समानान्तर बस्ने बताएका थिए । त्यही उद्देश्यले पुर्ख्यौली थलोमा प्रिफाइबको एउटा सुन्दर घर निर्माण गरिएका थिए । घरको फिनिसिङ अन्तिम चरणमा पुगेको थियो । हामीहरूलाई घरको अवलोकन गराएका थिए । तालिम सकाएर म काठमाडौँ फर्कें । उनले एक दुई दिन घर लगायत अन्य कामले सिन्धुलीमै बस्ने बताएका थिए ।

काठमाडौँ पुगेको भोलिपल्टै म धनगढी उडेँ । एक महिना म कैलाली, कञ्चपुरमै व्यस्त भएँ । दसैँ तिहारको बिचमा सिन्धुलीमा भव्य शैक्षिक मेला गर्ने निर्णय भएको थियो । भदौ २०/२२ सम्म उनी दुई तीन पटक सिन्धुली आउजाउ गरेछन् ।  हाम्रो अन्तिम फोन वार्ता भदौ २३ गते भएको थियो । शैक्षिक महोत्सवको कामले खटिरहेको बताएका थिए ।

प्युठानमा असोज ११/१३ मा बृहत् साहित्य महोत्सवको आयोजना गरिएको थियो । असोज ९ गते महोत्सवमा भाग लिन महेन्द्रनगरबाट भालुवाङ जानको लागि दिवाबस चढेँ । यात्रा अवधिभर घनघोर वर्षा परेको  थियो । लमही पुगेर फेसबुक खोलेँ । गाडी गुडिरहेको  थियो । उनको फोटो देखेँ अनि लेखेको हेरेँ । उनले काम गरेका संस्था र लिएका जिम्मेवारीको वर्णन गरिएको थियो । पूरै पढिन । मनमनै सोचेँ- बुढा कतै नियुक्त भएछन् । त्यो फोटो र स्ट्याटस मनमोहन प्रतिष्ठानले राखेको थियो । एकछिनमा भालुवाङ पुगियो । गाडीबाट ओर्लनु परेकोले मोबाइलको डाटा अफ गरेँ । सरासर होटेलमा गएँ । थाकेकाले खाटमा पल्टेर वाइफाई अन गरेँ । यसपालि सुरुमै हार्दिक श्रद्धाञ्जली लेखेर उनको फोटो राखेको देखेँ । म त छाँगाबाट खसेजस्तो भएँ । फनफन रिगाटा लाग्यो । स्तब्ध भएँ । छाती गह्रुङ्गो भयो ।

भोलिपल्ट काठमाडौँबाट प्युठान जान आएका साथीहरूसँगै प्युठान जानु थियो । खाटमा त पल्टिएँ तर निदाउनै सकिनँ । आँखाभरि उनीसँग बिताएका क्षणहरू घुम्न थाले । आफूलाई निस्वार्थ माया गर्ने अभिभावक गुमाउनु परेकोमा साह्रै मन दुख्यो । अब के नै विकल्प थियो र श्रद्धाञ्जली व्यक्त गर्नु बाहेक । मलाई मार्ग निर्देशन गर्ने दुवै गुरुहरू विनय कसजू र गोविन्द गजुरेल गुमाएकोमा एक्लो महसुस भयो । तपाईंहरूले मेरो काँधमा छाडेको जिम्मेवारी इमानदारीपूर्वक निभाउने छु भन्ने प्रण गरेँ । अलबिदा आदरणीय गोविन्द सर !