घण्टाघरसँगै जोडिएको त्रिचन्द्र कलेज, स्नातकोत्तर नेपाली शिक्षण कार्यक्रमको कक्षाकोठामा मैले पहिलो पटक कृष्ण गौतम सरलाई पाश्चात्य समालोचनाका शिक्षकका रूपमा चिनेको थिएँ । ग्रिसेली सभ्यतादेखि रोमेली सभ्यता हुँदै पुनर्जागरण काल, नवपरिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, अतियथार्थवाद, प्रतीकवाद, बिम्बवाद, अस्तित्ववाद, विसङ्गतिवाद र उत्तरआधुनिकतावाद सम्मको मेरो पहिलो ज्ञान–यात्राका पथप्रदर्शक उहाँ नै हुनुभयो ।

शालिन व्यक्तित्वका धनी मृदुभाषी गौतम सरको प्रेरणाले पाश्चात्य साहित्य र समालोचनाप्रति क्रमशः रुचि जागृत हुँदै गयो । उहाँको पाश्चात्य महाकाव्य (२०५०) कृतिमार्फत होमरका इलियड र ओडिसी महाकाव्यदेखि पश्चिमका महत्काव्यहरूको सहज यात्रा सम्पन्न भयो । नेपाली समालोचनामा बहुलवादी समालोचनाको एक मात्र नमुना आधुनिक आलोचना : अनेक रूप अनेक पठन (२०५०) मा उहाँले नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, मनोवैश्लेषिक, मिथकीयलगायत रूपसंरचनावादी, नयाँ आलोचनात्मक, शैलीवैज्ञानिक, विसङ्घटनवादी, स्त्रीवादी, उत्तरऔपनिवेशिकतावादी आदि बहुल सिद्धान्तका आधारमा बालकृष्ण समको प्रह्लाद नाटकको पठन गराउनुभयो । यसरी एउटै कृतिमाथि बहुल दृष्टिबाट समीक्षा गरिएको नेपालीको यो एक मात्र सशक्त कृति स्नातकोत्तर अध्ययनकै क्रममा पढियो ।

त्यसपछि उहाँले उत्तरआधुनिक जिज्ञासा (२०६४) कृतिको विमोचन कार्यक्रममा हामीलाई पनि सामेल गराउनुभयो । उत्तरआधुनिकतावादी विषयमा नै मलाई स्नातकोत्तर शोधकार्यका लागि उहाँ मेरो अभिप्रेरणका स्रोत हुनुहुन्छ । उत्तरआधुनिक संवाद (२०६७) मा साहित्य समालोचनाका अतिरिक्त भूगोल÷उत्तरभूगोल, मानवशास्त्र÷उत्तरमानवशास्त्र, समाजशास्त्र÷उत्तरसमाजशास्त्र, अर्थशास्त्र÷उत्तरअर्थशास्त्र, ग्रामीण विकासका उत्तरविकासवाद, राजनीति÷उत्तरराजनीति, विधिशास्त्र÷उत्तरविधिशास्त्र, उत्तरप्रशासन, उत्तरमनोविश्लेषण, उत्तरविज्ञान, उत्तरइतिहास, उत्तरधर्म, उत्तरअध्यात्म, उत्तरदर्शन, उत्तरसंस्कृति, उत्तरलोकसाहित्य, उत्तरकलासमीक्षा, उत्तरसौन्दर्यशास्त्रसम्मका मानविकी, समाजशास्त्र र विज्ञान विषयक उत्तरसिद्धान्तको विमर्श गराउनुभयो । मेरो विद्यावारिधि अध्ययनको विषय अधिआख्यान उहाँकै उत्तरविमर्शको दशमलव–अंश हो ।

समालोचकका  रूपमा पहिचान गरिसकेपछि मात्र मैले उहाँको आख्यानकार पहिचानको साक्षात्कार गर्न पाएँ । त्रिचन्द्र कलेजमा आकुञ्चन पत्रिकाको पहिलो अङ्क प्रकाशनका क्रममा नेपाली विभागका तर्फबाट उहाँले पनि आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । उहाँ सेवानिवृत्त नभइन्जेल करिब तीन दशकजति त्रिचन्द्र कलेज, नेपाली विभागका अध्यक्ष हुनुभयो । शायद सबैभन्दा लामो समयसम्म विभागका अध्यक्ष हुनेमध्येमा उहाँ अग्रपंक्तिमा हुनुहन्छ ।

उहाँले उक्त आर्थिक सहयोगको चेक उपलब्ध गराउने क्रममा २०६४–५–१७ गते विभागको कार्यालयमा स्वर्ण विम्ब उपन्यास (२०४८) र नाच कथासङ्ग्रह (२०५०) हस्ताक्षरसहित ‘सप्रेम उपहार’ दिनुभयो । त्यसपछि उहाँको आख्यानकार व्यक्तित्व पनि थाहा लाग्यो । यसअघि उहाँको देवकोटाका प्रबन्धकाव्य (२०३८), सिर्जनाको सुवास (२०५६), रचनाको रोमाञ्च (२०५६) आदि कृति पनि प्रकाशित भइसकेका थिए । त्यसपछि २०७४ सालमा उहाँको रानीवन उपन्यास प्रकाशित भएको छ ।

उप्रान्त यहाँ गुरु कृष्ण गौतमलाई थाती राखेर आख्यानकार गौतमका रूपमा मात्र चर्चा गरिएकाले चलनचल्ती अनुसार मध्यम आदर प्रयोग गरिएको छ । उपन्यासकार गौतमको औपन्यासिक भावभूमि नेपाली सामाजिक–राजनीतिक जीवन नै रहेको देखिन्छ । आख्यान रचनाको आरम्भकालतिरै पाश्चात्य चिन्तनको गहन साधानमा लागि सकेकाले त्यसको प्रत्यक्ष प्रभाव उनका आख्यानमा पाइन्छ । पाश्चात्य अद्यतन सिद्धान्तका चिन्तकका नाताले उनले भाषालाई चिह्नव्यवस्था, प्रतीकव्यवस्था मान्दै त्यसै प्रतीकात्मकताको खास किसिमको रूप साहित्य हो भन्ने कुरामा प्रारम्भदेखि नै विश्वास्त छन् र यसै मान्यताको सेरोफेरोमा उनका रचना सिर्जित छन् । त्यसैले उनी सामाजिक तथ्यको सोझो प्रस्तुति नगरी प्रतीकात्मक चित्रण गर्दछन् र समकालीन सामाजिक र राजनीतिक विसङ्गतिप्रति विद्रोह गर्छन् । यस अर्थमा आलोचनात्मकता र नवीन शिल्पकारिता उनको रचनाधर्मीता रहेको देखिन्छ ।

रानीवन समालोचक गौतमको उत्तरआधुनिकतावादी चिन्तनको सिर्जनात्मक अभिव्यक्ति हो । यसमा उत्तरआधुनिकतावादका विभिन्न चिन्तनहरूको सरल एवम् व्यावहारिक व्याख्या छ । महिलालाई प्रकृति र पुरुषलाई संस्कृतिका रूपमा चर्चा गर्दै पुरुषवादी संस्कृतिले प्रकृतिलाई नष्ट गरेकोप्रति चिन्ता र चिन्तन गरिएको छ । यसमा प्राचीनतम मातृसत्तात्मक समाजप्रतिको मोहलाई आख्यानसौन्दर्यको चास्नीबाट अभिव्यक्त गरिएको छ । उपन्यासको कलात्मक कराईमा प्रेमका मीठा मीठा मरमसला छर्कंदै उत्तरआधुनिकतावादको स्वादिलो तरकारी तयार पार्नु यस कृतिको वैशिष्ट्य हो ।

उत्तरआधुनिकतावादी चिन्तनका स्वादमा बानी परेकाहरूलाई यो रम्य उद्यान हुन्छ भने अलिअलि स्वाद चाख्ने प्रयास गर्दैगरेकाहरूका लागि सरल सहयोगी सामग्री हुनेछ । यस वादको छेउटुप्पो भेउ नभएकाहरूका लागि भने यो बाँदरका हातमा नरिवल हुनेछ । रानीवनको औपन्यासिक उद्यानमा नारीवाद, विनिर्माणवाद, उत्तरआधुनिकतावादी भ्रम र अनिश्चितता, शब्दखेल, युग्मक, पर्यावरण सिद्धान्त, उत्तरऔपनिवेशिकतावाद, उत्तरऔद्योगिकतावाद, भूमण्डलीकरण, इप्रविधि, उपभोक्तावादी उत्तरबजार शास्त्र, विज्ञापन संस्कृति, भूतप्रेत, उत्तरमिथकीकरण जस्ता अद्यतन सिद्धान्तका अनेकथरि फूलहरूको गोडमेल गरिएको छ । छोटा छोटा वाक्यहरूको सटिक अभिव्यक्ति यस उपन्यासको शैलीगत विशिष्टता हो ।

अध्येता गौतमको अध्ययनवायु पश्चिमबाट पूर्वतिर बहने गरेको देखिन्छ । २०५० सालमा पाश्चात्य महाकाव्य कृति प्रकाशन भएपछि २०५९ सालमा प्राच्य महाकाव्य कृति प्रकाशन हुनु यसको एउटा प्रमाण हो । त्यस्तै पाश्चात्य साहित्य एवम् समालोचनाको दीर्घ साधनापश्चात् पूर्वीय दर्शन–विमर्शमा आधृत अद्वैत उपन्यासको प्रकाशन अर्को प्रमाण हो । यो उपन्यास पूर्वीय दर्शनको मात्र विमर्श होइन, यसमा पाश्चात्य प्राचीन ग्रिसेली दर्शनदेखि अद्यतन चिन्तनसम्म, उत्तरवैदिककालीन दर्शनदेखि जैन, बुद्ध आदि धर्मका दर्शन, चीनका कन्फुसियस र ताओ दर्शनको पनि व्यापक विमर्श गरिएको छ । यद्यपि यसको बीज पूर्वीय दर्शनमा रहेको छ ।

चिन्तक कृष्ण गौतमको अध्ययन एवम् चिन्तनको गति द्वैत, बहुल हुँदै अद्वैततर्फ अग्रसर छ । उनले आधुनितावादी संरचनावादी अध्ययन विश्लेषणमा धेरै काम गरेका छन् । उनको आधुनिक आलोचना : अनेक रूप अनेक पठन कृतिको आधा अध्ययन आधुनिकतावादी सिद्धान्तमा आधृत छ । संरचनावादी भाषाविज्ञान आधुनिकतावादको मियो हो र यो द्वैतवादमा विश्वास गर्छ । रातको द्विचरविरोधमा दिनको अर्थ खोज्नु यसको वैशिष्ट्य हो । त्यसपछि उनले उत्तरआधुनिकतावादको बहुलवादी सिद्धान्तको पारख गरी केही जोडा महत्त्वपूर्ण कृति नै जन्माएका छन् । पछिल्लो समय उनी अद्वैतवादको पारखमा लागेका छन् ।

उनको उपन्यास …अद्वैतको अन्तिमको सार यस्तो छ : ‘‘एउटै तत्त्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गथ्र्यो, प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनीषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।’’

यो प्रस्तुत उपन्यासको निष्कर्ष मात्र होइन यो उनको अध्ययनको चूडान्त ज्ञानबोध हो भन्ने कुरा स्वतः बोध हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि जीवनको उत्तरार्धमा ‘‘आखिर श्रीकृष्ण रहेछन् एक’’ भनी अद्वैतवादको मार्ग नै समाएका थिए । प्राध्यापक दयाराम श्रेष्ठ सरले पनि अनौपचारिक कुराकानीका सन्दर्भमा ‘‘ज्ञानको खोजीका क्रममा धेरै समय पश्चिमका अंग्रेजी किताबहरू पढियो तर वास्तवमा ज्ञान त हाम्रै पूर्वीय ग्रन्थहरूमा रहेछ’’ भन्ने विचार व्यक्त गर्नुभएको थियो ।

उपन्यासकार गौतमको पनि कथन रहेको छ : ‘‘प्राचीनतिर फर्कनु भनेको अर्वाचीनको उपेक्ष होइन । अहिले प्राचीन जडीबुटीले हामीलाई आश्वास्त पार्न खोज्दै छ । म त प्राचीन धर्म, दर्शन, संस्कृति र परम्परामा सञ्जीवनी बुटी खोज्दै छु’’ (पृ. २५४) । यसरी देवकोटा र श्रेष्ठको दृष्टिसार गौतमको अध्ययनमा पनि पाइन्छ, अद्वैत उपन्यासले यसै तथ्यलाई पुष्टि गरेको छ ।

वैदिक विषयका जटिलतालाई उपनिषद ग्रन्थहरूले स्पष्टताका साथ विकासित गरेका छन् भन्दै उपन्यासकार गौतममा पनि दर्शन र चिन्तनका जटिल विषयलाई सरल सुरम्य बनाउने तत्परता देखिन्छ । यसलाई उपन्यासभित्रै निम्नलिखित कथन पुष्टि गर्दछ : ‘‘उपनिषद्का डिस्कोर्सहरू कतै मिथकीय छन्, कथै कतात्मक छन्, कतै वादविवादात्मक छन्, कतै जिज्ञासात्मक छन्, कतै स्वीकारात्मक छन् त कतै निषेधात्मक छन् अनि कतै गद्यात्मक अनि कतै पद्यात्मक । यो कतिलाई अरुचिकर लाग्न सक्छ तर ती कृतिको लक्ष्य दार्शनिक विषयकै निरूपणमा लाग्नु हो’’ (पृ. ३३२–३३३) ।

उनलाई पूर्वीय नव्य न्याय र पश्चिमी कान्ट र हिगेलको जटिल भाषाभन्दा हिगेलोत्तर दर्शनको सुबोध भाषाप्रति आग्रह रहेको छ । उपनिषद्ले वैदिक दर्शनको मात्र विमर्श गर्छ भने अद्वैत नेपाली–भारतीय, जापानी–कोरियाली–चिनिया र पश्चिमी एवम् प्राचीन, मध्ययुगीन, आधुनिक, उत्तरआधुनिक सबै चिन्तन दर्शनको विमर्शमा केन्द्रित छ । यस अर्थमा प्रस्तुत कृतिलाई वर्तमान समयको अर्को नेपाली उपनिषद् ग्रन्थ बनाउने लेखकीय अभीष्ट रहेको देखिन्छ ।

पूर्व र पश्चिम विपरीत दिशा भएजस्तै चिन्तन र दर्शनका तहमा पनि भिन्न छन् । पूर्व अन्तर्आत्माको चिन्तन गर्दछ भने पश्चिम बाहिरी भौतिकताको अध्ययन गर्दछ । यद्यपि गहन अध्ययन गर्दै जाने हो भने यिनीहरू बीच साम्यता फेला पार्न सकिन्छ भन्ने विचार उपन्यासकार गौतमको रहेको छ ।

उनको प्रस्तुत उपन्यासको कथनअनुसार ‘‘मलाई यस्तो लाग्यो कि पश्चिममा पूर्व छ, पूर्वमा पश्चिम छ । हिगेललाई पढ्दा हामी वेदान्तको नजिक पुग्छौँ । हिगेलीय विश्वात्मा वेदान्तीय ब्रह्मकै सम्झना दिन्छ’’ (पृ. २८७), ‘‘उपनिषद् र बुद्धबाट सोपेनहावर प्रेरित भएको लेखिएको छ (२८८) ।

चिनिया र जापानी चिन्तनसँग पनि संस्कृत भाषाको सम्बन्ध रहेको खोज यस उपन्यासमा गरिएको छ : ‘‘संस्कृत ध्यानलाई चिनियामा ‘चान’ भनियो यो जापानीमा ‘जेन’ नामले चिनियो । सातोरीको सम्बन्ध जेनसितै छ जसको अर्थ हो ज्ञानोदय’’ (पृ. २८३) ।

त्यस्तै तिब्बती सम्प्रदायको सम्बन्ध पनि नेपालसँग रहेको उल्लेख गरिएको छ : ‘‘तिब्बतियन बुद्धवादको निङमापा सम्प्रदाय स्थापित गर्ने पद्यसम्भव नेपालबाट तिब्बत गएको अड्कल छ । तिनी सम्भवतः भारतमा जन्मेका थिए’’ (पृ. २८२) ।

यसरी एसिया, युरोप र अमेरिकासम्म फैलिएको दर्शन र चिन्तन बिचको एकत्वको खोजी गर्नु र तिनीहरूबिचको अद्वैतताको खोजी गर्नु यस कृतिको वैशिष्ट्य रहेको छ ।

उपन्यासकार गौतम अद्वैतवादको पक्षमा विमर्श गर्दागर्दै पनि द्वैतवादी साङ्ख्य दर्शनप्रति पनि विशेष रुचि प्रकट गर्दछन् । विशेषतः उनमा साङ्ख्यको ईश्वरप्रतिको उदासीनताले आकर्षण रहेको देखिन्छ । उनको दर्शनको चिन्तन पनि अलौलिक ईश्वरीय आस्थामाथि नभएर लौकिक जीवनमुखी रहेको छ । त्यसैले उनको रुचि छ : ‘‘साङ्ख्य दर्शन भुक्ति र मुक्तिको दर्शन हो । मुक्तिको अवधारणाले भुक्तिलाई सुद्ध्याएर प्राप्त हुने जीवनमुक्तिको चेतना मानवजातिमा हामीले फिँजाउनै पर्छ’’ (पृ. २२८) ।

साङ्ख्य दर्शनको सिर्जनात्मकले पनि उनलाई आकर्षित गरेको छ । ‘‘पूर्वीय दर्शनमा साङ्ख्य नै यस्तो दर्शन हो जो सिर्जनात्मक छ र दर्शनलाई कलात्मक पद्धति अपनाएर सम्झाउने प्रयत्न गर्दछ’’ (पृ. २५४) । यस दर्शनका आदिमनीषी कपिल नेपालभूमि कपिलवस्तुमा जन्मिएको मानिन्छ । मनीषी कपिल प्रतिपादित दर्शनप्रतिको आग्रहमा लेखकीय स्वदेशी भूमिप्रतिको मोह पनि प्रकट हुन्छ । यद्यपि कलासिर्जनाप्रतिको आकर्षण र उच्चभाव नै यसको कारण रहेको कुरा योगदर्शनको अन्तरङ्ग साधनाका तीन लक्षणका बिच अर्को लक्षण ‘सिर्जना’ थप गर्ने लेखकीय इच्छा (पृ. २८४) को जाहेरी र  ‘‘साहित्यमा आएर विज्ञान र दर्शनको भेटघाट तीव्र हुन्छ’’ (पृ. ५३) भन्ने उपन्यासभित्रकै कथनले पनि पुष्टि गर्दछ ।

उपन्यासकार गौतममा अलौकिकताप्रति विश्वास छैन । उनी विदेह मुक्तिको पक्षमा पनि उभिएका छैनन् । तसर्थ उपन्यासको एउटा मुख्य पात्र मनोरथ भन्छ : ‘‘सदेह मुक्तिको म पक्षपाती हुँ, विदेश मुक्तिका बारे अहिलेसम्म मैले आफ्नो विचार राम्ररी बनाइसकेको छैन । आसक्तिले रहित कर्मयोगी बन्नु नै सदेह मुक्तिको दिशामा प्रवृत्त हुनु हो । लोभ र मोहले, ईष्र्या र घृणाले, चिन्ता र विषादले मलाई नफकाउन्, प्रेम, सद्भाव र सहअस्तित्वले मलाई जगाउन्, आत्माको उज्यालाले मलाई पथप्रदर्शन गरिरहोस् । यस्तै लक्षणद्वारा अलङ्कृत म दार्शनिक अर्थमा सदेह मुक्त भएर क्रियाशील बनिरहूँ । सामाजिक तथा नैतिक अर्थमा मेरो स्वच्छ छविले अरुलाई प्रेरित गरिरहोस् । अरुले भनुन् कि मनोरथ असल मान्छे हो’’ (पृ. १९३) ।

मनोरथमा उपन्यासकार गौतमको प्रतिच्छाया देखिन्छ । सामाजिक एवम् नैतिक जीवनमा स्वच्छ छवि बनाएका उपन्यासकार गौतम प्रचार र प्रशंसाको दुष्प्रभावबाट पनि सधैँ दूर बस्न रुचाउने साधक हुन् । मनोरथको विचारमा मात्र होइन उसका कार्यमा पनि उपन्यासकारको मनोकाङ्क्षा निहित छ । यस अर्थमा मनोरथ उपन्यासकारको मुखपात्र हो ।

मनोरथ, सुरथ, मनोरमा, सुवासिनी र सञ्चिता यस उपन्यासमा अन्त्यसम्म भूमिका भएका पात्रहरू हुन् । सुरथ र सञ्चिता पतिपत्नी हुन् । उनीहरूको अन्तर्देशीय विवाह भएको हुन्छ, सञ्चिताको राष्ट्रियता भारतीय हो । सुरथ बहुलवादी चिन्तन र जीवन बचाइमा विश्वास गर्ने र पेसाले राजनीतिकर्मी हो । ऊ पढाइ, लेखाइ र चिन्तनभन्दा बढी व्यावहारिक प्रयोगमा विश्वास गर्छ । त्यसैले गुन्डागर्दी, भोजपार्टी, केटी उसको सोख हो । मनोरथ ‘‘शक्तिको अद्वैतद्वारा जगत्को निर्मित भएको हो’’ भन्ने विचारमा दृढ छ र ऊ इन्जिनियर हो । सुवासिनी द्वैतवादको वकालत गर्छे भने मनोरमा अद्वैतवादमा अडिग छे । ऊ अविवाहित बसेर जीवनमा अद्वैतको व्यावहारिक अभ्यास गरिरहेकी पात्र हो । यिनीहरूमध्ये मुख्यतः मनोरथ, मनोरमा र सुवासिनी तीन पात्रको संवादका क्रममा द्वैत र अद्वैतवादी दर्शनको विशर्म भएको छ । मनोरमाले उसको भाइसँगको कुराकानीका सन्दर्भमा पनि अद्वैतवादी दर्शनको धेरै वकालत गरेकी छ ।

प्रस्तुत उपन्यासमा औपन्यासिक कथानकीय घटनाक्रमको परम्परालाई तिलाञ्जली दिइएको छ । परम्परागत कथानकको बाह्यान्तरिक द्वन्द्वभन्दा पात्रहरूको वाद, प्रतिवाद र संवाद नै उपन्यासलाई गतिशील बनाउने तत्त्व हुन् । यसलाई घटनाशृङ्खलाको आरोहअवरोहका दृष्टिले हेर्ने प्रयास गर्दा दुर्घटनामा पर्ने प्रबल सम्भावना हुन्छ । परम्परागत रूपमा उपन्यास घटनाप्रधान, चरित्रप्रधान, विचारप्रधान, परिवेशप्रधान आदि हुन्छन् । यथार्थवादी उपन्यास घटनाप्रधान हुन्छन् ।

मनोविश्लेषणवादी उपन्यास चरित्रप्रधान हुन्छन् भने अस्तित्ववादी–विसङ्गतिवादी उपन्यास प्रायः विचारप्रधान देखिन्छन् । मदनमणि दीक्षितको माधवी उपन्यासलाई परिवेशप्रधानको कोटिमा राख्न सकिन्छ । गौतमको यो उपन्यास भने यी कोटिभन्दा भिन्न विषयप्रधान उपन्यास हो । यसको विषय दर्शन हो भने यसका गति, यति र मति दर्शनकै विमर्शमा रुमलिएका छन् ।

मूलतः द्वैत र अद्वैतवादको विमर्श, पूर्वी भारतीय–नेपाली भूगोलमा सिर्जित दर्शन, चीन–तिब्बत–जापान–कोरिया भूमिका दर्शन एवम् पश्चिमी भूमिका प्राचीन ग्रिसेलीदेखि अद्यतन चिन्तनसम्मको व्याख्या, विश्लेषण, तुलना, प्रतितुलना, छलफल, तर्क, वितर्क, विमर्शमा नै उपन्यासको गति र विश्राम अडेको छ । यसलाई विभिन्न उपकथाहरूले पनि साथ दिएका छन् । यो उपन्यासकार गौतममाथि उत्तरआधुनिकतावादी समालोचक कृष्ण गौतमको अतिक्रमण हो भन्दा अत्युक्ति हुँदैन ।

उत्तरआधुनिकतावादी चिन्तनको प्रभावकै कारण प्रस्तुत उपन्यासको समाख्यानमा पनि परम्परागत पद्धतिको अतिक्रमण भएको छ । तृतीय पुरुष समाख्याताबाट आरम्भ भएको समाख्यान क्रमशः प्रथम पुरुष समाख्याताबाट अघि बढ्दै जान्छ । प्रथम पुरुष समाख्याता पनि बीचका क्रमहरूमा सुरथ, मनोरथ, मनोरमा आदि पात्रका रूपमा प्रकट हुन्छन् । तृतीय पुरुष–बाह्य र प्रथम पुरुष–आन्तरिक समाख्याताको तहले मात्र उपन्यासकारको दीर्घसाधनाबाट प्राप्त दर्शन–चिन्तनको विमर्श–बाढीलाई थेग्न सक्दैन । यो कतै संवाद, मनोवाद हुँदै कुनै समयमा स्वयम् लेखकीय हस्तपेक्षको तहमा पनि पुग्दछ ।

त्यसैले यसमा समाख्याताको स्थानान्तरण (न्यारेटर सिफ्टिङ) तीव्र गतिमा भइरहन्छ । यसलाई उपन्यासकार गौतमको अजस्र ज्ञानको आँधीबेहरी मान्ने हो भने हुरी र आँधीबेहरीले कुनै नीतिनियमको सडक नाप्दैन । उपन्यासकार गौतमले पनि औपन्यासिक लेखनको परम्परागत मार्ग भत्काएका छन् । यसलाई विनिर्माणको एउटा रूपमा मान्न सकिन्छ ।

यसलाई उपन्यासभित्रैको कथनले पनि पुष्टि गर्दछ, “जब म कलाको सिर्जनामा लाग्छु तब मलाई मेरा माध्यमहरू अपर्याप्त लाग्छन् । रङको चयन गर्दागर्दै म थकित हुन्छु । कविहरू, लेखकहरू, उसै गरी भाषाको अपर्याप्ततामा दुखेसो पोख्छन्’’ (पृ. २४३) ।

उपन्यासकारलाई पनि उपन्यास लेखन र समाख्यानको परम्परागत मार्ग साँधुरो लागेको छ । यसलाई उपन्यासको गद्यभाषा मात्र पर्याप्त बन्न सकेको छैन, आवश्यकताअनुसार पद्यलयलाई समातिएको छ । त्यसैले यो उपन्यास परम्परागत मार्गका छेउछाउका बारहरू भत्काउँदै अघि बढेको छ । यसले अवश्य पनि नेपाली उपन्यास–शिल्पको डोरेटोलाई फराकिलो बनाउने कार्यमा थप सहयोग गरेको छ ।

दर्शनको जटिल विषयलाई सरल एवम् सुरम्य बनाउने उपन्यासकारको ध्येय रहे पनि उनी स्वयम्को भाषा–प्रयोग भने उति सरल बन्न सकेको छैन । उदाहरणका लागि एउटा वाक्यलाई हेरौं, “साङ्ख्य दर्शन, त्यो सभ्यता जुन कि प्राकृतिक उपादानबाटै निर्मित भएको हो, मा मोहित भएर नडुब्न अनुरोध गर्छ’’ (पृ. २२६) ।

यसलाई ‘साङ्ख्य दर्शन प्राकृतिक उपादानबाटै निर्मित सभ्यतामा मोहित भएर नडुब्न अनुरोध गर्छ’ भन्ने किसिमले कथन गर्दा अलि सरल हुने थियो । पुनरावृत्तिको दोषबाट पनि यो उपन्यास मुक्त हुन सकेको छैन । द्वैत र अद्वैतवादको विमर्शमा भएका भाव र विचारका पुनरावृत्तिलाई सामान्य मान्न सकिए पनि पृष्ठ २१५ र ३१८ मा ‘कोशल राजा प्रसेनजित्लाई शाक्यहरूले दासीपुत्री दिएको र ऊबाट जन्मिएको विरुद्धकले शाक्यवंश नाश गरेको’ प्रगङ्ग नै दोहोरिएको छ ।

पहिलो, दोस्रो र तेस्रो खण्ड गरी तीन भागमा विभाजन गरिएको उपन्यासका खण्डमध्ये पहिलो खण्ड विषय उठान, दोस्रो खण्ड व्याख्या विस्तार र तेस्रो खण्ड निचोडका रूपमा व्याख्या सकिन्छ । विषय–विचारको अभिव्यक्ति र प्राप्तिका दृष्टिले तेस्रो खण्ड नै पर्याप्त रहेको देखिन्छ ।

अन्त्यमा उपन्यासकार गौतमको अभीष्ट अद्वैतग्राम अथवा अद्वैत वाटिका निर्माण गर्ने रहेको छ । उनले ‘‘मानुषिक हितको संरक्षण गर्ने र परामानुषिक वैभवले समृद्ध’’ वाटिका बनाउने ध्येय राखेका छन् । उनको यो परमइच्छा उपन्यासको भावभूमिमा मनोरथ पात्रले पूरा गरेको छ ।

ऊ ‘‘अद्वैतग्रामलाई आध्यात्मिक भ्रातृभावको सार्वभौम रूप’’ भनी व्याख्या गर्दछ र ‘‘टुक्रा टुक्रा भएर विशुङ्खलित हुँदै गएको वर्तमान विश्वलाई जोड्ने अद्वैत संस्थाको आवश्यकता’’ देख्दछ । यसका लागि उसले देशविदेशबाट सहयोग जुटाएर आफ्नो सपना एवम् उपन्यासकारको सपना पूरा गराएको छ ।

ऊ आफूलाई यसको एउटा ‘‘सूत्राधार मात्र हुँ’’ भन्छ र यस नाट्य वाटिकामा सबैलाई अभिनय गर्न आग्रह गर्दछ । यसले मनुजबाबु मिश्रको स्वप्न सम्मेलन कृतिको काल्पनिक कलाकेन्द्र ‘हर्मिताज’को झझल्को पनि दिने रहेछ । मिश्रको हर्मिताज यलम्बर, गौतम बुद्ध, अरनिको, कन्फ्युसियस, अरस्तु, शेक्सपियर, लक्ष्मीप्रसाद देवकोटालगायतका मृतात्माहरू भेला भएर प्रचलित इतिहास र धर्मसम्बन्धी मान्यताहरूको सत्यतामाथि विमर्श गर्ने थलो हो ।

उपन्यासकार गौतमको अद्वैत वाटिका पनि सोही प्रकारले दर्शन विमर्शको साझा थलो हो तर यहाँ मृतात्माहरू होइन वर्तमान देहधारीहरू विमर्शमा सहभागी हुन्छन् । यो उनको एउटा आदर्श हो भने उपन्यास आदर्शोन्मुख मार्गतर्फ अग्रसर छ ।

वर्तमान नेपाली उपन्यास पहिचानको मुद्दाबाट क्रमशः धर्म र दर्शन विषयको विमर्शतर्फ अग्रसर हुन थालेको छ । नेपाली उपन्यासकारहरूमा यता केही समयदेखि बौद्धदर्शन र त्यसका कथात्मक सन्दर्भहरूप्रति रुचि बढ्दै गएको देखिन्छ । फलस्वरूप सोही विषयमा उपन्यासका साथै अन्य विधाका कृति पनि धमाधम प्रकाशित हुन थालेका छन् । यसले नेपाली उपन्यासको विषयलाई फरकिलो मात्र बनाउँदैन गरिमालाई पनि गहन बनाउँछ ।

उपन्यासकार गौतमको प्रस्तुत उपन्यास त्यस्तै नवीन खोजतर्फ अग्रसर नवस्रष्टाहरूका लागि मार्गदर्शक बन्न सक्छ । यो दर्शनको मनोगत विमर्श मात्र नभएर गहन अध्ययन, विश्लेषण र अनुसन्धानको नमुना पनि हो । यस उपन्यासभित्र दिइएको ५५ वटा उद्धरणको पादटिप्पणीले उपन्यास लेखनभित्र लुकेको गहन खोज, अनुसन्धान र अध्ययनलाई खुलस्त पारेको छ । त्यसले यो उपन्यासकारको काल्पनिक मनोरथमा गुडेको मनोगत आख्यान–रचना (फिक्सन) मात्र होइन, यो गहन खोज र अध्ययनको परिणति हो ।

परिणामस्वरूप यस वर्षका चर्चित पद्यश्री पदक र कविडाँडा आख्यान पुरस्कार यसै कृतिलाई प्रदान गरिएको छ । कुनै भूमिका, कुनै विमोचन, कुनै चर्चापरिचर्चा एवम् प्रशंसागानको प्रायोजनविना नै यो कृति लोकप्रियताको शिखर आरोहण गर्दैछ । यसले नवीन पुस्ताका लेखकहरूलाई सिर्जनात्मक लेखनभित्र गर्नुपर्ने गहन खोज र अध्ययनको प्रक्रियासम्बन्धी निशुल्क पाठ सिकाउने कुरामा विश्वास गर्न सकिन्छ ।

नेपाली साहित्यले कृष्ण गौतम सरको कलमबाट अझ पनि यस्ता गहन कृतिहरूको अपेक्षा गर्दछ र यस्ता मनोरथ पूर्ण हुँदै जाने छन् भन्ने कुरामा विश्वस्त छु ।

अन्त्यमा उपन्यासको सार :

यौटै धर्ती, यौटै सागर, यौटै मान्छे, यौटै जाँगर

आकाश यौटै, पाताल यौटै, सत्य छ यौटै यौटै सार

यौटैबाट फाटेर निस्क्यो, कयौँ हाँगा, कैयौँ फूल र पात

विचार गर्दा विचित्र विश्व गाँसिन्छ उहीँ, पुग्नु छ पार ।