
राजेशको किशोरावस्था यायावरी छ । उनको जिज्ञासापूर्ण चाञ्चल्य र अस्थिर मनस्थितिले उनलाई हिँडाइरहन्छ । ‘सिङ्गो गाउँका भान्जा’ उनी पढाइमा भन्दा ‘धमाचौकडी’मा व्यस्त हुन्छन् ।
——-
राजेश खनाल ! आजभन्दा करीब तीन वर्षअघि सम्म मैले नचिनेको मान्छे । भान्जा आशिषले बाह्रखरीमा काम गर्दाको कुरा हो । त्यसवेला मेरो लेखाइको रफ्तार अलि तीव्र थियो । मलाई लाग्यो, अब बाह्रखरीमा पनि रचना पठाउनुपर्छ । भान्जाले ‘म राजेश दाइलाई भन्छु है त’ भने । पछि भान्जाले राजेशको इमेल ठेगाना दिए । मैले रचना पठाएँ । छापियो पनि ।
म इमेलमा ‘राजेश सर’ सम्बोधन गर्थें । (अब भने भाइ सम्बोधन गर्ने अठोट गरेको छु ।)
अनि फेसबूक मेसेन्जरमा लेख्ने गर्थें, ‘सर नमस्कार, कृपया इमेल हेर्नुहोला ।’ हामीबिचको औपचारिक अनौपचारिक जे भने पनि सम्बन्धको पृष्ठभूमि यही हो ।
अलि पछि मेरो कथा संग्रहको विमोचन कार्यक्रममा उनलाई बोलाएँ । आउलान् नआउलान् दोधारमा थिएँ । तर आए । हामीले पहिलो बाजी हात मिलायौं । उनले बधाई दिए । मैले सोल्लास धन्यवाद दिएँ ।
केही महिना पहिले राजेश र म दुवैजना अस्ट्रेलियाको सिड्नीमा थियौं । त्यहाँ भेट्ने उत्कण्ठा हुँदाहुँदै पनि तारतम्य मिल्न सकेन । म राजेशसँग भन्दा उनको सन्तान ‘घुरको धुवाँ’लाई भेट्न आतुर थिएँ । किनकि राजेशको कायिक व्यक्तित्वमा घुरको धुवाँ फेला पर्दैनथ्यो, किन्तु घुरको धुवाँभित्र राजेशको व्यक्तित्व भेटिन्थ्यो ।
अस्ति भर्खर २०८१ पौष १ गतेका दिन एउटा कार्यक्रममा हाम्रो भेट भयो । उनले झोलाबाट खुसुक्क एउटा किताब निकालेर केही लेख्न थाले । लेखेका रहेछन्, ‘आत्मीय भागवत सरमा सप्रेम भेट’ ।
उनले सप्रेम मेरो हातमा घुरको धुवाँ राखिदिए । मैले साभार ग्रहण गरें । त्यहीँ बस्दाबस्दै मैले किताबको आगापिछा अनुहार हेरें । मुखपृष्ठभन्दा ठीक भित्रको पानामा लेखिएको रहेछ, ‘घुरको धुवाँ (संस्मरणसंग्रह )’ ।
अर्को एक पाना पल्टाएपछि डा. राजेन्द्र विमलको भूमिकामा आँखा गयो । बेजोड भूमिका पढेपछि मलाई लाग्यो, घुरको धुवाँ पनि अवश्य बेजोड होला ।
निवासमा फर्केपछि मैले उसै दिन घुरको धुवाँ पढ्नुपर्थ्यो । किन्तु ‘एउटा थालेको मेलो छाडेर अर्को मेलो थाल्नु हुँदैन’ भन्ने लोकोक्तिलाई ध्यानमा राख्दै पढ्न थालिसकेको डा. श्रीधर खनालको ‘सावर्णि’ उपन्यास पढेर भ्याएँ । पढिसकेपछि पढेको पुस्तकबारे केही लेख्नु उपयुक्त ठानेर ‘सावर्णि’बारे सानो विवेचना पनि लेखें ।
त्यसपछि घुरको धुवाँको पालो आयो । किताब आकारमा सानो रहेछ, तर गुणमा कतै मालभोग केरा जस्तो त कतै एक दुनो स्वादिष्ट मोहनभोग जस्तो । कतै परिहासपूर्ण दिल्लगी जस्तो त कतै च्वास्स जिब्रोमा लाग्ने जिरे खुर्सानी जस्तो । यो किताब पढ्दै जाँदा लेखक राजेश र पाठक म बीच द्वन्द्व चलिरह्यो । म पढ्दापढ्दै बीचैमा छाड्न खोज्ने, तर राजेशले शब्दको जालोभित्र थुनेर उम्कनै नदिने । अन्ततोगत्वा राजेशले जितेरै जिते, मैले हारेर पनि जितें । मैले एकै बसाइमा घुरको धुवाँ तापेर भ्याएँ, तर कतै पनि बिराली परेन ।
मलाई लाग्थ्यो, लेख्ने कुरा त पहाडी सुन्दरतामा धेरै छ । सम्झने कुरा त पर्वतीय शीतल पवनको मृदुल बहावमा छ । सरस एवं ललित साहित्यको स्रोत त हिमाली सौन्दर्यमा मात्र छ । आज राजेशले मेरो पूर्वाग्रहको पहाडलाई भत्काइदिएका छन् । म पहाडमा हुर्केको मान्छे, मेरो मानसपटलमा पहाडिया अतीत भरिभराउ छ । राजेश मधेसमा हुर्केको मान्छे, उनको मानसमा मधेस नै मधेस छ । म एकभाषी छु, त्यसैले म मेरा शब्दहरूलाई बहुभाषिक बनाएर रसिलो तुल्याउन असमर्थ छु । राजेश बहुभाषी छन्, कहाँनेर कस्तो शब्दले पाठकलाई खुसी पार्ने भन्ने कलामा माहिर छन् उनी । उनी नेपाली र मैथिली दुवै मातृभाषाका सन्ततिलाई ‘खुस’ पार्न खप्पिस छन् । गद्यमा पनि काव्यात्मक रसिकता घोलेर पाठकलाई रल्ल पार्न निपुण छन् राजेश ।
राजेशको किशोरावस्था यायावरी छ । उनको जिज्ञासापूर्ण चाञ्चल्य र अस्थिर मनस्थितिले उनलाई हिँडाइरहन्छ । ‘सिङ्गो गाउँका भान्जा’ उनी पढाइमा भन्दा ‘धमाचौकडी’मा व्यस्त हुन्छन् । परन्तु त्यही धमाचौकडी उनको ज्ञानको आधार बन्छ । र त्यही निरन्तरको बुभुत्साले राजेशलाई एउटा लेखक बनाएर हामी सामु उभ्याएको छ ।
शब्दहीन घटनालाई रोचक बनाउन बिछट्ट कुशाग्र छन् उनी । ‘सीता बिँडी खाइरहेकी छिन्’ शीर्षक संस्मरणको रमाइलो प्रसङ्ग हो यो । एउटा मैदानमा रामलीला चलिरहेको थियो । राजेशका कम्लु मामा पिसाब गर्न मञ्चको पछाडि गएका रहेछन् । फर्केर आएपछि उनले भने, ‘आमा आमा पछाडि सीता भगवान् त बिँडी खाइरहेकी छन् ।’ सीताको भूमिकामा लामो झोँटा पाल्ने राजेश भन्ने (अर्कै) ठिटा रहेछन् । निर्दोष कम्लु मामालाई के थाहा कि रामलीलाकी सीता लडकी नभई लडका हुन्छ ।
अर्को रामलीलाको प्रसङ्ग झनै मनोरञ्चक छ । राम र रावणको घनघोर युद्ध हुँदै थियो । निश्चित समय आएपछि रावण ढल्नुपर्ने थियो । तर रामको ठोक्रो खाली हुँदा पनि रावण ढल्दै ढलेन । अति भएपछि लीलाका निर्देशकले सुटुक्क गएर रावणलाई ढल्न आग्रह गरे । अनि रावणले भने, ‘दु गो महिना स तलब नै मिलल है । पहिले तलब दू । तब मरबै । (दुई महिनादेखि तलब पाएको छैन । पहिले तलब देऊ, अनि मात्र मर्छु ।)’
आज राजेश दु:खी छन् । आज उनको प्यारो रामलीलालाई फोनलीलाले खोसेर लग्यो ।
अतीत सच्चाइ हो । अतीतमा दुःखद क्षण पनि आए र सुखद पनि । अतीतको दुःखदायी क्षण पनि आज प्यारो लाग्छ । दुःख जिन्दगीको वास्तविकता हो । दुःखले जीवन जिउने तरिका सिकाउँछ भने विपत्तिले सहने शक्ति प्रदान गर्छ । अतीत व्यक्तिको पहिचानको आधारशिला हो । राजेश आज रसिला छन्, हँसमुख र ठट्यौला छन् । उनी यस्तो हुनुमा हँसिलो अतीतको हात छ । आज राजेश एउटा जिम्मेवार अभिभावक, प्रेमिल मित्र र सर्वोपरि कुरा राष्ट्रका सच्चा नागरिक छन् । उनी यस्तो हुनुमा उनको आरोह र अवरोहपूर्ण विगतको देन छ ।
किशोरावस्थामा उनी एक उद्भट कलाकर्मी थिए । उनी युवतीको भूमिका गर्नमा निपुण थिए । फुकिढल छातीमा मोटी भाउजूको ४४ नम्बरको चेस्टर (ब्रा) फिट गरिएको हुन्थ्यो । निर्देशकले नभएको दाह्रीजुँगा खौरेर राजेशलाई कोमल कपोलिनी बनाउँथे । ब्राभित्र कोचेको कपडाको लुँडोले उनको वक्षलाई उन्नत र सुन्दर तुल्याउँथ्यो । आज उनी तनावमुक्त ‘लाइट मुड’युक्त परिहासपूर्ण लेखाइका धनी बन्नुमा यही सुन्दर अतीतको हात रहेछ । अतीतलाई रमणीय तरिकाले विवेचना गरेर पाठकलाई आनन्द दिने उद्दाम शक्ति छ राजेशमा ।
राजेशको लेखाइमा काउकुती छ । शब्द शब्दमा रोमाञ्च छ । कतै कतै त मीठो लज्जाबोध पनि हुन्छ । ‘बाइजी नाचको झट्का’मा राजेश लेख्छन्, ‘रेश्मा बाईले नोट खोसेको छाती हल्लाएर धन्यवाद दिएको हेर्न सबै लालायित थिए । नोट हुनेहरू नोट दिएर आफ्नो नाममा सुकृयाको थर्काहट खाँदै थिए । नोट नहुनेहरू…..।’
उस बखतका त्यति विधि चुलबुले राजेश र यस बखतका दह्रो र परिपक्व साहित्यकार राजेशलाई देख्दा मेरो मनले भन्यो, ‘यी सारा कौतुक गर्ने राजेशले पढ्यो कहिले ?’
फेरि अर्को मनले भन्यो, ‘राजेशको पढाइ अक्षरमा सीमित थिएन । आज उनले यो हदको अभिव्यक्ति दिन सक्नुमा त्यही गौरवपूर्ण अतीतको व्यावहारिक दीक्षाको भूमिका छ ।’
राजेश एक नम्बरको नौटङ्कीबाज भएको देखेर बाबाले भन्नुभएछ, ‘सियाँमालाने पठाइदिन्छु जलेश्वर !’ राती १२/ १ बजेसम्म कहिले नौटङ्कीमा, कहिले घुर तपाइमा, कहिले रेश्मा बाईको थर्थराहटको रोमाञ्चमा त कहिले सिनेमा हेर्न जनकपुर र सीतामढीतिर भौंतारिनेलाई त्योभन्दा कडा गाली दिनुपर्थ्यो बाबाले । राजेशलाई बाबाले दिएको धम्की पढ्दा आज मलाई मेरो बाले भनेको वाक्य याद आइरहेको छ । ‘एस्सिमालैनेलाई मटेनी ( मटिहानी ) तिर खेदिदिन्छु, अनि खान्छ दुइटा हातले ।’ राजेशको आँगनैनेरको मटिहानी मेरो पाल्पा, खास गरेर खस्यौलीको परिवेशमा पनि निकै परिचित थियो ।
राजेशको ‘सेन्स अफ ह्युमर’ अद्भुत छ । उनी अभिव्यक्तिमा सङ्कोच राख्दैनन् । कहीं कसैले बोलेको वाणीलाई उनी जस्ताको त्यस्तै ट्याप्प टिपेर अक्षरमा उतार्छन् । उनको लेखाइको गरिमा र लालित्यले गर्दा त्यहाँ कुनै अश्लीलताको झल्को पनि आउँदैन । बरु अतीतलाई यति सहज तरिकाले शब्दमा उतार्न सकेकोमा ईर्ष्या लाग्छ । राजेशका शब्दहरू पढ्दै गएँ पढ्दै गएँ । ‘जताततै ठट्टा र मस्करीको नदी बगाउन कति कुशाग्र’ भन्दै आदेश विना नै मनले प्रशंसा गरिरह्यो । मुक्तहृदयी राजेशले मेरो दिलमा स्थान बनाउँदै गए । परन्तु एक ठाउँमा पुगेर उनले भाखा फेरे । हाँसिरहेको मन अकस्मात् उद्वेलित भयो ।
मलाई डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका प्रथम शल्य चिकित्सक हुनुहुन्थ्यो भन्ने थाहा थियो, तर उहाँ राजेशका मामा हुनुहुन्थ्यो भन्ने थाहा थिएन । ‘जन्मभूमिमा अन्तिम शिविर’ संस्मरणमा राजेशले भलुवाहीका सबै छिमेकीका प्यारा ‘डा.अञ्जु बाबु’को बारेमा भावपूर्ण वर्णन गरेका छन् । अञ्जु बाबुले जीवनभर क्यान्सरका बिरामीको उपचार गर्नुभयो । आम जनताको क्यान्सर उपचारका लागि अभियान नै चलाउनुभयो । चुरोटमा ‘क्यान्सर उपचार कर’ लगाउन र सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने कार्यमा पहल गर्नुभयो । परन्तु जीवनको विडम्बना, २०७० सालको मध्यतिर उहाँ आफैलाई क्यान्सर भएको पत्तो लाग्यो ।
राजेशले यो लेखमा मानवता, करुणा र मानवीय जीवनको पीडा एवं व्याधिबारे भावुक वर्णन गरेका छन् । जीवनभरि जुन कुराको विरुद्धमा लडियो, जुन कुराको निराकरणका लागि सारा जीवन अर्पण गरियो, जीवनको सन्ध्याकालमा त्यही कुराबाट ग्रसित हुनुपर्यो । त्यस्तो दारुण्यको अवस्थामा पनि जो आफ्नो कर्ममार्गमा सरिक भइरहन्छ, त्यही सच्चा मानव हो । डा. अञ्जनीले क्यान्सरले आफैलाई खाइरहेका बखतमा पनि जन्मभूमिको सेवा गर्न छाड्नुभएन । उहाँले आफैले आयोजन गरेको स्वास्थ्य शिविरमा उपस्थित भएर थुप्रै बिरामी जाँच्नुभयो ।
राजेश लेख्छन्, ‘उहाँलाई थाहा थियो, जीवनका दिनहरूको काउन्ट डाउन शुरू भइसकेको छ, र आफ्नो थातथलोमा अन्तिम पटक स्वास्थ्य शिविर गर्दैछु ।’ तैपनि अञ्जनी बाबु जीवनसँग हार्नु भएन । सायद मानवीय आत्मविश्वास र जज्बाको पराकाष्ठा भनेको यही होला । शायद डा. अञ्जनी र अरू उहाँ जस्तै अञ्जनीहरूको योगदानले नै होला, अझै पनि नेपाल बस्न लायक छ ।
राजेश आफ्ना मामाको मानसको गहिराइमा बसेको राष्ट्रप्रेमको भावनालाई शब्द दिंदै लेख्छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
बाँकी पछि …



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

