चाडपर्वमा म सधैँ घर हुन्छु । सदरमुकाम चरिकोटबाट ४ घण्टा लाग्छ गाडीमा घर पुग्न । झ्याँकु घरसम्मै गाडी जान्छ । पहिला पहिला त झ्याँकुबाट चरिकोट आउँदा हिँडेर ७ घण्टा जत्ति लाग्थ्यो । विकास भनेकै अहिले गाउँ गाउँमा धुलाम्मे र हिलाम्मे सडक हो । दशैं तिहारमा घर जाँदा जहिले पनि मेरो झोलामा १,२ वटा किताब हुन्छ । वर्षभरिको फुर्सद यही दशैं तिहार मात्र हो जस्तो लाग्छ । रेडियोमा काम गर्न थालेपछि बिदा कहिले हो भन्ने  थाहै हुँदैन । कहिलेकाहीँ त बिहानदेखि बेलुकीसम्मै कार्यालयमा हुन्छु ।

फूलपातीको दिन घरमा पुगेको थिएँ । खाल्डाखुल्डी सडक अनि गीत घन्किँदै गुडेको गाडी कोक्रोमा हल्लाएझैँ लाग्छ । दिनभरि गाडीमा हल्लिँदै घर पुगेँ । घर पुग्दा साँझ परेको थियो । बल्लतल्ल घर पुगेको हुनाले खानपिन, गफगाफमा समय बित्यो ।

हुन त अहिले गाउँमा पनि टेलिभिजन, नेट इन्टरनेटको सुविधा छ । अहिले गाउँका सामान्य मान्छेको हातमा पनि स्मार्ट फोन देख्छु । फेसबुक, टिकटक आइडी नभएका सायद कमै होलान् । गाउँमा पुग्दा यी सबै चीजबाट टाढा रहन मन लाग्छ । अझ फोनको नेटवर्क नदिए पनि हुन्थ्यो लाग्छ ।

गाउँ जाँदा किताब नपढेको सायद कुनै दशैं तिहार छैन होला । न्यानो घाममा गुन्द्री ओछ्याएर मकै भटमाससँग मोही सुरुप्प खाँदाको क्षण कम्ता स्वाद आउँदैन । ३, ४ घण्टा गुन्द्रीमा पल्टेर किताब पढ्ने लत भएको छ र यसका मज्जा लिन्छु । मेरी आमा ‘तेरो पढाई कहिले सक्ने हो ? जहिले पनि पढेको पढै गर्छस्’ भनी सोध्नुहुन्थ्यो । हुन त चाडपर्वको बेलामा गाउँमा पनि आफन्तजन, साथीहरूसँग भेटघाट गर्नुपर्ने हो । तर मन नमान्दो रहेछ । किताब पढेन भने निन्द्रा पनि लाग्दैन । के भएको के नभाको जस्तो लाग्छ ।

डम्फुको आत्मालाप

डम्फुको आत्मालाप

यसपटक मेरो झोलामा भक्त स्याङतानको पहिलो कथासङ्ग्रह डम्फुको आत्मलाप मात्र थियो । मलाई भक्तजीले एक डेढ महिनाअघि नै काठमाडौँमा भेटेर दिनुभएको थियो । पढ्नु पर्ने किताबको चाङ नै छ अझै । तर मलाई बारम्बार यही किताब पढ्न मन लागिरहन्थ्यो । एक हप्ते बैङ्कक यात्रामा पनि पढौला भनेर बोकेको थिएँ तर त्यहाँ त एक पाना पनि पल्टाउन भ्याएन । अहिले मेरो बानी पनि अलि अलि बिग्रिँदै गएको छ । भोलिवाद धेरै पटक छोएको छ । जसले गर्दा कोठामा एक दर्जन जत्ति थन्को लागेको छ किताबहरू ।

किताबको नामले मेरो मन तान्यो । अझ आफू पनि त्यही डम्फुको तालमा हुर्केको । मैले थाहा पाएदेखि डम्फु झुण्डेको हुन्थ्यो घरको भित्तामा । बिहे, पूजाआजा, ल्होछारमा आफैले डम्फु बजाएर कम्मर मर्काएको ताजै छ । ढुङ्गा बिछ्याएको ठूलो आँगनमा स्याजीहै च्याङ्बा स्याजीहै भन्दै डम्फुको ताक धिङ धिङ  आवाज अहिले पनि कानमा बजेझैँ लाग्छ । त्यसैले पनि डम्फुको आत्मालाप मेरो लागि पठनयोग्य ठाने ।

मेरो बानीअनुसार पाना पल्टाउनु पहिले किताब मज्जाले सुमसुम्याएँ । बाहिरी कभरको स्पर्शले पनि पानाहरू पल्टाउँझैं लाग्न थाल्यो । भक्तजी मेरा पुराना मित्र हुन् । कुनै समय उहाँ नमोबुद्ध एफएमको स्टेसन म्यानेजर, म कालिञ्चोक एफएमको । हामी धेरै चोटि रेडियोको तालिम, गोष्ठीमा सँगसँगै थियौँ । त्यत्ति बेला हामी प्राय रेडियोकै चिन्तन, मनन गर्थ्याैै । साहित्यिक गफगाफ भएको त लगभग एक वर्ष जत्ति भयो होला ।

कात्तिक महिना भए पनि पारिलो घाम ताप्नुपर्ने मौसम थियो । बिहानैदेखि सिरसिर हावा चलिरहेको थियो । गाउँमा आयोजना भएका खेलकुद, सांस्कृतिक कार्यक्रमतिर पनि सहभागी भएँ । कार्यक्रममा पनि पढ्न पाए हुन्थ्यो भन्ने नै लाग्थ्यो । अरूले देख्ने गरी पढ्दा पनि यो कत्ति नै पढालु भएको भन्ठान्थे । समाजको यस्ता खालका सानातिना आरोपहरू पनि खेप्नु पर्यो । समाजअनुसार चल्नु पर्ने हाम्रो बाध्यता पनि हो । सबै कुरा त्यागेर किताब पल्टाएँ ।

मलाई सुरुकै कथाले किताब छोड्न मन लागेन । ‘डम्फुको आत्मालाप’मा ११ वटा कथाहरू छन् । लुङ्दर, छयोर्तेन, न्होरला, छेदिङ्मो, जलजला, म्लाङ्गैको आपा, पेम्बाको कथा, दलुचा, डम्फुको आत्मालाप, याम्बुमा लाक्पाको सङ्घर्ष र बुट्टे गलबन्दी आदि । लुङ्दर शब्द मेरो प्रिय शब्द हो । किन टिकाकै दिन घरमा लुङ्दर राखिने गर्छ र यस पटक पनि राख्नु भयो आपाले । आपा पनि कात्तिक र चैत्रमा लुङ्दर राख्न जानुहुन्छ ठाउँ ठाउँमा । गाउँमा कुन जातिको घर हो भनेर सहजै चिन्न सकिन्छ लुङ्दरबाट ।

झ्याँकुमा पनि तामाङ र शेर्पा समुदायको बाक्लो उपस्थिति रहेको गाउँ हो । तामाङ र शेर्पा समुदायले वर्षमा दुई पटक लुङ्दर राख्ने गर्छन् । आपा पनि लामा भएकाले कतिपय शब्द र रिमठिमसँग म परिचित छु । मेरो गाउँमा अधिकांश तामाङहरूको न्वारानदेखि मृत्यु संस्कारसम्म आपाले नै गर्ने भएकाले लुङ्दरको विषयमा अनविज्ञ हुने कुरै भएन ।

यसरी भक्तजीको कथासङ्ग्रहमा पनि लुङ्दर १० वर्षे जनयुद्धको विषय समेट्दा कथा जस्तो होइन वास्तविकता घटना जस्तो लाग्यो । किन कि १० वर्षे जनयुद्धमा म पनि प्रत्यक्ष-अप्रत्यक्षदर्शी र पीडितकै रूपमा लिन्छु । मैले २०५५ सालमा एसएलसी उत्तीर्ण गरेपछि सिएमए पढ्न चरिकोट सदरमुकाम आउनुपर्थ्यो । लगभग यही समयमा द्वन्द्व चरमउत्कर्षमा  पुगेको थियो । गाउँमा पढेलेखेका र ठिटाठिटी कोही हुँदैन थियो । कोही पुलिसमा त कोही माओवादीमा ।

कोही नयाँ देखेमा तुरुन्तै माओवादीले लगिहाल्थे । मलाई पनि माओवादीले लान्छ भनेर ठूला दाइले चरिकोटमा सिएमए पढ्न पठाएका थिए । बिदाको दिन घरमा जाँदा धेरै चोटि माओवादी र आर्मी पुलिसको फन्दामा परेको छु । एक पक्षले अर्को पक्षको होला भनेर केरकार गर्ने गाउँमा पनि खुब हुन्थ्यो । माओवादीहरूले रातीराती घरमा आएर सोधखोज नगरेको पनि होइन । आर्मीको गस्तीमा पनि शङ्काको घेरामा नपरेको पनि होइन । यही द्वन्द्वको कारण धेरै युवाहरू विस्थापित पनि भएका थिए । गाउँ छाड्न बाध्यता पनि थियो । ज्यानभन्दा ठूलो के नै हुन्छ र ? लुङ्दर कथामा पनि यिनै कुराहरू समेटिएका रहेछन् ।

कथाहरू सरसरती पढिरहँदा द्वन्द्वकालमा मलाई मेरै गाउँको झल्को दियो । कतैकतै मिति मिले जस्तो पनि लाग्यो । कतै लेखकले मेरै गाउँको घटना पो समेटिएको होइन जस्तो पनि लाग्यो । १० वर्षे जनयुद्ध ख्यालख्याल होइन । मुलुकको इतिहासको लागि यो महान् घटना ठान्दछु म । देखेको मात्र होइन भोगेको पनि छु । तसर्थ यस घटनालाई कथा, कविता, उपन्यासमार्फत इतिहास कायम गर्न आवश्यक थियो र छ पनि ।

इतिहासलाई बेला बेलामा नियाल्दा नयाँ कार्यको सिर्जना गर्न सजिलो र मार्गदर्शनको रूपमा लिन सकिन्छ । अझ भन्ने हो भने द्वन्द्वकालमा धेरै आदिवासी जनजातिहरूले अकालमै ज्यान गुमाएका थिए । अहिले पनि ढुङ्गामा र स्कुलका भित्ताहरूमा लेखिएका नाराहरूले मन सिरिङ्ग बनाइदिन्छ । जातीय र लैङ्गिक नाराहरूले तामाङ समुदाय पनि पछि पर्ने कुरै भएन । त्यही कारण सयौँ तामाङहरू सहिद भएका थिए । सयौँ तामाङहरू बेरोजगार बनेका छन् अहिले । बीचमै पढाइ छाडेर अलपत्र बनेका छन् । सत्ता र भत्ताको स्वाद चाख्न नपाएका कयौँ तामाङ छन् अहिले पनि मेरो गाउँमा ।

यस कथाले पनि मेरै तल्लो घरको कान्छा काकाको छोरी, माथिल्लो घरकी माहिली आमाको छोराको कथा बोके जस्तो लाग्यो । अहिले बुढेसकालमा बिदेसिएका छन् द्वन्द्वकालमा मुक्तिका नारा लगाउँदै तीन हात उफ्रेका र ताम्सालिङ राज्यको सपना देखेका तामाङहरू ।

लुङ्दरले कुन ठाउँको कथा बोकेको हो थाहा भएन तर यस कथाले मेरो समुदायको कथा भने अवश्य बोकेको र पोखेको छ । कोरिएका शब्दहरू, शब्दमा होइन व्यक्ति व्यक्तिमा रूपान्तरण भयो । पाइला पाइला घटनाहरू सम्झेँ । लुङ्दर ‘डम्फुको आत्मालाप’को कथाले नै किताबले पूर्णता पाएको छ ।

एउटा कथा पढ्न एक घण्टा लाग्यो होला तर एक घण्टा मेरो मनलाई थाम्न समय लाग्यो ।