जीवनको उत्तरार्धतिर पुगेपछि साहित्यमा सक्रिय रूपमा लाग्ने साहित्यकारमध्येका एक  हुन् विष्णु एस राई ।

करिब चार दशकअगाडि म प्रवीणता प्रमाणपत्र तहकी विद्यार्थी हुँदादेखि नै उनलाई चिनेकी हुँ । उनी धनकुटा बहुमुखी क्याम्पसका अंग्रेजी शिक्षक थिए । त्यति बेला उनी क्याम्पसमा यदाकदा भैरहने साहित्यिक कार्यक्रममा अंग्रेजीमा लेखिएका कविता सुनाउने गर्थे । अनि म उनलाई यसै गरी अंग्रेजी कविता लेख्ने नेपाली कवि हुन् भनिठान्थेँ ।

डाँडावारि डाँडापारि

डाँडावारि डाँडापारि

सौभाग्यवश करिब दुई वर्षअगाडि एउटा साहित्यिक यात्रामा भारतको असम जाने क्रममा उनै चिरपरिचित विष्णु एस् राई मेरा एक सहयात्री बन्न पुगे । त्यो यात्रा क्रममा मैले राईद्वारा लिखित नेपाली पुस्तक ‘जिन्दगीका पानाहरू’ झुलुक्क देखेँ र सोचेँ, ‘ओहो ! राई सर त नेपालीमा पनि पो लेख्नुहुँदो रहेछ ।’ एनजेपी रेल स्टेशनमा हामीले आफ्नो रेल पर्खेर करिब तीन-चार घण्टा नै बस्नुपरेको थियो ।

त्यति बेला अनेक क्रियाकलाप गरेर समय कटनी गर्ने क्रममा हाम्रो समूहमा सामेल अर्का पर्या साहित्यकार विजय हितानले राईको उही पुस्तक अर्थात् ‘जिन्दगीका पानाहरू’ बाट ‘उनको मेरो साथ’ भन्ने कविता वाचन गरेर सुनाए । त्यो कविता सुनेपछि मात्र मलाई विष्णु एस् राई अंग्रेजी भाषाका साथसाथै नेपाली भाषामा पनि कलम चलाउने साहित्यकार रहेछन् भनेर थाहा भयो । सरल भाषामा लेखिएको उनको कविता हामी सबैले खूब मन पराएका थियौँ । त्यो कविताको एक अंशः

उनको मेरो साथ

जस्तो दाल र भात

उनको मेरो संवाद

जस्तो ढिँडोसँग गुन्द्रुकको अचार

गोलभेँडाको चटनी टिम्मुरका साथ

कहिलेकहीँ करेलाको तीतो

कहिले डल्ले खोर्सानीको पीरो

तर अन्ततः दहीको शीतल स्वाद ।

पछि मैले राईको ‘जिन्दगीका पानाहरू’ पढेँ पनि । उनको काव्यिक लेखन शैलीले म निकै नै प्रभावित भएँ । यिनै साहित्यकार विष्णु एस राईको पछिल्लो पुस्तक ‘डाँडावारि डाँडापारि’ मेरो हात पर्यो ।

लेख्न त राईले फुटकर कविताहरू २५ वर्षकै उमेरदेखि लेख्न थालेका हुन् । तर पुस्तकाकारका रूपमा भने उनले ६१ वर्षमा टेकेपछि मात्र आफ्नो पहिलो पुस्तक ‘सुदामा’ खण्डकाव्य प्रकाशित गरे । त्यसपछि उनले अंग्रेजीमा सात र नेपालीमा आठ गरी अहिलेसम्म १५ वटा पुस्तक साहित्यको भन्डारमा जम्मा गरिसकेका छन् ।

यी मध्येकै ‘डाँडावारि डाँडापारि’ नियात्रासंग्रह राईको हालसालै प्रकाशित पुस्तक हो । पुस्तकलाई राईले दुई खण्डमा विभाजित गरेका छन्— ‘डाँडावारि’ र ‘डाँडापारि’ ।

‘डाँडावारि’ खण्डमा उनले आफ्नो देश अर्थात् नेपालभित्रका विभिन्न ठाउँमा गरेका यात्रा वर्णनलाई एघार वटा नियात्रामा समेटेका छन् । अनि ‘डाँडापारि’ खण्डमा उनले विदेशका विभिन्न ठाउँमा गरेका यात्राहरूलाई छ वटा नियात्रामा समावेश गरेका छन् । यसरी संग्रहमा जम्मा सत्रवटा यात्रा विवरण पढ्न पाइन्छ । यी यात्राहरू लेखकले सन् १९९९ देखि सन् २०२० सम्म गरेका हुन् ।

यो पुस्तक पढ्दै गर्दा मलाई प्याजका पत्रहरू उप्काएजस्तै लाग्यो । यस नियात्रालाई पाठकले विभिन्न तहबाट पढ्न सक्छन् । यस पुस्तकको महत्त्वपूर्ण विशेषता भनेको यहाँका सबै नियात्रा लेखकले आफ्नी छोरी डल अथवा डा. आरतीलाई समर्पित गरेर लेखेका छन् । यहाँ लेखकले अलि नौलो लेखनशैलीको प्रयोग गरेका छन् । यो शैलीलाई उनले ‘कथात्मक हाइबुन शैली’ (गद्य–पद्य मिश्रित) भनेका छन् ।

हाइबुन शैलीको इतिहास हेर्ने हो भने यसको शुरुवात एक जापानिज कवि मात्सुओ बासोले सन् १६९० तिरै गरेका हुन् । विश्व साहित्यमा यस्तो खाले शैली प्रचलित भए पनि नेपाली साहित्यमा यो सर्वथा नौलो हुनसक्छ । विष्णु एस.राईको हाइबुन शैलीको प्रयोग उनको ‘जिन्दगीका पानाहरू’ मा पनि पाइन्छ ।

मूलतः ‘डाँडावारि डाँडापारि’ पुस्तकमा तीन वटा प्रवृत्ति देखिन्छन् । तिनमा पहिलो – आफ्नी प्रिय छोरी डललाई सम्बोधन गरेर लेखेका चिठी, दोस्रो – उनले भ्रमण गरेका ठाउँको वर्णन र उनका अनुभव अनि तेस्रो – लेखकले सो समयमा आफ्नो मनमा उठेका भावहरूलाई अभिव्यक्ति गर्नलाई रचिएका कविता हुन् ।

डललाई लेखेका चिठीमा राईले धेरै कुरा उठाएका छन् । उदाहरणका लागि, जीवनमा पढाइको महत्त्व (पढाइ भन्नाले यहाँ नियमित रूपमा पढिने विभिन्न पुस्तक अर्थात् लेख–रचना भन्ने बुझ्नुपर्छ ), मानिस मानिसमा हुने सामाजिक विभेद (लेखकको आग्रह यस्तो विभेद गर्नुहुँदैन भन्ने हो), राम्रो अंक ल्याएर परीक्षामा उत्तीर्ण हुनु मात्र जीवनको उद्देश्य नभएको, यात्राको महत्त्व, महिला शिक्षाको महत्त्व, महिला सशक्तीकरण रहेका छन् । समग्रमा लेखक आफ्नी छोरीलाई चिठीमार्फत एक असल मानिस भएर जिउनुमा नै जीवनको सार लुकेको छ भन्ने खालको सन्देश दिन्छन् ।

राईले छोरीलाई सम्बोधन गरेर लेखेका यी चिठी पढ्दा मलाई लाग्यो— वास्तवमा हामीले आफूसँग जे छ, त्यही नै आफ्ना छोराछोरीलाई हस्तान्तरण गर्छौं क्यार । एउटा जमिनदार बाबुले आफ्ना सन्तानलाई जमिन नै देला, धनी बाबुले छोराछोरीका लागि भनेर सम्पत्ति नै थुपारिदेला अर्थात् कुनै बाबु आमाको हातमा विशेष सीप छ भने उनीहरूले त्यही सीप आफ्ना सन्ततिलाई हस्तान्तरण गर्लान् । यसरी नै जीवनभरी अक्षरसँग खेलेर रमाएका लेखक तिनै सुन्दर अक्षरहरुको उपहार आफ्नी छोरीलाई हस्तान्तरण गर्न चाहन्छन् ।

उनलाई विश्वास छ, तत्कालै नभए पनि कुनै न कुनै दिन डलले आफ्नो व्यस्त समयबाट केही समय निकालेर आफ्नो बुबाले आफूलाई नै समर्पण गरेर लेखेको यो पुस्तक खोल्नेछिन् र पढ्नेछिन् । अनि उनी आफ्ना लागि छोडिएका सन्देश देख्नेछिन् र धेरै कुरा थाहा पाउनेछिन् । त्यति बेला उनी कस्तो अनुभूति गर्लिन् ?

पढ्दै जाँदा आम नेपालीको, विशेष गर मध्यम वर्गीय नेपालीहरूको आर्थिक हैसियतको बारेमा पनि थाहा हुन्छ । अझै पनि हाम्रो विशुद्ध यात्रा मात्रै गर्ने परिबन्ध मिलिसकेको छैन । त्यसैले त लेखक आफूले गरेका १७ वटा यात्रा मा १५ वटा त कामकै सिलसिलामा गरिएका हुन् भन्ने तथ्य औँल्याउँछन् ।

उनी भन्छन्, ‘हामी नेपाली लेखकहरूको आर्थिक स्थितिले यात्राका लागि यात्रा गर्ने अनुभूति दिँदैन— सभा सेमिनार वा त्यस्तै कुनै कामको निहुँले मात्र यात्रा गरिन्छ । यस पुस्तकमा भएका यात्राहरू पनि त्यही सन्दर्भमा भएका हुन्,’ (लेखकीय) ।

उनले दुईवटा यात्राचाहिँ यात्राको लागि गरेका छन् । ती यात्रालाई उनले ‘संसारको छानामाथि’ र ‘चेन्नई–जयपुर–आगरा–कञ्चनपुर’ शीर्षकमा समेटेका छन् ।

राईले नेपालका हिमाल, पहाड र तराई तिनै क्षेत्रमा गरेका यात्रालाई यो संग्रहमा अटाएका छन् । यसै गरी यी यात्राले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मै छोएका छन् । विदेशका हकमा भने उनी भारतका केही ठाउँ, बंगलादेश, अमेरिका र पोल्याण्ड पुगेका छन् । यस्ता यात्रा क्रममा लेखकले खालि आफू पुगेका ठाउँको वर्णन मात्र गरेका छैनन् ।

उनले ती ठाउँको जीवनशैली, उनको ती ठाउँप्रतिको दृष्टिकोण र अनुभूतिलाई समेत समेटेका छन् । यसका अतिरिक्त उनले तत् समयमा आफ्ना मनमा उठेका भावनालाई पनि थपक्क कवितामा उतारेका छन् । यी नियात्रामा राईका पेशागत कुरा पनि छ्यापछ्याप्ती भेटिन्छन् । उनका धेरैजसो नियात्रा कथा पढेजस्तै रमाइलो लाग्ने खालका छन् । उनी यथार्थको धरातल र कल्पनाको सन्सारमा बारम्बार गोता लगाइरहन्छन् ।

उनको एउटा आलेख ‘निमुखाकी श्रीमती’ चाहिँ पूर्णतः भाषिक चर्चा र भाषा शिक्षण विधिमा केन्द्रित छ । बाह्र पृष्ठ लामो यो लेखमा लेखकले शुरुका तीन पृष्ठ नियात्रामा  खर्चिएका छन् भने बाँकीका नौ पृष्ठमा चाहिँ उनले भाषा र भाषा शिक्षणसम्बन्धी विविध कुरालाई उठाएका छन् । त्यसैले यो लेख कागका बीचमा बकुल्लोजस्तो देखिन्छ ।

यो पुस्तकमा राईले धेरै रोचक प्रसङ्ग पनि उठाएका छन् । उदाहरणका लागि, ‘संसारको छानामाथि’ भन्ने आलेखमा आफ्ना सबै विदेशी साथीहरूले ‘ह्याभ यु बिन टु द बेस क्याम्प ?’ (तिमी सगरमाथाको बेस क्याम्पमा पुगेका छौ ?) भन्ने प्रश्न बारम्बार सोध्दा उनी आफ्नो मन कटक्क भएको अनुभव सुनाउँछन् । आफूलाई यस्तो प्रश्न सोध्ने सबै विदेशी त्यहाँ जाने गरेको र त्यहाँको सुन्दरताको विस्तृत वर्णन गर्ने गरेको सुन्दा विष्णु एस्.राईलाई उनीहरूप्रति ईर्ष्या पनि जागेर आउँछ ।

हुन पनि हो, विदेशीहरूको सम्पर्कमा आउने धेरैजसो नेपालीले यो प्रश्नको सामना गर्नुपर्छ । उनीहरूलाई हामी नेपाली हौँ भन्ने बित्तिकै हामी सगरमाथाकै फेदीमा घर बनाएर बस्छौँ जस्तो लाग्छ । मैले पनि यस्तो प्रश्नको सामना गरेको छु । लेखक यहाँ भाग्यमानी साबित भएका छन् । कारण, उनी जीवनको उत्तरार्धमा अथवा ६४ वर्षकै उमेरमा भएपनि सगरमाथाको बेसक्याम्पमा पुगेका छन् । अब उपरान्त उनले आफ्ना विदेशी मित्रले, ‘ह्याभ यो बिन टु द बेस क्याम्प’ भनेर सोध्दा अमिलो मुख लगाएर ‘नो’ भन्नुपर्ने छैन ।

अर्को प्रसङ्गमा लेखक आफ्नो पहिलो अमेरिकाको भ्रमणका क्रममा (‘पहिलो अमेरिका यात्रा: शिकागोदेखि क्यालिफोर्नियासम्म’) भिजाको इन्टरभ्यू दिन गएका हुन्छन् । त्यहाँ आफ्नो पालो पर्खिएर बसिरहेकै बेला एकजना सज्जनले उनलाई सोध्छन्, ‘तपाईँ थाङ्ना, भिजाका लागि कि टोपी भिजाका लागि ?’ मैले हिजोआज जनजिब्रोमा प्रचलित ‘तेल भिजा’ त सुनेकी थिएँ । तर यहाँ उल्लेखित यी दुवै प्रकारका भिजा मेरालागि नौला भए । तैपनि प्रसङ्गले त बुझियो तर यस्ता खाले भिजाको चक्करमा नपरेका लेखक एकछिन त अलमलिएछन् ।

तर उनै व्यक्तिले ‘हामी–तपाईंजस्ता मान्छेहरू अमेरिका दुई कारणले जान्छन्— कि त छोरा–बुहारी अथवा छोरी–ज्वाइँले नाति–नातिना पाइदिएकाले स्याहार–सुसार गरिदिन, वा छोरा–छोरीले पढ्न गएर पास गरेको खण्डमा उनको कनबोकेसनमा । पहिलोचाहिँ थाङ्ना भिजा, दोस्रोचाहिँ टोपी–भिजा — बुझ्नु भएन ?’ भनेपछि मात्र उनका ज्ञानचक्षु खुल्छन् । यो प्रसङ्गले वर्तमान समयमा पहिलो पुस्ताका अधिकांश नेपालीले गर्ने विदेश भ्रमणको सत्यता पनि बोकेको छ ।

यो पुस्तक पढ्दै गर्दा विष्णु एस्.राई एक बहुभाषिक व्यक्ति रहेछन् भन्ने कुरा बुझ्न पाठकले धेरै बेर पर्खिनुपर्दैन । त्यसैले त उनी विभिन्न भाषाका कविताका उदाहरण सान्दर्भिक पारामा दिन पछि पर्दैनन् । अंग्रेजी र नेपाली त भै नै हाले । यिनका अतिरिक्त मैथिली, बाङ्ला, उर्दू, हिन्दी भाषाका साहित्यको चर्चा यहाँ प्रशस्तै भेटिन्छ ।

यति मात्र नभई उनी मैथिली भाषामा कुराकानीसमेत गर्न सक्ने रहेछन् भन्ने तथ्य उनको शुरुकै आलेख ‘तराई मधेसको गर्मीमा’ भेटिन्छ । लेखकको यही बहुभाषिकताले गर्दा नै उनले प्रयोग गर्ने भाषामा पनि यी भाषाको प्रभाव देखिन्छ— विशेषगरी हिन्दी र मैथिली भाषाको । उदाहरणका लागि, उनले प्रयोग गरेका बाँसका करची, गोहाल, इजोरिया, जटजटिन खेल, पनभर्नी, जिद, रुमानी, जेहन, मनपसन्द, बेबाक अन्दाज आदि हुन् ।

राईले गरेका यति धेरै यात्रा क्रममा आफ्नी श्रीमतीलाई भने दुईवटा यात्रामा  मात्र समावेश गरेका छन्, जुन अलि अनौठो लाग्छ । आफ्नी छोरीलाई यात्राको महत्त्व सम्झाइरहँदा उनले श्रीमतीलाई चाहिँ यस्ता यात्रामा सामेल गराउन किन बिर्सिएका होलान् ? अति भएर लेखक दोस्रो पटक अमेरिका जाने भएपछि उनकी श्रीमती विद्रोह नै गर्छिन् । उनीहरू जोईपोईको कुराकानी निकै रमाइलो छः

‘सधै तिमी एक्लै जाने, म पनि जाने ।’

‘अमेरिका जान भिजा पनि चाहियो नि !’

‘थाहा छ नि । भिजा लिने ।’

‘अमेरिकाको भिजा त्यति सजिलो कहाँ पाइन्छ र ?’

‘श्रीमान्को भिजा छ भने श्रीमतीले पनि पाउँछ रे, मलाई सबै थाहा छ ।’

‘भन्याजस्तो भए त के थियो र ।’

‘हैन तिमीले मलाई लाने मन छैन भने लान्न भनिदिए हुन्छ क्या, यस्तो बाह्रसत्ताइस कुरा मलाई मन पर्दैन ।’

यसरी श्रीमतीले अन्तिम प्रहार गरेपछि मात्र लेखक उनलाई आफूसँगै अमेरिका लान राजी हुन्छन् ।

राईका यस्ता खाले विभिन्न  कथा सुन्दै, कविता सुन्दै उनीसँग डाँडावारि र डाँडापारि डुल्दा पाठक रोमाञ्चित भई नै रहन्छन् ।