फेरि त्यही उज्यालो माग गर्यौं

हिमालको पानी पिएको छु मैले पनि

त्यही हिमालको कुनाबाट सत्य बोल

यदि मेरो आवश्यकता परेकै हो भने

आउनेछु पुनः भुलेर सबै तिम्रा भुलहरू

                  –पुनर्मिलन

कवि सिन्धु पौडेलले आफ्ना कावितासंग्रह ‘मृतसागरको उचाइबाट’को मध्य शीर्षक पुनर्मिलन जुन कवितामा कविले परदेशी मनहरूको प्रतिनिधित्व गर्दै आफ्ना कविता पुनर्मिलनमा थप यसरी बहकिन्छिन्:

फेरि त्यही ठाउँमा एकसाथ पुग्न सके

हामी एक पटक

, फर्किन सके तिम्रो त्यो कठोर मन

सम्झ–

अझै बाँकी छ एक त्यान्द्रो आशा

हाम्रो पुनर्मिलनको ।

विश्व साहित्यमा यस्ता कविहरूको जन्म भएको छ । जसको कारण ठुलठुला सङ्ग्रामहरूले सफलता पाएको छन् । नेपालमै पनि २०६२०६३ को जन–आन्दोलनमा कविहरूको महत्त्व निकै थियो । नेपालमा पछिल्लो समयको समकालीन कविको रूपमा हामीले अर्जुन पराजुलीलाई लिन सकिन्छ । जसको कवितामा समुन्नत नेपालको भाव झल्किन्छ । त्यसैले साहित्यको यो विशाल सागरमा ‘मृतसागरको उचाइबाट’ (परदेशका कविताहरू) विश्वभरि छरिएर रहेका नेपाली पाठक माझ  कविता मार्फत आफ्ना विचारहरू पर्दाफास गरेकी छिन् कवि पौडेलले ।

२०३७ सालमा चितवनको भरतपुरमा जन्मनु भएको सिन्धु हाल इजरायलको कियरगिभरको रूपमा कार्यरत छिन् । साथै उहाँ नेपाली साहित्यको विश्वव्यापी संस्थाहरूमा समेत आबद्ध छिन् । प्रदेशमा टपक्क टिपेर पैसा कमाउन सकिन्छ भन्ने आश बोकेका आम युवाहरूलाई बिम्ब मार्फत यसरी सम्झाउँछिन् :

बुद्धभुमी छोडेर युद्धभुमी आइपुग्दा

बारुदका गन्धहरूमा

जीवनका सुगन्ध

हराएको देखे,

धनको जङ्गलमा

मनको बाटिका

डढेलो लागेको भेटे,

तथापि, जहरिलो मन लिएर

कहरिलो जीवन सम्हाल्दै

दिनहुँ पड्किरहने गोलाबारुद सहँदै

बंकरमा लेकेर पैसा टिप्दै छु म

नानीको लागि–

भोलिको उज्याले किन्न । 

–ब‌ंकरमा लुकेर पैसा टिप्दै

यसरी सन्ततिको भविष्यका लागि हजारौं युवाहरू बिदेसिइरहेका छन् । जहाँ उनीहरूले आफ्नो ज्यानलाई बाजी राखेर सुनौलो भविष्यको परिकल्पना स्वरूप आफूलाई सम्हाल्न विवश भएको युवाहरूको आफ्नो कविता हो– सिन्धुको मृतसागरको उचाइबाट ।

नेपाली नेताहरूलाई समेत राम्रो सबक सिकाएकी छिन् । परदेशमा रहेको नेपालीहरूको मन जहिले पनि आफ्नो जन्मभूमिको समृद्धि सुशासन र अमनचयन भएको देख्न चाहन्छन् । जसलाई ‘रूपान्तरित नेता’ शीर्षकको कविता मार्फत उजागर गर्छिन् :

आजकाल ऊ मान्छेको नजिक छैन

मेरो समीप छैन

सहर भनिने सिंहमरमरको जङ्गलमा पसेको छ

चुनाव जितेर गएदेखि गाउँ फर्केको छैन

सदनमा विराजमान छ

सत्ता र भत्ताको भोगमा मस्त छ

नेताबाट ऊ रूपान्तरित भएको छ ।

नेताहरूलाई चुनावमा जिताएर पठाएपछि आफ्नो पहिचान बिर्सेर नेताहरू चाडकीबाझमा मौलाएको कुरा यसरी प्रस्ट्याउँछिन् सफल कवि सिन्धु पौडेलले ।

नेताहरूले बाटो भुले पनि आफूजस्ता कयौं व्यक्ति स्वाभिमान धरौटी राखेर परदेसिनु परेको तितो यथार्थ बिम्ब मार्फत पोख्छिन् :

यो रेगिस्तानी बालुवाको अभागी पहाड

जसरी सहेर बसेको छ सुख्खा हावाहुरी

त्यसरी नै झेल्दैछ निरीह मेरो देश

रुखो राजनीतिको विषाक्त आँधीबेहरी

लाचार म आप्रवासनमा पसिना बेच्न

आइपुगेछु आफ्नै स्वाभिमान धरौटी राखेर

मृतसागरको उचाइबाट

सगरमाथाको गहिराइ नाप्न     

–बालुको पहाड

सबै कुरा कविता मार्फत उजागर गर्न सक्ने कवि सिन्धु प्रेमको बारेमा पनि उत्तिकै  कलम चलाउन माहिर छिन् । उसो त कवि सिन्धु कहिलेकाहीँ पर्या कविता पनि लेख्ने गर्छिन् :

कस्तो विरोधाभास…।

स्वीकृति वा अस्वीकृति ?

झगडा हुँदैछ गुराँस र पलाँसबीच

गुराँस भन्छ–स्वीकृति देऊ र शिरमा सजाऊ

अनि पलाँस भन्छ… अस्वीकृति

मात्र आँखाले हेर

कहाँ सजाऊँ तिमिलाई म…. ।

शिरमा ?

दिलमा ?

या, मात्र आँखामा ?

उफ्, कस्तो दोधार ।

तर जेसुकै होस्

म तिमिलाई नै पुजिरहूँ

तिमिले दिएको विश्वासको बिउलाई

स्याहारेर ठूलो बनाऊँ प्रेमको रुख

त्यही छहारीमा बसेर

तिम्रै प्रेमको उपासना गरिरहूँ…

र तिमिलाई नै पुजिरहूँ…

जुनीजुनीसम्म ।

यसैगरी ‘मनको बन्द खामभित्र तिम्रो नाम’ शीर्षकको कवितामा प्रेमिल भावलाई व्यक्त गर्दै रमाउँछिन् :

आज पनि ताजै छ प्रिय

मैले प्रेमले भरिदिएको तिम्रो मुटु भित्रको

त्यो असीम आत्मविश्वास र समर्पण

मेरो प्रेमका अभिभारा तिम्रा ती काँधले बोकेर

यो प्रेम जगत्मा निःशर्त विचरण गर्न चाहन्थे

जसरी एक जोडी ढुकुर

हाम्रो शिरमाथिको आकाशमा

प्रेमिल कावा खान्छन् ।

एकोहोरो प्रेमको भन्दा पनि सहमतिको आधारमा भएको प्रेमले जीवन शून्यबाट प्लसमा रूपान्तरण हुने कुरा आफ्नो कविता सङ्ग्रहमा उजागर गरेकी छिन् । टपक्कै शब्दका गुच्छाहरूलाई माला उनेर सिन्धुले सुन्दर कविताको विचरण गरेकी छिन् । जुन शब्दहरूले नेपाली माटो, भूमि, रहनसहन, संस्कृति, कला, र परम्परालाई बिम्बको माध्यमबाट छर्लङ्ग पारेकी छिन् । जसरी सङ्लो पानीमा आफ्नो आकृति देख्न सकिन्छ । त्यसै गरी कवि सिन्धुले आफ्नो कविता मार्फत देश, प्रेम, ममता, माया, सद्भाव र कर्तव्यलाई दिशाबोध गर्न सफल भएकी छिन् ।

प्रदेशमा रहेको दाजु–भाइ, दिदी–बहिनीहरूले नेपाली चाड पर्वहरूलाई नसम्झने कुरै भएन जुन कुरा ‘परदेशबाट तिहारको सम्झना’ शीर्षकको कविताको प्रस्फुटन गरेकी छिन् । यसरी कवितामा जीवन दर्शनका कुरा प्रस्तुत गर्ने क्रममा सिन्धुले सङ्घर्षको कुरा यसरी प्रस्तुत गर्छिन् :

तर अहिले

तिमि छ्यौ उता सुदूर गाउँमा

र म छु यता बिरानो परदेशमा

यद्यपि

समयको हुरी र भौगोलिक दुरीले

जति नै टाढा बनाए पनि

मैले भोगेका र स्पर्श गरेका

तिम्रा बालसुलभ समयहरू

जतनले राखेकी छु यो आत्माको केन्द्रमा

र मैले देखेको यावत् सपनाहरू पूरा गर्ने हेतुमा

तिम्रै उज्यालो भविष्यको खोजी गर्दै

निरन्तर स‌ंघर्षरत छु म

तिम्रो जीवनज्योती बनेर ।

यसरी आफ्ना कविता मार्फत जीवन, दर्शन र संर्घषको बारेमा खरो रूपमा प्रस्तुत भएकी कवि सिन्धु महिला अधिकारको विषयमा बडो कठोर र संवेदनशील भएर कविता मार्फत न्याय माग्छिन् । जुन सुकै राजनीतिक दलका नेताहरू न्याय दिने स्थानमा पुगे पनि पीडितले न्याय नपाएको कुरा निर्मला पन्त, भागीरथी लगायतले न्याय नपाएको कुरा यसरी पर्दापण गरेकी छिन् :

कानुन मरेको यो निरीह देश

मेरो हुँदै होइन भनेर रोएँ..

कति रोएँ, रोएँ परदेशमा बसेर

यस्तो लाग्छ, न्याय माग्नेहरूको आँसुले

अधिकार खोज्नेहरूको पसिनाले

कर्णालीको पानी धमिल्याइदेला बरु

तर करुणको मुहान फुट्न सकेन

हिंसामा डुबेका सीमान्तकृत बस्ती

पीडाको आहालमा डुबेर रुँदा

केवल सँगै रुनुसिवाय केही रहेनछ ।     

–रुँदिन भन्दाभन्दै रोएँ

यसरी नारी अधिकारको कुरा र कुमारी छोरीहरूको अस्मिता लुटिरहेका दोषी करार भएर पनि निर्दोषी जस्तै खुल्ला रूपमा हिंडिरहेका छन् । जसले नेपाली समाजमा अझै पनि छोरी सुरक्षित नभएको कुरा आफ्ना कविताको माध्यमबाट समाजलाई सचेत गराउँदै यसरी भावविह्वल मुद्रामा उल्लेख गर्छिन् सिन्धुले :

मालीले फूलको रक्षा गर्न छाडेको धेरै भइसक्यो

लुटिनु, निमोठिनु चुँडिनु,

फालिनु, टेकिनु, माडिनु….

तिम्रो कर्म भन

तिम्रो भाग्य भन

या भन विडम्बना

या त नियति नै भन

जे भन

तिम्रो भागमा परेको त्यही हो

प्रिय कोपिला

तिम्रो र मेरो नियति उस्तै छ

तिमि निमोठिन्छौ आफ्नै बगैँचामा

म कैद छु आफ्नै मझेरीमा ।     

–निमोठिएका कोपिलाहरूसँग

जति पानाहरू पल्टाउँदै गइन्छ त्यति कविताले तानिरहन्छ ।

तारा पौडेल र शंकरप्रसाद पौडेलको कोखबाट जन्मिएकी कवि सिन्धुले पैँतिस वटा कविताका हरफहरूलाई लिपिबद्ध गरेर २०७९ सालमा पाठक माझ ल्याएकी हुन् । यो ‘मृतसागरको उचाइबाट’ उनको पहिलो कृति हो । पाठकहरूको नजरमा पर्न सफल यस कृतिलाई शब्द मिडिया प्रा.लि. साहित्यपोस्टले प्रकाशनको बजारमा ल्याएको हो ।

विभिन्न ठाउँमा विभिन्न विधाबाट पुरस्कृत हुनु भएको कवि सिन्धु पौडेल विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा र साहित्य चौतारी इजरायलको सदस्य समेत रहेकी छिन् ।

यसरी परदेशमा रहेका धेरै नेपालीले साहित्यको माध्यमबाट आफ्ना मनभित्र रहेको भावना तथा विचारलाई पाठक माझ पस्कँदै आएका छन् । जसको ज्वलन्त उदाहरण हुन् – सिन्धु पौडेल ।

अन्त्यमा कवि सिन्धुको कवितासंग्रह मृतसागरको उचाइबाट ‘मेरो देशभक्त सिपाही’ का यी हरफहरू :

लक्ष्य पूरा गर्न तिमी बेलगाम घोडाझैँ दौडिरहँदा

कतै थाकेर सुस्तायौ भने

माथि पहाडको डिलमा बसेर हेर्नु

पारि……. क्षितिजमा एउटा सुन्दर भविष्य

तिम्रै प्रतिक्षमा बसिरहेको हुनेछ

त्यसलाई पनि जीवन लक्ष्यको रूप मान्नु

तिमि त सिङ्गो देश उचाल्न सक्ने

स्वाभिमान, इमानदार अनि राष्ट्रभक्त सिपाही

सिङ्गै देश आफ्नो काँधमा

बोकेर हिँड्ने राष्ट्रसेवक …..

मेरो प्रेमी मात्र होइन कि

एउटा देशभक्त सिपाही पनि हौ ।