हुन त आमाको विषयवस्तुमा केन्द्रित भएर जति साहित्य लेखिएका छन् त्यति अन्यमा कमै लेखिए होलान् तर आमाका कथा आमाकै लवजबाट छोरीको कलम मार्फत आएका कथा कमै होलान् । ती बिरलै लेखिने साहित्यमा एउटा पृथक् स्वाद लिएर आएको सङ्ग्रह हो- छोरीले जन्माएका आमाहरू !

प्रवासमा कर्मथलो बनाएका छोरीको कलमबाट लेखिएका बाह्र जना आमाको जीवन गाथा समेटिएको सङ्ग्रह हो `छोरीले जन्माएका आमाहरू´ ।

प्रत्येक छोरीहरू आमा बनेपछि  उनीहरूले आमाका कथा व्यथातिर ध्यान दिनु, आमालाई बढी सुन्न र सोध्न थाल्नु सामान्य र एकदम स्वाभाविक प्रवृत्ति हो तर आमा र छोरीको आँसु  र हाँसो साटासाटमा सीमित हुने उक्त कथा-व्यथाका नालीबेली यसरी दस्ताबेजका रूपमा बाहिर आउनुले नेपाली साहित्यमा एउटा अर्को रँग र नयाँ स्वाद थपिएको छ।

यस सङ्ग्रहभित्र सबै छोरीहरू अर्थात् लेखिकाले आमालाई प्रश्न सोधीसोधी उनीहरूकै मुखबाट उनीहरूको शब्द, लवज र आवाजमा उनीहरूका भोगाइ, जीवन दर्शन र कथा न्यारेट गर्नुले सङ्ग्रहलाई एकदम प्राकृतिक र मौलिक बनाएको छ।

त्यति मात्र नभई सङ्ग्रहभित्र नेपालको सुदूर  पूर्वदेखि पश्चिम नेपाल सम्मका आमा,  `क´ अक्षर नपढेका देखि शिक्षित टाठाबाट आमा र ब्राह्मण क्षेत्रीदेखि जनजाति समूहका आमाका कथा आउनुले विभिन्न भूगोल,संस्कृति, जातीय र भाषिक विविधता र भोगाइको इन्द्रेणी जस्तो समावेशी सङ्ग्रह बन्न पुगेको छ ।

कथाहरू पढ्ने क्रममा `क´ पनि नपढेकी उनै आमाकी छोरी अवसर र शिक्षा पाए भने अन्तर्राष्ट्रिय स्तरको उच्च तह र तप्कामा काम गर्न सक्ने क्षमता राख्दा रहेछन् भन्ने कुराले शिक्षाले ल्याउन सकेको छलाङ मात्र देखाउँदैन आमाभित्र पनि  छोरीमा जस्तै  क्षमता हुँदाहुँदै पनि कसरी अवसरबाट वञ्चित भएकै कारण आमाहरू  सुधी, नादान, लाटी र अशिक्षित बने भन्ने कुराको दृष्टान्त पनि हो यो सङ्ग्रह ।

नातिनातिना पुस्तालाई दन्त्यकथा जस्ता लाग्ने भोगाइका कथाहरू छन् यसभित्र जसले तत्कालीन समयको समाजको प्रतिबिम्ब छर्लङ्ग पार्ने मात्र होइन एउटा ऐतिहासिक दस्ताबेजको काम गर्ने देखिन्छ । कथाहरू पढ्ने क्रममा कतै आमाका साहसका कुराले जिब्रो टोक्न बाध्य बनाउँछ त कतै आमाको सहनशीलता तरक्क आँसु चुहिन्छ ।

अक्सर हामी सन्तानहरू  हाम्रा अनपढ आमालाई केही नजान्ने गँवार जस्तै सोच्छौँ तर तिनी मौन, निरक्षर आमाभित्र कत्रो जीवन दर्शन हुँदो रहेछ, कत्रो आदर्श हुँदो रहेछ  र प्रत्येक आमाहरूले आफूलाई मारेर कसरी सन्तान र परिवारका लागि  सङ्घर्ष गर्दा रहेछन् भन्ने कुराले आमा प्रति नतमस्तक बनाउँछ ।

यो सङ्ग्रह पढिसकेपछि यस्तो नवीन किसिमको पुस्तकको  परिकल्पना गर्ने परिकल्पनाकार मञ्जु थापाप्रति श्रद्धाले हृदय भरियो । यी बाह्रजना आमाहरू हामी सबैका प्रतिनिधि आमा हुन् ।  उनीहरूका कथा हामी र हाम्रोभन्दा अघिल्ला पुस्ताका आमाका कथा हुन् जो लिपिबद्ध हुन जरुरी थियो र भयो साहित्यलाई प्रेम गर्ने हरेकका लागि अत्यन्तै हर्ष र गर्वको कुरो हो यो ।

यी र यस्तै गुमनाम आमाहरूका कथाहरूलाई व्यावसायिक मर्मभन्दा भन्दा साहित्यिक धर्मको धरातलमा उभिएर नाफा घाटाको सोचभन्दा अल्लि मास्तिर उक्लिएर साहित्यमा कसरी विविधता ल्याउन सकिन्छ, दबिएका नारी स्वरहरूलाई कसरी मुखरित गर्न सकिन्छ भनेर हिजोका दिनमा जसरी `हजुरआमाका कथाहरू´ आए आज `छोरीले जन्माएका आमा´ जस्ता कथाहरू आउन सफल भए यो सबै श्रेय अक्षर क्रियसन्सलाई जान्छ । एउटा निजी प्रकाशन गृहले पनि कसरी

व्यावसायिक उत्तरदायित्व सँगसँगै  साहित्यिक र सामाजिक उत्तरदायित्व बहन गर्न सक्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो ।

दकस मान्दै आफ्ना कथा ओकल्न साहस गर्ने ती सम्पूर्ण आमाहरू, लेखनकला नहुँदा नहुँदै पनि मैले लेख्नुपर्छ भनेर आँट गरेर आमाका कथा बाहिर ल्याउन जुध्ने साहसी छोरीहरू, आमाका पट्यारलाग्दा गन्थनलाई झर्को नमानी पुस्तकको आकार दिन खट्नुहुने सम्पादक जयदेव गौतम तथा यो नवीन सोचको परिकल्पनाकार मञ्जु थापा तथा बजारमा ल्याएर हामीलाई पढ्ने अवसर दिलाउने अक्षर क्रियसन्सलाई बधाई तथा शुभकामना !