नेपाली साहित्यको गजल विधामा परिचित नाम हो लोकेन्द्र बञ्जारा । उनी झापा जिल्लाको एक मुख्य सहर दमकमा बसेर दुई दशकदेखि निरन्तर गजल लेखनमा सक्रिय छन् । उनको तेस्रो गजल कृति ‘पलक’ (२०८०) भर्खर बजारमा आएको छ । यसभन्दा अगाडि बञ्जाराका ‘आँखाभरि सपना’ (२०६२) र ‘जैतुन’ (२०७३) प्रकाशित भइसकेका छन् । उनी गजल लेखन मात्र गर्दैनन् गजललाई सुन्दर ढङ्गबाट वाचनसमेत गर्ने गर्दछन् । सामाजिक सञ्जाल फेसबुक, युट्युबतिर उनका गजल उनकै आवाजमा सुन्न/हेर्नसमेत पाइन्छ ।

‘पलक’ गजल सङ्ग्रहमा जम्मा ९१ ओटा गजलहरू रहेका छन् । सङ्ग्रहको नाम नै अनुहारसँग सम्बन्धित रहेको हुनाले युवतीको अनुहारलाई आवरणको रूपमा राखिएको छ, जसले ‘पलक’ अर्थात् आँखाको माथिल्लो पर्दा वा ढकनीलाई झल्काएको छ । जसमा सुरुमा परेलासहितको आँखाको ढकनी, बिचमा ‘पलक’ र बाँकी अनुहार लोकेन्द्र बन्जारा (लेखक नाम)लाई क्रमशः सजाइएको छ । मुख्य ९२ पृष्ठमा रहेको यस कृतिको पछाडिपट्टिको आवरणमा ४ ओटा गजलका सेर बिचमा पर्ने गरी राखिएको र अन्त्यमा प्रकाशकको नाम ‘पेज टर्नर’ साथै मूल्य रु.३५० भनी उल्लेख गरिएको छ ।

त्यसै गरी सङ्ग्रहको भित्री भागमा लेखकीय विचारलाई समावेश गरी गजलहरूलाई प्रस्तुत गरिएको छ । सङ्ग्रहको बाहिरी आवरणलाई झलक्क हेर्दा पाठकलाई आकर्षित गर्ने किसिमको देखिन्छ, जसले बोकिहालौँ, पढिहालौँ बनाएको छ ।

सङ्ग्रहका समावेश गजलहरू प्रायः सबै गैरमुसलसल (हरेक सेरभिन्न विषयवस्तुमा आधारित) रहेका छन् । यसर्थ बञ्जाराका गजलमा विषयवस्तुगत विविधता रहेको छ भन्न सकिन्छ । गजलकारले आफू बाँचेको समाज, विश्वपरिवेश, प्रकृति आदिसँग नजिक रहेर मानवीय व्यवहार साथै देशको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक, आर्थिक, भौगोलिक पक्षहरूलाई गजलका सेरहरूमा उनेका छन् । उनले हरेक गजलमा समसामयिक विषयवस्तुलाई विशेष प्राथमिकतामा राखेका छन् । देशप्रति गजलकार श्रद्धा राख्छन् । देश चिन्न हरेक नेपालीलाई सचेत गराउँछन् । देशको परिस्थितिबाट विक्षिप्त बनेर देशलाई बेवास्ता गरी जानेहरूले अर्को देश नपुग्दै देश सम्झने कुरामार्फत देशभक्ति भावना यसरी प्रस्तुत गर्दछन् :

आफ्नो देशलाई सराप्तै ऊ हिँडेको छ विदेशतिर

ऊ नपुगी अब उसले झलझली यै देश देख्छ । (पृ.१६)

त्यसै गरी बिदेसिनु पर्ने नेपालीहरूको बाध्यात्मक परिस्थितिलाई पनि आफ्ना गजलको विषयवस्तु बनाउँछन् र गजल लेख्छन् । आफ्नै देशमा काम नपाएर वैदेशिक रोजगारको खोजीमा परदेसिएका आम नेपालीहरूको कथासँग अत्यन्तै नजिकबाट परिचित छन् गजलकार । उनी स्वयम् वैदेशिक रोजगारीका एक प्रतिनिधि पात्र पनि हुन् । उनी कामका खोजीमा परदेसिएका नेपालीहरूको कथालाई यसरी व्यक्त गर्दछन् :

भिजेको छ माटो नेपाली रगतले

कुवेतमा कसैको कतारमा कसैको । (पृ.५४)

गजलकार समाजमा भुँइमान्छेहरूलाई बाँच्न गाह्रो रहेको कुरा गर्छन् । जसरी पनि बाँच्नै पर्ने बाध्यता रहेको हुँदा आफ्नै अनुहार (शरीर)लाई पटक पटक बेच्नु पर्ने तीतो यथार्थ व्यक्त गर्छन् । यो खास गरी महिलाहरूको कथाव्यथा हो । समाजमा महिलाहरू बलात्कृत भई बाँचेको यौटा अमानवीय यथार्थ र अर्को त्यही कथा लेखिएको समाचार बेचेर जीवन चलाउनेहरूको अर्को कथालाई अत्यन्तै मार्मिक ढङ्गबाट यसरी प्रस्तुत गर्दछन् :

यसरी मैले पटकपटक अनुहारहरू बेच्नुपर्‍यो

बाँच्न मै बलात्कृत लेखिएका अखबारहरू बेच्नुपर्‍यो ।

समाजमा रहिआएका विकृति तथा विसङ्गतिको तीव्र विरोध गजलकारले आफ्ना सेरमार्फत गरेको पाइन्छ । उनी कहिले गजलमार्फत आक्रोश पोख्छन्, जुलुसमा जान्छन् त कैले न्यायालयको ढोका ढकढक्याउन् । विभिन्न प्रकारका अपराधहरू तथा विकृतिहरू समाजमा जरो गाडेर बसेका छन् । जसलाई अन्त्य गर्नुपर्ने दायित्व हामी सबैको हो । सबैलाई सचेत हुन अनुरोध गर्दै गजलमा नेपाली समाजको विकृतजन्य पक्षलाई यसरी देखाइदिन्छन् :

यो पटक पनि छोरी जन्मिन् जलाइदिए घरमा दुवै जनालाई

बन्धक बनेर आमाछोरी अहिले अस्पतालमा अलपत्र छन् । (पृ. ६६)

गजलकार नेपालको राजनैतिक संस्कारसँग निक्कै चिन्तित छन् । उनी नेताहरूसँग त्यति सन्तुष्ट रहेका छैनन् । उनले नेता वा समाज परिवर्तनका संवाहकहरूले राजनीतिलाई समाजसेवाभन्दा पर ठानेर पेसाको रूपमा लिएको महसुस गरेका छन् । उनी नेताहरूले देशको परिवर्तन गर्न भन्दा आफ्नै परिवर्तन गर्न लागि परेको देख्छन् । आखिर मरेर कसैले केही नलाने हुँदा देशकै विकासका लागि काम गर्नुपर्ने सन्देश दिन बञ्जारा नेताहरूलाई व्यङ्ग्यात्मक प्रश्न यसरी गर्छन् :

कयौँ बिगाहा खेत किन किनिरहेछौ हौ महान् कम्रेड ?

त्यत्रो के गर्नु, दुई चप्परी मात्र त चिहानका लागि हो ।

गजलमा बञ्जाराले मिथकीय प्रयोगलाई पनि सुन्दर ढङ्गबाट गरेको पाइन्छ । वर्तमान परिवेशलाई राम्रोसँग विचार गरी परम्परागत/पौराणिक पात्रहरूलाई उनले गजलमा प्रयोग गरेका छन् । संसारका ।हरेक कुराहरूलाई हेर्ने दृष्टिकोण मानिसअनुसार फरक फरक हुन्छ । मानिसले आफ्नो क्षमता, स्वभाव तथा व्यवहारअनुसार आफूलाई अरूभन्दा भिन्न बनाउँछ । भिन्न सोचाइ तथा हेराइबाट कतिपय कुराहरूलाई हेर्नु आवश्यक छ । यसै सन्दर्भलाई पुष्टि गर्ने गरी मिथकीय प्रयोग यसरी गर्दछन् :

आफ्नो आफ्नो विचार हो देवता मान्नु, राक्षस मान्नु

कसैलाई राम रावण लाग्छ, कसैलाई रावण राम लाग्छ ।  (पृ.३५)

बञ्जारा विशेषतः उच्च वर्गका भन्दा निम्न वर्गका पात्रहरूको दिनचर्यालाई गजलका विषयवस्तु बनाउन रुचाउँछन् । उनले नेपालीहरूको गरिबीलाई महसुस गरेका छन् । गरिब हुनु एउटा पीडा त छँदै छ, जीवन चलाउन ऋण लिनसमेत नपाइने अवस्था रहेकोले गजलकार अझै बढी चिन्तित भएका छन् । गरिबले मागेर हिँड्नु पर्ने, अर्काको घरमा काम गर्नुपर्ने, बाध्यताले जीवन बेच्नुपर्ने कारुणिक कथाहरूलाई उनले सेरमार्फत प्रस्तुत गर्छन् । अनुहार धितो राखेर जीवन चलाउन नसकिने भन्दै यसरी व्यङ्ग्य भाव प्रस्तुत गर्छन् :

मलाई ऋण लिनुथ्यो बैङ्कबाट के धितो राखूँ खै,

सुन छैन, बैङ्कलाई गरिबको अनुहार चल्दैन । (पृ. १)

गजलकारले गजलमा श्रृङ्गार पक्षलाई कम महत्त्व दिएका छन् । उनका एक/दुई ओटा मात्र गजल (मुसलसल) मात्र शृङ्गारिक छन् । तर गैरमुसलसल गजलका केही सेरमा भने उनले श्रृङ्गार पक्षलाई पनि समावेश गरेको पाइन्छ । गजलका सेरहरूमा कतै संयोग पाइन्छ त कतै वियोग । कतै प्रेमिका पाउन गरेको त्याग छ त कतै प्रेमिकाको अनुहार हेरेर मात्र पनि जिन्दगी नचल्ने कुरा । जे होस् उनका गजलमा कतै न कतै प्रेमको वर्णन पाइन्छ । जवानी, प्रेम, मायाभन्दा पर उनी पनि रहन भने सकेको देखिँदैन, र त सेर लेख्छन् :

सिसाजस्तै पारदर्शी भाग्यमानी लाज छोप्ने

नाजुक आँचल देखेपछि पानी पानी भएको छु । (पृ. १२)

गजलमा विविध विषयवस्तुलाई समावेश गर्न खप्पिस बञ्जाराले आफ्ना सेरहरूमा वैचारिक पक्षलाई कलात्मक तथा उच्च ढङ्गबाट प्रस्तुत गरेका छन् । सामान्य लाग्ने कुराहरूको प्रस्तुति पनि निक्कै प्रबल देखिन्छ । उनका केही सेरहरूमा अन्दाजे बायाँ सशक्त पाइन्छ । उनको यो सेरले उक्त कुराहरूको पुष्टि गर्छ :

हामीले पो त घरभित्रै निहुरिएर हिँड्नु पर्ने

पैसावालाहरूको त चिहान पनि अग्लो हुन्छ । (पृ.७)

त्यसै गरी उनले गजलमा मदिराका कुरा, आध्यात्मिक चेत, नारीवादी स्वर, समावेशिता, आञ्जलिकता जस्ता विविध पक्षहरूलाई पनि समावेश गरेको पाइन्छ । गजलमा कतला, मकताको प्रयोग साथै काफिया र रदीफको संयोजन पनि उपयुक्त नै देखिन्छ । सिङ्गो सङ्ग्रहभरिमा १/२ओटा गजलबाहेक सबै गजलमा रदीफको प्रयोग गरिएको छ । काफिया प्रयोगमा विविधता (पूर्ण, आंशिक, एकाक्षरी) ल्याउन खोजेका छन् गजलकारले, तथापि केही गजलहरूमा काफियाहरू दोहोरिएका छन्, जस्तै : आर (प्रचार, विचार, व्यापार), अर (खबर, रहर, असर) आदि । केही गजलमा काफिया दोषसमेत पाइन्छ, जस्तै : आस र आँस (सास, घाँस…) । त्यसै गरी ‘अति’ काफियालाई प्रयोग गर्न ‘सम्पत्ति’ शब्दलाई ‘सम्पति‘समेत बनाएको पाइन्छ । समग्रमा भन्ने हो भने रूढ काफियाभन्दा भिन्न र नयाँ काफियाहरूको प्रयोग गजलकारले गरेको पाइन्छ ।

वर्तमान नेपाली गजल लेखनको अवस्थालाई हेर्दा लयगत संरचना मुख्य गरी तीन धारमा विभाजन भएको पाइन्छ । जसअन्तर्गत बहर/शास्त्रीय छन्दमा आधारित, नेपाली लोक लयमा आधारित  र स्वतन्त्र (मुक्त) लयमा आधारित । बञ्जाराका गजलमा यी तिन ओटै लयगत संरचना रहेको पाइन्छ । तथापि उनका गजलले सकेसम्म लयलाई समात्ने प्रयत्न बढी गरेका छन् । यसो हेर्दा गजलकार लयमा सचेत छन् तर बहर वा छन्दलाई नै अँगाल्नु पर्ने मान्यतामा भने अडिग छैनन् । गजल गेय विधा हो, लय अनिवार्य सर्त हो भन्ने जान्दाजान्दै पनि उनले कतिपय गजलहरूलाई मुक्त लयमा लेखेको पाइन्छ, यो लय नमिलेको हो वा मुक्त लय (स्वतन्त्र) मा नै लेखेका हुन्, यसको जवाफ स्वयम् गजलकारले देलान् । उनका फरक फरक लयका केही गजलका सेरहरूलाई हेरौँ :

फँसेको थिएँ म पियारमा कसैको

छ हल्ला चलेको बजारमा कसैको । (पृ. ५४, बहर : मुतकारिब)

 

विकल्पै कुनै रहेन अब नत्र त, साहूजी

हजुरका अघि यो मैलो कमिज धसेर को रुन्छ ?  (पृ.२७, लोक लय : झ्याउरे)

 

त्यसै रङ त्यसै सेतो भएको छैन उसको,

उसले उसको अनुहार दूधले पखाली हिँडेको छ । (पृ. ३३, मुक्त लय)

सङ्ग्रहमा ४ र ५ सेरका गजलहरू मात्र रहेका छन् । गजलकारले केही गजलका अन्तिम सेर (मकता) मा तखल्लुसकै झल्को दिने गरी आफ्नो थरलाई प्रयोग गरेका छन्, गजलको मकतामा नाम वा उपनामलाई बहुअर्थमा प्रयोग गरिनु नै तख्लुस हो । त्यसै गरी आफ्नो थरलाई काफिया शब्दको रूपमा  पनि कलात्मक ढङ्गबाट प्रयोग गरेको पाइन्छ, जस्तै : ‘कहाँ भाग्लान् यी बञ्जारा दुःखहरूसँग’ ।

गजलमा सुललित, मार्मिक, हार्दिक, कोमल शब्दहरूलाई प्रयोग गरिनु उपयुक्त ठानिन्छ तर बञ्जाराका कतिपय गजलहरूमा प्यालेस्टाइन, गधा, ब्वाँसा, जन्तु, लेन्डुप जस्ता शब्दहरूको प्रयोगले गजलको सुललित पक्षलाई कमजोर बनाएको छ । यो गजलकार हर पक्षबाट सचेत हुँदाहुँदै पनि भएको कमजोरी हो किनकि उनी सङ्ग्रहको नाम ‘पलक’ राख्न सचेत छन् । उनका अधिकांश गजलहरू देश, समाज तथा मानिसका विकृत पक्षहरूलाई चित्रण गर्नमै केन्द्रित देखिन्छन्, जसले गजलकारले किन सुन्दर पक्षहरू कम देखेका होलान् भनेर प्रश्न गर्ने ठाउँ पाइन्छ । त्यसै गरी पलकभित्र भाषिक पक्षलाई हेर्दा सीमित रूपमा भए पनि वर्षात/बर्सात, शिकार/सिकार, सम्पति/सम्पत्ति…जस्ता वर्णविन्यासगत कमजोरीहरूसमेत रहेको देखिन्छ ।

अन्त्यमा, पूर्वमा बसेर निरन्तर गजल साधनामा लागि रहेका गजलकार बञ्जाराको ‘पलक’ पढेपछि एक पाठकीय तथा समालोचकीय आँखाले उनलाई बुझ्दा समसामयिक विषयवस्तुमाथि गजल लेख्न रुचाउने, काफिया र रदीफको प्रयोगमा विविधता सिर्जना गर्ने, बहर, लोक लय र मुक्त लय तिन ओटै लयगत संरचनामा गजल लेखे पनि लयपक्षलाई प्राथमिकता दिने, वैचारिक पक्षलाई जोड दिने, ४/५ सेरहरूलाई गजलको पूर्ण आकृति मान्ने गजलकारको रूपमा चिन्न सकिन्छ ।

बञ्जाराको यस सङ्ग्रहले नेपाली साहित्य तथा गजलको श्रीवृद्धिमा एक इँटा थप्न सक्ने देखिन्छ । सङ्ग्रहले हरेक पाठको मन जित्न सकोस्, आउँदा दिनमा अझै सशक्त गजलहरू पाठकमाझमा आइरहुन् गजलकार लोकेन्द्र बञ्जारालाई बधाई तथा शुभकामना ।