काठमाडाैंका कृष्णबहादुर राजकर्णिकार केही नयाँ तालिम सिक्ने सोच बोकेर कलकत्ता छिर्छन् । कलकत्तामा केही दिनको बसाइपछि एकदिन अङ्ग्रेजी पाउरोटी कारखाना फर्पोज कम्पनीमा कार्यरत कामदार भेट्छन् । उनैको कृपाले राजकर्णिकारको नयाँ तालिम सिक्ने सोख पूरा हुन्छ । अन्ततः २००५ साल साउन दस गतेका दिन नेपालमा पहिलो पटक पाउरोटी कारखाना खुल्छ ।

कृष्ण पाउरोटीत्यसबेला कलकत्तामा खुट्टाले पिठो मुछेर पाउरोटी बनाइन्थ्यो । त्यहाँ पाउरोटी नभनेर पावोरोटी भनिन्थ्यो । राजकर्णिकारलाई त्यहाँको रोटी बनाउने तरिका मन परेको थिएन । उनले नेपाल हिन्दु सनातन देश भएको हुँदा खुट्टाले पिठो मुछेर पाउरोटी बनाइ बेच्दा आफूलाई पाप लाग्ने सोचे । बरु दुःख नै होस् हातैले पिठो मुछेर पाउरोटी बनाउँछु भन्ने विचार गरी, ग्राहकहरूलाई शुद्ध र मीठो पाउरोटी खुवाए ।

नेपालमा पाउरोटी भित्र्याउन कृष्णबहादुर राजकर्णिकारको अतुलनीय भूमिका रहेको छ । पाउरोटी उत्पादनका इतिहास रोचक पनि छन् । रोचक इतिहासलाइ ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तकमा ताजा पाउरोटी झैँ मीठो र रसिलो गरी प्रस्तुत गरेका छन् लेखक घनश्याम राजकर्णिकारले ।

कृष्ण पाउरोटीसँग जननेता बिपी कोइरालादेखि राजा महेन्द्रसम्मको गहिरो प्रेम थियो । एक समय यस्तो आयो, कृष्ण पाउरोटी घाटामा जान थाल्यो । त्यो बेला कृष्णबहादुर निराशाको चङ्गुलमा फस्न थालेका थिए । संयोगवश त्यो बेला बिपी प्रायजसो त्यहाँ चिया  पाउरोटी खान जान्थे । कृष्णबहादुरको काम देखेर खुसी हुँदै बिपी भन्थे, “कृष्ण दाइ ! जे जस्तो परिस्थिति आए पनि यो काम नछोड्नु है, भारतमा यसको हावा फैलिरहेको छ । नेपालमा पनि चाँडै फैलन्छ ।  तपाईँले निकै राम्रो काम गर्नुभएको छ । यसले अरू युवाहरूलाई पनि केही जोस जाँगर अवश्य दिन्छ ।”  यसलाई निरन्तरता दिन हौसला पनि दिएका थिए ।

२०२२/२३ सालबाट राजा महेन्द्रले नियमित रूपमा कृष्ण पाउरोटी खान थालेका थिए । राजाले पाउरोटी खान थालेपछि झन् यसको व्यापक हल्ला भो । कृष्ण पाउरोटी भन्न छोडेर धेरैले “राजाले खाने पाउरोटी” भन्न थालेछन् र महेन्द्रकै कारण यसको व्यापार काठमाडौँ, भक्तपुर र ललितपुरमा अचानक बढ्न थालेछ ।

ढिलै भए पनि नेपालमा पाउरोटीको इतिहास लेखिएको छ, लेखक घनश्याम राजकर्णिकार धन्यवादका पात्र हुन् । एकै बसाइमा पढेर सकिनेछ पुस्तक छ । पढ्दा खेरी पाठकलाई कति पनि अल्छी लाग्दैन । यसले पाठकलाई एकोहोरो तानेर लान्छ ।

लेखिनुपर्ने इतिहास लेखेर लेखक तथा नियात्राकार घनश्याम राजकर्णिकार धन्यवादका पात्र भएका छन् । पुस्तकले राम्रो बजार पाओस् । कृष्ण पाउरोटीको इतिहास आम नेपाली समुदायले थाहा पाउन सकुन् । पुस्तकले समस्त युवाहरूलाई देशमै केही गर्नुपर्छ भन्ने शिक्षा र मनोबल देओस्  । जय कृष्ण पाउरोटी ।