मैले एउटा अनुहार बिर्सिन खोजेँ सकिन । शायद, त्यो मेरै कुनै अनुहार पनि हुनसक्छ । यसले मलाई ठूलो अप्ठ्यारोमा बारम्बार खसालिरहेको बोध छ । तैपनि उदास अनुहारमा बेला बखत् आएर हाँसोले छोपिदिँदा त्यसको मोह ममा जागृत हुन गयो । चर्चित सन्दर्भले यसैलाई इङ्गित गर्न खोजेको छ केन्द्रीय रूपमा । म रूखो अनुहार हेर्न खोज्दिन तर भिजेका परेली मलाई मन पर्छन्  । म भित्र रहेका मनहरूमध्ये यो कुन चाहिँ मन पर्‍यो कुन्नि ! एकताका सधैँ मेरा अगाडि त्यो अनुहार थियो । धेरै वर्षाले रुझेर छोडिगयो । अहिले म भित्रबाट झिकेर हेर्छु । म भाग्दै छु, त्यसले लखेट्न छोडेको छैन । म दिउँसै अनुहार लागेर टोलाउँछु । अनुहार बिम्झ्यो अनुहार भरि । कवि भैदिए हुन्थ्यो; म ढुंगो भएँ । धेरै त त्यस अनुहारले देखाएको र भनेको नै न बुझेर खेर गए । जब थोरै सम्झे, बुझे, अनुहार टाढिँदै गयो पारि क्षितिज तल । हेर्छु पर त्यता कतै लुकेको अनुहार । मलाई यो रोग नै भयो । सोझो भनेर हिँड्न नसकिने यो कुरो नबुझिने विपरीत मार्ग पक्रिँदै गइरहेको छ । यो बाहिर बजारमा छैन । म पो आफ्नै किल्ला भित्रको कैदी भएँ ।

एउटा सत्य-कथा मैले पालेर राखेको आधा-दशक बढी नै भयो । म भन्न खोज्दा भाँचिने गर्छु । त्यसैले नभनीकन नै आजतक साँचिराखेको हुँ । कलम त्यो पोखाउनामा बल गर्छ, म न भन्नामा । २०३८ सालको मध्यतिर म भारतको दक्षिणी प्रान्तमा रोग लिएर गएको थिएँ । उपचारको सिलसिलामा अत्यन्तै कठिन र दुःखद क्षण आयो । रोगीको कुनै आश भएन । यस्तै, असह्य परिस्थितिमा एकजना मित्र पत्नीको देहान्तले हामी (म र धर्मपत्नी) झन् भयभीत भयौँ । म त्यही लाश लिएर मद्रासको समुन्द्रतर्फ लागेँ । अन्दाजी रातको १२ बजे पछिको समय स्वयं मुर्दा झैँ थियो। सागरभरि औडाहा र भयङ्करता । अनि किनारको सन्नाटा भयानक र स्थिति त्रासद थियो । म भित्रैदेखि आतङ्कित अवस्थामा थिएँ । साथै, धनले मनले ज्यादै विश्रृंखलित । चारैतिरको प्रतिकूलता कतिको दुर्बल पार्न सक्दो रहेछ सो त्यहीँ जानेँ । यताउता क्रियात्मक परिबन्दका बीच म तहाँ थोरै पछि परेछु क्यार ! मलाई एक किसिमको पृथक्ता, अमन र भयको कँपकँपी नै थियो । म आफ्नै रोगीको लाश जलिरहेको देखिरहेको थिएँ। अरू केही थिएन त्यस मेरा मनमा । यत्तिकैमा एकजना मान्छे (?) अकस्मात् मेरा अगाडि उभिए । म पहिले त त्रस्त जस्तो भै हालेछु, झण्डै अर्द्ध बिहोश जस्तो । तर उनको बोलीमा मिठास र अपूर्व आकर्षण भएकाले म राम्ररी चेतमा भएँ । शुरूमा न जानेको भाषा-मा झैँ तर सफासँग सम्झिने गरी तिनले मलाई जे भने; ती थिए विस्मयप्रद र यथार्थिक । यस जिन्दगीको क्षितिज पर के छ म जान्दिनँ। तर, अहिलेसम्म तिनको ‘वाणी’ ममा अक्षरशः सत्य छ र होला। आज पनि म तिनको संस्मरणले रोमाञ्चित हुन्छु । शायद, पौराणिक भाषामा ती सिद्ध, उनको त्यो वाणी वा स्वर अनिर्वचनीय । ती सुदर्शन पुरुष को र के थिए; किन त्यति सानो भेट र त्यो अलौकिक तिनको भव्यता । म उदेक छु । म नास्तिकका कोटीमा पर्छ होला । पुराणमा बताएकै ढंगले स्वर्ग र नरक जान परेमा मेरा लागि तेस्रो ठाउँ खोज्न पर्ला । तर मलाई तिनले जे भने तिनमा मेरा अतीत र अनागतका धेरै विषय छन् । भाषामा नअटाउने भन्न सकिँदैन । म मासूम रोगमाथि उम्रेको घाउ त्यहाँबाट केही पुछेर फर्कन सकेँ । घाउ हो फेरि फेरि बग्न पनि छोडोइन । अब केवल उनीप्रति रह्यो मेरो मौन वन्दना ! अक्षरको छातीमा मैले विना प्रवंचना आफ्नो यो सानो घाउ चाहिँ पुछ्न खोजेको छु । तर, पीडाको घाउ एकपटक पुछिए तापनि फेरि दुख्न छोड्दैन । आखिर घाउ !

अनुभूति चपाएर निल्न सकिन्न । पोख्ने बानी परेकालाई यो पिरलो बन्छ । लुकाएर न सक्दा पोखिने गर्छ । पोखिने क्रममा लेख वा रचनाको जन्म हुँदो रहेछ । कसको, कति र कस्तो भन्ने केवल प्रकार विशेष । हामी साहित्य, भाषा अनुभूतिका क्षेत्रमा यो कुरो सहज-ग्रहण गर्न थाल्छौँ । कमलो र साह्रो, राम्रो र नराम्रो सबैथोक यसैबाट जानिन्छ । न जानेर पनि अभिव्यक्तिको उपक्रमभित्र अन्तर उठ्छ । हो; यो न हुने चाहिँ पक्कै होइन । हुन्छ र यो छ; अन्यथा जीवनका अनुभूतिहरू लाटिने र शून्यतामा मर्ने थिएँ । यस्तो आजतक सृष्टिकर्तालाई मंजूर छैन र भएन ।

मेरा अत्यन्त नजीकैको एक दशकलाई हालसम्म चरक्क चिरेर पाँच भाग लगाएमा दुई तिहाइ, भागभन्दा बढी ‘रेडियो नेपाल’ मा पर्न जान्छ । मैले ओकलेका र पुस्तकाकारका रूपमा देखापरेका धेरै अक्षरहरू यसका ज्वलन्त दसी बन्छन् । मैले घाउ बेसरी पालेको छु र अझ पट्याएर भित्र बेलाबखत झिकी खाने दाउमा लुकाएको पनि छु । म एक्लै खान सिपालु छु यस्तो । यो बाहिर झट्ट आउँदा सुकेका नयन भिज्छन् । यो रुझेको देख्ने सजल नयनहरूको पनि कम्ती संख्या छैन । म अक्षरका छातीमा दुःख पोख्दै र सुकाउँदै आइरहेको छु । सके, सुख पोख्ने हो नसक्दा दुःख ।

वस्तुतः ‘एक्सरे’ हो मनको अनुहार । भाषा न जन्मँदाको भाषा । भाव र भाषाको संयुक्त स्वरूप । अनुहार आभा लिन्छ, अनेक कारकहरूले अनुहारमा मान्छे हराउन थाल्छ । त्यस्तो बेला अनुहार अर्कै हुन्छ । भित्र र बाहिर फरक भेटिनेलाई म यो कुरो कुन तवरबाट सम्झाऊँ । मेरा लागि सहज उपलब्ध बन्न इच्छा र समय दुवै न मिल्न जाला । अझ व्यर्थ उपयोगी समयको खर्च । त्यस्तो हुन्छ माथि भरेङ चढेर तल हेर्न थाल्दा । तर संस्कार र जन्मको विडम्बनाले गर्दा धेरै उँचो तहमा घुलमिल गर्नमा थोरै कठिनाइ उत्पन्न हुने डरले म चाहिँ सदा सतर्क र भयभीत हुन्छु । चाहनाको कमजोरी मैले सडकमा फ्याँकेर हिँडिदिन सकेमा म चोखो र हलुको अनुभव गर्ने थिए; -जो मेरालागि नितान्त वैयक्तिक, दुःखसाध्य पीडा र मृगतृष्णा बनिरहेको छ । यस प्रकारको स्थिति देखि मुक्त हुन बिछट्टै गाह्रो हुन्छ । त्यो म राम्ररी जान्दछु । अरूलाई मात्र देख्ने आँखाको प्रक्षेपण असन्तुलित हुन्छ । चेतनाको अदालतमा उभिनपर्दा ‘आफू’ भन्ने कुरो छर्लङ्गिन्छ । आफूमा ‘आफू’ हुन सकिनँ ।

एकान्तको न्यानो मायामा मलाई लुक्न र बस्न मन लाग्छ । हुलहाल र भीडको तातोमा म उकुसमुकुस हुन्छु । मेरो व्यक्तित्वको क्षितिज सीमित हुन चाहन्छ र मीठो बोलीको औपचारिकताले रन्थनिन पुग्छ । आफूलाई पूरा निरावरण अथवा ज्यादा मिश्रीमा डुबाउनै सक्तिनँ म । असजिलो भएर आउँछ । लाजमानीकन बाहिर आउने व्यक्तित्वको मूल्य छैन । धूलोमा भिजेर बेग्लै हुन लाग्छु म । मेरा पाइला पाइला हावा लागेका बेला उडेर जाने पात जत्तिकै पातला भएका छन् । अन्नदाताको भीखमा मेरो परिवारको भोक झुण्डिरहेको छ । अब आफ्नो घाउ कोट्याएर अमीलो पार्नमा दिउँसो नै मजा आउन लागिरहेको कुरो म बुझ्न थालेको छु । आघात खान जान्ने भएको मेरो भुक्तभोगी मन यसमा निकै दङ्ग पनि हुन्छ । बिना आघात कलमको टुप्पोबाट मसीको आँसु निस्किँदैन । म दुःख नै कलमको प्राणेश्वर वा खाद्यान्न सम्झिने भएकाले आघातको कम्पन नभै सिर्जनाको घर बसाउनै जान्दिनँ । ‘सिर्जना’ भन्ने नै भित्री आँधी हो; जो बेसरी न लागी मन हल्लिँदैन । मलाई त सर्जकको आँखा र मनमा पीडाको हुरी नआई सृष्टिको बिहानी हुँदैन भन्ने पूरा विश्वास छ । यो मेरै विश्वास । लेखेर आजतक कुनै घाउ पुछिएको छ र! पीडा जोखिन्न, घाउ पुछिन्न । अभिव्यक्तिको सामर्थ्य भाषामा खुल्छ । मात्र त्यतिसम्मको प्रदर्शन हो -‘लेखन’ ।

त, कुरो मेरै छेउबाट गुन्जिन्छ । हावा लागेपछि नै रूखका पात हल्लिन थाल्छन् । कहिलेकाहीँ दुःख जीवनमा बोलाएर आइलाग्छ या साउने झरी झैँ आँखा नै नखोली बर्सिन्छ । यस्तरी पिट्छ त्यसले कि शहरको विशाल भीडमा पनि एक्लो, असुरक्षित र असहाय आफूलाई ठान्छ मान्छेले । यसरी नै म रुझेर अक्षर सबै भिजाएँ । लेख्ने आँशु हो। ‘प्रेम’ गर्नु जस्तै छ यो लेख्नु । यस्तै बेला आस्तिक भए ईश्वर र लेखक भए सिर्जनाको खोजीमा लाग्ने चेष्टा गर्न थाल्छ । विराट् पुरुषको दर्शन वा परिकल्पनाको खास माने यही अर्थमा मलाई लाग्न थाल्दछ । यसैले साहित्यमा मान्छे विस्तृत र सर्जकको भूमिकामा प्रतिष्ठापित बन्न जान्छ । यद्यपि बाह्य प्रतिष्ठा भ्रमको वरासनमा अधिक रमाउँछ। मिथ्याको यो गुलियो परिकार । भ्रमको भष्म विना साहित्यको बलियो ‘भीष्म’ जन्मिँदैन पनि । आत्म प्रकाशनको मीठो रहर छ र त भुलिएको छ । भ्रमभन्दा मीठो, ‘माया’ र मिथ्याभन्दा ठूलो प्रपञ्च यस विश्वमा अर्को छँदै छैन । यही खाएर त कहिलेकाहीँ हामी गँजडी भन्दा केही माथि मात्र भएका हुन्छौँ (यहाँलाई केही तीतो लाग्यो कि ?)

संस्कृति र साहित्यमा प्रजातन्त्र हुन्छ । चरित्र, मर्यादा र प्रतिभाले यसको जगेर्ना गरिन्छ । साहित्यमा प्रतिभाको सङ्घर्षले प्रवेश गराउँछ । सत्ता, ईश्वर र सङ्गठनका नाममा मेरो-तेरो भनिँदैन, भने त्यो बन्दैन । कसैको ठूलो स्वार्थ भए झैँ यहाँ त्यस्तो केही हुँदैन । फेरि, हाम्रो जस्तो देशमा अझै यो व्यवसाय-मूलक बन्न सकेको पनि छैन । खास अजात शत्रुका पंक्तिमा बसेर विशुद्ध संस्कृति र साहित्यको सिर्जना र जगेर्ना गरूँ भन्दा सो हुन पाउँछ । यो विशेष हक छ । केवल प्रतिभाको प्रकाशन र चमत्कारमा कम-वेशी अनि सन्दर्भ-असन्दर्भ भन्ने कुरो देखिन्छ । प्रतिभाको अगाध उपलब्धि र स्वच्छ सङ्घर्षले साधक जीवित बन्छ । अक्षरको जादुमा भुल्नेहरू अर्थशक्ति र अधिकारको भुमरीमा फस्दैनन् र हराउँदैनन् । समयको धारामा कत्ति सम्झिइन्नन्; लेखक सम्झिइन्छन् र खोजिन्छन् । वैचारिक भिन्नताले कतिपटक दर्शनको जन्म हुन्छ, ती विचारका रेखामा बगिरहन्छन् । युग खोज्न त्यहीँ जानुपर्छ सबैले एकदिन । सर्वत्र पुस्तकालयको ढोका प्रेमले खोलिन्छ । त्यसभित्रबाट एकैछिन पछि बाहिर निस्कँदा सबैले भिजेर र नुहेर निस्किन पर्छ र त्यो सकिन्छ ।