म आफूभित्रका सारा वजनहरूलाई जलाउन चाहन्छु, आफूलाई आफूभित्रै रित्याउन चाहन्छु, ताकि रित्तिएको देह मृत्युलाई सहर्ष अर्पण गर्न सकूँ, मृत्युको अफसोसलाई सहज वरण गर्न सकूँ र मृत्युपछि चिता जल्नुमा मबाट कुनै प्रतिवाद नहोस्, जहाँ जलाउनका लागि कुनै बोझ चितालाई बाँकी नरहोस् ।
रित्तिनुमा म अलिकति बाल्यकालमा रित्तिएँ, अलिकति जवानीमा रित्तिएँ, अलिकति दुवैको समय कहानीमा रित्तिएँ र यतिखेर यिनै लेखनीहरूमा रित्तिरहेछु । यसैले लाग्छ, रित्तिनुसँगै म प्रतिपल वृद्ध भइरहेछु । यसरी समयका छालहरूमा हुत्तिंदै ठोक्किंदै जीवन बगिरहनु अर्थात् क्षणभरको जीवन पनि दोहोऱ्याएर बाँच्न नपाउनुमा नै त जीवन ज्यादै भोग्न लायक छ । मान्छेसित यी सब कुराहरू छन् तर सबै कुरा भएर नै ऊ दरिद्र छ किनकि मृत्युलाई पन्छाएर उसलाई मात्र धनी बनाउने प्रकृतिको कुनै नीतिशास्त्र छैन ।
वास्तवमा हामी आफ्ना बचाइहरूमा नसोची बाँच्दा रहेछौं । देकार्ते भन्थ्यो- “म सोच्छु यसैले म छु।” तर यतिखेर यो सत्य मलाई गलत लागिरहेछ किनकि जब-जब म सोच्छु, त्यहाँ आफू बाहेक सम्पूर्ण उपस्थित हुन्छन्- विचार, बास्ना, सम्बन्ध, सम्भोग, धर्म, अधर्म, पाप, पुण्य, सामाजिकता, असामाजिकता, वन, उपवन, फूल, पहाड, झर्ना, नदी, ताल, कविता इत्यादि । यसैले यहाँ कोही हुनु नहुनुको कुनै अर्थ छैन । प्रकृति-जीवनका सारा उपलक्ष्यहरूमा जिन्दगी प्रश्नहीन जवाफहीन बाँचिदो रहेछ। फेरि यहाँ ईश्वरले पठाएको कुनै त्यस्ता विशिष्ट सन्दर्भ सामग्रीहरू पनि साथमा छैनन्, जसलाई अध्ययन गरियोस् र सिद्धान्तमय जिन्दगी बाँचियोस् या अनुवादमय जिन्दगी बाँचियोस् । हुन पनि जिन्दगी विशेष सिद्धान्तमा आधारित कुनै अनूदित कविता या कसैको Translated Verse पनि त होइन । बस, म मेरो जिन्दगी बाँच्छु जसप्रतिको प्रथम अधिकार मात्र मेरो हो । अन्य सारा । सन्दर्भहरू तपसिलका कुरा हुन् ।
हो, मेरो बँचाइ नियमबद्ध छैन किनकि प्रकृतिको अस्तित्वको कुनै लिखित संविधान छैन । जीवन, बारबार कसम तोडेर पुनः जिन्दगी जोड्ने अरोचक जोडीको योजना होइन, कुनै मूर्ख व्यवस्थापकको व्यवस्था होइन । कुनै पनि ग्रन्थहरूमा नभेटिइने रहस्य जस्तो यो जादुमय छ । प्रिय मृत्यु ! जिन्दगी बडो तान्त्रिक छ, सुरुचिपूर्ण छ । यसैले त कसैको श्राप सुनेर झन् जिन्दगी जिउने रहर जाग्दछ । मलाई जिन्दगीको यही बहुलट्ठीपन मन पर्छ ! यसको रूप, रङ्ग, गीत, सङ्गीत, भाव, भङ्गिमा, चित्रकारिता, नृत्य, घमण्ड, हठ मन पर्छ । मलाई धर्म मन पर्छ, पाप झनै मन पर्छ । मलाई सामाजिक मन पर्छ । असामाजिक झनै मन पर्छ । मलाई फुल मन पर्छ, फुलभन्दा कता-कता भुल मन परि दिन्छ । यसैले कि भुलको बोधपश्चात् नै आगामी फुलको जीवन नृत्यमग्न र सुरक्षित रहन सक्छ । मलाई जिन्दगीको मौनता सबैभन्दा मन पर्छ । यसैले म मौन जिन्दगीको खुला लुटेरा हुँ । भ्यानगगको मौन चित्र अनि मौन चिहानशाला मन पराउने नजारमा एक आउट साइडर हुँ ।
प्रिय मृत्यु !
आज तिम्रो ईश्वरको अदालतमा म मेरा आफ्नै स्वीकृत पृष्ठभूमि सहित यसरी उभिएकी छु ! पितृसत्ताको सामाजिक नजरमा छोरी मान्छे भएर जिन्दगीलाई गजबसित, मस्तसित हाँसेरै उत्सवमय बनाई बाँचेकोमा मलाई आज यसरी अपराधीका रूपमा यो अदालतको कठघरामा उभ्याइएको छ । तर केही छैन, म मेरा अपराधहरू सहर्ष स्वीकार गर्छु, जुन मेरा अपराधहरू गजबका छन्, बडो रोचक छन् ।
वकिलज्यूले ममाथि ‘गम्भीर’ नभएको जुन हास्यास्पद आरोप लगाउनु भएको छ, म त्यो स्वीकार गर्छु। हो, म कुनै पनि हालतमा गम्भीर छैन र गम्भीर हुनु पर्ने कुनै कारण पनि देखिँदैन । मैले प्रकृतिमा कुनै फूललाई, चरालाई, झर्नालाई, बादललाई, पुतलीलाई कहिल्यै गम्भीर देखेकै छैन । तपाईंहरूले गम्भीर देख्नु भएको भए त्यो तपाईंको कुरा हो । तर यस जगत्मा केवल मान्छे मात्र किन असाधारण गम्भीर छ ! गम्भीरता एक प्रकारको रोग हो, मानसिक रोग । म ‘गम्भीर’ नभएको प्रश्नलाई लिएर यस अदालतमा निकै गम्भीर बहसहरू भए र मलाई हाँसो उठ्यो । माफ गर्नुहोस्, श्रीमान् । मैले हाँस्नका लागि यहाँसित कुनै पूर्व स्वीकृति मागिनँ ।
– श्रीमान्, म हाँस्न रुचाउने अद्भुत प्राणी हुँ । फेरि पनि यस अदालतमा म जानकारी नै नदिई हाँस्नेछु । त्यसरी हाँस्न पाउने अनुमति चाहन्छु श्रीमान् !
– अनुमति छ ।
– Thank you, my Lord.
ममाथि विचित्रका खेदपूर्ण रोचक आरोपहरू लगाइएका छन् । परिवारलाई, सम्बन्धलाई कुनै पनि सङ्घ संस्थालाई, समाजलाई, पेसालाई, यहाँसम्म कि आफ्नो जीवनलाई लिएर म किन कहिल्यै गम्भीर भइन भन्ने प्रथम आरोप हो। मैले आफ्नो स्वास्थ्य, शिक्षा, वर्तमान, भविष्यजस्ता विषयहरूलाई किन गम्भीरता पूर्वक लिइनँ ! आफ्नो मर्यादा, प्रतिष्ठा, तन, मन, धन, यौवन जस्ता कुराहरूप्रति म किन गम्भीर भइनँ !
श्रीमान्, मेरा नजरमा ममाथि लगाइएका सारा आरोपका विषयहरू बकम्फुसे हुन् । यहाँलाई अवगत भएकै कुरा हो, यस जगत्का सम्पूर्ण चिजहरू नाशवान् छन् । सम्पूर्ण कुराहरू आफैमा पूर्ण छैनन्, सब सापेक्षिक छन् । सम्पूर्ण पदार्थ, सम्बन्ध, आवेग, ज्ञान, समय, सत्य क्षणिक छन् । यौवन, अहङ्कार, धन, प्रतिष्ठा सबै अस्थायी अतिथि हुन् ।
कुरा त झिनो-मसिनो हो – विश्वास जिललाई सानै कुरा काफी हुन्छ, घृणाका लागि पनि सानै कुरा पर्याप्त हुन्छ । मेरो भोगाइमा दियो जलाउने मान्छेले घर जलाउने सामर्थ्य पनि राख्छ अर्थात् नैतिकताको आभूषणभित्र सुसज्जित मनुष्यको कैयौँ गुप्त अनैतिकतालाई मैले निकै नजिकबाट अनुभव गरेकी छु, आदर्शहरूको खोक्रो आडम्बरमा बाँचेका निर्लज्ज मानिसहरूलाई मैले देखेकी छु। यसरी मान्छे आफैले सिर्जना गरेको व्यवस्थामा आफै फसेको देखें र मस्तसित हाँसें … । खै, कस्तो धर्म हो यो ! स्त्रीलाई देवी ठान्ने धार्मिक पुरुषले उसैलाई सम्भोग गर्छ, तथाकथित धार्मिक पतिलाई परमेश्वर ठान्ने स्त्रीले उनै पतिलाई अद्भुत गाली गर्छे । यसैले परम्परागत बस्तीको अपरम्परागत पात्र, एउटा आउट साइडर म, मैले आफ्नो हास्यग्रन्थिलाई रोक्न सकिनँ, अट्टहासपूर्वक हाँसें र हाँसिरहेछु … ।
‘अँ, श्रीमान् ! एक साँझ आफ्नै मौन सुरतालमा नदी चुपचाप बगिरहेथ्यो। वास्तवमा पानी बग्छ या नदी, यो बडो विवादास्पद काव्यिक प्रसङ्ग हो । जे होस्, अहिलेलाई चाहिँ भन्न रुचाउँछु- नदी मौन बगिरहेथ्यो त्यतिखेर, साँझ एक्लो थियो, नदी एक्लो थियो, म एक्लो थिएँ । फेरि सामूहिक प्रश्न मनोवैज्ञानिक प्रसङ्गमा जटिल सन्दर्भ हो । यसैले केही छैन, एकल नदी निरन्तर बगिरहेथ्यो, नदीका सुन्दर किनाराहरू चुपचाप नदीलाई नै हेरिरहेथेँ । लाग्छ, मैले देखेको प्रासङ्गिक नदीले पनि थुप्रै किनाराहरू तर नदीले किनारालाई मान्छेले आदर्श, सिद्धान्त, विचार, मान्यता, पद इत्यादिलाई च्यापे जस्तै च्याप्दो रहेनछ । प्रभु ! ऊ त बग्दो रहेछ, ऊ त एउटा रोमाञ्चकारी यात्रामा रहेछ । ऊ गतिमा रहेछ, मोसनमा रहेछ, एउटा सदाबहार गति र Flow रहेछ। आफू त एकोहोरो किनारा जस्तै पन्छिएको र उभिएको रहेछु अर्थात् त्यो उदास ग्रीष्मको अन्त्यतिरको साँझ मैले महसुस गरेँ कि जीवन एउटा गति रहेछ, Flow रहेछ । तर म त केवल Follow गरिरहेकी रहेछु ।
यावत् दर्शनशास्त्र, नीतिशास्त्र, मान्यता, परम्परा, आदर्श इत्यादिहरूको केवल Follower, केवल आदिम अनुयायी मात्र रहेछु ।
त्यसपछि…
त्यसपछि सारा नीतिशास्त्रभन्दा बाहिर म एउटा आउट साइडर बनें… ।
हो, श्रीमान् । वास्तवमै म गम्भीर छैन, मैले जीवनमा कुनै विशेष महत्त्वाकाङ्क्षा पनि राखिनँ। हो, मान्छेहरू जीवनभर कसैको साथमा कष्टसाथ जीवन बिताउँछन् यसैले कि उनीहरू अन्त्यमा एक्लो मर्न नपरोस् भन्ने आकाङ्क्षा राख्छन् तर आखिर सबै एक्लै मर्छन् । गजब लाग्छ मान्छेको निरीह महत्त्वाकाङ्क्षा देखेर । एउटा ठट्टाजस्तो लाग्छ जीवन । जीवनमा यिनै दुःख, पीडा, यातना, विशृङ्खलता एवम् खलनायकत्वहरूद्वारा म सारगर्भित छु अनि जीवनका अनुग्रह, उपहार, प्रेम, आशीर्वाद एवम् अकल्पनीय बहुलट्ठीपनद्वारा सन्तुष्ट छु कि मलाई गम्भीर महत्त्वाकाङ्क्षी बन्ने फुर्सद नै कहाँ रह्यो र !
श्रीमान्,
मेरा यिनै सुन्दर अपराध सम्झेर म रोमाञ्चित छु । यतिखेर तपाईं पनि मेरो आत्मा उज्यालिएको महसुस गर्न सक्नु हुन्छ, जसलाई यहाँहरू सबैले परचक्रीले झैँ हेरिदिनु भएकोमा म खुसी छु, आनन्दित छु । मेरो खुसी र आनन्दमा उपस्थित दुखी न्यायाधीश, वकिल, दर्शकदीर्घामा रहनु भएका पत्रकार, परिचित / अपरिचित दर्शक-श्रोताहरूप्रति भने म सादर क्षमाप्रार्थी छु ! त्यसो त यदि यस अदालतबाट म सइज्जत रिहा भए भने पनि यहाँहरूले मलाई पागल नै त भन्नु हुन्छ र भन्न सक्नु हुन्छ । एक प्रकारले म पागल नै हूँ, क्यारे ।
जे होस्, पागल नै सही मैले प्रकृतिको भाषा बुझें, सङ्गीत बुझें, चित्रकारिताको मौनता बुझें, कविताको विम्ब, प्रतीक, उपमा, उत्प्रेक्षा एवम् रहस्य बुझें, मान्छेको पीडा, प्रेम, करुणा, दुःख र हर्षोल्लासलाई महसुस गरें र मान्छेलाई प्रेम गर्न सिकेँ अनि निक्खरमा प्रत्येक मानिसभित्र विराजित मानव र दानवलाई चिर्ने, रुचाएँ, चाहें र मन पराइदिएँ, दुवैसित प्रीति गाँसें । यदि यसो गर्नु अपराध हो भने श्रीमान्, जरुर म अपराधी हुँ, एक आउट साइडर हुँ ।
अहिलेलाई म अल्बेयर कामुको भनाइसँग सहमत छु कि उही आकाश कसैका लागि प्रकृतिका अतिरिक्त सुन्दर उपहार लाग्न सक्छ भने कसैको गरिबीमा त्यो प्रथम भरोसाको छतस्वरूप अन्त्यहीन असीम कृपा हुन सक्छ । यसरी व्यक्ति सापेक्षमा सत्य पागल हुनुको त के कुरा ! जब म आफ्नो आत्मीय कोठालाई छाडेर कतै साँझ भ्रमणमा निस्कन्छु, त्यो रोमाञ्चकारी रचनात्मक क्षण मेरो प्रिय कोठा मबाट धेरै टाढा छुटिसकेको हुन्छ ।
त्यतिखेर त्यो प्रिय कोठा मसँग कहीँ कतै रहँदैन । यसरी म आफ्नै संसारको घाम लागेको एक छेउमा उभिएर बिनाघामको अँध्यारोलाई सम्झन बाध्य हुन्छ अर्थात् म आफ्नै संसारमा यसरी बिरानिन्छु । आखिर मान्छेले सदा हिँडुन्जेलको मात्र आफ्नो बाटो हो भन्न बिर्सेर अपनत्वको सुन्दर भ्रममा आफ्नो बाटो हिँडिरहेको हुन्छ । तर म भ्रममुक्त छु, कोही र केही पनि वास्तविक आफन्त महसुस गर्न सक्तिनँ र आफन्तहीन नै अपरिचित संसारको अपरिचित बाटोमा एक्लै मस्त हिँडिरहेछु । कुनै बाटो तय नगरी नै हिँडिएका मेरा पाइलाहरू अघि बढ्नुसँगै बनेका बाटाहरू पछाडि छुटिरहेछन्, यसमा गन्तव्य भेटे या नभेटे पनि हिँड्नेसँगै जान-अन्जान सम्भावनाहरू नबिकिई रहेछन् । यसर्थमै मलाई गतिशीलताको गर्वबोध छ । यदि यो गर्वबोध नै अपराध हो भने श्रीमान् ! निश्चय नै म अपराधी हुँ, एउटा काव्यिक अपराधी… ।
फेरि टिप्पणीकार र आलोचकहरूको अस्वस्थ भिड जस्तो लाग्ने जीवनमा प्रेमोच्चारण गर्दाको झङ्कृत हृदय वादन सुन्ने फुर्सद कसलाई र । सपनामा रुँदा बिपनामा बगेको आँसु जस्तो, सपनाको त्रासको छायाले विपनाभरि लखेटे जस्तो कार्यभुल कतै सम्पन्न भएर मात्र पीडाको अवशेष भोगिए जस्तो जीवनमा पीडा पनि पराई जस्तो लाग्दाको पीडा महसुस गररहेछु यतिखेर । हुन पनि कुनै ऐतिहासिक सन्दर्भ व्यक्तिको प्रत्यक्ष आज्ञा नभए पनि इतिहास साक्षी छ कि भौगोलिक सीमापारि पुग्दा नचलेको मुद्रा जस्तो कुनै एक पुरातात्त्विक व्यक्तिका नाममा डेट एक्सपायर भइसकेको सैद्धान्तिक हतियारद्वारा लहडीमै हजारौं लाखौं व्यक्तिको निरर्थक ज्यान लिइन्छ, जतिखेर जीवनसम्बद्ध सारा अर्थहरू किनारा लागिसकेका हुन्छन् ।
यसरी वर्तमान होस हराएको मान्छे स्मृतिसम्बद्ध सुखानुभूति होस् या पीडानुभूति, स्मृतिको छायाबाट मुक्त पनि कहाँ छ र ! तर म स्मृति पीडाका नाममा कसैको वर्तमान जिन्दगी लुट्दिन, लुट्न चाहन्नँ यद्यपि स्मृतिबाट पीडासम्बद्ध सारा काला छायाहरू डिलिट गरेरै होस्, आफ्नै संसारको परिधिभित्र स्मृतिसुखमा मस्तसँग म आफ्नै वर्तमान जिन्दगी लुट्छु, लुटिरहेछु हो, म लुटेरा हुँ, मेरै जिन्दगीको लुटेरा र नजरको एक आउट साइडर हुँ । यसमा मलाई कुनै खेद छैन ।
श्रीमान्,
फेरि मान्छेको वास्तविक जीवन भन्नु नै त मान्छेकै अन्तर्दृष्टिभरिको कला हो, जो सामाजिक दृष्टिको व्यवस्थामा कहाँ व्यवस्थित छ र ! व्यवस्थित जस्तो देखिएको मात्र न हो ! किनकि कुनै मर्यादा एवम् व्यवस्थाले व्यक्तिका अजिब विलक्षण अनुभूतिहरूको न त अर्थ नै दिन सक्छ न त मर्यादित एवम् व्यवस्थित नै गर्न सक्छ, जबकि हरअनुभव एफल एवम् अद्वितीय हुन्छ, हरअनुभूति मौलिक रहन्छ । कला र जीवनको नैतिक पीडा यहीँबाट प्रारम्भ हुन्छ, किनकि भीषण कुरुक्षेत्र जस्तो जीवनमा कुनै खास संस्कार कुनै खास व्यवस्था तथा विश्वासको समर्थन गर्नु कलाको धर्म होइन । फेरि परम सत्य पहिचान गर्ने जागतिक कसी पनि त छैन । यसैले नैतिक-अनैतिक अनि वैध-अवैध दाबी गरेर कुनै एक व्यक्तिको एक रङ्गको नैतिक मर्यादा अर्को व्यक्तिमा सीमाबद्ध गर्नु भनेको प्रकृतिमै सीमाङ्कन रेखा कोरेर कलालाई सङ्कुचित पार्नु हो ।
यद्यपि मर्यादा स्वयम्मा झुटो एवम् असत्य रहन्न तर मर्यादाका नाममा जब-जब हामी हाम्रा नितान्त वैयक्तिक अनुभूतिहरूलाई कुल्चेर, ढाकेर निकम्मा एवम् झुट साबित गर्छौं, मर्यादा स्वयम् निकम्मा एवम् भुट प्रतीत हुन्छ । उत्कृष्ट गद्यशिल्पी निर्मल वर्माले भनेझैँ साँच्चै नै सीताको पीडानुभवका सामुन्ने रामको मर्यादा कति पङ्गु र प्राणहीन लाग्दछ !…!!
यी र यस्तै विलक्षण अनुभूतिहरूमा विभक्त भएर बाँच्न खोजें । मेरो यही बाँच्नु नै अराजक बनिदियो । यदि यसरी बाँच्नुको यो अराजकता अपराध हो भने जरुर म अपराधी हुँ, एक आउट साइडर हुँ । केही छैन कलाजीवनमा सर्वोच्च न्यायमूर्तिका सारा सजायहरू सहर्ष कबुल छन् ।
श्रीमान्,
हुन त मेरो मानवीय र दानवीय चरित्रबारे यसअघि नै यहाँ निकै बहस भइसके । मेरो चरित्रलाई लिएर असल खराब, सत्य-असत्य पक्षबिच युगले नै धेरै चर्को बहस गरिसकेको छ र यी सन्दर्भहरूलाई युगले गजबसित सामान्यीकरण गर्यो । उद्धृत औसत जस्तो सामान्यीकरण एक सहज उपाय हो, तर मान्छेका प्रत्येक अस्तित्वगत सन्दर्भहरूमा सामान्यीकरणद्वारा निर्णय गरिएको तमाम भरपर्दा उपायहरू वास्तवमै हास्यास्पद छन्, श्रीमान् !
मृत्युको जोखिममा यात्रारत जीवन जब जीवन जस्तो गहिरो र सुरुचिपूर्ण सुन्दर पुस्तकको आदर्श क्लाइमेक्समा स्थगित हुन्छ, काव्यिक जोखिममा जीवनले मोक्ष प्राप्त गर्दछ । यतिखेर जन्म र मृत्युभन्दा परको तथाकथित सामान्यीकृत मोक्ष फिका लाग्दछ, सरोकारहीन लाग्दछ । सामान्यीकरणभन्दा पर अनुभवग्रस्त यही अस्तित्वगत जोखिमप्रतिको मेरो आत्मसम्मानकै कारण अपराधीका रूपमा मलाई यस कठघरामा उभ्याइएको छ …।
अब, यस प्रसङ्गमा अरू धेरै बोलेर म यहाँ उपस्थित दिव्य दर्शकहरूको दिव्यता भङ्ग गर्न चाहन्नँ । फेरि, उहाँहरू एउटा अपराधीको कथा, एउटा आउट साइडरको जीवनगाथा सुनेर आनन्दित हुने अभिप्रायले आउनु भएको हो । यसैले एउटा कविता सुनाएर मर्यादाको यो अनरोमान्टिक अदालतलाई अनुभूतिमय एवम् काव्यमय बनाउन चाहन्छु । आज्ञा पाऊँ, श्रीमान् !
– आज्ञा छैन ! अहिले तपाईं ईश्वरको अदालतमा हुनु हुन्छ । (अदालत अझ रौनकमय बन्छ, जिज्ञासु हल्ला बढ्दै जान्छ … ) … अर्डर ! अर्डर !! अर्डर !!! याद के राखियोस् भने यहाँ तपाईंलाई कविता गीत गुनगुनाउन नभई परम्परागत मर्यादाको
आदर्श र प्रतिष्ठालाई सम्मान गर्नुको सट्टा लात मारी बरु गजबसित, मस्तसित आफूखुसी कुन्नि कस्तो-कस्तो एकल पारा र शैलीले जीवनलाई तान्त्रिक रूपमा भोगचलन गरेको हुनाले उपस्थित गराइएको हो । यस विषयमा तपाईं आफ्नो बचाउ गर्न चाहनु हुन्छ भने केही बोल्न सक्नु हुन्छ। तपाईंले परम्परागत मर्यादा, आदर्श र प्रतिष्ठालाई भङ्ग गर्नु भएको छ ।
–यो ‘परम्परागत मर्यादा’को सीमा के होला ? मैले बुझिनँ प्रभु !
– तपाईं निर्दोष जस्तो देखिनु हुन्छ, तर तपाईंले सामाजिक मर्यादाको व्यङ्ग्य र खिल्ली उडाउने प्रयत्न गरिरहनुभा’छ… ।
– प्रयत्न होइन, श्रीमान् ! म त व्यङ्ग्य नै गरिरहेछु, खिल्ली नै उडाइ रहेछु … ।
-त्यसो भए ठिक छ, तपाईंको यस Statement लाई म विशेष स्मरण गर्ने छु, निर्णयमा यसले भूमिका खेल्नेछ … ।
– तपाईं मेरो के निर्णय गर्न सक्नु हुन्छ । तपाईं स्वयम् लाचार, विवश अनि यसभन्दा अझ पर संस्करणहीन परम्परावादी हुनु हुन्छ । ईश्वर । वास्तवमै तिमी लाचार छौ । उल्टै तिमीलाई मान्छेले नै तस्वीर, मूर्ति र मन्दिरमा कैद गरेको छ । फेरि अस्तित्वले नै सबैको निर्णय गरिसकेको हुन्छ । न त जन्म नै मेरो जीवनको सुरुआत हो, न त मृत्यु नै मेरो जीवनको अन्त्य हो । तिमी मेरो के निर्णय गर्छौं !
– प्रिय अद्भुत अपराधी ! यस Statement लाई पनि रेखाङ्कित नोट गरिनेछ र तपाईंको चरित्रको चरित्रका सम्बन्धमा छानबिन र विश्लेषण गर्दा यस बुँदालाई गम्भीरतापूर्वक लिइनेछ यसमा तपाईं अझ आफ्ना चारित्रिक प्रमाणहरू पेस गर्न सक्नु हुन्छ You may proceed…
-Thank you, your excellency.
प्रिय दर्शक महानुभावहरू ! एक आउट साइडरका रूपमा मेरो चरित्रबारे भएका बहसहरू यहाँहरूले सुरुचिपूर्वक सुनिहाल्नु भयो ।
यतिखेर सबैभन्दा अगाडि बसिरहनु भएका कालो कोटधारी भद्र पुरुषलाई देखि रहेछु, जसको नाम मलाई थाहा भएन, थाहा हुने कुरा पनि भएन। तपाईं मेरा कुराहरू सुनेर विचलित भएझैँ लाग्यो । तपाईंले धेरै कुराहरू पटक-पटक आफ्नो नोटबुकमा टिपोट पनि गर्नु भयो ।
प्रिय पुरुष,
समाजमा बसेपछि कैयौँ कथित चरित्रका कुराहरू आफूमा पनि अपत्यारिलो किसिमले लागु हुँदा रहेछन् …।
यहाँ उपस्थित प्रियजनहरूलाई आश्चर्य लाग्ला, तर मैले यी कुराहरू भन्नै पर्छ । वास्तवमा म कहिल्यै असल छोरी बन्न सकिनँ या थिइनँ भन्ने कुरा मेरी श्रद्धेय आमाले यहाँहरू समक्ष आफ्नो घरपरिवारलाई सदा माइनस गरेर खालि अरूको जाती बन्ने स्वभावका कारण मेरा लागि यो कहिल्यै प्रिय बनिन भनेर स्पष्ट जाहेर गरिसक्नु भएको छ ।
तर पनि ममतामयी आँसु चुहाउँदै पापै त गरेकी होइन भन्दै एकपटक बचाउन ईश्वरलाई अनुरोध पनि गरिसक्नु भएको छ । फेरि म असल पत्नी पनि बन्न सकिनँ । आफ्नी प्रेमिकाको तस्बिर टेबुलमा राख्ने पतिदेवका नजरमा सबैसँग हाँस्ने र सबैलाई सहयोग गर्ने प्रवृत्तिका कारण चरित्रहीन पत्नी कहलाइए कि त मेरो प्रेमिल स्वभावलाई कमजोरी ठानेर भावनाको शोषण गरियो कि त ओछ्यान न्यानो पार्ने केवल साधन बनाइयो ।
भर्खरै उनै पतिदेवले मलाई आपत्कालीन युगको एउटा Post Modern Fossil भनेर सङ्केत गरेको पनि सुनिहाल्नु भयो । भन्ने नै हो भने म असल आमा पनि बन्न सकिनँ । अस्तित्वको अन्तिम प्रश्नमा मात्र आफ्नो पक्षमा हस्ताक्षर गरिएको यथार्थ सन्तानका लागि आमाका सन्दर्भमा अनपेक्षित रह्यो, तर प्रथमतः अस्तित्व पश्चात् नै बाबु चिनाउने ‘आमा’ शब्द जीवित सम्बोधनीय बनेको तथ्यप्रति गम्भीर नरहेकाले नै यो सब हुन गयो ।
मेरा साक्षीहरूले भनेका सांसारिक परिधीय Statements का आधारमा पनि यहाँहरूले मेरो सम्बोधित सत्य थाहा पाइहाल्नु भयो । म मेरो परिवारमा असल बहिनी पनि बन्न सकिन । परिवारमा सबैभन्दा सानो हुनुको कारण मैले उनीहरूको शतप्रतिशत आज्ञापालन गर्नु पर्थ्यो तर मेरो अन्तस्करणको मर्जी अनुसार आफूलाई ठिक लागेको पक्षमा वकालत गर्न छाडिन । यिनै कमजोरीहरूको स्वीकारोक्तिसँगै सबै साक्षीहरूका अमृत वचन अनुसार नै म असामाजिक र अव्यावहारिक मान्छे थिएँ भन्ने कुराले पुष्टि भइसकेको छ ।
श्रीमान्,
ती सबका नजरमा म एक अव्यावहारिक, अस्वाभाविक, अनौपचारिक एवम् अपरम्परागत थिएँ भन्ने कुरा पुनः दोहोऱ्याउनु उचित हुने छैन । म असल कवि-लेखक पनि कदापि थिइनँ भन्ने कुरा समेत यस अदालतमा मेरा पाठकहरूले जाहेर गरिसकेका छन् ।
– अझ पनि आफूलाई निर्दोष साबित गर्ने प्रमाणहरू छन् भने पेस गर्नका लागि अन्तिम पटक यो मौका दिइएको छ ।
– त्यस्तो केही छैन, श्रीमान् ! म अब चोङ्ग जुलाई सम्झनेछु र केही समय मौन रहनेछु। यही मौनतामा तपाईं आफ्नो फैसला सुनाउन सक्नु हुनेछ ।
– तर, प्रिय अपराधी ! यो चोङ्ग जु को रहेछ ? त्यसलाई यस बखत किन सम्झन चाहनु हुन्छ :
-ऊ एउटा विस्मृत कवि थियो श्रीमान् ! र दोस्रो प्रश्नको उत्तर उसको कविता नै हो ।
– ए, कुरा त्यसो पो ! ठिक छ, अब म मुद्दाको यो तेस्रो सुनवाइ पश्चात् अन्तिम फैसला सुनाउन गइरहेको छु ।
आजसम्मका सारा बयान र प्रमाणहरूलाई मध्यनजर राख्दै नचाहँदा- नचाहँदै पनि पुरा होस हवासमै आफ्नो असामाजिक व्यवहारद्वारा समाजलाई धमिल्याउने चेष्टा गरेको प्रमाणित अपराधका लागि यो अदालत निज आउट साइडरलाई… (एक हुल आउट साइडरहरूको प्रवेश !)
– एकछिन प्रभु ! उनी अपराधी होइनन्, हामी सबै प्रमाण हौं । यदि उनलाई अपराधी ठहऱ्याइन्छ भने आ-आफ्नै भूगोलबाट एउटै सपनामा हस्ताक्षर गरेर जिन्दगी हिँडेका हामी सबै अपराधी हौं । त्यसो हो भने कवि देवकोटा, जसले आफ्नो सारा तलब बाहिर सिद्ध्याए र घर फर्कंदा के परिवारलाई अन्याय गरेनन् ! भगवान् बुद्ध, जसले आफ्नी स्वास्नी र छोराछोरीलाई अँध्यारैमा राखेर अरूलाई ज्योति दिए, के उनी अन्यायी होइनन् ?
कार्लमार्क्स, जसले संसारका लागि साम्यवादी सिद्धान्त एकछेउमा बसेर कागजमा कोर्दै गर्दा अर्को छेउमा उही छतमुनि आफ्ना सन्तान भोकले चिच्याइ रहेका थिए, के उनी आफ्ना परिवारका लागि आडम्बर होइनन् । कि त ती सबैलाई महान् हुने बहानामा गरिएका अपराधका आधारमा अपराधी घोषित गर्नुपर्यो र नत्र संसारको हरेक बस्तीमा हामीजस्ता कैयौँहरूको ठुलो समाज छ । उनीहरूले उल्टै आउट साइडर पीडा झेलिरहेका छन् । समाजको बाहिरी आँखाले देख्न र बुझ्न नसकेको पीडाद्वारा पीडित हामी सबैप्रति उचित न्याय हुनुपर्यो,
श्रीमान् !
– यसै हो भने, अब कविता सुनौं । आजको बहस म यहीँ टुङ्गिएको घोषणा गर्छु। अर्को सुनुवाइ June 15, 2055 A.D. मा हुनेछ । यस बखत भने हामी समक्ष उहाँ कठघरामै उभिएर कविता सुनाउन चाहनु हुन्छ । ध्यानले सुनौँ । अपराधीले गुनगुनाएको कविता सम्बन्धितले टिप्नु हुनेछ, जुन कविताको भाव निर्णयका लागि सहायक होस् । अब हामी पचास वर्षपछि अपराधीसित यसै अदालतमा भेट्नेछौँ ।
Now, the court is adjourned.
– Where can I find a man
Who has lost words
He is the one
I would like to talk to.
– Chuang Tzu
(मेरा प्रिय भावक ! तिम्रा आवाजहरूको कदर गर्दै सोहीअनुरूप ईश्वरको अदालतमा मैले सम्पूर्ण बयान दिएको कुरा बुझिहाल्यौ । पचास वर्षपछिको त्यस दिन तिमी निर्धक्क फूलमाला लिएरै अदालतमा उपस्थित हुनेछौ र हामी अनि हामी जस्तैहरू अँगालिनेछौं, एकसाथ विजय-उत्सव मनाउनेछौँ, जतिखेर प्रिय दिव्य दर्शकका आँखाबाट भक्कानिएर कविता झरिरहनेछ, गीत बनेर बगिरहनेछ, क्षितिजीय भ्रम जस्तो पीडाको आलो सम्झना किनारमा चित्र बनेर उभिइरहनेछ .
(‘ईश्वरको अदालतमा आउट साइडरको बयान’ सङ्ग्रहबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।