पोखरी जति गहिरो भए पनि सुक्छ, जति ठूलो भए पनि खुम्चिन्छ । डिलबाहिर पनि संसार छ, फराकिलो भूमि र खुल्ला आकाश छ । ऊ देख्दैन । यो सीमाबद्धताको जीवन नै पोखरी हो ।

सारा आप्तवचनलाई डस्टबिनमा हालिदिऊँ किजस्तो झोँक चल्छ अहिले । आगो लगाएर सल्काइदिऊँ किजस्तो पनि जङ चल्छ कहिले । हो, म कहिलेकाहीँको कुरा गर्दै छु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ ।

उन्नाइसौँ शताब्दीका एक अमेरिकी कवि छन् । नाम वालेस स्टेभेन्सन हो । उनको उक्ति छ, ‘मृत्यु नै सौन्दर्यकी जननी हो ।’

आप्तवचन लाग्ने यस भनाइमा अनुगुञ्जित विपरीत विचार र यसको मौन विद्रोहले म आकर्षित हुन्छु । अवधारणामै पैरो गएजस्तो लाग्यो ।

नाम मात्रै लिँदा पनि कम्प छुट्ने मृत्युलाई सौन्दर्यको स्रष्टा भन्ने कवि महान् हुन् । यहाँ पिकासोका आँखाहरू देख्न थाल्छु ।

के उल्का गर्दै छ यो मान्छे भन्ने लाग्यो होला । हामी त सधैँ मृत्युले आतङ्कित सन्त्रास बाँच्ने गर्छाैं । सधैँ सौन्दर्यमा पुलकित गर्ने छवि देख्ने गर्छौं । विपरीतताको यो नौलो उज्यालोमा म घामजस्तै छ्याङ्गिन्छु ।

विनाश त आफैंमा प्रस्फुरित हुने सिर्जनाको आद्यविम्ब रहेछ । थाहै थिएन । मृत्यु सिर्जनविरत विनाश नभएजस्तै जीवन पनि मृत्युविहीन सिर्जना होइन ।

म अवगत गर्छु ।

परिभाषाको आफ्नो म्याद हुन्छ । ओखतीकोजस्तो । म्याद नाघेपछि काम लाग्दैन । तारिख गुजे्रको पर्चा बोकेर कहाँ कोही मुद्दा लड्ने गर्छन् ?

ईशोपनिषद्मा एउटा वाक्य छ– त्येन त्यक्तेन भुञ्जिथा । अर्थात् त्याग गरेर बाँच्न सिक । त्याग्न गर्नेहरू जति पाखा लाग्दै गरेको बिजोग देख्दा यसलाई पनि टुकुचामा बगाइदिऊँ कि भन्छ एक मन ।

अर्कोतिर भुक्तभोगी भन्छ, ‘तेहिनो दिवसाः गता’– हाम्रा ती दिन गए ।

थकित मनलाई थामथुम पार्ने अर्को विकल्प पनि त हामीसित छेन ।

हेर्ने आँखाहरू बाहिर जे देख्छन् त्यो हामी होइनौँ । जे देख्दैन त्यो पो हामी रहेछौँ । पत्याउनै गाह्रो । यो महानता बदलिँदै गइरहेको आजका मानिसहरूको अनुहार भएर हामीलाई तर्साइरहन्छ ।

हाम्रोजस्तै महान् वाणीहरूको पनि आफ्नो समय हुँदो रहेछ । स्वचालित बन्दुकको जमानामा भरुवा बन्दुकको के काम ? हडतालले पुग्ने भए नेपाल बन्दजस्तो बन्दहरू किन गरिहिँड्थे ? यी हेर, मागहरू कति सजिलैसित फटाफट पूरा हुँदै छन् ?

परिभाषित गर्ने उल्टो परिवेशतिर लक्षित परिणामको म चर्चा गर्दैछु । हिजो भन्ने गर्थ्यौं– तमसोमा ज्योतिर्गमय । देश भने ज्योतिषः तमोगमयतर्फ अग्रसर छ । असतोमा सत्गमय भन्ने दिन गयो रे– बुज्रुकहरू भन्छन् ।

हामी सतः असत्गमयतिर उन्मुख छौँ । हिजोसम्म मृत्योर्मा अमृतंगमय भन्थ्यौँ । अनिकाल बेहोर्नु परेको कारण शायद यही रहेछ । विकल्पमा परिवार नियोजन गर्ने अभियान नै चलाएर सतः असत्गमय भन्दैछन् ।

विरोध बाँचेको विरोधमा मान्छेले पुनर्जीवन लिने गर्छन् ।

पोखरी जति गहिरो भए पनि सुक्छ, जति ठूलो भए पनि खुम्चिन्छ । डिलबाहिर पनि संसार छ, फराकिलो भूमि र खुल्ला आकाश छ । ऊ देख्दैन । यो सीमाबद्धताको जीवन नै पोखरी हो ।

उसको विगत पनि यही हो, वर्तमान र भविष्य पनि । तीनवटै कालमा फैलिएर पनि समेटिएको जिन्दगी पलपल मृत्युवरण गर्छ । क्रमशः सकिँदै जान्छ, सकिँदै जान्छ ।

छालहरू आउँछन्, लगातार आइरहन्छन् । त्यहाँको खलबल देखेर मैले सोचेको थिएँ–अब नयाँ हलचल शुरू भो । जीवन बदलिनेछ । क्यै नयाँ दिशा समात्नेछौँ तर होइन रहेछ । छालहरू आउँछन् र मात्रै किनार छोएर फर्कन्छन् ।

यो आउने र जाने क्रम सिसिफसको प्रयासजस्तै लाग्यो । एउटा क्लासिकता छ यहाँ । क्लासिक महान् वाणीहरू अङ्गीकार गर्दै आधुनिक हुन खोज्ने विसङ्गतिहरू धेरै छन् ।

सन्दर्भमा देवीदेवताका प्रचीन मूर्ति तुलनीय छन् । भादगाउँको न्यातपोल वा तलेजु र कृष्णमन्दिरहरूजस्तो पनि, जानकी मन्दिरजस्तो पनि । सभ्यता र संस्कृतिको जीवित फोसिल भन्छु म यसलाई जो कैयौँ शताब्दीअघिको इतिहास, सांस्कृतिक सम्पदा र मानवीय उपलब्धि मानेर गर्व गर्छौं ।

अभिमानले शिर ठाडो हुन्छ हाम्रो । तर इतिहास बाँचेर त्यसकै पछि लागेनौँ । अगाडि हिँड्न नखोजेको भए दास सधैँ दास भइरहन्थे, मालिक सदैव मालिक । गौतम बुद्धको उद्भव, अब्राहम लिङ्कनको जन्म कहिल्यै हुने थिएन । जर्ज डब्लु बुशको अमेरिकामा बाराक ओबामाको प्रादुर्भाव कति सम्भव हुन्थ्यो ? कति सम्भव हुन्थ्यो नेपालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आगमन ?

मानिस एउटा देवघाट हो– तीनवटै कालको सङ्गमभूमि । पूर्णतालाई प्रतिविम्बित गर्ने कालिक आयामका हामी वामन हौँ । एउटा पाउ विगतमा टेकेका हुन्छौँ, दोस्रो वर्तमानमा । अनि यहीँ उभिएर सुदूर भविष्यतिर हेर्छौं, सोच्छौँ, अघि लाग्छौँ ।

यसरी एकसाथ तीन काल बाँच्ने गर्छौं–अलिकता इतिहास साँचेर, अलिकता वर्तमानका सीमान्तीकृत प्रदेशहरू उछिनेर, अलिकता भविष्यका अनन्त सम्भावनाहरू टिपेर ।

एउटै कालमा बाँच्नेहरू इतिहासको पुनरुत्थानमा लाग्दा रहेछन् । कि त यथास्थिति सकारेर बाँच्न खोज्छन् । होइन भने स्व–रतिको सिकार हुन्छन् ।

एउटा कुरा साँचिराख । सन्तोष मानेर भविष्य गुमाउनेहरूको सपना हुँदैन ।

त्यसैले मानिसहरू बायाँ लाग्दा रहेछन् ।

बि.पी.ले भनेका छन्, ‘साहित्यमा म अराजकतावादी हुँ ।’ अहिले देख्दै छु, राजनीतिमा पनि अराजकतावादी भइसकेछौँ । परिवारभित्र पनि अराजक छौँ । सेना, प्रशासन, सडक, पहाड, गाउँ, तराई, ल्यान्डफिल्डमा पनि अराजक छौँ ।

मौसम अराजक छ, ऋतु क्रमिकता, लोडशेडिङ सबै अराजकवादी देख्छु । विकृतिमा सौन्दर्य देख्ने यी अराजक आँखाहरू हुन् ।

भाइ हो ! अब त पोखरीमा ज्वारभाटा आउन थालेछ ।

गणतन्त्र छाएको देशका शहरहरू, राजधानी र यहाँका सडकमा पनि फोहोरको कुम्भमेला लाग्ने गर्छ । म त्यसमा कुम्भकर्ण हिमाल देख्न थाल्छु–त्यसका शृङ्खलाजस्तै छन् फोहोरका डङ्गुरहरू ।

शोभामण्डित फोहोरमा सुवासित सौन्दर्यको विनिर्माण हुँदै छ । अब त्यही फोहोरको थुम्कोथुम्कोमा सुन्दर चैत्य देख्नेछौँ ।

म यी आँखाहरूलाई नमन गर्छु ।

सौन्दर्यको अर्थ बदलेछ । परिभाषा बदलेछ । अत्तर भिरेर सुवासित हुने सामन्ती संस्कारको अन्त्य हुनुपर्छ । गन्ध अब गन्ध रहेन । फोहोर फोहोर रहेन । भविष्य रच्ने बन्दमा नयाँ नेपालको नक्सा कोरिँदै छ ।

विपरीत बाटोमा अराजक नभई हिँडिदैन । र यसको भाषा, शैली पनि अराजक हुँदो रहेछ । यसमा विम्बित हुने प्रतीकात्मक प्रयोगहरू अर्थपूर्ण मात्रै होइन, रोमाञ्चक हुन्छ र अराजक ।

इराक पुगेका जर्ज डब्लु बुसमाथि एक्कासि जुत्ता प्रहार गरेछन्, एकपछि अर्को जुत्ता पत्रकार सम्मेलनमा । संसारभरि हल्लीखल्ली मच्चिन्छ ।

चिनियाँ प्रधानमन्त्री वेन जिआबाओलाई पनि क्याम्ब्रिजका विद्यार्थीले जुत्ताले हानेछन्, पत्रकार सम्मेलनमै । जुत्ता हिर्काउनेलाई सनकी भने ।

भर्खरकै घटना हो । दिल्लीमा त्यहाँका गृहमन्त्री पी. चिदम्बरम्लाई पनि जुत्ताले हिर्काएछन् । उनीहरू पत्रकार थिए ।

धेरैको टिप्पणी छ–जुत्ताले हिर्काउनु उनीहरूप्रति घृणा व्यक्त गर्नु हो । एउटा निकृष्टतम अभिव्यक्ति । तर तिनीहरू घृणित होइनन् । विरोधको अर्को विकल्प लाग्ने जुत्ता सर्वोत्तम माध्यम भइदिन्छ– यसलाई सम्प्रेषित गर्ने नवीनतम प्रयोग । यसले साङ्केतिक विम्बको काम गर्छ ।

मृत्यु र विकृतिमा सौन्दर्य प्रतिस्थापित गरेर व्यङ्ग्य गर्ने आजका स्टेभेन्सन, पिकासो भन्छु जुत्ता हिर्काउने यी मुन्तजिर अल जैदी, मार्टिन र जरनैल सिंहहरू ।

त्रिविविका उपकुलपति, शिक्षाध्यक्षको मुखमा कालोमोसो दल्ने काम हामी गरिरहेका छौँ ।

विपरीत अर्थका प्रतीकात्मक विम्बहरू हुन् । विरोध सम्प्रेषित गर्ने यो शैली निकै रोमाञ्चक छ र आतङ्कित गर्ने खालको पनि ।

समस्या बाहिरबाट आइलाग्दैन । विकास र उपलब्धिहरूभित्रै अन्तर्निहित द्वन्द्व, विसङ्गति, विभेदहरूबाट सिर्जिन्छन् । एकातिर संसार साँघुरिँदै गइरहेछ । ग्लोबलाइजेसनतिर उन्मुख छौँ हामी ।

देश र मानिसहरूमाझको दूरी घट्दै गइरहेछ । अर्कोतिर अनपेक्षित बाध्यताले गर्दा मानिसहरू देश छोडेर बहिर्गमन गर्दै छन्, स्वनिर्वासित हुँदै छन् ।

यस क्रममा देशहरू हराउँछन् कि हराउँदैनन् भन्न सक्तिनँ । सम्भव छ भोलि देशका मानिसहरू हराउनेछन् । उनीहरूले बोल्ने भाषा हराउनेछ । बिस्तारैबिस्तारै तिनीहरूको पहिचान हराउनेछ, राष्ट्रियता हराउनेछ ।

देश रहिरहेर पनि सम्भव छ देशले उनीहरूलाई बिर्सनेछ । सम्भव छ उनीहरूले पनि देश बिर्सनेछन् । अनि मान्छे मात्रै बाँकी रहनेछन् जसलाई हामी डायास्पोरा भन्छौँ । डायास्पोरियनहरूको देशजस्तै लाग्नेछ संसार, यहाँका वासीहरू ।

यता हामी भने (हामीजस्तै अरू मुलुकका मानिसहरू पनि) आआफ्ना पहिचान स्थापित गर्न कुस्ती खेल्दै छौँ । कोही मधेशी हुनुमा गौरव गर्छौं, कोही थारू भएर थरुहट प्रदेश बनाउन संघर्षरत छौँ ।

लिम्बू भएर चिनिन चाहन्छौँ, नेवार भएर बाँच्न चाहन्छौँ, गुरुड, मगर भएर कोही भने कोही खम्बुवान भएर, मुसलमान भएर । आ–आफ्नो पृथक्ता, जातीयता, सांस्कृतिक चिनारी गुमाउन चाहँदैनौँ ।

कुनैको अधीनस्थ भई कसैको वर्चस्वतामा अवलम्बित राष्ट्रियता हामी चाहँदैनौँ । यो विसङ्गतिपूर्ण विरोध पनि छ विश्वमा विभेदपूर्ण विविधता पनि छ हामीमा । भूमण्डलीकरणतर्फ पनि अभिमुख छौँ हामी, जातीय र राष्ट्रिय पृथक्तातर्फ पनि ।

देश छोडेर जानेहरूले देश त छाडे, देश बिर्सेनन् । यो उनीहरूको सबैभन्दा ठूलो पीडा भइदिन्छ । देश भनेर बस्नेहरूले देशै भनेनन् । अनि नासो राखेर हुन्छ कि विनिमय गर्ने वस्तु ठानेर हुन्छ, त्यसलाई खेलाउँछन् र प्रयोग गर्न पनि छाड्दैनन् । हामीलाई भने देश कहिल्यै दुखेन ।

एकसाथ यो विपरीतता बाँचेर पनि दुवैले दुवैको विरोधमा टेक्ने पाइला कसैको अहितमा उठ्दैन ।

एक जना मित्र भन्थे– विदेशमा बस्नेहरू सुखी छन् तर खुशी छैनन् ।

बाध्यतालाई ल्याउने संकेत गर्छ यसले ।

कुरो मार्मिक लाग्यो । सुखी भएर खुशी नहुनेहरू पनि छन् । खुशी भएर सुखी नहुनेहरू पनि छन् । हेर्दा दुवैप्रति दुवैको विरोध छैन । दुवैबाट दुवै प्रभावित भई एकार्कामा भर पर्ने तिनको भौतिकता अभिव्यक्त छ ।

समयमा अलिअलि स्वाभिमान जोडिएको लाग्छ । राष्ट्रियतासित जोडेर हेर्नेहरू पनि छन् । व्यक्तिगत विचार र अनुभूतिको विषय होइन पनि भन्दिनँ ।

सबैभन्दा ठूलो कुरा हो स्वाभिमानीहरू सुखी हुनलाई खुशी बेच्दैनन् । वा यसो भन्छु–खुशी बेचेर सुखी हुन चाहँदैनन् । बरु सुखी हुन दुःख गर्छन्, कष्ट भोग्छन्, श्रम र संघर्ष गर्छन् तर खुशी बेच्दैनन् ।

म अहिले खुशी बेचेर सुखी हुन खोज्नेहरूको कुरा गर्दै छु । विवशतामाथि लज्जित भई माफी माग्नेहरूको कुरा गर्दै छु ।

हामी असामाजिक होइनौँ । र रीतिथिति नियमविधि, निषेधविना समाज छँदैछैन जसलाई सभ्यता मानेर स्विकारेका छौँ । नैसर्गिक आवश्यकताको रूपमा बेहोर्ने गरेका कतिपय बाध्यता छन् जसबाट विमुख हुन सक्तैनौँ ।

जस्तो बाँच्नु पनि एउटा बाध्यता हो । त्यसबाट मुक्ति खोज्नुको अर्थ भनेको आत्महत्या गर्नु हो जो हामी चाहँदैनौँ । शायद त्यही गरिरहेका छौँ कि !

यसरी थुप्रै बाध्यतासित सम्झौता गरेर खुशी साट्ने गर्छौं । विकल्प सोच्दैनौँ । मृत्युमा जीवन देख्नेहरूलेजस्तो, विकृतिमा सौन्दर्यको अनुभूति गरिरहेजस्तो उज्यालोमा अँध्यारो नदेख्दा त्यहाँ आएको अध्यारो पनि उज्यालो लागिदिन्छ ।

राणाकालको उज्यालोजस्तो, नारायणहिटी दरबारको घामजस्तो यी उज्यालाहरू अँध्यारोभन्दा डरलाग्दा छन् ।

प्रजातन्त्रको घाम तापेर पनि कठ्याङ्ग्रिनु परेकाहरू देखिरहेको छु । गणतन्त्रको हावा चले पनि लू लाग्ने डरले आतङ्कित मानिसहरू देखिरहेछु । उज्यालो पनि अँध्यारो लाग्ने उज्यालो देखेर अब त तर्सनुपर्ने भइसकेछ । ग्रहण लागेको उज्यालोमा उज्यालो पनि अँध्यारो भइदिन्छ । त्यसैले आन्दोलनकारीहरू बन्दमा लागेका छन् ।

सिंहासनमा राजा छैन तर कहिल्यै रित्तो नभएको सिंहासनको विरोधमा जुत्ता उठिरहेछन् ।

स्टेभेन्सनको मृत्युले सिर्जना गर्ने सौन्दर्यको समसामयिक अभिव्यक्ति लाग्यो विपरीत दिशातर्फको यो अभियान ।

अँध्यारो नदेख्नेहरू अँध्यारोमा पनि उज्यालो नै देख्दा रहेछन् ।

(साभारः ‘कृष्णचन्द्रसिंहका निबन्ध’बाट)