
त्यो दिन आकाश धुम्मिएको थियो, सेतो हिमालको स्वरूप कालो मुस्लो धुवाँले ढाकिएको थियो । कताकताबाट कालीप्रसाद रिजालका शब्द र रामकृष्ण ढकालको स्वरमा रहेको “बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस” भन्ने गीतको याद आयो । हिमाल मात्र होइन, त्यो मुस्लोले कतै नेपाल नै नदेखिने हो कि भन्ने भय र त्रास थियो । देश नै हराउने हो कि भन्ने भय मनको गहिराइमा सल्किरहेको थियो । आखिर, देश नरहे हामी कहाँ रहन सक्छौँ र ? नागरिकबिना राज्यको अर्थ छैन, तर राज्यबिना नागरिकको पहिचान पनि अधुरो हुन्छ । राष्ट्रकवि माधव घिमिरेका शब्दमा नातिकाजीले गाएको “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” गीतजस्तै देश नरहने हो कि भन्नेमा मन कामिरहेको थियो ।
सबैभन्दा पीडादायी दृश्य भनेको निहत्था बालबालिकाको ढलेको शरीर थियो । सडकमा रगत मिसिएको, अस्पतालको ढोका नजिकै आमा–बाबु रुँदै गरेको र मृत शरीरसँगै चित्कार गरिएको त्यो दृश्य कल्पना गर्न पनि कठीन छ । ती कलिला मुनाहरू, जसले फूलझैँ फुल्नुपर्ने थियो, समाजलाई सुगन्ध दिनुपर्ने थियो र भविष्यको आशा जगाउनुपर्ने थियो, तिनको प्राण सल्किएको ज्वालामा उडेको थियो । ती बालबालिकालाई सम्झँदा शब्दहरू कमजोर लाग्छन्, किनकि शोकको भार असीमित छ । श्रद्धाञ्जलि त अर्पण गर्न सकिन्छ, तर पीडाको घाउ मलमले मात्र निको हुँदैन । त्यो घाउ त राजनीतिको असंवेदनशीलताले अझ गहिरो बनाएको छ । समाचार सुन्नै सकिँदैनथ्यो । कानले सुन्ने हिम्मत गर्थ्यो तर मुटुले धान्न सक्दैनथ्यो । सुन्नासाथ मुटु जल्थ्यो ।
माथिको त्रासदीपूर्ण घटना थियो ०८२ भदौ २३ र २४ गतेको । यो दुई दिनलाई अलग गरेर हेरेँ । भाद्र २३ मा नयाँ पुस्ता (जेनजेड) ले आह्वान गरेको आन्दोलन थियो । मात्र दुईवटा मुद्दा थियो – भ्रष्टाचार, अनियमितता विरुद्ध र सामाजिक सञ्जालको सुचारु । यसरी गरिएको आन्दोलनमा १९ जना कलिला बालबालिकाको गोलीका कारण ज्यान गएको थियो ।
भदौ २४ मा बालबालिकाको मृत्युले आन्दोलनकारीहरूमा आक्रोश थपियो । यही आक्रोशमा मलजल गर्ने र मौकाको फाइदा लिने समूहहरू सक्रिय भए । आन्दोलन कसको हातमा पुग्यो, कसले हाइज्याक गर्यो, कसैलाई थाहा भएन । विद्रोहलाई भड्काउन र देशलाई खरानी बनाउन केही सञ्चारमाध्यम, दलका नेता, सामाजिक अभियन्ता, पदमै बसेका व्यक्तिहरू समेत लागेको कुरा सामाजिक सञ्जालमा छरपस्टै देखिन्थ्यो । दोषी को हुन् भन्ने कुरा इतिहासमा खोज भयो भने भविष्यले बताउला । अहिलेलाई “हाम्रो पनि आन्दोलन हो” भन्नेहरूले पनि निहत्था मानिसको मृत्यु र देश नै खरानी भएको कुराको जिम्मेवारी लिएको देखिँदैन । बीचमा अवसरवादीहरूले मौका छोपेर देश दहन गरे । तर तोडफोड र आगजनीमा स्थापित राजनीतिक दलका युवाहरू पनि प्रत्यक्ष संलग्न भएको त्यस बेलाका फोटो भिडियोहरूले देखाएको छ ।
मैले युवा पुस्ताको आन्दोलन र विद्रोहको कारण खोज्न थालेँ । देशमा विकास पटक्कै नभएको होइन । विश्व बैंकको तथ्याङ्कले जनाए अनुसार विगत ३० वर्षयता धेरै पूर्वाधार (बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत) धेरै क्षेत्रमा फड्को मारेको छ । प्रतिव्यक्ति आय बढेको छ । निम्न मानव विकास भएको देशबाट मध्यम मानव विकास भएको देशमा उक्लेको छ । तर पनि किन जनतामा आक्रोश छ त ? आफैँलाई प्रश्न गरें ।
नेपोटिजम र भ्रष्टाचारको प्रभाव
नेपाली समाजमा देखिएका विद्रोहका स्वरहरू सम्झन थालेँ । नेपालको इतिहासमा राजतन्त्रकालदेखि नै नातावादको प्रथा थियो । उनीहरूका छोराछोरी जन्मँदै अधिकार सम्पन्न हुन्थे । दरबारिया शाही परिवार र निकटस्थ जमिन्दार तथा दरबारीहरूलाई विशेषाधिकार दिइन्थ्यो । नागरिकको आवश्यकता र योग्यताभन्दा परम्परागत नातागोता र विश्वासलाई प्राथमिकता दिइन्थ्यो, जसलाई नेपोटिजम भनिन्छ । त्यही नेपोटिजमको अन्त्यका लागि २०६२/६३ मा जनआन्दोलन भयो । जनता अधिकार सम्पन्न भए । जनताको व्यवस्थाबाट उनीहरूले ठूलो अपेक्षा गरेका थिए । बहुदलीय प्रणालीको प्रवेशपछि यो नेपोटिजम प्रणालीको अन्त्य हुनेछ भन्ने जनताको अपेक्षा थियो ।
तर राजनीतिक पार्टीका झुटा घोषणापत्र र गलत प्रतिज्ञाले जनताहरू वाक्क भइसकेका थिए । पुरानाले गरेनन् भनेर नयाँ जन्मेका पार्टीहरूमा झन् खराबी देखियो । सामाजिक सञ्जाल कब्जा गरेर हिरो हुने तर काम पुरानाले गरेको भन्दा फरक नगर्ने । उनीहरू पनि नेपोटिजममा नै रमाउन थाले । यो प्रवृत्ति हटेन । यही अवधिमा नेताहरूका छोराछोरी विदेशी शिक्षा, महँगा गाडी, विलासी जीवनशैली र विशेष अवसरको लाभ उठाउँदा सामान्य युवा विदेशिन बाध्य थिए । सामाजिक सञ्जालमा यसलाई उजागर गर्दै युवाले नेताहरूको पारिवारिक पक्षपातको विरोध गर्दै आएका थिए । जसलाई नेपोकिड्स अर्थात् नेपोबेबी पनि भनिन्छ । नेपोकिड्सलाई समाजले रुचाएको थिएन ।
परिणामस्वरूप, लोकतान्त्रिक प्रणाली भए पनि पदमा पुग्ने र राज्य स्रोत उपयोग गर्ने अवसरमा पारिवारिक प्रभाव अझ प्रबल भयो । नेपोटिजम् एक गहिरो सामाजिक–राजनीतिक समस्या बनेको थियो । यो प्रथा केवल राजनीतिक क्षेत्रमा मात्र सीमित थिएन बरु शिक्षा, व्यापार, सरकारी जागिर, ठेक्कापट्टा, कूटनीति र कलासंस्कृतिका क्षेत्रसम्म फैलिएको थियो । युवा पुस्ता र सामान्य नागरिकले अनुभव गर्ने असमानता, भ्रष्टाचार, अवसरको अभाव र सामाजिक विभाजनको जरा यही नातावादमा टेकेको छ भनेर आम मानिसमा धारणा बनिसकेको थियो । यसमा निरपेक्ष रूपमा सबै राजनीतिज्ञ खराब थिए भन्न सकिँदैन । इमान्दार राजनीति गर्नेहरू पनि थिए । तर उनीहरू माइनोरिटीमा देखिए । आम मानिसमा यो नेपोटिजम र नेपोबेबीका कारणले आक्रोश पैदा भइरहेको थियो ।
अर्कोतर्फ, भ्रष्टाचारमा नेताहरूको संलग्नता प्रस्ट देखिन्थ्यो । कुनै प्रमाणित भएका, कुनै अनुसन्धानमा रहेका र कुनै अनुसन्धान भएन भनेर आवाज उठिरहेको थियो । जति पनि भ्रष्टाचारसम्बन्धी घटनाहरू सुनिन्थे ती सबै नेता र नेतासँग सम्बन्धित व्यक्तिहरूकै नाम जोडिन्थ्यो । अर्कोतर्फ स्थायी सरकार कहिल्यै भएन । एक दलले अर्को दललाई, दलभित्र पनि एक गुटले अर्को गुटलाई आरोप–प्रत्यारोप गरेर राजनीतिलाई दूषित बनाएको थियो । सरकारमा जान र सरकार गिराउन हुने–नहुने कसरत भइरहन्थे । जनताको आवाज उठाउने थलो संसद पनि गाली–गलौज, नौटङ्कीमै व्यस्त थियो । यी सबै कारणले आन्दोलन अपरिहार्य बनाइरहेको थियो ।
आन्दोलनको अराजकता र परिणाम
यही आन्दोलनलाई बहाना बनाएर अनेक पक्षले प्रतिशोध साँध्ने काम गरे । यो कुरा कसरी पनि प्रस्ट हुन्छ भने, जेन जेडको आन्दोलन हुनुअगाडि नै कसैले भाषण गरेर जनतालाई भड्काउँदै थिए । कसैले सिंहदरबार जलाउने, कसैले बङ्गलादेश बनाउने, कसैले लाखौँ जनता सिंहदरबार र बालुवाटार घेर्न आउँदै छन् भन्ने, कसैले बाहिर आन्दोलन हुँदा भित्र जेल तोडिन्छ भन्ने । कसैले लाखौँ जनताले आफैँ जेलबाट बाहिर निकाल्छन् भन्ने; जनता आन्दोलित हुने वातावरण बनाउँदै थिए ।
२४ गतेको आन्दोलनमा देशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका संरचना ध्वस्त भए; राष्ट्रिय सम्पदा र देशको पहिचान नै मेटाउने गरी सम्पत्ति नष्ट भयो । नेपाल भन्नासाथ विदेशी सञ्चारमाध्यममा देखिने चन्द्रसूर्य अङ्कित रातो झन्डा र सिंहदरबारको तस्बीरमध्ये झन्डामात्र बाँकी रह्यो । सिंहदरबार त रातो ज्वालासहित दनदनी जलिरहेको थियो; धेरै जिल्लाका सरकारी कार्यालयहरू, वडादेखि पालिका भवनसम्म र पार्टी कार्यालयसमेत खरानीमा परिणत भएका थिए । धेरै व्यावसायिक प्रतिष्ठान ध्वस्त हुँदा हजारौँ कामदार बेरोजगार भए । तर ती उक्साउनेहरू कहाँ थिए ? उनीहरू त शून्यतामा हराइसकेका थिए । त्यसको जिम्मेवारी लिने कोही थिएन । “देशका लागि आन्दोलन हाम्रो पनि हो” भन्नेहरू थिए तर यो विध्वंशको जिम्मा लिन कोही तयार थिएनन्, अहिलेसम्म पनि छैनन् ।
भ्रष्टाचार अन्त्यको आन्दोलन भनिएको थियो तर विडम्बना, जहाँ–जहाँ भ्रष्टाचारका प्रमाण थिए, त्यही संरचना जले । भ्रष्टाचार समाप्त भएको कि प्रमाण समाप्त भएको भन्ने प्रश्न यसैमा अल्झिएको थियो । आन्दोलनमा आएकाहरू पनि चोर्न र लुट्न पछि परेनन् । बैंकबाट सुन, नगद तथा व्यापारिक प्रतिष्ठानबाट बहुमूल्य सामान मात्र होइन एक प्याकेट चाउचाउ, एक बोतल रक्सी र एउटा खेलौनासम्म चोरेर युद्ध जितेको भन्दै नारा लगाउँदै थिए । ‘मौका पाए यिनीहरूले पनि छोड्ने रहेनछन्’ भन्ने सन्देश दिइरहेका थिए । यो सबै गर्ने विशुद्ध भ्रष्टाचारविरुद्धको आन्दोलनमा आउनेहरू पक्कै थिएनन् ।
भयावह दृश्य र अनुत्तरित प्रश्न
त्यो दिनको अर्को भयावह दृश्य थियो– टेलिभिजनको पर्दामा, भिडियोहरूमा कैदीबन्दीहरू जेलबाट हातमा झोला बोकेर दौडँदै गरेको देखिन्थ्यो । सुरक्षा निकाय निरीह भएर टुलुटुलु हेरिरहेका थिए । समाचारअनुसार देशभरिका झन्डै १३ हजार ५ सय कैदी जेलबाट भागेका थिए । भदौ २५ मा म आफैँ पनि बिहानको हिँडाइमा डराई–डराई हिँड्दै थिएँ । भरतपुरमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, अदालत, स्थानीय निकाय, महानगरदेखि वडासम्म सबै खरानी भएका थिए । आँखाले हेर्न सक्ने अवस्था थिएन । शहरभरि धुवाँ र धुलो, पोलिएको गन्धले सास फेर्न नसकिने अवस्था थियो । हिँड्दै आउँदा भरतपुर कारागार नजिकै मैले आफैँले देखेको दृश्य अझै आँखामा ताजै छ । कसैको हातमा जेब्रा ब्याग, कसैको हातेझोला बोकेर, कसैले बोरामा सामान; कैदीबन्दीहरू दौडँदै गरेको देखें । थोरै मात्र सुरक्षाकर्मी कारागारको गेटमै बसेर टुलुटुलु हेर्दै थिए । म असुरक्षित महसूस गरी छिटो–छिटो घर आएँ । घरमा आएर टेलिभिजनमा च्यानल बदल्दै, अनलाइनखबर, सेतोपाटी, रातोपाटी त कहिले मोबाइलमा भिडियो हेर्दै थिएँ । मन भावविह्वल भइरहेको थियो । फेसबुकमा हालिएको एउटा भिडियो दृश्यले मलाई गहिरो चोट दियो ।
एउटा जेलबाट भाग्दै गरेकामध्ये रातो टोपी लगाएका र काँधमा झोला बोकेका एक कैदीलाई बाटोमै एउटा समूहले रोक्यो । हेलमेट लगाएको तर अनुहार स्पष्ट देखिने, राम्रै लवाइखवाइ भएको कुनै राजनीतिक दलको कार्यकर्ताले सोधिरहेका थिए, “के मुद्दामा जेल आएको ?”
कैदीको जवाफ थियो, “बालिका करणीमा ।”
फेरि सोध्यो, “कति वर्षको लागि ?”
“२० वर्ष कैद तोकिएको थियो ।”
“कति वर्ष भयो जेल बसेको ?”
“१२ वर्ष भयो ।”
त्यसपछि एक जनाले भन्यो, “ल हेर त यो मान्छेलाई फसाइएको रहेछ ।”
उसले त्यति सुनेको भरमा फसाएको भनेर फैसला गर्यो र भन्यो, “हेर, कसको कारणले बाहिर निस्कन पायौ ? थाहा छ ? हाम्रो नेताको कारणले ।” अर्कोले भन्दै थियो, “हाम्रो सरको कारणले हो ।”
अर्कोले सोध्यो, “अब ८४ को चुनावमा हाम्रो पक्षमा भोट दिन्छौ नि ?”
कैदीलाई भाग्ने हतार थियो । उसले छिट्टै जवाफ दियो, “हो–हो, मैले तपाईंहरूको पार्टीलाई नै भोट दिन्छु, अब देश बनाउने हो ।” ऊ हतारिएर हिँड्न थाल्यो । अनि ती कार्यकर्ताहरूले “ल, राम्रोसँग जानू” भनेर मुस्कानसहित बिदा गरे ।
अर्को भिडियो हेरें । आन्दोलनकै क्रममा एउटा दलको नेता भनेर चिनिएका वकिल भन्दै थिए, “सर्वोच्च अदालत जलेकोमा खुशी छु, अझै जल्नुपर्छ ।”
यो दुवै घटनाले सोच्न बाध्य बनायो – मानिसको संवेदना कहाँ गएको होला ? धिक्कार छ यस्तो सोचलाई ।
भदौ २६ गते बाटोमा हिँड्न अलिकति सहज थियो । चिया पसलमा मानिसहरू गफ गर्दै गरेको देखें । फरक–फरक तीन ठाउँमा सबै उमेर समूहका मानिसहरूको जमघट थियो । त्यहाँ भएका प्रायः मानिसहरू अत्यन्त हर्षित मुद्रामा थिए । लाग्थ्यो, उनीहरू क्रिकेट जितेर आफ्नो देश फर्केर आराम गर्दै थिए । कहाँ, कसरी, कुन भवन ढलेको थियो, उनीहरू हर्षित मुद्रामा एकले अर्कालाई सुनाउँदै थिए । एक ठाउँमा मात्र होइन, मैले देखेका तीनवटै चिया पसलमा जम्मा भएकाहरूमा यही प्रकारको खुशीयाली थियो । यी दृश्य र संवादले मलाई लाग्यो, नेपालीहरूको मन वा भावनामा उत्पन्न हुने संवेदना, सहिष्णुता र माया भन्ने विषयमा मनोवैज्ञानिक अध्ययन नै गर्नु पर्ने भयो ।
देशभरि विभत्स दृश्य थिए । कोही परिवार गुमाएर रोइरहेका थिए, कोही अस्पतालमा घाइतेका लागि औषधि खोज्दै दौडिरहेका थिए, कोही घर जलेर सडकमा निस्कन बाध्य भएका थिए । व्यवसाय गरी राज्यलाई कर र नेपालीलाई रोजगारी दिएका व्यापारीहरू आँखाभरि आँशु लिएर “देशमा व्यवसाय गरेर रोजगारी दिनु गलत भएछ” भन्दै अन्तर्वार्ता दिइरहेका तस्बिरहरू टेलिभिजनका पर्दामा देखिन्थे । आफूले दिनरात नभनी जनताको सेवा गरेका जनप्रतिनिधिहरू जनताकै करबाट बनेका स्थानीय संरचनासँगै आफ्नै बास आगोमा बलिरहेको दृश्य हेर्न बाध्य थिए । देश खरानीमा, जनता शोकमा, बालबालिका चितामा, तर नेताका कार्यकर्ता भोटको राजनीति गरिरहेका थिए । कति खुशी मनाइरहेका थिए ।
के यही हो हाम्रो शिक्षाको स्तर ? यही हो हाम्रो राजनीति ? यही हो हाम्रो मानवीयता ? यही हो देशप्रेम ? – जसले कैदीलाई भाग्न सजिलो पार्छ, अनि त्यसैको प्रतिफलमा भोट माग्छ । यो दृश्य सम्झँदा लाग्छ, देश जलेको आगोभन्दा पनि भोटको राजनीतिले राष्ट्रलाई अझै गहिरो खरानीमा बदल्दै छ । यसका साथै आन्दोलनले केही अनुत्तरित प्रश्नहरू छोडेको मैले महसूस गरेको छु । इतिहासको कुनै कालखण्डमा यसको खोजी र पहिचान पक्कै होला ।
आफ्नै परमाधिपतिको कार्यलय र सिंहदरबार जल्दा सेना किन मूकदर्शक बन्यो ? जलेको तीन दिनपछि ललितपुरबाट दमकल आएर सर्वोच्चमा लागेको लागो निभाएको कुरा प्रधानन्यायाधीशको अन्तर्वार्ता सुनियो । सानो आन्दोलनमा फोहर गर्दा जरिवाना गर्ने महानगर देशका सम्पदा दनदनी जल्दा एक दमकल पानी लिएर किन गएन ? सिंहदरबार लगायत धेरै राष्ट्रिय र निजी सम्पत्ति प्रधानमन्त्रीको राजीनामापछि जलेका थिए । जेनजीले २ बजे नै हाम्रो आन्दोलन सकियो भन्दा भन्दै त्यसपछि देशभरि खुकुरी र भाला लिएर रातीसम्म ध्वंस गर्ने जत्था को थिए ? कसका आदेशमा आएका थिए ?
लाखौँ कार्यकर्ता भएका पार्टीको कार्यालयहरू जल्दा जोगाउने गरी किन कोही बाहिर आएनन् ? कतिपय ठाउँमा ५/७ जनाको समूहले मात्रै स्थानीय भवनहरू जलाएको भिडियो देखिन्छ । आफ्नै स्थानीय निकाय दनदनी जल्दा स्थानीय जनताले किन प्रतिवाद गरेनन् ? आफ्नै कार्यालय जल्दा प्रहरीहरू किन टुलुटुलु हेरेर बसे ? जेलबाट झोला प्याकिङ गरेर विदेशबाट फर्केजसरी सामान लिएर आनन्दले जेलको गेटबाट निस्किरहँदा सेना र पुलिस उनीहरूलाई किन हेरिरहे ?
केही नागरिक समाजका अगुवा र सेलिब्रिटीहरू अन्य शक्ति र संस्थासँग जोडिएका छन् भनेर सामाजिक सञ्जालमा आउँदा उनीहरू किन मौन छन् ? पानी धमिलिएको बेला खरानीमा होली खेल्न बाह्य शक्तिले आँखा उघारिरहेका त होइनन् ?
निष्कर्ष र आह्वान
देश जलेको दिन केवल भवनहरू मात्र जलेका थिएनन्; न्याय, शिक्षा, राजनीति, नैतिकता, मानवता सबै खरानी भए । बालबालिका ढले, आमा–बाबुका सपना ढले, अनि देशप्रेमी नागरिकको आत्मा चिरियो । राष्ट्रको सम्पदा र राष्ट्रिय सम्पत्ति स्वाहा भए । अब त्यो अवस्थामा पुग्न कति वर्ष लाग्छ, थाहा छैन । त्यसैले अबका दिनमा अझै मानवताको मूल्यलाई बचाउनुपर्छ । राजनीतिलाई विकृत नगरी शुद्धीकरण गरिनु पर्दछ । दलहरूले समयको माग अनुसार आफूलाई सच्याउनु र पुनर्संरचित हुनु पर्दछ । भ्रष्ट र देशप्रति गद्दारी गर्नेहरूलाई न्यायिक आयोगमार्फत कठघरामा ल्याई कडा सजाय दिनुपर्दछ । अन्तरिम सरकारले कुनै पनि निर्णय गर्दा निर्देशित नभई देश हितमा गरोस्, र तोकिएको समयमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरोस् । नत्र नेपालीको पहिचान गुम्न सक्छ । जुन बेला जस्तो बेला पनि भोटको राजनीति होइन, मानवतासहित राष्ट्रियताको जगेर्ना गर्नुपर्दछ । प्रत्येक नागरिकले समाजलाई विवेकको बाटो देखाउनुपर्छ । नत्र ती अबोध शहीदहरूको अपमान हुनेछ । अर्को “देश जलेको दिन” फर्केर आउन सक्छ । इतिहासले त्यस दिनलाई केवल सम्झर मात्र हुँदैन, इतिहासबाट पाठ पनि सिक्नुपर्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

