विसं २०८२ को मदन पुरस्कार प्राप्त ‘उरमाल’ पढ्नु भनेको एउटा कथा पढ्नु मात्र होइन । यो त एक पात्र, एक समुदाय र एक पुस्ताको पीडा, संघर्ष र मौन चित्कारलाई आफैँले महसूस गर्नु हो । लेखकले चिया टिप्नेहरूको जीवनलाई जति गहिरोसँग उतारेका छन्, त्यो केवल शब्दले मात्र सम्भव हुँदैन भन्ने अनुभूति हुन्छ ।

यस्तो लाग्छ उनीहरूको अनुभूतिलाई नै लेखकले कागजमा घोटेर कलमले लेखिदिएका छन्, आफै कमान पुगेर आफै चिया टिपेर । कथाको मूल केन्द्रमा बुधुवा, सोमारी, सकिला दिदी, दलबहादुर, एतमारी र नुरसाङ छन् । उनीहरू केवल पात्र मात्र होइनन्, त्यो समुदायको सामूहिक आत्मा हुन्, जसको ज्यानभन्दा पनि भारी चुनौतीहरू बिहानै बगानको घण्टीले उठाउँछ र साँझको थकानले सुताउँछ ।

हाजिरा लागेपछि मात्र पेट भरिने यथार्थ, नागरिकता नहुँदा देशकै छायाबाट टाढा बाँचिएको जीवन, गोरा र साहेबको आदेशमा झुकेर पसिना बगाउनु—यी सबै कुरा कथामा यति छर्लङ्ग आउँछन् कि पाठकको मनमा असहज चिसो सिरसिराहट उठ्छ ।

लेखकले प्रस्तुत गरेका चरित्रहरू कुनै बनावटी चित्र होइनन् । तिनलाई पढ्दा लाग्छ यी हाम्रो छेउमै छन्, केही दूरीमा बगानमा काम गरिरहेका छन्, तर हामी उनीहरूको आवाज सुन्न नसकिरहेका मात्रै हौँ । हातमा घडी बाँध्न नपाउने, वर्षा लाग्दा पनि छाता ओढ्न नपाउने, जुनसुकै रोग लागे पनि केवल कालो ट्याब्लेटले नै जीवन धान्नुपर्ने यथार्थ ! लेखकले चित्रण गरेका यी दृश्यहरूले मन कतै चिरिन पुग्छ, मुटु भत्किएर पहिरो झरेझैँ पीडा बग्छ । हजार दुःखको सगरमाथालाई एउटै डबका हँडियाले पखालेको यथार्थले त झन् आत्मालाई नै भारी बनाइदिन्छ ।

अभावको घेरोले वर्षौंभरि थुनिएको जीवन, मित्रता र आत्मीयता आफैँ भत्किने क्षणहरू, तर पनि सकिला दिदीजस्ता पात्रहरूले सधैँ साथ दिने मानवीय चमक—यी सबैले कथालाई अत्यन्त भावनात्मक उचाइमा पुर्‍याउँछन् ।

कथामा राजनीति पनि छ । तर त्यो राजनीति केवल चुनावको चटक मात्र हो । उनीहरूको सपना च्यात्ने हातहरूको कथा हो । चुनाव नजिकिँदा बगानसम्म आइपुग्ने दलहरूको रङ्गीन भाषण, निस्वार्थ सेवाको वाचा, तर चुनाव सकिँदा सबै चियापातजस्तै फालिने अवस्था ! यो यथार्थ पढ्दा घृणा र दुःख दुवै मनमा उक्लिन्छन् । राजनीतिप्रति घृणा नै जागेर आउँछ ।

बुधुवा जस्ता पात्रहरूले आदिवासी समुदायको मौन पीडा बोक्छन् । केही नहुँदा पनि ठूला मान्छेअगाडि बोल्ने आँट, आफ्नो अस्तित्वका लागि आवाज उठाउनुपर्ने विवशता, र दलबहादुरले सिकाउने प्रतिरोध—यी पात्रहरू कथाभित्र प्रशंसायोग्य रूपमा उभिएका छन् । यी कुराहरूले पाठक अन्तिम पानासम्म पनि शान्त बस्न दिँदैनन् ।

तर कथाको सबैभन्दा उज्यालो र पीडादायी पक्ष भनेकै सोमारीको सपना हो । छोरीले आफूजस्तै जीवन नबोकून् भनेर सन्तानको हातमा ‘डट पेन’ समाइदिएको भविष्यको मीठो कल्पना गर्ने सोमारीको त्यो अदृश्य तागत महसूस गरेर मन कतै भित्रभित्रै टुट्छ भने फेरि त्यही बलले जोडिन्छ पनि । शिक्षाको माध्यमबाट अभावको चक्र तोड्ने उसको अडान, दरिलो ढोका जस्तै उभिन्छ । यही कारण, यो कथा केवल व्यक्तिगत पीडाको बयान होइन, अर्को पुस्ताको सम्भावनाको उज्यालो प्रतीक बनेर उदाउँछ।

कथाको भाषा, संरचना र प्रवाह यति काव्यिक छ कि धेरै ठाउँमा गद्यभन्दा कविता पढेजस्तो अनुभूति हुन्छ । कथा बग्छ—कहिले शान्त, कहिले वेगवान्, कहिले उर्लिएर बग्ने नदीझैँ, तर कहिल्यै थामिन्न, कहिल्यै रोकिन्न । प्रत्येक घटना अर्को घटनासँग जीवन्त रूपमा गाँसिएको छ, जसले पाठकलाई निरन्तर कथाभित्रै बाँधिराख्छ ।

अन्त्य आएपछि पनि कथा केवल ‘सकिएको’ महसूस हुँदैन; बरु, कहानी मनमै बाँचिरहन्छ, कहिल्यै पूरा नभएको डायरीका बाँकी पानाहरूझैँ । सोमारीको सपना, उसको वेदना, र आशाको सानो ज्योतिले पाठकलाई लामो समयसम्म साथ दिइरहन्छ—कहानीभन्दा ठूलो, जीवनजस्तै गहिरो भएर !

समीक्षकले चिया टिप्नेहरूको जीवनलाई चियापातसँग तुलना गरेका छन् र त्यो तुलना तीतो त छ नै तर गहिरो यथार्थ बोकेको छ त्यसले । चिया ताजा हुँदा सबैलाई चाहिन्छ, मत्ता दिने सुगन्ध बन्छ; तर सुगन्ध निस्किएपछि चियापात फालिन्छ । यही नियति—चिया टिप्नेहरूको पनि रहेछ भन्ने अनुभूति पुस्तकले चर्कोसँग मनमा गाडिदिन्छ ।

त्यसैले त पुस्तक पढिसकेपछि मनमा एउटा अनौठो द्वन्द्व उब्जिन्छ – चिया पिऊँ कि नपिऊँ ?

यदि पिऊँ भने-चिया टिप्नेहरूको जीवन सम्झेर मन भारी हुन्छ । थकित हुन्छ ।

यदि नपिऊँ भने-चियाबाटै जीवन धान्ने हजारौँ परिवारहरूको दैनिकी कसरी चल्ला ?

यिनै प्रश्नहरूले पाठकको मुक्तकण्ठ अड्किन्छ—पुस्तक बन्द गरेपछि धेरै बेरसम्म मनभरि प्रतिध्वनित भएर ।

समग्रमा, उरमाल  एउटा तीतो सत्य हो । यसले ठूला–बडाले इच्छापूर्वक श्रमिकहरूलाई अन्धकारमा थुनिराखेको मौन यथार्थ उजागर गर्छ । पुस्तकले हृदय रसाइदिन्छ, विवेक झकझक्याउँछ, र अन्त्यमा एउटा गहिरो आग्रह छोडेर जान्छ—
मानवलाई केवल श्रमिकको रूपमा होइन, एक पूर्ण मानवीय अस्तित्वको रूपमा हेर्ने दृष्टि जगाउनै पर्छ ।

उरमाल  जीवित छ—कथा जीवित छ, पीडा जीवित छ; र त्यसलाई लेख्ने लेखक छुदेन काविमोको कलम त झन् अझ जीवित, अझ तिखो, अझ सचेत !

जय उरमाल, जय नेपाली साहित्य !

पेरिस ,फ्रान्स