बुद्धि सागरको एक्लो पढिरहँदा एक्लोलाई मात्र पढें। तुलना नगरी पढें, त्यसैले पुस्तक राम्रो लाग्यो । एक्लो पढ्नु अगि केही समीक्षाहरू पढिसकेको थिएँ । एक पाठकको हैसियतले मलाई पनि मेरो किताब अनुभव लेख्न मन लाग्यो ।
बुद्धि सागर चिरपरिचित लेखक भएका नाताले पाठकहरूले ठूलो आश गर्नु स्वभाविक नै हो । पुस्तक पढेर वरिष्ठ समालोचकहरूले राम्रो र नराम्रो पाटोहरू केलाएर समीक्षा लेख्नु लेखकलाई खबरदारी गर्नु हो । यो खबरदारी आवश्यक आशीर्वाद हो लेखकका लागि । तर आलोचनात्मक टिप्पणी गर्न आलोचक नै बन्नु पर्छ भन्ने चाहिँ छैन । सामाजिक सञ्जालमा एक्लोलाई पढ्नै नपर्ने कृति भनेर पनि लेखेको देखियो ।
लेखकको नै खेदो खन्ने प्रवृत्ति पनि देखियो । किताबलाई नै वाहियात भन्ने बुद्धिजीवी देख्दा नमज्जा पनि लाग्यो । कसैको लामो समय र मिहिनेत खर्चिएर जन्मिएको कृतिलाई प्याच्चसँगले ‘यो खतम छ’ भन्न कसरी सकेको होला सरस्वतीका पुजारीहरूले ? हो, नेपाली समाजमा पठन संस्कृति विकासोन्मुख चरणमा छ । निकै कम मान्छेहरू पुस्तक पढ्छन् अझ पुस्तक किनेर पढ्नेको संख्या निकै कम छ ।
बौद्धिक जगतमा पनि अझ किताब मागेर पढ्ने संस्कृति नामेट भैसकेको छैन । अझ खुलाएर भन्दा मुठ्ठीमा पैसा हुनेहरू किताब पढ्न त्यति रुचाउँदैनन् । अपवादलाई छोडेर भन्दा सीमित पैसा हुनेहरूले हो किताब किन्ने र पढ्न खोज्ने । त्यसैले धेरै मूल्यका किताब किन्नु पर्दा गाह्रो साह्रो त पक्कै हुने नै भयो ।
सरल र सरस भाषा बुद्धि सागरको बिशेषता हो । अझ यसको सुपथमूल्य भएको भए सुलभ त भइ नै हाल्थ्यो । एकजना वरिष्ठ साहित्यकारले लेख्नु भएको थियो -” कुनै कुनै प्रसङ्ग हटाएर पुस्तकको पृष्ठ कम गरेर मूल्य कम बनाएको भए राम्रो हुन्थ्यो ।” साँच्चै त्यसो गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो । जे होस् अर्को पटक लेखकले यो कुरालाई मनन गर्ने छन्।
मेरो हातमा पनि ४९४ पेजको फाइनप्रिन्टले फाइन गरेको एक्लो आयो । एक्लोको कभरले पहिला मेरो हृदय छोयो। भीडले भरिभराउ सहर कतै एक्लो त छैन ? टाँसिएका घरहरूको बिचमा मान्छे मान्छेसँगै टाढा छ तर प्रविधिको संसारमा सबैसँग नजिक छ। सम्बन्धहरू भोक लागेको बेलामा हेर्न सकिने मीठा मीठा परिकारको फोटो जस्तै हुँदैछ भनेर मन अमिलो भयो ।
यति मोटो किताब पढौं कि नपढौं दोधारमा परेँ समीक्षा पढेकै छु विषयवस्तु करिबकरिब बुझिहालेँ । अर्को मनले भन्यो “आ ! जेसुकै होस् पढेर घाटा त पक्कै हुँदैन । अनि गम्भीर भएर सोचेँ । काटिकुटी कर्णाली ब्लुज र फिरफिरे जस्तै फेरि किन चाहियो ‘एक्लो’। एक्लो पनि कर्णाली ब्लुज र फिरफिरे जस्तै भएको भए पनि मज्जा आउने त थिएन पक्कै । त्यसैले मैले एक्लोलाई मात्र पढेँ । कतै बुद्धि सागरलाई सम्झेर पढेँ कतै बिर्सिएर पढें तर आनन्दले पढें । किताबमा जे छ त्यसैमा रमाएर पढेँ । मेरो इच्छा, मेरो सोच र मेरो कल्पनाले एक्लो रचिएको होइन भन्दै पढेँ । किताबमा यो यो भएको भए हुन्थ्यो भन्ने धारणा नबनाई पढेँ त्यसैले शान्तिले पढें र सन्तुष्ट भएँ।
पढ्दै जाँदा सिरीको कथाले पनि पवन र बसन्तको कथाले झैँ तानिरह्यो । बुद्धि सागरले जताजता तान्छन् म खुरुखुरु पछि लाग्दै गएँ । कतै दिक्क लागेन । कर्णाली जस्तै सलल बगेको एक्लोको कथा र उपकथाहरूमा यथार्थलाई पढें । कल्पनाको दुनियाँमा समिरासँगको प्रसङ्गलाई नौलो मान्दै पढें। मैले अङ्ग्रेजी माने रट्ने पिरले कल्याणी धर्ती किने । अङ्ग्रेजी नजान्दाको पीडाले मलाई पनि नराम्रोसँग छोयो । तर सिरीको आँटलाई सलाम गर्न मन लाग्यो । क्याफेमा गुड अर्थको बाहिरको पान विदेशीले देखेर किताबको बारेमा केही सोध्लान् कि भन्ने हीनभावले ग्रसित सिरीको मनोदशा आफ्नै जस्तो लाग्यो । अनि सिरीको माया लागेर हुरुक्कै भएँ ।
एक्लो भएर पनि आफन्तको बिचमा सिरीलाई खोज्दै पढें । काठमाडौं सहरमा बाहिरबाट आउने मान्छेहरूका संघर्षका व्यथा पढेँ कथा पनि पढेँ । हृदयले बुझ्ने कोसिस गरेँ । एक्लो भएर पनि एक्लो नभएकाहरूको जीवन पढेँ । साथै भएर पनि एक्लो भएकाको कथा पढें।
काठमाडौंमा संघर्ष गर्न आएको सिरी कहाँ एक्लै आएको थियो र साथमा बाआमाको असीम माया, प्रेम र आर्थिक भरोसामा ऊ पूर्ण भएर आएको बुझेंँ। सुदूर गाउँबाट दु:ख गरेर बाको पसिनाले आर्जेको पैसामा सिरी पानी खाँदैन । ऊ गैरजिम्मेवार हुँदै बेपर्वाह भएर आनन्दले कोकको चिसो र गुलियो पानीले ओठ भिजाउँछ ।
सिरी भोलीको चिन्ता नगर्ने अलख निरञ्जन झैँ लाग्छ । भोली जे होला होला आज पैसा आछ टन्न खाने । घुम्ने, फिलिम हेर्ने । कलेजको क्यान्टिनमा चना र मालपुवा निर्धक्क भएर खाने सिरी एक्लो भने पक्कै होइन । सिरीको साथमा बाको टिटी छ । आमा र दाइको स्नेह छ । सिरीको टाउकोमा बाको हात छ । खोई कहाँ छ सिरी एक्लो ?
घरबेटी बासँग सूर्यबहादुरको जस्तै नक्कली साँचो माग्दा एक्लो सिरीलाई घरबेटी बा भन्छन् – ” विद्यार्थी मान्छे सधैँ ढिला गरेर पनि त हुँदैन । सधैं ढिला आउन थालिस् भने त, म तँलाई कोठा दिँदै दिन्नँ । पढ्न आको मान्छे पढेरै बस् । पढ्, जागिर खा, अनि आफ्नै घर बना ।”( पेज ८) गाउँमा बा छोडेर आएको सिरी घरबेटीमा बा पाउँछ । बा छुच्चै हुन्छन् तर टाढा भएपनि नजिक हुन्छन् ।
घरबाट पैसा आउँदा एकै दिन तीनवटासम्म फिल्म हेर्ने सिरीको अव्यावहारिक हाउडे पारा देखेर किताब पढ्दा पढ्दै झनक्क रिस पनि उठ्यो ।
एक्लो सिरीको वरिपरि प्रकाश, टोप, आदि, सूर्यबहादुर , घरबेटी बाआमा र रेडियो अत्यन्तै नजिक छन् । अझ कल्पनाको संसारमा सिरी समीरा र नीलको समीपमा रमाइलो वातावरणमा सम्मोहित हुँदै जान्छ । ऊ कल्पिन्छ समीरालाई । कल्पनामा पनि सिरी एक्लो छैन । समीराको प्रसङ्ग आउँदा म सोच्न वाध्य भएँ वास्तवमा मान्छेले कल्पना गर्न सकुन्जेल ऊ एक्लो नहुँदो रहेछ ।
आफ्नै मन भित्रका पात्रहरूसँग संवाद गर्न सकिने रहेछ । यदि मान्छेले कल्पना गर्न बिर्सियो भने ऊ एक्लो हुनेछ । म पनि कल्पनाका पात्रहरूसँग साँच्चै संवाद गर्छु त्यसैले म पनि एक्लै हुँदा पनि एक्लो हुन्न । आफैं भित्रको नौलो संसार बनाएर रमाउँदो रहेछ मान्छे । मान्छे एक्लो हुनै चाहँदैन ।
यदि साँच्चै मान्छे एक्लो भयो भने बाँच्नै सक्दैन । सपना, बिपना र कल्पनाहरूले मान्छेको साथ छोडेको दिन मात्र मान्छे एक्लो हुनेरहेछ ।
घरबेटी बाआमा छोरोले बिदेशी बुहारी ल्याएर चिन्तित छन् तरपनि सिरी, सूर्यबहादुर , आदीसँग जोडिएका छन् । छोरो फर्किने आशमा एक्लो भएर पनि आशा, भरोसा र सम्भावनासँग साथै छन् । घर खाली गरेर रंग लगाउन आतुर छन् ।
एक्लोको कथा त्यति मात्र हो र ? बाटो हिँड्दा सिरीलाई नियतिले नालीमा पैसाको बिटो दिएको छ। चोरले पनि दैलामा जुत्ता छोडेको छ । सिरीलाई कतै एक्लो देख्दिन। सडकमा पुग्दा पनि सिरी एक्लो भएन । उसलाई भीमसेनको साथ मिल्यो । संवाद नभए पनि सम्बन्ध निर्माण भयो । भीमसेन जस्तो मान्छे पनि एक्लो छैन । ऊसँग भोक छ । खाना खोज्ने लालसा छ । होस् नभएपनि जीवनको जीजिवीषा छ । भीमसेनसँग सिरीको भेट, मैतिदेवी मन्दिरको प्रसङ्ग पढ्दै गर्दा मेरो मन पनि एकोहोरो भएको थियो । जब एक्लो सिरी मन्दिरमा छट्पटी रहेको थियो घरबेटी बाले भेटेर घर लगेको प्रसङ्ग सिनेमा जस्तो भएपनि रमाइलो लाग्यो सिरीले साँच्चै निधारमा श्री नै लेखेर आएको रहेछ भन्ने भान भयो ।
आदिको दुर्घटना, सूर्यबहादुरको किच्कन्नीको यथार्थ, टोपको संघर्ष, वैवाहिक प्रसङ्ग र गृह त्याग । द्वन्दकालको अवस्थामा भौतिक पुर्वाधारहरूको तहसनहस । संचारमा पर्न गएको असुविधाजनक स्थिति । दरवार हत्याकान्डको प्रसङ्ग आदिले किताब पढ्दा समय गएको पत्तै हुँदैन । रमाइलो मान्दामान्दै किताब मै हराउन सकिन्छ ।
सिरीको लहड पन, सिरीको मेहनत, सिरीको हिम्मत, सिरीको कठोरता, ज्याद्रोपन र लगावले सिरी घट्टेकुलोको अँध्यारो कोठाबाट जब उज्यालो फ्याल्टमा सर्नेसम्मको कथाले काठमाडौंमा टिक्न सके के गर्न सकिँदैन भन्ने प्रश्न पनि छोडेको छ ।
अन्त्यमा एक्लो कयौं सिरीको व्यथा हो। काठमाडौंमा मात्र होइन गाउँबाट सहर पस्ने लाखौं सिरीको संघर्ष हो, सहरले दिएको सफलता पनि हो । सहरले दिएको दु:ख र पलायन पनि हो । सबै सहर पसेकाहरू सिरी हुन सक्दैनन् । सूर्यबहादुर पनि हुन्छन् । आदि, प्रकाश र टोप पनि हुन्छन् ।
सहरमा एक्लो हुनुको अर्थ रहेछ – “आफू हराउनु तर कसैले पनि नखोज्नु ।”
‘कोसिस गर्नेको घाम पश्चिम आकाशमा डुब्दैन, उदाउँछ ।’
सिरीको घाम साँच्चै पश्चिम आकाशमा उदाएरै छोड्यो डुबेन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला