यस नाटकलाई उत्तरआधुनिक नाटक भनेर किटान गर्न नसके तापनि यसमा आंशिक रूपमा उत्तरआधुनिक चेतना पाइन्छ।
नेपाली साहित्यमा मुक्ति उपाध्याय बराल एक विशिष्ट नाम हो । उनको जन्म २७ गते वि. सं. २००८ मा गौहाटीको शरणीयमा भएको हो। उनका मातापिताको नाम पद्मावती उपाध्याय बराल र टिकाराम उपाध्याय बराल हो । उनी एक बहुप्रतिभाशाली कलाकार सर्जक हुन् । उनी नाटककार, अभिनेता र समालोचक हुन् । उनी सिलगडीमा विज्ञान शिक्षक रही सेवानिवृत्त भएका छन् । उनी कलाक्षेत्रमा सदैव सक्रिय रहन्छन् । उनी एक सफल उपन्यासकार, निबन्धकार र कुशल समीक्षक हुन् । उनी तन मन वचनले कलाकार हुन् । सदा जोशिला, जाँगरिला व्यक्तिका धनीका साथै एक सफल साहित्यकार हुन् । उनी युवाहरूका प्रेरक हुन्।
नाटककारका रूपमा मुक्ति उपाध्याय बरालः
मुक्ति उपाध्याय बराल एक कुशल नाटककार हुन् । उनी सानैदेखि नै नाटक, सङ्गीत र कलाप्रति आकर्षित थिए । घरको परिवेश नै सङ्गीतमय थियो । विद्यालयतिर पनि सांस्कृतिक कार्यक्रमतिर सक्रिय रूपमा भाग लिने गर्थे । त्यसो हुँदा उनको यो प्रवृतिले विकास गरेर एक दक्ष नाटककार अभिनेता आदि बनेका हुन् । उनी नाटक लेखन, निर्देशन र अभिनय गर्न दक्ष छन् । उनी नाटककै एक अङ्गका रूपमा रहेको चलचित्रको पनि अभिनय र निर्देशन गर्दछन् ।
हालसम्म उनका प्रकाशित अप्रकाशित गरी उन्नाइसवटा जति नाटक मञ्चन वा प्रकाशन भएका छन् । उनका नाटकहरू हुन्- ‘मेरो भाइको भुँडी दुख्यो’ (१९८२), ‘अनन्त यात्रा’, ‘बुद्ध’, ‘आकाश फेरि उघ्रियो’ (१९८८), ‘पैसा अनि पैसा’, ‘बुलाकी’, ‘शीर्षकविनाको नाटक’, ‘ममता’ (१९९३), ‘विदाइ’ (रेडियो नाटक), ‘रहर’ (२०००), ‘कुन दिशातिर’ (२००७), ‘अन्तर्प्रेरणा’ (२००६), ‘दुई पागल’ (२००७), ‘मुनामदन’ (नाट्यरूप मञ्चन), ‘घर’ (२०१४), ‘गोर्खाको मोडेल’ (कथाको नाट्यरूप, २०१६), ‘हतारको बिहान’ (२०१६), ‘महिमा’ (२०१७), ‘शरद पूर्णिमाकी रम्य रमिता’ (२०२०)।
यीमध्ये केही नाटक लेखन मञ्चन मात्र रहेका छन्। यीमध्ये उनको कुन दिशातिर?’ ‘घर’, ‘अन्तर्प्रेरणा’, ‘गोर्खाको मोडेल’, ‘महिमा’ जस्ता नाटकहरूले उनको नाट्यशिल्पलाई झल्काएका छन् ।
अन्तर्प्रेरणा नाटकमा पनि केही मात्रामा उत्तरआधुनिकता पाइन्छ । यसमा शारीरिक असक्षम पात्रहरूको प्रयोग गरी उनीहरूको भावनालाई समेत अभिव्यक्त गरिएको छ। बैशाखीको भरमा खुट्टा चलाउने र नेत्रहीन पात्र-पात्राहरूलाई विषयवस्तु बनाइएको छ। शारीरिक विकलाङ्गता मान्छेका अदम्य इच्छा र प्रगतिको वाधक होइन भन्ने सन्देश दिइएको छ। यस्ता असक्षम पात्रहरूलाई पनि अन्य सबल सक्षम पात्रसरह बनाएका छन्। उनीहरूलाई पनि समाजको मूलधारामा ल्याउने काम गरेका छन् र समानताको भाव अभिव्यक्त गरेका छन्। उनको घर नाटकमा पनि घरको परिवेश संस्कार मानसिकता आदिलाई देखाइएको छ। हरिप्रसाद गोर्खा राईको गोर्खाको मोडेल कथालाई नाटकीकरण गरिएको छ। महिमामा पनि वर्तमान समयका समस्या, मानसिकता र चेतनालाई देखाइको छ। ममता नाटकमा भाडाकी आमा (सरोगेट मदर)को अवधारणालाई नाट्यरूपका रूपमा प्रस्तुत गरिएको छ। नाटकहरूमा स्वैरकल्पना, विज्ञानको चेतना, उत्तरआधुनिक चेतना आदिलाई आफ्ना नाटकमा प्रयोग गरेका छन्।
शरद पूर्णिमाकी रम्य रमिता नाटकको अध्ययनः
प्रस्तुत नाटक मुक्ति उपाध्याय बरालको आठौं प्रकाशित नाटक हो। यसलाई पूर्णाङ्की नाटक मान्न सकिन्छ । यसमा लगभग त्रिपन्न पृष्ठ रहेका छन् भने बाह्रवटा दृष्य रहेका छन् । यसमा अङ्कको उल्लेख पाइँदैन। प्रायःजसो दृश्यहरूमा छोटा छोटा रहेका छन्। पुस्तकको डा गोविन्दराज भट्टराईको विद्वत् भूमिकाले पुस्तकको गरिमा बढाएको छ। यही भूमिका अध्ययन गरे मात्र पनि पुस्तकको मूल प्रवृत्ति, सन्देश र कथ्यवस्तुबारे संक्षिप्तमा भए पनि जानकारी पाइन्छ। मुक्ति उपाध्याय बरालको शरद पूर्णिमाकी रम्य रमिता नाटकलाई वर्तमान समयमा हाम्रो युवा पुस्तक मान्न सकिन्छ।
मुक्ति उपाध्याय बरालको घर नाटकमा एउटा घरको परिदृष्य रहेको पाइन्छ। एउटा घरभित्र हुने उतार चढाउ र घटना उपघटना आदिलाई समग्रमा उतार्न खाेजिएको छ। यो एउटा पूर्णाङ्की नाटक हो। यसमा धेरै पात्र-पात्रा छन्। धेरै दृष्य छन्। यसमा नैतिकता, एकता आदिको सन्देश पाइन्छ ।
===
कथानकको पृष्ठभूमि:
प्रस्तुत नाटक शरद पूर्णिमाकी रम्य रमितामा एउटा कलेजका विद्यार्थीहरूका बीचको आपसी संवाद, गुरुले कक्षामा प्रभाव पार्ने गरी पढाएको, त्यसको प्रभावले पूर्वीय जीवन पद्धतिबारे मानसिक बदलिएको देखाइएको पाइन्छ। नाटकमा कालिदासको अभिज्ञान शकुन्तला र महाकवि लश्र्मीप्रसाद देवकोटाको महाकाव्य शाकुन्तला पढाउँदा त्यसबाट उब्जेका कुरालाई नाटकमा मूलविषयवस्तु बनाइको छ। प्रकाश र रमिताको प्रेममा पनि त्यही कथाको प्रभाव परेको पाइन्छ। यसलाई शाकुन्तल र दुष्यन्तको प्रेमलाई आधार लिएर यसका छायास्वरूप प्रेमकथा बुनिएको छ। यसमा पूर्ण सरको पाठ, नाटकभित्र नाटकमा दुष्यन्त र शकुन्तलाको प्रेमाभिनय तथा रमिता र प्रकाशका बीचमा पनि दुष्यन्त र शकुन्तलाकै प्रसङ्ग उठ्नुले यसको पुनर्लेखन गरिएको छ।
===
नाटकको संरचना:
प्रस्तुत नाटक लघुनाटकका रूपमा मान्न सकिन्छ। यसमा जम्मा चौवन पृष्ठभित्र बाह्र दृश्य रहेका छन्। मूल नाटक रहेको छ भने केही पृष्ठहरू भने भूमिका रहेका छन्। यसमा अङ्कको भने उल्लेख पाइन्न। यसमा नाटकको संरचनालाई यसरी हेर्न सकिन्छ- दृश्य एकमा पाँच पृष्ठ, दृश्य दुईमा आठ, दृश्य तीनमा दुई, दृश्य चारमा चार पृष्ठ, दृश्य पाँचमा पाच पृष्ठ, दृश्य छ मा तीन पृष्ठ, दृश्य सातमा छ पृष्छ, दृश्य आठमा तीन पृष्ठ, दृश्य नौमा पाँच, दृश्य दसमा चार पृष्ठ, एघारमा तीन पृष्ठ र दृश्य बाह्रमा चार पृष्ठ रहेका छन्। यसमा कथावस्तु चाँडो चाँडो अघि बढेको छ। जिस्काएको प्रसङ्गपछि नै रमिता र प्रकाशका बीचमा प्रेम हुर्किनु, रमितालाई टाउको दुख्ने बिमार लाग्नु, रमितालाई अपरेसन गर्नु आदि कार्य द्रुतगतिमा अघि बढेका छन्।
===
कथानक र वस्तुविधान:
यस नाटकलाई घटनाप्रधान नाटक मान्न सकिन्छ। नाटकका बाह्रवटा दृश्यभित्र एउटा कलेजको कोठाबाहिर र भित्र, रमिताको घर आदि दृश्य देखिएको छ। नाटकको दृश्य एक मा कलेजको परिसरमा एक हुल युकहरूले युवतीहरूलाई जिस्काएको, हिँडेको हेरेको देखाइएको छ। यसमा केही केटाहरूले त सुन्दरी केटीलाई च्वाँक मालसम्म भनेको पाइन्छ। यसमा युवकहरू युवतीहरूप्रति आकर्षित, आशक्त भएको देखाइको छ। यसमा केटाहरूले केटीहरू जिस्काउनलाई दुईवटा दृष्टिकोणले हेरिएको छ- पहिलो, असभ्य, पाखे, नारीप्रति कुत्सित मानसिकता भएको, काम नपाएका बेकार, चरित्रहीन, सुकुलगुण्डो तथा दोस्रोमा केटाले केटी जिस्काउनु भनेको विपरीत लिङ्गीप्रतिको आशक्ति र स्वाभाविक सामान्य कुरा हो। त्यसभित्र पनि रमिता भन्ने युवतीलाई केन्द्र गरेर उसको रूप र शारीरिक स्वरूपको प्रशंसा गरिएको छ। यसमा माल, च्वाँक, राल चुहाउनु, नजरको प्यास आदि जस्ता शब्द र शब्दावलीको प्रयोग पाइन्छ।
दोस्रो दृश्यमा कलेजको कोक्षा कोठामा नेपाली शिक्षक पूर्ण सरले महाकवि देवकोटाको शाकुन्तल महाकाव्यको महत्त्व र महिमा गरी पढाएका छन्। यसलाई बुझाउँदा कालिदासको अभिज्ञान शाकुन्तलको युरोपेली विद्वानहरूले प्रशंसा गरिएको उल्लेख पाइन्छ। अहिलेका विद्यार्थीहरूले शाकुन्तलजस्तो गरिमामय महाकाव्य पढेर छिचोल्दैनन्, बुझ्दैनन्। यसलाई अति कठिन, दुर्बोध्य, दुसाध्य मान्छन्। यद्यपि महेश, रमिता जस्ता सचेत विद्यार्थीहरूले शाकुन्तल महाकाव्यको बारेमा केही चर्चा गरेका छन्। यसभित्र सलिल ज्ञवालीले केही वर्ष अनसन्धान गरेर सङ्कलन गरेको विश्वका महान व्यक्तिहरूले भारतका बारेमा प्रशंसा गरेको कुरालाई ग्रेट माइन्ड अव इन्डिया भन्ने पुस्तकको उल्लेख गरिएको पाइन्छ। विद्यार्थीमध्ये रमिता भन्ने युवती भने शकुन्तलाजत्तिकै सुन्दरी रहेको कुरा पूर्ण सरले व्यक्ति गरेपछि रमितामा एक प्रकारको श्रेष्ठत्वको मनोभाव आएको संकेत पाइन्छ। रमिताले शाकुन्त महाकाव्यप्रति चासो र रूचि लिएको पाइन्छ। यसमा कुरा के छ भने यदि शिक्षक राम्रो पढाइदिए कुनै पनि विषय रोचक र रूचिपूर्ण बन्न सक्दछ भन्ने कुराको इङ्कित गरिएको पाइन्छ।
नाटकको तेस्रो दृश्यमा भने नाटकभित्र नाटकको अवधारणा पाइन्छ। पूर्ण सरले शाकुन्तला महाकाव्य पढाउँदा त्यसको प्रभावले कलेजमा उक्त महाकाव्यको नाटकीकरण गरेर अभिनय गरिएको छ। यसमा दुष्यन्त र शाकुन्तलाको भूमिकमा प्रकाश र रमिता रहेका छन् भने अन्त्यमा प्रियम्बदा, अनुसूया, चारूको भूमिकामा शीला, माला र नीलमहरूले अभिनय गरेका छन्। यसमा दुष्यन्त र शकुन्तलाको प्रेमानुभिनय गरेका छन्। यसमा काव्यत्मक संवाद र परेमको जीवन्त अभिनयले नाटक सफल भएको चर्चा पाइन्छ।
नाटकको दृश्य चारमा यस नाटकको अभिनयदेखि दुष्यन्त र शकुन्तलाको झैं प्रकाश र रमिताको साँच्चै प्रेमको अङ्कुरण हुन थालेको सङ्केत पाइन्छ। दुवै नाटक सकिएर पनि नाटकको परिधान नखोलेको र मनमा साँच्चै प्रेमानुभूतिलाई दर्शाइएको पाइन्छ।
दृश्य पाँचमा भने प्रकाश र रमिताको कुनै मनोरम स्थानमा पहिलो प्रेमको भेट भएको देखाइएको छ। प्रकाश पहिले रमितालाई च्वाँक माल भनेकामा रमिताले यसको उल्लेख गरेकी छ। यसमा दुइका प्रेमवार्ता रहेको पाइन्छ। दुईजना प्रेमको आवेश आएका बेला अचानक रमितालाई टाउको दुखेर मुर्छा परेको दृश्य देखाइएको छ।
नाटकको दृश्य छमा अस्पतालमा डाक्टरको कक्षमा प्रकाश सरिता जयन्त र डाक्टरका बीच रमिताको स्वस्थ्य बारे चर्चा भएको संवाद पाइन्छ। यसमा रमिताको रोग पत्तो लाउन उसको रोगबारे इतिहास खोतल्दै गर्दा जुका परेर मस्तिष्कमा दाग लागेर आघात गरेको पनि हुन सक्छ। डाक्टरले उक्त रोगको नाम न्युरो सिस्टिकोसिस भन्ने रहेको र यो जाति हुने खालको भन्ने सङ्केत गरिएको छ।
दृश्य सातमा रमिताको घरको बैठकमा प्रकाश सरिता, जयन्त, रमिता र लक्ष्मीको उपस्थिति पाइन्छ। यसमा प्रकाशले रमितालाई बिमार हुनेबित्तिकै अस्पताल लगेकामा रमिताका आमा-बाबु सरिता र जयन्तले प्रकाशप्रति कृतज्ञता प्रकट गर्दछन्। प्रकाश निस्केपछि उसको प्रशंसा गर्दछन् । यत्तिकैमा जयन्तकी दिदी लक्ष्मीको प्रवेश हुन्छ र उसले भाइ बुहारीले रमिताको बिमारी बोको कुरा लक्ष्मीलाई खबर नदिएकामा हकारपकार पारेको पाइन्छ। यसमा रमितालाई सोध्दै जाँदा बगैंचमा बिमार भेटको भन्ने जनाउँदा जङ्गलको लागो लागेको, वनदेवता रिसाएको भनेर चिन्ता गर्छे। यसमा अरूले प्रतिवाद गरे पनि हकार पकार गरेर त्यही भएको भनेर सिद्ध गर्न खोज्छे।
दृश्य आठमा भने रमिताको घरको बैठककोठामा दुईजना धामीले चिन्ता बसेको र रमितालाई केही खासे बिमार नभएर प्रेम रोग बैंस लागेको र आगामी मङ्सिरतिर बिहा गरिदिनुपर्ने भन्ने कुरा फलाकेको पाइन्छ। यसमा अहिलेको समयमा पनि केही मानिसमा रूढी, कुसंस्कृति अन्धविश्वास कायम रहेको कुरा देखाइएको छ।
नाटकको दृश्य नौमा रमिताको घरको बैठककोठामा रमिता र उसका बाबु आमाको संवाद पाइन्छ। यसमा आमा सरिताको असन्तुष्टि, आक्रोश, विक्षोभ व्यक्त गर्दछे। यसमा ऊभित्रको नारीत्त्वले आक्राेशित देखिन्छ। उसका विचारमा घरका अरू सदस्यले घरको काम गर्दैनन् र आफू मात्रै घरका समस्त काम गर्नुपर्ने कुरमा क्षोभ व्यक्त गर्छे। आफूलाई अरूका काम गरिदिने घरकी नोकर्नीसरह नै ठान्दछे। उक्त दिन रमिताको जन्मदिन रहेको र मन्दिर गएर जन्मदिन मनाएको कुराको सङ्केत पाइन्छ।
दृष्य दसमा कलेजको कक्षाकोठामा पूर्णसरले क्लास लिएको र त्यसमा अष्ट चिरञ्जिवीका बारेमा बुझाउने प्रयास गरिएको छ। यसमा हाम्रा पूर्वीय ग्रन्थहरू, जीवन दर्शन र पद्धतिको प्रशंसा र महिमा गाइएको छ। केक काटेर जन्मदिन मनाउनु पश्चिमाहरूको अन्धानुकरण मात्र हो बरू हाम्रा परम्पराअनुसार अक्षता लाएर जन्मदिन मनाउनु उचित हुप्छ भन्ने देखाइएको छ। अङ्क दसमा पनि रमितालाई टाउको दुखेर मुर्छा पर्छ र अरूले हस्पिटल लान्छन्।
दृश्य एघारमा पनि अस्पतालमा डाक्टरको कक्षमा सरिता, जयन्त र डाक्टरका बिच रमिताको बिमारबारे छलफल हुन्छ। डाक्टरले अपरेसन गर्नुपर्ने कुरा गर्छ र कागजमा सही गर्न लाएर अपरेसनका निम्ति मानसिक रूपमा तयार पारेको प्रसङ्ग पाइन्छ। डाक्टरले बिरामी रमिताको मनोबल बढाउन प्रयास गर्छ। नाटकको अन्तिम दृष्य बाह्रमा भने अपरेशन कोठाभित्र प्रकाश र रमिताको प्रेमवार्ता छ। यसमा रमिताले प्रकाशलाई एकपल्ट च्वाँक माल भन्न लाएर सन्तुष्टि लिएको र अपरेसन सफल हुनेछ तथा दुष्यन्त र शकुन्तलामाको कथामा दुर्वासा ऋषिको श्रापका कारण दुष्यन्तले शकुन्तालाई भुलिनेछैन भनी आशा व्यक्त गरिएको छ। नाटक यत्तिकैमा सकिन्छ ।
संक्षिप्तमा कलेजका विद्यार्थीहरूमा पाइने मानसिकता, अल्लारेपन तथा त्यहीबीचमा प्रेम-प्रीतिका कुरा, मूल नायिका रमिताको मष्तिष्कको बिमारका कारण चिन्ता परेको र अन्तमा अपरेसन गर्न भित्र लगिएको र बाँच्ने आशा लिएको मूल कथा पाइन्छ।
===
शरद पूर्णिमाकी रम्य रमिता नाटकको पात्रविधान:
यस नाटकमा पात्रहरूको सीमित सङ्ख्या राखिएको पाइन्छ। यसका पात्र-पात्राहरू विद्यार्थी, प्राध्यापक र घरका अभिभावक गरी तीन थरीका छन्। नाटको मूल पात्र-पात्रा कलेजका विद्यार्थी हुन्। दुईजना कलेजका प्राध्यापकहरू छन् अनि तीनचार जना घरका अभिभावक, डाक्टर प्रमुख रूपमा रहेका छन्। दुई धामीको पनि भूमिका पाइन्छ। यसका प्रमुख पात्र-पात्रा तथा नायक-नायिका प्रकाश र रमिता हुन्। अझ सबल नायिका रमिता हो र नाटकको मूल कथावस्तु उसकै वरिपरि रहेको पाइन्छ। प्रकाशको भूमिका पनि उल्लेखनीय पाइन्छ। सहायक पात्र पात्राहरूमा शरद, मोहन, शीला, माला, रञ्जना, पूर्णिमा, नीलम, नमिताहरू कलेजका विद्यार्थी पात्र-पात्रा हुन्। त्यसै गरी रमिताका आमाबाबु सरिता र जयन्त तथा फुपू लक्ष्मी, कलेजका प्राध्यापक पूर्ण सर, अस्पतालका डाक्टर हुन्। यसको गौण पात्र-पात्रा धामी, नर्स, कलेजको प्रिन्सिपल हुन्। पूर्ण सरले राम्ररी पाठ पढाएर नव चेतनाका युवक युवतीलाई सही मार्ग निर्देशन गरेका छन्। यसमा पात्रको चरित्र चित्रण पात्रहरूकै संवादको माध्यमबाट अभिव्यक्त भएको पाइन्छ।
===
शरद पूर्णिमाकी रम्य रमिता परिवेश विधान:
नाटकमा कलेजको कोठाभित्र र बाहिर, निर्जन उपवन, अस्पताल र डाक्टरको चेम्बर, रमिताको घरको बैठकलाई गरी जम्मा छवटा जति दृश्यहरूको विधान गरिएको छ। कलेज पढ्ने युवा पुस्ताका युवाहरूको मानसिकता, चिन्तनलाई अघि ल्याइएको छ। उनीहरूलाई असल शिक्षादान दिए अहिले पनि हाम्रो मौलिक परम्परा, संस्कृति र धर्मबारे चासो राख्ने, बुझ्ने गरेको पाइन्छ। यसमा कुनै कलेजमा युवक-युवतीहरूका बीच जिस्काउने, रूपको वर्णन, आसक्ति आदिको परिवेश पाइन्छ। कक्षाभित्र विशुद्ध साहित्यिक, पौराणिक परिवेशको सृष्टि गरिएको छ। अस्पतालमा, रमिताको घर आदितिर परिवेशको सिर्जना गरिएको पाइन्छ। धामीको चिन्ता बस्ताको बेग्लै परिवेश पाइन्छ। अझै पनि हाम्रो समाजमा अन्धविश्वासको तुष हटेको छैन भन्ने संकेत पाइन्छ। प्रकाश र रमिताको प्रेममय परिवेशको सिर्जना भएको पाइन्छ।
===
संवाद योजना:
प्रस्तुत नाटकको संवाद योजनालाई सचेततापूर्ण प्रयोग गरिएको छ। प्रायः छोटा छोटा संवाद प्रयोग गरिएको पाइन्छ। यद्यपि कक्षामा पूर्ण सरले पढाउँदा भने केही लामा लामा संवाद बोलेका छन्। छोटा छोटामा प्रभावपूर्ण संवाद पाइन्छ। अधिकांश एकै वाक्यका संवाद रहेका छन्।
भाषा प्रयोगमा सचेतता:
मुक्ति उपाध्याय बरालले यस नाटकको भाषालाई सरल स्वाभाविक रूपमा प्रयोग गरेका छन्। यसमा प्राय शिष्ट भाषाको प्रयोग गरिएको पाइन्छ। शिक्षकअनुकूल, युवाअनुकूल, मानसिकताअनुकूल भाषाको प्रयोग पाइन्छ। पूर्ण सरले शाकुन्तल र दुष्यन्तको प्रेमकथा पढाउँदा बडो शुद्ध साहित्यिक भाषाको प्रयोग पाइन्छ । यसमा मानक भाषाको प्रयोग, युवकहरूले बोल्ने अशिष्ट शब्द ल्याएता बोले तापनि स्वभाविक नै देखिन्छ ।
नाटकको प्रयोगशीलता:
मुक्ति उपाध्यायको शरद पूर्णिमाकी रम्य रमिता नाटकलाई आंशिक रूपमा प्रयोगशील नाटक मान्न सकिन्छ। यसको अङ्क तीनमा रहेको दृश्यमा नाटकभित्र नाटक पाइन्छ। यसमा दुष्यन्त र शकुन्तालाको अभिनय गरिएको छ। त्यस नाटकमा राम्रा अभिनय गरेवापत प्रकाश र रमितालाई साथीहरू र शिक्षकहरूले बधाई दिएर प्रशंसा गर्दछन्। दुष्यन्त र शकुन्तलाको प्रेमप्रसङ्ग अहिले पनि प्रासाङ्गिक र प्रभावोत्पादक छ। यसमा नारीवादी चेतना पनि आंशिक रूपमा पाइन्छ। यसमा नारीलाई च्वाँक माल भन्दा रमिताले तर्क राखेको, रमिताकी आमा सरिताले घरका सारा काम नारीले मात्रै गर्नुपर्दा उसभित्र विद्रोह चेतना सलबलाएको छ।
नाटकको मूल्याङ्कन र उपसंहार:
मुक्ति उपाध्याय बरालको शरद पूर्णिमाकी रम्य रमिता नाटकलाई सामान्य पाठकका निम्ति एउटा रोचक विषयवस्तु भएको नाटक हो। यसमा आंशिक रूपमा प्रयोगशीलता पनि पाइन्छ। दुष्यन्त र शकुन्तलाको प्रेम प्रसङ्गलाई नयाँ रूपमा देखाएका छन्। यस नाटकलाई उत्तरआधुनिक नाटक भनेर किटान गर्न नसके तापनि यसमा आंशिक रूपमा उत्तरआधुनिक चेतना पाइन्छ। यस नाटकलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिने ठाउँ छन्। पाठकका निम्ति यो नाटक रूचिकर ठहर्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।