
सैयौं तरबारको धारभन्दा धारिलो कलमबाट व्यङ्ग्य पोखिनु जाँदा त्यो आँधीको हुङ्कारभन्दा शक्तिशाली हुन्छ अनि त्यो हुङ्कारको सामु देश, समाज र व्यक्ति समूहको भित्री तहमा व्याप्त विसङ्गति, विकृति, मनमानिपन, कथनी र करनीमा रहेको फरक, शक्ति, आडम्बर, उच्छृङ्खलताको दानवीय मुटुमा पटक-पटक झटका पर्दछ । समाजमा व्याप्त रूढीवाद र पूरातनवादलाई सिर्कनो लाउँदै परपर पन्साउनमा मदत गर्दछ । हास्यव्यङ्ग्यमा यही शक्ति हुनाले नै आज सबै साहित्यमा यो विधालाई सत्कारपूर्वक एक महत्त्वपूर्ण विधाको रूपमा स्वीकार गरिएको छ ।
नेपाली साहित्यमा यस क्षेत्रलाई सम्पन्न बनाउनमा लागिपरेका प्रतिनिधि हास्य व्यङ्ग्यकारहरू सिल्वाल पण्डित, प्रेमराज शर्मा, वेदनिधि शर्मा, अर्घेलो कार्की (श्री के. बी. सिंह), भताभुङ्गे बाहुन (श्री पदमप्रसाद सुब्बा), बिना जनैको बाहुन, कृष्णप्रसाद चापागाईँ, भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, अच्छा राई ‘रसिक’, ऋषि, डा. त्रिलोक राई, हिराकुमार सिंह, प्रेम थापा, ऋषि, प्रेम थापा अनि त्यसपछिका मनबहादुर गुरुङ, सानुभाई शर्मा र रामलाल अधिकारी आदिका हास्य व्यङ्ग्य रचनाहरूले नै नेपाली साहित्यमा हास्यव्यङ्ग्य विधाको आधार बसेर आएको छ । चूडामणि खनाल, वासुदेव लुइँटेल, लक्ष्मण लोहनी, नीरविक्रम ‘प्यासी’, गोपालराज पन्त, घटोत्कच शर्मा, भीमप्रसाद लामिछाने आदिले यस विधामा पुऱ्याएका योगदानलाई पनि कदाचित भुल्नु हुँदैन ।
सत्य कुरा के हो भने- अन्य भाषाका साहित्यमा हास्यव्यङ्ग्य क्षेत्रमा जति काम भएका छन् त्यसको तुलना नेपाली साहित्यको हास्य-व्यङ्ग्य क्षेत्रमा भएका कामसित गर्न मिल्दैन । किनभने तुलनात्मक रूपमा नेपाली साहित्य यस विधामा धेरै पछि छ । नेपाली साहित्यमा अन्य विधाहरू भन्दा यो विधाको भण्डार सम्पन्न छैन । किनभने थोरै रचनाधर्मीहरूले मात्र यस क्षेत्रलाई माथि उठाउनुमा बल पुऱ्याउँदै आएका छन् । तथापि, नेपालबाट चाहिं माथि उल्लेखित हास्य-व्यङ्ग्यकारहरूका पथ अनुसरण गर्दै आजसम्ममा अरू नै पनि थुप्रै-थुप्रै प्रतिभाहरू यस क्षेत्रलाई दह्रिलो पार्ने दिशामा उत्साहका साथ अघि बढिरहेका छन्, जसले गर्दा समग्र रूपमा नेपाली साहित्यमा हास्य-व्यङ्ग्य क्षेत्रको भविष्य दरिद्रतादेखि माथि पक्कै पनि उठ्ने रहेछ भन्ने सम्भावनालाई नकार्न सकिँदैन । यसरी हास्य-व्यङ्ग्य क्षेत्रलाई माथि उठाउनमा हालका दिनहरूमा सक्रिय नामहरूमा म यहाँ मुख्य रूपले डा. सुमनराज ताम्रकार, नरेन्द्रराज पौडेल, लक्ष्मण गाम्नागे, नरनाथ लुइँटेल र पिँडालु पण्डित लगायत अन्य केही हास्य व्यङ्ग्यकारहरू र भारतीय नेपाली साहित्यमा यस दिशामा सचेष्ट केही स्रष्टाहरूका शिल्पबारे मन्थन गर्न लागेको छु ।
लक्ष्मण गाम्नागेलाई यो दिशामा भैरव अर्यालकै परम्परा लिएर अघि बढिरहेको देखिन्छ । सामाजिक विषमता, विसङ्गति र नचाहिँदा पक्षहरूलाई लक्ष्य गरी व्यङ्ग्यको झटारो हान्नमा उनी निक्कै सिपालु देखिन्छन् । यस दिशातर्फ उनको कलम कति दक्ष छ त्यसको नमुना हेर्नलाई उनको हास्य-व्यङ्ग्य निबन्ध ‘पैसा कमाउने काइदा’ को सानो अंश हेरौं-
“यदि तपाईंसँग नेता हुने विशेषता छैनन् भने कम्तीमा करोडपति त हुनैपर्छ भन्ने मान्यता छ र कुनै हुकुम प्रमाङ्गी प्राप्त गर्ने उपाय पनि छैन भने पढ्न त पढ्नै पर्छ । तर सानातिना पोस्टमा टोस्ट खाएर बस्न थाल्नुहुन्न । तपाईंले बोक्ने गरेको तेल र मन्त्रीज्यू, नेताज्यूको खुट्टाको मेल ठ्याक्कै मिल्यो भने जिएम, अध्यक्ष, महानिर्देशक इत्यादि तहमा बसेर लहलह हरिया नोट भित्र्याउने अवसर प्राप्त हुनेछ । त्यहाँ पुग्दैमा करोडपति भइहाल्ने होइन नि फेरि । त्यसका लागि सो पोस्टमा पुगेपछि तपाईंले पहिला आफ्नै एक्सरे गरिहेर्नु पर्छ । कतै आफूभित्र कुनै नैतिकता, सैतिकता, सिद्धान्त, लाज, शरम जस्ता कुनै पदार्थ बाँकी छन् कि । यदि केही रहेछन् भने ती सबै टकटक्याएर झिकेर ट्वाइलेटमा हाल्नुपर्छ । त्यसपछि सोही ट्वाइलेटको पानी आचमन गरी शुद्ध भई जताजता पैसाको बिटो छ त्यतै त्यतै मुख बाएर हिँड्नुपर्छ । करोडपति हुन कुनै बेर लाग्ने छैन ।”
लक्ष्मण गाम्नागेका उत्कृष्ट हास्यव्यङ्ग्य रचनाहरू हुन्- ‘घिचिकघिचिक बाँचेर शहरमा’ (व्यङ्ग्य कविता), ‘लाठीचार्ज’, ‘कत्ति धुनु गधाहरूलाई’, ‘तीन न तेह्र’ (व्यङ्ग्य कविता), ‘स्वाहा’, ‘पत्याउँदा पत्याउँदै’, (व्यङ्ग्य कविता), ‘छोपछाप’, ‘भोलादाइको दशैं, ‘बेकुफ अनुहारहरू’, ‘हाम्रो प्यारो बाल भरिया’, ‘एकचिट्ठी दशैं’, ‘काच संस्कृतिः नाच प्रधानमन्त्री’, ‘फरारहरूको प्रेस विज्ञप्ति’, ‘भूमिकाको भुमरी’, ‘उत्तरआधुनिक बबन्डर’, ‘सेलिब्रेटी हुनपऱ्यो’ र ‘कमरेड स्वास्थ्यको लागि हानिकारक’ इत्यादि ।
यसबाहेक हास्य व्यङ्ग्य क्षेत्रमा डा. खगेन्द्रप्रसाद लुइँटेलका रचनाहरू पनि उलेख्य मान्नुपर्छ । हाम्रै वरिपरिका चित्त नबुझ्दा विकृतिहरूलाई हास्य व्यङ्ग्यले चिमोट्ने काममा उनी निक्कै खप्पिस देखिन्छन् । उनका रचनाहरू ‘डायरीको पानाबाट’, ‘महागाईजात्रा’, ‘यसपालि म मन्त्री नहुने भएँ’ आदिले यही कुरा प्रमाणित गर्छ ।
डा. सुमन ताम्रकार अर्का अब्बल हास्य व्यङ्गकार हुन् । उनको ‘ब्रह्मनालबाट प्रत्यक्ष प्रसारण’, ‘लोसे पात्रो’, ‘आम्दानी महात्म्य’, जुत्ता’, ‘झाँसीका भँगेरा’, ‘ममः पुराण’ जस्ता रचनाहरू हास्य व्यङ्ग्यका उत्कृष्ट नमुनाहरू हुन् ।
गजबको हास्यव्यङ्ग्य सृजना गर्नसक्ने अर्का प्रतिभा नरेन्द्रराज पौडेलबाट पनि उत्कृष्ट हास्यव्यङ्ग्य रचनाहरूको योगदान पुग्दै आएको छ । उनका यस्ता रचनाहरूमा ‘अदना कविको सपना’, ‘यमयात्रा’, ‘बर्कतको हर्कत’, ‘लौरा थरी थरीका’, ‘चीबेको चुरीफुरी’ आदि उल्लेख्य हुन् ।
नरनाथ लुइँटेल अर्का सबल हास्य व्यङ्ग्यकार हुन् । उनका ‘जुवाडे, बजियाज्युले बजाउनुभयो’, ‘ढाँट्नु’, ‘मुख-महात्म्य’, ‘मान्छे बद्लिनु पर्छ’, ‘होलीका दुई गोली’ (व्यङ्ग्य कविता), ‘झोल अर्थात राष्ट्रिय पेय’, ‘बल्ड्याङ खानुको मजा’, ‘गणतन्त्रको पुतला’, ‘कमरेडको स्वाद प्रकरीकरण’ इत्यादि खुबै राम्रा हास्य व्यङ्ग्यात्मक रचनाहरू हुन् ।
पिँडालु पण्डित पनि हास्यव्यङ्ग्य क्षेत्रमा आफ्नो योगदान पुऱ्याउँदै आउने अर्का लोभलाग्दा प्रतिभा हुन् । उनको ‘निरन्तरताको क्रमभङ्ग’, ‘आलु पार्टी- २०६६’, ‘लाइन माने लाइन’, ‘खासखुस’, ‘जुँगा निर्मुल’, ‘कालो’ (व्यङ्ग्य कविता), ‘बाजेको सेकुवा’, ‘शिलाको लिला’, ‘अन्तरेहरूको अनौठो अभिमान’, ‘वनतन्त्र र गाईजात्राकी मेरी बुढ़ी’ (व्यङ्ग्य कविता) लाई खुबै राम्रा हास्यव्यङ्ग्य रचनाहरूको लहरमा राख्न सकिन्छ ।
आज यस क्षेत्रमा योगदान पुऱ्याउँदै आउने प्रतिभाहरूमा एम उज्ज्वल प्रतिभा बासु श्रेष्ठको नाउँको पनि यहाँ उल्लेख हुन आवश्यक छ । उनको हास्य व्यङ्ग्य रचनाहरू ‘झ्याउ’, ‘अर्थ न बर्थ गोविन्द गाई’, ‘संस्था बोक्ने कि चढ्ने?’ लगायत रचनाहरू पाठकहरूलाई आनन्द दिनमा सक्षम छन् ।
एक अर्का उम्दा हास्य-व्यङ्ग्यकारको नाम पनि यहाँ उल्लेख गर्न कर लाग्छ । उनी हुन् श्री प्रकाश प्रसाद उपाध्याय । लामो समयसम्म दिल्लीमा भारत सरकार अधिन अल इण्डिया रेडियोमा प्रसारणकर्मीको रूपमा कार्य गरेपछि अहिले सेवानिवृत समय लेखन कार्यमा समर्पित गरिरहेका श्री प्रकाश प्रसाद उपाध्यायले ‘छेउ न टुप्पो’ शीर्षकमा हालै पुस्तक आकारमा एक हास्यव्यङ्ग्य कोसेली (हास्यव्यङ्ग्य निबन्ध तथा कथा सङ्ग्रह) नेपाली साहित्यलाई चढाएका छन् । उनमा हास्य व्यङ्ग्यको सीप धेरै अघि नै पत्र पत्रिका आदिमा प्रकाशित रचनाहरूमा देखा परिसकेको हो । यो हिसाबले हेर्दा उनीबाट हास्यव्यङ्ग्य रचनाहरूका संग्रह पाठकहरूले धेरै अघि नै पाइसक्नु पर्ने हो । जे होस्, अहिले आएर उनले आफ्नो हास्य व्यङ्ग्यको रचनाहरूका संग्रह पुस्तकाकारमा पाठकहरूलाई चढाएर प्रशंसनीय कार्य गरेका छन् ।
समुचित रूपमा हेर्दा नेपाल तर्फबाट जे. बी. शेर्पा, धीरकुमार श्रेष्ठ, जोतारे धाईबा, डा. रामकुमार पाँडे, मोदनाथ अधिकारी, रमेशप्रसाद भट्टराई, काशिनाथ, राजेन्द्र थापा, चर्चित ढुङ्गेल, युः कार्की, शिखण्डी, मणिकरत्न शाक्य, जनकराज सापकोटा, खगेन्द्र सङ्ग्रौला, अनिल कोइराला, शेषराज भट्टराई, भरत बागलुङ्गे, चट्याङ मास्टर, सुकुम शर्मा, बासुदेव गुरागाई, मोहनराज शर्मा, केशव अधिकारी, राजेन थुलुङ, मुन पौडेल, बोधराज पन्त, आर. सी रिजाल, अमृता लम्साल, बद्री प्रसाद दाहाल, नेत्र दाहाल, सदानन्द अभागी, कृष्ण उफान, चुड़ामणि रेग्मी, विश्व विनोद, संप्रस पौडेल ‘दिवस’, कोमलप्रसाद पोखरेल, नन्दलाल आचार्य, भवानी बराल, परशुराम पराजुली ‘पराशर’ होम सुवेदी, रामजी बलामी, बिर्ख क्षेत्री ‘क्रान्ति’, श्रीधर श्रेष्ठ, मनोज गजुरेल, शेषराज भट्टराई, हरिप्रसाद सिलवाल, पीताम्बर बन्जाडे र डा० रामकुमार पाँडे आदिका नाम उत्कृष्ट हास्य-व्यङ्ग्य रचनाहरूले नेपाली साहित्यलाई समृद्ध पार्नमा समर्पित स्रष्टाहरूका रूपमा लिन सकिन्छ । यिनीहरूले यस क्षेत्रमा आ-आफ्ना उपस्थिति तड्कारो पारिरहेकाले हास्य-व्यङ्ग्य क्षेत्रलाई ठूलो योगदान पुग्दै गइरहेको छ ।
नेपाली साहित्यमा भारत तर्फबाट साहित्य क्षेत्रमा केही विद्वान र अध्ययनशील साहित्यकारहरूले त काव्य क्षेत्रको साथ-साथ साहित्यका सबै विधालाई उन्नत पार्ने काम गरी महत्त्वपूर्ण योगदान पुऱ्याउने काम गरेका छन् तर नयाँ पुस्ताका धेरैजना यस्ता पनि छन्, जसलाई कविता नै मात्र सहज लागेर कविताकै गुजुल्टो मात्र प्रकाशित गर्नतिर लागेको देखिन्छ । यसैले गर्दा यता हास्यव्यङ्ग्य क्षेत्र हिजआज निकै उपेक्षित क्षेत्र जस्तै भएको छ । भनेजस्तो केही काम भएको छैन ।
हिराकुमार सिंह, अच्छा राई ‘रसिक’ र प्रेम थापा जस्ता हास्य व्यङ्ग्यकारहरूका कलमबाट हुर्कंदै गएको यस क्षेत्रमा भनेजस्तो काम हुन सकेको देखिँदैन । कतिपय पत्र पत्रिकाहरू पनि हास्यव्यङ्ग्यको दोसल्ला ओढेर निस्केको देखियो तर ती पत्रिकाहरूमा हास्य र व्यङ्ग्य दुवै दायित्व निर्वहन गर्नसक्ने रचनाहरू शायदै देखा परे । कतै हास्य मात्र कतै व्यङ्ग्य मात्र हुँदा सफल हास्य-व्यङ्ग्यको अभाव नै खट्केको देखिन्छ । आजसम्म यस क्षेत्रमा थोरै प्रतिभाहरू मात्र डटेर आफ्नो कार्यमा लागिपरेको देखिन्छ ।
तुलनात्मक रूपमा हेर्दा यता भने हास्यव्यङ्ग्य क्षेत्र धेरै फराकिलो हुन सकेको देखिँदैन । मुट्ठीभर लेखकहरूले यस विधामा कलम चलाएका छन् । यसमा कतिपय दह्रिला हस्ताक्षरहरूबारे माथि नै उल्लेख गरिए । उनीहरूका पछि पछि यस क्षेत्रमा कलम चलाउनेहरूमा कृष्ण प्रधान, सुरेश राई, समीरण प्रियदर्शी, सि.के श्रेष्ठ, मोहन पुकार, मिङ लिवाङ, हीरा क्षेत्री, एल. बी. मुखिया, एल.डी राई मिक्खोले, थीरू प्रसाद शर्मा, जी.बी बल, उपमान बस्नेत, परसात राई अम्बटे, सुदर्शन अम्बटे, दीप प्रधान ‘गान्तोके’, रवि रसाईली ‘रोदन’, प्रदिप कणेल, अमित सुब्बा ‘विकल्प’ आदिको नाम लिन सक्छौं । उनीहरूका हास्य व्यङ्ग्य रचनाहरू समय समयमा पाठकहरूले पढ्न पाउँछन् । मञ्चन गरिने नाटकको क्षेत्रमा जीवन गुरुङ र सी.के. श्रेष्ठ विशिष्ट हास्य व्यङ्ग्य नाटक लेखकहरू हुन् । यहाँ उल्लेख गरिएका नामहरूमा श्री कृष्ण प्रधानलाई यसै विधामा निरन्तर केन्द्रित रहेर कलम चलाइरहेको देखिन्छ ।
सिलिगुढीबाट पहिले नै हास्यव्यङ्ग्य पत्रिका ‘कानेखुसी’को सम्पादन र प्रकाशन गरिसकेका हास्य व्यङ्ग्यकार श्री कृष्ण प्रधान भने यसै दिशामा निरन्तर लागेको देखिन्छ । उनका हास्यव्यङ्ग्य रचनाहरूका सूचीमा राख्नपर्ने कृतिहरू हुन् ‘खुट्टा तान्ने तिम्रा हातहरूलाई सलाम’ (लामो कविता) अनि हास्य व्यङ्ग्य निबन्धहरू ‘आइमाईको रिस’, ‘चारो’, ‘डरको हाउगुजी’ र ‘दार्जीलीङ कमेन्ट्री’ इत्यादि ।
आफ्नो परिवेशभित्र आँखा अघि परेका सबै कुराहरूमाथि सूक्ष्म दृष्टि राख्ने र ती सबै नचाहिँदा विषयहरूका प्रसङ्ग निकाल्दै हास्य व्यङ्ग्यको झटारोले मानिसहरूलाई ब्यूँझाउन खोज्ने सीपका धनी प्रधानले जता पुग्यो उतै विषयवस्तु भेट्छन् लेख्नलाई । जहाँ झटारो हान्नपर्छ, त्यहाँ झटारो हानेरै छोडेका छन् उनले । जाति र समाजभित्र चित्त नबुझेका कुराहरूलाई लिएर उनी लेख्छन् अनि मानिसहरूलाई एकातिर हास्यको नाममा रसिलो लप्सीको गेडा चुसाउँछन् भने अर्कोतिर व्यङ्ग्यले सिस्नुले जतिकै पोल्छन् । एक नमुना हेरौं-
“मधेशको मान्छे म । दार्जीलिङमा जाडो लाग्नु स्वाभाविकै हो । शरीर तातो पार्नलाई जर्दा पान खानैपर्छ मैले । पसलेले कागजमा बेह्रेर दिएको जर्दा पान मुखमा हालें । रमिता हेर्दै कागजमा भएको चुना चोर औंलीले मुखमा हालेको मात्र के थिएँ चुना टाँसिएको कागजमा दार्जीलिङ जिल्ला अस्पतालमा सम्बन्धित डाक्टरहरूका नामहरूको लम्बेतान सूची छापिएको भेट्टाएँ—डा. ए. ब्यानर्जी, डा. श्रीमती पी. सेन, डा. एस.सी. घोष, डा. ए मण्डल, डा. एस घोष, डा. डी मण्डल, डा. जी बाग, डा. ए. गुप्ता, डा. ए. रहमान, डी. जे. काण्ञिलाल, डा. डी सेन, डी. डी दास मात्र देखें । डा. एन के शर्मा र डा. आर शर्मा हाम्रै जातका हुन् कि अन्य जातका हुन्, ठिम्याउन गाह्रो पऱ्यो मलाई । डा. एम यल्मो, डा. श्रीमती टी पुडेन, डा. डी.टी भुटियाका नाम सूचीमा देखेर सामान्य सञ्चो लाग्यो । तर यत्रो विशाल दार्जीलिङमा हाम्रा दार्जीलिङकै आमाहरूले किन डाक्टरहरू जन्माउन सकेनन् भन्ने प्रश्नले मलाई गिजोल्नुसम्म गिजोलिरह्यो । हाम्रा दार्जीलिङे आमाहरूलाई शहीद हुनेखाल्का छोराहरू मात्रै जन्माउन रहर लागेका हुन् कि के हुन् कोनी । यसको सही उत्तर मैले आफैलाई दिन सकिनँ ।” (बन्दुक होइन, स्टेथोस्कोप’, दार्जीलिङ कमेण्ट्री)
भारतीय नेपाली साहित्यमा यस विधामा लेख्नेहरूको अनिकाल भए तापनि नेपाल तर्फबाट देखा पर्दै गएका हास्य-व्यङ्ग्य रचनाहरूका संख्यालाई हेर्दा- यस क्षेत्रको भविष्य अघिअघि सोचेसरह कमजोर रहला भन्न चाहिं सकिँदैन । यो एउटा राम्रो संकेत हो । तर कथा र उपन्यासको क्षेत्रमा हास्य-व्यङ्ग्यको प्रयोग हामीले नपाउनु र नारी प्रतिभाहरू यस दिशातर्फ अघि नबढ्नु हाम्रा कमजोर पक्षहरू हुन् ।
सन्दर्भ ग्रन्थः-
१. मौलो, गुमानसिहँ चामलिङ्ग
२. सम्मेलन कथा सङ्ग्रह
३. दियालो वाङमय विशेषाङ्क)
४. दियालो वर्ष-२०, हाँगो- ९६-९८)
५. ‘छेउ न टुप्पो’, प्रकाश प्रसाद उपाध्याय
६. नेपाली साहित्यमा हास्य व्यङ्ग्य: एक नालीबेली, भैरव अर्याल
७. भुसुक्कै (हास्य व्यङ्ग्य निबन्ध सङ्ग्रह), मुन पौडेल
८. दार्जीलिङ्ग कमेन्ट्री- कृष्ण प्रधान
दिल्ली



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

