
सामाजिक सञ्जालमा बग्रेल्ती उम्रिएका नेपाली कविहरू देख्दा लाग्छ – एक्काइसौं शताब्दी भनेको नेपाली भाषी कविहरूको शताब्दी हो । सङ्ख्यामा कम भएर के गर्नु र, तिनीहरूको फर्याकफुरुकले बताउँछ – साहित्यको विश्वबजार खर्लप्पै निल्ने वाला छन् । अमेरिकी कविहरूको पनि यसो चियोचर्चो सुन्न र देख्न सजिलो छ अमेरिका बस्ने यो (म) मनुवालाई ।
अङ्ग्रेजी कवि सामाजिक सञ्जालमा त्यति चम्कँदैनन् नेपाली कवि जस्तो । देखिन त देखिन्छन्, तर एउटादुइटा कविता हाल्छन् अनि दुई-चार लाइक पाउँछन्, कमेन्ट भने बिरलै हुन्छ । लाइक र कमेन्टमा उनीहरूको त्यति ध्यान पनि गएको देखिंदैन । कुरो नबुझेर हो कि वा बुझ्न नखोजेर हो यकीन गर्न गाह्रो छ यो मनुवालाई । तिनीहरूले हाम्राले जस्तो सामाजिक सञ्जालको उपयोगिता नजानेका हुन् भन्ने अवस्था पनि छैन, यो सञ्जालको जन्जाल नै उनीहरूकै देशबाट शुरू भएको हो ।
अमेरिकनको ठीक विपरीत नेपाली भाषी कवि सामाजिक सञ्जालमा यसरी उछालिएका छन् कि कुरा नगरौं । एउटाले कविता हाल्न पाएको हुँदैन लाइक र कमेन्टको ओइरो आउँछ । फेरि हाम्रा साहित्यकारहरू मेरो पोस्टमा लाइक र कमेन्ट गरिनस् भने तँलाई मेरो साथी बन्न दिन्न भनेर धम्की दिन्छन् अनि लाइक ठोक्न बाध्य पार्छन् । जसरी भएनि लाइक कमाउन लागिपरेका छन् । त्यसैले होला हाम्रामा हिजोको जिरो कवि भोलि हिरो भएर निस्कन्छ । कति त सामाजिक सञ्जालमा लेखेरै भाइरल भएका छन् ।
भाइरल कवि यस्ता छन् जसले कविताको परिभाषा पढेर, पढाएर, र सिद्धान्त सिकाएर तालु खुइलिएका डा. देखि प्रा. डा. सम्मलाई अक्क न बक्क बनाइदिएका छन् । भाइरल कविजीका कवितालाई कविता नभनूँ दुनियाँले मानेका छन्, स्वीकार गरूँ आफूले जानिआएको जडसूत्रवादका कुनै सिद्धान्तले उनका कविताको छेउटुप्पो छोए त मरिजाऊँ । कविताको कर्मकाण्डीय मान्यतालाई भत्काइदिने भाइरल कविहरू हुन् या भजन मण्डली कविहरू वा कान्त बिजोक कविहरू हुन् सामाजिक सञ्जालमा छाएका छन्, साहित्यकारको पदवी पाएका छन्, आफ्ना कविताकै गीत गाएका छन्, आफ्नो अनुहार देखाएका छन्, सस्ता ताली र स्याबासी पाएका छन्, खादा र माला लाएका छन्, कहिल्यै काम नआउने कदर पत्र पाएका छन्, बधाईका इमोजीको माला लाएका छन् ।
सामाजिक सञ्जालमा उम्रिएका कविताहरूको त कुरै नगरौँ, लेखन या चोरन, पोस्ट्याउन पाएको छैन, कविता आहा ! र किप इट अप हुन्छन् । सुन्दर र उत्कृष्ट त कति हो कति । फेसबूके कविलाई एकदमै राम्रा भन्नुपर्छ, वरिष्ठ भन्नुपर्छ । उहाँहरूलाई प्रशंसा मात्र मन पर्ने भएकोले खुलेर प्रथम दर्जाको भन्नुपर्छ । नभए फेरि आफू ब्लकमा परिने डर छ ।
सञ्जालमा विभिन्न खाले कविहरू भेटिन्छन् । चराचर जगतमा जति प्राणी छन् त्यति नै फेसबूकमा नेपाली कविहरू छन् भनी पोस्ट्यायो भने हामीलाई अपमान गर्यो भनेर मुद्दा लगाउलान् भन्ने डर । कवि भिन्न छन् र कविता भिन्न छन् भन्ने नठान्नु होला, चाहे कुकुरको बारेमा कविता लेखून् या कराईको बारेमा नेपाली नेतालाई गाली गरेको एक लाइन नघुसाई कविताले पूर्णता पाउँदैन । एउटा बाङ्गो हान्नेहरूको समूहले गरेको सर्वेक्षण अनुसार ९० प्रतिशत कविताको विषयवस्तु एउटै छ । यो मनुवाले एक पटक आफूलाई कालजयी मान्ने कविलाई सोध्यो, “कवि ज्यू किन सबैजसो नेपाली कविका कवितामा नेपाली लाजनीतिको मात्र कुरा आएको । अरू लेख्ने विषय नै सकिए ?”
कविजीले लामा सेता जुँगा मुसार्दै भन्नुभो, ‘क्या नाम, अहिले सबै थोक नेपाली नेताले बिगारेका छन् । अब कविले नबनाए कसले बनाउने ।”
म मनुवालाई प्वाक्क सोध्न मन थियो, “ती नेता चैं कसले बनाएको नि, आकाशबाट झरेका हुन् ?” तर मेरो प्रश्न मुखबाट फुत्कनु अघि नै कविजी कुलेलम ठोकिसक्नु भएछ । फेरि ठूलाठूला मान्छेलाई आफ्नो कुरा भन्ने चाहिँ फुर्सद हुने, तर अर्काको कुरा सुन्ने चाहिँ समय नै नहुने । मैले मेरो कुरा भन्न नै पाइनँ । र तपाईंहरूलाई सुनाउँदै छु ।
आफूले पनि कनीकुथी कविता कोर्ने भएको हुनाले जीवनमा धेरै कविको सङ्गत गरियो । कहिलेकाहीं त कविसँगको सङ्गत खाऊँ भने दिन भरिको शिकार नखाऊँ भने कान्छा बाको अनुहार भने जस्तै हुने भन्या । आफ्नो रचना कस्तो भयो भनेर जान्न मन लाग्छ । कुनै कविलाई सुनायो उम्दा छ, राम्रो छ, बबाल छ मात्र भन्छन् । अनि आफूले उनको कविता सुनेर त्यसो आन्द्राभुँडी निस्किने गरी प्रतिक्रिया दियो भने ‘मेरो यस्तो दमदार कवितालाई तिमी त्यसो भन्ने, फलाना कविले यसलाई सशक्तको स्ट्याम्प लगाइसकेका छन्,‘ भनी भाँडिने । ‘प्रतिक्रियाको लागि धन्यवाद’ पाउन त कुनै अवसरै छैन ।
किताब नै किताबको माला लाएका कवि र कहिलेकहिलेका कविसँगको लामो सङ्गतले मलाई एउटा ब्रह्म ज्ञान दियो । एकै खालका कविता लेख्ने वा आफ्नै खालका कविता लेख्ने विविध कविको दलभित्र खासमा तीन खालका कवि रहेछन् । ती हुन् : च्याउ कवि, खाउ कवि र माउ कवि !
पहिलो वर्गका कविमा पर्छन् : ‘च्याउ कवि’ – सामाजिक सञ्जालमा च्याउ सरी उम्रिएका कविहरू । यिनलाई झ्याउ कवि भने पनि हुन्छ । यिनीहरू चोर कवि पनि हुन सक्छन् वा हरिबिजोक कवि पनि हुन सक्छन् । यिनीहरूले फेसबूकमा कविता हालेको भन्दैनन्, प्रकाशित भएको भन्छन् । उनीहरूलाई लाग्छ जुकेन वर्गको ज्युरी बोर्डले उनको कवितालाई उत्कृष्ट ठानेर फेसबूकमा ससम्मान फ्यास्स स्थान दिएको हो । उनीहरू कविता पोस्ट्याए पछि लाइक र कमेन्ट गनेर बस्ने गर्छन् । अनि सधैं लाइक नठोक्ने र कहिल्यै नचिनेको, नभेटेको फेसबूके साथीप्रति लक्षित गर्दै ‘लाइक र कमेन्ट नगर्नेलाई ब्लक गरिन्छ’ भन्दै कुर्लिन्छन् । आफूले बासेको कसैले सुनेको छ-छैन, यिनलाई मतलब हुँदैन । आत्मरतिको रोगले ग्रस्त यी च्याउ कवि अरूले कविता लेखेको देखेर कविता लेख्न तम्सेका हुन् । यिनको अध्ययन गर्ने पुस्तकालय भन्नुस् कि काव्य साधना गर्ने कक्ष भन्नुस् फेसबूक नै हो । यिनीहरूको जन्म फेसबूकमै भएको हो र अवसान पनि फेसबूकमै हुन्छ, तर आफू मर्छु या मेरा कविता मर्दैछन् भन्ने कहिल्यै लाग्दैन यिनीहरूलाई । च्याउ कविले स्वघोषित अमरत्व पाएका हुन्छन् ।
अर्को थरिका कवि हुन् : ‘खाउ कवि’ । यिनीहरूले कविता लेखेको वा साहित्यमा लागेको खानको लागि हो । यिनका लागि साहित्य भनेको मुर्गा उत्पादन गर्ने उद्योग हो । यस्ता कवि कुनै पत्रिकाका सम्पादक वा सञ्चालक हुन सक्छन् । फेरि कतिपय कवि साहित्यको नाममा संस्था खोलेका, त्यसबाट पुरस्कार बाँडेका वा पुरस्कार बाँड्ने ठाउँ आफूले ओगटेका हुन सक्छन् । यिनीहरू कुनै पनि साहित्यिक संस्थाका स्थायी अध्यक्ष हुन् ।
कसैकसैका लागि साहित्य कमाइखाने साइड पसल हो भने कसैकसैका लागि साहुजीलाई झुक्याएर सामान चोर्न सकिने पसल हो । अपारदर्शी चन्दा सङ्कलन गरेर साहित्यको बजारमा रवाफ देखाउने यिनीहरूको मुख्य रणनीति हो । यिनीहरूलाई आफू पारदर्शी हुनुपर्दैन अरू मात्र भए पुग्छ । चिप्ला कुरा गरेर, सस्तो प्रशंसाले मान्छेको मन भरेर आफ्नो जीविका चलाउनु यिनीहरू कर्म हो । इमानी मान्छेको इमानदारिताको र मजबूरीको फाइदा उठाउनु यिनीहरूको धर्म हो ।
“ यिनीहरूले जति पनि पुस्तक लेख्न सक्छन्, आफ्नै लगानीमा दर्जनौं पुस्तक छापेका, पुस्तककै सिरानी, पुस्तककै सिरक र पुस्तककै डसनामा सुतेका दम्भ देखाएर नेतागिरी गर्न माहिर हुन्छन् ।“ आफ्नो बाहेक अरू सबै नराम्रो देख्न बानी पारिएका पार्टीका कार्यकर्ता जस्ता हुन्छन् । यिनीहरू साहित्य र कला क्षेत्रका भाइरल भाइरसहरू हुन् । आफ्नो स्वार्थ पूरा भएपछि अरू केही कसैको मतलब हुँदैन, अमरत्वको कुनै महत्त्व हुँदैन । यिनीहरूको सिद्धान्तअनुसार भानुभक्तको कवितामा कुवा खनाउने घाँसी भनेको एउटा दुःखी र मूर्ख प्राणी हो ।
तेस्रो दर्जाका कविहरू हुन् ‘माउ कवि’ । यिनीहरू कहिल्यै नसुक्ने खोलाको मुहान जस्तै हुन् । जस्तै आँधी हुरी आए पनि यिनीहरू साहित्यको सागरतर्फ बगिरहेका हुन्छन् । यिनलाई न कहीँ पुग्ने हतार छ न कसैलाई देखाउनै पर्ने बेचैनी । यिनीहरू जम्नसिद्ध सर्जक हुन् । यिनीहरूको एउटै धेय हुन्छ – साधना, यसबाहेक अरू कसैको मतलब हुँदैन । माउ कविहरू आफ्नो रमाइलोका लागि लेख्छन् । यिनीहरूमा आग्रह हुँदैन । सिर्जना गर्नु भनेको बच्चा जन्माउनु जस्तै हो भनी ठान्छन् र माउ कविहरू सबैका आदर्श हुन् । सिदा बाटो हिँड्ने र तिकडम गर्न नजान्ने हुनाले कहिलेकाहीं यिनीहरू च्याउ कविहरू र खाउ कविहरूका शिकार हुन सक्छन् । यिनीहरूको संख्या सयमा दश प्रतिशत होला तर प्रभाव भने हजार प्रतिशत हुन्छ । समाजमा चिर स्थायी हुन्छ । सबै च्याउ कवि र खाउ कविले पनि यिनीहरूलाई आफ्नो आदर्श मानेका हुन्छन् तर भित्र भित्र आरिस गर्छन् । माउ कविहरू आफू बढ्छन् र अरूलाई पनि बढ्न मद्दत गर्छन् । खाउ कवि र च्याउ कवि आफूलाई केन्द्रमा राखेर साहित्यको कुरा गरेका हुन्छन् भने माउ कविले सिर्जनालाई केन्द्रमा राखेका हुन्छन् । यिनीहरू मर्न जन्मिएका हुँदैनन् ।
माउ कविहरू ‘लाटो पहाड’मा ‘जारी’ तिर्दै हुन्छन् । यिनीहरू मुगलानतिर भासिएका हुन्छन् वा राई माइलाको गाउँमा डुल्दै हुन्छन् । यिनीहरू पागल बस्तीका करोडौं कस्तुरी हुन् । यिनीहरू इजोरिया हुन् । यिनीहरू मान्छेलाई खाइराइडको रोमाञ्चक राइडमा चढाएर मानवताको पाठ सिकाइरहेका हुन्छन् । यिनीहरूलाई कुनै अग्निले पनि जलाउन सक्दैन ।
माउ कविलाई थाहा हुन्छ सिर्जना भनेको बल गरेर हुने कुरा होइन । यो साधना, समर्पण, र प्रेरणा हो ।
सबै कवि माउ कवि हुन सक्दैनन् र हुनुपर्छ भन्ने छैन । काम चलाउ कवि मात्र भए पनि पुग्छ । साहित्यले दिनुपर्ने सबैभन्दा ठूलो कुरा आनन्द हो । त्यो आनन्द पाउन लेखक नै हुनुपर्छ भन्ने छैन । तर खाउ कवि र च्याउ कवि भएरै चाहिँ कसैले मर्न नपरोस् । कविहरूलाई शुभकामना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

