माफ गर्नुहोला, रुद्रघण्टी भन्ने कुरो मेरो मात्र होइन, तपाईंहरूको पनि हराएको हुनसक्छ । जे पर्ला–पर्ला एकपटक सबैले छामिहाल्नोस् । म सानो हुँदा बाबाले भन्नुहुन्थ्यो हेर केटा महिलाहरूको रुद्रघण्टी हुँदैन । त्यसैले कुनै पनि कुरा तेरा दिदी, बहिनीहरूलाई नसुनाएस् ।

कुरा त त्यतिबेला के बुझ्नु र ? जे होस् हस् भन्दै टाउको चाहिँ हल्लाए । बाल मस्तिष्कमा परेको छाप किन मेटिन्थ्यो र झन् प्रगाढ बन्दै गयो ।

कक्षा नौ मा पढ्दा स्वास्थ्य शिक्षा पढाउने सरले मानिसको शरीर दुई सय छ वटा हड्डीको टुक्रा मिलेर बनेको हुन्छ भनेर सिकाउनु भयो । सरले भनेको कुरा मेरो मनमा भने दुई सय छ वटा हड्डी हुने भनेको पुरुषको शरीरमा हो, महिलाको शरीरमा त जम्मा दुई सय पाँच वटा हुन्छ भन्ने अनुमान लगाए । त्यही भएर त होला हरेक कामकुरामा हामी पुरुषहरू नै निकै ठूला हुन पाउने ।

बच्चा देखि नै एउटा सीमा भन्दा बढी मात्न पाइने मलाई मात्र होइन, समस्त पुरुषहरूलाई त्यही एउटा बढी रुद्रघण्टीको हड्डी भएर बनाएको हुनुपर्छ । नत्रभने सबै काम दिदीबहिनीहरूले गर्दा म आफूलाई ठालु बनाउन कहाँ पाउँथेँ होला र ? एउटा हड्डीको कमालको बखान कति गर्नु ?

महिलाहरू हाँसे भने उत्ताउली, नाचे भने उरन्ठेउली, चर्को बोले पोथी बासी, नबोलीकन बसे घोसेमुन्टे, सुस्तरी बोले घुसघुसे, सफा र चिरिच्याट्ट परे नक्कली, फोहोरी भए अल्छी, अधम…रामराम कति जानेका हौँ हामीहरूले ।

म एउटा नारीवादी पुरुषले त यति धेरै भन्छु भने अन्य पुरुषवादी पुरुषहरूले के– के भन्न सक्नुहोला कुन्नि ? जे–जे भन्दा पनि चुपचाप सहेर बस्ने महिलाहरू यही रुद्रघण्टी नभएर होला भन्ने ठहर मेरो बाल मस्तिष्कमा परेको छाप अहिलेसम्म जहर बनेर बसेको छ ।

वृद्ध–वयस्क बाबाले बाह्र बहिनी दिदीहरू जन्माएर जन्मिएको म एक्लो कान्छो छोरोले बहुदल भन्ने कुरो सात वर्षको हुँदा एस.एल.सी. को फलामे गेट प्रथम श्रेणीमा जम्प गरेको बहादुर भएर के गर्नु ? डाक्टर, मास्टर, इन्जिनियर पढ्ने भन्दा पनि महिलाहरूकै रुद्रघण्टी खोज्ने विषयमा उच्च शिक्षाको अध्ययन शुरु गरेँ । आफ्नै बाबाले आफ्नै घरमा लगाएको रुद्रघण्टीको बेलिबिस्तारको हाँगाबिँगा थपिँदै गयो । घर नै रुद्रघण्टीको, थर नै रुद्रघण्टीको, समाज रुद्रघण्टीको, दायाँबायाँ वातावरण सबै रुद्रघण्टीको, नीति, नियम, सिद्धान्त सबै रुद्रघण्टीको, देश रुद्रघण्टीको, विदेश रुद्रघण्टीको । सारा संसार नै रुद्रघण्टीले चल्ने भएपछि यी रुद्रघण्टी नभएका महिलाहरूलाई जन्म किन दिएछन् कुन्नि ? कुनै इच्छुक मित्रहरूलाई यसको बारेमा शोधपत्र तयार गर्नुहुन अनुरोध गरियो है त ।

रुद्रघण्टी हुनेको महिमा र नहुनेको महामहिमा यस्सो बेलिबिस्तार गरिन्छ अब । रुद्रघण्टी हुनेले दारु खाए पनि ठिक, भारु खाए पनि ठिक, डलर खाए पनि ठिक, इमानदारिता र नैतिकता सबै चपाए पनि ठिक, बलात्कार गरे पनि ठिक, चोर, डाँका, फटाहा भए पनि ठिक, दुई-चार वटाका श्रीमती भिरे पनि ठिक, चौबिसै घण्टा जँड्याहा र जुवाडे भएर फिरे पनि ठिक, आफ्नो सम्पत्ति, छोराछोरी, श्रीमती सबै बेचे पनि ठिक, मारे पनि ठिक, एउटा अन्डर वयर र स्यान्डो भेष्ट लगाएर वा नलगाई नाङ्गै हिँडे पनि ठिक । किन कि उसको रुद्रघण्टी छ । उसको रक्षाकवच भनेको नै रुद्रघण्टी हो । उसलाई मन लागेको कर्म–कुकर्म सबै गर्नलाई छुट छ ।

कति छ्यापछ्याप्ती छन् बरै रुद्रघण्टीको बारेमा पढाउने कलेजहरू । घरमा त्यही पढें, समाजमा त्यही पढेँ, हुँदाहुँदा कता नि तालुमा आलु फलेको बेला विदेशमा गएको त्यहाँ पनि त्यही पढेँ भने पछि तपाईंहरूले रुद्रघण्टीको चुरो कुरो बुझ्नु भो नि है ।

मान्नै पर्छ क्या हाम्रो रुद्रघण्टी हुनेहरूको पावरलाई । नराम्रा काम गरी–गरी समाजमा ठालु हुन पाइन्छ । कसैले छोपेर बाँध्न नसक्ने भालु हुन पाइन्छ । न त दाउराको चुलो बालियो न त आजभोलिका आधुनिक ग्याँस, इन्डक्सनकै चुला बाल्न जानिएको छ । तैपनि आमाले आफूले नखाई हामीलाई पहिला ख्वाउँछिन्, दिदीबहिनीले आफूले नखाई कन हामीलाई ख्वाउँछन् । श्रीमतीले आफू व्रत बसेरै भए पनि हामीलाई नै ख्याउँछन् । हामी रुद्रघण्टी हुनेले ख्याउनुपर्ने भनेको त गल् फ्रेण्डहरूलाई मात्र त हो नि । त्यै पनि आफैले बनाएको होइन । साहुनीको पसलमा गएर आनन्द सँग ।

कति मज्जा हो बाबै हामीलाई । एकछिन यसो रोमान्स गर्दा छोराछोरी बसिहाल्छन् । उनीले भाउन्न ठक्कर र नखाउन्न घुस्सा खाँदै नौ महिनासम्म पेटमा राखेर बच्चा जन्माउँछिन् । अनि तिनै कसका छोराछोरी भन्दा सबैले बाबुको नाम भन्छन् । आमाको नाम कसैले भन्दैनन् ।

आजभोलि त अझ महिलाहरूको आत्मनिर्भर बन्ने क्रम बढिरहेको छ । यसको फाइदा पनि सबै हामी रुद्रघण्टी हुनेहरूले नै उठाइरहेका छौँ । कुरा के भने नि पहिला पहिला त बरु घरको काम केही नगरे तापनि बाहिर काम गरेर कमाएको सबै पैसो घरकालाई दिइन्थ्यो । त्यसैले बालबच्चाको लालनपालन, घरखर्च टार्न बाध्य भइन्थ्यो । आजभोलि त त्यो झ्याउ पनि सबै हट्न थालिसक्यो । उनैले कमाउँछिन्, उनैले बालबच्चा पाउँछिन्, उनैले हुर्काउँछिन्, उनैले पढाउँछिन् कति हाइसन्चो हो हामीलाई ।

हामी रुद्रघण्टी हुनेले कमाएको त धेरै हिस्सा अरूका जहान समाउन, रमाउन र घुमाउन खर्च गतर्यो । बाँकी रहेकोले आफ्ना जहान र परिवारलाई घुमाएपछि अरूका जहान पनि खुशी, अनि आफ्ना जहान पनि खुशी । त्यसैले अहिले सरकारले जागिरको मामिलामा महिलाहरूलाई आरक्षण भन्ने कुरो पैँतालिस प्रतिशत मात्र होइन नब्बे प्रतिशत नै दिए पनि हामी रुद्रघण्टी हुनेहरूको केही गुनासो नभएको कुरा उजुरी पेटिकामा खसालियो ।

आधुनिक समयको सबै कुराको काइदा र फाइदा झन् बढी रुद्रघण्टी हुनेहरूलाई नै भएको छ भन्ने कुरो सबैले नबुझ्दा उसलाई नै घाटा हुनसक्छ । पहिलाको जमानामा रुद्रघण्टी नभएका पधेर्नीहरूले गर्ने गफगाफ आजभोलि रुद्रघण्टी भएकाहरूले दिनको दुई पटक बिहान चिया पसलमा, अनि साँझ दारु पसलमा गर्न थालेका छन् ।

अरूका कुरा काट्नेले आफ्नो कुरा काट्न किन डराउनु ? मेरै अनुभव सुन्नुहुन्छ भने –“ बिहान चिया पसलमा चिया खाँदा मेरी श्रीमतीको हातै मिठो छ, बातै मिठो छ, कामधन्दाको त झन् कुरै नगरौँ । मलाई सबै भन्दा राम्री आफ्नै श्रीमती लाग्छ । उनलाई बाहेक अरूलाई यसो छड्के नजर लगाउन पनि डर लाग्छ । मेरी श्रीमतीलाई ब्युटीपार्लर के हो थाहा छैन तर पनि उनी निकै राम्री छन् । घाटीदेखि पाइतालासम्म ढाक्ने पहिरन लगाऊ भन्छु । केही नभनी खुरुखुरु मान्छिन् । घर परिवारको केही टेन्सन छैन सबै उनीले नै धान्छिन् ।”

अनि साँझ जब दारु पसलमा छिरेर साथीहरूसँग चियर्स गर्छु अनि भन्न थाल्छु, “फल्नाको श्रीमतीको जीउडाल यस्तो छ गोप्य अङ्गहरू त काटेकुटे  मेरै श्रीमतीको जस्तो छ । मलाई त आफ्नी श्रीमतीभन्दा अरूका श्रीमती नै राम्रा लाग्छन् । फल्नीले चट्ट ब्युटीपार्लर गएर कति सिँगारिन जानेकी हो । आफ्नी त यो मामिलामा गोबर गणेश नै छ क्या । फल्नाकी छोरी राम्री भएर के गर्नु सानोतिनो पसलमा छिर्नै मान्दिन । यसो एकाध घण्टा गफ गर्दा समेत उसलाई आठ–दश वटा हात्ती खुवाउनुपर्छ । फल्नीकी श्रीमती मसँग मात्रै नजिक भएकी होला भनेको त ऊसँग पनि मसँग भन्दा झन् नजिक रहिछ । ऊ के ऊ कस्तो नाम नै बिर्सिएछु, त्यो त निकै ब्वाइफाले छ है, एउटा सँग सँगै हिँडेको कुरा अर्कोसँग भनिहाल्छे । धर्मोधर्म यो दारु भन्ने कुरो खाएपछि भित्री गोप्य कुरा पनि केही ढाँट्न मन लाग्दैन । अँ साँच्ची तिमीले कतिवटा अरूका जहान समायौ मलाई थाहा भएन, तर मैले भने बीस वटा पनि पुगेको छैन है । दारु खाएको बेलामा बोलेको कुरा हो बाबै भोलि फेरि मेरी घरकीलाई पोल लगाउने होइन नि ।”

एक दिनको कुरा हो । म अलि सिरियस भएर घरमा बसेँ । बिहान चिया पसलमा पनि गइन, अनि साँझ दारु पसलमा पनि । एक तमासले मेरी श्रीमतीलाई हेरिरहेँ । बिहानदेखि राती सुत्ने बेलासम्म उसलाई एक मिनेट पनि फुर्सद छैन । कार्यालयको काम, घरको काम, पारिवारिक माया ममता, सामाजिक जिम्मेवारी आदिले कचक्क किचिएकी छन् । उमेरमै उनको अनुहारमा मुजा पर्न थालेको छ । नढाँटी भन्दा अरूका श्रीमती धेरैको अनुहार हेर्न बानी परेको मैले आफ्नै श्रीमतीको अनुहार राम्ररी हेर्न भ्याएको रहेनछु । न त उनलाई आफ्नो शृङ्गार गर्ने फुर्सद छ न त अरूका कुरा काट्ने ।

एकाएक भावुक भएँ म । एकतमासले हेरिरहँदा उनको अनुहार भन्दा तल घाँटीमा रुद्रघण्टी भएको देखेँ । झन् आश्चर्यमा परेँ । अनि मैले आफ्नै रुद्रघण्टी छामें । अहँ कहीँकतै नामनिसाना नै पाइनँ आफ्नो रुद्रघण्टीको । मेरो रुद्रघण्टी हराएर मेरी श्रीमतीको घाँटीमा सरेजस्तै सबैको रुद्रघण्टी सबैका श्रीमतीमा सर्यो भने के होला ? अहिलेका रुद्र घण्टी नहुनेले गर्ने कामकुराहरू सबै रुद्रघण्टी हुनेले गर्न पर्दा यो संसार कस्तो होला ? रुद्रघण्टी हुनेहरूको शारीरिक र मानसिक अवस्था कस्तो होला ? सोच्दासोच्दै मलाई भाउन्न होला जस्तो भयो । मेरो त रुद्रघण्टी हराइसक्यो कृपया सक्नुहुन्छ भने तपाईंहरूले नहराउँदा सबै पुरुष जातिको कल्याण नै हुन्छ है । बेलैमा भन्देको छु । कसैले सुनिन भन्न पाउनुहुने छैन ।