
प्राकृतिक रूपमा पनि सुन्दर नगरी पोखरा साहित्यको क्षेत्रमा नियाल्दा विशेष गरेर मुक्तकको महासागर जस्तो लाग्छ । एक सय एक मुक्तककारका मुक्तकहरू पोखराले निरन्तर जन्माइरहेको छ । त्यही एक सय एक भित्रको एक मुक्तकसङ्ग्रह हो भन्ने लाग्छ मलाई । जन्मथलो लम्जुङ भए पनि पोखरालाई कर्मथलो बनाइरहेका मुक्तककार ईश्वरमणि अधिकारीकृत कृति ‘सम्बोधिका’ ।
यहाँ म मुक्तकको उत्पत्ति, इतिहास, सिद्धान्त वा संरचना कतैतिर पनि नछोई सोझै ‘सम्बोधिका’भित्र सङ्ग्रहित मुक्तकहरूलाई पालैपालो सुमसुम्याउने अनि रसास्वादन गर्ने जमर्को गदैछु । आफूले आस्वादन गरेका रसलाई यहाँहरू समक्ष भावानुभूति अभिव्यक्त गर्ने समेत रहर गरेकी छु । पोखरेली युथ सांस्कृतिक परिवार पोखराले प्रकाशन गरेर पेज टर्नर प्रा.ली.ले वितरकको भूमिका निर्वाह गरेको १ सय २१ पृष्ठमा रहेको यस कृतिभित्र जम्मा १ सय १० वटा मुक्तक सङ्ग्रहित छन् । साहित्यले विचार प्रवाह गर्छ र भूमिका निर्वाह गर्दछ । अधिकारीका प्रत्येक मुक्तकले केही न केही विचार प्रवाह गरेका छन् ।

सम्बोधिका
शक्तिका पुजारीहरूले शक्तिकै पूजा आराधना गर्दछन् । शक्तिबाट ओझेल परेपछि यी सबै आफैँ ओझेल पर्छन् । त्यसैले मान्छेको सच्चा पहिचान भनेको चाहिँ नितान्त ऊ एउटा मानवहृदय भएको व्यक्ति हुँदाको मात्र हो । अरू सबै स्वार्थी तडकभडक हुन् भन्दै अधिकारी लेख्छन्:
पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ
चर्चा, प्रतिष्ठा, पुरस्कार र मङ्गलगान हुन्छ
जिन्दगीबाट यी सब घटाउनुस् महोदय
अब जति बच्छ, त्यही नै पहिचान हुन्छ ।
उनका प्राय सबै मुक्तकहरूले सकारात्मक सोच राख्न आग्रह गरेका छन् । सके सबैलाई राम्रो गरौँ, नसके बदनाम हुने काम गर्दै नगरौँ भन्ने भाव अधिकारीका मुक्तकले व्यक्त गरेका छन् । सुन्दर मन भएको मान्छेले संसार सुन्दर देख्छ र त्यस्तो मान्छे सदैव जवान भइराख्छ भन्ने भाव उनको मुक्तकमा यसरी व्यक्त भएको छ ;
मान्छे सोच र चिन्तनले महान् देखिन्छ
हीरा जति पारदर्शी उति मूल्यवान् देखिन्छ
उमेर भन्नु अङ्कबाहेक केही होइन आखिर
मन सुन्दर हुने मान्छे सधैँ जवान देखिन्छ ।
सम्बोधिकाभित्र रहेका मुक्तकहरूमा शासक फेरिए तर शासन नफेरिएको र सहिदको सपना तुहेको कुरा छ, समय सबैभन्दा बलवान हुने प्रसङ्ग छ, प्रकृतिको सुन्दर वर्णन छ, कुरा एउटा काम अर्कै गर्नेहरूको भीडको प्रसङ्ग उप्काइएको छ । मुक्तकहरू पढ्दै जाँदा कतै ससम्मान प्रेममा समर्पण भाव छ भने कतै प्रेममा घातका प्रसङ्ग पनि कोट्याइएको छ । राजनीतिलाई कमाइखाने, लुट्ने प्रवृत्तिको खरो विरोध गरिएका मुक्तकहरू पनि यस कृतिभित्र समेटिएका छन् । आफूले पसिना बगाएर कमाएको सम्मानित कमाइमा निर्भीक बाँच्न नखोजेर स्वासप्रश्वासमा समेत अर्काको भर पर्ने परजीवी मानसिकताहरूलाई कुनै मुक्तकले दह्रो प्रहार गरेका छन् । आफ्नो दृष्टि प्रयोग नगरेर अर्काकै इशारामा चल्ने हाम्रा नेताहरू कहिले फुटेको फेरि कहिले जुटेको नाटक मञ्चन गरिरहेको देख्दा कवि हृदय दुखेको भाव पनि यहाँ व्यक्त भएको छ ।
कानुन त सबैका लागि एउटै हुनुपर्थ्यो । न्यायालयले समान न्याय वितरण गर्नुपर्थ्यो तर विडम्बना, हाम्रो देशमा न्यायालय नै खरिद बिक्रीको तराजुमा झुण्डिए पछि यहाँ घटनाको अनुसन्धान भए झैँ नाटक हुन्छ र पिडक पुजिन्छ, पीडित दण्डित हुन्छ भन्दै अधिकारी लेख्छन्:
कंस नै कृष्णको अभिनय गर्छ
स्वार्थको पासोमा इमान मर्छ
हुन त हुन्छ अनुसन्धान पनि
दोषी छुट्छ, निर्दोष पक्राउ पर्छ ।
यहाँ देशमा भएको आफ्नो पुर्ख्यौली सम्पत्ति सबै बेचेर या ऋण काढेर, पैसा खुवाएर या सोर्स लाएर जसरी भए पनि विदेश जानै पर्छ भन्ने मनसायले देश छोडेर विदेश जान्छ मान्छे । त्यही मान्छे विदेश पुगेपछि आमाको माया, माटोको माया, देशभक्तिको कुरा, राष्ट्रप्रेमका कुरा बयान गर्न थाल्छ । यस्ता प्रवृत्तिका विरुद्ध मीठो व्यङ्ग्य प्रहार भएको छ यहाँ ;
बाटो काटेर जान्छ्यौ, बाटोको कुरा गर्छ्यौ
आमा बिर्सेर जान्छ्यौ, माटोको कुरा गर्छ्यौ
कुरा गर्न त कोही कसैले तिमीसित सिकोस्
घाउ बल्झाई जान्छ्यौ, खाटोको कुरा गर्छ्यौ ।
हामी बाँचेको युग भनेको झोलुङ्गे पुल जस्तै लाग्छ मलाई । वारिपारिको मेल गराइदिने मध्यस्थकर्ता । न त हामी आमा पुस्ताजस्तै बस्न सक्यौँ, न त छोरी पुस्ता जस्तै बन्न सक्यौँ । जिन्दगी मेसिनजस्तै हतारमा चलिरहेको छ । साँच्चै मेसिन हौँ कि मान्छे हौँ हामी भन्ने हाम्रो पुस्ताको युग बोल्ने एउटा सशक्त अनि यथार्थपरक मुक्तक अहिलेको तितो यथार्थ यसरी ओकलिएको छ यहाँः
जिन्दगी सुस्त चल्दैछ, म जहिले नि हतारमा छु
मन गाउँमा छ, सन्तान परदेश, म बजारमा छु
दुख्दिन त भन्छु र पनि दुखिरहन्छु, बेलाबेला
न गाउँ फर्किन सक्छु, न परदेश, म झधारमा छु
सम्बोधिकाभित्र धेरै विषय उठान भएका मुक्तकहरू छन् । यहाँ सन्तानलाई टन्न खुवाएपछि सन्तोषले नै अघाउने आमाको कथा टिपिएको छ । प्रेमको ऊर्जाको बयान छ । निदाएकालाई ब्युँझाउन सजिलो तर निदाएको नाटक गर्नेलाई ब्युँझाउन अत्यन्तै कठिन रहेको कुरा पनि कुनै मुक्तकमा विषय बनेको छ । गाउँका मुखिया र सहरका बैंक उस्तै देख्छन् कवि अधिकारी र विद्वानहरू नै झोले हुँदा पीडा सहन गर्नै गाह्रो हुने प्रसङ्ग पनि उप्काउँछन् । पहुँचमा पुगेपछि आफ्नो साथी र साथीले लगाएको गुन समेत बिर्सने स्वार्थी मान्छे हुन्छ यस समाजमा भन्ने भाव पनि कुनै मुक्तकमा पोखिएको छ ।
मान्छे घर, परिवार अनि समाजमा भौतिक सम्पत्तिले होइन मान्छेको मन र सोचले धनी र गरिब हुन्छ भन्ने अधिकारीको आफ्नै मान्यता रहेको कुरा उनका मुक्तक पढ्दै जाँदा थाहा हुन्छ । सहरको मोहले गर्दा गाउँ उजाड हुँदै गएको र गाउँसँगै गाउँका अर्ग्यानिक वस्तुहरू सबै मासिँदै गएको कुराले पनि कविहृदय छियाछिया हुन्छ र त्यो भाव समेत यहाँ मुक्तकमा पढ्न पाइन्छ ।
कविले हृदयको प्रसङ्गलाई आफ्नो मुक्तकमा यसरी बेजोड उतारेका छन्;
हृदय जब टुक्रिन्छ, त्यो कि ढुङ्गा बन्छ कि कपास बन्छ
अहँ तिमीले भने झैँ न त्यो बादल बन्छ न बतास बन्छ
तिमी त हरदम स्वतन्त्र छ्यौ, निर्बन्ध छ्यौ सम्बोधिका
ईश्वर भन्नु त मूर्ति न हो, न उदास बन्छ, न हतास बन्छ ।
हाम्रो देशमा जनआन्दोलनका नाममा हजारौँ मान्छेले ज्यान गुमाए, लाखौँ अङ्गभङ्ग भए, सयौँको सिउँदो उजाडियो, उसै गरी काख रित्तियो, टुहुरा बन्ने सङ्ख्या कति हो कति । गणतन्त्र प्राप्ति, देश सम्वृद्धिका नाममा भएका हुन् यी सबै । तर विडम्बना यहाँ द्वैध चरित्र बोकेर बाँच्नेहरूको भीड छ र त्यो भीडको नाटक देखेर मुक्तककार यसरी शालीन शाब्दिक झटारो प्रहार गर्दछन्,
आन्दोलनका नाममा सडक झर्न नपरोस्
आतङ्कमा बाँच्न वा बसाइँ सर्न नपरोस्
गन बिसाएर गनतन्त्रवादीहरू भन्दैछन्
अनाहकमा कोही कसैले मर्न नपरोस् ।
यसरी हेर्दा नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक, हाइकु, आख्यान जस्ता विधामा निरन्तर लेखिरहने अधिकारी सक्रिय समालोचक पनि हुन् । विभिन्न सङ्घसंस्थाको कार्यकारी पदमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै प्राध्यापन पेसा पनि सम्हाल्दै, विभिन्न सभा, सम्मेलनमा सहभागी हुने, एफ.एम. हरूमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने उनै डा. ईश्वरमणि अधिकारीको हातले समाएको कलमले राष्ट्रप्रेम, माटोको माया, प्रेम, धोका, प्रकृतिप्रेम, राजनीति, विकृति, विसङ्गति जस्ता साथै धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि जस्ता विषयलाई समातेर बेजोड उतारेका छन् ।
गहन विचार प्रवाहले सकारात्मक एवम् सशक्त सन्देश प्रवाहित भएका छन् । यो सुन्दर पोखरा नगरी जस्तै मीठो अनि रसिलो कृति प्रकाशनका लागि लेखकलाई हार्दिक बधाइका शब्दगुच्छा समर्पण गर्दछु र अझै सशक्त कृति जन्मिरहने प्रसव व्यथा लागिरहोस् भनेर शुभकामना पनि व्यक्त गर्दछु । जय साहित्य ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

