वर्तमान समयका चर्चित कवि अमृतको पहिलो कविता कृति ‘एकान्त भीड’ केही समय अघि सार्वजनिक भएको छ । देश, समाज, भावना, प्रेमजस्ता विषयलाई चार खण्डमा बाँडेर कविता कोरिएका प्रस्तुत कृतिभित्र लामा छोटा गरेर जम्मा ७९ जटा कविताहरू सङ्गृहीत छन् । कृतिको सुरुवातीका कविताहरूले नै देशलाई सम्बोधन गरेका छन् । प्रकृतिले संसारकै सुन्दर देश दियो हामीलाई तर मुर्कुटाजस्ता शासकहरूले यही स्वर्गजस्तो देशलाई ध्वस्त बनाए, नर्कजस्तो बनाए भनेर कवि चिन्ता व्यक्त गर्दछन् । कुर्सीको वरिपरि घुमेर अगरबत्ती आदेश दिन मात्र जान्ने शासकका कारण हामी जनता सदैव दाश भइरहनुपरेको कविले दुखेसो पोखेका छन् । जनताको पीडा बुझ्न नसक्दा यहाँ नेता राजनेता होइन क्रुर शासक भएको कुरा अमृतका कवितांशले सङ्केत गर्छन् ।

शासकलाई भोकको द्वन्द्व कस्तो हुन्छ थाहा छैन

न पैतालाको फोको फुटेको दुःखै थाहा छ

न त बालबच्चाको क्रन्दनको अभुभव नै छ (पृ. ११)

               कृतिभित्र देश टुक्रिएको पीडा छ अनि देशसँगै माटो र मन दुवै टुक्रिने हुँदा टुक्रिने क्रमले विकास होइन विनास मात्र हुने सङ्केत गरिएको छ । कुनै कविताले देशको अस्तित्वका कुरा उठाएका छन् । देश नै नरहे आफ्नो पहिचान कहाँ होला र भन्ने प्रसङ्ग कविले यसरी उप्काएका छन् ।

देशै नरहे म कुन खण्डमा बाँचूँ

देशै भत्किए म यी पैताला कहाँ टेकूँ

पहिरोमा टेकेर म देशको मुहार हेरिरहेछु (पृ. १४)

यो देशलाई देश बनाउन हामी नेपालीले धेरै दुःख गरेका थियौँ । नाङ्गा पैताला रगताम्य दौडाएर, नाङ्गा खुकुरीहरू उध्याएर, भोको पेटमा पटुकी बाँधेर भए पनि बहादुर पाखुराहरू बजारेर, पसिनाले भिजेका आङहरू सुकाएर सिमाना रुँगेका, यसरी आफैँलाई पटक पटक मारेर बँचाएको यो देश आज किन अस्तित्व रक्षार्थ गुहार माग्दै रोइरहेको छ ? भनेर कवि चिन्ता व्यक्त गर्दन् । लाखौँ नेपाली युवाहरू अवसरको खोजीमा देश छोड्दै गर्दा हृदय कसरी भक्कानिन्छ ? चराजस्तै उडेर पर पुगेर चारो खोज्दै बचेराको भोक भेटाइदिन, बाआमा सुत्ने घरको चुहिने छानो फेर्न, समग्रमा आफ्नै गरिबीको सुधारिएको सुन्दर भविष्य हेर्न सपना बुन्दै देश छोड्नुपरेको मार्मिक प्रसङ्ग, विदेशको पल्लो कुनाबाट पनि देशकै माया गरेको भाव, देशको चिन्ता, देश उठाउने प्रण अभिव्यक्त भएको यस कृतिभित्रका कविताहरू अत्यन्तै मार्मिक छन् । अभावले देश छोड्नुपरेको पीडा कवि यसरी व्यक्त गर्दछन् ।

आकाश चुहिने मेरो छानो टाल्न

म परदेश हिँडेको हुँ

फाटेको आमाको चोली फेर्न

धुजा परेको बाको टोपी फेर्न

बहिनीलाई सकुशल स्कूल पढाउन

घरदेश छाडेको हुँ

अचेल

आमाको फाटेको चोली

बाको धुजा परेको टोपी

छातीमा च्यापेर अनि

पासपोर्ट सिरानी हालेर

हरेक रात निदाइदिन्छु (पृ. ४१)

डा. रेणुका सोलु

कवि अमृतको ‘एकान्त भीड’ कृतिभित्रको ‘समाज’ खण्डभित्र रहेका हरेक कविताले वर्तमान समाज बोलेका छन् । सङ्घर्षले मान्छेलाई मान्छे बनाउने प्रसङ्ग छ । सहरको रहरले गाउँ उराठ भएको प्रसङ्गले पाठकलाई स्तब्ध बनाउँछ । गाउँको बाझो बारी र खेतमा वनमारा झारले ढाकेको छ । बादल छुने हवार्इजहाले बाटाघरे ठुलेको देशभक्ति खाडीतिर उडाएको प्रसङ्गले हृदय भक्कानिन्छ । कविले यहाँको घोकन्ते शिक्षानीतिले बच्चाहरूलाई डर र त्रासमा सुगा रटाई रटाउने तर सीप नसिकाउने काम भइरहेको प्रचलनप्रति दुःख व्यक्त गर्दै बच्चाहरूलाई छडी होइन प्रेम चाहिन्छ र प्रेमले उर्जा प्रवाह गर्ने सुझाव पस्किएका  छन् । कविले आफ्ना कवितामा कतै आँसुको त कतै भोकको बयान गरेका छन् । कृतिभित्रका धेरै कविताहरूमा आमाको महानताबारे भावना अभिव्यक्त भएका छन् । आमाहरू महान् बन्ने नाममा मान्छे हुनबाट नै बञ्चित भइरहेको प्रसङ्ग बडो सरल भाषाशैलीमा गहिरो भाव कृतिभित्र यसरी अभिव्यक्त गरिएको छ ।

बिर्सेर भए पनि फुन त गर कहिलेकाहीँ

हुन्छ आमा, सन्चै त छ नि ?

बिग्रेको खोकी खोक्दै ‘ठिक छु’ भन्छिन्

दुखेर पनि सन्चै बन्छिन्

म सोच्छु

यो समाजले आमाहरूलाई महान् बनाएर

आमाहरू अन्यायमा छन् । (पृ. ३९)

यसरी कविले आमालाई कहिल्यै पढेर नसकिने पुस्तकको सङ्ज्ञा दिएका छन् ।

‘एकान्त भीड’ कृतिभित्रका केही कविताले समयको महत्त्व सुझाएका छन् । मान्छे समयभन्दा माथि उठ्न जिद्दी गर्छ तर जे गर्छ समयले गर्छ भन्ने मान्यता राखेका छन् । कतै मान्छे–मान्छेबीचको खाडल, छुवाछुतको प्रसङ्गले अझै पनि समाजमा विभेदको गन्ध गन्हाइरहेको प्रसङ्ग उल्लेख भएको छ । कतै यौवन र उन्मादका कुरा पनि कविताका विषय बनेका छन् तर अश्लील पाराले होइन श्लील शैलीमा नै व्यक्त भएका छन् । अमृतका कवितामा कतै आफ्नै जीवन सङ्घर्षको कथा उनिएको छ भने भोगाइले जीवनबोध भएको भाव अभिव्यक्त गरिएको छ । शहरको अमानवीय जीवनशैली, जति प्राप्ति भए पनि सन्तुष्ट नहुने मानवीय प्रवृत्ति, प्राप्तिमा सम्बन्ध राख्ने अनि अँध्यारो बनाएर छोड्ने स्वार्थी मान्छेको चरित्र जस्ता विषय प्रस्तुत कृतिभित्रका कविताहरूलाई राम्रोसँग उठाएका छन् ।

कवि अमृत ईश्वरको प्रसङ्गले चकित पर्छन् । मान्छेले दुःखहरणका लागि अथवा सुखप्राप्तिका लागि चेतनाविहीन पत्थरलाई ईश्वरको अवतार मानेर गाउँका भाले र बोका बलिमा नै सकाउँदा पनि दुःख उस्तै भएको देख्दा ती देउता देखेर कवि हाँसो उठेको कुरा व्यक्त गर्छन् । कतै कवितामा कवि शालीन प्रेमको वर्णन गर्छन् । देउराली भाकेर माया प्रेमको सुस्केरा हालेको भाव ओकल्छन् तर कतै प्रेम, विछोड र विरहका कुरा कोट्याउँछन् । कवि आफैँ मुस्कानप्रेमी छन् र त युद्ध हारेर भए पनि मुस्कान प्राप्ति होस् भनेर कवितामार्फत कामना गर्छन् । कविलाई क्रान्तिका नाममा भएको वीभत्स मन पर्दैन र भन्छन् अब शान्तिका लागि नयाँ क्रान्ति गर्नुपर्दछ । फूल र प्रेम बिक्री भएका सन्दर्भ कविले आफ्ना कवितामार्फत बढो गजबले उप्काएका छन् । फूल कस्तो अचम्मको चिज रहेछ जो मन्दिरमा पनि चढाइन्छ र चितामा पनि चलाइन्छ भनेर कवि आफ्नो भाव यसरी व्यक्त गर्दछन्ः

कोमल फूलको शरीरलाई

कलिलो हातले चुँडाएर

पहिलो पटक

स्कुलको मन्दिरमा चढाएको हुँ

मैले बिस्तारै थाहा पाउँदै गएँ

फूल त

चितामा पनि चढ्दो रहेछ

प्रेममा लेनदेन हुँदैरहेछ

यो बजारमा

फूल र प्रेमसँगै बिक्री हुँदारहेछन् । (पृ. १०२)

यसरी जम्मा १२२ पृष्ठमा तयार भएको ‘एकान्त भीड’ कविता कृतिभित्रका कविताहरूमा समग्रमा भन्नुपर्दा सत्ता र शक्तिको दुरुपयोगले देश विनाश हुँदै भएको प्रसङ्ग छ, क्रान्तिका नाममा भएको द्वन्द्वले गाउँबस्ती उजाडिएको व्यथा छ । देशमा राजनेता नहुँदा अवसरहरू नपाएर युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता र परदेशमा बसेर घरदेशको चिन्ताले पिरोलिएका नेपालीहरूको आवाज प्रतिनिधित्व भएको छ । कतै प्रेमका कुरा कतै धोकाका विषय, भोक र शोकका ज्वाला, अभावको चीत्कार, गाउँको डढेलो अनि सहरको अमानवीय भीड; समयको महत्त्व आमाको सम्मानजस्ता अनेकौँ मर्मस्पर्शी विषयहरू भाव अभिव्यक्त हुने शब्दगुच्छा उनेर यो कविता कृतिमाला तयार भएको छ । अमृतलाई जसले नजिकबाट कारोबार गरेर चिनेको छ, उसलाई यो ‘एकान्त भीड’ पढ्दैगर्दा अमृत व्यक्ति र कविता उस्तै सरल, शालीन, उर्जाशील, दिव्य, हँसीलो रसिलो लाग्छ । सङ्घर्षलाई नै जीवनको पर्याय सम्झने अमृत आफ्ना सिर्जनामार्फत् कर्मशील बन्नुपर्ने सन्देश प्रवाह गर्छन् । सङ्घर्ष नै जिउँदो जीवन जिउने गतिलो आधारस्तम्भ हो भन्ने आदर्श स्वभावका उनी आफ्ना कवितामा पनि यही भाव अभिव्यक्त गर्दछन् । अमृतको मनवीय व्यक्तित्व जस्तै स्वाभिमानी अनि स्वावलम्वी लाग्छन् उनका रचनाभाव । कृतिभित्रका धेरै कविता छोटा छन् तर छोटा भइकन सग्ला लाग्छन् । छोटोमा मीठो अनि छरितो भाव व्यक्त गर्न सक्ने सामर्थ्य अमृतका कवितामा पाइन्छ । साधारण भुइँमान्छे पाठकले समेत सजिलै पढ्न सक्ने, भाव ग्रहण गर्न सक्ने तथा मर्मबोध गर्न सक्ने उनका समग्र कविता सरल साथै बोधगम्य छन् । सरलभित्र सुन्दरता भेटिने ‘एकान्त भीड’ कविता कृतिले नेपाली साहित्यको भण्डारमा एउटा थुँङ्गा सुन्दर साहित्यिक फूल थपिने काम भएको छ । गतिलो एक थोपा अमृत थपिएको छ । अझै धेरै थोपा अमृत थपिनेक्रम निरन्तर जारी रहोस् । समाज रूपान्तरणका लागि अमृतका साहित्यिक भावहरू साँच्चै नै अमृत बनेर वर्षिरहून् । हृदयदेखि नै शुभकामनाका शब्दगुच्छाहरू समर्पण गर्दै अहिले कलम यतै बिसाउँछु बाँकी उनको अर्को कृतिसँग भेट भएसि ।