नीलो आकाशको काखमा हिमालका चुचुराहरूले आफ्ना सेता कपाल फर्फराउँदै उभिएको दृश्य कल्पना गर्दा नै मन रोमाञ्चित हुन्छ । सगरमाथा आधार शिविरको पदयात्रा भनेपछि शरीरमा ऊर्जा थपिन्छ । आत्मामा एक किसिमको उचाइ महसूस हुन्छ । यो यात्रा भौतिक पदचालन होइन । यो प्रकृतिको स्तुतिमा गरिने एक आध्यात्मिक अनुष्ठान हो ।
काठमाडौंको कोलाहलबाट छुटेर लुक्लाको आकाशीय द्वारबाट पदयात्रा शुरु गर्दा नै वातावरणले फरक अनुभूति गराउँछ । साना घरहरू, ढुंगाको भर्याङजस्ता गोरेटाहरू र वन्यजन्तुको आवाजले यहाँ यात्रुलाई स्वागत गर्छन् । डाँडाकाँडा कट्दै जाँदा सुगन्धित धूपजस्तो वातावरणले सासलाई शुद्ध बनाइदिन्छ ।
दूधकोशीको चिसो पानी, अनि घुम्दै गर्दा भेटिने पुराना गुम्बा र रङ्गीचङ्गी झण्डाले मनलाई अर्को लोकमा पुर्याउँछन् । ढुङ्गामा कपिएका आकृति र अक्षरहरू बाटोमा जताततै भेटिन्छन् । ती पनि ठूल्ठूला चट्टानमा बडो मेहनतले लेखिएका अक्षरहरू देख्दा अचम्म लाग्छ । ‘तिनमा के लेखेको होला ?, किन लेखेको होला ?’ भन्ने खुल्दुली पनि स्वतः पैदा भइहाल्छ ।
नाम्चे बजारमा पुग्दा लाग्छ, यो हिमालको नगरी हो । यहाँको भौगोलिक सौन्दर्य, हावा, अनि मानिसहरूको न्यानो व्यवहारले यात्रा गर्न आउनेहरूलाई घरजस्तै अपनत्व महसूस गराउँछ ।
यहाँबाट देखिने सगरमाथा, ल्होत्से, नुप्त्से, पुमोरी र आमादब्लमका दृश्यहरूले यात्रुहरूलाई मन्त्रमुग्ध बनाउँछन् । यी हिमश्रृंखलाहरू प्रकृतिका महाकाव्यजस्तै लाग्छन् ।
अघिल्लो दिनको थकानलाई थोरै विश्रामले मेटेपछि यात्रु पुनः ऊर्जावान भएर हिँड्छन् । तेङ्बोचेको गुम्बाबाट घन्कने मन्त्र र ल्हामाका प्रार्थनाले मनलाई पवित्र बनाउँछन् । प्रकृतिको अँगालोमा रहँदा मानिसले आफूलाई प्रकृतिको सानो अंश महसूस गर्छ ।
जति माथि चढिन्छ, उति प्रकृतिको चुनौती ठूलो हुँदै जान्छ । डिंगबोचे, लोबुचे हुँदै गोरखशेप पुग्दाको अनुभूति शब्दमा व्यक्त गर्न कठीन छ । यहाँको हावा पत्थरजस्तै भारी लाग्छ, तर मनको उत्साहले यो सबै चुनौती जित्छ ।
अन्ततः सगरमाथा आधार शिविरमा पुग्दा लाग्छ, मानौँ जिन्दगीको कुनै महान् लक्ष्य पूरा भएको छ । यहाँबाट देखिने हिमालको आँगन, कालापत्थरको छायाँ, अनि आकाशको नीलापनले आत्मामा स्थायित्व ल्याउँछ । यात्राको थकान हराउँछ । महसूस हुन्छ– ‘जीवन भनेको केवल गन्तव्य होइन, यात्राको यात्राको आनन्द हो ।’
सगरमाथा आधार शिविरको पदयात्रा केवल हिमालको काखसम्मको यात्रा होइन, यो आत्मा र प्रकृतिको संवाद हो । यो यात्राले मानिसलाई केवल प्रकृति हेर्ने होइन, प्रकृति महसूस गर्ने आँखा दिन्छ । यहाँको सौन्दर्य, संघर्ष, र शान्तिले यात्रुलाई जीवनका हरेक आरोह–अवरोहलाई सहज रूपमा आत्मसात् गर्न सिकाउँछ ।
पदयात्राका क्रममा भेटिने स्थानीय पर्यावरण, प्राकृतिक सौन्दर्य, मानव अस्तित्व र वातावरणीय चेतनाको सम्बन्धबारे गहिरो विश्लेषण गर्न सकिने उत्कृष्ट माध्यम हो । कुनै पनि मान्छेले शहरको कोलाहल, धुलो र धुवाँबाट मुक्ति खोज्छ । यसबाट टाढा हुँदै प्रकृतिको काखमा पाइला चाल्छ । त्यहाँ हराभरा जंगल, खहरे खोलाको गड्गडाहट र चराहरूको गीतले मन प्रफुल्ल पार्छ । यस्तो हिँडाइ वा यस किसिमबमे पदयात्रा शरीरलाई तन्दुरुस्त राख्ने अभ्यास मात्र हुँदैन । प्रकृतिसँग नजिक भएर जोडिने, वातावरणलाई नजिकबाट बुझ्ने र आफूलाई नयाँ ऊर्जा प्रदान गर्ने यात्रा पनि हुन्छ ।
त्यस्तै पदयात्रा गर्नु भन्नु सौन्दर्यको अनुभूति मात्र होइन । यो जिम्मेवारीको कथा पनि हो । जुन बाटोबाट हामी यात्रा गर्छौं, त्यो बाटोको सफाइ, संरक्षण र सम्मान हाम्रो कर्तव्य हो । मान्छेले फोहोर फाल्दा, जंगलमा प्लास्टिक छोड्दा र अनावश्यक हस्तक्षेप गर्दा त्यसले पर्यावरणलाई मात्र होइन, त्यहाँका स्थानीय संस्कृति र जनजीवनलाई पनि नकारात्मक असर पुर्याउँछ ।
वास्तवमा पर्यावरण भनेको जमीन, पानी र हावा मात्र होइन । यो ती पक्षीहरू हुन्, जो बिहान हामीलाई संगीत सुनाउँछन् । यो ती रुखहरू हुन्, जसले हामीलाई छायाँ दिन्छन् । पदयात्रामा हामीले महसूस गर्ने प्रत्येक रमणीय दृश्यहरू पर्यावरणका उपहार हुन् । त्यसैले पदयात्रा गर्ने प्रत्येक व्यक्तिले प्रकृतिलाई संरक्षण गर्ने प्रतीज्ञा गर्नुपर्छ ।
पदयात्रा भनेको प्रकृतिलाई नजिकबाट हेर्ने झ्याल हो । यो झ्यालबाट हेर्दा हामीले वातावरणको वास्तविक अवस्था देख्न सक्नुपर्छ । हिमाल पग्लिरहेको छ । हिउँ पर्ने क्रम कम हुँदै गइरहेको छ । खोलाहरू सुक्दै छन् । जंगलहरू मासिँदै छन् । समाचारहरूमा प्रसिद्ध माछापुच्छ्रे हिमालमै हिउँ नभएको क्रमशः कालोपत्थरमा परिणत हुँदै गएको देखाएको छ ।
यी सबै दृश्यहरूले हामीलाई चेतावनी दिन्छन्– ‘समयमै हामी सचेत नभए प्रकृति रिसाउने निश्चित छ । हामीले हेर्ने सेताम्मे हिमालमा हिउँ नै नभएपछि त्यसको सौन्दर्य सखाप हुन्छ भन्ने कुरालाई हामीले मनन गर्नु आवश्यक छ ।’
त्यसैले पदयात्रा व्यक्तिगत आनन्दको यात्रा मात्र होइन र हुनु हुँदैन । यो हाम्रो पर्यावरणीय दायित्वको सम्झना पनि हो । प्रत्येक पाइलाले वातावरणलाई सम्मान गर्दै चाल्न सक्नुपर्छ । प्रत्येक हेराइहरूमा हामीले प्राकृतिक सुन्दरताको मौलिकपन आस्वादन गर्न सक्नुपर्छ । साथै हाम्रा सन्ततिले पनि यो सौन्दर्य अनुभव गर्न सकून् ।
वास्तवमा पदयात्रा पर्यटनको एक महत्त्वपूर्ण रूप हो । यसले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली नजिकबाट बुझ्न र अनुभव गर्न अवसर दिन्छ । यद्यपि यसले वातावरणमा पार्ने प्रभावहरूलाई ख्याल नगर्दा दीर्घकालीन असरहरू निम्त्याउन सक्छ ।
पदयात्राबाट धेरै सकारात्मक प्रभावहरू पर्छन् । प्रथमतः पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्छ । पदयात्राले ग्रामीण क्षेत्रमा रोजगारका अवसर सिर्जना गर्छ । स्थानीय व्यवसाय (लज, रेस्टुरेन्ट, पथप्रदर्शन सेवा, भरिया आदि) प्रवर्द्धन हुन्छ ।
यसबाहेक पर्यटकहरूको आकर्षण बढाउन स्थानीय समुदायले आफ्ना परम्परा र प्राकृतिक सम्पदाको संरक्षण गर्न प्रेरणा पाउँछन् । पर्यटकहरूलाई स्थानीय जैविक विविधता र वातावरणीय चुनौतीबारे जानकारी दिने अवसरसमेत मिल्छ ।
यी सकारात्मक कुराका अतिरिक्त पदयात्राबाट हुने नकारात्मक प्रभावहरू पनि हुन्छन् । यसले नै वातावरणीय रूपमा असर पारिरहेको छ । जस्तै– प्लास्टिकका बोतल, प्याकेजिङ्ग सामग्री जस्ता अनाश्यक कुराहरू जताततै फालिँदा फोहोरको वृद्धि भएको छ । यसरी जैविक फोहोर व्यवस्थापनको अभावले भूमि र जल प्रदूषण हुन थालेको छ ।
मानवीय गतिविधिका कारण जनावर र चराचुरुङ्गीको बासस्थानमा विघटन भएको छ । केही विशिष्ट प्रजातिहरू लोप हुने जोखिममा पुगेका छन् । यसको समाधानका लागि दिगो पर्यटन अभ्यासहरू आवश्यक हुन्छ । पुनः प्रयोग गर्न मिल्ने र प्लास्टिकमुक्त सामग्री प्रयोग गर्न पर्यटकलाई प्रोत्साहन गर्नुपर्छ ।
कतिपय पदयात्री, पर्यटकहरू पर्यावरणको संरक्षणमा गम्भीर हुन्छन् । आधार शिविरको यात्रामा मैले देखेको कुरा हो पर्यटकहरू फर्किंदा आफूले बाटोमा देखेका, भेटेका प्लास्टिकका सामानहरू बोकेर लुक्ला फर्किरहेका थिए । आफूले खाएको मिनरल वाटरको बोतल, जुसको बट्टासमेत बटुलेर झोलामा ल्याएका थिए ।
यस किसिमको कार्य एक जनाको अभियान जस्तै अरूहरूको पनि हुन सक्यो भने ठूलो उपलब्धि हुनसक्छ । यसैगरी वन तथा जैविक विविधताको संरक्षण पनि त्यत्तिकै आवश्यक हुन्छ । साथै स्थानीय ऊर्जा स्रोत (सौर्य ऊर्जा, बायोग्याँस) प्रवर्द्धन गर्नुपर्छ । संरक्षित क्षेत्रहरूको प्रभावकारी व्यवस्थापनमा जोड दिनुपर्छ । स्थानीय समुदायलाई पर्यटन विकासको केन्द्रमा सहभागी गराउनुपर्छ । पदयात्राका लागि आवश्यक आधारभूत संरचना निर्माण गर्दा वातावरणमैत्री उपायहरू अपनाउनु पनि नितान्त आवश्यक हुन्छ ।
पदयात्रा र पर्यावरण बीचको सन्तुलन कायम राख्न सजगता र जिम्मेवारीको आवश्यकता छ । दिगो पर्यटनको अवधारणालाई आत्मसात् गर्दै वातावरणीय, सामाजिक र आर्थिक फाइदाहरूलाई सँगै अघि बढाउनु आजको आवश्यकता हो ।
हिमालको संरक्षण र वातावरण सन्तुलनमा पदयात्री र पर्यावरणको महत्त्वपूर्ण भूमिका छ । यसमा पदयात्रीहरूको जिम्मेवार भूमिका हुन्छ ।
पदयात्रीहरूले प्राकृतिक क्षेत्रमा आफ्नो प्रभाव न्यून गर्न Leave No Trace सिद्धान्त अपनाउन सक्छन् । फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग कम गर्ने र जैविक वस्तुहरूको मात्र प्रयोगले वातावरणमा नकारात्मक असर कम गर्छ ।
स्थानीय समुदायसँगको समन्वय र उनीहरूको जीवनशैलीको सम्मानले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ । पदयात्रीहरूले वनस्पति उखेलेर नष्ट नगर्ने, वन्यजन्तुहरूलाई दुःख नदिने र उनीहरूको बासस्थान नबिगार्ने कुरा ध्यान दिनुपर्छ ।
हिमाली क्षेत्रका पर्यावरणीय चुनौतीहरूबारे अन्य पर्यटक र स्थानीय समुदायलाई शिक्षित गर्न सकिन्छ । वनहरूको संरक्षणले हिमाली क्षेत्रलाई कटान र भूक्षयबाट बचाउँछ । यसले पानीको स्रोत र हावापानीलाई सन्तुलनमा राख्छ ।
पुनः निर्माण कार्यक्रमहरूः पदमार्ग सुधार, जैविक उद्यानहरू निर्माण र स्थानीय प्रजातिहरू पुनःस्थापना जस्ता परियोजनाले क्षेत्रको पर्यावरणीय गुणस्तर सुधार गर्न मद्दत पुर्याउँछ । हिमाली क्षेत्रका होटल र चिया पसलहरूमा सौर्य, हावा र अन्य नवीकरणीय ऊर्जाको प्रयोगले वातावरणीय क्षति कम गर्न मद्दत गर्दछ ।
स्थानीय र राष्ट्रिय स्तरमा नीति बनाउँदा हिमाली क्षेत्रको संवेदनशीलता ध्यानमा राखेर योजनाहरू तयार गर्नुपर्छ । यस कार्यमा चुनौतीहरू पनि हुन्छन् । समाधानका उपाय पनि अपनाउन सकिन्छ । धेरै पदयात्रीहरूले छाडेको प्लास्टिक र अन्य फोहोर व्यवस्थापन गर्न स्थानीय निकाय र स्वयंसेवी संस्थाहरूले योजना ल्याउनुपर्छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा हिउँको स्तर घट्दै गएको छ । यसलाई रोक्न विश्वव्यापी तापमान घटाउने प्रयास गर्नुपर्छ ।
यसका साथै पर्यटन उद्योगलाई वातावरणमैत्री बनाउन दिगो पर्यटनका अभ्यासहरू लागू गर्न जरुरी छ । पदयात्रीहरूको जिम्मेवार व्यवहार र पर्यावरण संरक्षणका उपायहरूको सही संयोजनले हिमाली क्षेत्रको संरक्षण, जैविक विविधताको संरक्षण, र वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । हिमालहरूको दीर्घकालीन अस्तित्व र सौन्दर्यका लागि हाम्रा क्रियाकलापहरूले वातावरणीय सन्तुलनमा सकारात्मक योगदान गर्नुपर्छ । यिनै कार्यले पदयात्रा पनि अविस्मरणीय हुन्छ भने पर्यावरण पनि सन्तुलित रहन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










