कलाकारका कलासिर्जनाले के भन्छन् ? कस्तो सन्देश समाजलाई सम्प्रेषण गर्छन् ? कलाकारहरूले केका लागि र किन कलासिर्जना गर्छन् ? ग्यालरीमा कलाकृतिहरू हेर्न दर्शक किन जान्छन् ? तिनले कलाप्रेमी दर्शकहरूलाई दिने प्रेरणा के हो ? कलाप्रदर्शनीमा पुगेर कलाकृति हेरेपछि पार्ने प्रभाव के हो ? खासगरी आर्ट ग्यालरीहरूमा कलाप्रदर्शनी हेर्न किन जाने र के पाउने भन्ने प्रश्न पनि एक गम्भीर विषय हो ।

उल्लिखित के, किन, कस्तो जस्ता प्रश्नहरूको उत्तर सामान्यतः केही होइन जस्तो पनि लाग्छ । तर खास कलाकार, कलापारखी, कलाप्रेमी, कलासमीक्षक र विशुद्ध दर्शक भएर ग्यालरीमा प्रवेश गरेपछि यी प्रश्नहरूको उत्तर खोज्नु आवश्यक छ । म किन कलाकृति हेर्न आएको छु ? कस्तो कलाकृति हेर्न चाहन्छु ? कलाकृतिहरू हेरिसकेपछि कस्तो प्रभावले मलाई स्पर्श गर्न आओस् भन्ने चाहन्छु ? यी यावत् सन्दर्भमा समेत दर्शक भएर ग्यालरी पुग्दा सोच्नु जरुरी हुन्छ ।

वास्तवमा ग्यालरीमा हामी के हेर्न गइरहेका छौँ ? कस्तो आशा र अपेक्षा लिएर पुगेका छौँ ? कसका कलाकृति हेर्न इच्छुक छौँ ? किन गएका हौँ ? यी प्रश्नहरूको घेराभित्र पसेर सोच्दा निश्चय पनि हामी ग्यालरीमा आयोजकको निम्तो मान्न मात्रै पुगेका हुँदैनौँ होला । भित्तामा टाँगिएका कलाकृति हेर्नका लागि मात्रै फुर्सद मिलाएर ग्यालरी पुगेका हुँदैनौँ । त्यहाँ पुगिसकेपछि हाम्रा आँखाले केही न केही नौलो दृश्यको खोजी गर्न थाल्छ । ग्यालरीका कलाकृतिहरूले हामीलाई फरक अनुभूतिको बोध गराउन सक्नुपर्छ । कला हेरेपछि केही न केही प्रभाव पर्न सक्नुपर्छ । हेराइमा, सोचाइमा समेत परिवर्तन गराउन सक्नु कलाको खुबी हो ।

कुनै पनि कलाकृतिहरूले हाम्रो मनमा शान्त, शीतल र सौन्दर्यमय आभासहरूको झङ्कार उत्पन्न गराउन सक्नु ठुलो कुरा हो । शिथिल रहेका मन–मस्तिष्कहरू ऊर्वर बनेर गतिमय लयमा फड्को मार्न यस्ता कलाले सहयोग गर्छन् । कतिपय देशमा कला अवलोकनबाट उपचार गराइने पद्दतिको समेत विकास भइसकेको पाइन्छ । कुनै भाषाको आवश्यकता नपर्ने कलाले विश्वभाषा बोल्छ । यसरी बोलेको भाषामा वस्तुतः आफ्नो देशको गौरव, गरिमा र पहिचानका झलकहरू भने हुनै पर्छ । कुन देश र कुन कलाकारको कलाकृति हो भनी कलापारखी दर्शकले सहजै खुट्याउन सक्नु कलाकारको दक्षता मान्न सकिन्छ ।

प्रदर्शनी कक्षमा हामी केही न केही नयाँपनको मिठास महसुस गर्न जान्छौँ । मनलाई नवीन सौन्दर्य–चेतनामा भुल्याउन जान्छौँ । कलाको भिन्न–भिन्न मौलिकताले भरिएका क्यानभासहरूमा मन र आँखालाई घुमाउन जान्छौँ । अनि हृदयमा तिनको सकारात्मक प्रभावलाई ग्रहण गरी नवजीवनको पालुवा भर्न उद्दत रहन्छौँ । यस्तै आशय र यिनै अभियान लिएर ग्यालरी पुग्दा हामीले खोजेको, हामीले चाहेको सुन्दर कलासिर्जना देख्न पाउँदाको आह्लादमय पल साँच्चै सुखद हुन्छ ।

यसका साथै कलामा आएको परिर्वतनका अनेक आयामहरूको अवलोकन गर्छौँ । नयाँ शैली, विषयवस्तुको प्रस्तुति, प्रयोगको प्रकृति, सिर्जनात्मक मौलिकता र नवीनताको उपस्थिति आदि कुरालाई पनि ध्यान दिन्छौँ । अग्रज कलाकारहरूका कलामा देखिने परिपक्वपनको पहिचान गर्दै नवपुस्ताले गर्न खोजेका विषय र विम्बका प्रयोगहरूलाई पनि मनन गर्छौँ । विविधतामा पनि सौन्दर्यमय आभाको प्रस्तुति र कलात्मक चिन्तनको सम्प्रेषणमा दर्शकदीर्घाको चाहनाले तृप्तिको महसुस गर्न सक्छ । ग्यालरीमा पुग्नुको आनन्द पाउन सक्छ । फलस्वरूप कलाकृतिले दिने सन्देश र पार्ने प्रभावका विषयमा पनि स्पष्ट हुन सकिन्छ । जहाँ आँखालाई नबिझाई शीतलता प्रदान गर्न सक्ने क्षमता राख्छ भने त्यस कलाले रङको सुन्दरता र रेखाहरूको गतिमय प्रवाहलाई सुललित ढङ्गले आकृतिबद्ध गरेको हुन्छ । मूर्त होस् वा अमूर्त कलात्मक सौन्दर्य भन्नु रङको सन्तुलित र कलात्मक उपस्थिति हो ।
अन्ततः यसले कलाको गति, प्रगति र परिचयको नयाँ क्षितिज खोल्न मद्दत गर्छ । जहाँ कलाको समर्पण छ, नयाँपनको प्रवेश गराऊ भन्ने हुटुहुटी हुन्छ, केही पृथक् शैली निर्माण गरेर दर्शकहरूलाई नयाँ दृश्य–स्वादको मिठास दिने कोसिस गरिएको हुन्छ अवश्य पनि त्यहाँ मौलिकताको लेपन प्रत्येक क्यानभास–कलामा भएको हुन्छ ।

कला ग्यालरीहरूमा हामी के हेर्न गइरहेका छौँ ? कस्तो आशा र अपेक्षा लिएर पुगेका छौँ ? यसमा स्वयम् दर्शक स्पष्ट हुनु आवश्यक छ । यसो भयो भने कलाको सही पहिचान हुनुका साथै कलाकृतिको पनि सही किसिमले मूल्याङ्कन हुन सक्छ । प्रत्येक कलाकारहरू आज फरक परिचय र प्रस्तुति पेश गर्दै नेपाली कलाको मोडमा दौडिरहेका छन् । यद्यपि यो दौडमा दम्भभन्दा बढी दर्बिलो र गर्विलो कलाकर्मको उपस्थिति अति आवश्यक कुरा हुन् । हाम्रा अग्रज कलाकर्मीहरूले स्थापना गरेको कलात्मक मर्म र महत्त्वलाई आत्मसात् गरी नवीनतम् कलाकर्मको प्रयोगबाट अलग्ग मौलिकता प्रस्तुत गर्न सक्नु निकै प्रशंसनीय कर्म हुनेछ । यस अतिरिक्त काममा पनि निरन्तरता र त्यसले देशको पहिचान गराउन सक्नुपर्छ ।

हिजोआज हुँदै आइरहेका केही कलाप्रदर्शनीका कलासिर्जना र कलाप्रेमी दर्शकहरूका भावनालाई मनन गर्दा केही क्षण गम्भीर हुनुपर्ने हुन्छ । किनभने कतिपय सिर्जना व्यावसायिक दृष्टिकोणले प्रेरित भएर गरिएका हुन्छन् । जहाँ दर्शक आउनु र नआउनु तथा कलाको चर्चा हुनु र नहुनुसँग कुनै सरोकार राख्दैन । तर विशुद्ध सिर्जनात्मक सोचविचारले गरिएका कलाकृतिमा आफ्नै किसिमको शैलीगत नवीनताको आस्वादन गर्न सकिन्छ ।

त्यसो त कतिपय कलाकारहरू कलासमीक्षकको दृष्टिमा पार्न चाहँदैनन् । भनौँ आफ्ना कलाकृतिको समीक्षाको आवश्यकता नै महसुस गर्दैनन् । केवल दर्शकले हेरिदिए पुग्छ । बिक्री भए हुन्छ । आफूले गरेको लगानी उठिदिए पुग्छ । यही विडम्बनाको विकसित रूपले गर्दा नेपाली कलाको चर्चापरिचर्चा न्यून हुने गरेको छ । कला अभिलेखनको सिलसिला अत्यन्त कमजोर छ ।

फलतः एकथरि कलाकर्मीहरू जीवन कलामै समर्पण गरेर साधनारत छन् । तिनको कुनै चिनारी, चर्चा, चासो समाजमा छैन, हुँदैन । कलाकारहरू पनि यस्तो परिपाठी मन पराउँदैनन् । प्रदर्शनीमा समाचार आइदिए पुग्छ । कलाको चर्चा, समीक्षाको खाँचो कलाकारले नै नदेखेपछि कलाको मूल्याङ्कन, अभिलेखनको पाटो ओझेलमै परेर जानु स्वाभाविक हो । हिजोको तुलनामा आजसम्म पनि यसक्षेत्रमा खासै परिवर्तन आउन सकेको छैन । कला ग्यालरीहरूमा कलापारखीहरू कलाकृति हेर्न आउने र कलाप्रदर्शनीको समीक्षा छापिने क्रममा सुधार आउन सकेको छैन ।

यसै सन्दर्भमा गत हप्ता सम्पन्न सिर्जना कलेज अफ फाइन आर्टस्का प्राध्यापकहरूको संयुक्त कलाप्रदर्शनीले केही नयाँपनको सङ्केत गराएको अनुभव गर्न सकिन्छ । कलाप्रदर्शनीको बजारमा पृथक् मौलिकता र शैलीगत विविधताले भरिएको आभास पाइएको प्रसङ्ग यहाँ उल्लेखनीय हुन आउँछ । हुन त सो प्रदर्शनीको परिचर्चा र समीक्षा गरिएन । जुन आवश्यक थियो । प्रत्येक कलाकारहरूले आफ्ना कलाका विषयमा जानकारी दिनु पनि आवश्यक हुन्छ । जसले गर्दा कलाकारले के, किन र कसका लागि कलासिर्जना बनाएको हो भन्ने प्रश्नको उत्तर पनि प्राप्त हुन सक्छ । यसका साथै कलामा देखाउन खोजेको विषय र शैलीका बारेमा पनि दर्शकले थप नयाँ जानकारी पाउँदा त्यो उपलब्धिमूलक नै हुन सक्छ ।

कलाक्षेत्रमै जीवन समर्पण गर्दै आउनुभएका कलाकारहरूका कलामा आ–आफ्नो स्पष्ट चिनारी रहनु स्वाभाविक हो । जस्तो कि शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जित आदिका कलामा नेपालीपन र पहिचानका मौलिक पक्ष निकै दशकदेखि झल्किँदै आएका हुन् । कलाको अध्ययन गरी कलाकै प्राध्यापनमा आफूलाई संलग्न गराउँदै नेपाली कलाकै उन्नति, प्रगतिमा चिन्तनशील यी अग्रज पुस्ताका कामबाट आजका पुस्ता कलाकारहरू पनि प्रोत्साहित हुँदै आएका छन् । प्रदर्शनीमा कलाकारहरूका चित्र, मूर्ति, कार्टुन तथा प्रतिस्थापन कला राखिएका थिए । सो प्रदर्शनीमा देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, चन्द्रश्याम डङ्गोल, मनिषलाल श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, कुलदिप जङ्गबहादुर गुरुङ, विजय महर्जन, सुर्जामणि शाक्य, मनोज शाक्य, मञ्जु, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठसहित २५ जना कलाकारका कलासिर्जना प्रदर्शित थिए ।