कुनै पनि देशको साहित्य, कला, संस्कृतिको विगत देखाउन, वर्तमान लेखाउन र भविष्यमा इतिहास निर्माणका लागि त्यसको अभिलेख आवश्यक कुरा हुन् । अभिलेखले सबै कुरा छर्लङ्ग देखाउँछ । लेख्ने सन्दर्भ–सामग्री र अभिलेख नहुँदा नेपाली ललितकला लेखनको इतिहास अझै पनि अधुरै छ । जति लेखिएको छ त्यो धेरै थोरै छ । हामीले हाम्रा अघिल्लो पुस्ताका कलाकारहरूलाई विर्सिदै जानु स्वाभाविक हो । तर त्यससँगै अब त तिनका कृति–कलाको अवशेष पनि बाँकी रहेको होला भन्न सकिन्न । जसको महत्व र आवश्यकताको महसुस नभएपछि जतिसुकै उच्चकोटिको काम भए पनि त्यसको अस्तित्व अवसान भएर जाँदोरहेछ ।
कलामा जीवन अर्पण गर्ने कैयौँ प्रतिभाशाली कलाकारहरूको मृत्युवरणसँगै तिनको नाम र काम बेवारिस बन्दै गएका छन् । यदि समयमै तिनको कामको विवरण कतै उल्लेख हुन सकेको भए इतिहास लेखनमा एक फड्को अगाडि पुग्ने काम हुन सक्थ्यो । अहिलेकै कलाको समुचित उत्थान गर्न सकिएको छैन । विगत अवस्थाको खोजी गर्नु र त्यसको संरक्षण झनै कठिन काम हो ।
हिजोको तुलनामा आज पनि खासै फरकपन त आएको छैन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापनापश्चात् केही अभिलेखनका कामहरू हुन थालेका छन् । तर यति मात्रै पर्याप्त छैन । अद्यापि कलासमीक्षालाई महत्व दिइने सोँच स्वयम् कलाकारहरूमा छैन । वरिष्ठ भनाउँदा कलाकारहरूले गर्ने कलाप्रदर्शनीमा समेत कलासमीक्षाको पाटो ओझेलमै रहनु दुर्भाग्य हो ।
समकालीन नेपाली कलाको सिर्जना र समीक्षाको पाटो मरितरी लम्किँदैछ भन्दा फरक पर्दैन । किनभने कलासिर्जना जुन किसिमले भइरहेको छ । त्यसको अनुपातमा कलासमीक्षा शून्य छ । हिजो जसरी सिर्जना हुन्थ्यो, आज त्यसरी नै भइरहेको छ कि छैन ? वा कलासिर्जनाको क्रम कसरी र कुन रूपमा बढिरहेको छ कि घटिरहेको छ भन्ने कुनै आधार छैन । कलाको अभिलेखन गरिने परम्परा पनि छैन ।
कलासिर्जना जत्तिकै कलासमीक्षाको महत्व र आवश्यकता पनि हुन्छ भन्ने कुरामा कलाकारहरू नै स्पष्ट छैनन् । कलाकारहरूलाई आफ्नो कामबाहेक अरू कुरातिर खासै फुर्सद छैन । काम नगर्ने तर हल्ला गर्न सिपालुहरू भने रातारात वरिष्ठतम् कलाकारको पगरी गुथ्न सफल भइसकेका उदाहरणहरू धेरै छन् । यसो हुँदा नेपाली कलाको यथार्थ स्वरूप विश्व कलाजगत्लाई देखाउन पनि हामी पछाडि परिरहेका छौँ । फलतः नेपाली कला र कलाकारको अवस्था एकप्रकारले अन्धकारमै छ भन्दा फरक पर्दैन ।
नेपाली कलायात्राले लामो फड्को मारिसकेको बताइन्छ तर कहाँ, कसरी र के के क्षेत्रमा भन्दा त्यसको सही उत्तर कसैसँग छैन । कलाको विकास प्रशस्त भएको छ । विकासको चरण भङ्ग भएको छैन भन्न सकिने आधार छैन । त्यसका लागि कला विकासका विषयमा विस्तृत लेखन, छलफल र अभिलेख राख्ने कार्य भएको हुनुपर्छ । किनभने कलासमीक्षा अथवा कलासिर्जना विना कला विकासको मापन हुन सक्दैन । त्यसैले कलासिर्जना र कलासमीक्षाको यात्रा घनिष्ट मित्रताले अँगाल्न सक्नुपर्छ ।
परन्तु आजको कला गतिविधि नियाल्दा कलाकारले सिर्जना गरेको देखिन्छ । तर त्यहाँ कलासमीक्षा छैन । कलासमीक्षा विनाको कलासिर्जनाले कलाविकासको छलाङ मारेको मान्न सकिँदैन । एउटा समाचारको सामान्य विवरणले मात्र अभिलेख हुन सक्दैन । त्यसका लागि कला र कलाकारको विषयमा विस्तृत चर्चा गरिएको हुनुपर्छ । कलाका विविध पक्षमा समीक्षात्मक विवरण लेखिएको हुनुपर्छ ।
अफसोसको कुरा यहाँ कलाकारहरूले नै कलासमीक्षकहरूको उपेक्षा गर्छन् भने कलालेखनमा चासो दिनु, चिन्ता गर्नु र कलाकारका कलाकर्मलाई किन खोतल्नु ? जहाँ लेखनभन्दा बढी चर्चा खोजिन्छ । जहाँ सिर्जनाभन्दा धेरै प्रशंसा मन पराइन्छ । जहाँ कलासमीक्षाभन्दा बढी कलाको बिक्री कसरी हुन्छ भन्नेतिर ध्यान दिइन्छ । अर्को कुरा कलामा आफ्नो परिचय कायम गर्न सक्नुपर्छ । कला हेर्ना साथ यो कला फलानो कलाकारको हो भनी जो कोहीले पनि बताउन सक्ने हुनुपर्छ । कलाकारले आफ्नो कलामाथि खुलेर बताउन सक्नुपर्छ ।
यस किसिमको काम नहुँदा कलाको सिर्जनात्मक पक्ष कमजोर बन्छ । कलाको कलात्मक सौन्दर्य न्यून हुन्छ । जुन कलामा सिर्जनात्मक मौलिकता र कलात्मक सौन्दर्यको उपस्थिति शून्य छ भने त्यसमा नेपाली कलाको प्रतिनिधि सिर्जना खोज्न र देखाउन सकिँदैन । अतः कलामा आफ्नै किसिमको शैली विकसित गर्ने ध्येय र धोकोको मानसिकता विकसित हुँदा कलाले उचाइ–यात्रा स्वतः नै थाल्छ ।
त्यहाँ कस्तो कलासिर्जना होला ? त्यहाँ कलाकारको प्राथमिकता सस्तो प्रचारतिर मात्रै हुन्छ । मूलतः आजको कलाले हिजोको शैली र संरचनालाई पछ्याउँदै त्यसमा आफ्नो अलग्ग शैली निर्माण गर्न सक्नुपर्छ । कसैको नक्कल र कुनै वादको पछि होइन कलामा नयाँपनको स्वाद दिन सक्नुपर्छ । त्यस कलामा नेपाली माटो र मन, नेपाली पहिचान र प्रस्तुतिको सुगन्ध मग्मगाउनुपर्छ । त्यो फैलिन, विश्वव्यापी हुनु प्रचार–प्रसार हुनुपर्छ । कलासमीक्षाको व्यापक विस्तार हुनुपर्छ । यसो भयो भने कलाको विकासले नयाँ गति लिन, फड्को मार्न र प्रगतिको शिखर चुम्न सफल हुन्छ ।
आज कलामा यौटा पुस्ता हुर्कियो होला । तर कलासमीक्षाको पुस्ता पनि साथसाथै हुर्किनु नितान्त आवश्यक छ । कलामा नक्कल होइन नयाँपन स्थापित गर्ने चेष्टामा तल्लीन हुनुपर्छ । काममा परिपक्व सीप हासिल गर्न धेरैभन्दा धेरै काम गर्नु र त्यसमा निरन्तरताको खाँचो पर्छ । यति हुँदा कलामा सुन्दर सिलसिला संयोजित भएको हुनु अति राम्रो हुन्छ ।
हिजोको कला के र कस्तो थियो ? समकालीन कलाले कस्तो किसिमको मोड लिँदैछ ? सिर्जनामा नवीन सोँच, शैली र फरक मौलिकता स्थापित हुँदैछ कि विस्थापित हुँदै गइरहेछ ? जनजीवन, प्रकृति, धर्मदर्शन वा अथवा अन्य के कस्ता विषयमा काम गर्थे ? कस्तो माध्यममा काम हुन्थ्यो र त्यो बेला कलालाई हेर्ने दृष्टिकोण कस्तो थियो ?
यस्ता प्रश्नको उत्तर खोज्न अभिलेखले मद्दत गर्न सक्छ । परन्तु अभिलेखको व्यवस्था नहुँदा इतिहास लेखन केवल कल्पनामा लेख्ने कुरा भएन । अब यी यावत सन्दर्भमा गम्भीर हुनुपर्ने भएको छ । यसमा केही न केही चिन्तन, मनन हुनुपर्ने भएको छ । यसो हुन सक्दा आजको कला विकासको चरणले भोलिका दिनमा कलासिर्जनाले प्रगतिको उचाइ यात्रा हिँडेको दाबी प्रमाणित गर्न सजिलो हुन्छ ।
कलामा पनि समूह र विभाजनको मन र मनःस्थिति अपत्यारिलो किसिमले विकसित भइरहेको छ । कलामा काम गर्नेहरू गरिरहेकै छन् । जसको चर्चा र जसको अभिलेखीकरण गर्नुपर्ने हो ती ओझेलमै छन् । तर जो कामचोर छन्, तिनैको गुणगान गाइने प्रवृत्ति हाबी भइरहेको छ । क्रमशः कलासमीक्षाको पाटो ओझेलिँदै गइरहेको छ । कलामा लेख्नेहरू आज औँलामा गन्न सकिने सङ्ख्यामा पनि छैनन् । यो निकै दुःख लाग्दो कुरा हो । यसरी कलासमीक्षा झन्–झन् ओरालो लाग्दै झरिरहेको छ । यति हुँदा पनि सम्बन्धित कलाकारलाई कुनै चिन्ता छैन ।
विगतको तुलनामा अहिले कला गतिविधिहरू बढिरहेजस्तो देखिन्छ । एकप्रकारले कलाकार र तिनका सिर्जनामा बाढी आएको जस्तो पनि महसुस हुन्छ । तर यथार्थमा कलाकर्मको गहिराइ होइन क्षणिक प्रचारको मोहले कलाको मौलिक पक्ष मर्दै गइरहेको आभास हुन्छ ।
कलाप्रदर्शनीका भीडभाडमा निरीह कलासमीक्षा विचरा बन्न विवश बन्छ । चेपिएर, कोचिएर, निस्सासिएर भुतुभुतु मरिरहेछ कलासमीक्षा । कलाकारकै मनमस्तिष्कमा कलासमीक्षाको महत्व मरिसकेको छ । यसो भएपछि कलाकारको कर्मको मूल्य कसरी अभिलिखित हुन सक्छ ? कसरी कलासमीक्षाले फड्को मार्न सक्छ ?
कलालेखन र कलासिर्जना हातेमालो गरेर हिँड्नुपर्ने हो । सिर्जनासँग लेखनले साथ दिनुपर्ने हो । यसो हुँदा कामको नाम पनि रहने थियो । साथसाथै अभिलेखनको कामसमेत हुने थियो । यही नहुँदा समकालीन कलाको अवस्था मात्र होइन कि विगतको कलाको स्थितिका विषयमा पनि यथार्थ जानकारी मुस्किलले प्राप्त हुन्छ ।
यही कारण हाम्रा कतिपय मूर्धन्य कलाकारहरूको अवसानसँगै उनीहरूका काम र नाम पनि नामेट भइसकेको छ । जसको जिउँदो अवस्थामा नै कुनै चर्चा, चिनारी, पुरस्कार, सम्मान हुँदैन भने मरेपछि झन् कसले खोज्ने, कसले कहिले सम्झिने ? विडम्बना यही छ । नेपाली कलाको नियति यस्तै छ । यही नियति र विडम्बनाका बीच नेपाली कलाको सिर्जना र समीक्षा अत्यन्तै दयनीय रूपबाट गुज्रिँदै गइरहेको छ ।
जिन्दगीभर कलाकर्ममै आफूलाई अर्पण गर्ने हाम्रा कैयौँ कलाकार पुस्ताको नामोनिशाना पनि आज अस्तित्वमा छैन । जसको विषयमा केही लेखौँ न भनी लेख्ने सामग्री खोज्दा केही उपलब्ध हुन सक्दैन । किनभने हामीकहाँ कलाको अभिलेख राख्ने परिपाठी नै विकसित छैन । जहाँ कलाकारका बारे केही लेख्ने प्रवृत्ति छैन भने त्यहाँ कुन कलाकारको, अभिलेख कसरी सुरक्षित रहन सक्छ ?
हिजो त यस्तो स्थिति थियो भने आजको अवस्था पनि त्यस्तै छ । कलालेखनले फड्को मार्न सकेको छैन । कलासमीक्षाको गति सुस्त मात्रै होइन शून्य छ । कलाकारले जतिसुकै काम गरे तापनि त्यसको चर्चा नभएसम्म, त्यसको अभिलेख राखिने परम्पराको थालनी नगरिएसम्म कलाको विकास भएको मान्न कदापि सकिँदैन ।
भोलिका दिनमा कसले, कस्तो, कहिले, कहाँ कलाप्रदर्शनी ग¥यो ? कुन शैली र कुन विषय–शीर्षक र कस्तो सन्देश प्रवाह हुने किसिमले काम गरेको थियो ? वस्तुवादी, यथार्थवादी, परम्परागत, आधुनिक, उत्तरआधुनिक वा अर्मूत कुन शैलीमा कलासिर्जना गरेको थियो ? यी कुरा जान्नका लागि एउटा कुशल कलासमीक्षकले निष्पक्ष मूल्याङ्कन गरेको लेखन हुनु आवश्यक छ । जसले भावी दिनमा पनि कलाको विगत कलखण्डलाई भविष्यमा उल्लेख गर्न भनेजति सामग्री उपलब्ध हुन सक्छ । यही सन्दर्भ सामग्रीको अभावले नेपाली कलालेखन अधुरो र अलमलमा परेको छ ।
वास्तवमा कलासमीक्षाको पाटो हिजोदेखि आजसम्म रुखो र अरुचिकै विधामा पर्दै आइरहेको छ । कलाकारहरू आफैँले कलासमीक्षाको महत्व र आवश्यकतालाई खासै प्राथमिकताको विषयमा नराख्दा यो विधा जसरी फस्टाउनुपर्ने थियो त्यसरी फैलिन, फस्टाउन सकेन । फलतः कलासिर्जनाको धरातलमा पनि यसले नराम्रो प्रभाव पारेको छ । अब पनि यस विषयमा सोँचिएन भने नेपाली कलालेखनमा यसले ठुलो घाटा व्यहोर्नुपर्ने निश्चित छ । त्यो घाटासँगै कलासिर्जना र कलासमीक्षाको दूरी टाढिने र दुस्मनी झन्–झन् बढ्दै जाने पक्का छ ।