फाइनान्सियल टाइम्स बिजनेस बुक अफ दि इयर अवार्डका लागि छोटो सूची जारी गरिएको छ ।

यसअघि पुरस्कार छनोट समितिले लामो सूची जारी गरेको थियो ।

लन्डनमा मुख्य कार्यालय रहेको फाइनान्सियल टाइम्सले ऊर्जाको भूराजनीति, स्वतन्त्र व्यापारको विकास, भेन्चर क्यापिटलको अनुसन्धान, प्रविधि उद्योग तथा व्यापारका अन्य क्षेत्रका बारेमा लेखिएका पुस्तकहरू यस पटकको छोटो सूचीमा परेका छन् ।

फाइनान्सियल टाइम्सकि सम्पादक तथा प्रमुख निर्णायक रौला खालफले सूचीमा पर्न सफल सम्पूर्ण लेखकलाई धन्यवाद दिँदै लेखकहरूको विषयवस्तुमाथिको गहिरो ज्ञान र गहन अनुसन्धानको प्रशंसा गरेकी छन् ।

हरेक वर्ष सयौँ पुस्तकको खातबाट बेस्ट बिजनेस बुकका लागि लामो सूची जारी गर्ने गरिन्छ । कहिलेकाहीँ पुस्तकहरूको संख्या बढी वा घटी भने हुनसक्छ तर लामो सूचीमा १० भन्दा बढी पुस्तक पर्ने गर्छन् । यस पटक १५ वटा पुस्तकहरू परेका थिए ।

यतिबेला भने ६ वटा पुस्तकहरूको छोटो सूची जारी गरिएको छ । ६ मध्येबाट एउटा पुस्तकले ३० हजार पाउन्ड रकमको बुक अफ दि इयर सम्मान प्राप्त गर्ने छ ।

डिसेम्बर ५ मा बुक अफ दि इयर घोषणा गरिनेछ । यो पुरस्कार पहिलो पटक सन् २००५ मा दिन थालिएको थियो । यी ६ पुस्तकले १० हजार डलरको सान्त्वना पुरस्कार हात पार्नेछन् ।

छोटो सूचीका पुस्तकहरू यस प्रकार छन्ः

म्याथ्यु क्याम्पबेल र किट चेलेलको डेड इन द वाटरः मर्डर एन्ड फ्रड इन द वर्ल्ड्स मोस्ट सेक्रेटिभ इन्डस्ट्री
(यो पुस्तकले जहाजबाट संसारभर सामग्री ओसारपोसार गर्ने उद्योग र त्यसमा गरिने लगानीबारे मिहिन रूपमा खोजी गरिएको छ ।)
लुलु चेनको इन्फ्लुएन्स एम्पायरः द स्टोरी अफ टेन्सेन्ट एन्ड चाइनाज् टेक एम्बिसन
(यस पुस्तकले चीनको प्रख्यात प्रविधि कम्पनी टेन्सेन्टको उत्थान र यसको सफलताको कथा साथै यसका विकृतिमाथि टिप्पणी गरेको छ ।)
गेरी गर्स्टलले लेखेको द राइज एन्ड फल अफ नियोलिबरल अर्डरः अमेरिका एन्ड द वर्ल्ड इन द फ्रि मार्केट एरा
(यस पुस्तकले स्वतन्त्र बजार र व्यापारले २० औँ शताब्दीमा के कसरी काम गरेको थियो र अहिलेसम्म आइपुग्दा के भयो भन्ने विषयमा टिप्पणी गरेको छ ।)
सबास्टियन मालाबाईको द पावर लः भेन्चर क्यापिटल एन्ड द आर्ट अफ डिसरप्सन
(यस पुस्तकमा अमेरिकाको सिलिकन भ्यालीमा भेन्चर क्यापिटल सञ्चालकहरूले कसरी सफलता हात पारिरहेका छन्, त्यसको मूलमा केले काम गरिरहेको छ भन्नेबारे खोजपडताल गरिएको छ ।)
क्रिस मिलरको चिप वारः द फाइट फर द वर्ल्ड्स मोस्ट क्रिटिकल टेक्नोलजी
(यस पुस्तकले हाम्रा सारा प्रविधिका उपकरणहरूमा प्रयोग हुने सेमिकन्डक्टरहरू उत्पादन गर्ने सीमित कम्पनीले कसरी संसारलाई अप्ठेरोमा पारिरहेका छन्, यसको प्रभाव हामीले कसरी झेलिरहेका छौँ भन्नेबारे प्रस्टसँग देखाएको छ ।)
हेलेन थम्सनको डिसअर्डरः हार्ड टाइम्स इन् द ट्वेन्टीफस्ट सेन्चुरी
(यस पुस्तकले पछिल्लो समय हामीले भोगिरहेको ऊर्जा सङ्कट, पेट्रोलको दामको उठापटक आदिका बारेमा विस्तारमा बताएको छ ।)