
विलियम सेक्सपियरका नाटकहरू अध्ययन गर्दा त्यसमा केही घरेलु उपचारका विभिन्न विधिहरू पनि बताइएको पाइन्छ । खासगरी अ मिडसमर नाइट्स ड्रिम नाटकमा टिटानिया नामक पात्रको आँखा जाँच गरेपछि जे उपचारविधि बताइन्छ, त्यो के थियो ? यसबारेमा अध्ययन गर्नेतर्फ सेक्सपियर बर्थप्लेस ट्रस्ट (एसबिटी)ले ठूलो रकम छुट्याएको छ ।
अझ एसबिटीले त उनले उनका कवितामा व्यक्त गरेका भावना, फूल तथा बगैँचाका प्रसंगहरूलाई स्टार्ट‑ओभनस्थित उनको घरमा जीवन्त तुल्याउने प्रयास पनि थालेको छ । उनको सो घरमा यस्तो बगैँचा बनाउने प्रयास गरिदैछ, जुन उनका नाटकमा अभिव्यक्त भएका छन् । यसैगरी, घरेलु उपचारका लागि उपयोग गरिने जुन जडीबुटी छन्, तिनलाई पनि त्यो बगैँचामा उत्पादन गर्नेतर्फ एसबिटीले ध्यान दिन थालेको छ ।
यस किसिमको बगैँचाका लागि संस्थाले तीन लाख पाउन्डको प्रोजेक्ट बनाइएको छ । यो बगैँचा एक वर्षभित्र तयार हुने र सर्वसाधारणका लागि खुला गरिने बताइएको छ ।
सेक्सपियरकी जेठी छोरी सुजाना र ज्वाइँ जोन हलले १७ औँ शताब्दीमा बनेको घरमा सेक्सपियरको निधनपछि सम्हालेका थिए । त्यहाँ उनीहरूले आकर्षक बगैँचा बनाएको, बगैँचामा निकै जडिबुटीहरू रोपेको जोन हलले एउटा किताबमा उल्लेख गरेका छन् । जोनले ल्याटिन भाषामा उक्त पुस्तक लेखेका थिए । हालै सो पुस्तकलाई अनुवाद गरिएको छ । पुस्तकलाई जोनले सन् १६११ देखि १६३५ का बीचमा लेखेको हुनसक्ने बताइएको छ । पुस्तकमा विभिन्न रोगीका १७८ किसिमका लक्षण र घटनाहरू दर्ता गरिएका छन् ।
डाक्टर हलले त्यो बेला क्याम्ब्रिजस्थित क्विन्स कलेजबाट चिकित्सा शिक्षा हासिल गरेका थिए । खासगरी उनले घरेलु चिकित्सा अध्ययन गरेका थिए । उनले आफ्नो पुस्तकमा अधिकांश कब्जियत, अवशाद तथा अनिद्राका समस्याहरू समाधान गरेको पुस्तकमा देखिन्छ । उनले गाउँले महिलाको प्रसूतिसमेत गराएको देखिन्छ ।
सेक्सपियरकी छोरी सुजानामा ढाडको बिराम तथा अवशादका लक्षणहरू देखिएको अध्ययनलाई अगुवाई गरिरहेकी डा. एलिसा ग्रान्ट फर्गुसनले बताएकी छन् ।
उनले सेक्सपियरको यो बगैँचामा त्यो बेला डा. हलले उपयोगमा ल्याउने गरेका कतिपय घरेलु उपचारका लागि प्रयोग हुने जडिबुटीसमेत रोपिने बताएकी छन् ।
सेक्सपियरका तीन सन्तान थिए । छोरी जुडिथ र छोरा ह्यामनेट जुम्ल्याहा थिए । छोरा ह्यामनेटको ११ वर्षको उमेरमा नजिकैको पोखरीमा डुबेर मृत्यु भएको थियो । जुडिथले ७५ वर्ष लामो जीवन पाएकी थिइन् ।
सुजानाले भने १६०७ मा डा. हलसँग बिहे गरेकी थिइन् । उनले एलिजाबेथ नामक छोरी जन्माएकी थिइन् । सुजानाको निधन १६४९ मा भएको थियो ।
एसबिटीका प्रमुख अनुसन्धानकर्मी डा. पल एडमन्डसन भन्छन्, ‘विलिमय र उनकी पत्नी एनको सुन्दर बगैँचा थियो । तिनको घरलाई उनकी जेठी छोरीले अझ सुन्दर बनाएकी थिइन् । सुजान बरोबर बिरामी भइरहने हुनाले उनको उपचारका लागि बगैँचाले भूमिका खेलेको थियो । यसलाई ब्युँताउनु खुसीको कुरा हो ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









