अध्याय चार
त्यो बूढो थियो, उनीहरू जवान नै थिए । त्यसको जिउमा हाड-छाला मात्र थियो उनीहरूको शरीर हृष्टपुष्ट थियो । त्यो निराश थियो, उनीहरूमा उत्साह र उमङ्ग थियो । छोटकरीमा भन्ने हो भने त्यो पराई थियो, अमिल्दो थियो, एकदमै अर्कै खालको थियो, त्यसैले उनीहरूको दयाको पात्र हुन सक्दैनथ्यो । घोडाहरू केवल आफूप्रति मात्र दयाभाव राख्छन् र यदि कहिलेकाही उनीहरूको मनमा दयाको भाव उव्जन्छ भने पनि त्यो तिनैको प्रति मात्र हुन्छ जसलाई उनीहरू आफ्नै स्थितिमा पाउँछन् । जे होस् , टाटेपाङरे घोडा बूढो, दुब्लो र करुप हुनुमा उसको के दोष ?..अवश्यमेव उसको कुनै दोष थिएन । तर ती घोडाहरू चाहिं उसैको दोष ठान्थे । आखिर जहिले पनि तिनीहरू नै सही निक्लन्थे जो बलिया थिए, तरुना थिए र सुन्दर थिए, जो आफ्नो भविष्य उज्ज्वल देख्नेगर्थे, हलुका उत्तेजनाले पनि जसको मस्सल थर्कन लाग्थ्यो र पुच्छर पनि ठाडो भैहाल्थ्यो । सके टाटेपाङरे घोडालाई पनि यसको बोध थियो । जब उसको मन शान्त हुन्थ्यो त्यतिखेर ऊ के कुरा स्वीकार गर्दो होला भने आफ्नो सारा जीवन गुजारिसकेकोमा दोष त आखिर उसैको हो । यस दोषको सजाय भोग्न पनि उ तैयार भैहाल्थ्यो । तर ऊ आखिर घोडा न ठहरियो । त्यसैले अहिले आफूलाई बिनामतलब सताइरहेका ती जवान घोडाहरूले पनि भविष्यमा जीवनको अन्त्यतिर यस्तै कुरा देख्नुपर्नेछ भन्ने सोचेर ऊ हेलाँ, खिन्नता र क्षोभको भाव प्रायः रोक्नै सक्दैनथ्यो । घोडाहरूको यस्तो निर्दयताको कारण त कुलीनताको भावना नै थियो । प्रत्येक घोडाको आफ्नै वंश-परम्परा थियो र हरेकले आफूलाई बाबुको तर्फबाट नभए आमाकै तर्फबाट पनि विख्यात स्मेतान्कालाई नै आफ्नो पूर्वज मान्थ्यो । परन्तु बूढो टाटेपाङरे घोडा चाहिँ कुन वंशको हो सो कसैलाई अत्तोपत्तो नै थिएन । तीन साल अघि एउटा मेलामा अस्सी रुबल दिएर त्यसलाई किनिएको थियो ।

कैली घोडी बिस्तारै टहल्दै टाटेपाङरे घोडाको नजिकै आई र बेवास्ताको भावले उसलाई धक्का दिएर हिंडिहाली । टाटेपाङरे घोडालाई यस्तै हुनेछ भन्ने थाहा नभएको होइन । आँखासम्म पनि नखोलेर उसले कान निहुरायो र ङिच्च दाँत देखायो । घोडीले उसतर्फ पीठ फर्काई र उसमाथि दुई लात बजार्न ठिक्क परेको जस्तो गरी । यत्तिकैमा टाटेपाङरे घोडाले आँखा खोल्यो र सुरुक्क एकातिर पन्छिदियो । उसको निद्रा त कता हरायो कता ! ऊ चूपचाप घाँस चर्न थाल्यो । चकचके घोडी चाहिं आफ्ना संगिनीहरूलाई समेत बटुलेर फेरि नखरा गर्दै उसको बगलमा आइपुगी । त्यसै बथानमा दुई वर्ष जतिको एउटी खल्वाट मूर्ख घोडी पनि थिई । ऊ जुन कुरामा पनि कैली घोडीकै नक्कल गर्थी । परन्तु सबै नक्कलीहरूको जस्तै उसको नक्कलमा पनि कुनै तालमेल हुँदैनथ्यो । जब कैली घोडी जिस्क्याउन भनेर आउँथी, त्यतिखेर ऊ टाटेपाङरे घोडाको अगिल्तिरबाटै गजक्क परेर हिंड्थी, मानौं कुनै काममा गइरहेकी होस्‌ ! उसतर्फ त टेढो आँखाले समेत हेर्दैनथी ऊ ! यसले गर्दा बूढो घोडाले आफू रिसाउनुपर्ने हो वा होइन भन्ने समेत अड्कल काट्न पाउँदैनथ्यो । यो वास्तवमा ज्यादै हाँसउठ्दो हुन्थ्यो । यसपल्ट पनि कैली घोडीले यस्तै गर्न खोजेकी थिई । तर खल्वाट घोडी, जो उसको पछि पछि हिंड्दै थिई, जिस्क्याउन आतुर भैसकेकी थिई । ऊ सरासर अगाडि लम्किई र टाटेपाङरे घोडालाई एक घुस्सा चखाएर हिंडिहाली । बढो घोडा बेसरी करायो, उसले फेरि ङिच्च दाँत देखायो र दौडेर उसके पुठ्ठामा दाँत गाडिदियो । ऊ यस्तो विधि जङ्गिनेछ भन्ने त आशा नै गर्न सक्दैनथ्यो । खल्वाट घोडीले उसको फक्क उठेका करङमा सोझै दुई लात दिई । यसले गर्दा त्यो बूढो टाटेपाङरे घोडाले चित्कार गर्यो । ऊ त्यसको पछिल्तिर दगुर्न चाहन्थ्यो, तर यसबाट कुनै लाभ हुने नदेखेर उसले आफ्नो विचार फेर्यो । ऊ लामो सास तान्दै एकातिर पन्छियो । सके बथानका सबै जवान घोडाहरूले यसको बदला लिने सुर कसे क्या रे ! बूढो टाटेपाङरे खवाल्ट घोडीमाथि जाइलाग्ने आँट नै कसरी गर्न सक्थ्यो ? जवान घोडाहरूले उसलाई कतिसम्म सताए भने उसले त्यस दिनभरी घाँसको एक त्यान्द्रो पनि पेटमा हाल्नै पाएन । कतिपल्ट त घोडा-गोठालोले उनीहरूलाई खेदैर धपाइ समेत दिएको थियो । किन उनीहरू बूढो घोडालाई पिर्दैछन्‌ भन्ने त उसले बुझ्नै सकेको होइन । बूढो घोडो कतिसम्म हैरान भैसकेको थियो भने, घर फर्कने बेला हुन लाग्दा नलाग्दै उ स्वयं नै नेस्तेरको छेउमा पुगिहाल्यो । उसमाथि काठ कैसियो (घोडा-गोठालो पनि त्यसमा सवार भयो, त्यतिखेर उसले हाइसन्चो अनुभव गर्यो ।

बूढा नेस्तेरलाई आफ्नो पिठ्यूँमा बोकेर त्यो बूढो टाटे-पाङरे घोडा घरतर्फ जाँदैथियो । त्यतिखेर घोडाको मनमा के कस्ता तर्कनाहरू उठिरहेका हुँदा हुन्‌ ? खै, कसलाई के थाहा र ? सके बैंसमा घोडाहरू बडा निर्दयी हुन्छन्‌ भन्ने ऊ सोच्दैथियो होला ! अथवा आफूलाई बेफ्वाँकमा सताउनेहरूलाई पनि सके उसले माफी दिइसकेको होला ! बूढापाकाहरूको बानी यस्तै त हुन्छ ! जे होस्‌, एक गर्वपूर्ण तर मौन भर्त्सनाको भावना चाहिँ उनीहरूप्रति उसको मनभित्र अवश्य नै हुँदो हो । जस्तोसुकै तर्कवितर्क किन नगरेको होस्‌ उसले, तर तबेलामा नपुगुञ्जेलसम्म नै उसले आफ्नो मनको विचार कुनै किसिमबाट पनि प्रकट गरेन ।

त्यस साँझ नेस्तेरका केही इष्टमित्रहरू उसलाई भेट्न भनेर आएका थिए । घोडाको बथानलाई धपाउँदै ऊ हरूवाचरुवाहरूका कटेराहरू नजिकैबाट गुज्रेर मात्र के जान लागेको थियो, आफ्नो घरबाहिर मूलढोकैनेर एउटा गाडा र त्यसलाई तान्ने घोडा पनि त्यहाँ बाँधिएको उसले देखिहाल्यो । ऊ घर पुग्न हतारिएको थियो, त्यसैले तबेलामा पुग्नेबित्तिकै टाटेपाङरे घोडालाई उसले जस्ताको तस्तै छोडिदियो र भास्कालाई त्यसको काँठी-साँठी फुकाल्न अह्रायो । हतपत तबेलाको ढोका थुनेर ऊ सरासर आफ्ना इष्टमित्रहरूलाई भेटन घरतिर हिंडि पनि हाल्यो ।

त्यस रात तबेलामा एक अनौठो घट्ना घट्यो । स्मेतान्काकी पनातिनी साइनो पर्ने त्यस खल्वाट घोडीको अपमान हुन जानु नै सके यसको मूल कारण हुँदो हो । मतलब, सारा घोडा-बथानकै त्यस दिन मानहानि हुन गएको ठानियो क्यारे ! त्यो पनि यस्तो “लुते टट्टू” को तर्फबाट मानहानि भएको थियो जो मेलामा किनिएको थियो- न आमाको अत्तोपत्तो थियो, न त बाबुकै ठेगान ! अथवा के पनि हुन सक्छ भने पिठ्यूँमा कुनै सवारबेगर अग्लो काँठी बाधिएको त्यो टाटेपाङरे घोडा एउटा विचित्रको तमाशा बन्न पुगेको थियो । के साना, के ठूला सबै घोडाहरू तीखा दाँत ङिच्च देखाउँदै त्यस टाटेपाङरे घोडाको पीछा गर्न लागिहाले । कुनै बेला त्यो एकतर्फ भाग्थ्यो त कुनै बेला अर्कोतर्फ । उसका ख्याउटे ढाडमा पटापट खुर बजारिन थाले र ऊ पीडाले गर्दा चित्कार गर्न लाग्यो । घोडाले यस्तो सास्ती खप्नै सकेन, न त आफूमाथि धमाधम परिरहेको मार नै रोक्न सक्यो । ऊ एकाएक तबेलाको बीचमा टक्क रोकियो । उसको अनुहारमा पहिले दुर्बल बुढेसकालको झर्कोलाग्दो हलुका क्रोध झल्कियो, त्यसपछि गहिरो निराशाको भाव छायो । उसले कान झुकायो र सहसा एउटा यस्तो कुरा गर्यो जसले गर्दा साराका सारा घोडाहरू जहाँको त्यही नै एकाएक टक्क अडिए । भ्याजोपुरिखा भन्ने एउटी जेठीपाकी घोडी उसको बगलमा आइपुगी । उसले टाटेपाङरे बूढो घोडालाई सुँघी र लामो सास फेरि । टाटेपाडरे घोडाले पनि लामो सुस्केरा हाल्यो ।