रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

 

पहलमान

इरानको काजिम नाम गरेको शहरमा एक जना पहलमान थिए । उनले आफ्नो शहर वरिपरिका सबैजसो कुस्ती प्रतियोगितामा विजयी भएर नाम कमाएका थिए । त्यस क्षेत्रका सबै पहलमानलाई हराइसकेकाले उनी आफूलाई सर्वशक्तिमान सम्झन्थे । यसै कारण उनमा घमण्डको बीउ रोपिएको थियो ।

एकदिन शौचालयमा पहलमानले प्राचीन जमानाको पहलमानको तस्बिर देखे । त्यो तस्बिर ती पहलमानको आदर्श व्यक्ति पनि थिए । ती प्राचीन पहलमानको हातमा सिंहको ट्याटू कुँदिएको थियो, जो साहस र शक्तिको प्रतीक थियो । यो देखेर उसले सोच्यो, `मैले सबै प्रतिद्वन्द्विलाई अखाडामा हराइसकेको छु । म पनि अब सिंह अंकित छाप आफ्नो हातमा खोपाउँछु । जसले मलाई इरानको सर्वोत्कृष्ट पहलमानमा गिन्ती गराउने छ ।´

शहरको नामी ट्याटू हान्ने कालिगढको खोजीमा उनी निस्किए । अन्ततः एक प्रसिद्ध ट्याटू खोपाउने व्यक्ति कहाँ उनी पुगिछाडे । तर ट्याटू खोपाउन आउनेलाई ट्याटू कालिगढको शर्त थियो कि जस्तोसुकै पीडा पनि सहन सक्नु पर्नेछ ।

पहलमानले भन्यो, `यो पीडा त केही पनि होइन । सहन सकिहाल्छु नि ! बरू मेरो पिठ्युँमा सिंहको ट्याटू खोपिदेऊ ।´

ट्याटू कालिगढले सुईलाई तताएर पिठ्युँमा खोप्न थाल्यो ।

पहलवान आत्तिएर चिच्याउन थाल्यो, `के गर्दै छौ ? असह्य पीडा भयो ।´

`तिमीले नै त भनेका हौ नि ! पिठ्युँमा सिंहको ट्याटू खोपाइदेऊ, त्यहीँ गर्दैछु ।´

`यो कस्तो खोपाई हो । यति धेरै पीडा भइरहेको छ । सिंहको कुन हिस्सा बनाउँदै छौ ?´

`पुच्छर बनाउँदै छु ।´

`म पुच्छर बिनाको सिंह बनाउन चाहन्छु । त्यसको पुच्छर हात्तीसँगको द्वन्द्वमा काटिएको थियो ।´

यो कुरा ट्याटू कालिगढलाई मन परेन किनभने यसले कलाको सौन्दर्यलाई छायाँमा पार्ने थियो । मन मारेर कालिगढले सिंहको दोस्रो हिस्सा खोप्न थाल्यो ।

पहलमान पीडाले फेरि चिच्याउन थाल्यो, `ऐया ! अब फेरि के बनाउँदै छौ ?´

`सिंहको पेट बनाउँदै छु ।´

`पेटसेट छाड, अरु कुनै हिस्सा बनाऊ ।´

यो सुनेर ट्याटू कालिगढलाई रिस उठयो, `आजसम्म कसैले पनि पुच्छर र पेट बिनाको सिंह देखेको छ र ? यति जाबो सुईको पीडा सहन सक्दैनौ भने कसरी आफूलाई सर्वश्रेष्ठ पहलमान भन्छौ हँ ?´

मूल कथा: रूमी
भावानुवाद: जनक कार्की