
परिच्छेद २१
रोस्तोभ परिवारमा जुन बेला क्लान्त सङ्गीतकार /वाद्यवादकहरूको बेसुरा धुनका साथ छैठौँ आङ्लेज नाच चलिरहेको थियो र थकाइले ग्रस्त नोकर तथा भान्छेहरू खाना खान लाग्दै थिए, काउन्टको मुटु छैठौँ पटक हान्यो । डाक्टरहरूले बिरामी बाँच्ने आशा छैन भन्ने जवाफ दिए । एक छिनको मौनतापछि मरणासन्न बिरामीको पाप कटाउने इत्यादि रीतिरिवाज तथा धार्मिक अनुष्ठान सम्पन्न गरियो । उनको शरीरमा तेल लगाउने अन्तिम धार्मिक संस्कारको तयारी गरिन लाग्यो र जस्तै कि यस्तो अवस्थामा हुने गर्छ, घरमा चटारो चलिरहेको थियो र सम्पूर्ण वातावरण यस्तो भएको थियो कि एकछिनपछि त्यहाँ के हुनेवाला छ कसैलाई थाहा थिएन । घरबाहिर, ढोकापछाडि यहाँ आउने बग्गीहरूका अगाडि आफ्नो मुख लुकाउँदै काउन्टको काजक्रिया खर्चिलो किसिमले गर्ने आशा गर्दै त्यसको व्यवस्थापन गर्ने मानिसहरूको एउटा भीडले पर्खिरहेको थियो । मस्कोको सैनिक प्रशासक, जो काउन्टको स्वास्थ्यस्थिति बुझ्न तदारुकतासाथ आफ्नो पार्श्ववर्तीलाई पठाइरहन्थ्यो, सम्राज्ञी क्याथरिनको दरबारका भारदार काउन्ट बेजुकोभलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न त्यो रात स्वयम् उपस्थित भएको थियो।
भव्य स्वागतकक्ष मानिसहरूले भरिभराउ थियो । मृत्युशैयामा रहेका मानिससँग उसको कोठामा आधा घन्टा जति एक्लै बसेपछि सैनिक,प्रशासक, डाक्टर, पादरी, र परिवारका सदस्यहरूका आफूतर्फ पर्ने आँखा छल्दै उनीहरुको अभिवादनको प्रत्युत्तरस्वरूप विस्तारै शिर झुकाउँदै बाहिर निस्क्यो । राजकुमार भासिली, जो गत केही दिनदेखि दुब्लाएर पहँलो भएको थियो, मसिनो स्वरमा केही कुरा धेरै पटक दोहोर्याउँदै उसलाई ढोकासम्म पुर्याउन गयो ।
सैनिक प्रशासक बिदा भएपछि, राजकुमार भासिलीले उपर्खुट्टी लगाउँदै कृहिनाले घुडाँमा टेक्यो, हातले मुख छोपेर हलमा गएर एक्लै एउटा कुर्सीमा बस्यो । यसरी बसेको एकैछिनपछि ऊ उठ्यो र डराइडराई यताउति हेर्दै, छिटोछिटो हिँडेर, जो उसका लागि सामान्य कुरा थिएन, ढोकापछाडितिर लाग्ने लामो बरण्डाहुँदै सबभन्दा जेठी राजकुमारीको कोठामा गयो ।
मधुरो बत्ती बलिरहेको प्रतीक्षालयमा बसेका मानिसहरू आत्तिँदै कानेखुसी गर्दै आपसमा कुरा गर्थे । मृत्युशैयामा सुतेका मानिसको कोठामा भित्रबाहिर गर्ने मानिसहरू खोल्नेबित्तिकै कर्रर अवाज गर्ने ढोकामा पुग्नेबित्तिकै चुपचाप लाग्थे र उत्सुकता र अपेक्षापूर्वक त्यतातिर हेर्थे ।
“मानवजीवनको एउटा सीमा हुन्छ यसलाई टार्न सकिँदैन,” एकजना बुढा पादरीले आफूसँगै बसेकी एउटी महिलालाई भन्यो, जो सरलतापूर्वक उसका कुरा सुनिरहेकी थिई ।
“होइन, मेरो विचारमा अन्तिम धार्मिक संस्कार गर्ने, बेला भएन र ?” पादरीको सम्मानसूचक उपाधि जोड्दै महिलाले उसलाई सोधी, मानौँ यस विषयमा उसको आफ्नो निजी विचारधारा केही नभएको होस् ।
“ओहो ! यो त एउटा महान् संस्कार हो नि, महाशया,” आफ्नो खुइलिएको तालुवरिपरि पछाडिपट्टि कोरेका तिलचामले कपालका रौँ सहलाउँदै पादरीले जवाफ दियो।
“को हो त्यो ? सैनिक प्रशासक त होइन ?” कोठाको अर्कोपट्टि सोझिंदै थियो, “कति भर्खरको देखिने हगि ।”
“हो, उनी सत्तरी पुग्न लागिसके । काउन्टले मान्छे चिन्न छोडिसके भनेको सुन्छु म त । उनीहरू अन्तिम धार्मिक संस्कार सम्पन्न गर्न चाहन्थे ।”
“मलाई थाहा छ, एक जना मानिसको सात पटकसम्म अन्तिम धार्मिक संस्कार सम्पन्न गरिएको थियो ।”
माहिली राजकुमारी बिरामीको कोठाबाट बाहिर निस्की । रुँदारूँदा उसका आँखा राता भएका थिए । उ डाक्टर लोरेनसँग गएर बसी जो सम्राज्ञी क्याथरिनको तस्वीरमुनि एउटा कुर्सीमा कूहिनाले टेकेर गम्भीर मुद्रामा बसेको थियो ।
“असाध्य राम्रो,” मौसमका बारेमा कुरा चल्दा डाक्टरले भन्यो । “मौसम एकदम राम्रो छ राजकुमारी, फेरि मस्को बस्दा त मान्छेलाई एउटा गाउँमा बसेजस्तै लाग्छ ।”
“सही कुरा हो,” राजकुरमारीले लामो सास फेर्दै जवाफ दिई । “काउन्टलाई केही तरल पदार्थ पिलाउन हुन्छ त?”
डा. लारेन घोरियो ।
दवाइ ख्वाइदिएको हो ?
“हो,ख्वाइदिएको हो ।”
डाक्टरले आफ्नो नाडीको घडी हेर्यो ।
“एक गिलास उमालेको पानीमा एक चिम्टी टार्टर क्रीम मिसाएर पिलाइ दिनू……… ” (आफ्ना पातला औँलाले चिम्टी भनेको कति भनेर देखाउँदै )
“यस्तो त कहिल्यै भएको थिएन,” जर्मनेली डाक्टरले रसियाली शब्दको गलत उच्चारण गर्दै आफ्नो सहयोगीलाई भन्दै थियो, “मलाई त तेस्रो घातपछि कुनै मानिस बाँचेको थाहा छैन ।”
“कस्ता जब्बर मानिस रहेछन्,” सहयोगीले पनि प्रतिबद्धता जनायो । “उसको त्यत्रो सम्पत्ति कसले खाने होला ?” कानेखुसी गर्दै उसले थप्यो ।
“माग्ने र आश गर्नेहरूको केही कमी छैन,” जर्मनेली डाक्टरले मुस्कुराउँदै जवाफ दियो ।
त्यहाँ उपस्थित प्रत्येकले ढोकातिर हेरे, जुन ढोका डाक्टर लोरेनको निर्देशनबमोजिम तयार पारिएको पेय लिएर माहिली राजकुमारी भित्र पस्दा कर्याक्क गर्यो । जर्मनेली डाक्टर डा.लोरेनसँग गयो ।
“तिम्रो विचारमा उनी भोलि बिहानसम्म बाँच्लान् ?” जर्मनेली डाक्टरले डा. लोरेनलाई भद्दा किसिमले फ्रान्सेली भाषामा सोध्यो ।
लोरेनले, ओँठ लेप्य्राउँदै नकारात्मक अर्थमा औँलाले नाक चलायो ।
“आजको रात कट्दैन होला,” उसले सानो स्वरमा भन्यो र स्थितिलाई राम्रोसँग बुझ्न र बिरामीको अवस्था विश्लेषण गर्न सक्षम भएकोमा अनुहारमा आत्मसन्तोषका साथ शिष्ट मुस्कान भर्दै ऊ एकातिर लाग्यो ।
त्यही बेला राजकुमार भासिलीले माहिली राजकुमारीको कोठाको ढोका खोल्यो ।
कोठा अँध्यारो अँध्यारो थियो । देवी देवताका प्रतिमाअगाडि दुइटा बत्ती बलिरहेका थिए र धूपबत्ती र फूलहरूको सुगन्ध चारैतिर फैलिरहेको थियो । सानासाना दराज र कुर्सीहरूले कोठा पूरै भरिएको थियो । पर्दा पछाडि अग्लो र सेता प्वाँखको बिछ्यौना लागेको पलङमा एउटा सिरक देखिन्थ्यो ।
एउटा सानो फुच्चे कुकुर ह्याउह्याउ गर्दै भुक्न लाग्यो ।
“ओहो, दाइ तपाईं आउनु भएको ?”
राजकुमारी उठी र आफ्नो कपाल मिलाई, जो सदाझैँ यति बिघ्न नरम चिप्लो र टास्सिएको थियो कि मानौँ त्यो उसको शिरसँग एउटै टुक्राले- बनेको होस् र त्यसमाथि पालिस लगाइएको होस् ।
“कतै केही त भएन ?” उसले सोधी । “म त असाध्यै डराएकी छु ।”
“होइन, त्यस्तो खास फरक केही छैन । म त तिमीसँग केही कामका कुरा गर्न आएको हुँ,” कति थाकेर लखतरान भएका राजकुमारले राजकुमारीसँग क्याथरिनले खाली गरेको कुर्सीमा बस्दै भन्यो । “तिमीले कुर्सी एकदम तातो पारेकी रहिछौ भन्नै पर्यो” उसले भन्यो । खैर, ठीकै छ, यहाँ आएर बस, केही कुरा गरौँ ।”
“मैले त कतै केही त भएन भन्ने पो सोचेँ ?” राजकुमारीले भनी र त्यसपछि आफ्नो अनुहार सधैँझै कठोर र भावहीन बनाउँदै राजकुमारको कुरा सुन्न तयार भई र उसको अगाडि आएर बसी ।
“मलाई सुत्न मन लागेको थियो, दाइ हजूर तर सुत्न सकिनँ ।”
“त्यसो भए मेरी प्यारी बहिनी’?” राजकुमार भासिलीले राजकुमारीका हात, आफ्नो हातमा लिएर आफ्नो आदतअनुसार तलतिर झुकाउँदै भने ।
यो स्पष्ट थियो कि यो “त्यसो भए” भन्ने शब्दको धेरै कुरामा सम्बन्ध थियो, जो उल्लेख गर्दै नगरे पनि उनीहरू दुवै दाजु-बहिनीले बुझेका थिए ।
सोझो र दह्रो तथा उसका लामालामा खुट्टाको दाँजोमा नमिल्दो खालको शरीर भएकी राजकुमारीले बाहिरतिर निक्लेका उसका कुइरा आँखाले भावशून्य अवस्थामा राजकुमार भासिलीलाई सोझै हेरिरहेकी थिई । उसले टाउको हल्लाई र लामो सास फेर्दै देवीदेवताका प्रतिमाहरूमा आँखा लगाई । यस प्रकारको उसको अभिव्यक्तिलाई दुःख र श्रद्धा तथा थकाई र शीघ्र विश्वामको आशाको अभिव्यक्ति मान्न सकिन्थ्यो । राजकुमारले यसलाई थकाईको अभिव्यक्तिका अर्थमा लियो ।
“मेरो कुरा के गरौँ ?” उसले भन्यो, “मलाई खूब सजिलो छ भन्ने ठानेकी छौ तिमीले तर मेरो अवस्था त डाकबग्गीको घोडाको जस्तो छ तैपनि मैले तिमीसँग कुरा गर्नै पर्छ कतिस र कुरा ज्यादै गहिरो छ ।”
राजकुमारे भासिली चुप लागे र उत्तेजित, हुँदै घरी दायाँ र घरी बायाँ हातले आफ्नो गाला तान्न थाले, जसले गर्दा “उनको अनुहारमा यस्तो अप्रिय भाव उत्पन्न भयो कि बैठक कोठामा मान्छेहरूसँग बस्दा यस्तो भएको कहिल्यै देखिदैनथ्यो । उनका आँखा पनि पहिले जस्ता देखिदैनथे । उनका आँखामा घरी उपहासजनक निर्लज्जता झल्कन्थ्यो भने घरी उनी भयभीत भएर यताउति हेर्ने गर्थे ।
राजकुमारी आफ्ना मसिना र सुललित हातले आफ्नो सानो कुकुरलाई काखमा राखेर राजकुमार भासिलीका आँखामा एक टक लगाएर हेरिरहिथी र यस्तो लाग्थ्यो भोलि बिहानसम्म पर्खन परे पनि यो मौनतालाई उसले भङ्ग गर्ने छैन ।
“कुरा बुझ्यौ प्यारी बहिनी ? राजकुमारी क्याथरिन सेमेनोभ्ना,” राजकुमार भासिलीले आफ्नो कुरा-चालु राख्यो र यसो गर्दा सम्भवत: उसलाई पनि आन्तरिक सङ्घर्ष गर्न परको थियौ, “यस्तो अवस्थामा हरेक काम कुरा धेरै राम्रोसँग सोच-विचार गरेर सम्पन्न गर्नु पर्छ । तिमीहरू तिनै बहिनीले भविष्यका बारेमा सोच्नु पर्छ … । तिमीलाई थाहै होला, म तिमीहरू तिनै बहिनीलाई आफ्नै छोराछोरीलाई जत्तिकै माया गर्छु ।”
राजकुमारीले पहिलेजस्तै राजकुमार भासिलीलाई एक डेग नचलेर गतिहीन दृष्टिले हेरी रही ।
“र त्यसपछि मैले आफ्नो परिवारका बारेमा पनि सोच्नै पर्छ,” उसले झर्कदै राजकुमारीतर्फ हेर्दै नहेरी आफूअगाडि राखेको सानो कुर्सी झन् अगाडि सार्दै भन्न थाल्यो । “तिमीलार्इ थाहा छ , कतिश ? हामीहरू तिमीहरू तीन बहीनी , मामान्टोभ र मेरी श्रीमती मात्र काउन्टका प्रत्यक्ष उत्तराधिकारी हौँ । मलार्इ थाहा छ, मलार्इ थाहा छ, यस्ता विषयमा कूरा गर्नु र सोच-विचार गर्नु तिम्रा लागि कति गाह्रो छ । मेरा लागि पनि यो कुरा सजिलो छैन । तर प्रिय बहिनी म साठि वर्ष पुग्न लागि सकेँ र, म जस्तो समस्या आइपरे पनि झेल्न तयार रहनु पर्छ । तिमीलाई थाहा छ, मैले पियेरेलाई पनि बोलाउन पठाएको छु ? किनभने काउन्टले उसको छविचित्रतर्फ सङ्केत गर्दै उसलाई आफूसँग कुनै हालतमा पनि बोलाइदिने माग गरेका छन् ।”
राजकुमार भासिलीले राजकुमारीलाई प्रश्नवाचक दृष्टिले हेर्यो, तर उसले आफ्नो कुराको अर्थ बुझेर हो वा आफूलाई त्यत्तिकै हेरिरहेकी हो यसै भन्न सकेन ।
“म भगवानसँग एउटा प्रार्थना गरिरहेकी छु, दाइ हजूर,” राजकुमारीले उत्तर दिई, कि उनले काउन्टप्रति दया गरुन् र उनको शुद्ध आत्मालाई शान्तिसँग यस संसारबाट बिदा हुन दिउन् …।”
“तिमीले भनेको ठिक हो,” राजकुमार भासिलीले आफ्नो खल्वाट टाउको मल्दै र एकछिन अगि अगाडितिर धकेलेको कुर्सी रिसले पुनः आफूतिर तान्दै अधैर्यतापूर्वक भन्न थाले । तर अवस्था यस्तो छ, खुद तिमीलाई नै थाहा छ, काउन्टले गएको जाडोमा लेखेको इच्छापत्रबमोजिम उनको सारा सम्पत्ति हामी प्रत्यक्ष हकवालाहरूलाई नदिएर पियेरेलाई दिएका छन् ।
“यस्तो बकसपत्रले केही नाप्दैन” राजकुमारीले शान्त हुँदै जवाफ दिई । “तर उनले आफ्नो सम्पत्ति पियेरेलाई दिन मिल्दैन । ऊ त उनको अवैध छोरा हो ।”
“सुन, प्यारी बहिनी,” त्यो सानो कुर्सी समाउँदै, झन् उत्तेजित हुँदै र झन् छिटोछिटो बोल्दै राजकुमार भासिलीले भन्यो, “काउन्टले पियेरेको वैधानिकता दिलाउन सम्राटसमक्ष पेश गरेको निवेदनको परिणाम के हुन्छनि ? तिमीलाई थाहा छ, काउन्टले आजीवन दरबारको सेवा गरेको हुँदा उनको प्रार्थना अवश्य स्वीकार गरिनेछ ।”
राजकुमारी यसरी मुस्कुराई, जसरी आफूसँग कुरा गरिरहेका मान्छेले भन्दा छलफल भएको विषयमा आफूले ज्यादा जाने-बुझेका ठान्ने मान्छेहरू मुस्कुराउने गर्छन् ।
“म तिमीलाई यस विषयमा योभन्दा अरू केही भन्न सक्तिनँ,” उसका हात समाउँदै राजकुमार भासिलीले कुरा चालु राखे, “यति भन्छु कि त्यो प्रार्थनापत्र लेखिएको मात्र थियो, पठाइएको थिएन तर सम्राटलाई त्यो कुरा थाहा थियो ।” एउटा मात्र प्रश्न के छ भने, उक्त पत्र नष्ट गरियो वा गरिएन र यदि नष्ट गरिएको छैन भने सबैथोक “समाप्त हुनुभन्दा अगावै” शब्दको आशय अर्थ्याउँदै राजकुमार भासिलीले लामो सास फेर्यो, “नत्र भने काउन्टको प्रार्थनापत्र (इच्छापत्र) सम्राट्समक्ष लगेर खोलिनेछ र त्यो अवश्य स्वीकृत गरिनेछ र वैधानिक छोराको हैसियतले पियेरे सम्पूर्ण सम्पत्तिको हकदार हुनेछ ।”
“अनि, हाम्रो माग नि?” अरूथोक जेसुकै होस्, तर त्यो चाहिँ मात्र नहोस् भन्ने आशय भए तापनि जेसुकै पनि हुनसक्छ भन्ने पीरले राजकुमारले ओँठबाट व्यङ्ग्यात्मक मुस्कान छर्दै सोधी ।
“ए, मेरी सोझी बहिनी कतिश, यो कुरा त दिनको घामजस्तै छर्लङ्ग छ । त्यसंपछि पियेरे नै सारा श्री सम्पत्तिको वैधानिक उत्तराधिकारी हुनेछ र तिमीहरूले एक कौडी पनि पाउने छैनौ । त्यसै भएर प्यारी लाटी, तिमीले यो पत्ता लगाउनै पर्छ कि प्रार्थनापत्र र बकसपत्र लेखिएको थियो कि थिएन र यदि लेखीएको थियो भने नष्ट गरियो कि गरिएको छैन । र यदि कुनै कारणवश नपठाइएको भए र नष्ट नगरिएको भए ती पत्रहरू कहाँ छन्, तिमीले खोजेर फेला पार्नै पर्छ, किनकि… ।”
“अब के रह्यो त ?” राजकुमारीले तिरस्कारपूर्वक मुस्कुराउँदै राजकुमारका कुरा काटी । उसका आँखाका भाव भने फेरिएको थिएन । “म एउटी महिला हुँ र तपाईंहरू सोच्नु हुन्छ, महिलाहरू सबै मूर्ख हुन्छन् तर मलाई थाहा छ- अवैध छोरो सम्पत्तिको हकदार हुन सक्दैन … ठिमाहा उसले फ्रान्सेली भाषामा ठिमाहा शब्द प्रयोग गरी मानौं यसो गर्दा राजकुमार भासिलीको विचार प्रभावकारी नभएको प्रमाणित गर्न सकियोस् ।
“हत्तेरिका कतिश, तिमीले कस्तो कुरा नबुझेकी । यति समझदार केटी भएर पनि तिमीले यति सानो कुरा नबुझेको देखेर मलाई आश्चर्य लाग्दैछ । यदि काउन्टले सम्राट्लाई उनको छोरो पियेरेलाई कानुनी मान्यता दिइयोस् भनेर प्रार्थनापत्र मात्र पठाएका हुन् भने यसको अर्थ हुन्छ कि पियेरे, पियेरे नभएर काउन्ट बेजुकोभ हुनेछ र बकसपत्रबमोजिम सारा सम्पत्तिको मालिक पनि उही नै हुनेछ । र यदि बकसपत्र र काउन्टका निवेदन नष्ट गरिएन भने सामान्य सान्त्वनाबाहेक तिमीले केही पाउने छैनौ । “तिमीले इमान्दारी र निष्ठापूर्वक आफ्नो कर्तव्य पालन गर्यौ ।” “त्यसपछि के हुँदोरहेछ बल्ल थाहा पाउनेछ्यौ । मैले भनेको कूरा हृदयमा लेखेर राख, फरक पर्ने छैन ।”
“मलाई थाहा छ बकसपत्र हो र यो पनि थाहा छ कि त्यो गैरकानुनी छ । तर दाजु हजूरले मलाई शुद्ध रूपमा मूर्ख ठान्नु हुँदैछ,” राजकुमारीले भनी । र यसरी भनी जसरी – आफूले खूब बुद्धिमत्तापूर्ण तर्क गरेकी हुँदा जसलाई पनि ठूलो प्रभाव पर्नेछ, भनेर सोच्ने खालका महिलाहरूले भन्ने गर्छन् ।
“मेरी प्यारी राजकुमारी, क्याथरिन सेमेनोभ्ना !” राजकुमार भासिलीले अधीर भएर भन्यो । “म तिमीसँग अनावश्यक बहस गर्न आएको होइन तर आफ्नी बहिनी नाता पर्ने एउटी असल दयालु र सत्यवती महिलासँग उसकै भलाइको लागि कुरा गर्न आएको हुँ । म तिमीलाई यो,दसौँ पटक भन्दैछु कि यदि काउन्टले सम्राट्लाई पठाएको पत्रमा पियेरेको नाममा लेखिदिएको बकसपत्र मन्जुर गरिदिन् लेखेका रहेछन् भने तिमी र तिम्रा, दिदी-बहिनी काउन्टको सम्पत्तिको उत्तराधिकारी हुन सक्ने छैनौ । त्यसैले हेर फुच्ची, तिमीले मेरो कुरा पत्याउँदिनौ भने कुनै कानुन विशेषज्ञसँग गएर सोध । मैले पारिवारिक वकील दमित्री ओनुफ्रिचसँग यस विषयमा कानुनी परामर्श गरिरहेको छु र उसले पनि यही नै भन्छ ।”
राजकुमार भासिलीका अन्तिम कुरा सुनेपछि राजकुमारीको विचारमा पनि स्पष्ट रूपमा अचानक ठूलो परिवर्तन आएको देखियो, उसका पातला र राता ओँठ सेता भएर गए । उसका आँखामा भने कुनै परिवर्तन भएन र उसले बोल्न थाल्दा उसको बोली पटकपटक उसको घाँटीमा यसरी अड्किन्थ्यो सायद ऊ स्वयम्लाई पनि यस्तो-होला भन्ने लागेको थिएन ।
“त्यसो हो भने राम्रै भयो,” राजकुमारीले भनी । “मैले पहिले पनि केही चाहन्नथेँ र अहिले पनि केही चाहन्नँ ।”
राजकुमारीले काखको कुकुरलाई एकातिर हुत्याउँदै लुगासुगा मिलाई ।
“यसैलाई भन्छन्- कृतध्नता । जसको लागि हामीहरूले यो जीवन नै उत्सर्ग गर्यौँ त्यसैको प्रतिफल आज प्राप्त गर्ने भयौँ,” उसले भनी ।
“गजब भयो राजकुमार, धेरै राम्रो भयो । मलाई कसैको केही चाँहिदैन ।”
“त्यो त हो तर तिमी मात्र एक्ली छैनौ नि बहिनी, तिम्रा दिदीबहिनीहरू पनि त छन्,” राजकुमार भसिलीले उत्तर दियो ।
तर राजकुमारी कतिशले उसका कुरा सुन्दै सुनिन ।
“हो, मलाई पहिल्यैदेखि यो थाहा थियो तर मैले बिर्सेकी थिएँ । मलाई थाहा थियो कति मैले नीचता, छलकपट, इर्ष्या, षडयन्त्र, कृतघ्नता र निकृ्ष्टतम् व्यवहारभन्दा यस घरबाट अरू केही पाउने अपेक्षा गर्नु हुँदैनथ्यो ।”
“त्यो बकसपत्र कहाँ छ तिमीलाई थाहा छ कि छैन ?” राजकुमार भासिलीले पहिलेभन्दा पनि कडा रूपमा आफ्ना गाला सुम्सुम्याउँदै सोध्यो ।
“हो, म मूर्ख थिएँ, मैले सबै मान्छेहरूमाथि विश्वास गरेँ, उनीहरूलाई माया गरेँ र त्यसवाप्रत आफ्नै बलिदान गरेँ । तर दुष्ट र पातकीहरूलाई नै सफलता मिल्दो रहेछ । जेहोस्, यसमा कसले षड्यन्त्र गरिरहेछ भन्ने कुरा मलाई थाहा छ ?”
राजकुमारी उठ्न खोजी तर राजकुमारले उसका हात पकडेर रोके ।
राजकुमारीको अनुहारमा यस्तो मान्छेको जस्तो भाव प्रकट भएझैँ देखिन्थ्यो, जसले संसारमा मानवजातिप्रति अचानक विश्वास हराएको होस् । उसले राजकुमारलाई अलि रिसाएको नजरले हेरी ।
“अझ पनि मौका छ, प्यारी बहिनी । तिमीले यो कुरा ध्यानमा राख, कतिश, यो सब काम -कुरो आकस्मिक क्रोध र बिमारीको जर्जर अवस्थामा गरिएको थियो र पछि गएर बिर्सिसकिएको थियो । त्यसकारण प्यारी बहिनी, हाम्रो काम काउन्टले गरेको गल्ती सुधार्ने हो । यो अन्याय गर्नबाट रोकेर हामीले उनको अन्तिम घडीमा शान्ति दिनु पर्दछ ।
“मैले यिनीहरूको चित्त दुखाएको छु” भन्ने थाहै नदिएर हामीहरूले उनलाई मर्न दिऔँ ।
“जसले उनको लागि सबथोक बलिदान गर्यो,” राजकुमारीले फेरि एक पटक उठ्ने प्रयास गर्दै राजकुमार भासिलीको वाक्य पूरा गरी । तर राजकुमार भासिलीले उसलाई उठ्न दिएनन् । यद्यपि उसले उसको प्रशंसा पनि कहिल्यै गर्न चाहेन । “होइन, दाजु हजूर;” उसले लामो सास तान्दै थपी । “मैले जीवनमा यो कहिल्यै भुल्ने छैन यस संसारमा कसैले पनि कहिल्यै र कसैबाट कुनै किसिमको पुरस्कार पाउने आशा गर्नु हुँदैन किनकि यस संसारमा न कुनै इमान धर्म छ, न न्याय छ । यस संसारमा मान्छे जति सक्यो धूर्त, क्रुर र निर्दयी हुन सक्नु पर्छ ।”
“भयो बहिनी, भयो, अब शान्त होऊ । तिम्रो मन कति सफा छ, मैले बुझेको छु ।”
“होइन, मेरो हृदय पापी छ ।”
“जे भन, मैले तिम्रो हृदय कस्तो छ, बुझेको छु” राजकुमारले दोहोर्यायो । “म तिम्रो मित्रतालाई धेरै मूल्यवान् ठान्छु र म चाहन्छु कि तिमीले पनि मेरो मित्रतालाई त्यस्तै ठान । आफूलाई सम्हाल र जबसम्म समय रहन्छ – सायद अब एक दिन वा एक घन्टा पनि न होला- हामीले गम्भीर भएर कुरा गर्नु पर्छ । बकसपत्रका बारेमा तिमीलाई जे थाहा छ त्यो मलाई भन र सबभन्दा ठूलो कुरो त्यो कहाँ छ मलाई बताउ मेरो विचारमा तिमीलाई अवश्य पनि थाहा हुनु पर्छ । हामी त्यो लिएर तुरुन्त काउन्टलाई देखाउन जानु पर्छ । उनले बिर्सिसकेका छन्, त्यसमा कुनै शङ्का छैन र त्यसलाई उनले नष्ट गर्न पनि चाहने छन् । तिमीले ठानेकी हौली काउन्टको: इच्छापूर्ति गर्ने मेरो एक मात्र इच्छा भएको हुँदा यहाँ आएको हुँ । तर म काउन्टलाई र तिमीलाई सहयोग गर्न मात्र यहाँ आएको हुँ ।”
“मैले सबै कुरा बुझिसकेकी छु । मलाई यसमा कसले षड्यन्त्र गरेको छ भन्ने कुरा पनि थाहा छ । मलाई थाहा छ भन्या,” राजकुमारीले भनी ।
“वाहियात कुरा नगर बहिनी ।”
“यो सबै तपाईंकी आश्रिता प्यारी राजकुमारी द्रुवेत्सकाया अन्ना मिखायलोभ्नाको काम हो, जसलाई म नोकर्नीका रूपमा पनि राख्न चाहन्नँ.:. त्यो दुष्ट र अधम आइमाई ।”
“समय खेर नफालौँ, बहिनी ।”
“भो, धेरै कुरा नगर्नुस् । अगिल्लो जाडोमा ऊ यहाँ आएकी थिई । र काउन्टलाई उसले हामीहरू सबैका बारेमा र विशेष गरेर सोफीका बारेमा यस्ता घटिया र अनर्थ कुरा लगाइदिई कि मलाई ती शब्दहरू उच्चारण गर्न पनि लाज लागेर आउँछ । त्यसका कुरा सुनेर काउन्ट: बिरामी भए र पूरा पन्ध दिनसम्म हाम्रो अनुहार पनि हेर्न चाहेनन् । मलाई थाहा छः उनले त्यसै बेला यो भयङ्कर र पापी पत्र लेखे । तर यसको कुनै कानुनी महत्त्व हुन्छ भन्ने मलाई थाहा थिएन ।
“मुख्य कुरो नै यही हो । तिमीले यस बारेमा: मलाई पहिले नै किन भनिनौ ?”
“त्यो कागज बुट्टा जडिएको त्यस थैलीमा छ, जसलाई काउन्टले सधैँ आफ्नो तकियामुनि च्यापेर राखेका हुन्छन् । बल्ल मलाई अहिले, थाहा भो,” राजकुमारको प्रश्नको उत्तर नदिई उसले भन्नी । “यदि मैले जीवनमा कुनै पाप गरेकी रहिल्नु भने त्यो पाप त्यस निच आइमाईलाई घृणा पार्नु नै हो,” “राजकुमारीले, भयङ्कर ठूलो चीत्कार गरी, उ अर्कै भई । “ऊ गत न पतसँग किन यहाँआएर मर्छे कुत्नि ? तर मैले उसलाई यो कुरा भनेर मात्र शान्ति लिनेछु । त्यो समय पनि आउनेछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१६ असार २०८३, मंगलवार 









