मृत्यु

मूलः एलाइस केनेत्ती
अनुवादः गोविन्द गिरी प्रेरणा

खानाको पैसा थेरेस आफैँले तिरी । ऊ यति मूर्ख किन छे ? सब थोक ठीकठाक चल्दै थियो । तर अब घरभित्र र घरबाहिर समेत समस्या उत्पन्न भएका थिए। उसका प्रश्नका जवाफ भर्खरै भनिएको थियो। थेरेस सोच्न सकिरहेकी थिइन, जवाफ के दिने हो ? जब उनीहरू फर्निचर पसलमा पुगे, उसले फेरि सोध्यो, “हुन्छ, कि हुन्न ?”

“हुन त हुन्छ, यदि तिमी नराम्रो मान्दैनौ भने ठीक सवा बाह्र बजे !”

“मेरो भनाइको तात्पर्य पैसा हो,” उसले सम्झना दिलायो । निकै अनजानझैँ भएर थेरेसले मजासँग जवाफ दिई, “त्यो त समयले नै बताउनेछ ।”

फेरि ती दुवै पसलमा गए। पसल मालिक आएर भन्यो, “आशा छ, तपाईंहरूले खाना त राम्रोसँग खानुभयो होला। सुत्ने कोठाका लागि सामानहरू भोलि बिहानसम्म पुग्नेछ । के तपाईं कुनै विशेष कुरा भन्न चाहनु हुन्छ ?”

सुन्नेबित्तिकै ऊ दौडिई। ढोकालाई धक्का दिँदै बाहिर निस्किई र खुल्ला सडकमा सबैको सामुन्नेमा धुरुधुरु रुन थाली।

थेरेसलाई क्यै पनि आवश्यक थिएन । उसले खानाको पैसा पनि दिई। यसमाथि झन् यो आपत आइलाग्यो, ऊ एउटी विवाहिता हो । उसले कसैको पछि हिंड्नु हुन्न । कुनै नोकर्नी पनि त होइन ऊ, जसको पायो उसको पछि लाग्ने ! ऊ त आफ्नो औंलामा दशजना नचाउन सक्छे। गल्लीमा हरेक मानिस उसलाई हेर्दै थिए। यसमा गल्ती कसको थियो ? के सम्पूर्ण गल्ती उसको लोग्नेको थियो ? उसको लागि फर्निचर किन्न यताउति दौड‌धूप गर्नुपर्छ तर बदलामा के पाउँछे? केवल अपमान !

कमसेकम यो घटिया काम ऊ आफैँ पनि त गर्न सक्छ ! ऊ त क्यै कामको छैन । आखिर त्यो उसको आपने फ्ल्याट हो । ऊ आफैँलाई थाहा छ, उसको किताब राख्न कस्तो प्रकारको फर्निचर चाहिन्छ । सहनशीलता पनि त उसमा सन्त महात्माको झैं छ । यस प्रकारका मानिस सोच्दछन्, उसले कुनै पनि बेला तिमीलाई चोट पु-याउन सक्दछ । पहिला तिमी उसका लागि दुनियाँभरको काम गर र फेरि ऊ तिमीहरूकै अगाडि अपमान गर्न छाडिदिन्छ । मान, यस्तो खुबै राम्रो युवक (पूर्ववर्णित प्रेमी) स्वास्नीसँगै भयो भने ? उसको त स्वास्नी नै छैन । उसको स्वास्नी किन छैन ? किनभने ऊ एउटा असल मानिस हो । एउटा असल मानिसको स्वास्नी हुँदैन ? एउटा असल मानिसले त्यतिन्जेल बिहा गर्दैन जतिन्जेल ऊसँग देखाउन लायक कुनै वस्तु नै हुँदैन । के छ ऊसँग देखाउन ? केवल हाड र छाला मात्र ? मानिसहरु त उसलाई मरेतुल्य ठान्दछन्। यस प्रकारका मानिस किन बाँचिरहन्छन् ? यस्ता मानिस क्यै कामका हुँदैनन् ? केवल अर्काको कमाइको पैसा लिन्छन् ।

थेरेस घरमा पसी । ढोकामै घरको पाले भेटियो । उसले नै बतायो, “आज उनीहरू क्यै गर्दैछन् ?”

“हेरौं,” उसले जवाफ दिई र उसतिर पिठ्यूँ फर्काई ।

माथिल्लो तल्लामा गएर उसले फ्ल्याटको ढोका खोली । सबथोक निश्चल थियो । हलमा फर्निचर थुप्रिएको थियो । कुनै आवाज ननिकाली उसले भान्सा कोठाको ढोका खोली र अचानक ऊ आतङ्‌कित भएर पछाडि हटी । भित्ताहरू अचानक परिवर्तन भएको देखियो। ती खैरा थिए । आज सेतो थियो। अर्को कोठामा पनि त्यस्तै परिवर्तन थियो । तेस्रो कोठा, जसलाई सुत्ने कोठा बनाउन चाहन्थी, त्यहाँ पनि उस्तै परिवर्तन देखिन्थ्यो । उसको लोग्नेका सबै किताबहरू उल्टाएर राखिएको थियो।

किताब राख्दा सिलाई गरिएको भाग बाहिर पार्नुपर्छ ता कि सजिलै झिक्न सकियोस् । यसरी नै निकालेर धूलो झार्न सकिन्छ । नत्र किताब कसरी बाहिर निस्कन्छ ? तर उसको आफ्नै तरिका छ । ऊ तिनलाई सफाई गर्दै र धूलो झार्दाझार्दै दिक्क भइसकेकी थिई । धूलो झार्न एउटा तौलिया लिनुपर्छ । ऊसँग पैसा छ र तौलिया किन्न पैसा खर्च गर्न सक्छ। फर्निचर किन्न त ऊ खूब पैसा खर्च गर्छ । अलिकति वचत गरे त राम्रै हुन्थ्यो नि ! घरकी स्वास्नीको पनि त एउटा दिल भन्ने चिज हुन्छ !

थेरेस फेरि उसलाई खोज्न थाली । यसकारण कि, यस दिललाई उसको खप्परमा बजार्न पाइयोस् । उसलाई बैठक‌मा पाई । ऊ त मझेरीमा चित खाएर पल्टेको थियो, उसमाथि भ-याङ्‌ थियो । उसभन्दा मुनि अत्यन्त राम्रो गलैंचा रगतले लतपतिएको थियो।

रगतको टाटो सफा गर्न कति गाह्रो हुन्छ । यो धून के उपाय गर्ने होला ? ऊ त क्यै पनि सोच्दैन कि ऊ के गर्दैछ ! उ निश्चय नै दौडिंदै माथि जान लाग्या होला अनि पो सिधै तल खस्यो नि ! ऊसँग ताकत छैन पनि त भन्थ्यो । हरे ! त्यो राम्रो युवकले यो दृष्य देखेको भए ! ऊ कुनै रमिता हेर्न लागेकी त पक्कै होइन । ऊ यस किसिमको मानिस होइन । यो कुनै मर्ने तरिका हो ? यो विषय उसका लागि सधैं खेदको विषय थियो । उसलाई यो कुराको चिन्ता थिएन कि ऊ भन्याङबाट लडेर म-यो । तर जसले यो सुन्नेछ, उसले यो देख्ने छैन कि तपाईं के गर्दै हुनुहुन्थ्यो ! ऊ त यसमा मजा मान्नेछ । बितेका आठ सालदेखि ऊ पनि त त्यही भन्याङ चढेर किताबको धूलो झार्ने गर्थी। तर उसलाई त त्यस्तो क्यै भएन ! ऊ यति मूर्ख किन थियो ? अब यी सब किताब उसका हुन् । यो कोठाका किताबहरू‌मध्ये आधाजति त उल्टिएका छन्। यो उसको भाग्य हो। ऊ यसै भन्थ्यो । ऊ नै जानोस् के विषयमा भन्दै थियो, उसले नै यी सब किनेको हो । ऊ त लाशमाथि औंला पनि राख्ने छैन । यति गहु‌ङ्गो भ-याङ चलाएर ऊ आफूलाई चोट लगाउन चाहन्न र फेरि पुलिसको फसादमा पनि पर्न चाहन्न। यसलाई त जस्ताको तस्तै रहन दिनु राम्रो । रगतसँग त ऊ डराउन्न । फेरि यो असली रगत पनि त हैन होला । यस्तो मानिसको रगत कसरी असली हुन सक्ला ? यो त केवल टाटा लाग्न मात्र लायक छ । उसलाई गलैंचाप्रति दया लागिरहेथ्यो ।

अब यो सब चिज त उसैको हो। यो अत्यन्त राम्रो फ्ल्याट त निकै कामको छ । किताबहरू ऊ बेचिहाल्नेछ । यस्तो कुरा कसले कहिले सोचेको हुँदो हो ! तर घटना त यसै नै घटिहाल्छन् । पहिला त तपाईं आफ्नी स्वास्नीसँग हर किसिमले खेलवाड गर्नुहुन्छ । र, त्यसपछि तपाईं मर्नुहुन्छ । ऊ सथै सोच्छे- यस्तो हुनु उसको हितमा हुँदैन । तर यस्तो मान्नु ठीक हुँदैन । यस प्रकारको मानिस सोच्दछ – दुनियाँमा ऊभन्दा राम्रो अरु कोही छँदै छैन । आधारातमा ओछ्यानमा प्रभु र आफ्नी श्रीमतीलाई समयमै आरामसँग सुत्न समय दिन्छ ।

लेख्ने टेबुलमा फैलिएका चिजहरू‌प्रति उसलाई दया उर्लिरहेथ्यो । ऊ झम्टिएर त्यहाँ पुगी। टेबुल क्याम्पको स्वीच खोली र छरिएका कागजहरूमा उसको इच्छा पत्र खोज्न थाली । उसले सोची, मर्नुअघि पक्कै पनि उसले इच्छापत्र तयार गरेर छाडेको होला । उसलाई पूरा विश्वास थियो – उसको उत्तराधिकारी उही नै हुन सक्छे किनभने उसले अहिलेसम्म उसको कुनै नातेदारको बारेमा चर्चासम्म पनि सुनेकी थिइन । तर जति पनि विद्वत्तापूर्ण टिप्पणीहरू उसले पढी त्यहाँ कतै पनि पैसाको बारेमा उल्लेख थिएन । विचित्र ढङ्‌गले अक्षरहरू लेखिएका पृष्ठहरू उसले एकातिर राखी। ती निश्चय नै मूल्यवान् होलान् र तिनलाई बेच्न सकिएला । एकपल्ट उसले यही मेचमा बसेर भनेको थियो उसले लेख्छ । त्यो यति मूल्यवान् छ कि त्यसलाई सुनसँग तौलन सकिन्छ । तर उसले कहिले पनि सुनको लागि लेखेन ।

एक घण्टासम्म धुमधामसँग खोज तलाश गरिसके पछि उसले निष्कर्ष निकाली- त्यहाँ कुनै इच्छापत्र छैन । यसको उसले कुनै तयारी पनि गरेको थिएन । अन्तिम क्षणसम्म पनि ऊ त्यस्तो मानिस नै रह्यो जसलाई आफ्नो भन्दा अरु कसैको चिन्ता नै हुँदैन र आफ्नी स्वास्नीलाई केही पनि सोचेन । एक क्षणमै उसले सोची, टेबुलको भित्री दराजमा पनि खोज्नु प-यो । तर त्यहाँ निराशा नै हात लाग्यो । दराजमा ताला लागेको थियो र उसले साँचो पाइण्टको खल्तीमा राख्ने गर्थ्यो । उसले आफूले आफैँलाई पनि अप्ठ्यारोमा पारेको थियो । ऊ अब उसको खल्तीबाट क्यै पनि निकाल्न सक्दिन । यदि उसको कपडामा रगतको टाटा लागिहाल्यो भने पुलिसले के सोच्ने होला ? ऊ उसको शरीरको नजिक पुगी, तल झुकी तर उसको खल्तीको भूगोल पत्ता लगाउन सकिन । तर ऊ तल निहुरिंदा नै हडबडाइसकेकी थिई । यस्तो अप्ठ्यारो समयमा उसको बानी यस्तो थियो- ऊ आफ्नो स्कर्ट खोलिदिन्थी। स्कर्ट खोलेर सावधानीपूर्वक गलैंचाको एक छेउमा राखी र फेरि लाशबाट एक कदम पर हटेर तल निहुरिई, आफ्नो टाउको सिंढीमा अड्याई । आफ्नो हातले निधार छामी जुन उसले भ-याङ‌मा अड्याएकी थिई । त्यहाँ रगत लागेको थिएन । तर इच्छापत्र र साँचो नपाउँदा ऊ निराश भई।

‘केही त गर्ने प-यो,’ उसले आफैँलाई भनी, ‘यसलाई यत्तिकै राखी राख्न त भएन।’

उसले स्कर्ट लगाई घरपालेलाई बोलाउन गई ।

घरको पालेले कोठामा आएर राम्रोसँग हे-यो र जब उसको दृष्टि भ-याङमा प-यो, उसलाई आश्चर्य भयो- भ-यायाङ हल्लिरहेको थियो । ऊ छेउमा गयो र भ-याङ उठाएर एक छेउ राख्यो ।

कियेनको होश फर्कंदै थियो। पीडाले छटपटाउँदै उसले उठ्‌न कोशिश ग-यो तर उठ्न सकेन ।

“यसरी पनि कोई मर्छ,” पाले बडबडायो र कियेनलाई सहारा दिंदै उभ्याउने कोशिश गर्न लाग्यो ।

उसलाई आफ्नो आँखासँगै विश्वास भएन । तर जब उसले कियेनलाई आफ्नो सहायकको सहारामा आफ्नै खुट्टामा उभिएको देखी र मसिनो स्वरमा भ-याङलाई सरापेको सुनी तब उसलाई विश्वास भयो ऊ जिउँदै छ ।
“यो त हद भयो,” ऊ चर्को स्वरमा च्याँट्ठिई, “कसैले कहिल्यै पनि सुन्या छैन होला कि यस्तो पनि हुन्छ । एउटा इज्जतदार मानिस… म भन्छु, हाम्रो बारेमा के सोच्दा हुन् ?”

“तपाईं चुपचाप लाग्नोस्,” घरपालेले उसको पागल प्रलापप्रति झर्किदै भन्यो, “छिटो कुनै डाक्टरलाई बोलाएर ल्याउनोस् । म यिनलाई बिछ्यौनामा आराम गराउँदै गर्छु ।”

उसले प्रोफेसरलाई काँधमा राखेर बाहिर हलसम्म ल्यायो जहाँ प्रशस्त फर्निचरहरुको बीचमा एउटा पलङ थियो । कपडा खोल्दै जाँदा कियेन लगातार बडबडाउँदै थियो, “म बेहोश थिइनँ ।” “म बेहोस थिइनँ,” ऊ यो मान्न तयार थिएन कि ऊ केहीबेर अधिसम्म बेहोश थियो।

थेरेस डाक्टर बोलाउन बाहिर निस्किसकेकी थिई। सडकमा आइसकेपछि ऊ विस्तारै शान्त हुन लागेकी थिई । तीन वटा कोठा त उसकै छन् । यसका कागजपत्रहरू पनि उसकै नाउँमा छन् । अहिलेसम्म उसको मनमा एउटै प्रश्न गुन्जिरहेको थियो, “अब के हुन्छ ? जब म-या मानिस नै बिउँतिन्छ भने अब जे केही पनि हुनसक्छ ।”

०००