स्पेनी भाषाका सर्वश्रेष्ठ साहित्यकार सर्भान्तेस २९ सेप्टेम्बर १५४७ मा स्पेनको अल्काला द हेनेयर्समा जन्मेका थिए । उनी स्पेनको राजधानी म्याड्रिडस्थित युनिभर्सिटी अफ सालेम्याङ्कामा शिक्षा प्राप्त गरी इटालेली सेनामा भर्ती भएका
थिए । लेपान्तोको युद्धमा उनी सिकिस्त घाइते भए । सन् १५७५ मा स्पेन फर्कँदा बाटोमा मूरहरूले उनलाई कब्जामा लिई दास बनाएर राखे । पाँच वर्षसम्म मूरहरूको कठोर नियन्त्रणमा रहेर उनी स्पेनको आफ्नो घर फर्केका थिए ।
सर्भान्तेसले स्पेनको व्यापक भ्रमण गरेका थिए । आफ्नो जीवनभर उनले गरिबी र कठिनाइहरूको सामना गर्नुपरेको थियो । उनीभन्दा अघि स्पेनियाँ साहित्यमा पद्यमा लेखिएका नाटकले महत्वपूर्ण स्थान ओगटेका थिए । उनले पनि केही व्यङ्ग्यात्मक कविता, नाटक र ग्यालाती (Galatea) भन्ने एउटा गाउँले उपन्यास लेखेका थिए । नाटकको क्षेत्रमा उनी त्यति प्रसिद्ध थिएनन्, उनी लोप द भेगा जस्ता सुप्रसिद्ध स्पेनी नाटककारका सामान्य प्रतिद्वन्द्वी मात्र थिए । अनेकौँ युद्धहरू लडिसकेका बुढा सिपाही सर्भान्तेस १६०५ क्राइस्टाब्दमा आफ्नो उपन्यास डन क्विक्जट (Don Quixote) छपाएपछि युरोपभर प्रख्यात भए । यो उपन्यास म्याड्रिड, लण्डन, ब्रसेल्स र प्यारिसमा प्रकाशित भयो । यसको सफलताले गर्दा यसको प्रकाशनको दस वर्षभित्रै सर्भान्तेसलाई यसको अर्को भाग प्रकाशित गर्न कर लाग्यो ।
डन क्विक्जट सर्भान्तेसको विश्वविख्यात र प्रथम आधुनिक उपन्यास हो। जुनसुकै कोणबाट हेरे पनि यस कृतिलाई आलोचकले उत्कृष्ट मानेका छन् र विश्वका प्रायः हरेक मुलुकमा यो उपन्यास उत्तिकै रुचीसाथ पढिन्छ। डन क्विक्जट र साङ्को पान्जा यस उपन्यासका प्रमुख पात्रहरू हुन् । डन क्विक्जट वीरताका आश्चर्यजनक कथाहरू पढ्छ र वास्तविक सन्सारमा पनि एक वीर योद्धा हुने दृढ सङ्कल्प गर्दछ, तर घट्टहरू (Windmills) लाई राक्षस र भेडाको बथानलाई हतियारधारी जवानहरू देख्ने जस्तो उसको अचेतल मनस्थितिले गर्दा आफ्ना साहसका कामहरूमा उ असफल हुँदै जान्छ । उसलाई खोरमा हालेर घरतिर नफर्काउन्जेल उ यस्तै अर्द्धसिल्ली र अचेतन अवस्थामा आफ्नो साहस प्रदर्शन गरिनै रहन्छ । तर उसको सहायक साङ्को पान्जालाई भने सूरवीर हुने कुनै अभिलाषा छैन, उसलाई खाने, पिउने र सुत्ने व्यवस्था भए पुग्छ ।
पश्चिमेली सन्सारमा डन क्विक्जट एक अतुलनीय उपन्यास मानिन्छ। आश्चर्यजनक चरित्रद्वारा निर्मित यस कृतिलाई साहसका उडन्ते कथाप्रति एक व्यङ्ग्य, पौराणिक कथा, रोमान्स, जादुमय यथार्थवादमा आधारित उपन्यास जे भन्न पनि सकिन्छ, तर निश्चयनै हरेक शताब्दीका पाठकका लागि यो अति रोचक, सम्वेदनशील र ज्यादै बुद्धि पुऱ्याएर लेखिएको सर्भान्तेसको अमर कृति हो । सोह्रौँ शताब्दीमा पश्चिमेली सन्सारमा शेक्सपियर पछि विश्वप्रसिद्ध साहित्यकार सर्भान्तेस नै मानिन्छन् र संयोगले सर्भान्तेस पनि शेक्सपियरको मृत्यु भएकै दिन २३ अप्रिल १६१६ मा यस सन्सारबाट बिदा भए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









