“मानिस फराकिलो छ । निकै फराकिलो । म उसलाई साँघुरो बनाउन चाहन्छु,” अल्योशा, ब्रदर्स कारामाजोभको मुख्य पात्र ।

अनौठो कुरा त यो थियो कि, दोस्तोभस्की र टोलस्टोयले एकअर्कालाई व्यक्तिगत रूपमा कहिल्यै भेटेका थिएनन् । दुवैले विश्वविख्यात कृति लेखे । एकअर्काको कलालाई खुबै सम्मान गरे ।

सन् १८५५ मा टोलस्टोय युवा भइसकेका थिए । उनी पिटर्सबर्गको एउटा सम्मेलनमा सहभागी हुन गएका थिए । जहाँ उनले तुर्गेनेभ, नेक्रासोभ लगायत धेरै लेखकहरूसँग चिनजान गर्न पाए । दुःखको कुरा, दोस्तोएभस्की त्यसबेला निर्वासनमा थिए । सरकारको आलोचना गरेको आरोपमा १८४९ मा उनी पक्राउ परेका थिए । उनलाई मृत्युदण्डको सजाय समेत तोकिएको थियो ।

जुनबेला “युद्ध र शान्ति” बजारमा आयो, बजार चर्चा सुनेर दोस्तोएभस्कीले पढे । त्यसबाट उनी निकै प्रभावित भए । उनले टोल्स्टोयलाई भेट्न खोजे । सन् १८७८ दुवैजना लेखक दार्शनिक भ्लादिमिरको व्याख्यानमा सहभागी हुन लिएसोलोभिएभ पुगे । विडम्बना ! त्यहाँ पनि एकअर्कालाई भेट्ने अवसर जुरेन ।

त्यसको दुई वर्षपछि दोस्तोएभस्की पुस्किनको स्मारक उद्घाटन गर्न मस्को गए । त्यहाँ चाहिँ टोल्स्टोय भेटिन्छन् भन्नेमा उनी ढुक्क थिए । पछि त्यहाँ उपस्थित आफ्ना साथीहरूबाट थाहा पाए कि टोल्स्टोयले सामाजिक जीवनलाई घृणा गर्न थालेर एकान्त जीवनमा रमाउन थालेका थिए ।

जुन ८ मा दोस्तोएभस्कीले पुस्किनको बारेमा अति उत्कृष्ट भाषण दिएका थिए । जसको गहिराईले त्यहाँ उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । त्यसबेला टोल्स्टोयबाहेक त्यसबखतका उत्कृष्ट भनिएका सबै लेखकहरू उपस्थित थिए ।

सोही वर्ष टोल्स्टोयले दोस्तोएभस्कीको “द हाउस अफ द डेथ” पढे । यसबाट उनी यति प्रभावित भए कि, आलोचक निकोले स्ट्राखोभलाई लेखेको पत्रमा उक्त पुस्तकलाई पुस्किन लगायत नयाँ साहित्यमा निस्किएका कृतिहरूमध्ये यो निकै उत्कृष्ट कृति भएको बताए ।

त्यसको एक वर्षपछि सन् १८८१ मा दोस्तोएभस्कीको मृत्यु भयो । बिस्तारै टोल्स्टोयले यो कुरा थाहा पाए । मन परेको लेखकसँग भेट्न नपाएकामा उनी दुःखी भए ।

पछि एउटा निजी पत्रमा उनले लेखेका थिए, “मैले त्यो मान्छेलाई कहिल्यै देखेको छैन । ऊसँग कुनै सम्बन्ध छैन तर अचानक उसको मृत्यु भएको खबरपछि मैले बुझेँ कि ऊ मेरो लागि सबैभन्दा नजिकको र निकै प्यारो मान्छे थियो । जसको उपस्थिति मलाई सबैभन्दा बढी चाहिएको थियो । उसलाई एक महान् साथी मान्थेँ । कुनै दिन हाम्रो भेट हुनेछ भन्नेमा ढुक्क थिएँ । त्यस विश्वासमा कुनै शङ्का थिएन । धेरै साथीहरू उसको ईर्ष्या गर्थे । उसको लेखन कलाले ममा ईर्ष्या पनि पलाएको थियो । तैपनि आफूलाई ऊसँग कहिल्यै तुलना गर्न सकिनँ । उसप्रति नभएर उसको उच्चतम कामप्रति मलाई ईर्ष्या लाग्थ्यो । जे होस्, ऊ मेरो अनन्य मित्र थियो । हरेक रात जब खाना खान बस्छु, मलाई उसको सम्झना आइहाल्छ । उसलाई सम्झदै गाँस हाल्छु र रुन्छु । उसलाई सम्झिएर म निकै रोएको छु । उसलाई भेट्न नपाएको पश्चातापले मन दुखिरहन्छ ।”

अरू पुस्तक अघि नै पढे पनि सन् १९१० मा उनले द ब्रदर्स करामाजोभ पढ्न थालेका थिए । जुन पुस्तक १८८० मा प्रकाशित भएको थियो । जसको लेखन सुरुवात १८७९ बाट थालेका थिए । पुस्तक प्रकाशित भएको चार महिनापछि दोस्तोएभस्कीको मृत्यु भएको थियो ।

१९१० अक्टोबर २८ मा टोल्सटोयले आफ्नो घरपरिवार त्यागेर बाहिर निस्किए । घर छोडेर हिँडेको केही दिनपछि उनले आफ्नो छोरीलाई द ब्रदर्स करामाजोभको दोस्रो खण्ड पठाउन पत्र लेखेका थिए ।

घर छोडेको दस दिनभित्र उनको मृत्यु भयो । द ब्रदर्स कारामाजोभ पनि उनले पूरै पढ्न पाएनन् । एउटा संयोग ! जब उनको मृत्यु भयो, द ब्रदर्स कारामाजोभ उनकै साथमा थियो । दोस्तोएभस्कीसँग भेट नभए पनि उनको पुस्तक भने साथमै राखी अनन्त यात्रामा निस्किए ।

***

“डरलाग्दो कुरा यो छ कि, सुन्दरता निकै रहस्यमय र भयानक छ । ईश्वर र शैतान त्यहीँ लडिरहेका छन् । जुन युद्धभूमि मानिसको हृदय हो ।” द ब्रदर्स कारामाजोभ

दोस्तोभस्कीको व्यक्तिगत कुरा अहिले लेख्न चाहिनँ । केही विख्यात व्यक्तिहरूले उनलाई के भने, ब्रदर्स कारामाजोभ कस्तो पुस्तक हो ? त्यसबारे जाने बुझेको कुरा कोट्याउन चाहन्छु ।

१) ओशो

आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको दाबी गर्ने ओशोले आफूलाई मन परेका केही उत्कृष्ट पुस्तक छुट्याएर त्यसको केही मीठो समीक्षा लेखेका छन् । तीमध्ये यो छोटो समीक्षा हेरौँः

ओशो भन्छन्, संसारका सबै रचनात्मक उपन्यासकारहरूलाई पाखा लगाउने एउटै मान्छे फ्योदर दोस्तोएभस्कीको नाम काफी छ । विश्वका सबै भाषाका १० महान् उपन्यासहरूबारे निर्णय गर्नुपर्‍यो भने ती १० मध्ये दोस्तोएभस्कीका कम्तीमा ३ ओटा उपन्यास छान्नुपर्छ । मानव जाति र तिनका समस्याहरूबारे उनको अन्तरदृष्टि तिमीलाई अति नै मन परेका तथाकथित मनोविश्लेषकहरूभन्दा निकै उच्च लाग्ने छ । त्यहाँ यस्ता क्षणहरू छन्, जहाँबाट उनी महानतम् रहस्यवादीहरूको उचाइमा पुगेका छन् । ब्रदर्स कारामाजोभ मनोविज्ञान तथा आध्यात्मको अन्तरदृष्टिमा यति उच्च छ कि, यसको सामु बाइबल, कुरान, गीता या अरू महान् पुस्तक पनि यसको छेउछाउ आउन सक्दैनन् ।

उनी एउटा पागल ऋषि हुन् । आफ्नो व्यक्तिगत जीवनमा भयानक कष्ट भोगे । उनी दुःखी मानिस हुन् । तर त्यो दुःखलाई यस्तो भाषामा लेखेर गए कि, कोही पनि यसबाट प्रभावित नरही रहन सक्दैन ।

२) आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनले लेखेका थिए, “कुनै पनि वैज्ञानिकले भन्दा निकै महत्त्वपूर्ण चिज मलाई दोस्तोएभस्कीले दिएका छन् । द ब्रदर्स कारामजोभ मलाई अहिलेसम्म हात लागेको उत्कृष्ट पुस्तकमध्येको एक हो ।”

३) नित्से

नित्सेले दोस्तोएभस्कीलाई “एकमात्र मनोवैज्ञानिक, जसबाट मैले केही सिक्न सक्छु” भनेका थिए ।

नित्सेले दोस्तोएभस्कीको उपन्यास Humiliated and Insulted आँसु बगाउदै पढेको किंवदन्ती छ ।

तर उनले द ब्रदर्स कारामाजोभ भने पढेका थिएनन् । त्यो पढेको भए उनले अझ धेरै महत्त्वपूर्ण चिज छोडेर जाने थिए ।

४) फ्रायड

उनले घोषणा गरेका थिए, “द ब्रदर्स कारामाजोभ अहिलेसम्म लेखिएको सबैभन्दा उत्कृष्ट उपन्यास हो ।”

चेखव, जाँ पल सार्त्र, भर्जिनिया अल्फ, काफ्कालगायत अरू थुप्रै लेखकहरू उनीबाट निकै प्रभावित भएका थिए ।

अझ उल्फले त यो पुस्तकलाई आत्माको भमरा भनेकी छिन् ।

उपन्यासको मुख्य पात्र अल्योशा दोस्तोएभस्कीको कान्छो छोराको नाम हो । जो १८७८ मा छारे रोगको कारण तीन वर्षको कलिलो उमेरमै बितेको थियो । जसको पीडाले उनी निकै विचलित भएका थिए । तिनै पीडालाई शक्तिमा बदल्नका लागि उनले यसको लेखन यात्रा सुरू गरेका थिए ।

उसैलाई उपन्यासको मुख्य नायक बनाइदिएका छन् । जो अध्यात्म र मनोविज्ञानको जिज्ञासु अनि ज्ञाता दुवै भएर उदाएको छ ।

पुस्तक निकै ठुलो छ । देख्नेबित्तिकै मै हुँ भन्ने पाठकले समेत टाउको कन्याउन थाल्नेछन् । जो कोहीले यो पढ्नै चाहँदैनन् तर जसले पढ्छ, केही पाएरै छोड्छ । वास्तवमा अल्छी लाग्ने पुस्तक नभएर अल्छी भगाई आनन्दको शिखर चुमाउने खजाना हो यो पुस्तक । जो कोहीले आफूलाई असल पाठक या लेखक ठान्छ भने जीवनमा उसले यो पुस्तक पढेर मात्रै मर्ने भाग्य पाओस् ।

द ब्रदर्स कारामाजोभलाई ओशोले किन गीता, कुरान, बाइबल र अन्य पुस्तक यसको नजिक आउनै सक्दैन भनेका होलान् भनी अति नै खुल्दुली लागेको थियो । पछि पुस्तक लिएर पढ्न थालेपछि पो थाहा पाएँ, ओशो सही रहेछन् ।

जसरी मिठो खाना लोभ गरी साँचेर खाइन्छ, त्यस्तै लोभ गरेर आनन्दले पढ्न मन लाग्ने पुस्तक हो यो । पुस्तक पढिसकेको छुइनँ । यसअघि कुनै पनि पुस्तक आधा पढ्दा पढ्दै समीक्षा लेखौँ या यसबाट को कसरी प्रभावित भए होलान् भन्ने जिज्ञासा जागेको थिएन । तर यसले भने पढ्दा पढ्दै अनेक चिज खोतल्न अग्रसर गरायो ।

एउटा भनाइ छ, रक्सी जति पुरानो हुन्छ उति नै मिठो र महँगो हुन्छ । यो त्यही रक्सी हो ।

यसका केही उत्कृष्ट लाइन हेरौँः

मानव अस्तित्वको रहस्य जीवित रहनु मात्र होइन, बाँच्नुबाहेक केही खोज्नुमा जीवनको अर्थ छ ।

आफैँलाई झूटको पर्दाले नछोप । आफूसँग झूट बोल्ने र आफ्नै झूट सुन्ने मानिस यस्तो बिन्दुमा पुग्छ कि, उसले आफू भित्र र बाहिरको सत्य छुट्याउन सक्दैन । त्यसैले उसले आफूलगायत सबैको सम्मान गुमाउँछ । अन्ततः आदर नगरेरै उसले प्रेम गर्न छोड्छ ।

नर्क के हो ? प्रेम गर्न नसक्नुको पीडा नै नर्क हो भन्ने म मान्छु ।

जो जति मुर्ख छ, उति वास्तविकताको नजिक छ । जति मूर्ख छ, उति स्पष्ट छ । मूर्खता सूक्ष्म र कलाविहीन हुन्छ । बुद्धिले भने आफैँलाई लुकाउँछ । बुद्धि सिद्धान्तविहीन छ । मूर्खता इमान्दार र सीधा छ ।

विशेष गरी बच्चाहरूलाई प्रेम गर । उनीहरू स्वर्गदूतझैं पापरहित छन् । उनीहरू हाम्रो हृदयलाई नरम र शुद्ध पार्न बाँच्छन् । हामीलाई सही मार्ग बताउँछन् ।

यदि ऊ इमानदार छ भने, चोरी गर्नेछ । यदि ऊ मानव हो भने, हत्या गर्नेछ । यदि ऊ विश्वासिलो छ भने, धोका दिनेछ ।