थ्योदोर मम्सेनको जन्म ३० नोभेम्बर १८१७ मा जर्मनीको श्लेस्विग प्रान्तको गार्डिग भन्ने ठाउँमा भएको थियो । उनी उन्नाइसौं शताब्दीका जर्मनीका प्रतिष्ठित विद्वान, इतिहासविद्, राजनीतिज्ञ, पुरातत्त्वविद् र पत्रकार समेत हुन् । रोमको इतिहास (A History of Rome) उनको विश्वविख्यात कृति हो ।

उनले प्रारम्भमा घरमै अध्ययन गरे। सन् १८३७ मा उनले ग्रीक र ल्याटिन भाषामा डिप्लोमा सम्मको अध्ययन पूरा गरी युनिभर्सिटी अफ केलमा सन् १८३८ देखि १८४३ सम्म विधिशास्त्र (Jurisprudence) को अध्ययन गरे र रोमन ल मा डाक्टरको डिग्री हासिल गरे। यस अवधिमा अरू दुई जना सहपाठीसँग मिली उनले एउटा कविता सङ्ग्रह पनि प्रकाशित गरेका थिए । पुरातात्त्विक महत्वका रोमन शिलालेखको अध्ययन गर्न रोयल डेनिस ग्रान्ट अन्तर्गत उनले फ्रान्स र इटालीको भ्रमण गरेका थिए ।

सन् १८४८ को कान्तिमा त्यस बखतको चेल्सविग- होलस्टिएनसँगको जर्मन संलग्नता र संवैधानिक सुधारका पक्षका उनी डेनिस रेन्डसबर्गमा युद्ध पत्रकार थिए । उनलाई डेनिसबाट देश छोड्न बाध्य पारिएपछि उनी युनिभर्सिटी अफ लाइपजिगमा कानुनका प्रोफेसर भए । सन् १८५२ मा युनिभर्सिटी अफ जुरिचमा उनी रोमन कानुन विषयका प्रोफेसर भए, त्यसपछिका दुई वर्ष उनले निर्वासित जीवन बिताए । सन् १८५४ मा युनिभर्सिटी अफ ब्रसेल्समा कानुका प्रोफेसर भए । सन् १८५७ मा बर्लिन् एकेडेमी अफ साइन्सेजमा रिसर्च प्रोफेसर नियुक्त भए । आखिर सन् १८६१ देखि १८८७ सम्म मम्सेन बर्लिन् विश्वविद्यालयमा प्राचीन रोमन इतिहासका प्राध्यापक भए । पछि उनले रोममा जर्मन आर्कियोलोजिकल इन्स्टिच्युटको स्थापना गर्न सहयोग र व्यवस्थापन गरे ।

रोमको इतिहास उनको विश्वविख्यात कृति हो, जसमा रोमन धर्म, संस्कृति, कला, साहित्य र रीति रिवाजको सजीव र नाटकीय वर्णन गरिएको छ । प्राचीन संस्कृतिको लोप हुने छैन र यो कुमालेको चक झैँ बारम्बार घुमफिर गर्दै विश्वमा आइरहने छ भन्ने उनको धारणा थियो । ८४ वर्षको उमेरमा मम्सेनले सन् १९०२ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे। अनुसन्धान र इतिहास उनका लेखनका प्रमुख विषय थिए ।